हामी मानिसहरूमा धेरै समानता भए तापनि, हामी सबैको आफ्नो आफ्नो जीवन बुझाइ र भोगाइ छ। मनन गर्ने हो भने यो विषय रहस्यमयी छ, हामी सबै मानिसको रूपमा समान भए तापनि, हामी सबैको आफ्नो आफ्नो संसार किन छ? किन सबैको जीवनमा समान अनुपातमा सुख र दुःख देखिँदैन? किन जीवन दृष्टि र भोगाइमा यति धेरै विविधता देखिन्छ? जीवनको सम्पूर्ण रहस्य बुझ्न त मुस्किल नै छ तर यति निष्कर्ष निकाल्न पक्कै सकिन्छ कि हामी सबै आफ्नो आफ्नो भाग्य वा भनौँ कर्म अनुसारको जीवन बाँचिरहेका छौँ। यति निष्कर्षमा पुगेपछि, स्वाभाविक रूपमा अर्को तार्किक प्रश्न उठ्छ कि किन सबैको जीवन दृष्टि र भोगाइ फरक फरक छ? के कारणले हाम्रो भाग्यको निर्माण गर्छ?
Category: Art and Literature
अधिकताको प्यास, परमात्माको आश
ओहो…! त्यो ठिंग उभिएको नृशंस पहाड ! त्यो पहाडको टाकुरामा ठिङ्ग उभिएर मैले आफ्नो खल्तीको रित्तोपन मात्रै नापिनँ, बरु एउटा विकराल र आदिम अहंकारको बीजारोपण पनि गरेँ। धत्तेरिका ! अभावले मेरो पेटभन्दा पहिले मेरो दृष्टि चेतलाई नै कति छिटो विकृत बनाइदिएछ। मैले मान्छेमा ‘धडकन’ देख्न छाडेँ, केवल ‘अवसर’ को नग्न रूप मात्रै देख्न थालेँ। आफन्त ? छि: ! जसको छातीमा टेकेर म माथि उक्लिन खोज्दै थिएँ, तिनीहरूलाई मैले ‘आत्मीयता’ को जलप होइन, केवल एउटा निर्जीव आरोहणको खुड्किलो मात्रै सम्झिएँ।
अनि काठमाडौँ… ओहो ! त्यो कंक्रिटको कोलाहलभित्र म बिस्तारै एउटा संवेदनाहीन र धातुमय यन्त्रमा रूपान्तरित हुँदै गएँ। अरूको पसिनाका थोपाहरूमा मेरो साम्राज्यको जग हालियो। अरूको भूमिको चीत्कारमा मेरो वैभवको अट्टालिका ठडियो। बाहिरबाट हेर्दा त्यो वैभव कस्तो स्वर्णिम थियो, तर भित्रभित्रै त्यो कस्तो सडान्धमय र कुहिएको थियो ! धत्तेरिका ! जति-जति मैले बाहिर ‘अधिकता’ का लेयरहरू थप्दै गएँ, उति-उति मभित्रको ‘मनुष्य’ एउटा अदृश्य क्षयरोगले खिइँदै गयो। जति धेरै सञ्चय गरेँ, उति धेरै रित्तिएँ। अन्ततः हात लाग्यो एउटा विराट महाशून्य।
त्यो चिसो पुलको डिल… मुनि अन्धकारको साम्राज्य बोकेर सुसाइरहेको त्यो सेती नदी… र मेरो शारीरिक अस्तित्वको अन्तिम विसर्जनका लागि तयार भएको त्यो आत्महत्याको क्षण !
तर… ओहो ! त्यही महाविनाशको संघारमा अचानक ‘मोर्निङ्ग हिलिङ्ग सेसन’ को हिलिङ्गले मेरो अन्तर्मनको कुनाबाट एउटा अलौकिक र निशब्द कम्पन उठ्यो। आहा…! त्यो कम्पनले मेरो चेतनालाई एउटा अनौठो ऐना देखाइदियो। मैले बल्ल बुझेँ म त वस्तुको होइन, अनन्तको भोको रहेछु। म पदार्थमा होइन, परमात्मामै तृषित रहेछु। धत्तेरिका ! म त एउटा यस्तो कस्तुरी मृग पो रहेछु जसले आफ्नै नाभीभित्र ब्रह्माण्डीय सुगन्ध लुकाएर, मरुभूमिको तप्त बालुवामा ‘मृगतृष्णा’ को पछि कुद्दै आफ्नो खुट्टा र रगत लत्पत्याएको थियो। हो, ठीक त्यही क्षण… मेरो त्यो असीमित ‘अधिकताको प्यास’ बिस्तारै गलेर, पग्लिएर एउटा परम ‘परमात्माको आश’ मा रूपान्तरित भयो।
हिजोसम्म जुन ऊर्जा ‘लोभ’ बनेर बाहिर भौतारिएको थियो, आज त्यही ऊर्जा ‘मौन’ बनेर भित्र छिर्न बल्लतल्ल शुरु भएको छ। अहो ! यो कस्तो दिव्य रूपान्तरण ! 🤔


पाटी
म र मेरो बुढा एउटा मन्दिरको पाटीमा बस्ने गर्थ्यौं । म चौध बर्षको हुँदा उ सँगै भागेर आएको गाउँबाट । बुढा कहिले काहीँ ज्याला मजदुरी गर्ने गर्थ्यो तर सबै पैसा नशामा नै उडाउने गर्थ्यो । उसले मात्र नशा गर्ने हैन म पनि गर्ने गर्थे । हामी प्राय औषधिजन्य नशा प्रयोग गर्ने गर्थ्यौ । कहिले काहीँ पैसा नहुँदा भने डेनड्राईड फुक्ने गर्थ्यौ । खै उसले कहाँबाट सिकेछ , उसले खाएको देखेरै मैले पनि खान सिके । उसले पनि मलाई कहिल्यै प्रतिकार गरेन । यहि कारणले हामीसँग पैसा बच्दै बच्दैन थियो । कहिले काहीँ उसले जिद्दी गर्दा म माग्न पनि जान्थे । माग्ने काम मलाई त्यति ठिक लाग्दैन थियो । उसलाई कसैले पत्याउदैनन् , माग्दा गाली गर्छन् भनेर मग्न सधै मलाई पठाउने गर्थ्यो । मान्छेहरुले मलाई भने पत्याउथे । सायद मेरो बढिरहेको पेट देखेर पनि होला । कोहि कोहि मलाई सोध्ने गर्थे , ” तिम्रो बुढा छ कि छैन भनेर ” । मैले “छैन” भन्ने इशारा दिन्थे । किनकि त्यो भने पछि अल्लि धेरै पैसा पाईन्छ भन्ने आशा लाग्थ्यो । एक दिन त्यसै गरि माग्ने क्रममा एक जना दाईले हजार रुपैयाँ दिनु भयो । मलाई बिश्वास नै लागेन । त्यो भन्दा अघि मलाई कसैले पनि त्यति धेरै पैसा दिएको थिएन । त्यो दाईले मेरो पेट तिर हेर्दै , फलफुल किनेर खानु भन्नू भयो । मैले हुन्छ भने । त्यो दाइ त्यहाँबाट हिडि हाल्नु भयो । म पाटीमा गए र बुढालाई भने । बुढाले पैसा लियो उसलाई कुरामा भने खासै चासो भएन र हिडि हाल्यो । गएको एक घण्टामा बुढा आयो । उसले मेरो लागि एक पत्ता हरिया चक्कि ल्याइदिएछ । मैले त्यो दिन अली धेरै चक्कि खाए । नसा मै भए पनि त्यो दिन म त्यहि दाईलाई सम्झिरहेको थिए । एकछिन पछि त्यहि दाइको आवाज सुने । तिमी यहि बस्छौ हो ?? सोध्नु भयो । मैले “हो” भने । म नशामा भएको मेरो हरेक अंगले बताईरहेको थियो । उहाँले नदेख्ने त कुरै भएन । उहाँले भन्नू भयो , ” बहिनी यस्तो बेला नशा गर्नु हुदैन बच्चालाई असर गर्छ । अझ तिमी त सानै छौ । ” म केही बोलीन तर मैले मनमनै निर्णय गरे की म भोलिबाट नशा गर्दिन । बुढा भने त्यो रात आएन । बिहानै त्यो दाइ भने आउनु भएछ । एउटा बाक्लो ब्ल्याङ्केट र फलफुल ल्याईदिनु भएको रहेछ । ” किन यस्तो गर्नु भएको दाइ “, मैले सोधे । मलाई तिमी मेरो आफ्नै बहिनी जस्तो लागेर । यो सुने पछि मेरो आँखा भरी आँसु आएको थियो । उहाँ दैनिक जस्तो आउन थाल्नु भयो । हामी कुरा पनि गर्न थाल्यौं । उहाँ खाली हात भने कहिल्यै आउनु हुन्न थियो । कहिले मेरा लागि कपडा , कहिले बिस्कुट , कहिले हर्लिक्स…… । मैले बिस्तारै नशा पनि छोड्दै गईरहेको थिए । बुढा घर नआएको थुप्रै भएको थियो तर त्यो दाईले गर्दा म खुसी थिए । मलाई साच्चै बहिनी जस्तै मान्नु भएकोले । मैले मेरो प्रेमको कथा पनि सुनाए । कसरी हामी काठमाडौं सम्म आयौं भनेर । मलाई दाइले प्राय सधै पैसा दिनु हुन्थ्यो र भन्नू हुन्थ्यो , ” पौष्टिक कुरा खानु , तिमीले जे खान्छौ त्यो बच्चाले पनि खान्छ ” । मलाई त्यो समय पछि नै हो , बाँच्नु पर्छ जस्तो लाग्न थालेको । किनकि धेरै पछि मैले कसैबाट यति धेरै माया पाएकी थिए । सायद यति धेरै माया त मेरा बुबाले पनि गरेका थिएनन् । एक दिन दाइले मलाई बुढा गएको त धेरै दिन भयो त बहिनी , बुढाको चिन्ता लाग्दैन ? भन्नू भयो । उ कहिले दुई महिनामा पनि आउदैन । उसको त भर नै छैन । दाइले त्यस पछि मलाई खै किन हो , अंगालो हाल्नु भयो । मलाई पनि अफ्ट्यारो लागेन ।
केहि दिन पछि केही मान्छेहरु आएर मलाई कतै लैजान लागे । म जान मानी रहेकी थिइन । उनीहरूले भने , उनिहरु अनाथ आश्रमबाट आएका हुन् र मलाई केही गर्दैनन् रे । मलाई भने डर लाग्दै थियो । म कसरी जान सक्थे । बुढाको माया भन्दा पनि त्यो दाइ आउनु हुन्छ । म यहाँ भइन भने उहाँलाई चिन्ता होला भन्ने पनि लाग्दै थियो । उनिहरुले म जान नमान्दा पनि जबर्जस्ती लगे । मलाई त्यो पाटी पनि घर जस्तै लाग्थ्यो । म रुन बाहेक केही पनि गर्न सकिन । म अनाथ आश्रममा पुगे । त्यहाँ पुगे पछि भने म छक्कै परे । बुढा त त्यहिँ रहेछ । मेरो मन अल्ली शान्त भयो । एक महिना कहाँ हराएछ भनेको यहाँ पो रहेछ । मलाई अझ अचम्म लाग्यो जब मैले त्यो दाइलाई पनि त्यहि आश्रममा देखे । उहाँको नै रहेछ , आश्रम । जब म यहाँ आए मेरो जीवन नै परिवर्तन भयो । यहाँ हामीलाई उहाँहरुले पढाउनु हुन्थ्यो , गित गाउन सिकाउनु हुन्थ्यो र मैले लेख्न सिकेकी पनि यहि हो । मैले दाइको कुराहरु सुन्दा थाहा पाए उहाँ पनि सडकबाट यहाँ सम्म पुग्नु भएको रहेछ । आज मेरो बुढा शिक्षक भएको छ । साना साना बच्चाहरुलाई पढाउछ । छोरी दस बर्ष कि पुगी र म भने आजभोलि लेख्ने प्रयास गर्दै छु र यहीँ काम पनि गर्न थालेकी छु ।
A Home
A Home is not built with rocks & sands
Not lived by blood
but with the love of togetherness
Home is where people together listen to music & voice of eachother with affection
Home is where people together taste the food & impressions of eachother with passion
Home is where people together grow plants & strengths of eachother with care
Home is where people together decorate the corners & hearts of eachother with love
Home is where people together play with colours & uniqueness of eachother with delicacy
Home is where people together take care of the pets & needs of eachother with compassion
Home is where people together read the books & eyes of eachother with joy.
~ Ajay Poudel
म को हुँ ?
मलाई सधैँ यो प्रश्न मनमा आइरहन्छ कि-“म को हुँ? के म वास्तवमै आफूलाई चिन्छु ?’
शरीर, मन वा इन्द्रिय नै म हुँ कि होइन भन्ने गहिरो प्रश्नमा पुग्नुअघि, पहिले जीवनका साधारण चिनारीहरूतर्फ हेर्दा-म को हुँ? के म छोरी हुँ ? आमा हुँ? श्रीमती हुँ? भाउजु हुँ? बुहारी हुँ? कि सासु हुँ।? यी सबै त केवल समाजले दिएको नाम र भूमिका मात्र होइनन् र मेरा…? यी कुनै पनि कुरा मेरो वास्तविक अस्तित्व हुन र ?
तर जब म यी नामहरूलाई नै आफ्नो परिचय ठान्न थाल्छु, तब म आफू नभएको कुरालाई “म” भन्न थाल्छु।त्यहीँबाट मेरो दुःखको आरम्भ हुन्छ।
जब म अरू केही बन्न खोज्छु, जब म आफू नभएको आवरण ओढ्छु, वा आफूलाई कुनै कल्पित रूप दिन चाहन्छु, त्यस क्षण म त्यो भूमिकाको भारी बोक्न बाध्य हुन्छु। म यस्तो समाजमा बाँचेको छु जहाँ नियम र परम्परासँग मेल खानुपर्छ। तर त्यसको अर्थ यो होइन कि मैले आफ्नो वास्तविकता गुमाउनुपर्छ। यसको अर्थ यो पनि होइन कि मलाई आनन्द दिने कुराबाट टाढा हुनुपर्छ।हैन र…?
बाहिरी संसारतर्फको यात्रा कहिल्यै पनि पूर्ण तृप्तिको स्रोत बन्न सक्दैन।त्यसले मलाई व्यस्त राख्न सक्छ, कुनै क्षणिक आनन्द दिन सक्छ, मनोरञ्जन र सुखको अनुभूति गराउन सक्छ,तर त्यो पूर्णता होइन रहेछ।
किनकि बाहिरको संसार पूर्णताको लागि बनाइएको छैन। पूर्णता त भित्रको मौनमा छ, आफ्नो वास्तविक स्वरूपलाई चिन्ने यात्रामा छ। जब म सबै लेबल, नाम र भूमिकाभन्दा पर जान्छु,
त्यसपछि मात्र म आफूलाई भेट्न थाल्छु।अस्तु
माइन्डको गनगनमा ऊर्जा व्यर्थ खर्च हुन्छ
चेतनाको गहन अन्धकार कुनामा एउटा कर्कश र अनवरत कोलाहल गुञ्जिरहन्थ्यो, जुन अरू केही नभएर मेरो आफ्नै अहम्को विकृत चित्कार थियो। म ब्रह्माण्डको केन्द्रमा आफूलाई उभ्याएर हरेक अस्तित्वलाई शङ्का र ईर्ष्याको तराजुमा जोख्ने गर्थें। अतीतका भग्नावशेषहरू कोट्याएर वर्तमानको सुन्दर क्षणमा विष घोल्नु मेरो नियति बनिसकेको थियो, नकारात्मकताको त्यो तीव्र दलदलमा म यसरी भासिएको थिएँ कि प्रत्येक श्वास केवल तनाव र मानसिक पीडाको संवाहक बनेको थियो। मस्तिष्कभित्र चलिरहने त्यो निरर्थक र अन्तहीन गनगनले मेरो आत्मिक ओज र भित्री ऊर्जालाई पूर्ण रूपमा सोसेर मलाई एउटा सुक्खा, मरूभूमितुल्य खोक्रो मानवमा परिणत गरिदिएको थियो। आफ्नै विचारको कारागारभित्र म आफैं कैदी र आफैं जल्लाद बनेर पल-पल मरिरहेको थिएँ, जहाँ शान्तिको एउटा सानो झिल्कोसमेत अहंकारको आँधीले निभाइदिन्थ्यो।
युगले नै छलाङ हान्दै हिँडिरहेको बेला परेर हो कि क्या हो, कार्मिक फलहरुको ब्यवस्थापन गर्ने सन्दर्भमा समयले हुर्याउँदै कसोकसो पराकाष्ठाको त्यो चरम बिन्दुमा पुर्याएछ जहाँ मेरो अशान्त पाइलाहरू प्रकृतिको काखमा अवस्थित ‘चपौली’ तर्फ सोझिए, जुन ठाउँ ईश्वरले मानौँ कुनै फुर्सदिलो क्षणमा आफ्नो सम्पूर्ण दिव्य सिर्जना खन्याएर बनाएको एउटा अद्वितीय र सुन्दर भण्डार जस्तो प्रतीत हुन्थ्यो। त्यस ठाउँको त्यो मन्त्रमुग्ध पार्ने अलौकिक शान्ति, हरियाली र आध्यात्मिक सुवासको सामीप्यमा रहेकाे उसको सामिप्यले मेरो भित्री चेतनामा एउटा अनौठो र गहिरो शून्यताको उदय गराइदियो, जसले मलाई आफ्नै मानसिक कोलाहलको टाढाको साक्षी बनाइदियो। पहिलो पटक मैले बुझें जुन युद्ध म बाहिरी संसारसँग लडिरहेको थिएँ, त्यो वास्तवमा मेरो आफ्नै भ्रम र अहम्को आत्मघाती खेल मात्र थियो। चपौलीको हावामा बहेको त्यो कञ्चन पवित्रता र उसको मौन उपदेशसँगै मैले परिस्थितिलाई जबर्जस्ती आफ्नो अनुकूल बनाउने निरर्थक प्रयास र हठलाई बिस्तारै त्याग्न थालें।
अहिले अहंकारको त्यो कठोर चट्टान पूर्ण रूपमा पग्लिसकेको त छैन तर त्यहाँको त्यो दिव्य ऊर्जाको प्रभावले गर्दा मेरा धाँजाहरूबाट आत्म-संयम र सकारात्मकताको एउटा मधुर पहिलो किरण भने अवश्य फुट्न थालेको छ। आक्रोश र संशयका पुराना शृङ्खलाहरू तोडिँदै जाँदा र मस्तिष्कको त्यो व्यर्थ गनगन धिमा हुँदै जाँदा, मभित्र एउटा अपूर्व, शान्त र संयमित ऊर्जाको पुनर्जन्म हुन थालेको महसुस हुँदैछ। यो मेरो पूर्ण रूपान्तरण त होइन, तर आन्तरिक मरुभूमिबाट अशान्तिको विसर्जन गर्दै एउटा नविन, सकारात्मक र जागृत जीवनतर्फ चालिएको पहिलो रहस्यमयी र दृढ कदम भने पक्कै हो। बैशाखे आँपका दानालाई असारे भाकामा गीत गाउन कमिलाले पोकै बनाएर घरबार बसाएजस्तै छेउमै पारेर स्मरणका टोड्कामा मलाई पनि प्रकृतिमै घर बनाउँ बनाउँ लाग्न थालेको छ, आँफु सँग गनगन गर्न छाडेर प्रकृति सँगै भलाकुसारी गरुँ गरुँ लाग्न थालेको छ। गोमाले बाचन गरेको कविताको राग र विनिताको धिमेबाजाको तालमा मलाई पनि नाचुँ नाचुँ लाग्न थालेको छ। विष्णुको गुरुसेवा र प्रदिपको अठोटमा मलाई पनि डुबुँ डुबुँ लाग्न थालेको छ…..


कथाको जादु
एक दिन मलाई बच्चाहरुले कथा सुनाउनु न भन्दै आग्रह गरे । मैले पहिला पनि धेरै कथाहरु सुनाई सकेको थिए । यस पटक भने मैले नसुनाएको कथा सम्झन मुस्किल भयो । मैले तत्काल एउटा काल्पनिक कथा फुराउदै कथा भन्न सुरु गरे ।
एक दिन आकाशबाट एउटा अण्डा खस्यो । त्यो अण्डा केही बच्चाहरुले देखे । त्यहाँ गएर हेर्दा त्यो अण्डाबाट एउटा एलीयन निस्कियो । जो पृथ्वीको बच्चाहरु जस्तै देखिन्थ्यो । ती बच्चाहरु हल्का डराए । किनकि उनिहरुले अहिले सम्म त्यस्तो दृष्य कहिल्यै देखेका थिएनन् । साना बच्चाहरु खासै नडराउने स्वभाव भएको हुनाले र आफ्नै उमेरको बच्चा जस्तै देखेपछि उनिहरु त्यो एलीयनसँग कुरा गर्न थाले । त्यो एलीयन पनि राम्रो रहेछ र पृथ्वीको बारेमा पनि राम्रो अध्ययन गरेर आएको रहेछ । कसरी बोल्छन् , के के खान्छन् , कस्तो हुन्छन् सबै थाहा रहेछ । धेरै बेरको कुराकानी पछि , त्यो एलीयनले ती बच्चाहरुलाई आज राति मेरो घरमा घुम्न जाने हो भनेर भन्छ । एउटा बच्चाले राति हामीलाई निस्किन दिनु हुदैन भनेर भन्छ । एलीयनले म यहि अण्डामा उडेर आउछु अनि तिमीहरु हामफाल्नु । त्यहाँ तिमीहरु पसि हाल्छौ भनेर भन्छ । उनिहरुलाई कसरी हाम फाल्ने भनेर पनि एक एक गरेर सिकाउछ । सबैजना एक छिन त्यो अण्डा भित्र पसे । बच्चाहरु त चकित नै परे । त्यहाँ भित्र त ठूलो ठाउँ रहेछ । साथै त्यहाँ त्यो अण्डा चलाउन धेरै बटनहरु रहेछन् । उनिहरु त्यहाँबाट निस्किए पछि , कोही आएको थाहा पाएर एलीयन अण्डा भित्र पसेर त्यहाँबाट बेपत्ता हुन्छ । बच्चाहरुलाई भने यो सपना हो कि विपना छुट्याउन गार्हो हुन्छ । त्यहाँ एकजनाले यहाँ के खसेछ भनेर सोध्छन् । उनिहरुलाई एलीयनले मेरो बारेमा नभन्नु भनेको हुदाँ उनीहरूले ” खै हामीलाई त थाहा छैन भन्छन्” । रात पर्छ र सबैजना एलीयनको पर्खाइमा आ-आफ्नो घरको झ्यालमा बसीरहेका हुन्छन् । एलीयन आउँछ र सबैलाई लान्छ । एलीयनले आफ्नो ग्रहमा लान्छ । त्यहाँ ती बच्चाहरुलाई धेरै जादुहरु सिकाउछ । आफ्नो सबै गाउँ घुमाउछ र फेरि पुनः घरमा फिर्ता ल्याई दिन्छ । उनिहरु त्यहाँ एक हप्ता बस्छन् तर धर्तीमा भने त्यो रात पनि कटेको हुदैन रहेछ । सबैलाई बिदा मागेर एलीयन आफ्नो घरमा जान्छ । उनिहरु भने भोलि पल्ट स्कुलमा जान्छन् । सबै साथीहरुलाई सुनाउछन् तर कसैले उनिहरुको कुरा पत्याउदैनन् । उनीहरूले सिकेको केही जादु देखाई दिन्छन् र यो कसरी यिनीहरूलाई आयो भनेर सबै बच्चाहरु अचम्ममा पर्छन् ।
ती बच्चाहरु बिस्तारै ठुला हुन्छन् । उनिहरुलाई त्यो एलीयन हामीले साच्चै भेटेका नै हौ भनेर पनि अन्योल हुन थालेको थियो । एकदिन त्यतिकैमा त्यो अण्डा फेरि आउँछ र सबै बच्चाहरुसँग फेरि भेट्छ ।
यसरी मैले एउटा कथा बच्चाहरुलाई सुनाए । उनीहरूलाई त्यो कथा सारै मन परेछ । उनिहरुको आँखामा सुन्दै गर्दा छुट्टै चमक देखिन्थ्यो । कथा सुनाउने क्रममा उनिहरु दुई भित्ता माथि उफ्रौला जस्तो गर्दै थिए । सायद अनिहरु आफै ती एलीयनसँग घुम्न गएको कल्पना गर्दै थिए होला। खासै त केही थिएन जस्तो लाग्छ त्यो कथामा तर पछि सम्म पनि मलाई अस्तिनको कथा सुनाउनु न त्यो पछि के भयो भनेर भन्ने गर्थे ।
पढ्ने र पढाउने प्रक्रिया रोचक हुनु पर्ने रहेछ
हुर्किँदै गर्दा मलाई पढ्ने प्रक्रिया निकै अल्छी लाग्दो र बाध्यताले गर्नु पर्ने कुरा जस्तो लाग्थ्यो। तर परिवार र समाजले पढ्नु नै बाल्यावस्थाको सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्नुहुन्थ्यो। त्यसकारण रुचि नहुँदा नहुँदै पढ्नुको कुनै विकल्प थिएन। अहिले आएर बुझ्दैछु, औपचारिक शिक्षाप्रति रुचि नहुनुका विभिन्न कारणहरू रहेछन्।
प्राथमिक रूपमा त शिक्षकले किन पढाउने र विद्यार्थीले किन पढ्ने भन्ने सही तरिकाले बुझ्नु पर्ने रहेछ।शिक्षकले आफ्नो जीविकोपार्जन गर्न मात्र नभएर, पढाउने प्रक्रियामै आफू र विद्यार्थी दुवैलाई कसरी रोचक र आनन्दित बनाउन सकिन्छ भनेर सोच्नुपर्ने रहेछ। त्यसैगरी विद्यार्थीले पनि भविष्यमा राम्रो हुन्छ भन्ने कारणले मात्र होइन कि पढ्ने प्रक्रिया नै कसरी रोचक र आनन्ददायी बनाउने भनेर सोच्नुपर्ने रहेछ।
दृष्टिकोण नै जीवनको भोगाइ हो
चपौलीमा चुनिएका चुचुराहरूले कुहिरोको बाक्लो बर्को ओढेर एउटा आदिम ध्यानमा मग्न रहेको त्यो निर्जन प्रहरमा, ‘विनु’ एउटा यस्तो चेतनाको विन्दुमा उभिएकी थिइन् जहाँ भौतिकताका रेखाहरू सकिएर शून्यताको अनन्त साम्राज्य प्रारम्भ भएको आभास हुन्थ्यो। त्यो क्षणमा उनले सूक्ष्म रूपमा अनुभूत गरिरहेकी थिइन्, जीवन बाहिर घटिरहेको कुनै घटना होइन, आफ्नो दृष्टिकोणभित्र बगिरहेको एक मौन धारा मात्र रहेछ। उनको वरिपरि इँटा र सिमेन्टका कुनै पर्खाल थिएनन्, न त अहङ्कारका कुनै छेकवार नै। एउटा खुला बार्दली मात्र थियो, जसले ब्रह्माण्डको विराटतालाई आफ्नै आँगन झैँ अङ्गालो हालेको थियो। त्यहाँको हावामा व्याप्त चिसोपन केवल शरीरलाई होइन, अन्तस्करणभित्र जमेको कसिङ्गरलाई समेत थर्थराउँथ्यो। तर त्यही चिसोपन कसैका लागि असहज हुन सक्थ्यो, विनुका लागि भने त्यो एउटा पवित्र स्पर्श थियो। उनले बुझ्न थालेकी थिइन्, अनुभूति वस्तुमा होइन, दृष्टिकोणमा बस्दो रहेछ। जब उनको अगाडि साँझको खानामा लपक्क दाल थियो नुनविहीन तर स्वादिलो। बाहिरबाट हेर्दा त्यो केवल अभावको प्रतीक जस्तो देखिन्थ्यो। तर, दृष्टिकोण बदलिँदा भोगाइ पनि रूपान्तरित हुँदो रहेछ। विनुले आफ्नो भावुक अन्तर्यबाट त्यसलाई ‘अमृत’ को संज्ञा दिइन् जहाँ अभाव नै पूर्णताको पर्याय बनेर उभिएको थियो। त्यो दालभित्र उनले केवल स्वादको रिक्तता होइन, एउटा गहिरो स्मृति र स्वामी जि को प्रेमको महासागर भेटिन्, मित्रवत् व्यवहारको कसी भेटिन्।
त्यसैगरी उनको मानसपटलमा चपौलिका ती तरेली परेका कान्लाहरू जीवन्त भएर आए, जहाँ स्वामीजीको सान्निध्यमा पवित्र वृक्षारोपण सम्पन्न भएको बैभवता पनि भेटिएको थियो। माटोमा रोपिएका ती बिरुवाहरू मात्र थिएनन्, त्यहाँ श्रद्धा, प्रेम र समर्पण पनि रोपिएका थिए। त्यही बेला विनुले आफ्नै हातको सीप र भावना मिसाएर बनाएको ‘योमरी’ स्वामीजीलाई टक्र्याएकी थिइन्। जब स्वामीजीले त्यो योमरी ग्रहण गर्दै आफ्नो हृदयदेखि नै प्रसन्नता व्यक्त गर्नुभयो, त्यो क्षण विनुको अन्तर्यमा एउटा दिव्य स्पर्श बनेर बस्यो। आज, त्यही स्मृति यो अलिनो दालमा पुनः जीवित भएको थियो। दालमा नुन थिएन तर विनुले त्यहाँ स्वामीजीको नुनिलो प्रेम भेटिन्। जिब्रोले नपाएको स्वाद, हृदयले पूर्ण रूपमा पाएको थियो। त्यस क्षण उनले गहिरो रूपमा अनुभूत गरिन् अभाव वस्तुमा होइन, दृष्टिकोणमा हुन्छ र पूर्णता पनि त्यहीँ जन्मिन्छ।
राती ढिलासम्म गफिदै जाँदा रात छिप्पिँदै गयो, आकाशका ताराहरूले उनको खुला ओछ्यानलाई पहरेदारी गर्न थाले। उनी निद्राको एउटा गहिरो गुफाभित्र प्रवेश गरिन्, जहाँ प्रकृतिको काख नै कपासको नरम ओछ्यान बनेको थियो। त्यो निद्रा केवल शरीरको विश्राम थिएन, एउटा सूक्ष्म आध्यात्मिक संसर्ग थियो जहाँ स्वामीजीको कृपाको स्फटिक धाराहरू उनको चेतनाभित्र बगिरहेका थिए। चिसो हावामा आशिषका शब्दहरू सुगन्ध बनेर तैरिरहेका थिए। त्यही मौन क्षणमा उनलाई एउटा गहिरो बोध भयो मानिसले सुरक्षाका लागि बनाएका चार पर्खालहरू वास्तवमा चेतनालाई सीमित पार्ने एउटा भव्य कारागार मात्र रहेछन्। संसारले गर्व गर्ने सुविधा, सिमेन्टका संरचनाहरू, र भौतिक सम्पन्नता यी सबै दृष्टिकोणकै खेलमा उभिएका क्षणिक आभास मात्र रहेछन्।
चपौलिका कान्लाहरूमा रोपिएका बिरुवाहरू जस्तै, विनुको भक्ति पनि आज यही खुला आकाशमुनि पल्लवित भइरहेको थियो। जब गास र बास दुवै दैवी अनुकम्पामा अडिएका अनुभूत भए, तब कृत्रिम सुखहरूको चमक आफैँ हराउँदै गयो। वैभवशाली कहलिएका बिदेशमा सयौं तलामा बाक्लो चार दिवारको रंगिला झ्यालमा हल्लिरहेका रेशमी पर्दा को सुसस्जित कोठाहरूमा ऐस आरामले बिताइरहेका आफ्ना छोरा छोरीलाई सम्झिँदा झसङ्ग भइन् जब काठ, माटो र बाँसले बनेका खुला आकाशलाई साक्षी राखेर शान्त ओछ्यानमा पल्टिँदै गर्दा, अनि अझ झस्किइन् जब एउटा साथीका छोरा छोरीले, “तपोभूमि नेपाल र भारतका विभिन्न ठाउँहरुमा मात्र हाइएर इनर्जी फिल हुँदोरहेछ, अन्त त भएन, हुँदैन। अब देखि अन्त देश त अब घुम्न पनि तेति मन लाग्दैन, पढ्न र लामोसमयसम्म बस्न त झन् नजाने” । यो सुन्दा बिनु एकाएक आँफैले महसुस गरेको छोरा छोरी को बिदेसमा जाँदा ठ्याक्कै त्यही कुरा, त्यही इनर्जी फिल गरेको कस्तो अचम्मले बोध भएको याद आयो। छोरा छोरीको रहर, अवस्था र वाद्यताले बिदेशिनु अलग कुरा हो तर मेरा छोराछोरी बिदेशमा धन सम्पत्ति वैभवता समृद्धि ऐस आराममा छन् भनेर गर्व गर्नु त साँच्चै साँच्चै बेकार हो भन्ने सधैं लागिरहने सोच उनमा यतिबेला झन् प्रगाढ रुपमा ओइरिएर आयो।
विनु अब केवल एउटा पात्र रहिनन्। उनी त्यो मुक्त चेतनाको प्रतीक बनिन् जसले भौतिकताको भारी विसर्जन गरेर शून्यताको काखमा परम विश्राम प्राप्त गरेको छ र अन्ततः उनको अन्तर्मनमा एउटा सत्य उजागर भयो ।जीवन वस्तुहरूले होइन, दृष्टिकोणले भरिन्छ।



स्कुल बस
एक दिनको कुरा हो । स्कुलमा परीक्षा चलिरहेको थियो । म त्यो बेला कक्षा एकमा पढ्थे । परिक्ष छिटै सक्किएको हुनाले हामी खेल्न थाल्यौ । लगभग एक घण्टा पछि भने एक जना साथीले म पनि तिमी बस्ने ठाउँ तिरै बस्छु । म कत्ति पटक हिन्दै पनि गएको छु भनेर भन्यो । मलाई पनि जान मन लाग्यो । अझ उसको यात्राको वर्णन सुनेर मलाई झनै रोमाञ्चित बनाएको थियो । हामीले निर्णय गर्यौ जाने भन्ने । म जानू पर्ने बसमा थियो तर सबैजनाको परिक्षा नसकि गाडी जाने कुरै भएन । मलाई भने सबै जना गएको देखेर जान मन लाग्यो । हामी जान थाल्यौ । जाँदा हामीले महाङ्कालको पार्कमा चिप्लेटि पनि खेल्यौ । बौद्ध निस्किने बाटो छ भन्दै साथीले गल्ली तिर लादै थियो तर उ नै रनभुल्ल भइरहेको रहेछ । मलाई भने डर लाग्दै थियो । कतै हराइने त हैन । अनि हामीले बाटो सोध्यौ र जसो तसो बौद्धबाट भने निस्किएर मुल सडकमा पुग्यौ । हामी बाटोको किनारै किनार हिन्दै थियौ । साथीले नजिकैको साईकलमा बेच्न राखेको दुई कोसा केरा र केही अंगुरका दाना खुसुक्क ब्यागमा हालेर ल्याएछ । हामीले त्यो खायौ । बसबाट त त्यो सधै देखिरहेकै ठाउँ थियो तर हिन्दै जाँदा भने मलाई सारै रामाईलो र नयाँ लाग्दै थियो । हामी जोरपाटी तिर पुग्दा भने स्कुलको बस आईरहेको देख्यौं । मेरो साथीले मलाई लुक भनेर भन्यो । हामी लुक्यौ । उसले मलाई भनेको थियो । उसले यसरी थुप्रै पटक यात्रा गरि सकेको छ रे , अनि उ अहिले सम्म फसेको छैन रे । यो कुराले मलाई थप हौसला दिएको थियो । यात्राले म एकदमै थाकेको थिए । हामी जोरपाटिबाट अल्ली माथि लागे पछि छुट्टियौ । म जसो तसो घर पुगे । घर पुग्दा त मैले संसारै जितेर आए जस्तो लाग्दै थियो तर घरमा त रुवाबासी भईरहेको रहेछ । मलाई त कसैले थाहा पाउदैनन् जस्तो लाग्दै थियो तर यो त उल्टो भएछ । म त कत्रो पौरख गरेर आए भनेर खुसी थिए । स्कुलमा त काण्ड नै भएछ । गाडी हिड्ने बेला म कतै नभेट्टिएको हुनाले , मेरो दिदीहरु रुन थाल्नु भएछ । मेरो साथीको भने कोहि त्यो स्कुलमा नपढ्ने रहेछन् । त्यसैले उ हिन्दै जाँदा पनि कसैले थाहा नपाउने रहेछन् । मेरो भने दिदीहरु त्यहीँ पढ्नु हुन्थ्यो । मैले त्यो बिचार नै गरीन । स्कुलले पुलिसलाई जानकारी गराएछ । म घर पुगे पछि स्कुलमा फोन गरीदिनु भयो । धन्न घरमा भने सम्झाउनु मात्र भयो तर भोलि स्कुल जाँदा भने पाईप खानु परेको थियो । यो कुरा सेलाए पछि , म अल्ली ठूलो भए पछि भने घरमा कोहि आँउदा यो सानै उमेरमा यत्रो हिडेर आएको थियो भनेर गफ गर्दा , मलाई खुसी लाग्थ्यो ।
