Blog

अज्ञातको अनन्त यात्रा

मेरो वरिपरि भन्दा निकै फराकिलो झैँ लाग्ने चपौली आकाशको नीलिमा जस्तै अगाध थियो उनको मौनता र भनाइ। उनले मलाई बारम्बार एउटै सत्यको क्षितिजतिर डोर्‍याइरहन्थे, जसको गहिराइ बुझ्न मेरो अल्पज्ञानी मस्तिष्कलाई कति समय लाग्यो कति। ऊ भन्थे, “केही कुरा यस्ता हुन्छन्, जो हामीलाई थाहा छैन भन्ने समेत हामीलाई बोध हुँदैन। त्यसैले, अहम्‌को पर्दालाई च्यातेर सधैँ सिकिरहनू।”

उनले सिकाएका पाटाहरू कुनै विद्यालयका पाठ्यक्रम थिएनन्, ती त जीवन जिउने अलिखित रागहरू थिए। उनले मलाई कति पटक भने होलान् आफ्नो स्वर जस्तै सुक्खा वा कर्कश किन नहोस्, हृदयको कम्पनलाई गितारका तारहरूमा मिसाएर गाउन सिक्नू। माटोको सुगन्धसँग एकाकार हुन सिकाउँदै उनी भन्थे, “हातहरूलाई हिलोमा मुछ्नू, बिरुवाहरू रोप्नू र आफू वरिपरि हरियालीको एउटा सानो ब्रह्माण्ड सिर्जना गर्नू।” त्यस्तै उनका आँखाहरू जहिले पनि पुस्तकका पानाहरू पल्टाइरहन प्रेरित गर्थे। तीर्थस्थलहरूको यात्रामा निस्कँदा, ढुङ्गाका मूर्तिहरूमा मात्र होइन, त्यहाँको हावा, भक्तहरूको आँसु र प्राचीन मन्दिरका भित्ताहरूबाट समेत ज्ञानको कण बटुल्न उनले नै सिकाएका थिए। उनको सबैभन्दा ठूलो मन्त्र थियो, आफूभित्रको जे कुरा देख्दा सुन्दा पनि कमेन्ट गर्ने, जज गर्ने वक्तारुपी हतारोलाई मारेर एउटा धर्यवान ‘उत्कृष्ट श्रोता’ बन्नू। जब तिमी प्रकृतिको र अरूको मौनता सुन्न थाल्छौ, तब मात्र तिम्रो भित्री अहंकारको विसर्जन हुन थाल्छ र साधनाको वास्तविक अंकुरण हुन्छ।

सांसारिक जीवनको यो निसासिँदो र कसिलो समयको चक्रव्यूह जहाँ श्वास फेर्न पनि समयको अनुमति चाहिन्छ। यस्तै एउटा व्यस्त दैनिकीको कठोर परिधिबाट मैले केही पलहरू चोरी गरेँ। यो चोरी अर्काको कुनै  सामान थिएन, सायद आफ्नै अस्तित्वको खोजीका लागि थियो, थोरै समय चोर्ने हिम्मत थियो। अनि एकाएक म दौडिएँ कोशीको गर्जन र आध्यात्मिक शान्तिको सङ्गमस्थल बराहक्षेत्रतिर, जहाँ वराह भगवान्‌को काखमा मैले एउटा अनौठो शून्यता भेटेँ। कोशीका ढुंगा माथि पलेँटी कसेर, “ॐ हूँ वराहाय नमः” जप्दै समयलाई हराउन थालेँ। त्यसपछि मेरो पाइला अघि बढ्यो, सप्तरीको छिन्नमस्ता भगवती माताको मन्दिरतर्फ। माताको त्यो उग्र र करुणामयी स्वरूपको अगाडि शिर झुकाउँदै उनमा समर्पण हुने सबै भन्दा सौम्य मन्त्र, “ॐ छिन्नमस्तायै नम:” जप्दा  मेरो अहं, जगत्‌को भस्म जस्तै हावामा अलिअलि उडे जस्तो भयो । त्यो शक्तिपीठको आँगनमा उभिरहँदा मलाई अचानक उनका तिनै शब्दहरूको स्मरण भयो। मैले बुझेँ म जे जान्दछु, त्यो त केवल समुद्रको एक थोपा मात्र हो तर जे मलाई थाहा छैन र मलाई थाहा छैन भन्ने कुरा समेत मलाई थाहा थिएन, त्यो विराट् सत्यको साक्षात्कार त अझै बाँकी नै छ त्यसैले अहंकार विसर्जनको त्यो पहिलो खुड्किलोमा उभिएर मैले गितारका तारहरूसँगै मनकै तारमा एउटा नयाँ धुन गुञ्जाउँदै मनन गरेँ “झुकिरहुँ झुकिरहुँ झुकिरहुँ अनि सिकिरहुँ सिकिरहुँ सिकिरहुँ…. 🎸”

योद्धा स्पिरिट

साधना अगाडि बढ्दै जाँदा हाम्रो संकल्प र इच्छा शक्ति पनि बढ्दै जानु पर्ने रहेछ। चाहे त्यो ब्यवहारिक जीवनमा होस् या पारमार्थिक जीवनमा, त्यसमा सफल हुनको लाई योद्धा स्पिरिट अनिवार्य हुनु पर्ने रहेछ। योद्धा स्पिरिट अर्थात् एउटा सच्चा सिपाहीमा हुने गुणहरू। जस्तै हिम्मत र आत्म विश्वास कि जस्तो सुकै परिस्थितिमा पनि सफल हुन सक्छु भन्ने। र आफ्नो काम प्रतिको निष्ठा वा समर्पण, जीवनको सबै भन्दा महत्व पूर्ण कुरा बनाउने। र निरन्तर मेहनत गर्ने क्षमता, आफ्नो लक्ष्यमा असाधारण तरिकाले मेहनत गर्दै पुग्ने कोसिस।

प्रकृतिको सङ्गत

हामी प्राय जसो अप्राकृतिक सिमेन्टले बनेका घरभित्र, कम्प्युटरको अगाडि, वा सहरको कोलाहलमा बसेर काम गर्छौँ। यस्तो वातावरणमा काम गर्दा सामान्यतः काम गरेपछि थकान वा तनाव महसुस गर्छौँ। तर प्रकृतिको नजिक रहेर फूलबारी वा बारीमा माटो समाउँदै काम गर्दा थकान र तनाव उल्टो कम गरेर, ऊर्जाले भर्ने रहेछ। त्यसकारण प्रकृतिको सङ्गत गर्दै काम गर्न पाउनु सौभाग्यको कुरा रहेछ र यसले सिर्जना र उत्पादनमा त मद्दत गर्छ नै, सँगसँगै शारिरिक, मानसिक, भावनात्मक र आत्मिक दृष्टिकोणले पनि स्वास्थ्यकर हुने रहेछ।

साधना सिद्धान्त: संसारकै गर्भभित्र

“आच्छु! कस्तो जाडो, छि:” 

ओडारभित्र चिसो निकै बढेको थियो। ऊ ढुङ्गाको भित्तामा अडेस लागेर बस्यो।

“किन यस्तो सुनसान लागिरहेको छ?” “म साँच्चै एक्लो भएको हुँ? संसारको कोलाहल सँग बिरक्त भएर आएको हुइँन र ?”

टाढाबाट स्याल कराएको आवाज आयो। उसले आँखा चिम्लियो।

“यो थकान शरीरको मात्र होइन…” “भित्र केही चुँडिएको छ…”

धेरै दिनदेखि ऊ ठीकसँग निदाएको थिएन । मानिसहरूको भीडबिहिनतामा पनि ऊ आँफैसँग पनि अपरिचित जस्तै महसुस गर्थ्यो।

“किन सबै कुरा अभिनयजस्तो लाग्छ?” “किन सम्बन्धहरूमा पनि कृत्रिम गन्ध आउँछ?”

ऊ उठेर ओडारको मुखसम्म गयो। बाहिर अँध्यारो जंगल स्थिर थियो। मनभित्र भने धमिलो, तर मिथ्या जस्तो। त्यसो त साधुसन्तले भनेको अर्थमा पनि होइन, फगत अन्योलमा जस्तो।

“भागेर ठीक गरें त?” “कि झन् हराएँ?”

हावाले रूखहरू हल्लाइरहेको थियो। ओडारभित्र पातहरूको सुसाहट पस्यो।

“म मौन खोज्दै आएको थिएँ…” “तर भित्र त अझ ठूलो आवाज रहेछ…”

उसलाई अचानक पुराना अनुहारहरू सम्झना आए, घर… बालबच्चा… जिम्मेवारी…

“किन यी सम्झनाहरूले पछ्याइरहेका छन्?” “किन छोड्दासमेत छुटेनन्?”

उसले निधार समात्यो। मन झन् अशान्त हुँदै गइरहेको थियो।

“शरीर मात्र यहाँ आएको रहेछ…” “चित्त त अझै त्यहीँ छ…”

ओडारको अँध्यारोमा ऊ लामो समय निस्पट्ट बसिरह्यो। त्यसैबेला कुनै पुरानो पढाइ उसको स्मृतिमा चम्कियो। ‘फोर्थ वे’ को हरफ चपौलीको सन्ध्यामा, काठको बार्दलीमा अडेसिएर बिरालोको घुर्घुर् सुन्दै गरेको। अनि ‘साथी !’ भन्दै गुरुले औंल्याइरहेको…. “मानिस निद्रामै बाँच्छ, यदि कन्सस् एफोर्ट लाएन भने निद्रा मै मर्छ…”

“यहाँ भाग्नु अघि, के म पनि निद्रामै थिएँ, बुझिन त गुरुका औंला ? ”

उसले गहिरो सास फेर्‍यो।

“आत्म-स्मरण…” “सायद कुरा यही रहेछ…”

ऊ बिस्तारै आफूलाई नियाल्न थाल्यो। श्वास… विचार… डर… इच्छा…

“म भागिरहेको थिएँ…” “तर कसबाट?”

केहीबेरपछि उसको अनुहार अलि शान्त देखिन थाल्यो।

“ओडार समाधान होइन रहेछ…” “यदि मन नै अशान्त छ भने…”

उसलाई अचानक कृष्णको स्मरण भयो। कुरुक्षेत्रको बीचमा उभिएको कृष्ण।

“युद्धमै योग…?” “कोलाहलमै जागरण…?”

ऊ हल्का मुस्कुरायो।

“त्यसैले पलायन होइन…” “जागरूकता पो चाहिने रहेछ…”

बिहान हुन लागेको थियो। ओडारबाहिरको आकाश फुस्रो हुँदै गइरहेको थियो।

“संसार बाधा होइन…” “साधनाको क्षेत्र पो रहेछ…”

ऊ उठ्यो। धूलो टक्टक्यायो।

“अब फर्किनुपर्छ…” “तर पहिलेको मानिस भएर होइन…”

ओडारबाट बाहिर निस्कँदा उसको पाइला पहिलेभन्दा स्थिर थियो।

“घर उही हुनेछ…” “मानिस उही हुनेछन्…”

“तर अब…” “म बेहोस भएर बाँच्ने छैन…”

ऊ बाटोमा बिस्तारै हिँड्न थाल्यो। उदाउँदै गरेको घाम रूखका पातमा चम्किन थालेको थियो।

“हरेक कर्म…” “अब साधना हुनेछ…”

“हरेक श्वास…” “स्मरण…”

“निर्वाण…” “सायद संसारकै गर्भ भित्रै लुकेको रहेछ…”

प्रेम र कृतज्ञताको यात्रा हो-जीवन

मानव जीवनको सबैभन्दा सुन्दर सुवास प्रेम हो। प्रेमले हृदयलाई कोमल बनाउँछ, आत्मालाई उज्यालोले भरिदिन्छ र जीवनलाई अर्थपूर्ण बनाइदिन्छ। जब मानिस प्रेममा बाँच्न सिक्छ, तब उसले संसारलाई नयाँ आँखाले हेर्न थाल्छ। फूलको मुस्कान, चराको मधुर गीत, नदीको निरन्तर बहाव र चन्द्रमाको शीतलता यी सबै कुरा उसलाई दिव्य स्पर्श जस्तो अनुभूति हुन थाल्छ। प्रेम विस्तार हुँदै जाँदा अन्ततः त्यो कृतज्ञताको पवित्र प्रकाशमा रूपान्तरण हुन्छ।

भगवद्गीतामा श्रीकृष्ण ले प्रेमलाई केवल भावना होइन, आत्माको अवस्था मान्नुभएको छ।उहाँको शिक्षाअनुसार साँचो प्रेम स्वार्थरहित, करुणामय र समर्पित हुन्छ:

“पत्रं पुष्पं फलं तोयं
यो मे भक्त्या प्रयच्छति ।
तदहं भक्त्युपहृतम्
अश्नामि प्रयतात्मनः ॥”

(भगवद्गीता ९।२६)

अर्थात्—
“कसैले प्रेम र भक्तिभावले एउटा पात, फूल, फल वा थोरै पानी पनि अर्पण गर्छ भने, म त्यसलाई प्रेमपूर्वक स्वीकार गर्छु।”

यसले के देखाउँछ भने भगवानलाई वस्तुको ठूलो मूल्य होइन, हृदयको निर्मल प्रेम प्रिय हुन्छ। वास्तवमा प्रेम नै कृतज्ञताको पहिलो पाइला हो। जब हामी सम्पूर्ण अस्तित्वसँग प्रेम गर्न थाल्छौं, तब जीवनको प्रत्येक क्षण वरदान जस्तो लाग्न थाल्छ। हामी अनुभव गर्छौं कि बिना कुनै योग्यताका पनि अस्तित्वले हामीलाई यति धेरै सौन्दर्य, प्रेम र आनन्द प्रदान गरेको छ। यही अनुभूतिबाट गहिरो कृतज्ञता जन्मिन्छ।

कृतज्ञता भनेको केवल “धन्यवाद” भन्नु मात्र होइन; यो त आत्माको मौन प्रार्थना हो। जब मानिस कृतज्ञ हुन्छ, उसले आफ्नो अहंकारलाई बिस्तारै पगाल्न थाल्छ। अहंकार सधैं आफूलाई ठूलो देखाउन खोज्छ, तर कृतज्ञताले झुक्न सिकाउँछ। प्रेममा केही क्षणका लागि अहंकार हराउँछ भने कृतज्ञतामा त्यो पूर्ण रूपमा विलीन हुन्छ।

जीवनमा दुःख र अशान्तिको मुख्य कारण पनि यही “म” र “मेरो” को बन्धन हो। जब मानिस अहंकारमा बाँधिन्छ, ऊ भित्रबाट भारी हुन थाल्छ। तर जब ऊ प्रेम र कृतज्ञतामा बाँच्न सिक्छ, तब भित्र आनन्दको निर्मल झरना बग्न थाल्छ। उसले अनुभव गर्न थाल्छ कि साँचो सुख बाहिर होइन, आफ्नै चेतनाको गहिराइमा लुकेको छ।

त्यसैले जीवनको वास्तविक यात्रा प्रेमबाट सुरु हुन्छ र कृतज्ञतामा पूर्ण हुन्छ। प्रेमले हृदय खोल्छ, कृतज्ञताले आत्मालाई मुक्त गर्छ। जब यी दुई गुण जीवनमा फूलझैँ फक्रिन्छन्, तब मानिस केवल बाँच्दैन,ऊ दिव्य आनन्दमा रूपान्तरण हुन्छ।

हाम्रो सम्पूर्ण जीवन प्रेमको यात्रा हो। प्रेमबाटै हृदयमा कृतज्ञताको फूल फुल्छ, र कृतज्ञताबाट आत्मा प्रकाशमय बन्छ।

“असतो मा सद्गमय,
तमसो मा ज्योतिर्गमय,
मृत्योर्मा अमृतं गमय!!”

कति सून्दर पात हरू

त्यही बाटो छेउ मै मङ्ग छरिएका थिए पारिजात,

त्यही कसैको आँगन मै हाँसेका थिए गुलाब,

त्यही कुनै कुनामा फैलिएको थियो बेगम्बेली,

त्यही पारि  वनमा डुल्दै थिए सुनाखरी।

तर म कहाँ थिएँ ?

आँखा मेरा कहाँ थिए ?

कहाँ थियो नाक मेरो ?

खुल्दै छन् भर्खर आँखाहरू,

सुँङ्दै छन् बल्ल नाकहरू।

फेरि सुटुक्क भन्यो कसैले—

“छोड फूलहरू,

हेर त कति सून्दर पात हरू 

~ Ajay Poudel

कति सून्दर पात हरू

त्यही बाटो छेउ मै मङ्ग छरिएका थिए पारिजात,

त्यही कसैको आँगन मै हाँसेका थिए गुलाब,

त्यही कुनै कुनामा फैलिएको थियो बेगम्बेली,

त्यही पारि  वनमा डुल्दै थिए सुनाखरी।

तर म कहाँ थिएँ ?

आँखा मेरा कहाँ थिए ?

कहाँ थियो नाक मेरो ?

खुल्दै छन् भर्खर आँखाहरू,

सुँङ्दै छन् बल्ल नाकहरू।

फेरि सुटुक्क भन्यो कसैले—

“छोड फूलहरू,

हेर त कति सून्दर पात हरू 

~ Ajay Poudel

आफ्नो आफ्नो जीवन भोगाइ

हामी मानिसहरूमा धेरै समानता भए तापनि, हामी सबैको आफ्नो आफ्नो जीवन बुझाइ र भोगाइ छ। मनन गर्ने हो भने यो विषय रहस्यमयी छ, हामी सबै मानिसको रूपमा समान भए तापनि, हामी सबैको आफ्नो आफ्नो संसार किन छ? किन सबैको जीवनमा समान अनुपातमा सुख र दुःख देखिँदैन? किन जीवन दृष्टि र भोगाइमा यति धेरै विविधता देखिन्छ? जीवनको सम्पूर्ण रहस्य बुझ्न त मुस्किल नै छ तर यति निष्कर्ष निकाल्न पक्कै सकिन्छ कि हामी सबै आफ्नो आफ्नो भाग्य वा भनौँ कर्म अनुसारको जीवन बाँचिरहेका छौँ। यति निष्कर्षमा पुगेपछि, स्वाभाविक रूपमा अर्को तार्किक प्रश्न उठ्छ कि किन सबैको जीवन दृष्टि र भोगाइ फरक फरक छ? के कारणले हाम्रो भाग्यको निर्माण गर्छ?

अधिकताको प्यास, परमात्माको आश

ओहो…!  त्यो ठिंग उभिएको नृशंस पहाड ! त्यो पहाडको टाकुरामा ठिङ्ग उभिएर मैले आफ्नो खल्तीको रित्तोपन मात्रै नापिनँ, बरु एउटा विकराल र आदिम अहंकारको बीजारोपण पनि गरेँ। धत्तेरिका ! अभावले मेरो पेटभन्दा पहिले मेरो दृष्टि चेतलाई नै कति छिटो विकृत बनाइदिएछ। मैले मान्छेमा ‘धडकन’ देख्न छाडेँ, केवल ‘अवसर’ को नग्न रूप मात्रै देख्न थालेँ। आफन्त ? छि: ! जसको छातीमा टेकेर म माथि उक्लिन खोज्दै थिएँ, तिनीहरूलाई मैले ‘आत्मीयता’ को जलप होइन, केवल एउटा निर्जीव आरोहणको खुड्किलो मात्रै सम्झिएँ।

अनि काठमाडौँ… ओहो ! त्यो कंक्रिटको कोलाहलभित्र म बिस्तारै एउटा संवेदनाहीन र धातुमय यन्त्रमा रूपान्तरित हुँदै गएँ। अरूको पसिनाका थोपाहरूमा मेरो साम्राज्यको जग हालियो। अरूको भूमिको चीत्कारमा मेरो वैभवको अट्टालिका ठडियो। बाहिरबाट हेर्दा त्यो वैभव कस्तो स्वर्णिम थियो, तर भित्रभित्रै त्यो कस्तो सडान्धमय र कुहिएको थियो ! धत्तेरिका ! जति-जति मैले बाहिर ‘अधिकता’ का लेयरहरू थप्दै गएँ, उति-उति मभित्रको ‘मनुष्य’ एउटा अदृश्य क्षयरोगले खिइँदै गयो। जति धेरै सञ्चय गरेँ, उति धेरै रित्तिएँ। अन्ततः हात लाग्यो एउटा विराट महाशून्य।

त्यो चिसो पुलको डिल… मुनि अन्धकारको साम्राज्य बोकेर सुसाइरहेको त्यो सेती नदी… र मेरो शारीरिक अस्तित्वको अन्तिम विसर्जनका लागि तयार भएको त्यो आत्महत्याको क्षण !

तर… ओहो ! त्यही महाविनाशको संघारमा अचानक ‘मोर्निङ्ग हिलिङ्ग सेसन’ को हिलिङ्गले मेरो अन्तर्मनको कुनाबाट एउटा अलौकिक र निशब्द कम्पन उठ्यो। आहा…! त्यो कम्पनले मेरो चेतनालाई एउटा अनौठो ऐना देखाइदियो। मैले बल्ल बुझेँ म त वस्तुको होइन, अनन्तको भोको रहेछु। म पदार्थमा होइन, परमात्मामै तृषित रहेछु। धत्तेरिका ! म त एउटा यस्तो कस्तुरी मृग पो रहेछु जसले आफ्नै नाभीभित्र ब्रह्माण्डीय सुगन्ध लुकाएर, मरुभूमिको तप्त बालुवामा ‘मृगतृष्णा’ को पछि कुद्दै आफ्नो खुट्टा र रगत लत्पत्याएको थियो। हो, ठीक त्यही क्षण… मेरो त्यो असीमित ‘अधिकताको प्यास’ बिस्तारै गलेर, पग्लिएर एउटा परम ‘परमात्माको आश’ मा रूपान्तरित भयो।

हिजोसम्म जुन ऊर्जा ‘लोभ’ बनेर बाहिर भौतारिएको थियो, आज त्यही ऊर्जा ‘मौन’ बनेर भित्र छिर्न बल्लतल्ल शुरु भएको छ। अहो ! यो कस्तो दिव्य रूपान्तरण ! 🤔

पाटी

म र मेरो बुढा एउटा मन्दिरको पाटीमा बस्ने गर्थ्यौं । म चौध बर्षको हुँदा उ सँगै भागेर आएको गाउँबाट । बुढा कहिले काहीँ ज्याला मजदुरी गर्ने गर्थ्यो तर सबै पैसा नशामा नै उडाउने गर्थ्यो । उसले मात्र नशा गर्ने हैन म पनि गर्ने गर्थे । हामी प्राय औषधिजन्य नशा प्रयोग गर्ने गर्थ्यौ । कहिले काहीँ पैसा नहुँदा भने डेनड्राईड फुक्ने गर्थ्यौ । खै उसले कहाँबाट सिकेछ , उसले खाएको देखेरै मैले पनि खान सिके । उसले पनि मलाई कहिल्यै प्रतिकार गरेन । यहि कारणले हामीसँग पैसा बच्दै बच्दैन थियो । कहिले काहीँ उसले जिद्दी गर्दा म माग्न पनि जान्थे । माग्ने काम मलाई त्यति ठिक लाग्दैन थियो । उसलाई कसैले पत्याउदैनन् , माग्दा गाली गर्छन् भनेर मग्न सधै मलाई पठाउने गर्थ्यो । मान्छेहरुले मलाई भने पत्याउथे । सायद मेरो बढिरहेको पेट देखेर पनि होला । कोहि कोहि मलाई सोध्ने गर्थे , ” तिम्रो बुढा छ कि छैन भनेर ” । मैले “छैन” भन्ने इशारा दिन्थे । किनकि त्यो भने पछि अल्लि धेरै पैसा पाईन्छ भन्ने आशा लाग्थ्यो । एक दिन त्यसै गरि माग्ने क्रममा एक जना दाईले हजार रुपैयाँ दिनु भयो । मलाई बिश्वास नै लागेन । त्यो भन्दा अघि मलाई कसैले पनि त्यति धेरै पैसा दिएको थिएन । त्यो दाईले मेरो पेट तिर हेर्दै , फलफुल किनेर खानु भन्नू भयो । मैले हुन्छ भने । त्यो दाइ त्यहाँबाट हिडि हाल्नु भयो । म पाटीमा गए र बुढालाई भने । बुढाले पैसा लियो उसलाई कुरामा भने खासै चासो भएन र हिडि हाल्यो । गएको एक घण्टामा बुढा आयो । उसले मेरो लागि एक पत्ता हरिया चक्कि ल्याइदिएछ । मैले त्यो दिन अली धेरै चक्कि खाए । नसा मै भए पनि त्यो दिन म त्यहि दाईलाई सम्झिरहेको थिए । एकछिन पछि त्यहि दाइको आवाज सुने । तिमी यहि बस्छौ हो ?? सोध्नु भयो । मैले “हो” भने । म नशामा भएको मेरो हरेक अंगले बताईरहेको थियो । उहाँले नदेख्ने त कुरै भएन । उहाँले भन्नू भयो , ” बहिनी यस्तो बेला नशा गर्नु हुदैन बच्चालाई असर गर्छ । अझ तिमी त सानै छौ । ” म केही बोलीन तर मैले मनमनै निर्णय गरे की म भोलिबाट नशा गर्दिन । बुढा भने त्यो रात आएन । बिहानै त्यो दाइ भने आउनु भएछ । एउटा बाक्लो ब्ल्याङ्केट र फलफुल ल्याईदिनु भएको रहेछ । ” किन यस्तो गर्नु भएको दाइ “, मैले सोधे । मलाई तिमी मेरो आफ्नै बहिनी जस्तो लागेर । यो सुने पछि मेरो आँखा भरी आँसु आएको थियो । उहाँ दैनिक जस्तो आउन थाल्नु भयो । हामी कुरा पनि गर्न थाल्यौं । उहाँ खाली हात भने कहिल्यै आउनु हुन्न थियो । कहिले मेरा लागि कपडा , कहिले बिस्कुट , कहिले हर्लिक्स…… । मैले बिस्तारै नशा पनि छोड्दै गईरहेको थिए । बुढा घर नआएको थुप्रै भएको थियो तर त्यो दाईले गर्दा म खुसी थिए । मलाई साच्चै बहिनी जस्तै मान्नु भएकोले । मैले मेरो प्रेमको कथा पनि सुनाए । कसरी हामी काठमाडौं सम्म आयौं भनेर । मलाई दाइले प्राय सधै पैसा दिनु हुन्थ्यो र भन्नू हुन्थ्यो , ” पौष्टिक कुरा खानु , तिमीले जे खान्छौ त्यो बच्चाले पनि खान्छ ” । मलाई त्यो समय पछि नै हो , बाँच्नु पर्छ जस्तो लाग्न थालेको । किनकि धेरै पछि मैले कसैबाट यति धेरै माया पाएकी थिए । सायद यति धेरै माया त मेरा बुबाले पनि गरेका थिएनन् । एक दिन दाइले मलाई बुढा गएको त धेरै दिन भयो त बहिनी , बुढाको चिन्ता लाग्दैन ? भन्नू भयो । उ कहिले दुई महिनामा पनि आउदैन । उसको त भर नै छैन । दाइले त्यस पछि मलाई खै किन हो , अंगालो हाल्नु भयो । मलाई पनि अफ्ट्यारो लागेन ।
केहि दिन पछि केही मान्छेहरु आएर मलाई कतै लैजान लागे । म जान मानी रहेकी थिइन । उनीहरूले भने , उनिहरु अनाथ आश्रमबाट आएका हुन् र मलाई केही गर्दैनन् रे । मलाई भने डर लाग्दै थियो । म कसरी जान सक्थे । बुढाको माया भन्दा पनि त्यो दाइ आउनु हुन्छ । म यहाँ भइन भने उहाँलाई चिन्ता होला भन्ने पनि लाग्दै थियो । उनिहरुले म जान नमान्दा पनि जबर्जस्ती लगे । मलाई त्यो पाटी पनि घर जस्तै लाग्थ्यो । म रुन बाहेक केही पनि गर्न सकिन । म अनाथ आश्रममा पुगे । त्यहाँ पुगे पछि भने म छक्कै परे । बुढा त त्यहिँ रहेछ । मेरो मन अल्ली शान्त भयो । एक महिना कहाँ हराएछ भनेको यहाँ पो रहेछ । मलाई अझ अचम्म लाग्यो जब मैले त्यो दाइलाई पनि त्यहि आश्रममा देखे । उहाँको नै रहेछ , आश्रम । जब म यहाँ आए मेरो जीवन नै परिवर्तन भयो । यहाँ हामीलाई उहाँहरुले पढाउनु हुन्थ्यो , गित गाउन सिकाउनु हुन्थ्यो र मैले लेख्न सिकेकी पनि यहि हो । मैले दाइको कुराहरु सुन्दा थाहा पाए उहाँ पनि सडकबाट यहाँ सम्म पुग्नु भएको रहेछ । आज मेरो बुढा शिक्षक भएको छ । साना साना बच्चाहरुलाई पढाउछ । छोरी दस बर्ष कि पुगी र म भने आजभोलि लेख्ने प्रयास गर्दै छु र यहीँ काम पनि गर्न थालेकी छु ।