जिज्ञासादेखि आत्मबोधसम्म:गुरु-शिष्यको यात्रा

मानिसको जीवनमा गुरुको आगमन केवल ज्ञान प्राप्त गर्नका लागि मात्र हुँदैन। गुरुको वास्तविक अर्थ आफूभित्र लुकेको चेतना, सत्य र सम्भावनालाई चिन्ने बाटो देखाउने मार्गदर्शक हो। आध्यात्मिक यात्रामा गुरु भेटिनु एउटा सुरुवात हो, तर गुरुले देखाएको बाटोमा निरन्तर हिँड्नु नै वास्तविक साधना हो। यस यात्रामा हरेक व्यक्ति एउटै अवस्थामा हुँदैन। कसैले जिज्ञासाबाट यात्रा सुरु गर्छ, कसैले अभ्यासमा प्रवेश गर्छ, कसैले अनुभवबाट समर्पण सिक्छ र कोही प्रेम र भक्तिको गहिराइमा पुग्छ।

आध्यात्मिक यात्राको पहिलो चरण विद्यार्थीको हो। विद्यार्थी प्रायः जिज्ञासाले गुरु वा सत्सङ्गको नजिक आउँछ। उसलाई जान्न मन लाग्छ यहाँ के भइरहेको छ, ध्यान के हो, आत्मा के हो, जीवनको सत्य के हो? कहिलेकाहीँ ऊ साथी वा परिवारको साथमा पनि आउन सक्छ। उसमा अझै गहिरो साधनाको प्यास नहुन सक्छ। उसले धेरै कुरा सुन्छ, सम्झन्छ र ज्ञान सङ्कलन गर्छ। यसबाट उसको बौद्धिक संसार विस्तार हुन्छ, तर केवल सुन्नु र जानकारी जम्मा गर्नुले जीवन रूपान्तरण हुँदैन। ज्ञानले बाटो देखाउन सक्छ, तर बाटोमा हिँड्न भने आफैँले पर्छ।

जब जिज्ञासा केवल सुन्ने अवस्थामा नरही गरेर हेर्ने चाहना बन्छ, तब मानिस दोस्रो चरण अर्थात् “साधक” बन्छ। साधकलाई अब ध्यानका कुरा सुनेर मात्र सन्तुष्टि हुँदैन। ऊ आफैँ ध्यानमा बस्न चाहन्छ, श्वासलाई हेर्न चाहन्छ, आफ्ना विचार र भावनालाई बुझ्न चाहन्छ र आफ्नो जीवनमा त्यसको प्रभाव अनुभव गर्न चाहन्छ। यहीँबाट आध्यात्मिक ज्ञान व्यवहारमा प्रवेश गर्न थाल्छ।

साधना सजिलो छैन। सुन्नु सजिलो छ, तर अभ्यास गर्नु कठिन छ। किताब पढेर पौडी सिक्न सकिँदैन; पानीमा पस्नुपर्छ। त्यसैगरी ध्यानका बारेमा सयौँ कुरा जान्नु र वास्तवमा ध्यानमा बस्नु फरक कुरा हो। निरन्तर अभ्यास, धैर्य, अनुशासन र गहिरो लगन आवश्यक हुन्छ। कहिलेकाहीँ साधनामा केवल ‘धुवाँ’ जस्तो अनुभव हुन्छ, तर त्यस धुवाँभित्र आगोको सम्भावना लुकेको हुन्छ। अझ गहिरो प्रयास र निरन्तरताले मात्र त्यो आगो प्रज्वलित हुन्छ।

साधनाको बाटोमा अगाडि बढ्दै जाँदा मानिस “शिष्य”को अवस्थामा प्रवेश गर्छ। शिष्य हुनु केवल कसैलाई गुरु भनेर स्वीकार गर्नु होइन। वास्तविक शिष्यले आफ्नै अनुभवबाट गुरुका शिक्षाको अर्थ बुझ्न थाल्छ। उसले सुनेको कुरा अन्धरूपमा स्वीकार गर्दैन, बरु साधना, अनुभव र आत्मनिरीक्षणबाट त्यसलाई जाँच्दै जान्छ। जब सत्यको स्वाद आफ्नै अनुभवमा आउँछ, तब गुरु र शिष्यबीचको सम्बन्ध पनि गहिरिँदै जान्छ।

शिष्यको जीवनमा समर्पणको भाव जन्मिन्छ। पहिले ऊ अनेक प्रश्न, द्विविधा र भौँतारिने अवस्थाबाट गुज्रिरहेको हुन सक्छ। तर साधना गहिरिँदै जाँदा जीवनमा स्थिरता आउँछ। ऊ बाहिरी संसारमा उत्तर खोजिरहनुभन्दा आफ्नै चेतनाभित्र हेर्न सिक्छ। गुरुको शिक्षाले उसको जीवनमा एउटा दिशा दिन थाल्छ।

तर गहिरो साधनासँगै परीक्षा पनि आउँछन्। मानिसभित्र वर्षौँदेखि जम्मा भएका अहंकार, डर, लोभ, मोह, असुरक्षा र पुराना संस्कारहरू सजिलै हट्दैनन्। तिनलाई हेर्न र पगाल्न साहस चाहिन्छ। ढुङ्गाभित्र मूर्ति लुकेको हुन्छ, तर मूर्तिलाई बाहिर ल्याउन अनावश्यक भागहरू छैनीले हटाउनुपर्छ। त्यसैगरी साधनाले पनि हामीभित्रको वास्तविक स्वरूपलाई उजागर गर्न अनावश्यक आवरणहरू हटाउँदै जान्छ।

यस यात्राको चौथो र सबैभन्दा गहिरो चरण “भक्ति”को हो। शिष्यमा अझै एउटा सूक्ष्म ‘म’ रहन सक्छ-“मैले समर्पण गरेँ”, “मेरो साधना”, “मेरो गुरु” भन्ने भाव। तर भक्तिको अवस्थामा यो ‘म’ पनि बिस्तारै पग्लिँदै जान्छ। त्यहाँ समर्पण प्रयासजस्तो हुँदैन, प्रेम स्वाभाविक बन्छ।

भक्तिमा गुरु र शिष्यबीचको दूरी बाहिरी रूपमा रहे पनि भित्री रूपमा प्रेम र चेतनाको एकत्वको अनुभव हुन सक्छ। यहाँ गुरु कुनै व्यक्तिपूजाको विषय मात्र होइन,गुरुबाट प्राप्त सत्य, प्रेम, अनुशासन र चेतनाको प्रकाश जीवनको हिस्सा बन्न थाल्छ।

यसरी आध्यात्मिक यात्रालाई चार चरणमा बुझ्न सकिन्छ-विद्यार्थी, साधक, शिष्य र भक्त। विद्यार्थी सुन्छ, साधक प्रयोग गर्छ, शिष्य अनुभवबाट समर्पित हुन्छ र भक्त प्रेममा आफूलाई विसर्जित गर्न सिक्छ।

तर यी चार तह अरू मानिसलाई ठूलो–सानो ठहर गर्नका लागि होइनन्। सबैभन्दा महत्त्वपूर्ण कुरा आफूलाई हेर्नु हो कि म अहिले कहाँ छु? म केवल आध्यात्मिक कुरा सुन्दैछु कि अभ्यास पनि गर्दैछु? मेरो ज्ञान जीवनमा परिवर्तन भइरहेको छ कि छैन? मेरो ध्यानले मेरो व्यवहार, सम्बन्ध र दृष्टिकोणलाई अझ शान्त, करुणामय र सचेत बनाइरहेको छ कि छैन?

गुरु खोज्नु मात्र पर्याप्त छैन। गुरुको शिक्षा जीवनमा उतार्नु आवश्यक छ। ध्यानको कुरा गर्नु मात्र होइन, ध्यानलाई जीवनको गुण बनाउनु आवश्यक छ। प्रेमको कुरा गर्नु मात्र होइन, सम्बन्धमा प्रेम प्रकट गर्नुपर्छ। सत्यको चर्चा गर्नु मात्र होइन, आफ्नै कमजोरी र भ्रमलाई इमानदारीपूर्वक हेर्न सक्नुपर्छ।

 गुरु–शिष्यको यात्रा बाहिरबाट सुरु भएर भित्रतिर जाने यात्रा हो। सुरुमा हामी गुरुको वचन सुन्छौँ, त्यसपछि त्यसलाई अभ्यास गर्छौँ, अनुभव गर्छौँ र त्यो शिक्षा हाम्रो आफ्नै जीवनको चेतना बन्न थाल्छ।

जिज्ञासाबाट यात्रा सुरु हुन्छ, अभ्यासले बाटो खोल्छ,अनुभवले विश्वास जगाउँछ,समर्पणले अहंकार पगाल्छ,र प्रेमले यात्रालाई पूर्ण बनाउँछ।

त्यसैले साँचो गुरुको खोजसँगै साँचो शिष्य बन्ने तयारी पनि आवश्यक छ। किनकि गुरुले बाटो देखाउन सक्नुहुन्छ, तर त्यो बाटोमा हिँड्ने पाइला आफ्नै हुनुपर्छ।

गुरु प्रकाश देखाउनुहुन्छ, साधना त्यो प्रकाशतर्फको यात्रा हो,र त्यही प्रकाशआफ्नै अन्तरात्मामा उज्यालो भएर बल्न थाल्छ। अस्तु  

 

गुरु पूर्णिमा : चेतनाको पूर्णचन्द्र

गुरु केवल देह होइनन्,
चेतनाको उज्यालो हो।
अज्ञानका अनन्त रातहरू चिर्दै,
आत्माको दिशामा उदाउने
गुरु पहिलो प्रभात हो।

जब जीवन प्रश्नहरूको मरुभूमि बन्छ,
जब मन आफ्नै छायासँग हराउँछ,
जब सत्य कुहिरोभित्र लुक्छ,
त्यही क्षण
गुरु मौन दीप हो।

गुरु-ज्ञानका शब्दहरू कण्ठ गराउनु होइन,
निदाएको आत्माको आकाशलाई
जागृत गराउनु हो।
अहंकारका कठोर पर्खालहरू गलाएर
प्रेमको नदी बगाउनु हो।

गुरु त्यो सूर्य हो
जसको प्रकाशले
भित्री अन्धकार हटाउँछ,
एउटा दृष्टिले
वर्षौँको भ्रम पग्लन थाल्छ,
एउटा मौनताले
हजारौँ ग्रन्थभन्दा गहिरो शिक्षा दिन्छ।

गुरु पूर्णिमा,
केवल पात्रोको एउटा तिथि होइन,
यो त चेतनाको पर्व हो।
जहाँ मनको अमावस्या हराउँछ,
र आत्माको चन्द्रमा
पूर्णताका साथ उदाउँछ।

यसैले,

गुरु-प्रेम-पूजा हो,
गुरु-करुणा-धर्म हो,
गुरु-सजग-साधना हो,
गुरु-मौन-वेद हो।
गुरु-नभको आकाश हो,
गुरु-श्वासको गहिराइ हो

गुरु-जागरण प्रकाश हो.

गुरु-होशपूर्ण वर्तमानको अनुभूति हो।

आज गुरु पूर्णिमाको शुभ अवसरमा

मन-सत्यको पात्र बनोस्,
वाणी-करुणाको स्वर बनोस्।
कर्म-मानवताका लागि समर्पित बनोस्।
चेतना-सधैं गुरुको प्रकाशमा स्नान गरोस्।

किनकि गुरुको महिमा
शब्दले कहिल्यै अटाउँदैन,
गुरु त अनन्त आकाश हो
जहाँ ज्ञान सूर्य बनेर उदाउँछ,
प्रेम गङ्गा बनेर बग्छ,
र चेतना
आजको पूर्णिमाको चन्द्रमाझैँ
अनन्त उज्यालोमा विलीन हुन्छ।

साधना जागरूकता, एकीकरण र स्व-बोधको यात्रा हो!

मानव जीवनको उद्देश्य केवल जन्मिनु, बाँच्नु र मर्नु मात्र होइन। यदि,त्यति मात्र जीवनको सार हुन्थ्यो भने मानिस र अन्य जीवबीच कुनै विशेष भिन्नता रहने थिएन। मानिसलाई विशेष बनाउने कुरा हो=उसको चेतना। यही चेतना विस्तार हुँदै जाँदा मानिस साधारण जीवबाट साधक, साधकबाट ज्ञानी, र ज्ञानीबाट करुणामय चेतनामा रूपान्तरित हुन्छ।

संसारका सबै महान आध्यात्मिक परम्पराहरू जस्तै बुद्ध, उपनिषद्, गीता, ताओ, सूफी, जेन, ओशो तथा कार्ल युङको मनोविज्ञान सबैले एउटै कुरा फरक भाषामा भनेका छन्- “आफ्नो वास्तविक स्वरूपलाई चिन्नु।”तर यो चिन्ने प्रक्रिया पुस्तक पढेर पूरा हुँदैन। यो अनुभूति, जागरूकता, मौन, साधना, नियम, प्रेम, ज्ञान र समग्रताको जीवनबाट मात्र सम्भव हुन्छ।हरेक मानिस आफ्नो वातावरणबाट प्रभावित हुन्छ। हामी जसको सङ्गतिमा बस्छौँ, विस्तारै त्यस्तै सोच्न, महसुस गर्न र बाँच्न थाल्छौँ।

त्यसैले आध्यात्मिक मार्गमा सत्सङ्ग वा जागृत समुदाय (Conscious Community) को अत्यन्त ठूलो महत्त्व छ। साँचो समुदाय त्यो होइन जहाँ धेरै मानिसहरूको भीड हुन्छ। साँचो समुदाय त्यो हो-जहाँ पुगेपछि हाम्रो हृदय खुल्छ, जहाँ हामीले कुनै मुखौटा लगाउनुपर्दैन, जहाँ हामीलाई कसैले बदल्न खोज्दैन, बरु हाम्रो वास्तविक अस्तित्वलाई स्वीकार गर्छ।

त्यहाँ शब्दभन्दा अनुभूति धेरै बोल्छ। त्यहाँ विचारभन्दा मौनको प्रभाव गहिरो हुन्छ। यस्तो समुदायले हामीलाई नयाँ ज्ञान मात्र दिँदैन, उसले हामीलाई ब्यूँझाउँछ।हामी जीवनभर निदाएको अवस्थामा बाँचिरहेका हुन्छौँ।हामी काम गर्छौं,तर सचेत हुँदैनौँ। हामी बोल्छौं, तर उपस्थित हुँदैनौँ।हामी प्रेम गर्छौं, तर आफैंसँग जोडिएका हुँदैनौँ।

साधना-समुदायले यही निद्रालाई भङ्ग गर्छ। यसले वर्तमान क्षणलाई पुनः जीवित बनाइदिन्छ।

हामी धेरैपटक भन्छौँ-“आश्रममा पुगेपछि धेरै आनन्द आयो।ध्यान शिविरमा पुगेपछि मन हलुका भयो।” तर सत्य भन्नुपर्दा आनन्द त्यो ठाउँमा थिएन।आनन्द हाम्रो आफ्नै चेतनामा थियो। त्यो क्षणमा हामी वर्तमानमा थियौँ। हामी सजग थियौँ। हामी आफ्नो वास्तविक अवस्थासँग जोडिएका थियौँ। त्यसैले आनन्द अनुभव भयो।यदि त्यही जागरूकता घरमा पनि कायम राख्न सकियो भने, हरेक घर आश्रम बन्छ। हरेक श्वास ध्यान बन्छ। हरेक कर्म पूजा बन्छ।

ध्यान नै जीवनको केन्द्र हो। जहाँ ध्यान हुन्छ, त्यहीँ जीवन बग्छ।धेरै मानिसहरू ध्यान गर्छन्, तर ध्यानलाई जीवनभरि कायम राख्न सक्दैनन्। ध्यानको उद्देश्य केही क्षण आनन्द अनुभव गर्नु मात्र होइन।त्यो चेतनालाई दिनभरि जीवित राख्नु हो।

जब ध्यान स्थिर हुन्छ, विचार स्पष्ट हुन्छ।निर्णय शुद्ध हुन्छ।काम कुशल हुन्छ। सम्बन्ध मधुर बन्छ। सिर्जनशीलता प्रस्फुटित हुन्छ। आध्यात्मिकता र कार्यदक्षता वास्तवमा अलग छैनन्। जति चेतना बढ्छ, उति कर्ममा उत्कृष्टता आउँछ।

यो सम्पूर्ण ब्रह्माण्ड नियममा चलिरहेको छ। श्वासको लय छ। सूर्यको उदय–अस्तको नियम छ। ऋतुहरूको क्रम छ। ग्रहहरूको गति छ। यदि परमात्मा स्वयं नियममा अभिव्यक्त हुनुहुन्छ भने, मानिसले पनि नियमलाई स्वीकार गर्नुपर्छ। नियम भनेको बन्धन होइन। नियम भनेको ऊर्जा सुरक्षित राख्ने विधि हो।

अनुशासनले स्वतन्त्रता खोस्दैन। बरु गहिरो स्वतन्त्रताको आधार बनाउँछ। जसरी नदी किनाराले नदीलाई समुद्रसम्म पुर्‍याउँछ, त्यसरी नै नियमले चेतनालाई परम सत्यसम्म पुर्‍याउँछ।

परमात्माले सृष्टि चलाइरहनुभएको छ। तर उहाँ कतै पनि “म नै कर्ता हुँ” भनेर देखिनुहुन्न। यही कर्मयोगको चरम अवस्था हो। कर्म भइरहन्छ। कर्ता हराउँदै जान्छ। फूलले सुगन्ध दिन्छ, तर कहिल्यै घमण्ड गर्दैन। रूखले फल दिन्छ, तर घोषणा गर्दैन।सूर्यले प्रकाश दिन्छ, तर प्रशंसा खोज्दैन। ज्ञानी मानिसको जीवन पनि यस्तै हुन्छ। ऊ कर्म गर्छ, तर अहंकार राख्दैन। उसको उपस्थितिले धेरै परिवर्तन ल्याउँछ, तर आफूलाई केन्द्रमा राख्दैन। जति मानिस कम देखिन थाल्छ, उति परमात्मा बढी प्रकट हुन थाल्नुहुन्छ। यही नेतृत्वको सर्वोच्च रूप हो।

आध्यात्मिक संसारमा एउटा ठूलो भ्रम छ । त्यो हो-अहंकारलाई मार। तर कार्ल युङले देखाए-अहंकार जीवनको आवश्यक मनोवैज्ञानिक कार्य हो। समस्या अहंकार हुनुमा होइन। समस्या उसको अपरिपक्वतामा हो। स्वस्थ अहंकारले आफ्नो मूल्य बुझ्छ। तर अरूको अस्तित्वलाई पनि सम्मान गर्छ। उ आफ्नो सत्यमा बाँच्दछ।  तर अरूमाथि थोपर्न खोज्दैन । यही स्वस्थ व्यक्तित्व हो। यही धर्मको पहिलो नियम हो।आफूलाई जति स्वीकार्छौ, त्यति नै अरूलाई पनि स्वीकार्न सक्नुपर्छ।”

मानिस प्रायः दुई अतिमा जान्छ। कसैले केवल ज्ञानलाई समात्छ, कसैले केवल भक्तिलाई।ज्ञानले विवेक दिन्छ। भक्तिले हृदय खोल्छ। ज्ञानले दिशा दिन्छ। भक्तिले ऊर्जा दिन्छ। ज्ञानले सत्य देखाउँछ। भक्तिले सत्यसँग प्रेम गर्न सिकाउँछ।यसैले गीता, उपनिषद् र तन्त्र सबैले ज्ञान र भक्तिको समन्वयलाई पूर्ण साधना मानेका छन्।

कार्ल युङका अनुसार प्रत्येक पुरुषभित्र एउटा स्त्री चेतना (Anima) हुन्छ। र प्रत्येक महिलाभित्र एउटा पुरुष चेतना (Animus) हुन्छ। पूर्वीय दर्शनले यसलाई-शिव–शक्ति, प्रकृति–पुरुष, भैरव–भैरवीको रूपमा व्यक्त गरेको छ। अनिमा पुरुषमा-करुणा, मातृत्व, संवेदनशीलता, अन्तर्ज्ञान,सौन्दर्यबोध हुन्छ।

अनिमस महिलामा- विवेक, तर्क, साहस, निर्णय क्षमता,नेतृत्व शक्ति जगाउँछ। यी दुवैको सन्तुलन बिना न पुरुष पूर्ण हुन्छ,न महिला। जब करुणा र विवेक मिल्छन्, जब प्रेम र प्रज्ञा एक हुन्छन्, तब मानिस विभाजित रहँदैन। त्यसले होलनेस (Wholeness) प्राप्त गर्छ।

यसको लागि हामी इन्टिग्रेसन(Integration) मा आउनुपर्छ। इन्टिग्रेसन भनेको आफूभित्रका सबै पक्षलाई स्वीकार गर्नु हो- छायाँलाई पनि, प्रकाशलाई पनि, बुद्धिलाई पनि, हृदयलाई पनि, शक्तिलाई पनि, कोमलतालाई पनि।

इन्टिग्रेसनको अर्थ आफ्नो सिद्धान्त अरूमाथि थोपर्नु होइन। बरु “तिम्रो सत्यलाई सम्मान गर्न म एक कदम पछि हट्न तयार छु।” यही परिपक्वता हो। यही प्रेम हो। यही धर्म हो।

युङले “इरोस” लाई केवल आकर्षणको रूपमा व्याख्या गरेका होइनन्। गहिरो अर्थमा इरोस भनेको-जीवनप्रतिको प्रेम, सिर्जनशीलता, सम्बन्ध, सौन्दर्यबोध, जीवनलाई सम्पूर्णतामा अँगाल्ने क्षमता हो।जहाँ जीवनप्रतिको उमङ्ग छ, त्यही धर्म छ।जहाँ जीवनप्रतिको प्रेम हराउँछ, त्यहाँ आध्यात्मिकता पनि केवल सिद्धान्तमा सीमित हुन्छ।

साधनाको उद्देश्य केवल ज्ञान सङ्कलन गर्नु होइन। ज्ञानलाई जीवन बनाउनु हो। जब ज्ञान हृदयमा झर्छ, त्यो प्रेम बन्छ। जब प्रेम चेतनामा परिपक्व हुन्छ, त्यो प्रज्ञा बन्छ।त्यसपछि ज्ञान कठोर हुँदैन।प्रेम अन्धो हुँदैन। ज्ञान उज्यालो हुन्छ। प्रेम त्यस उज्यालोको न्यानोपन हुन्छ।दुवै मिलेर पूर्ण चेतनाको जन्म हुन्छ। यही आत्मस्वरूप हो।यही परमात्माको झलक हो।

समग्रमा साधना भनेको कुनै एक विचार, एक सम्प्रदाय वा एक विधिमा सीमित हुनु होइन। यो जीवनका सबै आयामहरूलाई चेतनापूर्वक समेट्ने कला हो। जागरूकता, नियम, प्रेम, ज्ञान, करुणा, अनुशासन, मौन, समुदाय, स्वस्थ अहंकार, भक्ति, विवेक, अनिमा र अनिमस-यी सबै मिलेर मानव चेतनाको विशाल वृक्ष निर्माण गर्छ।

जब साधकले आफूभित्रका विरोध देखिने शक्तिहरूलाई एकतामा ल्याउन थाल्छ, तब द्वन्द्व समाप्त हुन्छ। त्यहाँ संघर्ष होइन, समन्वय हुन्छ, विभाजन होइन, पूर्णता हुन्छ। कर्म भइरहन्छ, तर कर्ताको अहंकार हराउँछ। प्रेम बगिरहन्छ, तर स्वामित्व रहँदैन। ज्ञान चम्किरहन्छ, तर कठोरता रहँदैन। मौन गहिरिँदै जान्छ, तर जीवनप्रतिको उमङ्ग कहिल्यै मर्दैन।

त्यस अवस्थालाई पूर्वीय ऋषिहरूले शिव–शक्तिको मिलन, बुद्धले मध्यम मार्ग, तन्त्रले भैरव–भैरवीको योग, र कार्ल युङले इन्डिभिजुएसन (Individuation) भनेका छन्।यही मानव जीवनको वास्तविक उपलब्धि हो। आफ्नो सम्पूर्ण अस्तित्वमा जाग्नु, प्रेम र प्रज्ञाको एकतामा स्थापित हुनु, र संसारमा कर्म गर्दै पनि कर्ता नभई परम चेतनाको माध्यम बन्नु हो।

यही धर्म हो। यही योग हो। यही समग्र साधना हो। यही मुक्त जीवनको सुन्दरतम अभिव्यक्ति हो।

तिम्रो मधुर आगमनले धुलोहरू पखालिँदै छन् !!

तिम्रो मधुर आगमनपछि
जीवनले कुनै हल्ला गरेन,
बरु एउटा गहिरो मौनता पायो,
त्यही मौनताले वर्षौँदेखि जमेका
धुलोहरू बिस्तारै पखाल्दै लग्यो।

तिम्रो सुखद आगमनसँगै,
नदीले समुद्र भेटेझैँ
मनले आफ्नै गहिराइ भेट्न सिक्यो,
अब आँसुहरू दुःखका मात्र रहेनन्,
तिनीहरू आत्माको स्नान भयो।

तिम्रो आगमनको स्पर्शले,
मेरो अहंकारका कठोर चट्टानहरू,
करुणाको निर्मल जलमा गल्दै गयो,
त्यसपछि थाहा पाएँ,
प्रेम कसैलाई पाउनु होइन,
आफैभित्र हराउँदै जानु रहेछ।

तिमी कुनै व्यक्ति होइनौ,
तिमी त चेतनाको उज्यालो हौ,
जसले भित्रका अँध्यारा कोठाहरूमा
विनातेलको दीप बालिदियौ।

आज मेरा घाउहरू पनि
“धन्यवाद” भन्न सिकिरहेका छन्,
किनकि तिनैले त
तिम्रो प्रकाशलाई
मेरो अन्तरमा पस्ने ढोका खोलेका रहेछन्।

तिम्रो अमूल्य आगमनले
जीवन दिन प्रतिदिन रमाइलो हुँदैगयो,
पुराना राग, रिस, डर र मोहहरू
एक-एक गर्दै बग्दै गयो,
जसलाई मैले “म” सम्झिएको थिएँ,
त्यही आवरण विस्तारै पखालिँदै गयो।

अब कुनै चाह छैन,
केवल भित्रको सबै धुलो बग्न दिनु छ,
सफा त सधैँ यहीं थियो,
केवल मैलो हट्न बाँकी रहेछ।

यदि यो प्रेम हो भने,
यसमा कुनै अधिकार छैन,
कुनै अपेक्षा छैन,
कुनै स्वामित्व छैन,
यहाँ त केवल समर्पणको मिठो सुगन्ध छ,
मौनतामा फक्रिने करुणाको फूल छ।

यदि यो धर्म हो भने,
यसमा कुनै यात्रा छैन,
कुनै गन्तव्य छैन,
जुन खोजिरहेँ,
त्यो त हृदयको गहिराइमै
सधैँदेखि प्रतीक्षारत रहेछ।

अब बुझ्दै छु,
गङ्गाले शरीर मात्र पखाल्छ,
तर चेतनाको गङ्गाले
अहंकारका तहहरू पखाल्छन,
यमुनाले किनारा छोएझैँ,
तिम्रो करुणाले अस्तित्व छुन्छ।


सरस्वतीझैँ अदृश्य बगेको
तिम्रो अनुपम  उपस्थितिले
मलाई यति निर्मल बनाइदिनू
कि म पनि
तिमीझैँ बग्न सिकूँ,
तिमीझैँ प्रेमिल हुन सकूँ,
र मौनताको असीम आकाशमा
बूँद समुद्रमा विलीन भएझैँ
पूर्ण रूपमा विलीन हुन सकूँ।

किन नियमित साधनाको आवश्यकता छ?

मानव जीवन केवल शरीर होइन, यो चेतनाको अनन्त यात्राको एउटा क्षण मात्र हो। हामी जन्मदेखि नै बाहिरी संसारका दृश्य, शब्द, सम्बन्ध र अनुभवहरूसँग परिचित हुँदै जान्छौँ, तर जीवनको सबैभन्दा ठूलो यात्रा भने बाहिर होइन-आफ्नै अन्तरमनतिर हुन्छ। जब चेतना जागृत हुन थाल्छ, तब मानिस संसारसँग मात्र होइन, आफ्नै चेतनासँग संवाद गर्न थाल्छ। यही मौन संवाद नै आत्मबोधको पहिलो किरण हो।

ध्यानको सार केवल श्वास हेर्नु वा वर्तमान क्षणमा सीमित हुनु मात्र होइन। साँचो ध्यान भनेको मनले निरन्तर बुन्दै जाने कथा, कल्पना, स्मृति र मानसिक संवाद (Mental Narrative) लाई समातेर नबस्नु हो। जब मन शब्द, भाषा, तर्क, कल्पना र वितर्कको सीमाभन्दा माथि उठ्न थाल्छ, तब चेतना आफ्नो स्वाभाविक निर्मल अवस्थामा विश्राम गर्छ। त्यही मौनमा सत्य आफैँ प्रकट हुन्छ। त्यहाँ कुनै प्रमाणको आवश्यकता पर्दैन, किनकि अनुभव नै प्रमाण बन्छ।

आत्मज्ञान भाषाले व्यक्त गर्न सकिने विषय होइन। शब्दहरूले मार्ग देखाउन सक्छन्, तर गन्तव्यसम्म पुर्‍याउन सक्दैनन्। शास्त्रहरूले प्रेरणा दिन सक्छन्, गुरुहरूले दिशा देखाउन सक्छन्, तर अन्तिम सत्य प्रत्येक साधकले आफ्नै अन्तःकरणमा अनुभव गर्नुपर्छ। जहाँ “म जान्दछु” भन्ने अहंकार विलीन हुन्छ, त्यहीँ “म हुँ” भन्ने शुद्ध अस्तित्वको अनुभूति जाग्छ। हुनु (Being) र बुझ्नु (Knowing) को यही अद्भुत मिलन नै आत्मतत्त्वको वास्तविक अनुभूति हो।

साधना कुनै एक दिन, एक वर्ष वा एक जन्मको अभ्यास होइन। यो अनादिकालदेखि चलिरहेको चेतनाको यात्रा हो। प्रत्येक जन्ममा गरिएका कर्म, भावना, विचार र संकल्पहरूले पुण्य र पापका संस्कारहरू चेतनाको गहिराइमा सञ्चित गर्दै जान्छन्। यही सञ्चित संस्कारले हाम्रो स्वभाव, दृष्टि र जीवनको दिशा निर्धारण गर्छ। यही कर्मको शाश्वत नियम हो-जहाँ कुनै पक्षपात हुँदैन, केवल न्याय र कारण–परिणामको अटल व्यवस्था हुन्छ।

कर्म हाम्रो भाग्यको अन्तिम निर्णय होइन। साधना कर्मलाई रूपान्तरण गर्ने दिव्य शक्ति हो। सजगता, करुणा, सत्य, प्रेम र निष्काम भावले गरिएका कर्महरूले पुराना संस्कारहरूलाई क्रमशः शुद्ध बनाउँछन्। त्यसैले साधना कर्मबाट भाग्ने मार्ग होइन; कर्मलाई पवित्र बनाउँदै त्यसलाई अतिक्रमण गर्ने विज्ञान हो। जब चेतना जाग्छ, कर्म बन्धन होइन, मुक्तिको माध्यम बन्छ।

साँचो साधक कर्मको नियमप्रति अटल विश्वास राख्छ। हरेक विचार एउटा बीउ हो, हरेक शब्द एउटा तरंग हो र हरेक कर्म एउटा भविष्य हो। त्यसैले उसका निर्णय स्वार्थ, भय वा अहंकारबाट होइन, करुणा, विवेक र प्रेमबाट जन्मिन्छन्। करुणाले निर्देशित निर्णयले केवल एक व्यक्तिलाई होइन, सम्पूर्ण समाजलाई उज्यालोतर्फ डोर्याउने शक्ति राख्छ।

साधनाको अर्को महत्त्वपूर्ण आयाम हो-श्रवण, मनन र सहभागिता। केवल सुन्नु पर्याप्त हुँदैन, सुनेको सत्यलाई हृदयमा उतार्नुपर्छ। जब हामी पूर्ण सजगताका साथ सत्यलाई ग्रहण गर्छौँ र त्यसलाई जीवनमा उतार्छौँ, तब ज्ञान केवल स्मृतिमा सीमित रहँदैन; त्यो हाम्रो स्वभाव, व्यवहार र जीवनको प्रकाश बन्छ। यही सहभागी चेतना नै आत्मतत्त्वको वास्तविक स्पर्श हो।

संसारका सबै ऋषि, बुद्ध, सन्त र महापुरुषहरूले साधनामा निरन्तरता राख भन्नुहुन्छ । किनकि, नियमित साधनाले मन शुद्ध हुन्छ, चेतना परिष्कृत हुन्छ र जीवन दिव्य ऊर्जाले भरिन थाल्छ। यो ऊर्जा बाहिरी शक्ति होइन, यो प्रेम, शान्ति, करुणा, धैर्य, विवेक र निस्वार्थ सेवाका रूपमा अभिव्यक्त हुने आन्तरिक प्रकाश हो। जति साधना गहिरिँदै जान्छ, उति मानिस बाहिरी परिस्थितिको दास नभई आफ्नो अन्तरात्माको स्वामी बन्दै जान्छ।

जीवन निरन्तर बगिरहेको चेतनाको नदी हो!!

जीवनको यात्रामा मानिस कहिले बाहिरको संसारमा हराउँछ, कहिले आफ्नै भित्रको मौनतामा फर्किन्छ। यी दुई धारा बीच बग्दै बग्दै ऊ बिस्तारै आफूलाई बुझ्ने प्रयास गर्छ। कहिलेकाहीँ मनले भन्छ-म केवल आफैंमा सीमित रहन्छु, संसारसँग कुनै सम्बन्ध राख्दिन। तर फेरि समयले सिकाउँछ-जीवन एक्लोपन होइन, यो त सम्बन्ध, जिम्मेवारी र प्रेमको विशाल नदी हो, जसमा सबै कुरा जोडिएर बगिरहेको हुन्छ।

मानिस जब केवल “म” मा अडिन्छ, तब संसार सानो देखिन थाल्छ, तर मन भित्र खालीपन बढ्दै जान्छ। अनि जब ऊ संसारसँग सम्बन्ध जोडेर, करुणा र समझदारीका साथ बाँच्न थाल्छ, तब जीवन विस्तारै भरिँदै जान्छ। साँचो शान्ति न त पूर्ण अलगमा हुन्छ, न त केवल बाहिरी दौडधूपमा। यो त सन्तुलनको कमलो सुगन्ध हो, जहाँ आफू र संसार दुबैलाई समान प्रेमले हेर्न सकिन्छ।

प्रत्येक मानिसको भित्री स्वभाव अत्यन्त सरल, शान्त र प्रकाशमय हुन्छ। तर समय, अनुभव र चाहनाले त्यो स्वभावमा धेरै तहहरू जमाउँदै जान्छ। इच्छा, डर, अपेक्षा, तुलना र असन्तोषले मनलाई ढाकिदिन्छन्। अनि मानिसलाई लाग्छ-म हराएँ। तर सत्य यो हो कि हामी कहिल्यै हराउँदैनौँ, केवल आफैंलाई बिर्सन्छौँ। त्यो मूल स्वभाव अझै पनि भित्रै छ-निरन्तर प्रतीक्षा गरिरहेको, हामी फर्किने क्षणको लागि।

जीवनको भित्री यात्रामा अनुशासन र नियमहरू कहिलेकाहीँ कठोर जस्ता लाग्न सक्छन्। मन स्वतन्त्रता खोज्छ, तर त्यो स्वतन्त्रता दिशाहीन भयो भने भ्रम बन्छ। नदी जस्तै जीवन पनि जब किनाराभित्र बग्छ, तब मात्र गहिरो, स्थिर र उपयोगी बन्छ। अनुशासन कुनै जेल होइन, यो त त्यो संरचना हो जसले मनलाई बिखरिनबाट जोगाउँछ र ऊर्जालाई केन्द्रित बनाउँछ।

साधना कुनै छोटो बाटो होइन, न त केवल कुनै इच्छा पूरा गर्ने उपाय हो। यो त एक गहिरो यात्रा हो, जहाँ मानिस आफ्नो भित्री शून्यतासँग भेट गर्छ। जब साधना “मलाई केही प्राप्त गर्नुपर्छ” भन्ने चाहनाबाट चल्छ, तब मन अझै बाँधिन्छ। तर जब साधना केवल प्रेम, समर्पण र निरन्तर अभ्यास बन्छ, तब यात्रा आफैंमा फल बन्न थाल्छ।

प्राप्ति कहिल्यै मागेर आउँदैन। यो त मौन परिपक्वताको उपहार हो। जस्तै बीउलाई माटोमा हराउन दिनुपर्छ, त्यसपछि मात्र त्यो वृक्ष बन्न सक्छ। त्यस्तै, मनलाई पनि कहिलेकाहीँ खाली हुन दिनुपर्छ-अहंकार, अपेक्षा र बोझहरूबाट मुक्त। यही खालीपनमा भित्री प्रकाश अंकुरिन्छ।

मानिसको जीवनको मूल उद्देश्य बाहिरका उपलब्धिहरू मात्र होइन, भित्रको सत्यसँग भेट हुनु हो। त्यो सत्य शान्त छ, सरल छ, र सधैं उपस्थित छ। त्यसलाई पाउन टाढा जानुपर्दैन-केवल फर्किनुपर्छ, आफ्नै भित्र। जब मानिस आफ्नो मूल स्वभावसँग जोडिन्छ, तब ऊ हलुका हुन्छ, शान्त हुन्छ, र जीवन आफैं अर्थपूर्ण बन्छ।

कहिलेकाहीँ साधनाको बाटो सजिलो लाग्दैन। मन भड्किन्छ, विचारहरू दौडिन्छन्, र ध्यान टुट्छ। तर यही पुनः फर्किने अभ्यास नै साधना हो। बारम्बार भड्किएर पनि फेरि केन्द्रमा आउनु नै वास्तविक अभ्यास हो। कुनै असफलता होइन, यो त जागरणतर्फको यात्रा हो।

गुरुको मार्गदर्शन, शुद्ध संगत र नियमित अभ्यासले यो यात्रा अझ स्पष्ट बनाउँछ। समूहमा गरिएको साधनाले मनलाई स्थिरता दिन्छ, किनकि साझा ऊर्जा शक्तिशाली हुन्छ। एक्लोपनमा पनि त्यो सामूहिक प्रकाशले बाटो देखाइरहन्छ।

अन्ततः जीवन कुनै अन्तिम गन्तव्य होइन, यो त निरन्तर बगिरहेको चेतनाको नदी हो। यसलाई बुझ्दै जानु, स्वीकार्दै जानु, र प्रेमपूर्वक बाँच्दै जानु नै वास्तविक साधना हो। जब भित्र शान्ति हुन्छ, तब बाहिरको संसार पनि सुन्दर देखिन्छ। अनि अन्ततः बुझिन्छ-हामी कहिल्यै छुट्टिएका थिएनौँ, हामी सधैं त्यही मौन पूर्णताको हिस्सा थियौँ!!!

आफैंलाई भेट्ने यात्रा हो- ध्यान!!

  प्रत्येक बिहानीले जीवनलाई नयाँ गोरेटोतर्फ डोर्‍याइरहेको छ। बिहानको शान्त वातावरणमा शब्दका तरङ्ग (Vibration) महसुस गर्नु, अनि दिनको कुनै एकान्त क्षणमा तिनै भावहरूलाई फेरि सम्झँदै मनभित्र र कागजमा उतार्नु,यो बिस्तारै मेरो आत्मिक दैनिकी बनेको छ। यस अभ्यासमा एउटा अद्भुत मिठास छ, एउटा मौन आनन्द छ, जसले मनलाई हलुका बनाउँछ र आत्मालाई गहिरो स्पर्श गर्छ। यस्तो लाग्छ, प्रत्येक बिहानसँगै जीवनले नयाँ- नयाँ अर्थ पाइरहेछ ।

ध्यान कुनै मेमोरीजन्य अभ्यास होइन। यो सम्झेर दोहोर्‍याउने प्रक्रिया मात्र होइन, न त सहानुभूतिको आवरण ओढेर बस्ने प्रयास नै हो। यदि हामी ध्यानलाई “म गर्छु” भन्ने अहंकारसँग जोड्छौं भने, त्यो केवल मनको सूक्ष्म खेल बन्छ। साँचो ध्यान त त्यहाँ सुरु हुन्छ, जहाँ “म” हराउन थाल्छ र केवल मौन अनुभूति बाँकी रहन्छ। ध्यान भनेको आफैंसँग निस्वार्थ रूपमा बस्नु हो,जहाँ कुनै अभिनय हुँदैन, कुनै प्रमाण दिनु पर्दैन।

यसको लागि जीवनमा सहनशीलता बढाउनु अत्यन्त आवश्यक छ। हरेक अनुभवलाई स्वीकार्दै, बिस्तारै–बिस्तारै अहंकारलाई पगाल्दै जानुपर्छ। उच्च चेतनाको यात्रा कुनै एकैपटकको कुनै चमत्कार होइन; यो त निरन्तर सजगता, धैर्य र आत्मस्वीकारको यात्रा हो। जति अहंकार घट्दै जान्छ, त्यति नै भित्रको शान्ति प्रकट हुन थाल्छ।

हामीले यात्रा शरीरबाट होइन, हिलिङ स्पिरिट (Healing Spirit)बाट सुरु गर्नुपर्छ। जब आत्मा शान्त र सन्तुलित हुन्छ, शरीर आफैं उज्यालो अनुभव गर्न थाल्छ। यही कारणले भगवान बुद्धले भन्नुभएको थियो—“आफूलाई हेर।”
आफूलाई हेर्न सक्नु नै सबैभन्दा ठूलो साधना हो। संसारलाई बुझ्नुभन्दा पहिले आफूलाई बुझ्न सक्नु नै चेतनाको ढोका खोल्नु हो।

“अझै अझै चाहियो” भन्ने भावना मानव स्वभावको एउटा सूक्ष्म तह हो। स्वभावमा बाँच्ने मानिसले बिस्तारै बुझ्न थाल्छ कि साँचो आनन्द बाहिरको संग्रहमा होइन, भित्रको सन्तोषमा लुकेको हुन्छ। स्वभावको मान्छे बन्नु भनेको नक्कलीपन र देखावटीपनबाट मुक्त हुनु हो। यही स्वतन्त्रताले जीवनलाई सहज र सुन्दर बनाउँछ।

ध्यानी व्यक्तिमा विवेक हुन्छ। ऊ प्रतिक्रियामा होइन, सजगतामा बाँच्छ। उसलाई बाहिरी नियमभन्दा भित्री चेतनाले मार्गदर्शन गर्छ। आध्यात्मिक अभ्यास विकल्परहित हुन्छ,यसमा “यदि” र “तर” हुँदैन। जब साधना साँचो हुन्छ, त्यसको सकारात्मक स्पन्दन वातावरणभरि फैलिन्छ। एक व्यक्तिको शान्त चेतनाले वरिपरिको संसारलाई समेत स्पर्श गर्न सक्छ।

भक्ति योगले भन्छ-परमात्मालाई निरन्तर सम्झिरहनु। तर प्रायः हामी आफ्नै विचारहरूको भीडमा हराइरहेका हुन्छौं। मन बाहिरतिर दौडिरहन्छ, त्यसैले आत्माको मौन आवाज सुन्न सकिँदैन। जब हामी भित्र फर्किन थाल्छौं, तब थाहा हुन्छ-प्रार्थना शब्दमा होइन, अनुभूतिमा जीवित हुन्छ।

आफ्नो अनुभवमा “मोर नलेज(More Knowledge)” हुनु जरुरी छ। अरूले भनेको सत्य होइन, आफूले महसुस गरेको सत्य नै वास्तविक ज्ञान हो। जीवनमा प्रायः त्यही घट्छ, जुन हामीले कल्पना नै गरेका हुँदैनौं। त्यसैले वर्तमानमा रहन सिक्नुपर्छ, किनकि वर्तमान क्षणमा नै पवित्र ऊर्जा बस्छ। जब हामी पूर्ण रूपमा वर्तमानमा हुन्छौं, साधारण क्षणहरू पनि दिव्य अनुभव बन्न थाल्छन्।

सकारात्मकता केवल सोच होइन, यो त निरन्तर अभ्यास हो। आफैंलाई बारम्बार उज्यालोतर्फ फर्काइरहनु हो। अझै भित्र जानु, अझै शान्त हुनु, अझै सजग हुनु-यही नै ध्यानको सार हो। ध्यान भनेको संसारबाट भाग्नु होइन, यो त जीवनको प्रत्येक क्षणमा पूर्ण रूपमा उपस्थित हुनु हो। जहाँ विचारहरू शान्त हुन्छन्, त्यहाँ आत्माको मधुर स्वर सुन्न थालिन्छ।

अन्ततः, जीवन कुनै अन्तिम गन्तव्य होइन। यो त एक निरन्तर बहने यात्रा हो। प्रत्येक बिहानले हामीलाई नयाँ गोरेटो देखाउँछ, प्रत्येक सजग श्वासले हामीलाई आफैंसँग नजिक ल्याउँछ, र प्रत्येक मौन क्षणले भित्र लुकेको दिव्यता सम्झाइरहन्छ।सायद यही नै जीवनको सबैभन्दा सुन्दर रहस्य हो-आफैंलाई भेट्ने यात्रा।

प्रेम र कृतज्ञताको यात्रा हो-जीवन

मानव जीवनको सबैभन्दा सुन्दर सुवास प्रेम हो। प्रेमले हृदयलाई कोमल बनाउँछ, आत्मालाई उज्यालोले भरिदिन्छ र जीवनलाई अर्थपूर्ण बनाइदिन्छ। जब मानिस प्रेममा बाँच्न सिक्छ, तब उसले संसारलाई नयाँ आँखाले हेर्न थाल्छ। फूलको मुस्कान, चराको मधुर गीत, नदीको निरन्तर बहाव र चन्द्रमाको शीतलता यी सबै कुरा उसलाई दिव्य स्पर्श जस्तो अनुभूति हुन थाल्छ। प्रेम विस्तार हुँदै जाँदा अन्ततः त्यो कृतज्ञताको पवित्र प्रकाशमा रूपान्तरण हुन्छ।

भगवद्गीतामा श्रीकृष्ण ले प्रेमलाई केवल भावना होइन, आत्माको अवस्था मान्नुभएको छ।उहाँको शिक्षाअनुसार साँचो प्रेम स्वार्थरहित, करुणामय र समर्पित हुन्छ:

“पत्रं पुष्पं फलं तोयं
यो मे भक्त्या प्रयच्छति ।
तदहं भक्त्युपहृतम्
अश्नामि प्रयतात्मनः ॥”

(भगवद्गीता ९।२६)

अर्थात्—
“कसैले प्रेम र भक्तिभावले एउटा पात, फूल, फल वा थोरै पानी पनि अर्पण गर्छ भने, म त्यसलाई प्रेमपूर्वक स्वीकार गर्छु।”

यसले के देखाउँछ भने भगवानलाई वस्तुको ठूलो मूल्य होइन, हृदयको निर्मल प्रेम प्रिय हुन्छ। वास्तवमा प्रेम नै कृतज्ञताको पहिलो पाइला हो। जब हामी सम्पूर्ण अस्तित्वसँग प्रेम गर्न थाल्छौं, तब जीवनको प्रत्येक क्षण वरदान जस्तो लाग्न थाल्छ। हामी अनुभव गर्छौं कि बिना कुनै योग्यताका पनि अस्तित्वले हामीलाई यति धेरै सौन्दर्य, प्रेम र आनन्द प्रदान गरेको छ। यही अनुभूतिबाट गहिरो कृतज्ञता जन्मिन्छ।

कृतज्ञता भनेको केवल “धन्यवाद” भन्नु मात्र होइन; यो त आत्माको मौन प्रार्थना हो। जब मानिस कृतज्ञ हुन्छ, उसले आफ्नो अहंकारलाई बिस्तारै पगाल्न थाल्छ। अहंकार सधैं आफूलाई ठूलो देखाउन खोज्छ, तर कृतज्ञताले झुक्न सिकाउँछ। प्रेममा केही क्षणका लागि अहंकार हराउँछ भने कृतज्ञतामा त्यो पूर्ण रूपमा विलीन हुन्छ।

जीवनमा दुःख र अशान्तिको मुख्य कारण पनि यही “म” र “मेरो” को बन्धन हो। जब मानिस अहंकारमा बाँधिन्छ, ऊ भित्रबाट भारी हुन थाल्छ। तर जब ऊ प्रेम र कृतज्ञतामा बाँच्न सिक्छ, तब भित्र आनन्दको निर्मल झरना बग्न थाल्छ। उसले अनुभव गर्न थाल्छ कि साँचो सुख बाहिर होइन, आफ्नै चेतनाको गहिराइमा लुकेको छ।

त्यसैले जीवनको वास्तविक यात्रा प्रेमबाट सुरु हुन्छ र कृतज्ञतामा पूर्ण हुन्छ। प्रेमले हृदय खोल्छ, कृतज्ञताले आत्मालाई मुक्त गर्छ। जब यी दुई गुण जीवनमा फूलझैँ फक्रिन्छन्, तब मानिस केवल बाँच्दैन,ऊ दिव्य आनन्दमा रूपान्तरण हुन्छ।

हाम्रो सम्पूर्ण जीवन प्रेमको यात्रा हो। प्रेमबाटै हृदयमा कृतज्ञताको फूल फुल्छ, र कृतज्ञताबाट आत्मा प्रकाशमय बन्छ।

“असतो मा सद्गमय,
तमसो मा ज्योतिर्गमय,
मृत्योर्मा अमृतं गमय!!”

म को हुँ ? 

मलाई सधैँ यो प्रश्न मनमा आइरहन्छ कि-“म को हुँ?  के म वास्तवमै आफूलाई चिन्छु ?’

शरीर, मन वा इन्द्रिय नै म हुँ कि होइन भन्ने गहिरो प्रश्नमा पुग्नुअघि, पहिले जीवनका साधारण चिनारीहरूतर्फ  हेर्दा-म को हुँ? के  म छोरी हुँ ? आमा हुँ? श्रीमती हुँ? भाउजु हुँ? बुहारी हुँ? कि सासु हुँ।? यी सबै त केवल समाजले दिएको नाम र भूमिका मात्र होइनन् र मेरा…? यी कुनै पनि कुरा मेरो वास्तविक अस्तित्व हुन र ?

तर जब म यी नामहरूलाई नै आफ्नो परिचय ठान्न थाल्छु, तब म आफू नभएको कुरालाई “म” भन्न थाल्छु।त्यहीँबाट मेरो दुःखको आरम्भ हुन्छ।

जब म अरू केही बन्न खोज्छु, जब म आफू नभएको आवरण ओढ्छु, वा आफूलाई कुनै कल्पित रूप दिन चाहन्छु, त्यस क्षण म त्यो भूमिकाको भारी बोक्न बाध्य हुन्छु। म यस्तो समाजमा बाँचेको छु जहाँ नियम र परम्परासँग मेल खानुपर्छ। तर त्यसको अर्थ यो होइन कि मैले आफ्नो वास्तविकता गुमाउनुपर्छ। यसको अर्थ यो पनि होइन कि मलाई आनन्द दिने कुराबाट टाढा हुनुपर्छ।हैन र…?

बाहिरी संसारतर्फको यात्रा कहिल्यै पनि पूर्ण तृप्तिको स्रोत बन्न सक्दैन।त्यसले मलाई व्यस्त राख्न सक्छ, कुनै क्षणिक आनन्द दिन सक्छ, मनोरञ्जन र सुखको अनुभूति गराउन सक्छ,तर त्यो पूर्णता होइन रहेछ।

किनकि बाहिरको संसार पूर्णताको लागि बनाइएको छैन। पूर्णता त भित्रको मौनमा छ, आफ्नो वास्तविक स्वरूपलाई चिन्ने यात्रामा छ। जब म सबै लेबल, नाम र भूमिकाभन्दा पर जान्छु,
त्यसपछि मात्र म आफूलाई भेट्न थाल्छु।अस्तु

नयाँ वर्ष तिमी आयौ!

पल्टिएका पात्रोका पानासँगै

नयाँ वर्ष २०८३ तिमी आयौ,

नयाँ केवल पात्रोको पाना पल्टिँनु होइन,

यो त भित्रको आकाशमा

नयाँ सूर्य उदाउनु हो,

जहाँ पुराना छायाहरू

शान्त रूपमा हराउँदै जान्छन्,

र चेतनाको उज्यालो

निस्तब्धताको लालिमामा फैलिँदै जान्छ।

पानाहरु हरेक वर्ष पल्टिँदै गएका छन्,

तर ती पानाका पलहरूमा

साँच्चै हामी बाँच्यौ त..?

पानाहरू त पल्टिरहे,

तर के हामी कहिल्यै

यो क्षणमा पूर्ण रूपमा

हुनु मा आयौँ त?

यसैले,

छोडिदेऊ हिजोका बोझहरू,

ती यादहरू,

ती पश्चातापहरू,

किनकि

नदीले बगेको पानी फर्काउँदैन।

भोलिको चिन्ता पनि छोड,

किनकि

भविष्य कल्पनाको धुँवा झैँ हो

छुन खोज्दा समाइँदैन।

न त नयाँ वस्त्रले,

न त मिठा खानाले,

तर नयाँ चेतनाले

जीवन सुन्दर बनाउँछ।

बस,

एक गहिरो श्वासमा आऔँ,

यो एक क्षण हुनुमा बसौँ

यही नै जीवनको ढोका हो,

यही नै परम सत्यको स्पर्श हो।

जब मन शान्त हुन्छ,

त्यहाँ कुनै द्वन्द्व हुँदैन,

त्यहाँ कुनै चाहना हुँदैन,

त्यहाँ कुनै डर हुँदैन,

केवल एक मौन आनन्द हुन्छ।

आउ, ध्यानको सानो बीउ रोपौँ ,

प्रेमको जलले  सिचौ ,

सजगताको घामले उमारौँ,

त्यसपछि हेर्दै जाऊ,

भित्रैबाट फूल फुल्नेछन्।

त्यही क्षण

संसार बदलिन्छ

किनकि संसार

हाम्रो चेतनाको दर्पण हो।

हामी जे खोज्दैछौ,

त्यो हामीभित्र नै छ,

त्यसैले,

नयाँ वर्ष दौड होइन,

नयाँ वर्ष विश्राम होस्;

नयाँ वर्ष खोज होइन,

नयाँ वर्ष अनुभूति होस्।

हरेक बिहान

श्वाससँग मित्रता गरौँ,

हरेक साँझ

मौन-श्रवण सँग आलिङ्गन गरौँ।

बिस्तारै जीवन आफैँ

उत्सवमा बदलिनेछ।

पात्रोका नयाँ पानासँगै

साँचो नयाँपन

हामीभित्र जन्मिनेछ।

जहाँ न समय हुन्छ,

न तिम्रो र मेरो दूरी हुन्छ,

हुन्छ   केवल शान्ति, मौन, प्रेम र प्रकाश,

यही हो

नयाँ वर्ष २०८३ को तिमीलाई उपहार!!