प्रेम र कृतज्ञताको यात्रा हो-जीवन

मानव जीवनको सबैभन्दा सुन्दर सुवास प्रेम हो। प्रेमले हृदयलाई कोमल बनाउँछ, आत्मालाई उज्यालोले भरिदिन्छ र जीवनलाई अर्थपूर्ण बनाइदिन्छ। जब मानिस प्रेममा बाँच्न सिक्छ, तब उसले संसारलाई नयाँ आँखाले हेर्न थाल्छ। फूलको मुस्कान, चराको मधुर गीत, नदीको निरन्तर बहाव र चन्द्रमाको शीतलता यी सबै कुरा उसलाई दिव्य स्पर्श जस्तो अनुभूति हुन थाल्छ। प्रेम विस्तार हुँदै जाँदा अन्ततः त्यो कृतज्ञताको पवित्र प्रकाशमा रूपान्तरण हुन्छ।

भगवद्गीतामा श्रीकृष्ण ले प्रेमलाई केवल भावना होइन, आत्माको अवस्था मान्नुभएको छ।उहाँको शिक्षाअनुसार साँचो प्रेम स्वार्थरहित, करुणामय र समर्पित हुन्छ:

“पत्रं पुष्पं फलं तोयं
यो मे भक्त्या प्रयच्छति ।
तदहं भक्त्युपहृतम्
अश्नामि प्रयतात्मनः ॥”

(भगवद्गीता ९।२६)

अर्थात्—
“कसैले प्रेम र भक्तिभावले एउटा पात, फूल, फल वा थोरै पानी पनि अर्पण गर्छ भने, म त्यसलाई प्रेमपूर्वक स्वीकार गर्छु।”

यसले के देखाउँछ भने भगवानलाई वस्तुको ठूलो मूल्य होइन, हृदयको निर्मल प्रेम प्रिय हुन्छ। वास्तवमा प्रेम नै कृतज्ञताको पहिलो पाइला हो। जब हामी सम्पूर्ण अस्तित्वसँग प्रेम गर्न थाल्छौं, तब जीवनको प्रत्येक क्षण वरदान जस्तो लाग्न थाल्छ। हामी अनुभव गर्छौं कि बिना कुनै योग्यताका पनि अस्तित्वले हामीलाई यति धेरै सौन्दर्य, प्रेम र आनन्द प्रदान गरेको छ। यही अनुभूतिबाट गहिरो कृतज्ञता जन्मिन्छ।

कृतज्ञता भनेको केवल “धन्यवाद” भन्नु मात्र होइन; यो त आत्माको मौन प्रार्थना हो। जब मानिस कृतज्ञ हुन्छ, उसले आफ्नो अहंकारलाई बिस्तारै पगाल्न थाल्छ। अहंकार सधैं आफूलाई ठूलो देखाउन खोज्छ, तर कृतज्ञताले झुक्न सिकाउँछ। प्रेममा केही क्षणका लागि अहंकार हराउँछ भने कृतज्ञतामा त्यो पूर्ण रूपमा विलीन हुन्छ।

जीवनमा दुःख र अशान्तिको मुख्य कारण पनि यही “म” र “मेरो” को बन्धन हो। जब मानिस अहंकारमा बाँधिन्छ, ऊ भित्रबाट भारी हुन थाल्छ। तर जब ऊ प्रेम र कृतज्ञतामा बाँच्न सिक्छ, तब भित्र आनन्दको निर्मल झरना बग्न थाल्छ। उसले अनुभव गर्न थाल्छ कि साँचो सुख बाहिर होइन, आफ्नै चेतनाको गहिराइमा लुकेको छ।

त्यसैले जीवनको वास्तविक यात्रा प्रेमबाट सुरु हुन्छ र कृतज्ञतामा पूर्ण हुन्छ। प्रेमले हृदय खोल्छ, कृतज्ञताले आत्मालाई मुक्त गर्छ। जब यी दुई गुण जीवनमा फूलझैँ फक्रिन्छन्, तब मानिस केवल बाँच्दैन,ऊ दिव्य आनन्दमा रूपान्तरण हुन्छ।

हाम्रो सम्पूर्ण जीवन प्रेमको यात्रा हो। प्रेमबाटै हृदयमा कृतज्ञताको फूल फुल्छ, र कृतज्ञताबाट आत्मा प्रकाशमय बन्छ।

“असतो मा सद्गमय,
तमसो मा ज्योतिर्गमय,
मृत्योर्मा अमृतं गमय!!”

म को हुँ ? 

मलाई सधैँ यो प्रश्न मनमा आइरहन्छ कि-“म को हुँ?  के म वास्तवमै आफूलाई चिन्छु ?’

शरीर, मन वा इन्द्रिय नै म हुँ कि होइन भन्ने गहिरो प्रश्नमा पुग्नुअघि, पहिले जीवनका साधारण चिनारीहरूतर्फ  हेर्दा-म को हुँ? के  म छोरी हुँ ? आमा हुँ? श्रीमती हुँ? भाउजु हुँ? बुहारी हुँ? कि सासु हुँ।? यी सबै त केवल समाजले दिएको नाम र भूमिका मात्र होइनन् र मेरा…? यी कुनै पनि कुरा मेरो वास्तविक अस्तित्व हुन र ?

तर जब म यी नामहरूलाई नै आफ्नो परिचय ठान्न थाल्छु, तब म आफू नभएको कुरालाई “म” भन्न थाल्छु।त्यहीँबाट मेरो दुःखको आरम्भ हुन्छ।

जब म अरू केही बन्न खोज्छु, जब म आफू नभएको आवरण ओढ्छु, वा आफूलाई कुनै कल्पित रूप दिन चाहन्छु, त्यस क्षण म त्यो भूमिकाको भारी बोक्न बाध्य हुन्छु। म यस्तो समाजमा बाँचेको छु जहाँ नियम र परम्परासँग मेल खानुपर्छ। तर त्यसको अर्थ यो होइन कि मैले आफ्नो वास्तविकता गुमाउनुपर्छ। यसको अर्थ यो पनि होइन कि मलाई आनन्द दिने कुराबाट टाढा हुनुपर्छ।हैन र…?

बाहिरी संसारतर्फको यात्रा कहिल्यै पनि पूर्ण तृप्तिको स्रोत बन्न सक्दैन।त्यसले मलाई व्यस्त राख्न सक्छ, कुनै क्षणिक आनन्द दिन सक्छ, मनोरञ्जन र सुखको अनुभूति गराउन सक्छ,तर त्यो पूर्णता होइन रहेछ।

किनकि बाहिरको संसार पूर्णताको लागि बनाइएको छैन। पूर्णता त भित्रको मौनमा छ, आफ्नो वास्तविक स्वरूपलाई चिन्ने यात्रामा छ। जब म सबै लेबल, नाम र भूमिकाभन्दा पर जान्छु,
त्यसपछि मात्र म आफूलाई भेट्न थाल्छु।अस्तु

नयाँ वर्ष तिमी आयौ!

पल्टिएका पात्रोका पानासँगै

नयाँ वर्ष २०८३ तिमी आयौ,

नयाँ केवल पात्रोको पाना पल्टिँनु होइन,

यो त भित्रको आकाशमा

नयाँ सूर्य उदाउनु हो,

जहाँ पुराना छायाहरू

शान्त रूपमा हराउँदै जान्छन्,

र चेतनाको उज्यालो

निस्तब्धताको लालिमामा फैलिँदै जान्छ।

पानाहरु हरेक वर्ष पल्टिँदै गएका छन्,

तर ती पानाका पलहरूमा

साँच्चै हामी बाँच्यौ त..?

पानाहरू त पल्टिरहे,

तर के हामी कहिल्यै

यो क्षणमा पूर्ण रूपमा

हुनु मा आयौँ त?

यसैले,

छोडिदेऊ हिजोका बोझहरू,

ती यादहरू,

ती पश्चातापहरू,

किनकि

नदीले बगेको पानी फर्काउँदैन।

भोलिको चिन्ता पनि छोड,

किनकि

भविष्य कल्पनाको धुँवा झैँ हो

छुन खोज्दा समाइँदैन।

न त नयाँ वस्त्रले,

न त मिठा खानाले,

तर नयाँ चेतनाले

जीवन सुन्दर बनाउँछ।

बस,

एक गहिरो श्वासमा आऔँ,

यो एक क्षण हुनुमा बसौँ

यही नै जीवनको ढोका हो,

यही नै परम सत्यको स्पर्श हो।

जब मन शान्त हुन्छ,

त्यहाँ कुनै द्वन्द्व हुँदैन,

त्यहाँ कुनै चाहना हुँदैन,

त्यहाँ कुनै डर हुँदैन,

केवल एक मौन आनन्द हुन्छ।

आउ, ध्यानको सानो बीउ रोपौँ ,

प्रेमको जलले  सिचौ ,

सजगताको घामले उमारौँ,

त्यसपछि हेर्दै जाऊ,

भित्रैबाट फूल फुल्नेछन्।

त्यही क्षण

संसार बदलिन्छ

किनकि संसार

हाम्रो चेतनाको दर्पण हो।

हामी जे खोज्दैछौ,

त्यो हामीभित्र नै छ,

त्यसैले,

नयाँ वर्ष दौड होइन,

नयाँ वर्ष विश्राम होस्;

नयाँ वर्ष खोज होइन,

नयाँ वर्ष अनुभूति होस्।

हरेक बिहान

श्वाससँग मित्रता गरौँ,

हरेक साँझ

मौन-श्रवण सँग आलिङ्गन गरौँ।

बिस्तारै जीवन आफैँ

उत्सवमा बदलिनेछ।

पात्रोका नयाँ पानासँगै

साँचो नयाँपन

हामीभित्र जन्मिनेछ।

जहाँ न समय हुन्छ,

न तिम्रो र मेरो दूरी हुन्छ,

हुन्छ   केवल शान्ति, मौन, प्रेम र प्रकाश,

यही हो

नयाँ वर्ष २०८३ को तिमीलाई उपहार!!                   

जीवन शून्यतामा स्थिर हुन्छ!!

अविर र सिन्दुरले रङ्गिएका तिम्रा औँलाहरूले

भन्छ- तिमी पूजा गर्छौ,

घरभित्र फैलिएको कोमल सुगन्धले

हो, तिमीले धुप पनि बाल्छौ।

मौनमा गुञ्जिरहेका सुमधुर ध्वनिहरूले

लाग्छ- तिमी मन्त्र पनि जप्छौ।

मेरा प्रश्नका आँखाहरूलाई,

तिमी शान्त स्वरमा भन्छौ-

“यी सबैले हृदयलाई उज्यालो दिन्छ,

हाम्रो चेतनामा विस्तार गर्छ।

कसैले पूजा नगर भन्छ भने,

त्यस्ता शब्दहरूलाई

पानीसँगै बग्न देउ,

हावासँगै उड्न देउ,

तिमी फेरि मुस्कुराउँदै भन्छौ-

“बिहानको एक घण्टा

आँखा चिम्लेर एक्लै आफूलाई भेट,

आउने-जाने श्वासलाई

मौन साक्षी भएर हेर।

शरीरभित्र उठ्ने

सूक्ष्म संवेदनाहरूलाई,

शान्त हृदयले महसुस गर।”

तिमी अझ थप्छौ-

“धारणाको पछि अन्धो भएर नलाग,

तर त्यसलाई दबाएर पनि नमार,

धारणा मनको तरङ्ग हो,

कहिले मित्र,

कहिले गुरु,

केवल यो हल्का बादल हो।

तिम्रा यी वचनहरू सुन्दा

मनमा मधुर शान्ति झर्छ,

अभ्यास गर्दै जाँदा,

आत्मामा आनन्दको फूल फुल्छ।

त्यस मौन क्षणमा

जीवन आफैँ

शून्यतामा स्थिर हुन्छ!!

त्यहीँ जीवन हुन्छ

मन भित्र प्रश्न थियो

यसैले आफैंलाई सोधिरहन्थे

जीवन के हो?”

मन्दिर गए ,

पुजारीले भने-ईश्वर यहाँ छ।

मस्जिद गए,

मौलवीले भने-ईश्वर त्यहाँ छ।

पुस्तकालय गए,

दर्शनले हजार उत्तर दिए।

तर मन झन् भारी हुँदै गयो।

एक दिन थाकेर

 एउटा नदी किनार बसे।

न केही सोधे,

न केही खोजे

बसी रहे बसी रहे।

हावाले पात हल्लायो,

नदी बगिरह्यो,

सास आफैँ चलिरह्यो,

म हेरिरहेँ,

अचानक  देखे

म सास होइन,

सासको साक्षी रहेछु।

त्यही क्षण

प्रश्न हरायो,

अर्थ भेटियो।

नदीले केही उपदेश दिएन,

हावाले कुनै मन्त्र पढेन,

तर मौनले

सबैभन्दा ठूलो सत्य भनिदियो।

त्यस दिनदेखि

म खोज्ने रहिन्,

म बेहोशी भइन।

जहाँ खोज समाप्त हुन्छ,

जहाँ बेहोशी होशमा फर्कन्छ

यसैले त तिमी भन्छौ

त्यहीँ जीवन हुन्छ।

अभ्यासमा पूर्णता भेटिन्छ नै – जीवन

अनुभवको एक किताब हो-जीवन

बाँचिएका दिनका कथा हो-जीवन

कहिले आँशु, कहिले हाँसो,

सबैको मिठो सङ्गालो हो-जीवन!१!

समयको निरन्तर बहाव हो-जीवन

युवामा बगेको छरितो धार हो- जीवन,

जब  बग्दछ बिस्तारै शान्त ढंगले,

गहिराइको अद्भुत  सार हो- जीवन!२!

कहिले  सम्झनाको घाम हुन्छ-जीवन

कहिले फक्रिएको फूल हुन्छ- जीवन,

जताततै लहराएका लताका लतिफा झैँ,

पुनः बालापनको झल्को दिन्छ- जीवन!३!

जब थाकेका पाईलाहरू भन्छन्

“साँच्चै, जीवन रमाइलो हो! त ?”

र अन्त्यमा सम्झिन्छन् सबै:

“आनन्दको मात्र एक खेल हो -जीवन!४!

सधैं केही बाँकी रहन्छ नै भने ,

साधनाको निरन्तर यात्रा हो- जीवन,

जति बुझे पनि अलिक अपूरो,

तर अभ्यासमा  पूर्णता भेटिन्छ नै – जीवन!५!

 

ब्रह्मको अद्वैत अनुभूति हु- “म”!!!

साधना एक माध्यम हो,

तर,

साध्य हु “म”!!!  -,

अनन्तमा फैलियेको

आकाश हौ तिमी

तीमी र मभित्रै एउटै

तत्वमसी हु-“म”!!!

हर रुपमा

एक स्पन्दन हु- “म”,

मौनका गुन्जहरुमा

“स्व: हम” हु- “म”!!!

द्वैतका भावहरुमा

समभाव “प्रज्ञा” हु-“म” -,

नाम रुपको ज्ञानमा

अनित्य बोध” हु- “म”!!!

चेतनाको फैलावटमा

आनन्दको झरना हु “म”,

मौनको गहिराइमा

स्वयमको अनुभुती हु “म”!!!

प्रज्ञाको ज्वालामा,

अहमको खरानी हु “म”,!!!

लयबद्दताका तरङ्गहरुमा,

सङ्कल्पको अभ्यास हु “म”!!!

“अहम् ब्रह्मास्मि”

संस्कृतको वाक्य होइन “म”,

आत्मा र ब्रह्मको

अद्वैत अनुभूति हु “म”!!!

तेल दियोमा थपिरहेछु!!

जिन्दगी संसारी भइ  बाँचिरहेथ्यो,

चुपचाप-चुपचाप बगीरहेथ्यो,

मधुरो बत्तीको धुमीलता मै,

जीवन आफैँमा सुस्ताइरहेथ्यो!!

तर,

क्षितिजको लालीमामा हेर्दा-हेर्दै,

त्यही लालीमा दिलमा सजाउन पुगेछु,

उज्यालो पाउने आसमा आज,

तेल दियोमा थपिरहेछु!!

 

बेदनाको अनिभुती के हो..?

मृग मरीचिकामा बाचिरहेछु,

मधुरो बत्ती उज्यालो बनाउन,

तेल दियोमा थपीरहेछु!!

 

अवलोकन भित्र अवलोकन गर्दै,

आवाज तिम्रो सुनिरहन्छु,

 आवाज सङ्गै बग्ने तरङ्गहरुले

आफै भित्र हराइ पो दिन्छु!!

 

शुन्यताको अनुभुती कहाँ खोजु ?,

सम्बेदनाहरु सल्बलाई दिन्छन,

सम्बेदनाभित्र स्थिरताको

झिल्को सानो धिप-धिप गर्छन!!

 

भाव भइ छिपेका दर्दहरुसँग,  

गीत तिम्रो गुनगुनाइ रहन्छु,

भावको बिस्तारै नै चेतना हो भने,

तेल दियोमा थपिरेहेछु!!

संकल्पले नै चेतनाको दियो बाल्छ !!!

प्रभातको लालीमा भन्दा 

हामी पहिले उदाउँछौं,

आफैलाई अवलोकन गर्दै 

आलयमा हामी पस्छौँ।

मन, शरीर, विचारहरू 

कहाँ जान्छन् थाहा छैन….?

जस्तो दृष्टि उस्तै सृष्टि 

प्रलयको डर छैन।

भूत, प्रेत, पिचासहरु 

पनि छ र कतै शङ्कै लाग्छ,

ध्यान बिना जीवन यो 

किन अब अधुरो लाग्छ।

निर्विचार अवस्था नै 

किन यति प्यारो लाग्छ,

खोल्छु आँखा, देख्छु संसार 

किन अति नौलो लाग्छ। 

धारणाले संसार हेर्दा 

“म” भित्र “मै” खोज्नु पर्ने हुन्छ,

वरिपरि सबलाई देख्दा,

एकतामा बल मिल्छ।

संकल्प शक्ति बलियो पार्न 

संकल्प अब लिनुपर्छ,

संकल्पले नै हामी भित्र 

चेतनाको दियो बाल्छ!!!

रुची र समयको बहाव

रुचि- आफूलाई पाउनु पनि हो,
रुचि- स्वयंलाई चिन्नु पनि हो,
तर,
समय बगिरहन्छ …. बगिरहन्छ ….
समयको बहाव सँगै
रुचि पनि फेरिरहन्छन् …. फेरिरहन्छन् ….
कहिले सेतोमा- रुचि,
कहिले कालोमा- रुचि,
कहिले रातोमा- रुचि
कहिले केमा …. ?
कहिले केमा …. ?
तर,
आज समय स्थिर भएको छ,
समयसँगै रुचि पनि स्थिर भएका छन्,
यसैले स्थिर समयलाई
त्यही रुचिमा घोलिरहन्छु …. घोलिरहन्छु …
कहिले कवितामा रुचिलाई कोरी दिन्छु….
कहिले ध्यानमा रुचिलाई हराउन दिन्छु….
कहिले तिमीलाई अहोभावले सुनीरहन्छु….
कहिले अस्पष्ट शब्दहरु बोल्न खोज्छु….
२४ घण्टाको समय भनिन्छ
तर कहाँ अल्झु खै… ?
छैन समय…
तीमी बहाना भन्छौ
हो,
बहाना नै भएपनि,
समयभित्र त्यही रुचिहरु घोलिरहन्छु…..घोलिरहन्छु……. ।