मेरो वरिपरि भन्दा निकै फराकिलो झैँ लाग्ने चपौली आकाशको नीलिमा जस्तै अगाध थियो उनको मौनता र भनाइ। उनले मलाई बारम्बार एउटै सत्यको क्षितिजतिर डोर्याइरहन्थे, जसको गहिराइ बुझ्न मेरो अल्पज्ञानी मस्तिष्कलाई कति समय लाग्यो कति। ऊ भन्थे, “केही कुरा यस्ता हुन्छन्, जो हामीलाई थाहा छैन भन्ने समेत हामीलाई बोध हुँदैन। त्यसैले, अहम्को पर्दालाई च्यातेर सधैँ सिकिरहनू।”
उनले सिकाएका पाटाहरू कुनै विद्यालयका पाठ्यक्रम थिएनन्, ती त जीवन जिउने अलिखित रागहरू थिए। उनले मलाई कति पटक भने होलान् आफ्नो स्वर जस्तै सुक्खा वा कर्कश किन नहोस्, हृदयको कम्पनलाई गितारका तारहरूमा मिसाएर गाउन सिक्नू। माटोको सुगन्धसँग एकाकार हुन सिकाउँदै उनी भन्थे, “हातहरूलाई हिलोमा मुछ्नू, बिरुवाहरू रोप्नू र आफू वरिपरि हरियालीको एउटा सानो ब्रह्माण्ड सिर्जना गर्नू।” त्यस्तै उनका आँखाहरू जहिले पनि पुस्तकका पानाहरू पल्टाइरहन प्रेरित गर्थे। तीर्थस्थलहरूको यात्रामा निस्कँदा, ढुङ्गाका मूर्तिहरूमा मात्र होइन, त्यहाँको हावा, भक्तहरूको आँसु र प्राचीन मन्दिरका भित्ताहरूबाट समेत ज्ञानको कण बटुल्न उनले नै सिकाएका थिए। उनको सबैभन्दा ठूलो मन्त्र थियो, आफूभित्रको जे कुरा देख्दा सुन्दा पनि कमेन्ट गर्ने, जज गर्ने वक्तारुपी हतारोलाई मारेर एउटा धर्यवान ‘उत्कृष्ट श्रोता’ बन्नू। जब तिमी प्रकृतिको र अरूको मौनता सुन्न थाल्छौ, तब मात्र तिम्रो भित्री अहंकारको विसर्जन हुन थाल्छ र साधनाको वास्तविक अंकुरण हुन्छ।
सांसारिक जीवनको यो निसासिँदो र कसिलो समयको चक्रव्यूह जहाँ श्वास फेर्न पनि समयको अनुमति चाहिन्छ। यस्तै एउटा व्यस्त दैनिकीको कठोर परिधिबाट मैले केही पलहरू चोरी गरेँ। यो चोरी अर्काको कुनै सामान थिएन, सायद आफ्नै अस्तित्वको खोजीका लागि थियो, थोरै समय चोर्ने हिम्मत थियो। अनि एकाएक म दौडिएँ कोशीको गर्जन र आध्यात्मिक शान्तिको सङ्गमस्थल बराहक्षेत्रतिर, जहाँ वराह भगवान्को काखमा मैले एउटा अनौठो शून्यता भेटेँ। कोशीका ढुंगा माथि पलेँटी कसेर, ” ॐ हूँ वराहाय नमः ” जप्दै समयलाई हराउन थालेँ।
त्यसपछि मेरो पाइला अघि बढ्यो, सप्तरीको छिन्नमस्ता भगवती माताको मन्दिरतर्फ। माताको त्यो उग्र र करुणामयी स्वरूपको अगाडि शिर झुकाउँदै उनमा समर्पण हुने सबै भन्दा नरम मन्त्र, “ॐ छिन्नमस्तायै नम:” जप्दा
मेरो अहं जगत्को भस्म जस्तै हावामा अलिकति उडे जस्तो भयो । त्यो शक्तिपीठको आँगनमा उभिरहँदा मलाई अचानक उनका तिनै शब्दहरूको स्मरण भयो। मैले बुझेँ म जे जान्दछु, त्यो त केवल समुद्रको एक थोपा मात्र हो तर जे मलाई थाहा छैन र मलाई थाहा छैन भन्ने कुरा समेत मलाई थाहा थिएन, त्यो विराट् सत्यको साक्षात्कार त अझै बाँकी नै छ त्यसैले सिकिरहुँ सिकिरहुँ सिकिरहुँ,
अहंकार विसर्जनको त्यो पहिलो खुड्किलोमा उभिएर मैले गितारका तारहरू नभए पनि मनकै तारमा एउटा नयाँ धुन गुञ्जाउँदै सिकिरहुँ …. 🎸


