समय सखारै थियो, रातको कालो पर्दालाई आकाशले बिस्तारै पन्छाउँदै धर्तीको अनुहार उज्यालोतिर फर्काउन थालेको थियो, चराचुरुङ्गीहरू पनि सायद उज्यालोको त्यो पहिलो स्पर्शलाई आफ्नै किसिमले बुझेर होला, कतै रूखका पातहरूमा सल्बलाउन थालेका थिए, कतै निद्राले अझै छोड्न नमानेको कुनै सानो जीव खस्र्याकखुस्रुक गर्दै आफ्नो लुकेको संसारबाट बाहिर निस्कँदै थियो, अनि मानिसहरू पनि एकएक गर्दै निद्राको न्यानो खोलबाट छुटेर बिहानको चिसो हावामा मिसिन थालेका थिए, त्यही शान्त र अझै पूर्ण रूपमा नब्युँझिएको संसारको एउटा सानो कुनामा रहेको कुटीभित्र भने एउटा सानो दियो पहिले नै बलिरहेको थियो र त्यो दियोको छेउमा एउटा सिन्काको बलमा चुपचाप ठडिएर आफ्नो शरीरको कुनै अदृश्य गहिराइबाट सुगन्धको धुवाँ निकाल्दै थियो, जुन धुवाँ कहिले सिधा माथि उठ्थ्यो, कहिले हावाको सानो झोक्कासँगै बाङ्गोटिङ्गो भएर घुम्थ्यो, कहिले एकछिनका लागि हराएजस्तो देखिन्थ्यो र फेरि अर्को कुनाबाट बिस्तारै प्रकट हुन्थ्यो, मानौँ त्यो धुवाँलाई पनि आफ्नो यात्रा कहाँसम्म हो भन्ने ठेगाना थिएन तर उसलाई यति मात्र थाहा थियो कि जहाँजहाँ पुग्न सकिन्छ, त्यहाँसम्म आफ्नो सुगन्ध पुर्याउनु छ। त्यो सुगन्ध कुटीको सानो कोठामा मात्र अडिएन, केहि लप्का ढोकाको सानो फाटोबाट बाहिर निस्केर बिहानको हावासँग मिसियो, कुनै लप्का रस्किन बण्डले काठको झ्यालबाट चिहाएझैं गाजाको पर्दा छिचोल्दै खनियाखर्क तर्फ च्याहिरह्यो, कुनै भने आँगनको चिसो माटोलाई छोएर बगैंचा तिर टहलिन थाल्यो, घरि घरि पातहरूको बीचमा अल्झियो, फेरि हावासँगै बगेर अलि थोरै पर पुग्यो र माटो, ढुंगा , काठ र बाँसले बनेको सुन्दर र खुला घरमा आरामले सुतिरहेको पाहुनाको नासापुटमा पुगेर यस्तो हल्का स्पर्श गर्यो कि उसले त्यसलाई समात्नै खोजेन तर एकछिन गहिरो सास लिएर अनायासै मनभित्र कतै पुरानो ठाउँमा पुग्यो, जहाँ कुनै समय बिहानबिहान आमाको हातले बालिएको धुपको सुगन्ध थियो, कुनै सानो मन्दिरको घण्टी थियो, कुनै पुरानो प्रार्थनाको आवाज थियो, अथवा सायद त्यस्तो कुनै स्पष्ट स्मृति थिएन नै, केवल एउटा अस्पष्ट शान्ति थियो, जसलाई शब्दमा भन्न नसकिने भए पनि मनले चिन्न भने सक्थ्यो।
त्यो सुगन्धको आफ्नै कुनै घर थिएन तर त्यसको पछाडि धेरै घरहरूको कथा थियो, कुनै आँगनमा फुलेको फूल, कुनै बारीमा फुलेको फूल, कुनै देवताको चरणमा चढ्नका लागि जोगाइएको फूल, कुनै बिहान कसैको हातले टिपेर ल्याएको फूल, जसले आफ्नो जीवन बोटको हाँगामा बिताउँदा कहिल्यै सोचेको थिएन होला कि एक दिन उसको रङ, उसको आकार र उसको नाम सबै बिस्तारै हराएर ऊ केवल एउटा अनुभूति भएर बाँकी रहनेछ, फूललाई फूल रहन मन थियो होला, आखिर आफ्नो रूपमै आफूलाई चिन्न पाउनु पनि त अस्तित्वको एउटा सानो आनन्द हो तर समय र मानिसको हातले उसको पत्रपत्र छुट्याउँदै, सुकाउँदै, पिस्दै र अरू फूलहरूसँग मिसाउँदै लग्यो, अनि बिस्तारै त्यो फूलले आफूलाई छुट्टै चिन्न छोड्नुपर्यो, गुलाब कहाँ सकियो र चमेली कहाँ सुरु भयो भनेर छुट्याउन नसकिने भयो, मानौँ सबैले आफ्नो नाम छोडेर एउटै मौन सम्झौता गरेका थिए, ‘मर्निङ्ग हिलिङ्ग सेसन’ मै जसरी। अब हामीमध्ये कसैले एक्लै सुगन्ध दिने होइन, हामी सबै मिलेर एउटा यस्तो गन्ध बन्नेछौँ, जसमा हाम्रो छुट्टाछुट्टै पहिचान हराए पनि हाम्रो साझा उपस्थिति बाँकी रहनेछ। सायद फूलहरूलाई सबैभन्दा गाह्रो यही लागेको हुँदो हो, आफूलाई अरूमा मिसाउनु, किनकि आफूलाई गुमाउनु र आफूलाई अर्पण गर्नु बाहिरबाट उस्तै देखिए पनि मनभित्र यी दुईको अनुभूति बिल्कुल फरक हुन्छ, एउटामा हराएको पीडा हुन्छ भने अर्कोमा आफूभन्दा ठूलो कुनै कुराको हिस्सा बनेको शान्ति र त्यो गाढा पनमा मिसिँदै गर्दा फूलहरूले आफ्नो सौन्दर्य गुमाइरहेका थिए कि सौन्दर्यको अर्थ नै बदलिरहेका थिए भन्ने कुरा छुट्याउन गाह्रो थियो किनकि आँखाले हेर्दा उनीहरू अब फूल रहेनन् तर सायद सुगन्धले महसुस गर्दा उनीहरू पहिलेभन्दा धेरै ठाउँमा उपस्थित हुन सक्ने भएका थिए। त्यही गाढा पदार्थ जब एउटा साधारण सिन्काको शरीरमा लगाइयो, सिन्काले त्यसलाई फूल भनेर चिन्न सकेन तर उसले त्यसको स्पर्शमा केही अपरिचित कुरा अवश्य महसुस गरेको हुनुपर्छ किनकि अहिलेसम्म ऊ केवल एउटा सुक्खा, सीधा र गन्धविहीन अस्तित्व थियो, जसको काम ठडिएर बस्नु मात्रजस्तो देखिन्थ्यो तर अचानक अरूको जीवनबाट आएको सुगन्ध उसको शरीरमा टाँसिँदा उसले पहिलोपटक आफूभित्र कुनै बाहिरी कुरा मात्र होइन, अरूको कथा पनि बोकेको अनुभूति गर्यो होला र सायद त्यही क्षण उसको मौनताले एउटा सानो प्रश्न सोध्यो होला “के म अब मेरो मात्र रहेँ?” फूलहरू उसमाथि टाँसिँदै गए, तह थपिँदै गयो, सिन्काको साधारण शरीर बिस्तारै ढाकिँदै गयो तर त्यसलाई ढाकिनु उसको अस्तित्व मेटिनु थिएन, बरु उसको खाली ठाउँ अर्थले भरिनु थियो जसरी कुनै मानिसको जीवनमा पनि कहिलेकाहीँ आफ्नै अनुभवभन्दा अरूले छोडेका स्पर्श, सम्झना, प्रेम र पीडाहरूले उसको व्यक्तित्वलाई बनाइरहेका हुन्छन्, त्यसरी नै त्यो सिन्का पनि आफ्नै गन्ध नभएर अरूको गन्ध बोक्ने माध्यम बनिरहेको थियो, र शायद त्यसमा उसको कुनै हीनता थिएन किनकि सबै कुरा आफैँबाट उत्पन्न गर्न सक्नु मात्र सामर्थ्य होइन, अरूबाट आएको राम्रो कुरालाई सुरक्षित राखेर सही ठाउँसम्म पुर्याउन सक्नु पनि एउटा गहिरो क्षमता हो। सिन्का चुपचाप थियो तर त्यो चुपचापपन खाली थिएन, त्यसमा फूलहरूको सम्पूर्ण विगत टाँसिएको थियो, बोटबाट छुटेको क्षण, सुक्दै गएको समय, आफ्नो रूप हराएको पीडा, अरूसँग मिसिएको अपरिचित अनुभूति र अन्ततः आफूभन्दा ठूलो एउटा सुगन्धको हिस्सा बनेको शान्ति, र सायद उसले त्यसबेला बुझ्न थालेको थियो कि उसको काम फूल बन्नु होइन, फूलले दिन नसकेको यात्रालाई आफ्नो शरीर दिनु हो, आफूमा आएको सुगन्धलाई केही समय सम्हालेर राख्नु हो, ताकि कुनै दिन आगोले छोएपछि त्यो सुगन्ध चपौलीको कन्दराबाट फेरि संसारतिर फर्किन सकोस्।
र त्यसरी एउटा फूलको छुट्टिनु, धेरै फूलहरू सँग मिसिनु र एउटा सिन्काले तिनीहरूलाई आफ्नो शरीरमा ठाउँ दिनुबीच कतै, इन्द्रियले भेट्टाउन नसकिने तर हृदयले पहिल्याउन सक्ने सम्बन्ध बिस्तारै तयार भइरहेको थियो, जसलाई मान्छेहरुले नाम दिएछन् “अगरबत्ती” भनेर।


