तिमी

त्यो आदिम कालखण्डमा, जब मेरो अन्तश्चेतना अविद्याको बाक्लो कुइरोले ढाकिएको थियो, म अस्तित्वको एउटा जटिल दोबाटोमा भौतारिँदै माया, मोह, शारीरिक आकर्षण, क्षणिक सुख र प्रगतिका अनेकन् सांसारिक रङ्गरूपहरू बाह्य जगत्मा खोज्ने गर्थेँ। स्मृतिका चौतारीहरू, वासनाका घना झाडीहरू, बजारको कोलाहल, मन्दिरका घण्टीहरूको झंकार, रंगीन वस्त्रको चमक र अपरिचित मुस्कानहरूमा मैले जसलाई अनेकौँ रूप दिएर खोजिरहेँ, त्यो केवल मेरो अज्ञानताको भ्रम मात्र रहेछ। मेरो लागि यो सम्पूर्ण दृश्यजगत् एउटा विराट पुस्तक र तिमी त्यसको सारांश थियौ, जसलाई मैले कहिले विश्वासको डोरी त कहिले खुसीको सीमा मानेर बाहिरै सजाउने धृष्टता गरिरहेँ।

तर आजकल, चेतनाको झिनो रूपान्तरणसँगै त्यो भ्रमको कुइरो निकै फाटेको छ र ती सम्पूर्ण सांसारिक भोगविलासका परिभाषा र रमाइलोका बहानाहरू एकाएक संकुचित भएर मेरै अन्तस्करणमा, केवल ‘तिमी’ भित्र विलीन हुन आइपुगेका छन्। आफ्नै पाका अनुहारका पाका दारी-जुँगाका लहरहरू नियाल्दै निमिट्यान्न पार्न जब ऐना अगाडि आँफुलाई उभ्याउँछु, ढोकामा चुक्कुल लाइवरि, तर फेरिपनि कोही नभएको एकान्तस्थलमा झ्याम्म दारीजुँगा पालेर मुस्काउँदै कता चेपबाट छिरिसकेछौ। त्यो तिमी नै हौ भन्ने तब पक्का भो जब रसाएको नयन भित्र ऐनाबाट देखेँ र पो ….।

उँदो ओर्लिरहेका ‘कमला नदीहरू’ तर्दै, गौरिशंकर हिमालझैँ अटल निष्ठाका साथ उभिँदा र सिँधुलीगढी भञ्ज्याङको चिसो हावाभित्र छिरेर आफ्नै आँखाका गहिरा आत्मकुवाहरूमा चियाउँदा म बाहिर होइन, स्वयम्‌भित्र तिम्रै दिव्य वाणी प्रतिध्वनित भएको पाउँछु। मानव जीवनको परम उद्देश्य बाह्य वस्तुहरू प्राप्त गर्नु होइन, बल्कि आफूले आफैँलाई भेटाउनु र चिन्नु रहेछ भन्ने जुन शाश्वत सत्य तिमीले मलाई दीक्षित गरेर बुझायौ, त्यसले मलाई संसारको सम्पूर्ण कोलाहलभित्रको मौनता सिकाएको छ। अन्ततः मेरो अहंकार पग्लिएर पानी भएर कमला तिरै बग्ने सिक्दैछ र यो बोध त्यो दोबाटोको अलमलदेखि प्रेमपत्रका पानाहरूसम्म मेरो चेतनालाई जागृत गराउने सबथोक आखिर ‘तिमी’ नै थियौ, तिमी नै छौ र तिमी नै हुनेछौ भन्नेमा घिस्याएर लेइपुर्यायौ जहाँ मार्ग र गन्तव्य एउटै बनेर परम शून्यतामा केवल भेट्न ‘तिमी’, बस् ‘तिमी’, एउटै ‘तिमी’, उहि सनातन ‘तिमी’ मात्र अवशिष्ट छौ।

त्यही भएर “ॐ दुं दुर्गायै नम:”  जप्नु अघि कमलाको जलमा मानसरोवरको जल मिसाई हातमा लिएर संकल्प गर्दै “ॐ सहनाभवतु सहनौ भुनक्तु सहविर्यं करवावहै…” अर्थ तिमीसँगै गाँसिएको रहेछ, अर्थ बुझ्दैछु ‘श्रद्धा’ लाई अघि पारेर, अनि तिमीले नै कोरलेको बास्तविक ‘साथी’ शब्दको गुह्य अर्थका कविताबाट दोहेर … 🙏❤️

किन नियमित साधनाको आवश्यकता छ?

मानव जीवन केवल शरीर होइन, यो चेतनाको अनन्त यात्राको एउटा क्षण मात्र हो। हामी जन्मदेखि नै बाहिरी संसारका दृश्य, शब्द, सम्बन्ध र अनुभवहरूसँग परिचित हुँदै जान्छौँ, तर जीवनको सबैभन्दा ठूलो यात्रा भने बाहिर होइन-आफ्नै अन्तरमनतिर हुन्छ। जब चेतना जागृत हुन थाल्छ, तब मानिस संसारसँग मात्र होइन, आफ्नै चेतनासँग संवाद गर्न थाल्छ। यही मौन संवाद नै आत्मबोधको पहिलो किरण हो।

ध्यानको सार केवल श्वास हेर्नु वा वर्तमान क्षणमा सीमित हुनु मात्र होइन। साँचो ध्यान भनेको मनले निरन्तर बुन्दै जाने कथा, कल्पना, स्मृति र मानसिक संवाद (Mental Narrative) लाई समातेर नबस्नु हो। जब मन शब्द, भाषा, तर्क, कल्पना र वितर्कको सीमाभन्दा माथि उठ्न थाल्छ, तब चेतना आफ्नो स्वाभाविक निर्मल अवस्थामा विश्राम गर्छ। त्यही मौनमा सत्य आफैँ प्रकट हुन्छ। त्यहाँ कुनै प्रमाणको आवश्यकता पर्दैन, किनकि अनुभव नै प्रमाण बन्छ।

आत्मज्ञान भाषाले व्यक्त गर्न सकिने विषय होइन। शब्दहरूले मार्ग देखाउन सक्छन्, तर गन्तव्यसम्म पुर्‍याउन सक्दैनन्। शास्त्रहरूले प्रेरणा दिन सक्छन्, गुरुहरूले दिशा देखाउन सक्छन्, तर अन्तिम सत्य प्रत्येक साधकले आफ्नै अन्तःकरणमा अनुभव गर्नुपर्छ। जहाँ “म जान्दछु” भन्ने अहंकार विलीन हुन्छ, त्यहीँ “म हुँ” भन्ने शुद्ध अस्तित्वको अनुभूति जाग्छ। हुनु (Being) र बुझ्नु (Knowing) को यही अद्भुत मिलन नै आत्मतत्त्वको वास्तविक अनुभूति हो।

साधना कुनै एक दिन, एक वर्ष वा एक जन्मको अभ्यास होइन। यो अनादिकालदेखि चलिरहेको चेतनाको यात्रा हो। प्रत्येक जन्ममा गरिएका कर्म, भावना, विचार र संकल्पहरूले पुण्य र पापका संस्कारहरू चेतनाको गहिराइमा सञ्चित गर्दै जान्छन्। यही सञ्चित संस्कारले हाम्रो स्वभाव, दृष्टि र जीवनको दिशा निर्धारण गर्छ। यही कर्मको शाश्वत नियम हो-जहाँ कुनै पक्षपात हुँदैन, केवल न्याय र कारण–परिणामको अटल व्यवस्था हुन्छ।

कर्म हाम्रो भाग्यको अन्तिम निर्णय होइन। साधना कर्मलाई रूपान्तरण गर्ने दिव्य शक्ति हो। सजगता, करुणा, सत्य, प्रेम र निष्काम भावले गरिएका कर्महरूले पुराना संस्कारहरूलाई क्रमशः शुद्ध बनाउँछन्। त्यसैले साधना कर्मबाट भाग्ने मार्ग होइन; कर्मलाई पवित्र बनाउँदै त्यसलाई अतिक्रमण गर्ने विज्ञान हो। जब चेतना जाग्छ, कर्म बन्धन होइन, मुक्तिको माध्यम बन्छ।

साँचो साधक कर्मको नियमप्रति अटल विश्वास राख्छ। हरेक विचार एउटा बीउ हो, हरेक शब्द एउटा तरंग हो र हरेक कर्म एउटा भविष्य हो। त्यसैले उसका निर्णय स्वार्थ, भय वा अहंकारबाट होइन, करुणा, विवेक र प्रेमबाट जन्मिन्छन्। करुणाले निर्देशित निर्णयले केवल एक व्यक्तिलाई होइन, सम्पूर्ण समाजलाई उज्यालोतर्फ डोर्याउने शक्ति राख्छ।

साधनाको अर्को महत्त्वपूर्ण आयाम हो-श्रवण, मनन र सहभागिता। केवल सुन्नु पर्याप्त हुँदैन, सुनेको सत्यलाई हृदयमा उतार्नुपर्छ। जब हामी पूर्ण सजगताका साथ सत्यलाई ग्रहण गर्छौँ र त्यसलाई जीवनमा उतार्छौँ, तब ज्ञान केवल स्मृतिमा सीमित रहँदैन; त्यो हाम्रो स्वभाव, व्यवहार र जीवनको प्रकाश बन्छ। यही सहभागी चेतना नै आत्मतत्त्वको वास्तविक स्पर्श हो।

संसारका सबै ऋषि, बुद्ध, सन्त र महापुरुषहरूले साधनामा निरन्तरता राख भन्नुहुन्छ । किनकि, नियमित साधनाले मन शुद्ध हुन्छ, चेतना परिष्कृत हुन्छ र जीवन दिव्य ऊर्जाले भरिन थाल्छ। यो ऊर्जा बाहिरी शक्ति होइन, यो प्रेम, शान्ति, करुणा, धैर्य, विवेक र निस्वार्थ सेवाका रूपमा अभिव्यक्त हुने आन्तरिक प्रकाश हो। जति साधना गहिरिँदै जान्छ, उति मानिस बाहिरी परिस्थितिको दास नभई आफ्नो अन्तरात्माको स्वामी बन्दै जान्छ।

श्रद्धा, ज्ञान, विनय र पात्रताको यात्रा

मानसको जीवन लामो समय अन्धकारमय थियो, तर्कका प्रश्न प्रचुर तर उत्तर दिने हृदय शून्य। ज्ञानको घमण्ड थियो, शान्ति थिएन तर जब गुरुप्रतिको निष्कलुष श्रद्धाको पहिलो किरण उनको अन्तरमा पस्यो, अहङ्कारको हिउँ पग्लन थाल्यो। त्यो पग्लाइमा कोलाहल थिएन, केवल एउटा रहस्यमयी मुस्कान थियो, “अब फर्कने बेला भयो।”

श्रद्धाले हृदयका ढोका बलले होइन, प्रेमले ढकढक्यायो। हृदय खुल्दा गुरुका वचन शब्द नभई दिव्य ज्योति बने र तिनले मानसका पीडाहरू पखाल्न थाले। ऊ नयाँ सिकिरहेको थिएन, बरु जन्मौँदेखि बिर्सिएको आफ्नै सत्य सम्झिरहेको थियो।

ज्ञान जति फैलियो, ‘म’ को छाया त्यति हरायो। फलेको वृक्ष झुकेजस्तै ऊ विनयले भरियो त्यो नम्रता बिना प्रदर्शन, आफ्नो अज्ञान र संसारप्रति गहिरो करुणाले युक्त थियो।

अन्ततः विनयले उनलाई रित्तो, निर्मल पात्र बनायो। ‘म’ हराएको ठाउँमा सत्य अवतरित भयो शास्त्रका रहस्य, जीवनका अर्थ, चेतनाका स्पन्दन सहजै त्यस पात्रमा ओर्लिए। ऊ मुस्कुरायो त्यो आत्माको मुस्कान जसमा ड्रागनफ्रुटको बिहानी रंगमा घामका कान्तिले रातभरिका शितालु रुझानलाई करुणा, रहस्य र समर्पणको आनन्दले न्यानो पार्दै गरे जसरी …. अनि  स्वास-प्रस्वासमा,  “ॐ दुं ..-.. दुर्गायै नम:”