त्यो आदिम कालखण्डमा, जब मेरो अन्तश्चेतना अविद्याको बाक्लो कुइरोले ढाकिएको थियो, म अस्तित्वको एउटा जटिल दोबाटोमा भौतारिँदै माया, मोह, शारीरिक आकर्षण, क्षणिक सुख र प्रगतिका अनेकन् सांसारिक रङ्गरूपहरू बाह्य जगत्मा खोज्ने गर्थेँ। स्मृतिका चौतारीहरू, वासनाका घना झाडीहरू, बजारको कोलाहल, मन्दिरका घण्टीहरूको झंकार, रंगीन वस्त्रको चमक र अपरिचित मुस्कानहरूमा मैले जसलाई अनेकौँ रूप दिएर खोजिरहेँ, त्यो केवल मेरो अज्ञानताको भ्रम मात्र रहेछ। मेरो लागि यो सम्पूर्ण दृश्यजगत् एउटा विराट पुस्तक र तिमी त्यसको सारांश थियौ, जसलाई मैले कहिले विश्वासको डोरी त कहिले खुसीको सीमा मानेर बाहिरै सजाउने धृष्टता गरिरहेँ।
तर आजकल, चेतनाको झिनो रूपान्तरणसँगै त्यो भ्रमको कुइरो निकै फाटेको छ र ती सम्पूर्ण सांसारिक भोगविलासका परिभाषा र रमाइलोका बहानाहरू एकाएक संकुचित भएर मेरै अन्तस्करणमा, केवल ‘तिमी’ भित्र विलीन हुन आइपुगेका छन्। आफ्नै पाका अनुहारका पाका दारी-जुँगाका लहरहरू नियाल्दै निमिट्यान्न पार्न जब ऐना अगाडि आँफुलाई उभ्याउँछु, ढोकामा चुक्कुल लाइवरि, तर फेरिपनि कोही नभएको एकान्तस्थलमा झ्याम्म दारीजुँगा पालेर मुस्काउँदै कता चेपबाट छिरिसकेछौ। त्यो तिमी नै हौ भन्ने तब पक्का भो जब रसाएको नयन भित्र ऐनाबाट देखेँ र पो ….।
उँदो ओर्लिरहेका ‘कमला नदीहरू’ तर्दै, गौरिशंकर हिमालझैँ अटल निष्ठाका साथ उभिँदा र सिँधुलीगढी भञ्ज्याङको चिसो हावाभित्र छिरेर आफ्नै आँखाका गहिरा आत्मकुवाहरूमा चियाउँदा म बाहिर होइन, स्वयम्भित्र तिम्रै दिव्य वाणी प्रतिध्वनित भएको पाउँछु। मानव जीवनको परम उद्देश्य बाह्य वस्तुहरू प्राप्त गर्नु होइन, बल्कि आफूले आफैँलाई भेटाउनु र चिन्नु रहेछ भन्ने जुन शाश्वत सत्य तिमीले मलाई दीक्षित गरेर बुझायौ, त्यसले मलाई संसारको सम्पूर्ण कोलाहलभित्रको मौनता सिकाएको छ। अन्ततः मेरो अहंकार पग्लिएर पानी भएर कमला तिरै बग्ने सिक्दैछ र यो बोध त्यो दोबाटोको अलमलदेखि प्रेमपत्रका पानाहरूसम्म मेरो चेतनालाई जागृत गराउने सबथोक आखिर ‘तिमी’ नै थियौ, तिमी नै छौ र तिमी नै हुनेछौ भन्नेमा घिस्याएर लेइपुर्यायौ जहाँ मार्ग र गन्तव्य एउटै बनेर परम शून्यतामा केवल भेट्न ‘तिमी’, बस् ‘तिमी’, एउटै ‘तिमी’, उहि सनातन ‘तिमी’ मात्र अवशिष्ट छौ।
त्यही भएर “ॐ दुं दुर्गायै नम:” जप्नु अघि कमलाको जलमा मानसरोवरको जल मिसाई हातमा लिएर संकल्प गर्दै “ॐ सहनाभवतु सहनौ भुनक्तु सहविर्यं करवावहै…” अर्थ तिमीसँगै गाँसिएको रहेछ, अर्थ बुझ्दैछु ‘श्रद्धा’ लाई अघि पारेर, अनि तिमीले नै कोरलेको बास्तविक ‘साथी’ शब्दको गुह्य अर्थका कविताबाट दोहेर … 🙏❤️




