साधना जागरूकता, एकीकरण र स्व-बोधको यात्रा हो!

मानव जीवनको उद्देश्य केवल जन्मिनु, बाँच्नु र मर्नु मात्र होइन। यदि,त्यति मात्र जीवनको सार हुन्थ्यो भने मानिस र अन्य जीवबीच कुनै विशेष भिन्नता रहने थिएन। मानिसलाई विशेष बनाउने कुरा हो=उसको चेतना। यही चेतना विस्तार हुँदै जाँदा मानिस साधारण जीवबाट साधक, साधकबाट ज्ञानी, र ज्ञानीबाट करुणामय चेतनामा रूपान्तरित हुन्छ।

संसारका सबै महान आध्यात्मिक परम्पराहरू जस्तै बुद्ध, उपनिषद्, गीता, ताओ, सूफी, जेन, ओशो तथा कार्ल युङको मनोविज्ञान सबैले एउटै कुरा फरक भाषामा भनेका छन्- “आफ्नो वास्तविक स्वरूपलाई चिन्नु।”तर यो चिन्ने प्रक्रिया पुस्तक पढेर पूरा हुँदैन। यो अनुभूति, जागरूकता, मौन, साधना, नियम, प्रेम, ज्ञान र समग्रताको जीवनबाट मात्र सम्भव हुन्छ।हरेक मानिस आफ्नो वातावरणबाट प्रभावित हुन्छ। हामी जसको सङ्गतिमा बस्छौँ, विस्तारै त्यस्तै सोच्न, महसुस गर्न र बाँच्न थाल्छौँ।

त्यसैले आध्यात्मिक मार्गमा सत्सङ्ग वा जागृत समुदाय (Conscious Community) को अत्यन्त ठूलो महत्त्व छ। साँचो समुदाय त्यो होइन जहाँ धेरै मानिसहरूको भीड हुन्छ। साँचो समुदाय त्यो हो-जहाँ पुगेपछि हाम्रो हृदय खुल्छ, जहाँ हामीले कुनै मुखौटा लगाउनुपर्दैन, जहाँ हामीलाई कसैले बदल्न खोज्दैन, बरु हाम्रो वास्तविक अस्तित्वलाई स्वीकार गर्छ।

त्यहाँ शब्दभन्दा अनुभूति धेरै बोल्छ। त्यहाँ विचारभन्दा मौनको प्रभाव गहिरो हुन्छ। यस्तो समुदायले हामीलाई नयाँ ज्ञान मात्र दिँदैन, उसले हामीलाई ब्यूँझाउँछ।हामी जीवनभर निदाएको अवस्थामा बाँचिरहेका हुन्छौँ।हामी काम गर्छौं,तर सचेत हुँदैनौँ। हामी बोल्छौं, तर उपस्थित हुँदैनौँ।हामी प्रेम गर्छौं, तर आफैंसँग जोडिएका हुँदैनौँ।

साधना-समुदायले यही निद्रालाई भङ्ग गर्छ। यसले वर्तमान क्षणलाई पुनः जीवित बनाइदिन्छ।

हामी धेरैपटक भन्छौँ-“आश्रममा पुगेपछि धेरै आनन्द आयो।ध्यान शिविरमा पुगेपछि मन हलुका भयो।” तर सत्य भन्नुपर्दा आनन्द त्यो ठाउँमा थिएन।आनन्द हाम्रो आफ्नै चेतनामा थियो। त्यो क्षणमा हामी वर्तमानमा थियौँ। हामी सजग थियौँ। हामी आफ्नो वास्तविक अवस्थासँग जोडिएका थियौँ। त्यसैले आनन्द अनुभव भयो।यदि त्यही जागरूकता घरमा पनि कायम राख्न सकियो भने, हरेक घर आश्रम बन्छ। हरेक श्वास ध्यान बन्छ। हरेक कर्म पूजा बन्छ।

ध्यान नै जीवनको केन्द्र हो। जहाँ ध्यान हुन्छ, त्यहीँ जीवन बग्छ।धेरै मानिसहरू ध्यान गर्छन्, तर ध्यानलाई जीवनभरि कायम राख्न सक्दैनन्। ध्यानको उद्देश्य केही क्षण आनन्द अनुभव गर्नु मात्र होइन।त्यो चेतनालाई दिनभरि जीवित राख्नु हो।

जब ध्यान स्थिर हुन्छ, विचार स्पष्ट हुन्छ।निर्णय शुद्ध हुन्छ।काम कुशल हुन्छ। सम्बन्ध मधुर बन्छ। सिर्जनशीलता प्रस्फुटित हुन्छ। आध्यात्मिकता र कार्यदक्षता वास्तवमा अलग छैनन्। जति चेतना बढ्छ, उति कर्ममा उत्कृष्टता आउँछ।

यो सम्पूर्ण ब्रह्माण्ड नियममा चलिरहेको छ। श्वासको लय छ। सूर्यको उदय–अस्तको नियम छ। ऋतुहरूको क्रम छ। ग्रहहरूको गति छ। यदि परमात्मा स्वयं नियममा अभिव्यक्त हुनुहुन्छ भने, मानिसले पनि नियमलाई स्वीकार गर्नुपर्छ। नियम भनेको बन्धन होइन। नियम भनेको ऊर्जा सुरक्षित राख्ने विधि हो।

अनुशासनले स्वतन्त्रता खोस्दैन। बरु गहिरो स्वतन्त्रताको आधार बनाउँछ। जसरी नदी किनाराले नदीलाई समुद्रसम्म पुर्‍याउँछ, त्यसरी नै नियमले चेतनालाई परम सत्यसम्म पुर्‍याउँछ।

परमात्माले सृष्टि चलाइरहनुभएको छ। तर उहाँ कतै पनि “म नै कर्ता हुँ” भनेर देखिनुहुन्न। यही कर्मयोगको चरम अवस्था हो। कर्म भइरहन्छ। कर्ता हराउँदै जान्छ। फूलले सुगन्ध दिन्छ, तर कहिल्यै घमण्ड गर्दैन। रूखले फल दिन्छ, तर घोषणा गर्दैन।सूर्यले प्रकाश दिन्छ, तर प्रशंसा खोज्दैन। ज्ञानी मानिसको जीवन पनि यस्तै हुन्छ। ऊ कर्म गर्छ, तर अहंकार राख्दैन। उसको उपस्थितिले धेरै परिवर्तन ल्याउँछ, तर आफूलाई केन्द्रमा राख्दैन। जति मानिस कम देखिन थाल्छ, उति परमात्मा बढी प्रकट हुन थाल्नुहुन्छ। यही नेतृत्वको सर्वोच्च रूप हो।

आध्यात्मिक संसारमा एउटा ठूलो भ्रम छ । त्यो हो-अहंकारलाई मार। तर कार्ल युङले देखाए-अहंकार जीवनको आवश्यक मनोवैज्ञानिक कार्य हो। समस्या अहंकार हुनुमा होइन। समस्या उसको अपरिपक्वतामा हो। स्वस्थ अहंकारले आफ्नो मूल्य बुझ्छ। तर अरूको अस्तित्वलाई पनि सम्मान गर्छ। उ आफ्नो सत्यमा बाँच्दछ।  तर अरूमाथि थोपर्न खोज्दैन । यही स्वस्थ व्यक्तित्व हो। यही धर्मको पहिलो नियम हो।आफूलाई जति स्वीकार्छौ, त्यति नै अरूलाई पनि स्वीकार्न सक्नुपर्छ।”

मानिस प्रायः दुई अतिमा जान्छ। कसैले केवल ज्ञानलाई समात्छ, कसैले केवल भक्तिलाई।ज्ञानले विवेक दिन्छ। भक्तिले हृदय खोल्छ। ज्ञानले दिशा दिन्छ। भक्तिले ऊर्जा दिन्छ। ज्ञानले सत्य देखाउँछ। भक्तिले सत्यसँग प्रेम गर्न सिकाउँछ।यसैले गीता, उपनिषद् र तन्त्र सबैले ज्ञान र भक्तिको समन्वयलाई पूर्ण साधना मानेका छन्।

कार्ल युङका अनुसार प्रत्येक पुरुषभित्र एउटा स्त्री चेतना (Anima) हुन्छ। र प्रत्येक महिलाभित्र एउटा पुरुष चेतना (Animus) हुन्छ। पूर्वीय दर्शनले यसलाई-शिव–शक्ति, प्रकृति–पुरुष, भैरव–भैरवीको रूपमा व्यक्त गरेको छ। अनिमा पुरुषमा-करुणा, मातृत्व, संवेदनशीलता, अन्तर्ज्ञान,सौन्दर्यबोध हुन्छ।

अनिमस महिलामा- विवेक, तर्क, साहस, निर्णय क्षमता,नेतृत्व शक्ति जगाउँछ। यी दुवैको सन्तुलन बिना न पुरुष पूर्ण हुन्छ,न महिला। जब करुणा र विवेक मिल्छन्, जब प्रेम र प्रज्ञा एक हुन्छन्, तब मानिस विभाजित रहँदैन। त्यसले होलनेस (Wholeness) प्राप्त गर्छ।

यसको लागि हामी इन्टिग्रेसन(Integration) मा आउनुपर्छ। इन्टिग्रेसन भनेको आफूभित्रका सबै पक्षलाई स्वीकार गर्नु हो- छायाँलाई पनि, प्रकाशलाई पनि, बुद्धिलाई पनि, हृदयलाई पनि, शक्तिलाई पनि, कोमलतालाई पनि।

इन्टिग्रेसनको अर्थ आफ्नो सिद्धान्त अरूमाथि थोपर्नु होइन। बरु “तिम्रो सत्यलाई सम्मान गर्न म एक कदम पछि हट्न तयार छु।” यही परिपक्वता हो। यही प्रेम हो। यही धर्म हो।

युङले “इरोस” लाई केवल आकर्षणको रूपमा व्याख्या गरेका होइनन्। गहिरो अर्थमा इरोस भनेको-जीवनप्रतिको प्रेम, सिर्जनशीलता, सम्बन्ध, सौन्दर्यबोध, जीवनलाई सम्पूर्णतामा अँगाल्ने क्षमता हो।जहाँ जीवनप्रतिको उमङ्ग छ, त्यही धर्म छ।जहाँ जीवनप्रतिको प्रेम हराउँछ, त्यहाँ आध्यात्मिकता पनि केवल सिद्धान्तमा सीमित हुन्छ।

साधनाको उद्देश्य केवल ज्ञान सङ्कलन गर्नु होइन। ज्ञानलाई जीवन बनाउनु हो। जब ज्ञान हृदयमा झर्छ, त्यो प्रेम बन्छ। जब प्रेम चेतनामा परिपक्व हुन्छ, त्यो प्रज्ञा बन्छ।त्यसपछि ज्ञान कठोर हुँदैन।प्रेम अन्धो हुँदैन। ज्ञान उज्यालो हुन्छ। प्रेम त्यस उज्यालोको न्यानोपन हुन्छ।दुवै मिलेर पूर्ण चेतनाको जन्म हुन्छ। यही आत्मस्वरूप हो।यही परमात्माको झलक हो।

समग्रमा साधना भनेको कुनै एक विचार, एक सम्प्रदाय वा एक विधिमा सीमित हुनु होइन। यो जीवनका सबै आयामहरूलाई चेतनापूर्वक समेट्ने कला हो। जागरूकता, नियम, प्रेम, ज्ञान, करुणा, अनुशासन, मौन, समुदाय, स्वस्थ अहंकार, भक्ति, विवेक, अनिमा र अनिमस-यी सबै मिलेर मानव चेतनाको विशाल वृक्ष निर्माण गर्छ।

जब साधकले आफूभित्रका विरोध देखिने शक्तिहरूलाई एकतामा ल्याउन थाल्छ, तब द्वन्द्व समाप्त हुन्छ। त्यहाँ संघर्ष होइन, समन्वय हुन्छ, विभाजन होइन, पूर्णता हुन्छ। कर्म भइरहन्छ, तर कर्ताको अहंकार हराउँछ। प्रेम बगिरहन्छ, तर स्वामित्व रहँदैन। ज्ञान चम्किरहन्छ, तर कठोरता रहँदैन। मौन गहिरिँदै जान्छ, तर जीवनप्रतिको उमङ्ग कहिल्यै मर्दैन।

त्यस अवस्थालाई पूर्वीय ऋषिहरूले शिव–शक्तिको मिलन, बुद्धले मध्यम मार्ग, तन्त्रले भैरव–भैरवीको योग, र कार्ल युङले इन्डिभिजुएसन (Individuation) भनेका छन्।यही मानव जीवनको वास्तविक उपलब्धि हो। आफ्नो सम्पूर्ण अस्तित्वमा जाग्नु, प्रेम र प्रज्ञाको एकतामा स्थापित हुनु, र संसारमा कर्म गर्दै पनि कर्ता नभई परम चेतनाको माध्यम बन्नु हो।

यही धर्म हो। यही योग हो। यही समग्र साधना हो। यही मुक्त जीवनको सुन्दरतम अभिव्यक्ति हो।

Unknown's avatar

Author: Rama Dulal

Trust in Yourself. Never lose yourself. Truth is one. Always think Positive then Life is wonderful, Pretty & joyful!! Now I am searching myself, looking at myself & listening to myself!!

Leave a comment