भूपीका कवितासँग

समयको एउटा अव्यक्त नदी बगिरहेछ, जसमा म पनि अछुतो रहन कसरी सक्थेँ र। आज रक्षा बन्दन र जनै पूर्णिमाको पर्व कहलिएको बिहान एउटा नौलो तरंग बनेर मिसियो। आँखा खुल्नुअघि नै, कोठाको ओसिलो र शान्त हावालाई चिर्दै श्रीमती ज्यूको त्यो परिचित, ऊर्जावान् र उत्साहले भरिएको आवाज गुन्जियो, “ल केटाकेटी हो चाँडै उठ, नुहाइधुवाइ गर, मामाघर जानुपर्छ!” चाडबाडको यो एउटा यस्तो शाश्वत लय हो, जसमा कतै विद्रोह गर्ने ठाउँ हुँदैन। तुरुन्तै मतिर एउटा आदरयुक्त तर मधुरो कडापन मिसिएको स्वर सोझियो, “हजुर पनि उठिस्यो चाँडै, नुहाइधुवाइ गरेर चाँडै जानुपर्छ आमाकाँ!” शब्दहरूमा ‘हजुर’ को आवरण थियो तर भित्री मर्म एउटा अटल साम्राज्यको अकाट्य आदेश जस्तै थियो। म ओछ्यानमै पल्टिएर, अलिकति अलमलिँदै टोलाएँ। मेरो नजर ढोका छेउको पुस्तकको र्याकमा पुगेर अडियो, जहाँ धुलोका केही कणहरूलाई छातीमा लुकाएर एउटा किताब मुस्कुराइरहेको थियो “भूपी शेरचनका कविता”। यो केवल एउटा किताब मात्र थिएन, मेरी छोरीको स्कुलको एउटा सुन्दर स्मृति पनि थियो, जुन उनले केही वर्ष पहिले स्कुलको कविता वाचन प्रतियोगितामा प्रथम भएर पुरस्कार स्वरूप घर भित्र्याएकी थिई। त्यतिबेला मैले यसका पानाहरू सरसर्ती मात्र पल्टाएको थिएँ तर आज मेरो मनको भित्री कुनामा एउटा मिहिन रहर पलाएको थियो। मेरा एक मित्र छन् जो भूपीका देशप्रेम रुपी तीक्ष्ण र भावुक शब्दहरूलाई हृदयदेखि पूजा गर्छन् , तीनलाई मैले यो पुस्तक उपहार दिने सङ्कल्प गरेको थिएँ। उनको हातमा सुम्पनु अघि, आजको यो पावन दिनभरि घरकै एउटा एकान्त कुनामा बसेर, यसका हरफहरूमा आफ्ना भावनाहरू मिसाउँदै, शब्दहरूको त्यो गहिराइ चुम्ने मेरो एउटा सानो रङ्गीन सपना थियो तर गृहस्थीको नियम र श्रीमतीको त्यो अदृश्य प्रेमिल आदेशको अगाडि मेरो त्यो काव्यात्मक रहरको साम्राज्य गल्यो। ससुराल जानै पर्ने थियो, जनै फेर्नै पर्ने भयो। हुन त जनै फेर्ने सुत्र र विधि म घरकै आँगनमा आफैं पनि निभाउन सक्थेँ तर यहाँ प्रश्न केवल कपासको त्यो पवित्र धागो फेर्नुको मात्र कहाँ थियो र? त्योभन्दा कयौँ गुणा बढी अनिवार्य त श्रीमती ज्यूको त्यो ‘हजुर’ भन्दै सम्मानित शैलीमा व्यक्त भएको अकाट्य इच्छाको पालना गर्नु थियो। आखिर, दाम्पत्यको सुन्दरता नै यही त हो जहाँ इच्छाको आत्मसमर्पणमै एउटा बेग्लै खुशी लुकेको हुन्छ जसले परिवारमा कलह नल्याओस् पनि सोच्नै पर्ने। मैले हस्याङफस्याङ गर्दै आफ्ना सपनाहरूलाई झोलामा लुकाएँ र तयार भएर ससुरालतर्फ पाइला बढाएँ। तर मेरो साहित्यिक मन त्यहीँ उतै छुटेको आभास भइरह्यो। ससुराल पुगेपछि चाडबाडको त्यो परम्परागत कोलाहल सुरु भयो। बैठक कोठामा मानिसहरूको भीड थियो। अचम्मको कुरा, त्यहाँ कोही कसैको कुरा सुनिरहेका थिएनन्; सबैजना आ-आफ्नै धुनमा, आ-आफ्नै कुराहरू अरुका बोलिमा , कुराहरूमा ओभरल्याप गर्दै शब्दहरूको एउटा अव्यवस्थित सङ्गीत सिर्जना गरिरहेका थिए। त्यो भीड र एकापसमा नजोडिने संवादहरूको चक्रव्यूहमा जबरजस्ती आफूलाई होम्नुभन्दा मलाई आफ्नै आन्तरिक संसारको शून्यतामा फर्किनु बढी न्यायसङ्गत लाग्यो। औपचारिकताका केही पाटाहरू हतार-हतार सकिएपछि, म सुटुक्क त्यो भीडबाट उम्किएँ र अलिपरको एउटा सुनसान, हरियो चौरतिर निस्किएँ।दूबोको ओसिलो चकटीमा थचक्क बसेर आजको रक्षा बन्दनलाई पनि सम्झिएँ अनि अस्तिको दिन एका बिहानै भोट तिरबाट उर्लेर उत्पात मच्चाएको भोटेकोशीलाई सम्झँदै र एउटा सानो थुम्कोमा कसोकसो बाँच्न सफल भएका साना दिदी भाइका बाल्यभावको चर्चा गर्दै सानो कथा बनाएर लेख लेख्न मन लाग्यो। जसोतसो लेखेर ‘दियालो मासिक ‘ मा पोष्ट गर्न सोमा सहयोग गर्ने साथीलाई पठाएँ। उनले पनि हेरेर, सायद पब्लिस गर्न योग्य देखेछन् क्यारै, एकछिन मै पोष्ट गरिदिहाले।

अब मेरो आजको मुख्य प्यास मेटाउने ध्ययले झोलाबाट भूपीको कविताको पुस्तक निकालेँ। पानाहरू पल्टाउँदै जाँदा मेरो आत्मा पानाहरूमा कोरिएका काला अक्षरहरूसँग एकाकार हुन थाल्यो। जब मेरा आँखाहरू ‘कवि हुनु’ शीर्षकको कवितामा पुगेर टक्क अडिए, तब मेरो छातीभित्र एउटा गहिरो भावुकताको पहिरो गयो। भूपीले कति निश्छल र दार्शनिक ढङ्गले जीवनको सत्य ओकल्दै लेखेका रहेछन्: “कवि हुनु, व्यक्तिबाट समष्टिमा समर्पित हुनु हो । कवि हुनु, केही नहुनु हो, फगत कवि हुनु हो।” यी पंक्तिहरू मानसपटलमा ठोकिँदा म स्तब्ध भएँ। कवि हुनु त वास्तवमा आफ्नो ‘म’ भन्ने अहङ्कारलाई तिलाञ्जली दिएर सिङ्गो ब्रह्माण्डको पीडा र संवेदनालाई आफ्नै मुटुको ढुकढुकी बनाउनु पो रहेछ! कवि हुनु भनेको संसारका नजरमा केही नहुनु जस्तै रित्तो देखिनु हो, तर भित्रभित्रै फगत एउटा शुद्ध भावनाको सागर बन्नु हो। भूपीका यी दार्शनिक शब्दहरूले मलाई देशप्रेमको अर्को गहिरो गल्छीमा पुर्याए। ‘खबरदार नेपाल नआ’ जस्ता कविताहरूमा देशको माटोप्रतिको उनको अकाट्य आशक्ति र विकृतिहरू माथिको कडा प्रहार प्रस्टै देखिन्थ्यो। पानाहरू पल्टाउँदै जाँदा पुस्तकको अन्त्यतिर रहेको ‘वीरेन्द्र जिन्दाबाद’ शीर्षकको गीतमा मेरा आँखाहरू पग्लिए। तत्कालीन राजा वीरेन्द्र प्रतिको उनको त्यो अनन्य श्रद्धा, आदर र निष्ठा केवल एक शासक प्रतिको भक्ति मात्र थिएन, त्यो त यो देशको माटो, शान्ति र स्थिरताप्रतिको एउटा पवित्र प्रार्थना जस्तो लाग्थ्यो। शब्दहरूको त्यो गहिरो भावसागरमा डुब्दै गर्दा मैले बिस्तारै पुस्तकबाट नजर उठाएर अलि पर चौरको एउटा कुनामा हेरेँ। झरीले भिजेको, अलिअलि हिलाम्मे भएको चौरको त्यो कुनामा दुईजना साना बालिकाहरू समय र कपडाको कुनै हेक्का नराखी, माटो र हिलोको संसारमा पूर्ण रूपमा मग्न भएर खेलिरहेका थिए। तिनीहरूको अनुहारको त्यो निश्छल हाँसोमा कुनै कृत्रिमता थिएन। अलि पर, चौरकै अर्को शान्त कुनामा एक जोडी जवान केटाकेटी बसेका थिए। तिनीहरू संसारका सारा कोलाहल र पीरहरूलाई एकातिर पन्छाएर, साउती मार्दै, युवालयको त्यो मदहोसीमा खित्का छोडेर हाँसिरहेका थिए। त्यो दृश्य देख्दा मेरो मनमा एउटा गहिरो दार्शनिक चेत जागृत भयो। एकातिर म र भूपीका कालजयी कविताका पानाहरूभित्र हराएर समयको अस्तित्व भुल्दै थियौं, अर्कोतिर ती बालिकाहरू आफ्नो बाल्यकालको उन्मुक्त खेलमा र त्यो युवा जोडी आफ्नो प्रेमिल संसारमा बगिरहेका थिए। लाग्थ्यो, हामी तीनै समूहका लागि आज ‘समय’ भन्ने कुनै घडी वा बन्धनको अस्तित्व नै बाँकी थिएन। हामी सबैले आ-आफ्नो ढङ्गमा समयको सीमालाई जितेर एउटा अनन्तताको यात्रा गरिरहेका थियौँ। भूपीका ती शाश्वत कविताका पंक्तिहरू, चौरको त्यो जीवित परिवेश र मेरो मनको यो भावुकता मिलेर आजको दिन झिमिक्क साँझ परेर हरिया घाँस कालिँदासम्म पनि मोबाइलको लाइट बालेरै पढिकन पनि नभ्याएर,  नअघाएर घर आएर रातीसम्म लाएर, आँखा मिच्दै, औषधि हाल्दै पनि जम्मै पढि भ्याएँ । आज निकै समय पछि उहाँले भन्ने गर्नु भएको याद गर्दै म्याक्सिमम् एफोर्ट लाएर होस पुर्वक समर्पित हुने अभ्यासको कोसिस गरेँ।

Unknown's avatar

Author: मानव अभ्यास

🙏❣️🌹🎶✍️

Leave a comment