समर्पणका कविता

तिम्रो कविताका स्वर इन्द्रेणीको पहिलो स्पर्श जस्तो छुइरहेछ,

उसैलाई पाउन आफ्नै मुटु छामिरहेझैं…

जहाँ मनमोहकता आफैँमा एउटा ऋतु बनेर फुल्दै गरेको,

अनि समर्पणका शब्दहरू असीमका सागरमा छरिएका

ताराहरूजस्ता, मौनतामै पनि भावको आकाश उज्यालो पार्दै गरेका …

अनि थाहा छ ? … त्योभन्दा पनि गहिरो कुरा !

……..

‘गुरु’ प्रतिको त्यो अगाध श्रद्धा

कुनै प्राचीन मन्दिरको प्रार्थना-घण्ट झैँ तिम्रो कण्ठ कम्पिरहेछ, ‘मर्निङ्ग हिलिङ्ग सेसन’ को हमिङ्ग सरी,

मानौँ गौरीशंकरको काखमा उज्यालो हुँदै गएको

बिहानको पहिलो किरण…

जति डुब्दै जाऊँ त्यो श्रद्धाको गहिराइमा,

त्यति नै परमअसीमताका छालहरू

मुटुभरि छल्किरहन्छन् …

सिक्नैलाई जन्मिएँछु है!

सायद अनेक जन्म जन्मेँ हुँला, अनेक अनेक कर्म गरेँ हुँला, समयको यो अनन्त आकाशमा कति पटक बादल बनेर मडारिएँ र कति पटक पानी बनेर वर्षिएँ हुँला, त्यसको कुनै हिसाब छैन, सायद बेहोसीमै मेटिए होलान्। कहिलेकाहीँ लाग्छ, ती अनगिन्ती भेषहरू र ती कर्मका थुप्राहरू कतै न कतै केवल यो चेतनाको कसिलो माटोलाई अलिकति खुकुलो बनाउन सिक्ने अभ्यास त थिएनन्? कति धेरै कुरा, कति अनन्त शृङ्खलाहरू त अझै सिक्न बाँकी नै पो रहेछ जस्तो लाग्ने यो मन, कहिलेकाहीँ आफ्नै छाया देखि तर्सिएझैँ एउटा अनौठो भुमरीमा परे झैं पनि हुन्छ किन? प्रश्न उब्जिन्छ, जबाफ खोज्छु, घोत्लिन्छु … आँखा चिम्रा पारेर, चश्मा कहिले टाँसेर त कहिले सारेरै अनि घरि-घरि आँखा माडेरै पनि।

जब कहिलेकाहीँ कतै केही अलिकति जानेँ कि, कुनै सत्य थोरै बुझेँ कि जस्तो महसुस हुन थाल्छ, तब भित्रैबाट एउटा मसिनो तर तीखो संशयले मनलाई बारम्बार झस्काइदिन्छ। कतै यो ‘मैले बुझेँ’ वा ‘मैले केही थाहा पाएँ’ भन्ने सोच पनि त्यही पुरानो, सुकिलो रूप बदलेर आएको सूक्ष्म अहंकारकै एउटा नयाँ प्रपञ्च त होइन? कतै ज्ञानकै अर्को एउटा सुकिलो भारी त मेरो पिठ्युँमा थपिएको छैन? अथवा यो हृदयको नीरव गहिराइबाट उब्जिएको कुनै वास्तविक अहोभाव हो? यो कुराको त्यान्द्रो ठम्याउन नसकेर मन एउटा मधुरो कुहिरोभित्र अलमलिइरहन्छ कहिलेकाहीँ त अचम्मले। तर, जब ती पावन श्रोत, अर्थात् शास्त्र र गुरुप्रति श्रद्धा अलिकति बढ्न थालेको लाग्छ र नतमस्तक भएर नुहिरहन, झुकिरहन मन लाग्छ, तब मात्र बल्ल यो मानव चोला पाएको, यो धर्तीमा श्वास फेरेको वास्तविक अर्थ र कारण कताकता झुल्किए जस्तो आभास हुन्छ। त्यो निश्छल श्रद्धाको शीतल छहारीमा बस्दा मात्रै, आफ्नै भित्र लुकेर बसेका ती मसिना अहंकारहरूलाई कुनै लडाइँ नगरी बिसर्जन गर्ने एउटा सानो गोरेटो फेला परे जस्तो लाग्छ। … लाग्छ, श्रद्धा आफैँमा एउटा यस्तो नदी रहेछ जसले जान्ने हुनुको दम्भलाई बिस्तारै बगाएर लैजाँदो रहेछ। त्यो समर्पणको भावमा पग्लिँदै जाँदा मात्रै, बल्ल आफ्नो साँचो, सरल र कृत्रिमताविहीन स्वभाव पहिल्याउने कुनै मधुरो मेसो पाउन थालेँ कि जस्तो महसुस हुन्छ। अनि मात्रै आफ्नो वरपरको वातावरण (Surroundings) सँग एउटा निःशब्द सामञ्जस्यता (Harmony) मा बाँच्न, हावासँगै हल्लिने पात जस्तै सहज हुन, आफ्नो विवेकले हरेक व्यवहारलाई पवित्र, करुणामयी र निष्काम बनाउन अनि कसैप्रति कुनै अभिलाषा नराखी केवल एउटा सेवात्मक भावमा पग्लिँदै जान सिक्ने क्रम सुरु भए जस्तो बल्ल-बल्ल कताकता लाग्न थालेको छ।

सुन्दर फूल औंलाले चेपेर हेरिरहन्छु, ‘मर्निङ हिलिङ्ग सेसन’ बाट उसका वाणी सम्झिन्छु, हृदयका कम्पन् महसुस गर्छु, अनि लाग्छ, यो अनन्त पाठशालामा ‘केही नजान्नु’ भाव नै सबैभन्दा ठूलो राहत रहेछ अनि ‘सिकिरहन खोज्नु’ र ‘झुक्न थाल्नु’, मेसो नै कति अद्भुत रहेछ!

झरिमा

केही दिनदेखि आकाशले आफूभित्र थुपारेका बादलु पोकाहरु बिस्तारै पोखिरहेको थियो । झ्यालको सिसामा टाँसिएका पानीका थोपाहरू कतिबेला तल झर्थे, कतिबेला एकअर्कालाई भेट्दै ठूलो हुँदै जान्थे, अनि फेरि कुनै अनजान यात्रामा निस्किन्थे । बाहिरको बाटो चिसो थियो, बोटबिरुवाका पातहरू नुहाएझैँ चम्किएका थिए, फूलका ओठमा अडिएका थोपाहरू कुनै अधुरो मुस्कानजस्ता देखिन्थे र झ्यालका कापबाट छिरेको चिसो हावासँगै माटो र भिजेका पात एवं फूलको सुगन्ध कोठाभित्र आइरहेको थियो ।

तर यही झरीलाई हेर्दाहेर्दै मन कताकता भारी पनि हुन्थ्यो । देशका विभिन्न ठाउँमा यही अविरल पानीले बाटो भत्काएको, सडक बिगारेको, घर खेतबारीमा क्षति पुर्‍याएको समाचार सम्झँदा झरी केवल झरी रहँदैनथ्यो, त्यो कसैको चिन्ता, कसैको बाध्यता र कसैको भिजेको रात बनेर मनभित्र पस्दथ्यो । आकाश तिर बादलहरू भने आफ्नै धुनमा दौडिरहेका थिए, मानौँ आकाशलाई पनि थाहा थिएन कि उसको आँसु कतै सुखद संगीत बनेको छ भने कतै दुःखको खबर । त्यसैबेला सम्झना उता अलि परतिर मोडियो, उहाँहरूलाई कस्तो होला ? त्यहाँ पनि यस्तै झरी परिरहेको होला कि ? खाने बस्ने कुरामा केही अप्ठ्यारो त भएको छैन होला ? मनले प्रश्नहरू धेरै गर्‍यो तर उत्तर दिन झरीबाहेक कोही थिएन । यत्तिकैमा अचानक मनभित्र एउटा पुरानो धुनजस्तै नविन के. भट्टराईको गीतको शब्द गुन्गुनिएर च्याउँदै बाहिरिन खोजे “ए झरि नझरि देउ यसरी…” । गीतको त्यो सानो टुक्रासँगै झ्यालबाहिरको झरी पनि मानौँ केही क्षण रोकिएर मेरो मन सुन्न थाल्यो कि जस्तो लाग्यो। तर झरी कहाँ रोकिन्थ्यो र ! गति मात्र हल्का सुस्त बनाएर अबिरलै चलिरह्यो । सायद उसको काम नै यही हो, कहिले बाटो भत्काउनु, कहिले माटो भिजाउनु, कहिले आँखामा चिन्ता ल्याउनु र कहिले त्यही चिन्ताको बीचबाट हरियो जीवन उम्रन दिनु । पातबाट खसेको एउटा थोपा झ्यालको चौकोसमा आएर रोकियो । मैले त्यसलाई केहीबेर हेरिरहेँ । लाग्यो, संसारमा सबै पानी आँसु हुँदैन, केही पानीले आँसु पखाल्छ पनि । बाहिर झरी परिरह्यो, भित्र सम्झना भिजिरह्यो अनि मनले चुपचाप एउटा प्रार्थना गर्‍यो, यो पानी जहाँ पीडा बनेर पुगेको छ, त्यहाँ छिट्टै उज्यालो बनोस् जहाँ माटो सुकिरहेको छ, त्यहाँ जीवन बनोस् र चपौलितिर यो झरी झ्यालबाहिरको सुन्दर दृश्य बनिरहोस्।

नभनिएको…

… अनि उसले केही बोलेन, किनकि मबाट कुनै जवाफै निस्केन। सायद हृदयले नै महसुस गर्यो। शब्दहरू कहिलेकाहीँ ओठसम्म आइपुग्दा पनि बाटो बिराउँछन्, अनि मौनता नै सबैभन्दा ठूलो भाषा बन्छ। त्यसपछि समय रोकिएजस्तो लाग्यो। हावाले पनि सुस्ताएर कानमा केही गुनगुनाएजस्तो तर बुझिनँ। उसको आँखामा एक प्रकारको नदी बगिरहेको थियो जुन कहिल्यै किनारा भेट्दैन। मैले त्यो नदीमा डुबुल्की मार्न खोजें, तर मेरो प्रतिबिम्ब पनि हराएर गयो। कता गयो, थाहा भएन। कसैले सोधेन। कसैले भेटेन। अनि मैले केही बुझ्दै गएँ  जस्तो लाग्यो, केही कुरा भनिन्छ तर सुनिँदैन। केही कुरा सुनिन्छ तर बुझिँदैन। अनि केही कुरा बुझिन्छ तर भन्न सकिँदैन। हामी त्यही तेस्रो कुरामा अड्किएका थियौँ। ऊ बोल्न सक्ने थियो तर बोलेन। म बुझ्न सक्ने नै थिएँ तर बुझिनँ। बीचमा एउटा सानो, अदृश्य, निकै गहिरो खाल्डो थियो जहाँ हाम्रा सबै शब्द बिलाए।

रात झमक्कै पर्यो।  कफी चिसो भयो। मैले सोधें, “अझै केही ?” ऊ मुस्कुरायो, त्यो मुस्कानमा एउटा पूरै उपन्यास लुकेको थियो तर मैले पाना पल्टाउने आँट गरिनँ किनकि कतिपय कथाको अन्त्य पढ्नुभन्दा, त्यसलाई अधुरै छोड्नु राम्रो हुन्छ, कौतुहलता बनिरहन्छ। अनि त्यो रात, हामी दुईजना एउटै कोठामा, एउटै मौनतामा तर दुई फरक संसारमा सुत्यौँ। बिहान उठ्दा ऊ थिएन। केवल एउटा हल्का सुगन्ध बाँकी थियो जुन हावामै मिसिएर गयो। मैले झ्यालबाट बाहिर हेरें। बाहिर वर्षा भइरहेको थियो। अनि मैले महसुस गरें, त्यो वर्षा पनि उसैको जवाफ थियो। ढिलो आयो तर आयो। भिजायो तर बुझायो, रसुवामा झैं आएन, सिँधुलीमा झैं आयो। अनि म हाँसें, एक्लै, आफैसँग किनकि अब मलाई थाहा भयो, केही प्रश्नको उत्तर शब्दमा हुँदैन, मौनतामा हुन्छ। अनि केही मान्छे बोल्दैनन् किनकि तिनको मौनता नै तिनको सबैभन्दा ठूलो कविता हुन्छ, रुमीको कवितामा अनुपमले आफूलाई भेटेजस्तै।अनुवाद शब्दसिमामा अड्किँदैन, भावको यात्रा गर्छ। अनि त्यो यात्रा कहिल्यै टुङ्गिँदैन, उकालीमा पनि गहिराइ भेट्छ, सम्म परेको । ओरालीमा पनि चौतारो भेट्छ, हृदयका कुना छोएको, जहाँ पुग्छ, त्यहीँ बग्छ।

ब्रह्मकमलसँग

हात खोल्दा पनि त्यो फूल झरेन। औंलाको बीचमा अड्किएर बस्यो, जसरी बिदाइको बेला शब्द घाँटीमा अड्किन्छ , निस्कन्छ तर पूरा निस्कँदैन। मैले यो फूल आफ्नो महसुसको लागि छोएको थिएँ। मलाई ब्रह्मकमल मन पर्थ्यो, त्यसैले । एकाएक आमाको सम्झना आयो, उहाँ भन्नुहुन्थ्यो जुन फूल एक रात मात्र बाँच्छ, त्यसलाई हेर्ने मान्छेले समयलाई हेर्न जानेको हुनुपर्छ। मैले हाँसेर भनेको थिएँ “समय हेरेर के गर्नु, आमा ! फूल हेर्नु न।” उहाँले केही भन्नुभएन। अब लाग्छ, उहाँले भनेको त्यो कुरा मैले बाह्र वर्षपछि बुझें।

हिजो बेलुकी फूल फुलेको रहेछ बिहानै देखें। सेतो, नरम, चुपचाप, कुनै आवाज नगरी। म दगुरें। आमालाई देखाउनुपर्छ सोचेँ तर ढोकामा पुग्दा उहाँ भान्सामा हुनुहुन्थ्यो जस्तै लाग्यो, पीठ फर्काएर, खाना पकाउँदै। म ढोकामै उभिएँ। फूल हातमा थियो। भन्न खोजें “आमा, हेर्नु न।” तर भनिनँ किनभने मलाई थाहा भयो उहाँले हेर्नुभयो भने पनि, मैले भनेको कुरा उहाँले सुन्नुभयो भने पनि, त्यो क्षण बितिसक्नेछ। फूल झर्नेछ। अनि उहाँ फेरि पीठ फर्काएर उभिनुहुनेछ। म भने ढोकामै उभिरहनेछु, फूल हातमा, शब्द घाँटीमा। मनको अर्काे कुनाले भने फूल टिपिन, टिप्न मलाई के ले रोक्यो थाहा पाइन। चाउरी परेको हातले छोएँ मात्र। अनि फोटो खिचें  किनभने मलाई थाहा थियो, यो क्षण फर्केर आउँदैन तर फोटोमा मेरो हात मात्र छ, आमाको पीठ छैन, भान्साको त्यो झ्याल छैन, जहाँबाट घाम पसेर उहाँको सेतो कपालमा अल्झिएको थियो। फोटोले समात्न सकेन जे समात्न सक्थ्यो त त्यो मात्र फूल र हात। अनि मैले बुझें। ब्रह्मकमल एक रात बाँच्छ भन्ने कुरा ठीक हो। तर त्यो भन्दा ठूलो कुरा मान्छेले आफ्नो आमाको पीठ पनि एक दिन मात्र देख्छ। त्यो पनि एक रात जस्तै फुल्छ, अनि बित्छ। अनि तिमी हातमा फूल लिएर उभिरहन्छौ, भन्न खोजेको कुरा भन्न नसकी। फेरि टिपेरै देखाउँ लाग्यो, मैले फूल भान्साको चुलो छेउमा राखें। आमाले पछि देख्नुहोला कि सोचेर। “कहाँबाट ल्याइस् ?” भन्नु होला कि लागेर। “बगैंचाबाट,” मैले भनुँला। उहाँले फूल उठाउनु होला,  सुँघ्नु होला। अनि मेरोतिर हेरेर  भन्नु होला त्यो हेराइमा बाह्र वर्ष देखिएलान् र एउटा फूल अनि एउटा क्षण जो कसैले समात्न सकेन। “यो भोलि रहँदैन,” उहाँले भन्नु होला। “थाहा छ,” मैले भनुँला। “तैपनि टिप्यौ?” “तैपनि?” उहाँ मुस्कुराउनु होला अनि फूल फेरि चुलोमै राख्नु होला। भोलिपल्ट त्यो ओइलाइजाला तर आज, आज मैले आमाको मुस्कान देख्न पाउँला। त्यो पनि ब्रह्मकमल जस्तै, एक क्षणको तर त्यो क्षण मेरो हातमा हुने छैन, त्यो मभित्र मात्र हुनेछ जहाँ कसैले टिप्न सक्दैन, कसैले झार्न सक्दैन। त्यो नै बाँचिरहन्छ, पक्कै बाँचिरहन्छ भलै आमा अहिले हुनुहुन्न, बाह्र वर्ष बितिसकेको छ उहाँले संसार छाड्नु भएको, मलाई जन्माएर गुरुसम्म पुग्न सक्ने बनाउनु भएको तर यो खबर मैले आज भेटेरै सुनाउन पाइँन तर खबर गर्छु हृदयले, आत्माले, श्रद्धाले, भावले । आज मेरो घरमा श्राद्ध छ उहाँको आत्मा शान्तिको लागि, उहाँको कारण शरिर तार्नको लागि, उत्तम लोकतिरको गमनको लागि ….।

चाह र प्रवाह

बार्दलितिर फर्किएको झ्यालबाट सन्ध्याको सुनौलो उज्यालो बिस्तारै मधुरिँदै कोठाभित्र पसिरहेको थियो, हृदयका हरेक कुना छुने मनमोहकता थियो त्यसमा, वेपर्वाह सबैलाई मुस्कानले छुने ‘प्रवाह’ थियो त्यसमा, कृष्णले गाई चराई घर फर्कँदै गर्दाको गोधुली साँझ झैं थियो त्यहाँ र चराहरू पनि आफ्ना झुण्ड बनाई कृष्णकै भरमा घर फर्कँदै गरेका जस्तै थियो त्यो क्षितिज तिरको दृश्य, स्वतन्त्र रूपमा गित गाउँदै नजिकिँदै गरेका। यसैबिच झ्याल नजिकै झुण्डिरहेको एउटा बलियो स्टिलको पिंजडा भित्रबाट आवाज आउँछ “गोपी कृष्ण कहु पटु!” 

दिनभरिको व्यापार, ग्राहकका कचकच र नाफा-घाटाको हिसाबले थाकेको अनुहार बोकेर कृष्णलाल बैठक कोठाको मखमली गलैंचामा गर्ल्याम्म ढले झैं गरी थच्चियो। ‘ऐया!’ भन्ने शब्द उसलाई थाहै नदिई निस्कियो तर त्यसको अर्थ बुझ्ने नजिकै कोही थिएन, सायद सुँगाले पनि आफ्नै एफोर्टले घोक्ने मात्र गर्थ्यो होला। बाहिरको प्रवाहित दृश्यहरु उसले ढोकासँगै बन्द गरिदियो, झ्यालबाट मुस्काइ रहेको गोधुली प्रकाश पनि एकाएक डराएको थियो, पसुँ कि नपसुँ अब जसरी। कृष्णलालको मनभित्रको बजार अझै बन्द भएको थिएन। उसले गोजीबाट र ब्रिफकेसबाट तिर्सनाका अजङ्गका थुप्राहरू झैं पैसाका मुठाहरू निकाल्यो र गलैंचामा छरपस्ट पार्यो। कोठामा नोटहरूको ‘सर्सर्’ आवाजसँगै ढुसीको गन्ध पनि ह्वास्स आयो। कोट खोलेको पत्तै पाएन, सोफामा आधा मात्र अडिएको थियो, बाँकि लत्रिएर भुइँ छोइरहेको थियो। अनुहारमा अकर्मण्यता स्पष्ट देखिन्थ्यो किनकि निधार घरि खुम्चिने र घरि सम्मिने भइराथे, दाहिने गाला घरि घरि अलि पोक्चिए झैं पनि हुन्थ्यो, सायद केही पुरानो कुनै कुरा सम्झेर ढुक्क भए जसरी। ढोकामा चुक्कुल राम्रोसँग लाग्यो लागेन लागेर होला टाउको तिर सारेको चश्मा तल झारेर एक पटक फेरि च्याह्यो, देखेर ढुक्क भयो । गोधुली साँझको रंग बाहिरै रमाइरह्यो स-स्याना गमलाहरु सँग मात्र।

चश्मा मास्तिर सारेर कृष्णलालका औंलाहरू अब मेसिन झैं चल्न थाल्यो। गन्दागन्दै, नोटको सुख्खापनले उसको गति रोकिन्थ्यो। तब ऊ आफ्नो चोरी औंलालाई जिब्रोको टुप्पोसम्म पुर्‍याउँथ्यो, र्‍यालको सानो अंश औंलामा टाँस्थ्यो र पुनः नोटको शरीरमाथि विजय प्राप्त गरेझैं अगाडि बढ्थ्यो। उसले औंला जिब्रोमा लैजाने हरेक पटक, कोठाका चारवटा जीवका आँखाहरूमा एउटा अनौठो कम्पन पैदा हुन्थ्यो। उसको ठीक अगाडि उसको डेड वर्षको निष्पाप छोरो बसेको थियो, बुवा आएपछि उसले झ्यालबाट देखिएको गोधुली घाम समाउने प्रयास छाड्नु परेको थियो। बालकका लागि त्यो कागजको थुप्रो कुनै मूल्यहीन वस्तु थियो तर बुबाले पटक-पटक औंला जिब्रोमा लगेर केही अमूल्य रस चाटिरहेको जस्तो उसलाई भान हुन थाल्यो । बालकले सोच्यो “बुबाले के चाटेको होला! त्यो पक्कै संसारको सबैभन्दा मिठो चिज हुनुपर्छ।” उसले आफ्ना कलिला, नरम हातहरू बुबाको ओठतर्फ यसरी बढाउन खोज्यो, मानो ऊ पनि त्यो अज्ञात माधुर्यको एक थोपा चाख्न आतुर छ। बालकको ठीक छेउमा एउटा बिरालो अर्ध-निन्द्राको बहाना गर्दै घोरिएर हेरिरहेको थियो। बिरालोको नजर व्यापारीको औंलाको चालमा एकाग्र थियो। बिरालोको चतुर र धैर्यवान् स्वभाव त्यहाँ देखिन्थ्यो। उसलाई पैसाको महत्तासँग कुनै सरोकार थिएन तर व्यापारीले आफ्नो औंला चाटेको देख्दा उसलाई लाग्थ्यो “संसारमा चाट्ने पहिलो अधिकार त मेरो हो। यो मान्छेले कति हतार गरेको? यसको पालो सकिएपछि मेरो पालो कहिले आउला?” ऊ झट्ट हाम्फाल्दैनथ्यो तर उसको हरेक मांसपेशी त्यो ‘चाट्ने’ क्रियाको पर्खाइमा तन्किएको थियो। अनि, अलि पर, सोफाको ओझेलमा बसेको सानो कुकुर। उसको भित्री चेतनामा डर र लोभको तीव्र द्वन्द्व चलिरहेको थियो। मालिकको कडा स्वभाव थाहा हुँदाहुँदै पनि, ओठबाट निस्किरहेको त्यो सम्भावित स्वादको लोभ उसले रोक्न सकिरहेको थिएन। उसले आफ्नो पुच्छर बिस्तारै हल्लाइरहेको थियो, समर्पण र आशाको मिश्रित रूपमा। उसको जिब्रो हल्का बाहिर निस्किएको थियो, जसमा र्‍यालका थोपाहरू आफैं जम्मा हुँदै थिए। ती जीवहरू भौतिक संसारको ‘मुद्रा’ को मूल्यबाट पूर्णतः अन्जान थिए। उनीहरूका लागि त्यो केवल ‘चाट्ने’ ‘चाह’ को एउटा दृश्य केन्द्र मात्र थियो । उनीहरू हेरिरहेका थिए कसरी एउटा मान्छे कागजका टुक्राहरूलाई आफ्नो जीवनको सर्वस्व ठानेर आफैंलाई चाटिरहेको छ। जब ती अज्ञात जीवहरू बालक, बिरालो, कुकुर र सुँगा आ-आफ्नो स्थानबाट अलि अघि सरेर, त्यो ‘चाट्ने रस’ मा आफ्नो हक माग्न खोज्थे, तब व्यापारीको ध्यान भङ्ग हुन्थ्यो। उसले पैसाको मुठो लुकाउन खोजेझैं, आँखामा उग्रता ल्याएर उनीहरूलाई हेर्थ्यो। त्यो क्षण ऊ साक्षात दुर्गाको रौद्र, उग्र स्वरूप जस्तो देखिन्थ्यो, जसले आफ्ना भक्तको रक्षा गर्न जुनसुकै संहार गर्न सक्छिन्। उसको त्यो भयानक दृष्टि देखेपछि, ती जीवहरू डरले अलि पछि सर्थे, सुँगाको त अघि सर्ने हिम्मतै हुने नै भएन, जंजिर भित्रबाट। उनीहरू पछि सर्ने बित्तिकै, ब्यापारीको अनुहारको तनाव एकाएक हराउँथ्यो। ऊ पुनः दुर्गाकै अर्को सौम्य रुप वैष्णो देवी जस्तै शान्त र मुसुक्क मुस्कुराउँथ्यो। त्यो मुस्कान उनीहरूलाई पछि हटाउन सफल भएकोमा एउटा मौन ‘धन्यवाद’ को मुद्रा थियो। ऊ फेरि उही मन्त्रमुग्ध अवस्थामा फर्कन्थ्यो, औंला जिब्रोमा लैजाने, नोट समात्ने र गन्ने। यही समयमा, कोठाको अर्को कुनाबाट, नेपथ्यको पर्दा उघ्रिएझैं एउटा मधुर आवाज तैरिएर आउँदैथ्यो। व्यापारीकी श्रीमती सदा भन्दा अलि छिटो छिटो घण्टि बजाउँदै पूजाकोठामा साँझको लक्ष्मी आरतीमा हतारिएकि थिइन्। धूपको सुगन्ध उनलाई नसोधिकनै बैठक कोठासम्म आइपुगेको थियो, सायद त्यो सुगन्ध ‘प्रवाह’ मा थियो, कुनै हिसाब किताबको ‘चाह’ थिएन। श्रीमतीज्यूको आवाजमा भने एउटा शान्ति खोज्ने ‘चाह’ थियो, यसपालीको तिजको दरखान सिंगापुरे सारी र एउटा नयाँ मोडेलको गहना लाएर दुर्गेश र कोमल ओलीको नयाँ गितमा नाच्ने ‘चाह’ ले, “जय लक्ष्मी माता, मैया जय लक्ष्मी माता…” आरती गर्दैथिइ तर समर्पण र सन्तुष्टि अन्तै तिर राखेर। यता बैठक कोठाको गलैंचामा भने ‘चाह’ को अर्को एउटा ‘आरती’ चलिरहेकै थियो अबिरल, जहाँ व्यापारी आफ्नै पसिना र र्‍यालले पैसाको मूर्तिलाई भोग चढाउँदै थियो। उसलाई नोटमा ‘श्री’ लेखेको हुन्छ भन्ने पनि पत्तो थिएन, श्रद्धा पनि थिएन, ‘श्री’ लाई खोजेर पनि ढोग्दैनथ्यो। एउटै घरभित्र, एउटै समयमा अनौठो त्रिकोण बनिरहेको थियो। ति बाँकि निर्दोष जीवको निष्पाप ‘चाह’ श्रीमतीको श्रीमान कबुल्याउने ‘चाह’ र ब्यापारी श्रीमानको कहिले नअघाउने र थुपारिनैरहने तृष्णारुपी ‘चाह’ यी तीनै रेखाहरू मिलेर जीवनको त्यो अनौठो ‘ चाह’ को ‘त्रिकोण’ पूरा गरिरहेका थिए, जहाँ पैसा केवल कागज थियो नचिन्ने निर्दोषलाई र चिन्नेलाई भने त्यसकै ‘चाह’ को दास।

तर उता भने सिँधुलीगढी गेट छिरे देखि नै ‘चाह’ का कुनै दृश्य र गन्ध भेटिँदैन थिए, बतासले अबिरल ‘प्रवाह’को सुगन्ध मात्रै बोकेको भान हुन्थ्यो। पृथ्वी, “मैले मात्र होइन सबैले आर्जेको हो यो छत्तीस जातको फूलबारी अट्ने बगैंचा” भनेर एकताको औंला मूनि वेपर्वाह अनवरत ‘प्रवाह’ मा उभिइरहेका देखिन्थे। बिस्तारै उँभो लागेर रक्तमाला मन्दिर पुगेपछि उँधो च्याहुँदा त झनै देखिन्थ्यो केबल ‘प्रवाह’। त्यहाँ न त धन, सम्पत्ति, पैसा पाउने ‘चाह’ देखिन्थ्यो न त थुपार्ने ‘चाह’, मात्र ‘प्रवाह’, बस् उहि ‘प्रवाह’। देशको अर्थतन्त्र चलायमान गराउने सोचको ‘प्रवाह’ सँगै सबैको सहअस्तित्व सोच्ने प्रवाहित हृदय अनि त्यहि ‘प्रवाह’ मा फुलिरहेका फूलहरू …।

आँफुसँगै

(बाहिर भदौरे झरि गुनगुनाउँदै छ, घरिघरि बतासले झ्यालका कापबाट पानीका छिटासहित गमलामा झुमिरहेका ल्याभेण्डरको सुगन्ध पनि छिराइ दिन्छ, सिरानी सिमली कपासको चेप्टै छ, ओछ्यान सम्मै छ तर बिझाए झैं ओल्टो कोल्टो फेरिरहन्छ। आँफु सँगै गनगनाइरहन्छ ।)

“छि! कस्तो छटपटिएको !”

“किन र, के भयो र?”

“थाहा छैन र भनेको? आँखा चिम्लेर निदाउने अभिनय गर्दैमा मन निदाउँछ र? यो मध्यरातको सन्नाटामा तिम्रो ढुकढुकी कति जोडले बजिरहेको छ, सुन्न सक्छौ?”

“उफ! अलि बिस्तारै भन न। दिनभरिको दौडधुपले शरीर लखतरान छ। भोलि फेरि उही बजारमा आफूलाई बेच्नु छ, थोरै त आराम गर्न देऊ।”

“बजार त भोलि पनि खुल्छ, तिमी हिजो पनि त बिकेकै थियौ। म त केवल तिमीले सिरानीमुनि लुकाएर राखेको त्यो पुरानो खुसीको पाना ‘चोरेको लिपगार्ड’ बाट पल्टाउन खोज्दैछु। कति दिन भयो, तिमीले आफूलाई नभेटेको?”

“समय कहाँ छ र आफूलाई भेट्न? समय त अरूका अपेक्षाहरू पूरा गर्दागर्दै सकिन्छ। म त बस्, एउटा जिउँदो मेसिन त हुँ नि।”

“हो, तिमी मेसिन हौ तर कस्तो मेसिन, जसको बाहिर महँगो पालिस छ तर भित्र एउटा सानो पुर्जा खिया लागेर रोइरहेको छ। तिमी बाहिर मुस्कुराउँदा, भित्र कतै ऐना फुटिरहेको आभास मलाई मात्र हुन्छ।”

“के गरूँ त म? यो संसारको नियम नै यस्तै छ। बलियो नभई सुखै छैन।”

“बलियो हुनु र कठोर हुनुमा फरक छ नि साथी! तिमी ढुङ्गा बन्दैछौ, जसमा पानी पर्दा पनि रुझ्न त रुझ्छ तर पग्लिन सक्दैन। म तिम्रो त्यही पग्लिने चौतारी हुँ। तिमी बाहिर जतिसुकै हारेर वा जितेर आऊ, यहाँ भित्र आएपछि तिमी केवल ‘तिमी’ हौ, कुनै मुखौटा लगाउनु पर्दैन।”

“म थाकेको छु… साँच्चै धेरै थाकेको छु।”

“मलाई थाहा छ। त्यसैले त भन्दैछु, आजको रात यो संसारका सबै भारीहरू कोठाबाहिरै छोडिदेऊ। न त भोलिको चिन्ता गर, न त हिजोको थकथकी। आऊ, यो अँध्यारोमै सँगै बसेर थोरै आँसु बगाऊँ, मन हल्का हुनेछ। आऊ, कार्लजङ्ग सँग सोधौंला, आँफैलाई स्पर्ष गरौंला”

“तिमी सधैं मलाई मेरै ऐना देखाइदिन्छौ, जहाँ म आफूलाई ढाँट्न सक्दिनँ।”

“किनभने म तिम्रो त्यो हिस्सा हुँ, जसलाई तिमीले कहिल्यै त्याग्न सक्दैनौ। ल, अब लामो सासो फेर र आनन्दले आँखा चिम्ल अनि एक सर्को रुमीको कविता स्वाँट्ट तान, अनुपमको बर्को भित्र गुटुमुटिएर घुप्लुक्क सुत। भोलिको घाम लाग्दा, तिमी अलि बढी जीवित महसुस गर्नेछौ।”

“धन्यवाद, मलाई म नै सम्झाइदिएकोमा। गुडनाइट!”

“गुडनाइट! म यहीँ छु, तिम्रो आफ्नै गहिराइमा।”

(बल्ल आफैँसँग नजिकियो, स्वास प्रस्वासको आवाज सुनिन थाल्यो, मानसिक नामजप अजपा जाप बन्न थाल्यो, आँफुसँगै निदायो।)

छुइरहँदा

बिहानीको ओसिलो मौनतालाई चिर्दै जब घामको कलिलो किरण अग्ला बारहरुलाई अटेर गर्दै मेरो सानो बगैंचाको सँघारभित्र सुटुक्क छिर्छ, तब लाग्छ समय कतै अलमलिएको छ, सायद निदाइरहेछ बाक्लो ओड्ने ओडेर। त्यो प्रकाशको मधुर स्पर्श यति कोमल र चामत्कारी हुन्छ कि त्यसले कर्कलाको पातमा मोतीजस्तै लजाएर बसेका शीतका ससाना थोपाहरूलाई मात्र ब्युँझाउँदैन, बरु मेरोभित्र गुम्सिएर बसेको कौतुहलतालाई समेत बिस्तारै पगाल्न थाल्छ। त्यो एउटा यस्तो अदृश्य न्यानो अँगालो बनिदिन्छ, जसले सिङ्गो प्रकृतिका यी मसिना अंशहरू ती हरिया पात, ती चम्किला शीतका थोपा र मेरो आफ्नै अस्तित्व सबैलाई आफ्नो सुनौलो पछेउरीको एउटै कुनामा अत्यन्तै मायालु ढङ्गले गुट्मुट्याएर राखिदिन्छ। पातको सतहमा टल्किरहेका ती पानीका थोपाहरूमा सिङ्गो आकाश र बिहानीको घाम प्रतिविम्बित भइरहेको देखिन्छ, मानौँ एउटा सानो थोपाभित्रै पूरै ब्रह्माण्ड अटाएको छ। फलामे बारहरू र बिरुवाका कापबाट छिरेर आएको त्यो सुनौलो कान्तिले जब मेरो यो सानो परिधिलाई छुइरहन्छ, तब बाहिरको विशाल र कोलाहलपूर्ण संसार कतै टाढा हराएर जान्छ। बाँकी रहन्छ त केवल एउटा मिहिन आन्तरिक ब्युँझाइ, जहाँ हरेक श्वासले प्रकृति र जीवन सम्बन्धको एउटा नयाँ र गहिरो कथा “नामजप” को लयबद्धतामा बुनिरहेको हुन्छ।

भूपीका कवितासँग

समयको एउटा अव्यक्त नदी बगिरहेछ, जसमा म पनि अछुतो रहन कसरी सक्थेँ र। आज रक्षा बन्दन र जनै पूर्णिमाको पर्व कहलिएको बिहान एउटा नौलो तरंग बनेर मिसियो। आँखा खुल्नुअघि नै, कोठाको ओसिलो र शान्त हावालाई चिर्दै श्रीमती ज्यूको त्यो परिचित, ऊर्जावान् र उत्साहले भरिएको आवाज गुन्जियो, “ल केटाकेटी हो चाँडै उठ, नुहाइधुवाइ गर, मामाघर जानुपर्छ!” चाडबाडको यो एउटा यस्तो शाश्वत लय हो, जसमा कतै विद्रोह गर्ने ठाउँ हुँदैन। तुरुन्तै मतिर एउटा आदरयुक्त तर मधुरो कडापन मिसिएको स्वर सोझियो, “हजुर पनि उठिस्यो चाँडै, नुहाइधुवाइ गरेर चाँडै जानुपर्छ आमाकाँ!” शब्दहरूमा ‘हजुर’ को आवरण थियो तर भित्री मर्म एउटा अटल साम्राज्यको अकाट्य आदेश जस्तै थियो। म ओछ्यानमै पल्टिएर, अलिकति अलमलिँदै टोलाएँ। मेरो नजर ढोका छेउको पुस्तकको र्याकमा पुगेर अडियो, जहाँ धुलोका केही कणहरूलाई छातीमा लुकाएर एउटा किताब मुस्कुराइरहेको थियो “भूपी शेरचनका कविता”। यो केवल एउटा किताब मात्र थिएन, मेरी छोरीको स्कुलको एउटा सुन्दर स्मृति पनि थियो, जुन उनले केही वर्ष पहिले स्कुलको कविता वाचन प्रतियोगितामा प्रथम भएर पुरस्कार स्वरूप घर भित्र्याएकी थिई। त्यतिबेला मैले यसका पानाहरू सरसर्ती मात्र पल्टाएको थिएँ तर आज मेरो मनको भित्री कुनामा एउटा मिहिन रहर पलाएको थियो। मेरा एक मित्र छन् जो भूपीका देशप्रेम रुपी तीक्ष्ण र भावुक शब्दहरूलाई हृदयदेखि पूजा गर्छन् , तीनलाई मैले यो पुस्तक उपहार दिने सङ्कल्प गरेको थिएँ। उनको हातमा सुम्पनु अघि, आजको यो पावन दिनभरि घरकै एउटा एकान्त कुनामा बसेर, यसका हरफहरूमा आफ्ना भावनाहरू मिसाउँदै, शब्दहरूको त्यो गहिराइ चुम्ने मेरो एउटा सानो रङ्गीन सपना थियो तर गृहस्थीको नियम र श्रीमतीको त्यो अदृश्य प्रेमिल आदेशको अगाडि मेरो त्यो काव्यात्मक रहरको साम्राज्य गल्यो। ससुराल जानै पर्ने थियो, जनै फेर्नै पर्ने भयो। हुन त जनै फेर्ने सुत्र र विधि म घरकै आँगनमा आफैं पनि निभाउन सक्थेँ तर यहाँ प्रश्न केवल कपासको त्यो पवित्र धागो फेर्नुको मात्र कहाँ थियो र? त्योभन्दा कयौँ गुणा बढी अनिवार्य त श्रीमती ज्यूको त्यो ‘हजुर’ भन्दै सम्मानित शैलीमा व्यक्त भएको अकाट्य इच्छाको पालना गर्नु थियो। आखिर, दाम्पत्यको सुन्दरता नै यही त हो जहाँ इच्छाको आत्मसमर्पणमै एउटा बेग्लै खुशी लुकेको हुन्छ जसले परिवारमा कलह नल्याओस् पनि सोच्नै पर्ने। मैले हस्याङफस्याङ गर्दै आफ्ना सपनाहरूलाई झोलामा लुकाएँ र तयार भएर ससुरालतर्फ पाइला बढाएँ। तर मेरो साहित्यिक मन त्यहीँ उतै छुटेको आभास भइरह्यो। ससुराल पुगेपछि चाडबाडको त्यो परम्परागत कोलाहल सुरु भयो। बैठक कोठामा मानिसहरूको भीड थियो। अचम्मको कुरा, त्यहाँ कोही कसैको कुरा सुनिरहेका थिएनन्; सबैजना आ-आफ्नै धुनमा, आ-आफ्नै कुराहरू अरुका बोलिमा , कुराहरूमा ओभरल्याप गर्दै शब्दहरूको एउटा अव्यवस्थित सङ्गीत सिर्जना गरिरहेका थिए। त्यो भीड र एकापसमा नजोडिने संवादहरूको चक्रव्यूहमा जबरजस्ती आफूलाई होम्नुभन्दा मलाई आफ्नै आन्तरिक संसारको शून्यतामा फर्किनु बढी न्यायसङ्गत लाग्यो। औपचारिकताका केही पाटाहरू हतार-हतार सकिएपछि, म सुटुक्क त्यो भीडबाट उम्किएँ र अलिपरको एउटा सुनसान, हरियो चौरतिर निस्किएँ।दूबोको ओसिलो चकटीमा थचक्क बसेर आजको रक्षा बन्दनलाई पनि सम्झिएँ अनि अस्तिको दिन एका बिहानै भोट तिरबाट उर्लेर उत्पात मच्चाएको भोटेकोशीलाई सम्झँदै र एउटा सानो थुम्कोमा कसोकसो बाँच्न सफल भएका साना दिदी भाइका बाल्यभावको चर्चा गर्दै सानो कथा बनाएर लेख लेख्न मन लाग्यो। जसोतसो लेखेर ‘दियालो मासिक ‘ मा पोष्ट गर्न सोमा सहयोग गर्ने साथीलाई पठाएँ। उनले पनि हेरेर, सायद पब्लिस गर्न योग्य देखेछन् क्यारै, एकछिन मै पोष्ट गरिदिहाले।

अब मेरो आजको मुख्य प्यास मेटाउने ध्ययले झोलाबाट भूपीको कविताको पुस्तक निकालेँ। पानाहरू पल्टाउँदै जाँदा मेरो आत्मा पानाहरूमा कोरिएका काला अक्षरहरूसँग एकाकार हुन थाल्यो। जब मेरा आँखाहरू ‘कवि हुनु’ शीर्षकको कवितामा पुगेर टक्क अडिए, तब मेरो छातीभित्र एउटा गहिरो भावुकताको पहिरो गयो। भूपीले कति निश्छल र दार्शनिक ढङ्गले जीवनको सत्य ओकल्दै लेखेका रहेछन्: “कवि हुनु, व्यक्तिबाट समष्टिमा समर्पित हुनु हो । कवि हुनु, केही नहुनु हो, फगत कवि हुनु हो।” यी पंक्तिहरू मानसपटलमा ठोकिँदा म स्तब्ध भएँ। कवि हुनु त वास्तवमा आफ्नो ‘म’ भन्ने अहङ्कारलाई तिलाञ्जली दिएर सिङ्गो ब्रह्माण्डको पीडा र संवेदनालाई आफ्नै मुटुको ढुकढुकी बनाउनु पो रहेछ! कवि हुनु भनेको संसारका नजरमा केही नहुनु जस्तै रित्तो देखिनु हो, तर भित्रभित्रै फगत एउटा शुद्ध भावनाको सागर बन्नु हो। भूपीका यी दार्शनिक शब्दहरूले मलाई देशप्रेमको अर्को गहिरो गल्छीमा पुर्याए। ‘खबरदार नेपाल नआ’ जस्ता कविताहरूमा देशको माटोप्रतिको उनको अकाट्य आशक्ति र विकृतिहरू माथिको कडा प्रहार प्रस्टै देखिन्थ्यो। त्यसैगरी निराशाका अँध्यारालाई चिर्दै सकारात्मक सम्भावनाका आड भरोसा दिएर ‘सुनौला भोलि ‘ कविताले आशाका दियो बाल्छन्। पानाहरू पल्टाउँदै जाँदा पुस्तकको अन्त्यतिर रहेको ‘वीरेन्द्र जिन्दाबाद’ शीर्षकको गीतमा मेरा आँखाहरू पग्लिए। तत्कालीन राजा वीरेन्द्र प्रतिको उनको त्यो अनन्य श्रद्धा, आदर र निष्ठा केवल एक शासक प्रतिको भक्ति मात्र थिएन, त्यो त यो देशको माटो, शान्ति र स्थिरताप्रतिको एउटा पवित्र प्रार्थना जस्तो लाग्थ्यो। शब्दहरूको त्यो गहिरो भावसागरमा डुब्दै गर्दा मैले बिस्तारै पुस्तकबाट नजर उठाएर अलि पर चौरको एउटा कुनामा हेरेँ। झरीले भिजेको, अलिअलि हिलाम्मे भएको चौरको त्यो कुनामा दुईजना साना बालिकाहरू समय र कपडाको कुनै हेक्का नराखी, माटो र हिलोको संसारमा पूर्ण रूपमा मग्न भएर खेलिरहेका थिए। तिनीहरूको अनुहारको त्यो निश्छल हाँसोमा कुनै कृत्रिमता थिएन। अलि पर, चौरकै अर्को शान्त कुनामा एक जोडी जवान केटाकेटी बसेका थिए। तिनीहरू संसारका सारा कोलाहल र पीरहरूलाई एकातिर पन्छाएर, साउती मार्दै, युवालयको त्यो मदहोसीमा खित्का छोडेर हाँसिरहेका थिए। त्यो दृश्य देख्दा मेरो मनमा एउटा गहिरो दार्शनिक चेत जागृत भयो। एकातिर म र भूपीका कालजयी कविताका पानाहरूभित्र हराएर समयको अस्तित्व भुल्दै थियौं, अर्कोतिर ती बालिकाहरू आफ्नो बाल्यकालको उन्मुक्त खेलमा र त्यो युवा जोडी आफ्नो प्रेमिल संसारमा बगिरहेका थिए। लाग्थ्यो, हामी तीनै समूहका लागि आज ‘समय’ भन्ने कुनै घडी वा बन्धनको अस्तित्व नै बाँकी थिएन। हामी सबैले आ-आफ्नो ढङ्गमा समयको सीमालाई जितेर एउटा अनन्तताको यात्रा गरिरहेका थियौँ। भूपीका ती शाश्वत कविताका पंक्तिहरू, चौरको त्यो जीवित परिवेश र मेरो मनको यो भावुकता मिलेर आजको दिन झिमिक्क साँझ परेर हरिया घाँस कालिँदासम्म पनि मोबाइलको लाइट बालेरै पढिकन पनि नभ्याएर,  नअघाएर घर आएर रातीसम्म लाएर, आँखा मिच्दै, औषधि हाल्दै पनि जम्मै पढि भ्याएँ । आज पनि फेरि उहाँले भन्ने गर्नु भएको याद गर्दै म्याक्सिमम् एफोर्ट लाएर होस पुर्वक समर्पित हुने अभ्यासको कोसिस गरेँ।

रक्षा बन्दन

….. त्यो अलि पातला कलिला नाडी जहाँ रगतका मसिना नीलिकाहरू छालाको पातलो पत्रमुनि लुकेर मधुरो गरी धड्किरहेका छन्, ठ्याक्कै त्यहीँ एउटा पुरानो सम्बन्धको मौनता पग्लिरहेको छ। बाहिर भदौको सिमसिमे पानी परेर आकाश धुम्मिएको बेला भरे पुर्णाकार चन्द्र टल्किने पर्खाइमा बिहानै एउटा घरको लिस्नु छेउ बसेर भर्खरै पुरोहितले मन्त्रेर हातमा बाँधिदिएको त्यो रातो र पहेँलो धागोलाई हेर्दा लाग्छ, यो फगत कपडाको त्यान्द्रो मात्र कहाँ हो र! यसलाई मान्छेहरू रक्षाबन्धन भन्छन्, कोही डोरो भन्छन् तर यो त इतिहास र मानव मनको निकै मिहिन र घुमाउरो बन्धन हो। मनलाई धेरै ठूलो संसारतिर डुलाउनु नै छैन, बस यही कोठाको एउटा सानो काठे झ्याल, बाहिर देखिने तुलसीको मोठ र नाडीको साघुरो परिधिभित्र मात्रै रुमल्लिँदा पनि यो डोरोले हजारौँ वर्ष पुरानो कथाको गन्ध बोकेर आएको महसुस हुन्छ। धेरै पहिले जब देवता र दानवहरूको युद्धमा देवराज इन्द्र पराजित हुन लागेका थिए, तब उनकी पत्नी शचीले तपस्याको बलले मन्त्रिएको एउटा धागो इन्द्रको दायाँ नाडीमा बाँधिदिएकी थिइन्, जसले उनलाई पराजयबाट बचायो र युद्ध जितायो। इतिहासको यो घुम्ती यतिमा मात्र रोकिँदैन, जब पातालका राजा बलिका अगाडि भगवान् विष्णु स्वयं द्वारपाल बनेर बस्नुपर्‍यो, तब लक्ष्मीले साधारण महिलाको रूप धारण गरी बलिको नाडीमा यही डोरो बाँधेर दाजुको नाता गाँसिन् र उपहारस्वरूप आफ्ना पतिलाई फिर्ता मागिन्। मृत्युका देवता यमराजलाई समेत उनकी बहिनी यमुनाले यसैगरी डोरो बाँधेर स्नेहको बन्धनमा बाँधेकी थिइन्। 

यी सबै पौराणिक किंवदन्तीहरू आज यो गोबरले लिपेको भुइँको सामान्य सुकुलमा आएर एउटा पातलो दायाँ नाडीमा अडिएका छन्। दाहिने हात आफैँमा कर्म र शक्तिको प्रतीक हो र जब कसैले त्यो नाडीमा धागोको गाँठो पार्छ, उसले आफ्नो सम्पूर्ण विश्वास र रक्षाको भार अर्काको धड्कनसँग जोडिदिन्छ। पुरोहितले “येन बद्धो बली राजा…” भन्दै राजा बलिलाई बाँधेको मन्त्र उच्चारण गरिरहँदा र दिदीले आफ्ना चिसोले कक्रिएका औँलाहरूले भाइको नाडीमा गाँठो पार्दा, त्यो गाँठोले स्वतन्त्रता खोस्दैन, बरु यो भिडभाडयुक्त संसारमा “म एक्लो छैन” भन्ने एउटा सानो ओत दिन्छ। बाहिर पानी दर्किँदै जाँदा अस्ति उता भोटेकोशी उत्ताउलिएको सम्झेर यता लुरेको पनि नाडीको धागो भिज्छ र भिज्दा धागो अझ कसिन्छ, जसरी जीवनको अभाव र कठिनाइले सम्बन्धहरूलाई अझ मजबुत बनाउँछ। अनि लुरेले मुना सँग निधाउरो अनुहारले सोध्छ,”दिदी! मैले जस्तै उ पर हिलाम्मे देखिएका तिर्शिुली बगरका हरुले पनि यो डोरो लाउन भ्याका भए है?” यो वाक्यले मुनाको एकाएक नयन रसाउँछ, उ डोरो बान्दा बान्दै रोक्किन्छे र बाउलाले पुछ्दै, भर्खरै झरेका कान छेउका केश उतै सिहुरिन्छे र भन्छे, “हिजो साँझ उनीहरूको आत्म शान्ति को लागि हामीले बत्ति बालेको थियौं नि, हो तेसैले तीनका आत्मा रक्षा गरेर स्वर्ग लान्छ नि तिनलाई”। यो कुनै ठूलो महलको तडकभडक सम्वाद थिएन जसले आफन्तहरु को को परे परेनन् भन्दै नामलिष्ट च्याउनेहरु मात्र जस्ताको, बरु थियो एउटा सानो क्षेत्रमा सिमित रहेर दुईवटा आत्माले एउटै डोरोको त्यान्द्रो समातेर आँफु र साराको कल्याण सोच्ने धुन्चेको एउटा जोगिएको सानो थुम्को को कथा, एउटा सरल, भुइँस्तरको तर निकै गहिरो र आत्मिक मानवीय सत्यको कथा।