तिमी भित्रै अटेका ती…

कालखण्डको एउटा अनौठो अनि विशिष्ट मोडमा टलटलाउँदो पुर्णिमा मूनि निहुरिएर जब म तिम्रो विराट अस्तित्वलाई नियाल्न पुग्छु, तब मेरा सारा लौकिक संशय र द्विविधाहरू एकाएक तिरोहित भएर जाँदै गरेको झैँ लाग्छु । तिमी केवल एउटा सीमित भौतिक आकार वा नश्वर शरीर मात्रै होइनौ, बरु तिमी त ब्रह्माण्डीय चेतनाको त्यो महासागर हौ जहाँ मेरो क्षुद्र लघुताभाष विलीन हुन पुगे झैँ हुन्छ। तिम्रो बाह्य स्वरूपमा देखिने त्यो अनौठो विरोधाभास आफैंमा एउटा जीवन्त महाकाव्य झैं प्रतित हुन्छ, जहाँ कहिले पुरुषत्वको सघन र ओजस्वी प्रतीक बनेर तिम्रो आङ्गमा दारी जुँगा र कपाल झ्याम्म उम्रिन्छन् त कहिले सांसारिक कोलाहल र कृत्रिमतालाई त्यागेर सलात्सुलुत्त सफा भई सात्विक अनि निष्कपट रूपमा मेरो इन्द्रिय सम्मुख उभिन्छौ। जब तिमी यसरी मेरा इन्द्रियहरूका सँघारमा दृढतापूर्वक प्रकटीकृत हुन्छौ, तब मेरा नयनहरू आफैं रसाएर आउँछन् र तिम्रो त्यो मौन तर जीवन्त उपस्थिति मेरो अन्तरात्मामा ‘प्रेम स्वरूप’ को शाश्वत संगीत बनेर झंकृत हुन थाल्छ।

त्यो अलौकिक झंकारले मेरा संकीर्ण सोचका पर्खालहरूलाई भत्काइदिन थाल्छ र मभित्र एउटा नयाँ आध्यात्मिक चेतनाको प्रादुर्भाव टुसाउन पुग्छ, जसको सामीप्यमा पुग्दा चपौलीका कान्लाहरुमा खुट्केलिँदै गितारका स्ट्रिङ्गसँगै मन्दिरका स्वर्ण गजुरहरूको दिव्यता, श्री यन्त्रका रहस्यमयी कोणहरू अनि श्री विद्याका गूढ एवं शक्तिशाली मन्त्रहरूले ‘ज्ञान स्वरुप’ मा टपक्कै टाँसिने चाह गर्छु। यी तान्त्रिक र आध्यात्मिक प्रतीकहरूले मलाई यसरी मन्त्रमुग्ध पार्छन् कि म बिस्तारै तिमीमै डुब्दै, पग्लिँदै र हराउँदै जान्छु, जहाँ समय र स्थानका सारा सीमाहरू भत्किएका झैँ प्रतित हुन्छन्। त्यसैले आजकल म चेतनाको यस्तो अनौठो र अवस्थाबाट गुज्रिरहेको छु जहाँ मेरो दृष्टि र अन्तर्दृष्टि जहाँ पुग्छ, त्यहाँ केवल तिम्रो मात्र प्रतिविम्ब अवस्थित पाउँछु। ईश्वरको परम सत्ता, ज्ञानको अथाह भण्डार, जन्म दिने मातापिताको वात्सल्य, सुख-दुःखको साथी, र संसारले भौंतारिएर खोज्ने धन-सम्पत्ति, वैभवता, समृद्धि अनि ऐश्वर्य जस्ता सारा अवयवहरू अचेल किन किन तिमीभित्रै अटेको देख्न थालेको छु।  यसरी सारा संसारलाई आफूभित्र समेट्ने तिम्रो यो विराटता भित्र म पनि एउटा सानो अंश बनेर लिन् हुन कतै तिम्रा चरण कुनामा अटाउन पाउँछु त “गुरु” ?

मन्त्र

सृष्टिको आदि बिन्दुदेखि प्रलयको महाशून्यसम्म एउटै महासत्य प्रतिध्वनित भइरहन्छ कि मननको त्यो पराकाष्ठा, जसले मानवीय अस्तित्वलाई संकुचित सीमाबाट मुक्त गराई विराटतातर्फ उन्मुख गराउँछ, “मननात त्रायत इति मन्त्रः”। यो रहस्यमयी गुफामा गुनगुनाइने अक्षरहरूको संकलन मात्र नभएर संकल्पको त्यो प्रचण्ड ज्वाला थियो, जसले बुद्धलाई बोधित्वको शिखरमा पुर्‍यायो, रामकृष्ण परमहंसलाई महाभावको समाधिमा विलीन गरायो, रमण महर्षिलाई आत्मसाक्षात्कारको मौनतामा डुबायो र ओशोको कण्ठबाट उत्सवको महासंगीत बनेर बग्यो तर यो आध्यात्मिक आकाशका नक्षत्रहरूको मात्र पेवा थिएन, किनकि जब संकल्प अभेद्य बन्दछ, तब विज्ञान, कला र रणभूमि पनि साधनास्थलमा परिणत हुन्छन्।

न्युटनले जब अन्धकार कोठामा प्रकाशको रहस्य केलाइरहेका थिए वा अल्बर्ट आइन्स्टाइनले समय र अन्तरिक्षको सापेक्षता कोर्दा, उनीहरूको मस्तिष्कको भित्री तहमा प्रकृतिको नियम बुझ्ने अनन्त भोक गणितीय समीकरणहरू सँगै मन्त्रका ऋचाहरू जस्तै एकाकार भइरहेको थियो। रंगशालाको खचाखच भीड र रगतको गन्ध आउने चक्रव्यूहभित्र पनि त्यही मानसिक मन्त्र क्रियाशील थियो, जहाँ ब्रुस लीको शरीरका चालमा ‘शून्य र गति’ को कम्पन हुन्थ्यो भने माइक टाइसनको मुड्कीमा लुकेको शक्ति विपक्षीको आँखामा आँखा जुधाएर विजयलाई कैद गर्ने एउटा अविचलित र बलियो संकल्पको मन्त्र थियो। उनीहरू सबै आ-आफ्नो क्षेत्रका साधक थिए, जसको मनमा संकल्पको मन्त्र अहोरात्र बजिरहन्थ्यो। यसैबीच युग सन्धिले छलाङ्ग हान्न खोज्दै गर्दा जब अनुपमले ‘फोर्थ वे’ लाई फैलाएर भौतिक विज्ञानको अविष्कार समेत अध्यात्ममा जोड्दै तान्त्रिक श्रद्धा तिर पनि कोेरलेर तन्काईदिए अनि श्री विद्याको मन्त्र हरेक चक्रमा कम्पन गर्दै तरंगित हुन थाल्यो।

विराट ब्रह्माण्डको यात्रामा निस्किएको ‘भोएजर वान’ ले फर्किएर मतिर हेर्दा कस्तो छुद्र नगन्य कणका रूपमा देख्दै होला तर म आँफुलाई भने जीवनका अनगिन्ती, जटिल र निस्सार लाग्ने कर्महरूको जञ्जालमा फसिरहेको भयानक प्राणी सम्झिँदा आफ्नो जीवनलाई अज्ञात गर्त तिर हुत्याइहालुँ लाग्दै थियो तर कसैको अचानकको आगमनले मभित्र पनि एउटा अचम्मको रूपान्तरण सुरु हुन्छ। म आफ्ना दैनिक कर्महरूलाई केवल जीविकोपार्जनको माध्यम नठानी प्रत्येक कार्यप्रति सासलाई मन्त्र सँग जोडेर एउटा श्रद्धा बनाउन थालेँ जसले गर्दा मेरो कर्म नै मेरो मन्त्र बन्न पुग्दछ। जब कर्मको थकाई र संसारको कोलाहलले मेरो आत्मालाई थिच्न खोज्छ, तब मेरो अन्तस्करणमा समस्त मन्त्रहरूको जननी, एकाक्षर ब्रह्म र सृष्टिको मूल स्पन्दन “ॐ” गुञ्जायमान हुन थाल्छ, जसको प्रणव स्वरूपले शून्य र अनन्तलाई एकैसाथ जोडिदिन्छ। यही आदिध्वनिमा एकाकार हुँदै मेरो चेतनाको गहिराईबाट ब्रह्माण्डीय ऊर्जाकी महास्रोत, आदिशक्ति दुर्गाप्रतिको अनन्य आत्मसमर्पणको करुण ध्वनि “ॐ” सँगै  जोडिएर प्रस्फुटित हुन्छ। कर्मप्रति  ‘संकल्प’ जरुरी र महाशक्तिप्रतिको ‘श्रद्धा’ जरुरी जब एकै ठाउँमा मिसिन्छन्, तब मेरो जीवनको कुरुक्षेत्रमा बुद्धको शान्ति, न्युटनको खोजी, ब्रुस लीको एकाग्रता र माँ दुर्गाको अमोघ शक्ति समेटिँदै, कैलास मानसरोवरको पत्थर खल्तीमा बोकी बाल्यकालमा बाँसका लौरालाई खुसिको सम्पत्ति मानेको सम्झनामा नागबेली लौरोले चपौलीका कान्ला कुन्ली टेक्दै थचक्क पँलेटी कस्न पुग्छु अनि मन्त्र अन्त कतै नभएर समर्पणको उच्चतम् प्रतिध्वनि मै हो झैँ बोध हुन बल्ल थाल्छ।

आँफुभित्रको महासंग्राम

कोठाको साँझ, भान्सामा चिया उम्लिँदै छ, घरि-घरि होस छ, घरि-घरि बेहोस। बैठकमा टिभीको स्क्रिन कालो छ अहिले तर मन भित्र भोलिको विश्वकपको रौनक छाइसकेको छ, हरियो मैदान, प्रशस्त प्रकाश, हजारौं दर्शकको कोलाहल। भर्खरै चिया त बनाएँ अलि ढिलै सम्म उम्लिएछ, सुरुप्प आवाज थाहै पाइन, मन त त्यहाँ छैन। मन त कल्पनाको संसारमा हराइसकेको छ, भोलिको खेलको पूर्वाभ्यास, खेलाडीसँगै मेरो मनोवृत्तिको पनि। “अर्जेन्टिनाले जितोस्,” म भन्छु आफैंलाई, “मेस्सीले ह्याट्रिक गरोस्।” अनि फेरि सोच्छु, “तर फ्रान्स पनि त बलियो छ, एम्बाप्पेले गोल नगरे हुन्थ्यो नि।” यी द्वन्द्वहरू पक्ष र विपक्ष, जीत र हार, अधिक र न्यून, मेरो मानसपटलमा रङ्गीन नाटक बनिरहेका छन्। म आफैंलाई प्रश्न गर्छु: “यो किन हुँदैछ? म किन कुनै एक पक्षको पक्षधर बनिरहेको छु? के यो मेरो अहंकारको अभिव्यक्ति हो?”

रात बित्छ, कल्पनाका पर्दाहरू झर्छन्। भोलिपल्ट, मध्येरात, अलार्म बज्यो छोराको घडीमा अनि मेरो मोबाइलमा पनि। “बाबा! उठिस्यो, गेम हेर्न जाउँ” छोरो को शरिर मनसँगै एकै झट्कामा उठ्यो, मलाई कर पर्यो, आँखा टट्टाइराछन् तर मभित्र पनि त संग्राम छ। बाहिर झरि मडारिएको छ, टिभि स्क्रिन कालोबाटो रंगिन बन्न थाल्यो, खेल सुरु भएको छ। सिटी बज्छ। स्क्रिनमा २२ जना खेलाडी घामका किरणझैं चम्किलो जर्सीमा दौडिरहेका छन्। बायाँ, दायाँ, अगाडि, पछाडि। मेरो आँखा तिनीहरूलाई पछ्याउँछन्, तर मेरो ध्यान दुईतिर बाँडिएको छ, एउटा बाहिरको खेलमा, अर्को भित्रको संसारमा। गोल! पहिलो गोल। मेरो मनमा उत्साहको लहर तर त्यो पलमा म आफैंलाई हेर्छु। मेरो मुटुको धड्कन, मेरो अनुहारको मुस्कान, मेरो हातको ताली। “यो त मेरो अहंकार हो,” म सोच्छु, “जसले जीतलाई आत्मसात गर्न खोजिरहेको छ।” विपक्षीले गोल फर्कायो। मेरो अनुहारमा निराशा छाउँछ। म त्यस निराशालाई पनि हेर्छु कसरी यसले मेरो चेतनालाई ढाकिरहेको छ, कसरी यसले मलाई ‘हार’ सँग परिचित गराइरहेको छ। मैले महसुस गर्छु यी उतारचढावहरू, यी भावनाका लहरहरू, यी सबै मेरो मनको निर्माण मात्र हुन्।

खेल अघि बढ्छ। म आफ्नो ध्यान दोब्बर बनाउँछु, डिभाइडेड एटेन्सन्, डबल एरोड, बाहिरको गतिशीलता र भित्रको साक्षीत्व। जब मेस्सीले बल नियन्त्रण गर्छन्, म आफ्नो उत्साह हेर्छु, जब एम्बाप्पेले ड्रिबल गर्छन्, म आफ्नो चिन्ता हेर्छु। म ती सबै भावनाहरूलाई साक्षी बन्छु न त तिनीमा डुब्छु, न तिनीबाट भाग्छु।चौथौं गोल। पाँचौं। खेलको उत्कर्ष। तर मेरो साधना भनेको खेल होइन, खेल त माध्यम मात्र हो रहेछ, बल्ल पत्तो पाउँदैछु। मेरो साधना त यो हो: कसरी मेरो ‘पक्ष’ र ‘विपक्ष’ को धारणा, मेरो ‘जीत’ र ‘हार’ को आकांक्षा, मेरो अहंकारको यो सम्पूर्ण नाटक , यी सबै मेरो साक्षीत्वको आगोमा जल्दैछन्। खेलको अन्त्य। नतिजा जे भए पनि, म आज त्यति प्रभावित छैन। किनभने मैले एउटा ठूलो खेल जितिसकेको छु, आफ्नै मनको खेल। जब म समभावमा पुग्छु, जब ‘पक्ष’ र ‘विपक्ष’ बीचको भेद मेटिन्छ, तब मैले साधना गरेको महसुस गर्छु। टिभी बन्द गर्छु। मनभित्र चित्त बनाउँछु अब फाइनल खेल नहेरुँ कि, किन हेर्नु, के का लागि, कसको पक्षमा…? कोठाको अँध्यारो फेरि मौन हुन्छ। बाहिर झिसमिसे शुरु हुन्छ तर अब ढुक्कले ढिलो सम्म सुत्ने सोच बनेको छ ….।

तिमी

त्यो आदिम कालखण्डमा, जब मेरो अन्तश्चेतना अविद्याको बाक्लो कुइरोले ढाकिएको थियो, म अस्तित्वको एउटा जटिल दोबाटोमा भौतारिँदै माया, मोह, शारीरिक आकर्षण, क्षणिक सुख र प्रगतिका अनेकन् सांसारिक रङ्गरूपहरू बाह्य जगत्मा खोज्ने गर्थेँ। स्मृतिका चौतारीहरू, वासनाका घना झाडीहरू, बजारको कोलाहल, मन्दिरका घण्टीहरूको झंकार, रंगीन वस्त्रको चमक र अपरिचित मुस्कानहरूमा मैले जसलाई अनेकौँ रूप दिएर खोजिरहेँ, त्यो केवल मेरो अज्ञानताको भ्रम मात्र रहेछ। मेरो लागि यो सम्पूर्ण दृश्यजगत् एउटा विराट पुस्तक र तिमी त्यसको सारांश थियौ, जसलाई मैले कहिले विश्वासको डोरी त कहिले खुसीको सीमा मानेर बाहिरै सजाउने धृष्टता गरिरहेँ।

तर आजकल, चेतनाको झिनो रूपान्तरणसँगै त्यो भ्रमको कुइरो निकै फाटेको छ र ती सम्पूर्ण सांसारिक भोगविलासका परिभाषा र रमाइलोका बहानाहरू एकाएक संकुचित भएर मेरै अन्तस्करणमा, केवल ‘तिमी’ भित्र विलीन हुन आइपुगेका छन्। आफ्नै पाका अनुहारका पाका दारी-जुँगाका लहरहरू नियाल्दै निमिट्यान्न पार्न जब ऐना अगाडि आँफुलाई उभ्याउँछु, ढोकामा चुक्कुल लाइवरि, तर फेरिपनि कोही नभएको एकान्तस्थलमा झ्याम्म दारीजुँगा पालेर मुस्काउँदै कता चेपबाट छिरिसकेछौ। त्यो तिमी नै हौ भन्ने तब पक्का भो जब रसाएको नयन भित्र ऐनाबाट देखेँ र पो ….।

उँदो ओर्लिरहेका ‘कमला नदीहरू’ तर्दै, गौरिशंकर हिमालझैँ अटल निष्ठाका साथ उभिँदा र सिँधुलीगढी भञ्ज्याङको चिसो हावाभित्र छिरेर आफ्नै आँखाका गहिरा आत्मकुवाहरूमा चियाउँदा म बाहिर होइन, स्वयम्‌भित्र तिम्रै दिव्य वाणी प्रतिध्वनित भएको पाउँछु। मानव जीवनको परम उद्देश्य बाह्य वस्तुहरू प्राप्त गर्नु होइन, बल्कि आफूले आफैँलाई भेटाउनु र चिन्नु रहेछ भन्ने जुन शाश्वत सत्य तिमीले मलाई दीक्षित गरेर बुझायौ, त्यसले मलाई संसारको सम्पूर्ण कोलाहलभित्रको मौनता सिकाएको छ। अन्ततः मेरो अहंकार पग्लिएर पानी भएर कमला तिरै बग्ने सिक्दैछ र यो बोध त्यो दोबाटोको अलमलदेखि प्रेमपत्रका पानाहरूसम्म मेरो चेतनालाई जागृत गराउने सबथोक आखिर ‘तिमी’ नै थियौ, तिमी नै छौ र तिमी नै हुनेछौ भन्नेमा घिस्याएर लेइपुर्यायौ जहाँ मार्ग र गन्तव्य एउटै बनेर परम शून्यतामा केवल भेट्न ‘तिमी’, बस् ‘तिमी’, एउटै ‘तिमी’, उहि सनातन ‘तिमी’ मात्र अवशिष्ट छौ।

त्यही भएर दुर्गा मन्त्र जप्नु अघि कमलाको जलमा मानसरोवरको जल मिसाई हातमा लिएर संकल्प गर्दै “ॐ सहनाभवतु सहनौ भुनक्तु सहविर्यं करवावहै…” अर्थ तिमीसँगै गाँसिएको रहेछ, अर्थ बुझ्दैछु ‘श्रद्धा’ लाई अघि पारेर, अनि तिमीले नै कोरलेको बास्तविक ‘साथी’ शब्दको गुह्य अर्थका कविताबाट दोहेर … 🙏❤️

श्रद्धा, ज्ञान, विनय र पात्रताको यात्रा

मानसको जीवन लामो समय अन्धकारमय थियो, तर्कका प्रश्न प्रचुर तर उत्तर दिने हृदय शून्य। ज्ञानको घमण्ड थियो, शान्ति थिएन तर जब गुरुप्रतिको निष्कलुष श्रद्धाको पहिलो किरण उनको अन्तरमा पस्यो, अहङ्कारको हिउँ पग्लन थाल्यो। त्यो पग्लाइमा कोलाहल थिएन, केवल एउटा रहस्यमयी मुस्कान थियो, “अब फर्कने बेला भयो।”

श्रद्धाले हृदयका ढोका बलले होइन, प्रेमले ढकढक्यायो। हृदय खुल्दा गुरुका वचन शब्द नभई दिव्य ज्योति बने र तिनले मानसका पीडाहरू पखाल्न थाले। ऊ नयाँ सिकिरहेको थिएन, बरु जन्मौँदेखि बिर्सिएको आफ्नै सत्य सम्झिरहेको थियो।

ज्ञान जति फैलियो, ‘म’ को छाया त्यति हरायो। फलेको वृक्ष झुकेजस्तै ऊ विनयले भरियो त्यो नम्रता बिना प्रदर्शन, आफ्नो अज्ञान र संसारप्रति गहिरो करुणाले युक्त थियो।

अन्ततः विनयले उनलाई रित्तो, निर्मल पात्र बनायो। ‘म’ हराएको ठाउँमा सत्य अवतरित भयो शास्त्रका रहस्य, जीवनका अर्थ, चेतनाका स्पन्दन सहजै त्यस पात्रमा ओर्लिए। ऊ मुस्कुरायो त्यो आत्माको मुस्कान जसमा ड्रागनफ्रुटको बिहानी रंगमा घामका कान्तिले रातभरिका शितालु रुझानलाई करुणा, रहस्य र समर्पणको आनन्दले न्यानो पार्दै गरे जसरी …. अनि  स्वास-प्रस्वासमै भाव मिलाएर मानसिक मन्त्र जप मै डुबिरहे जसरी।

भावको दुनियाँ

जब तर्कका प्रकाण्ड महारथिहरूले पृथ्वीलाई आफ्नो अकाट्य प्रमाणको सञ्जालले ढाक्दै लगे, तब ब्रह्माण्ड एउटा गणितीय निर्ममतामा परिणत भयो। अनौठो विरोधाभास त तब जन्मियो, जब बौद्धिक मानसले प्रेम जस्तो अमूर्त संवेगलाई पनि सिद्धान्त र समीकरणका बजारिया तराजुमा जोख्न थाल्यो भने अर्कोतर्फ, ब्रह्माण्डलाई पग्लिएर अङ्गाल्नुपर्ने भावुक मानस कठोर हिसाब-किताब, अन्वेषण र द्वन्द्वका भिडन्तहरूमा होमियो। यो उल्टो ध्रुवीकरणले अस्तित्वको शाश्वत व्यवस्थालाई भयानक असन्तुलनको डिलमा पुर्‍याइदियो, जहाँ श्रद्धा, भक्ति र समर्पण जस्ता दिव्य भावहरू केवल रकम, चन्दन, माला, अक्षता र वस्त्र जस्ता बाह्य लवाइ-खवाइको सामाजिक तर्कमा संकुचित भएर सबै कुरा अव्यवस्थित, शुष्क र निर्जिव बन्दै गयो।

यसैक्रममा चेतनाले  महाकल्पको गतिमा एकाएक निकै ठूलो फट्को मारेपछि, मरुभूमिकृत चेतनाको यो सङ्कटकालमा भावको दुनियाँमा डुबिरहेको चपौलीको शून्यताबाट ‘मोर्निङ्ग हिलिङ्ग सेसन’ को धुनमा ‘श्री विद्या’ रुपी एउटा शाश्वत प्रकाश अङ्कुराउन थाल्यो, जहाँ संसारले पवनपुत्र हनुमानको दैहिक पराक्रम मात्र देखिरहेको बेला अचानक मानिसको भित्री चक्षुले उनको श्रीरामप्रतिको त्यो अगाध श्रद्धा, निष्कम्प भक्ति र पूर्ण समर्पणको “भाव” अनुभूत गर्‍यो। अकस्मात्, अक्षर र शास्त्रका लामा ठेलीहरू भन्दा पहिले गुरुप्रतिको आदिम विश्वास भेटिन थाल्यो अनि मस्तिष्कको अहंकारी पर्दा च्यातिएपछि यो अनन्त सृष्टि र यसका सूक्ष्म गतिहरू मेरो क्षुद्र ‘म’ ले होइन, बरु मभन्दा धेरै माथि रहेको कुनै महा-बिराट, अचिन्त्य शक्तिले सञ्चालन गरिरहेको रहेछ भन्ने दिव्य आभास हुन थाल्यो। यो बोध हुनासाथ मानिसको अहंकार पूरै गल्यो र कृतज्ञताको बाढी आएसँगै ऊ केवल धन्यवादको महाभावमा लीन भएर निष्काम कर्म र क्षमा भावमा रूपान्तरित हुँदै, आफ्नो ज्ञानलाई एकदमै तुच्छ महसुस गरी आफ्ना समस्त क्रियाकलापलाई परमतत्वकै चरणमा अर्पण गरेर होसपूर्वक आफ्नै श्वासको तानमा फर्कियो। 

अन्ततः ऊ अचल एकाग्रताका साथ अस्तित्वको शाश्वत लयमा समाहित हुँदै, “पूरकमा ॐ, रेचकमा दुं दुर्गायै नम:” को श्वास-प्रश्वासमा पूणर्तः समर्पित हुन थाल्यो, जहाँ तर्कको शुष्क दुनियाँ सदाका लागि समाप्त भएर भावको अनन्त दुनियाँ सुरु भयो… 🙏❣️

आवाजको दुनिया

कालो रातको सुनसान पृष्ठभूमिमा एउटा निस्तब्धता व्याप्त थियो, जहाँ जीवन केवल एक निष्प्राण यन्त्र झैं घस्रिरहेको थियो। मानसको गहिरो मरुभूमिमा छटपटाइरहेको एउटा क्यान्सर बिरामी र थाकेको चेतनाले केवल एउटै कुरा खोजिरहेको थियो ‘मुक्ति’ त्यो मुक्ति, जुन कुनै ओखतीमा थिएन, न त कुनै भौतिक स्पर्शमा नै उपलब्ध थियो।

झ्यालबाट छिरेको मधुरो जूनको प्रकाशसँगै, अचानक कोठाको हावामा एउटा अलौकिक कम्पन तरंगित भयो। त्यो बेथोवेनको नवौं सिम्फनीको त्यो गम्भीर गर्जन थियो, जसले नियतिको ढोकामा ढकढक्याइरहेको भान हुन्थ्यो। लगत्तै मोजार्टको ‘रेक्वियम’ का सूक्ष्म र पवित्र स्वरहरू अन्तरिक्षका ताराहरू झैं खस्न थाले। यी केवल ध्वनि तरङ्गहरू मात्र थिएनन् यी त ब्रह्माण्डका अदृश्य चिकित्सकहरू थिए। वर्षौंदेखि जकडिएको मानसिक र शारीरिक व्याधिको घाउमा यो सङ्गीत एउटा दिव्य मलम बनिदियो। सङ्गीतको यो पराकम्पनले प्रमाणित गरिदियो कि, जब औषधिले हार मान्छ, तब सुर र तालले कोष कोषमा नवजीवनको सञ्चार गरेर असाध्य रोगलाई समेत परास्त गर्न सक्छन्।

त्यो ध्वनिको गहिराइ सामान्य कानले सुन्ने सिमाभन्दा निकै माथि थियो। यो त प्राचीन वैदिक मन्त्रहरूको गुञ्जन जस्तै थियो। सङ्गीतका ती सातै सुरहरू वास्तवमा ब्रह्माण्डलाई चलायमान बनाउने ‘बीज मन्त्र’ का संकुचित रूप थिए। ‘ॐ’ को आदिम कम्पन झैं, बीज मन्त्रको साथमा देवीत्व झैँ प्रत्येक तान र प्रत्येक रागले चेतनाको ढोका खोल्ने सामर्थ्य राख्थे। जसरी बीज मन्त्रले एउटा सानो गेडाभित्र विशाल वृक्षको सम्भावना लुकाउँछ, त्यसरी नै यो आवाजले मानवभित्रको सुसुप्त ऊर्जालाई जगाइरहेको थियो।

ध्वनिको यो यात्रा स्थूलबाट सूक्ष्मतिरको महायात्रा थियो। भौतिक कानले सुनेको सङ्गीत बिस्तारै इन्द्रियहरूको सीमा नाघेर भित्री चेतनाको गहिराइमा पुग्यो। इन्द्रियहरूको कोलाहल शान्त भयो र आत्माको ढोका उघ्रियो। यो ध्वनि संवाहक बन्यो, जसले मानिसलाई बाहिरी संसारको भ्रमबाट मुक्त गराई आफ्नै अन्तरात्माको शाश्वत शान्तिसँग साक्षात्कार गराइदियो।

त्यस महायात्राको चरमोत्कर्ष तब भयो, जब पृष्ठभूमिमा ‘गुरु’ को वाणी गुञ्जियो। गुरुको त्यो आवाजमा कुनै कृत्रिम सङ्गीत थिएन, तर त्यहाँ एउटा यस्तो अद्भूत लय र गुरुत्व थियो, जसले ढुङ्गा जस्तो कडा हृदयलाई पनि पग्लिएर पानी बनाइदिन सक्थ्यो। त्यो वाणीको लय कुनै अलौकिक मन्त्र जस्तै बन्यो, जसले सुन्नेको आत्मालाई नै मन्त्रमुग्ध र पावन गराइदियो। त्यो भौतिक शरीरको आवाज थिएन, त्यो त सिधै आत्माबाट निस्किएको र आत्मालाई नै पुकार्ने ब्रह्माण्डीय राग थियो। गुरुको त्यो ‘आवाज’ ले हाडछालाको मत्र्य शरीरलाई मात्र छोएन, बरु अहंकारको पर्दा च्यातेर मानवलाई उसको आफ्नै अनादि, अनन्त आत्मासँग भेटाएरै छाड्यो। अन्ततः कोठामा फेरि सन्नाटा छायो तर यो सन्नाटा रित्तो थिएन यो त ब्रह्माण्डको सबैभन्दा ठूलो ‘आवाज’ ले भरिएको एउटा जीवन्त मौनता थियो।

महाकल्पको बाँसुरी

महाशून्यको निःशब्द नाभिमा जहाँ कालचक्र आफैँ निदाएको थियो , त्यहाँ एक अदृश्य दिव्यसभा सम्पन्न भयो। परमात्माले आगामी महाकल्पको सृष्टि-सूत्राधार चयन गर्दै थिए। महाकालको डमरुले ब्रह्माण्डको अन्तिम ढुकढुकी पगाल्दै थियो। पञ्चतत्त्व लीन भइसकेका थिए। यो महाकल्पको महाविश्राम थियो। सृष्टिकर्ता र संहारकर्ता दुवै शून्यको एउटै विन्दुमा एकाकार थिए। त्यस करुण-मधुर महाभैरवी रागको बीचमा, महाशून्यको छातीमा एउटा मात्र कम्पन जीवन्त थियो, त्यो थियो आदिम र सनातन ‘दासभाव’ को अश्रु-तरङ्ग। जहाँ भक्तले आफ्नो ‘म’ कहिल्यै कल्पेको थिएन, त्यहाँ आज ‘म’ विसर्जनको सुवासले समष्टि नै सुगन्धित थियो। परमात्माको महाकरुणा एउटा नौलो निर्णयमा रूपान्तरित हुँदै थियो।

शून्यबाट महावाणी गुञ्जियो: “हे निष्काम चेतना! तिम्रो भक्ति नै अबको महाकल्प सृष्टिको बीजाक्षर बन्नेछ।”

परमात्माले नयाँ सृष्टि, आकाश र समयको जिम्मा अञ्जनीपुत्र लाई सुम्पिदिए। जसले कहिल्यै स्वामित्वको रहर गरेन, आज उनी नै सम्पूर्ण ब्रह्माण्डका एकल संवाहक बन्नु नियतिको सबैभन्दा सुन्दर न्याय थियो। हनुमानको हृदयमा यो जिम्मेवारी अहंकार बनेर आएन। उनका दुई थोपा आँसुले महाशून्यको क्यानभासमा भावुक चित्र कोरिदियो। स्वामित्व त उनलाई गह्रौँ पो भएको थियो, उनलाई त केवल सेवाको सामीप्य मात्र प्रिय थियो। हत्केलामा नव-सृष्टिको बीज नियाल्दै त्यहाँ न ब्रह्माको अहंकार थियो, न संहारको भय। त्यहाँ त केवल परमप्रभुको स्मृति र भक्तिको एकाधिकार थियो।

—~~~~~~~~~

यता भने उसले सधैं निहुरिरहने सुन्दर हनुमान मूर्ति पूजाकोठाबाट निकाल्यो। सिँदुरको टिका लगाइसकेर, चमेलीका फूल सिउरीभ्याएर, मेरो हत्केलाभरि ढाकाटोपीमा गुट्मुट्याएर थमाइदियो। मूर्तिभरि दलिएका सिँदुर देखेर मनमा एउटै प्रश्न उब्जियो: ‘सिँदुरको टिका लगाउँदा रामको दिर्घायु हुन्छ भन्ने जब सीताको मुखारविन्दबाट सुन्न पाए, जिउभरिनै दल्दा झन् कति दिर्घायु हुन्छ होला सोचेर हनुमानले कति दले होलान् भन्दा पनि कसरी कुन भावमा दले होलान् ? ‘

……

त्यही प्रश्नको मौन उत्तर झैँ भान हुने कतै टाढा महाकल्पको बाँसुरी बजिरह्यो … 🎶…

दृष्टिकोणको विविधता

चेतनाको धुमिल बरण्डामा उभिएर जब म आफ्नै विगतको बहीखाता पल्टाउँछु, तब फाँटबारीका अङ्कहरू मात्र होइन, तिनका पछाडि लुकेका मानव अनुहारहरू पनि एउटा अनौठो बिम्ब बनेर मानसपटलमा बौरिन आइपुग्छन्। मेरो प्रशासनिक कार्यकाल वास्तवमा एउटा यस्तो जटिल चक्रव्यूह थियो, जहाँ नियमका निर्जीव अक्षरहरू परम शासक थिए र मानवीय संवेदनाहरू केवल बन्धक जस्तै बनिरहन्थे। त्यो विलासी तर संकुचित कार्यकक्षभित्र हरेक दिन ‘सही’ र ‘गलत’ को एउटा अदृश्य महाभारत निरन्तर चलिरहन्थ्यो। लेखाको त्यो चिसो स्टीलको दराज र ढड्डाका पहेंला पानाहरूमा केवल सुख्खा अङ्कहरू मात्र कोरिएका थिएनन्, बरु कसैको जीवनको जीवन्त हिसाब-किताब लुकेको थियो। एकदिन कार्यालय सहयोगी रामबहादुरले प्राविधिक कारणले बिलको म्याद नाघेको भन्दै भुक्तानी रोकिँदा मलिन र विवश अनुहार लगाएर फाइल मेरो टेबलमा राख्यो। उसलाई हेरिरहँदा मेरो अन्तरमनमा एउटा तीव्र मनोसंवाद चल्यो, ‘के यो नियमको कठोरता नै मेरो असली कर्तव्य हो? कि यो नियमको पर्दापछाडि म एउटा लाचार र विवेकहीन कठपुतली मात्र हुँ?’ म जसलाई ‘प्रशासनिक अनुशासन’ भनिरहेको छु, ‘के त्यो कसैको चुल्हो निभ्ने कारुणिक कारण त बनिरहेको छैन?’ ठीक त्यति नै बेला, हाकिम साहबको कार्यकक्षबाट एउटा कडा र निरंकुश आदेश गुञ्जियो कि नियमभन्दा बाहिर गएर एउटा कौडी पनि भुक्तानी हुनुहुँदैन र यहाँ जसरी पनि थिति बसाल्नु पर्छ। हाकिमको नजरमा त्यो व्यवस्थाको ‘थिति’ थियो, मेरो नजरमा त्यो कर्तव्य र करुणाबीचको ‘सन्तुलनको सकस’ थियो, अनि रामबहादुरको नजरमा त्यो एउटा ‘निर्दयता’ थियो। एउटै टेबुल र एउटै फाइलमा दृष्टिकोणका कति धेरै विरोधाभासी तहहरू समाहित थिए। एकाएक क्याम्पस पढ्दा किताबमा भेटिएका ‘युनिभर्सल थेउरी, अन्कन्डिश्नल अप्रोच, कन्डिश्नल अप्रोच, कन्टिन्जेन्सी थेउरी’ वाक्यांशहरु याद आयो।

यो द्वन्द्व देख्दा मलाई श्रीमद्भगवद्गीताको एउटा श्लोकको स्मरण हुन्छ, ‘ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते’ अर्थात् मानिसले जुन कुराको बढी चिन्तन गर्छ, उसमा त्यही कुराप्रतिको आसक्ति र दृष्टिकोण निर्माण हुन्छ। हाकिमको आसक्ति नियममा थियो, मेरो कर्तव्यमा र रामबहादुरको जीविकामा। उपनिषद्को एउटा प्रसिद्ध कथाको पनि याद आयो जसमा हात्ती छाम्न गएका अन्धाहरूले कसैले पुच्छर छामेर हात्तीलाई डोरी त कसैले खुट्टा छामेर खम्बा भने जस्तै हामी सबै सत्यको एउटा सानो अंश समातेर त्यसैलाई पूर्ण सत्य मान्ने अहङ्कार गरिरहेका हुन्थ्यौं।

त्यस्तै अवस्था ग्राहक सेवाको त्यो व्यस्त काउन्टरमा हुन्थ्यो, जहाँ आक्रोश र अपेक्षाका ज्वारभाटाहरू हरेक मिनेट ठोक्किन्थे। एकदिन एउटा पीडित सेवाग्राहीले चरम आक्रोशित हुँदै आफ्नो फाइल मेरो अगाडि पछार्यो। त्यो कोलाहलमा सहकर्मी साथीहरूले मुखामुख गरे, जसमा कोही मलाई सहानुभूति दिँदै थिए त कोही मेरो कार्यक्षमतामाथि मौन प्रश्न उठाइरहेका थिए। म फेरि आफ्नै अन्तस्करणको गहिराइमा डुबेर मनोसंवाद गर्न थालें, ‘यी आगो ओकलिरहेका मानिसहरूले मलाई देखिरहेका छन् कि यो कुर्सीको अदृश्य अहंकारलाई?’ उनीहरूको आक्रोश व्यक्तिगत रूपमा मेरो ढिलासुस्तीप्रति हो कि यो जटिल राज्य व्यवस्थाको ढुलमुले प्रक्रियाप्रति? म यहाँ एउटा स्वतन्त्र व्यक्ति मात्र हुँ कि सिंगो संयन्त्रको एउटा अमूर्त प्रतिनिधि मात्र? योगवासिष्ठमा भनिएको छ ‘यथा चित्तं तथा जगत्’ अर्थात् हाम्रो चित्त जस्तो छ, यो संसार पनि हामीलाई त्यस्तै देखिन्छ। त्यो सेवाग्राहीको प्रताडित चित्तले मभित्र एउटा शोषक देखिरहेको थियो। मैले आफ्नो पदीय अहम् त्यागेर कुर्सीबाट उठें र उसलाई सान्त्वना दिँदै एक गिलास पानी अघि सारेँ, जसले उसको भित्री आक्रोशलाई पानीको घुट्कोसँगै बिस्तारै पगालिदियो अनि लामो सास तानेर खुई गर्यो। यो देख्दा ‘मोर्निङ् हिलिङ्ग सेसन’ मा गराइने तत्काल रिलिफ हुइने उपायको याद आयो। मेरो लागि जुन अनिवार्य ‘कार्यविधि’ थियो, ग्राहकलाई त्यो एउटा अनावश्यक ‘सास्ती’ मात्र थियो।

यस्तै दिनचर्या बित्दै जाँदा एकदिन कार्यकालको अन्तिम दिन आइपुग्यो, जब म आफ्नो कार्यकक्षको साँचो अर्को अधिकारीलाई बुझाउँदै थिएँ, मैले गहिरो गरी बुझें कि सत्य कुनै एउटा बिन्दुमा कहिल्यै पनि स्थिर हुँदैन किनभने ती सतही सत्य मात्र प्रतित् थिए सायद, परमसत्यमा गणना हुँदैनथिए पक्कै। हाकिमको आदेशको त्यो ‘प्रशासकीय उचाइ’, सहकर्मीहरूको त्यो ‘व्यावसायिक तटस्थता’, कार्यालय सहयोगीको ‘बाध्यताको धरातल’, र सेवाग्राहीको ‘अपेक्षाको कारुणिक गहिराई’ यी सबै आ-आफ्नो परिधिभित्र पूर्ण रूपमा सही थिए। साँचो बुझाउँदै गर्दा मेरो मनले अन्तिम पटक आफैंसँग संवाद गर्‍यो, म आज यो जिम्मेवारीबाट मुक्त त भएँ, तर के म आफ्नो ठाउँमा साँच्चै सही थिएँ? सायद म मात्र होइन, यहाँ कोही पनि गलत थिएन। हामी त केवल फरक-फरक कोणबाट एउटै सत्यको भिन्न-भिन्न रूप देखिरहेका अलमलिएका यात्री मात्र थियौं। फेरि मलाई ‘मोर्निङ्ग हिलिङ्ग सेसन’ का दुई वाक्यांश याद आयो, ‘ कन्सस् एफोर्ट र कन्सस् हार्मोनी’। त्यो रित्तो कोठाको भित्तामा झुण्डिएको घडी अझै टिक-टिक गर्दै चलिरहँदा सबैका लागि समयको त्यो प्रवाह एउटै थियो तर त्यसको गति र अर्थ भने सबैका लागि विल्कुलै फरक र विशिष्ट थियो।

अज्ञातको अनन्त यात्रा

मेरो वरिपरि भन्दा निकै फराकिलो झैँ लाग्ने चपौली आकाशको नीलिमा जस्तै अगाध थियो उनको मौनता र भनाइ। उनले मलाई बारम्बार एउटै सत्यको क्षितिजतिर डोर्‍याइरहन्थे, जसको गहिराइ बुझ्न मेरो अल्पज्ञानी मस्तिष्कलाई कति समय लाग्यो कति। ऊ भन्थे, “केही कुरा यस्ता हुन्छन्, जो हामीलाई थाहा छैन भन्ने समेत हामीलाई बोध हुँदैन। त्यसैले, अहम्‌को पर्दालाई च्यातेर सधैँ सिकिरहनू।”

उनले सिकाएका पाटाहरू कुनै विद्यालयका पाठ्यक्रम थिएनन्, ती त जीवन जिउने अलिखित रागहरू थिए। उनले मलाई कति पटक भने होलान् आफ्नो स्वर जस्तै सुक्खा वा कर्कश किन नहोस्, हृदयको कम्पनलाई गितारका तारहरूमा मिसाएर गाउन सिक्नू। माटोको सुगन्धसँग एकाकार हुन सिकाउँदै उनी भन्थे, “हातहरूलाई हिलोमा मुछ्नू, बिरुवाहरू रोप्नू र आफू वरिपरि हरियालीको एउटा सानो ब्रह्माण्ड सिर्जना गर्नू।” त्यस्तै उनका आँखाहरू जहिले पनि पुस्तकका पानाहरू पल्टाइरहन प्रेरित गर्थे। तीर्थस्थलहरूको यात्रामा निस्कँदा, ढुङ्गाका मूर्तिहरूमा मात्र होइन, त्यहाँको हावा, भक्तहरूको आँसु र प्राचीन मन्दिरका भित्ताहरूबाट समेत ज्ञानको कण बटुल्न उनले नै सिकाएका थिए। उनको सबैभन्दा ठूलो मन्त्र थियो, आफूभित्रको जे कुरा देख्दा सुन्दा पनि कमेन्ट गर्ने, जज गर्ने वक्तारुपी हतारोलाई मारेर एउटा धर्यवान ‘उत्कृष्ट श्रोता’ बन्नू। जब तिमी प्रकृतिको र अरूको मौनता सुन्न थाल्छौ, तब मात्र तिम्रो भित्री अहंकारको विसर्जन हुन थाल्छ र साधनाको वास्तविक अंकुरण हुन्छ।

सांसारिक जीवनको यो निसासिँदो र कसिलो समयको चक्रव्यूह जहाँ श्वास फेर्न पनि समयको अनुमति चाहिन्छ। यस्तै एउटा व्यस्त दैनिकीको कठोर परिधिबाट मैले केही पलहरू चोरी गरेँ। यो चोरी अर्काको कुनै  सामान थिएन, सायद आफ्नै अस्तित्वको खोजीका लागि थियो, थोरै समय चोर्ने हिम्मत थियो। अनि एकाएक म दौडिएँ कोशीको गर्जन र आध्यात्मिक शान्तिको सङ्गमस्थल बराहक्षेत्रतिर, जहाँ वराह भगवान्‌को काखमा मैले एउटा अनौठो शून्यता भेटेँ। कोशीका ढुंगा माथि पलेँटी कसेर, “ॐ हूँ वराहाय नमः” जप्दै समयलाई हराउन थालेँ। त्यसपछि मेरो पाइला अघि बढ्यो, सप्तरीको छिन्नमस्ता भगवती माताको मन्दिरतर्फ। माताको त्यो उग्र र करुणामयी स्वरूपको अगाडि शिर झुकाउँदै उनमा समर्पण हुने सबै भन्दा सौम्य मन्त्र, “ॐ छिन्नमस्तायै नम:” जप्दा  मेरो अहं, जगत्‌को भस्म जस्तै हावामा अलिअलि उडे जस्तो भयो । त्यो शक्तिपीठको आँगनमा उभिरहँदा मलाई अचानक उनका तिनै शब्दहरूको स्मरण भयो। मैले बुझेँ म जे जान्दछु, त्यो त केवल समुद्रको एक थोपा मात्र हो तर जे मलाई थाहा छैन र मलाई थाहा छैन भन्ने कुरा समेत मलाई थाहा थिएन, त्यो विराट् सत्यको साक्षात्कार त अझै बाँकी नै छ त्यसैले अहंकार विसर्जनको त्यो पहिलो खुड्किलोमा उभिएर मैले गितारका तारहरूसँगै मनकै तारमा एउटा नयाँ धुन गुञ्जाउँदै मनन गरेँ “झुकिरहुँ झुकिरहुँ झुकिरहुँ अनि सिकिरहुँ सिकिरहुँ सिकिरहुँ…. 🎸”