अगरबत्तीले जगाउँदा

समय सखारै थियो, रातको कालो पर्दालाई आकाशले बिस्तारै पन्छाउँदै धर्तीको अनुहार उज्यालोतिर फर्काउन थालेको थियो, चराचुरुङ्गीहरू पनि सायद उज्यालोको त्यो पहिलो स्पर्शलाई आफ्नै किसिमले बुझेर होला, कतै रूखका पातहरूमा सल्बलाउन थालेका थिए, कतै निद्राले अझै छोड्न नमानेको कुनै सानो जीव खस्र्याकखुस्रुक गर्दै आफ्नो लुकेको संसारबाट बाहिर निस्कँदै थियो, अनि मानिसहरू पनि एकएक गर्दै निद्राको न्यानो खोलबाट छुटेर बिहानको चिसो हावामा मिसिन थालेका थिए, त्यही शान्त र अझै पूर्ण रूपमा नब्युँझिएको संसारको एउटा सानो कुनामा रहेको कुटीभित्र भने एउटा सानो दियो पहिले नै बलिरहेको थियो र त्यो दियोको छेउमा एउटा सिन्काको बलमा चुपचाप ठडिएर आफ्नो शरीरको कुनै अदृश्य गहिराइबाट सुगन्धको धुवाँ निकाल्दै थियो, जुन धुवाँ कहिले सिधा माथि उठ्थ्यो, कहिले हावाको सानो झोक्कासँगै बाङ्गोटिङ्गो भएर घुम्थ्यो, कहिले एकछिनका लागि हराएजस्तो देखिन्थ्यो र फेरि अर्को कुनाबाट बिस्तारै प्रकट हुन्थ्यो, मानौँ त्यो धुवाँलाई पनि आफ्नो यात्रा कहाँसम्म हो भन्ने ठेगाना थिएन तर उसलाई यति मात्र थाहा थियो कि जहाँजहाँ पुग्न सकिन्छ, त्यहाँसम्म आफ्नो सुगन्ध पुर्‍याउनु छ। त्यो सुगन्ध कुटीको सानो कोठामा मात्र अडिएन, केहि लप्का ढोकाको सानो फाटोबाट बाहिर निस्केर बिहानको हावासँग मिसियो, कुनै लप्का रस्किन बण्डले काठको झ्यालबाट चिहाएझैं गाजाको पर्दा छिचोल्दै खनियाखर्क तर्फ च्याहिरह्यो, कुनै भने आँगनको चिसो माटोलाई छोएर बगैंचा तिर टहलिन थाल्यो, घरि घरि पातहरूको बीचमा अल्झियो, फेरि हावासँगै बगेर अलि थोरै पर पुग्यो र माटो, ढुंगा , काठ र बाँसले बनेको सुन्दर र खुला घरमा आरामले सुतिरहेको पाहुनाको नासापुटमा पुगेर यस्तो हल्का स्पर्श गर्‍यो कि उसले त्यसलाई समात्नै खोजेन तर एकछिन गहिरो सास लिएर अनायासै मनभित्र कतै पुरानो ठाउँमा पुग्यो, जहाँ कुनै समय बिहानबिहान आमाको हातले बालिएको धुपको सुगन्ध थियो, कुनै सानो मन्दिरको घण्टी थियो, कुनै पुरानो प्रार्थनाको आवाज थियो, अथवा सायद त्यस्तो कुनै स्पष्ट स्मृति थिएन नै, केवल एउटा अस्पष्ट शान्ति थियो, जसलाई शब्दमा भन्न नसकिने भए पनि मनले चिन्न भने सक्थ्यो।

त्यो सुगन्धको आफ्नै कुनै घर थिएन तर त्यसको पछाडि धेरै घरहरूको कथा थियो, कुनै आँगनमा फुलेको फूल, कुनै बारीमा फुलेको फूल, कुनै देवताको चरणमा चढ्नका लागि जोगाइएको फूल, कुनै बिहान कसैको हातले टिपेर ल्याएको फूल, जसले आफ्नो जीवन बोटको हाँगामा बिताउँदा कहिल्यै सोचेको थिएन होला कि एक दिन उसको रङ, उसको आकार र उसको नाम सबै बिस्तारै हराएर ऊ केवल एउटा अनुभूति भएर बाँकी रहनेछ,  फूललाई फूल रहन मन थियो होला, आखिर आफ्नो रूपमै आफूलाई चिन्न पाउनु पनि त अस्तित्वको एउटा सानो आनन्द हो तर समय र मानिसको हातले उसको पत्रपत्र छुट्याउँदै, सुकाउँदै, पिस्दै र अरू फूलहरूसँग मिसाउँदै लग्यो, अनि बिस्तारै त्यो फूलले आफूलाई छुट्टै चिन्न छोड्नुपर्‍यो, गुलाब कहाँ सकियो र चमेली कहाँ सुरु भयो भनेर छुट्याउन नसकिने भयो, मानौँ सबैले आफ्नो नाम छोडेर एउटै मौन सम्झौता गरेका थिए, ‘मर्निङ्ग हिलिङ्ग सेसन’ मै जसरी। अब हामीमध्ये कसैले एक्लै सुगन्ध दिने होइन, हामी सबै मिलेर एउटा यस्तो गन्ध बन्नेछौँ, जसमा हाम्रो छुट्टाछुट्टै पहिचान हराए पनि हाम्रो साझा उपस्थिति बाँकी रहनेछ। सायद फूलहरूलाई सबैभन्दा गाह्रो यही लागेको हुँदो हो, आफूलाई अरूमा मिसाउनु, किनकि आफूलाई गुमाउनु र आफूलाई अर्पण गर्नु बाहिरबाट उस्तै देखिए पनि मनभित्र यी दुईको अनुभूति बिल्कुल फरक हुन्छ, एउटामा हराएको पीडा हुन्छ भने अर्कोमा आफूभन्दा ठूलो कुनै कुराको हिस्सा बनेको शान्ति र त्यो गाढा पनमा मिसिँदै गर्दा फूलहरूले आफ्नो सौन्दर्य गुमाइरहेका थिए कि सौन्दर्यको अर्थ नै बदलिरहेका थिए भन्ने कुरा छुट्याउन गाह्रो थियो किनकि आँखाले हेर्दा उनीहरू अब फूल रहेनन् तर सायद सुगन्धले महसुस गर्दा उनीहरू पहिलेभन्दा धेरै ठाउँमा उपस्थित हुन सक्ने भएका थिए। त्यही गाढा पदार्थ जब एउटा साधारण सिन्काको शरीरमा लगाइयो, सिन्काले त्यसलाई फूल भनेर चिन्न सकेन तर उसले त्यसको स्पर्शमा केही अपरिचित कुरा अवश्य महसुस गरेको हुनुपर्छ किनकि अहिलेसम्म ऊ केवल एउटा सुक्खा, सीधा र गन्धविहीन अस्तित्व थियो, जसको काम ठडिएर बस्नु मात्रजस्तो देखिन्थ्यो तर अचानक अरूको जीवनबाट आएको सुगन्ध उसको शरीरमा टाँसिँदा उसले पहिलोपटक आफूभित्र कुनै बाहिरी कुरा मात्र होइन, अरूको कथा पनि बोकेको अनुभूति गर्‍यो होला र सायद त्यही क्षण उसको मौनताले एउटा सानो प्रश्न सोध्यो होला “के म अब मेरो मात्र रहेँ?” फूलहरू उसमाथि टाँसिँदै गए, तह थपिँदै गयो, सिन्काको साधारण शरीर बिस्तारै ढाकिँदै गयो तर त्यसलाई ढाकिनु उसको अस्तित्व मेटिनु थिएन, बरु उसको खाली ठाउँ अर्थले भरिनु थियो जसरी कुनै मानिसको जीवनमा पनि कहिलेकाहीँ आफ्नै अनुभवभन्दा अरूले छोडेका स्पर्श, सम्झना, प्रेम र पीडाहरूले उसको व्यक्तित्वलाई बनाइरहेका हुन्छन्, त्यसरी नै त्यो सिन्का पनि आफ्नै गन्ध नभएर अरूको गन्ध बोक्ने माध्यम बनिरहेको थियो, र शायद त्यसमा उसको कुनै हीनता थिएन किनकि सबै कुरा आफैँबाट उत्पन्न गर्न सक्नु मात्र सामर्थ्य होइन, अरूबाट आएको राम्रो कुरालाई सुरक्षित राखेर सही ठाउँसम्म पुर्‍याउन सक्नु पनि एउटा गहिरो क्षमता हो। सिन्का चुपचाप थियो तर त्यो चुपचापपन खाली थिएन, त्यसमा फूलहरूको सम्पूर्ण विगत टाँसिएको थियो, बोटबाट छुटेको क्षण, सुक्दै गएको समय, आफ्नो रूप हराएको पीडा, अरूसँग मिसिएको अपरिचित अनुभूति र अन्ततः आफूभन्दा ठूलो एउटा सुगन्धको हिस्सा बनेको शान्ति, र सायद उसले त्यसबेला बुझ्न थालेको थियो कि उसको काम फूल बन्नु होइन, फूलले दिन नसकेको यात्रालाई आफ्नो शरीर दिनु हो, आफूमा आएको सुगन्धलाई केही समय सम्हालेर राख्नु हो, ताकि कुनै दिन आगोले छोएपछि त्यो सुगन्ध चपौलीको कन्दराबाट फेरि संसारतिर फर्किन सकोस्।

र त्यसरी एउटा फूलको छुट्टिनु, धेरै फूलहरू सँग मिसिनु र एउटा सिन्काले तिनीहरूलाई आफ्नो शरीरमा ठाउँ दिनुबीच कतै, इन्द्रियले भेट्टाउन नसकिने तर हृदयले पहिल्याउन सक्ने सम्बन्ध बिस्तारै तयार भइरहेको थियो, जसलाई मान्छेहरुले नाम दिएछन् “अगरबत्ती” भनेर।

छोएर पनि नछोएझैं

कहिलेकाहीँ कुनै सम्बन्धको गहिराइ त्यसमा बोलेका शब्दहरूको संख्याले होइन, नबोली छाडिएका कुराहरूले बताउने रहेछ। केही मानिसहरू जीवनमा आएर अर्कोलाई आफ्नो विचारअनुसार बदल्न खोज्दैनन्, उनीहरू केवल ऐनाजस्तै हुन्छन् हामीलाई हामीभित्रकै केही कुरा देखाइदिन्छन्। उनीहरूसँग बस्दा आफूलाई कुनै परीक्षा दिइरहेको जस्तो लाग्दैन, कुनै व्यवहारको हिसाब दिनुपर्दैन, न आफूलाई सही प्रमाणित गर्नुपर्छ। उनीहरूको उपस्थितिमा मानिस आफू भएरै बस्न सक्छ। मानव र प्रदिपको मित्रता त्यस्तै थियो। मानव उमेरले दोब्बर भन्दा बढी तर प्रदिपले ‘साथी’ भनेर बोलाउँथ्यो उसलाई । कहिलेकाहीँ आफू पातजस्तो लाग्थ्यो आफ्नै ठाउँमा भएर बसेको, प्रदिप भने पानीको चम्किलो थोपा जस्तो, आएर पातमा बस्ने, केही क्षण चम्किएर बस्दा पनि पातको स्वरूप आफ्नो बनाउन नखोज्ने, पातलाई नभिजाइकनै टाँसिरहन पनि सक्ने। दुवैबीच गफ हुन्थ्यो, निकटता थियो, आत्मीयता थियो। गफगाफ भेटघाट गर्ने भन्ने कुरामा उनिहरु बीच एउटा मात्र शर्त थियो ‘न्युनतम ५१% गुरुको बारेमा चर्चा हुनु पर्छ’ । उनीहरू एकअर्काको व्यवहारमा judge, comment वा अनावश्यक reaction गर्दैनथे। केवल observe गर्थे। केही सिक्ने कुरा देखे सिक्थे, बाँकी कुरा त्यसै छोडिदिन्थे।

एक दिन मानवले प्रदिपलाई भन्यो, “एकपटक उहाँले एकदमै महत्वपूर्ण रूपमा फोकस गरेर भन्नुभएको एउटा कुरा याद आयो। ‘सतिससँग बस्दा, घुम्दा, व्यवहार गर्दा ऊ नबिझाउने खालको रहेछ।’ मानवलाई त्यसबेला त्यो वाक्यको अर्थ स्पष्ट भएन। उसले सोध्यो पनि, “नबिझाउने भनेको के होला?” उहाँले सम्झाउनुभयो, “ऊ न मलाई बिझायो, न उसले आफूलाई नै बिझायो।” त्यो वाक्य मानवको मनमा धेरै बेर अडियो। सायद त्यही थियो non-attached, non-judgemental, non-commentable हुनु। न आफूलाई अनावश्यक रूपमा समातिरहनु, न अरूलाई आफ्नो विचारले समात्नु, न अरूको व्यवहारले आफूलाई बिझाउनु, न आफ्नो व्यवहारले अरूलाई बिझाउने गरी छिर्नु, न कसैलाई निरन्तर मूल्याङ्कन गर्नु, न आफूलाई कसैको मूल्याङ्कनको केन्द्र बनाउनु। प्रदिपतिर हेर्दा मानवलाई त्यो कुरा झन् स्पष्ट हुँदै गयो।

एक बिहान उनीहरू सँगै पशुपतिनाथ गए। दर्शनका क्रममा पुजारीले प्रदिपलाई विशेष भक्तालुको सम्मान दिए। अरु कोहीपनि जान नपाउने र उभिन नपाउने स्थानमा पशुपतिको चाँदिकै ढोकामा राखेर नजिकैबाट केहिबेर सम्म एकाग्रिएर दर्शन गर्न पाउने गरी अवसर मिलाइदिए, पंचामृत खुवाए, शिवलिङ्गमा चढाइएको माला, “ॐ नमः शिवाय” लेखिएको गम्छा, चन्दन, त्रिनेत्रको टीका, फलफूल, मिठाई र दही दिए। अनि फेरी अन्त्यमा ज्योतिर्लिङ्ग स्नान गराइएको उर्जाशिल महत्वको मह दिँदै भने, “यो चाहिँ आफ्नो गुरुका लागि लैजानू।” मानवले त्यो सबै चुपचाप हेर्‍यो। त्यसलाई केवल एउटा घटना रुपमा देख्यो, त्यसको सुन्दरता महसुस गर्‍यो र आफूले बुझ्नुपर्ने कुरा मनमा राख्यो। फर्कंदा उनीहरू निकैवेर शिवपुरी बाबाको आश्रम तिरको श्लेशमान्तक वनको अग्ला अग्ला रुखमुनि बसेर ओझिला गफमा हराए । मानव घरि न घरि आँफु भित्र चिहाइरहन्थ्यो ‘कतै मेरा कुराले ego boost त भइराछैन मेरै र उसको पनि, अनि gratitude हराइरहेको त छैन उ प्रति!’  आजकल उसले आफ्नो ego को अवस्था खुबै गहिरिएर हेर्न थालेको छ, जुनि जुनि देखि ढाकिएर हराएको ego को अनेक रुप रंग आकार शैलिहरु देख्न थालेको छ, जसलाई observation ले गलाएर थकाउन चाहान्छ। यसैबीच मानवको मनमा एउटा दृश्य कायम रह्यो, ‘पातमाथि बसेको पानीको थोपा’। थोपा पातलाई छोइरहेको थियो तर पातलाई आफ्नो बनाउन खोजिरहेको थिएन। पातले पनि उसलाई बाँधेर राखेको थिएन। दुवैको स्पर्श थियो तर स्वामित्व थिएन। सायद साँचो मित्रता पनि त्यही रहेछ, सँगै भएर पनि अधिकार नजमाउनु, नजिक भएर पनि निर्णय नगर्नु, हेरेर पनि हस्तक्षेप नगर्नु र एकअर्काबाट सिकेर पनि एकअर्कालाई बदल्न नखोज्नु। मानवले प्रदिपलाई हेर्‍यो र मनमनै सोच्यो, कुनै कुनै मानिस जीवनमा पातमाथिको पानीको थोपा भएर आउँछन्, चम्किदिन्छन्, केही सिकाएर जान्छन् तर पातलाई नभिजाएरै पनि, अनि उसको हरियोपन आफ्नो बनाउँदैनन् पनि। त्यसैले मानव र प्रदिपको सम्बन्धको सबैभन्दा सुन्दर नाम सायद त्यस्तै केही थियो, छोएर पनि नछोएझैं, नजिक भएर पनि स्वतन्त्र; हेरेर पनि निर्णय नगरेझैं र आत्मीय भएर पनि एकअर्कालाई नबिझाएझैं।

फेरि भेट्ने अँगालो मार्दा, प्रदिपको सुस्तरी स्वास–प्रस्वासमा घुलिएको focused शक्ति रुपी “inhale छिन्न, exhale मस्ते” मानसिक नामजप स्पन्दित हुँदा आफ्नो समग्र मातृ शक्ति रुपी “inhale माँ, exhale दुर्गे ” पनि सँगै घुलिइरहेको झैं लागेर एकछिन मानवले अँगालो छाड्नै मानेन।

बुकी फूल

त्यो बिहानको घाम अझै रुखका हाँगाहरूमा अल्झिरहेको थियो, डाँडाको टुप्पोबाट बिस्तारै झर्दै गाउँको गोरेटो बाटोमा पस्न खोज्दैथ्यो। मुनाको खुट्टा त्यही बाटोमा थियो तर उसको मन त बाटोको काखैमा थियो, भुइँमा, माटोकै छातीमा झुकेर बसेको त्यो बुकी फूलतिर। किनभने बुकी फूल रुखको हाँगामा झुण्डिएर फुल्दैन, यो त भुइँकै साथी हो, माटोको न्यानो महसुस गर्दै, ढुङ्गाको सहारा पाएर उम्रन्छ। त्यसैले त मुनाको आँखा सधैं तलतिर हुन्थ्यो, खुट्टाको छेउको संसार नियालिरहन्थी। यो बिहान पनि उस्तै थियो। हिजो राती परेको ओसले अझै माटोका कणहरू जम्माएको थियो र बाटोको छेउको सानो चौतारीजस्तो सम्म परेकोमा एउटा बुकी फूलको बोट फुलेको थियो, त्यसका पातहरू फैलिएका थिए, जमिनलाई अँगाले जस्तै। हरेक पातको फेदीबाट एउटा सानो हाँगा उठेको थियो र त्यसको टुप्पोमा त्यो सेतो घ्यू रंगको, मखमलीजस्तो गुच्छा फुलेको थियो। त्यो कुनै रुखको बोटमा झुण्डिएको थिएन, कुनै लहराले अँगालो हालेको थिएन, यो त आफ्नै जराले माटो समातेर, आफ्नै बलले ठडिएको थियो। मुना निहुरिइ। उसको पीठको झोला एकातिर लर्खरायो तर उसले वास्ता गरिन। उसले देखि फूलको मुख पूर्वतिर फर्किएको थियो, जसरी कसैले बिहानीको पहिलो किरणलाई प्रणाम गर्छ। फूलका पत्रहरूको किनारामा ओसका थोपाहरू अझै टाँसिएका थिए, ती थोपाहरूमा घामको परछाइँ पर्दा साना-साना इन्द्रेणी बनेका थिए। मुनाले अघिल्लो दिन पनि यही बोट देखेकी थिइ तर त्यतिबेला यसका फूलहरू कोपिलै थिए, अहिले फुलेका थिए, चारवटा फूल, सबै आ-आफ्नो ठाउँमा, एउटा अलि अग्लो, एउटा अलि छेउमा झुकेको, एउटा भने अझै अलि कोमल, जो अर्को दुई दिनमा पूरा फुल्नेछ। उसले औंला तेता बढाइ तर सोझै तानिन। उसलाई थाहा थियो बुकी फूलको डाँठ भुइँकै नजिक हुन्छ, त्यो पातका गाँजोबाट उठेको हुन्छ। त्यसैले उसले हातको औंलालाई पातको फेदीसम्म पुर्याइ, अनि त्यहाँबाट घुमाएर बिस्तारै झिकि। डाँठको चिरो भागबाट एउटा चिसो रस निस्कियो, जसको गन्ध माटो र हरियो घाँसको मिश्रण थियो। त्यो रसले उनको औंला भिजायो तर उसले त्यसलाई पुछिन, बरु त्यसको बास्ना नाकमा लगेर सुँघी, मान्छेले नबुझ्ने तर फूलले बुझ्ने भाषामा। अनुपम सरकोमा जाँदा सरले त्यस्तै बास्ना लाग्ने एसेन्सियल ओइल सुँघ्न दिनुभएको उसलाई याद आयो। पहिलो फूल कपालको चिम्टीमा सुट्ट अल्झाई, चिम्टीको दुई पाटाको बीचमा डाँठलाई यसरी चेपि कि फूलको मुख केही माथि उठ्यो, आकाशतिर हेरे जस्तो। अनि दोस्रो फूल उसले आफ्नो सामाजिक अध्ययन किताबको पृष्ठ ४७ र ४८ को बीचमा राखि जहाँ एउटा कविता थियो “कत्ति राम्री फूलमाया” । त्यसअघि उसले फूललाई अलि सुकाइ किनभने ओसले किताबको कागज भिजाउँछ भन्ने उसलाई थाहा थियो। त्यसैले उसले फूललाई पातले बिस्तारै पुछि, त्यसपछि मात्र किताबको चेपमा राखि। फूलको एउटा पात किताबको पृष्ठभन्दा बाहिर निस्कियो तर त्यो देख्दा उसलाई झन् राम्रो लाग्यो जसरी उसको कानमा सिउरिएको थोरै केश कपालबाट बाहिर निस्किँदा फेरि फेरि सिउरिरहँदा हुने रमाइलो जस्तो, फूलले पनि किताबको बन्धन चिर्न खोजेको जस्तो। 

कक्षाकोठामा पुगेपछि उसले फूललाई किताबको चेपबाट झिकेर डेस्कमा राखि। गोमा म्यामले पाठ पढाइरहेकी थिइन् तर मुनाको नजर त्यो फूलको पातमा अड्किरहेको थियो। पातको बीचको नसामा स-स्याना जालीजस्ता रेखाहरू थिए, जसलाई उसले झुकेर नियालि। हरेक रेखा कतैबाट सुरु भएर कतै मिल्छ, कतै मिल्दैन। उसले हेरि, फूलको पहेँलो टुप्पोमा परागकणका ससाना बिन्दुहरू, झण्डै १२/१३ वटा जति, सबै मिलेर एउटा घेरा बनेका। त्यो घेराको बीचमा एउटा ससानो प्वाल जस्तो, जहाँ किरा बस्न आउँछन् र पराग सार्छन् भन्ने उसले पुस्तकमा पढेकी थिइ तर आज उसले आफ्नै आँखाले देखी र त्यो देख्दा उनको मनमा एउटा गुद्गुदी आयो जसरी कुनै रहस्यको पहिलो कक्षा खोलेको महसुस हुन्छ। त्यसपछि खाजाको समयमा ऊ एक्लै बसी, फूललाई हातमा लिएर झ्यालतिर फर्की। झ्यालबाट टाढाको डाँडा देखिन्थ्यो, त्यही डाँडामा अरू पनि बुकी फूलका बोटहरू थिए तर उनको हातको एउटा फूलले उनलाई पूरै डाँडा भन्दा बढी सुगन्ध दियो। उनले त्यसको पातलाई औंलाको चेपमा राखेर बिस्तारै दबाइ, त्यसवाट एउटा चिल्लो, हरियो रस निस्क्यो, जुन हातमा लागेपछि अलि टाँसिँदो थियो। उसले त्यो रस सुँघि, त्यसको बास्ना घाँस, माटो र बिहानको हावाको मिश्रण थियो, जसले उसलाई अनुपम सरको त्यो बगैंचामा पुर्यायो जहाँ ऊ साथीहरुसँगै सरका देश प्रेम, प्रकृति प्रेम, कला साहित्य संगीतका कुरा सुन्न जान्थी, बच्चाको भावनालाई हृदयले समेटेर बगैंचाभरि फुलाएको सरको कोमलता हेर्न जान्थी। 

बेलुका घर फर्किँदा बाटोको त्यो बुकी फूलको बोटमा मुनाको नजर गयो, अहिले त्यसको तीनवटा फूल मध्ये एउटा अलि झुकेको थियो, किनभने दिउँसोको ठूलो घामले अलि ओइलाएको तर अर्को एउटा भने अझै उँभो थियो, साँझको छहारी पर्दै गर्दा पनि आफ्नो घ्यू रङ नगुमाएको। मुनाले त्यो बोटको छेउमा निहुरेर हेरि, माटोमा केही झुसका पातहरू थिए, केही सुकेका पातहरू पनि, तर बुकी फूलको जरा त्यही माटोमा गएको थियो, कसैले गोडमेल नगर्दा पनि बाँचेको थियो। उसलाई त्यो जरा आफ्नै जस्तो लाग्यो कसैले स्याहार गर्दैन, तैपनि उम्रन्छ। राति ओछ्यानमा पल्टिँदा उसले फूललाई किताबको चेपबाट निकालेर छातीमा राखि। फूलको पत्र अब अलि झुर्रिएको थियो, रङ पनि सेतोबाट अलि पहेँलोतिर लागेको तर पनि त्यसको पत्रको किनाराको चिल्लोपन अझै उस्तै थियो। उसले त्यो फूलको डाँठको फेद समातेर हेरि त्यहाँ एउटा सानो चिरा देखियो, जुन उसले बिहान देखेकी थिइन किनभने बिहानको उज्यालोमा त्यो नदेखिने रहेछ। अब उसलाई थाहा भयो, बुकी फूलको डाँठ त्यति बलियो हुँदैन, झण्डै ३-४ दिनमा झुर्रिन्छ र बिस्तारै किताबको पृष्ठको अभिन्न अंग बन्छ। उनले फूललाई सोधि “तिमी कसरी बाँच्छौ, जब कसैले तिमीलाई माया गर्दैन?” फूलले जवाफ दिएन तर उसले त्यसको मौनतालाई नै जवाफ मानि किनभने बुकी फूल कहिल्यै बोल्दैन तर बोलीभन्दा धेरै कुरा बुझाउँछ। यसको पातको चिसोपन, यसको डाँठको कोमलता, यसको पहेँलो टुप्पोको पराग यी सबै उनलाई भनिरहेका थिए “म छु, तिमी छौ, हामी सँगै छौं।” त्यो रात निदाउँदै गर्दा उसको एउटा खुट्टा अलि बाङ्गिएर बस्यो, किनभने बिहान स्कुलको बाटो हिँड्दा हिँड्दै उसको खुट्टाको पैतालामा सानो चोट लागेको थियो तर उसले फूलको पातले त्यो पैताला छोयो जस्तो गरि र दुखाइ बिर्सिइ, अनि भुसुक्कै निदाइ। बुकी फूलको सबैभन्दा ठूलो विशेषता यही हो कि यसले घरमा साङ्गलाले दुख दिएको छ भने त्यसलाई भगाउने जस्ता स-स्याना घरेलु सहयोग बाहेक विशेष घाउ, बिरामी निको पार्ने ओखती दिँदैन तर उपचारको भावना दिन्छ किनभने यो आफैंले निको नपाएर पनि अरूलाई साथ दिन्छ। मुना मुस्कुराउँदै निदाउँदा फूलको पत्र उसको नाकको छेउमा, फूलको गन्ध उसको सपनामा पर्यो। बिहान उठ्दा उसले फूललाई पृष्ठ ७२ मा सारि, जहाँ लेखिएको थियो “साँचो मित्रता भनेको पर्खनु हो।” त्यो पृष्ठ नै उसले आफ्नो किताबको सबैभन्दा प्रिय पृष्ठ बनाइ किनभने त्यहाँ बुकी फूलको एउटा पात अझै पृष्ठभन्दा बाहिर निस्केको थियो, कुनै साथीले भनिरहे जसरी “तिमी किताब बन्द गरे पनि, म बाहिर कुरिरहेको छु।” मुनाले पनि किताब बन्द गरि तर फूल बाहिरीरह्यो, उसको मनमा, उसको सपनामा, उसको हरेक बिहानी गोरेटो बाटोको भुइँमा किनभने बुकी फूल जहिले पनि भुइँमै फुल्छ, मुनाको हातले टिपेपछि पनि त्यसको माटोको सुगन्ध कहिल्यै जाँदैन र त्यही सुगन्धले उसलाई हरेक बिहान बताउँछ “म त भुइँको फूल हुँ, तिमी पनि भुइँकी छोरी। हामी उँचाइमा भन्दा माटोको नजिक सँगै छौं।” अनि अहिलेसम्म त्यो किताबको पृष्ठ ७२ मा बुकी फूल छ। सुकेको, पहेँलो, झुर्रिएको, तर पनि अक्षुण्ण र जतिबेला पनि मुनाले त्यो पृष्ठ खोल्छे, फूलको एउटा सानो टुक्रा झर्छ, त्यो टुक्रा माटोमा पर्छ, अनि माटोले त्यसलाई च्याप्छ। किनभने बुकी फूलको कथा माटोमा सुरु भएको थियो, माटोमै सकिन्छ भन्ने मुनालाई थाहा छ तर त्यसको माया कहिल्यै सकिँदैन, किनभने फूलको पत्रको नसा जति सुके पनि, त्यसमा मुनाको बिहानीको ओसको निशान कहिल्यै मेटिँदैन। अनि त्यो नै हो साँचो बुकी फूलको साथी, जो न त रुखमा हुन्छ, न त डाँडाको टुप्पोमा यो त भुइँमा छ, मुनाको पैतालाको छेउमा, जो कहिल्यै अग्लो हुने होइन तर सधैं नजिक हुन्छ।

लुकेका अहंकार

(मञ्चको पृष्ठभूमिमा मधुरो, नीलो प्रकाश छ, दर्शकदिर्घामा ‘मर्निङ्ग हिलिङ्ग सेसन’ का प्रायः सबैजसो सहयात्रीहरु उपस्थित छन्, पार्श्वमा कार्ल जंग र रुमीका किताब खप्ट्याएर उनका गहिरा दृष्टी र कोमल हृदयले मञ्चपट्टि च्याहिरहेका छन्। एउटा कुनामा ध्यानमग्न मुद्रामा मानव बसिरहेको छ। पृष्ठभूमिमा घडीको टिक-टिक आवाज र मेसिन चलेको जस्तो यन्त्रमानवको ध्वनि गुञ्जिरहेछ। बिस्तारै घडीको आवाज हराउँछ र एउटा लामो श्वासको आवाजसँगै मञ्चको मध्यभागमा पहेंलो चेतनाको प्रकाश फैलिन्छ। मानव बिस्तारै ध्यानबाट आँखा खोल्छ तर उसको अनुहारमा कुनै ‘ज्ञानी’ को चमक छैन बरु एउटा गहिरो अलमल र आत्मग्लानी देखिन्छ। ऊ खाँबो समाएर बिस्तारै उठ्छ, खस्न लागेको चश्मा समाल्छ र उत्तरार्द्ध रुपी आफ्ना कामिरहेका हातहरू हेर्दै, दर्शकदीर्घाको अगाडि आएर मधुरो स्वरमा बोल्न थाल्छ।)

मानव: (लामो सुस्केरा हाल्दै र टाउको कन्याउँदै) ओहो! म त कति ठूलो भ्रममा बाँचेको रहेछु! वर्षौंसम्म एउटा मेसिनझैँ आफूलाई सफल र सभ्य नागरिक सम्झेर हिँड्ने म त वास्तवमा अहंकारको एउटा सानो पुतली मात्र पो रहेछु! छ्या! संसारमा जान्ने र बुझ्ने कुरा त कति हो कति रहेछन्, म भने केही नबुझीकन आफ्नै घमण्डको वस्त्र पहिरिएर हिँडिरहेको रहेछु! तर आज… अचम्म! आज जब यो साधना र अभ्यासको सानो झिल्को मभित्र बल्यो, तब मलाई म कति अज्ञानी रहेछु भन्ने कुरा अलिअलि देख्न थालेको हो कि जस्तो महसुस भइरहेछ। मैले त अहिलेसम्म केही जानेकै रहेनछु! सफा ऐनामा दाग देखिएझैँ, मैले पहिलोपटक आफ्नै भित्री अँध्यारो गल्लीहरूमा लुकेका अहंकारका साना-साना रूपहरू भर्खर चिन्न थालेको छु। 

(मञ्चमा बिस्तारै यताउता टोलाउँदै, लज्जित भावमा) म कति अलमलमा परेको छु भने, जसलाई मैले सधैँ मेरो सामान्य बोली र व्यवहार मानिरहेको थिएँ, त्यहाँ त अहंकार कति सुक्ष्म रूपले लुकेर बसेको रहेछ! घरमा परिवारसँग ब्यवहार गर्दा, समाजमा बस्दा, जागिरमा हाकिम, सहकर्मी र ग्राहकसँग नम्र बन्दा अनि यहाँसम्म कि गुरुको सामीप्यमा जाँदा पनि मभित्र एउटा अदृश्य ‘म’ लुकेको लाग्दै छ। सबै कुरा कता-कता छरपष्ट देखिन थालेका छन्। अरू त के कुरा, आफूलाई गतिलो लेखक सम्झिएर लेखिएका पुराना लेखहरू आज पल्टाएर हेर्दा मलाई आफ्नै शब्दहरूसँग कता-कता डर लागिरहेछ, किनकि त्यहाँ प्रयोग गरिएका ती जटिल शब्दहरू र वाक्यहरूमा म कति जान्ने छु भनेर देखाउने अहंकार पो लुकेको थियो कि जस्तो महसुस भइरहेछ! हरे! म त कति सानो मान्छे, ज्ञानको यो महासागरमा मैले त अझै केही बुझ्न सकेकै छैन! 

(आफ्नो छातीमा हात राख्दै, भावुक हुँदै) सबैभन्दा उदेकलाग्दो कुरा त के भने, मेरो यो अहंकारले साधना र अध्यात्मको वस्त्र पहिरिएर मलाई कति अलमलाइरहेको रहेछ! ऐया! ….. म वर्तमानको यो पलमा शान्त भएर टिक्नै सक्दिनँ, बरु आँखा चिम्लेर साधनाको नाममा भविष्यका अनेकौँ कल्पनाहरूमा डुब्न थाल्छु, जसको म जस्तो सानो साधकलाई कुनै आवश्यकता नै छैन। कहिलेकाहीँ त झन् म अरूका अगाडि ‘म त केही जान्दिनँ’ भन्दै नम्रताको नाटक पो गरिरहेको हुन्थेँ, ताकि सुन्ने मान्छेले मेरो तारिफ गरोस्! हे राम! म त कतिसम्म कमजोर रहेछु! नम्रताभित्र पनि त्यत्रो अहम् लुकाएर बसेको रहेछु! बाटोमा भेटिने मानिसहरूलाई उनीहरूको समस्या वा साधनाको विषयमा कलात्मक बोलीद्वारा अर्ति-उपदेश दिँदै गुरुझैँ बन्न खोज्ने मेरो जुन बानी थियो, त्यो कुनै करुणा नभएर अरूलाई अज्ञानी देखाउँदै आफ्नो अहंकारलाई सन्तुष्ट पार्ने एउटा नराम्रो प्रयास मात्र पो थियो कि जस्तो लाग्दै छ। (भुइँमा बस्छ, आँखाहरू रसाएका छन् तर अनुहारमा कताकता एउटा समर्पणको भाव टुसाएझैं छ) ओहो! ,……. हे दुर्गे!अन्ततः आफ्नै यी सारा कमजोरीहरूलाई भर्खरभर्खर थोरै नियाल्न थालेपछि, मलाई कता-कता यो कुरा महसुस हुन थालेको छ कि सम्पूर्ण धार्मिक तथा आध्यात्मिक साधनाको सार त आफूलाई ‘ज्ञानी’ बनाउनु वा अहंकारलाई सजाउनु होइन रहेछ, बरु म त केही पनि होइन रहेछु भन्ने कुरा पत्ता लगाएर त्यसलाई शून्यमा विसर्जन गर्नु मात्र पो रहेछ… केवल विसर्जन गर्नु रहेछ। …… ओहो! यो ओकलिरहेको आवाज, शब्द,  भाव पनि कतै अहंकारकै कुनै रुप त होइन! अहंकार बिहिन त निशब्द मौनमा पो हुन्छ होइन र !

(मञ्चको प्रकाश बिस्तारै निभ्दै जान्छ। पृष्ठभूमिमा एउटा गहिरो, शान्त र सुमधुर बाँसुरीको धुन गुञ्जिन थाल्छ। नाटक समाप्त हुन्छ।)

झुकिरहनै किन मन लाग्छ… ?

चेतनाको गहन उत्खननमा लीन ‘मानव’ नामक प्राणी अस्तित्वको शून्यतामा उभिएर एउटै रहस्यमयी धुनमा निरन्तर घुमिरहे झैँ लाग्दै “झुकिरहनै किन मन लाग्छ…!” महसुस गरिरहेको थियो। हुनत यो कुनै हीनताबोध वा पराजयको ग्लानि थिएन बरु अहंकारको कठोर पाषाणलाई पगालेर ब्रह्माण्डीय एकाकारिता तर्फ अघि बढ्ने एउटा परम, अलौकिक र अमूर्त आध्यात्मिक अभिलाषा थियो। मानवका लागि गुरु केवल भौतिक आकृति नभएर तीक्ष्ण आलोकका ती महापुञ्ज लाग्थे, जसको दिव्य सामीप्यमा पुग्नासाथ उसको आफ्नै क्षुद्र अहम् छिन्नभिन्न भएर विलाउँथ्यो। जब जब उ गुरुको पैताला नजिक पुग्थ्यो, उसको शिर कुनै अदृश्य श्रद्धाको शक्तिका कारण स्वतः धरातलतर्फ सोझिन्थ्यो र त्यो विन्दुमा उनले एउटा असीम, अनिर्वचनीय र विहङ्गम मानसिक तृप्ति प्राप्त गर्थ्यो। ज्ञानको त्यो विराट् र अगाध गहिराइ सामु आफ्नो क्षणभङ्गुर अस्तित्वलाई विसर्जन गर्नु नै उसलाई जीवनको परम भाग्य लाग्थ्यो, जहाँ श्रद्धाको यो चरम पराकाष्ठाले गुरुप्रतिको आदर र आत्माको मोक्षलाई एउटै कञ्चन विन्दुमा समाहित गराइदिएको हुन्थ्यो तर मानवको यो झुक्ने अन्तर्निहित उत्कण्ठा केवल गुरुको परिधिसम्म मात्र सीमित थिएन, किनकि जीवनयात्राका अभिन्न सहयात्री साथीहरू प्रति पनि उसको भाव झण्डै उस्तै गहिरो र कारुणिक थियो। ती साथीहरू केवल सामान्य मित्र मात्र थिएनन्, उनीहरू पनि त्यही गुरुप्रतिको अटल श्रद्धाको अदृश्य डोरीले बाँधिएका पवित्र आत्माहरू थिए र स्वयं गुरुले पनि ती साथीहरूको आन्तरिक निष्ठा, निश्छलता र उच्च मानवीय मूल्यलाई असाध्यै माया गर्थे। जहाँ गुरु स्वयं नतमस्तक हुनुहुन्छ, जहाँ गुरुले नै आफ्नो परम श्रद्धा अर्पण गर्नुहुन्छ र जोसुकै साथीहरू पनि त्यही श्रद्धाको समुद्रमा डुबेका छन् भने त्यहाँ आफ्नो शिर कसरी ठाडो रहन सक्छ भन्ने गहिरो दार्शनिक भावमा डुब्दै मानवले एउटा यस्तो अलौकिक श्रद्धाको वृत्त महसुस गर्न थालेको थियो जहाँ उच्च र नीच भन्ने द्वैतभाव नै घरि घरि त मेटिइरहेको जस्तो आभास गर्थ्यो। समयको गतिसँगै मानवको यो झुक्ने चरित्र सम्बन्धहरूको परिधिबाट अझ माथि उठेर चराचर जगत्, प्रकृति र दृश्य अदृश्य सम्पूर्ण सृष्टिको शाश्वत स्वभाव बन्न पुग्यो र उ ब्रह्माण्डको हरेक सानो कण र जेसुकै प्रति पनि स्वतः नतमस्तक हुन थाल्यो। बिहानीको किरणमा पातको कुनामा टल्किएको शीतको विन्दु होस् या सडकको धुलोमा सङ्घर्ष गरिरहेको कुनै अज्ञात कीरा यी सबैलाई देख्दा मानवभित्र श्रद्धाको एउटा अजस्र र अविरल धारा स्वतः प्रस्फुटित हुन थाल्थ्यो। हावाको मन्द झोक्कासँगै खसिरहेको सुकेको पात, रातको सुनसानमा धिपधिप बलिरहेको मैनबत्ती र गौरिशंकरको फेदीबाट बगिरहेको कञ्चन नदी यी सबैमा उसलाई ब्रह्माण्डको परम सत्ताको नृत्य देखिन थालेको थियो। सोला भज्याङ् छिर्दा एकताको औंला ठड्याइरहेका पृृथ्वीलाई नढोगी उँभो लाग्न नसक्ने भएको थियो। 

जब यो सृष्टि नै यति विराट् छ र हरेक सानो कणमा अद्वितीय ईश्वरीय ऊर्जा लुकेको छ भने यहाँ शिर ठाडो पारेर हिँड्नु केवल अज्ञानताको पराकाष्ठा मात्र हो भन्ने सोच्दै उ अझ गहिरो गरी भुइँतर्फ झुक्थ्यो किनकि झुक्दा मात्र उसले पृथ्वीको धडकन सुन्न सक्थ्यो र अहंकारको भारीबाट मुक्ति पाए झैं लाग्थ्यो जहाँ उसले कयौं वसन्त पार गरेर धरती माताको कोखबाट नयाँ वसन्तको पालुवा हुन पाउँदै गरेको आभासमा थियो।

प्रेम मन्दिर

विशाल ब्रह्माण्डको अनन्त शून्यता र महाव्याप्तिको गर्भभित्र एउटा अभौतिक ‘प्रेम मन्दिर’ देदीप्यमान थियो। यो मन्दिर न त इँटा, सिमेन्ट र ढुङ्गाको जड संरचना न त हाड, छाला, मासु र मपनको आकारमा थियो, थियो त बरु विशुद्ध चेतनाको ऊर्ध्वगामी पराकम्प, दिव्य अश्रुजल र अलौकिक भाव-विग्रहले निर्मित एक जीवन्त सत्ता। यसको गर्भगृहको ढोकामा उभिएका साधकहरू लौकिक जगत्‌का क्षुद्र बन्धन, सामाजिक प्रतिष्ठा र बौद्धिक अहंकारका जीर्ण वस्त्रहरू त्यागेर अनन्य पराभक्तिको रसरङ्गमा आत्मविसर्जन गर्न आतुर देखिन्थे। त्यहाँ समयको गति स्तब्ध थियो, भूत र भविष्यको सीमारेखा मेटिएर वर्तमानको एउटै महाभाव जीवित थियो, जहाँ इतिहासका परम प्रेमी र भक्तहरूको साधना-सुवास समूच्चो वायुमण्डलमा तैरिरहेको थियो। मन्दिरको प्रवेशद्वार नै अहंकारको चिहान थियो, जहाँ पाइला टेक्नका लागि ‘म’ र ‘मेरो’ भन्ने द्वैत चेतनाको पूर्ण आहुति दिनु अनिवार्य सर्त मानिन्थ्यो। यस दिव्य मन्दिरको भित्री चोक र भावको वीथिकामा विचरण गर्दा चराचर जगत्‌लाई विस्मित पार्ने विभिन्न कालखण्डका महासाधकहरूको पदचाप स्पष्ट अनुभूत हुन्थ्यो। मन्दिरको एक कुनामा मेवाडकी वैराग्यमयी राजकुमारी मीरा बाईको विरह-राग गुञ्जिरहेको थियो, जसको साधना लोक-लाजको प्राचीर भत्काउने एक अनन्य आध्यात्मिक विप्लव थियो। उनले विषको प्यालालाई समेत आफ्नो मदनमोहनको प्रसादी ठानेर अमृतमा रूपान्तरण गरिदिएकी थिइन् र उनको एकतारेबाट निस्केको प्रत्येक कम्पनले सिकाउँथ्यो कि प्रेम जब पराकाष्ठामा पुग्छ, तब संसारका समस्त लौकिक अवरोधहरू कपुर झैं बिलाएर जान्छन्। त्यहीँ नजिकै देवर्षि नारदको ‘परम प्रेम रूपा’ भक्ति-सूत्रको प्रतिध्वनि गुञ्जायमान थियो, जसको महती वीणाको तार-तारबाट निस्केको स्वरले लौकिक रागलाई वैराग्यमा र वैराग्यलाई महाभावको ब्रह्माण्डीय स्पन्दनमा रूपान्तरण गर्दै समस्त सृष्टिलाई नारायण-प्रेमको एउटै सुत्रमा आवद्ध गरिरहेको थियो।मन्दिरको मूल आधार र जगमा महाबीर हनुमानको अखण्ड दास्य-समर्पण विराजमान थियो, जहाँ सेवक र सेव्यबीचको भेद सदाका लागि मेटिएको थियो। आफ्नो छाती चिरेर सीतारामको दर्शन गराउने उनको त्यो वज्रजस्तै दृढ साधनाले प्रमाण दिन्थ्यो कि चरम आत्मसमर्पणमा भक्तको आफ्नो कुनै पृथक अस्तित्व बाँकी रहँदैन। ठीक त्यसकै परिधिमा मरुभूमिकृत प्राङ्गणको तप्त बालुवामा लैला र मजनुको प्रेमाग्नि दन्किरहेको देखिन्थ्यो, जसको प्रेम वासनाको हिलोबाट सुरु भएर अलौकिकताको त्यो शिखरमा पुगेको थियो जहाँ मजनुले लैलाको विरहमा भौंतारिँदा भौंतारिँदै अन्ततः आफैंलाई लैला महसुस गर्न थालेका थिए, जुन द्वैतबाट अद्वैततर्फको कठिन आध्यात्मिक यात्राको अनुपम प्रतीक थियो।मन्दिरको गर्भगृहको झन् नजिक पुग्दा आधुनिक कालका रसिक शिरोमणि हित प्रेमानन्द जी महाराजको दिव्य वाणीको सुवासले वातावरणलाई अझ बढी आह्लादित बनाउँथ्यो। राधा-कृष्णको निकुञ्ज-लीला र सहचरी-भावको रसोपासनामा डुबेका उनको साधनाले स्पष्ट पार्थ्यो कि प्रेम कुनै तर्क, नियम वा शास्त्रको परिधिमा बाँधिने वस्तु होइन। यो त निरन्तर अश्रुपात, नाम-सङ्कीर्तन र पलपलको व्याकुलताको त्यो अगाध महासागर हो जहाँ पुगेपछि मानव बुद्धि नतमस्तक हुन्छ र केवल विशुद्ध भाव मात्र जीवित रहन्छ। त्यही भाव-तरङ्गको समानान्तर डबलीमा सूफी सन्त जलालुद्दीन रुमी ‘शमा’ र ‘परवाना’ को अभेद दर्शनमा आधारित भएर ‘समा’ नृत्यमा फन्को मारिरहेका देखिन्थे र उनको बाँसुरीको हरेक श्वासले प्रेमी र परमात्मा दुई नभएर एकै हुन् भन्ने अद्वैत सत्यको शङ्खघोष गरिरहेको थियो।

यी सबै महातम्यहरु गुरुबाट सुन्ने गरेको उसको हृदय भने उर्द्वगामी उर्जा हुन शब्द बिहिन अवस्थाले गुरुको घुँडामूनितिर अधोगामी चरणतर्फ अश्रुसँगै झर्दैछ। त्यही चरणमै दुर्गा माताको वैष्णो देवी समेतको स्वरूप इनहेल ‘माँ’ एक्जेल ‘दुर्गे’ चलिरहन्छ अनि महाकाली, महालक्ष्मी र महासरस्वती एकिकृत रुपमा भेटिरहन्छ।

वृन्दावनको भाव…

मस्तिष्कको कोलाहलबाट टाढा, कालको गतिलाई चुनौती दिँदै जब एउटा आत्मा परब्रह्म श्रीकृष्णको प्राकट्य भूमि मथुरा र दिव्य क्रीडाथलो वृन्दावनको शितल गल्लीहरूमा प्रवेश गर्छ, तब यात्रा केवल भूगोलको मात्र रहँदैन, त्यो त चेतनाको ऊर्ध्वगामी रूपान्तरण बन्न पुग्छ। ब्रजभूमि कुनै माटोको ढिस्का मात्र नभएर रस, भाव र माधुर्यको जीवन्त स्वरूप हो भन्ने हुन्छ, जहाँको हावामा एउटा अनौठो मातशून्यता छ जसले मानिसलाई संसारी वासनाबाट विरक्त गराई दिव्य प्रेमको गहिराइतर्फ धकेल्छ। यस अलौकिक यात्राको भूलभुलैयामा जबसम्म गुरुको कृपा हस्त प्राप्त हुँदैन, तबसम्म जीवले ब्रजरसको रहस्य बुझ्न सक्दैन रहेछ किनकि गुरुको वाक्य नै त्यो प्रकाशपुञ्ज हो जसले संसारी मोह र भ्रमको बाक्लो पर्दालाई च्यातेर वृन्दावनको वास्तविक आध्यात्मिक स्वरूपसँग साक्षात्कार गराउँछ। वृन्दावनको यसै पावन परिवेशमा ‘मर्निङ्ग हिलिङ्ग सेसन’ मा सम्झना गरिरहिने पूज्य सन्त हित प्रेमानन्द जी महाराजको मुखारविन्दबाट प्रवाहित हुने राधा नामको स्मरणभावले श्रीराधारानीका चरणकमलप्रतिको अनन्य, अविचल र निरन्तर समर्पण भावलाई जगाइदिन्छ तर यसै मधुरताका बीच जब बजारका गल्लीहरूमा पाइला अगाडि बढ्छ, तब मनमा केही नमीठो सत्यको ठेस पनि लाग्दोरहेछ जहाँ बाहिर मुखले मिठो र सुमधुर आवाजमा ‘राधे राधे’ भन्दै ढोग्ने बजारका मानिसहरू भेटिन्छन्, त्यहीँ भित्रपट्टि भने अबोध पर्यटक र भक्तहरूलाई हरतरहले ठग्ने दाउ र प्रपञ्च रचिएको देखिन्छ। ब्रजबासीको त्यो पौराणिक आत्मीयता र विनयशीलता हराउँदै गएको आभास हुन्छ, मानिसहरूमा एकआपसमा बैरभाव चुलिएको जस्तो र सिंगो पावन क्षेत्रलाई आध्यात्मिक चेतनाभन्दा बढी व्यापारिक कमाउधन्दाको केन्द्रमा परिणत गरिएको लाग्दो रहेछ। कतिपय ऐतिहासिक मन्दिर र स्थानहरूमा पुग्दा तीव्र व्यावसायिक कोलाहलका कारण ‘लो एनर्जी’  र निसासिँदो वातावरण मात्र महसुस हुन्छ, जसले मनलाई केही क्षण विरक्त र उदास बनाइदिन्छ। यति हुँदाहुँदै पनि मानवीय कमजोरीको यो धमिलो बजारभन्दा माथि उठेर जब साँचो भक्तिभावले हेरिन्छ, तब ब्रजको मूल तत्त्व जीवितै भेटिन्छ। यहाँका पशुपंक्षी र यमुनाका लहरहरूमा अझै पनि त्यही शाश्वत ‘राधे राधे’ को अनाहत ध्वनि गुञ्जिरहेको छ। अहंकारका सबै किल्लाहरू भत्काएर जब मेरो हृदय भक्ति, श्रद्धा र असीम प्रेमको सागरमा डुब्दै सम्पूर्ण रूपमा श्रीजीको चरणमा झुक्छ, तब विचारलाई बिर्सिएर भावका हृदयधारा बग्न थाल्छ। संसारको यो देखावटी व्यापारिक प्रपञ्चलाई बिर्सिएर मेरो तार्किक मन अन्ततः ब्रजको धूलिमा लम्पसार पर्छ र म भौतिक रूपमा जहाँ गए पनि, मेरो आत्मा सधैँका लागि यही ब्रजको कुञ्जगल्लीमै छुटेको गहिरो अनुभूति भइरहन्छ।

या: या:

गुप्त नवरात्रीको नवमी तिथि, वसन्तपुरको पुराना गल्लीहरूमा प्राचीन इँटाहरूबाट निस्किएको ओस र धूपको सुगन्ध हावामा तैरिरहेको थियो। समयको गति अचानक मन्द भएको आभास हुन्थ्यो। काठका कलात्मक झ्यालहरू इतिहासका मूक साक्षी झैं ठिंग उभिएका थिए। कुमारी घरको त्यो सितल, अर्ध-अँध्यारो र रहस्यमयी गर्भगृहमा प्रवेश गर्दा मेरो चेतना बाहिरी कोलाहलबाट पूर्णतः विमुख भइसकेको थियो। तल प्राङ्गणमा निकै स्वदेशी तथा विदेशी श्रद्धावानहरु झ्यालतिर आशातित हृदयले टोलाइरहेका थिए। माथि पुग्न पुरानो काठको पुरानो सानो ढोकाबाट निहुरिएर छिर्नु पर्ने थियो, जो कोहिलाई, त्यो पनि विदेशीहरुलाई चाहिँ बिशेष नै माथि जान मनाही नै थियो। कसोकसो कृपाले अवसर मिल्यो, तेतै छेउतिर आफ्ना जुत्ता खुसुक्क राखेर काठका पुरानो भर्याङ्ग बिस्तारै आवाज नआवोस् झैं गरी खुसुक्क चढेँ। त्यो गुप्त नवरात्रिको पवित्र क्षण थियो। मेरो अन्तःकरण आध्यात्मिक शुचिताको कठोर संकल्पले बाँधिएको थियो। माछा, मासु र अण्डा जस्ता समाजले तामसी भनी औंल्याएका आहारबाट टाढै रहने मेरो निष्ठा नवमीको दिनसम्म आइपुग्दा झन् दृढ भएको थियो। व्रतको कठोरताले शरीर केहि शिथिल भए पनि मनमा एउटा अलौकिक उर्जा प्रवाह भइरहेको थियो। जीवित देवी जगज्जननी कुमारीको दर्शन पाउने अभिलाषा नै मेरो एकमात्र गन्तव्य थियो।

जब मेरा नयन ती साना, निष्कलंक र तेजोमय जीवित देवीको स्वरूपमा परे, मेरो तार्किक मन एकाएक स्तब्ध भयो। उनको भालमा सजिएको अग्निचक्षु र गम्भीर मुद्राले ब्रह्माण्डीय रहस्यको प्रतिनिधित्व गरिरहेको भान हुन्थ्यो। ठ्याक्कै त्यही पल, दैवी इच्छा र मानवीय संकल्पको महासंग्राम सुरु भयो। प्रसादको रूपमा मेरो अगाडि एउटा उसिनेको अण्डा ल्याइयो। मेरो भित्री चेतनामा एउटा गहिरो कम्पन पैदा भयो। मैले मेरो सनातन संस्कार भनेर घोकेको, केही दिन अघिदेखिको व्रत र नियमका पर्खालहरू अगाडि उभिएर म अवाक भएँ। मेरो विवेक द्विविधाको भुमरीमा फस्यो। म अड्किएँ, मेरो शरीर जडियो, र संकोचका रेखाहरू मेरो अनुहारमा प्रस्टै देखिए। नियम मानौँ कि आस्था? निषेध रोजौँ कि प्रसाद? मेरो यो आन्तरिक द्वन्द्व र संकोचलाई ती अबोध तर अन्तर्यामी आँखाले क्षणभरमै पहिचान गरिन्। तिनै ससाना ओठहरूबाट एउटा गम्भीर र कारुणिक ध्वनि निस्कियो: “या: या:…”

त्यो केवल नेवारी भाषाको “खानुस्, खानुस्” भन्ने शाब्दिक आग्रह मात्र थिएन, त्यो त ब्रह्माण्डको शाश्वत आदेश थियो। त्यसमा “केही नसोचि खानुहोस्, यो प्रसाद हो, यसमा कुनै पाप छैन, सबै नियमहरू भन्दा माथि भाव हुन्छ, दैवी कृपा हुन्छ” भन्ने गूढ आध्यात्मिक भाव अन्तर्निहित थियो। पुजारी र परिवारका सदस्यहरू मार्फत त्यो अण्डा मतिर बढाउँदा, ती जीवित देवीको दृढ र स्नेही भावले मलाई पूर्ण रूपमा गलाइसकेको थियो। ‘मर्निङ हिलिङ्ग सेसन’ का ज्ञान झल्झलि श्रद्धा पुर्वक मेरो जिन्दगीको फिल्डमा आइपुगेका थिए  । “या: या:” को त्यो द्विरुक्तिले मेरो अहम् र मेरो कृत्रिम संकल्पको जग हल्लाइदियो। धर्मको बाह्य आवरण र नियम भन्दा त ईश्वरको इच्छा र आत्मसमर्पण ठूलो हो भन्ने बोध मलाई भयो। मेरो व्रतको संकल्प एकाएक मेरो हृदयको गहिराइबाटै पग्लिएर भङ्ग भयो। मैले अत्यन्तै श्रद्धा र नतमस्तक भावले त्यो प्रसाद ग्रहण गरेँ। जब मैले त्यो अण्डा मुखमा राखेँ, मेरा नयनहरू कृतज्ञता र भक्तिभावले रसाए। आँसुका ती ससाना थोपाहरूमा मेरो व्रत भङ्ग भएको पश्चाताप थिएन, बल्कि जीवित देवीको साक्षात कृपा र अनुग्रह पाएको असीम आनन्द लुकेको थियो। मेरो बाह्य नियम परास्त भएको थियो तर मेरो आन्तरिक भक्तिले विजय प्राप्त गर्ने बाटो तिर प्रेरित थियो।

तिमी भित्रै अटेका ती…

कालखण्डको एउटा अनौठो अनि विशिष्ट मोडमा टलटलाउँदो पुर्णिमा मूनि निहुरिएर जब म तिम्रो विराट अस्तित्वलाई नियाल्न पुग्छु, तब मेरा सारा लौकिक संशय र द्विविधाहरू एकाएक तिरोहित भएर जाँदै गरेको झैँ लाग्छु । तिमी केवल एउटा सीमित भौतिक आकार वा नश्वर शरीर मात्रै होइनौ, बरु तिमी त ब्रह्माण्डीय चेतनाको त्यो महासागर हौ जहाँ मेरो क्षुद्र लघुताभाष विलीन हुन पुगे झैँ हुन्छ। तिम्रो बाह्य स्वरूपमा देखिने त्यो अनौठो विरोधाभास आफैंमा एउटा जीवन्त महाकाव्य झैं प्रतित हुन्छ, जहाँ कहिले पुरुषत्वको सघन र ओजस्वी प्रतीक बनेर तिम्रो आङ्गमा दारी जुँगा र कपाल झ्याम्म उम्रिन्छन् त कहिले सांसारिक कोलाहल र कृत्रिमतालाई त्यागेर सलात्सुलुत्त सफा भई सात्विक अनि निष्कपट रूपमा मेरो इन्द्रिय सम्मुख उभिन्छौ। जब तिमी यसरी मेरा इन्द्रियहरूका सँघारमा दृढतापूर्वक प्रकटीकृत हुन्छौ, तब मेरा नयनहरू आफैं रसाएर आउँछन् र तिम्रो त्यो मौन तर जीवन्त उपस्थिति मेरो अन्तरात्मामा ‘प्रेम स्वरूप’ को शाश्वत संगीत बनेर झंकृत हुन थाल्छ।

त्यो अलौकिक झंकारले मेरा संकीर्ण सोचका पर्खालहरूलाई भत्काइदिन थाल्छ र मभित्र एउटा नयाँ आध्यात्मिक चेतनाको प्रादुर्भाव टुसाउन पुग्छ, जसको सामीप्यमा पुग्दा चपौलीका कान्लाहरुमा खुट्केलिँदै गितारका स्ट्रिङ्गसँगै मन्दिरका स्वर्ण गजुरहरूको दिव्यता, श्री यन्त्रका रहस्यमयी कोणहरू अनि श्री विद्याका गूढ एवं शक्तिशाली मन्त्रहरूले ‘ज्ञान स्वरुप’ मा टपक्कै टाँसिने चाह गर्छु। यी तान्त्रिक र आध्यात्मिक प्रतीकहरूले मलाई यसरी मन्त्रमुग्ध पार्छन् कि म बिस्तारै तिमीमै डुब्दै, पग्लिँदै र हराउँदै जान्छु, जहाँ समय र स्थानका सारा सीमाहरू भत्किएका झैँ प्रतित हुन्छन्। त्यसैले आजकल म चेतनाको यस्तो अनौठो र अवस्थाबाट गुज्रिरहेको छु जहाँ मेरो दृष्टि र अन्तर्दृष्टि जहाँ पुग्छ, त्यहाँ केवल तिम्रो मात्र प्रतिविम्ब अवस्थित पाउँछु। ईश्वरको परम सत्ता, ज्ञानको अथाह भण्डार, जन्म दिने मातापिताको वात्सल्य, सुख-दुःखको साथी, र संसारले भौंतारिएर खोज्ने धन-सम्पत्ति, वैभवता, समृद्धि अनि ऐश्वर्य जस्ता सारा अवयवहरू अचेल किन किन तिमीभित्रै अटेको देख्न थालेको छु।  यसरी सारा संसारलाई आफूभित्र समेट्ने तिम्रो यो विराटता भित्र म पनि एउटा सानो अंश बनेर लिन् हुन कतै तिम्रा चरण कुनामा अटाउन पाउँछु त “गुरु” ?

मन्त्र

सृष्टिको आदि बिन्दुदेखि प्रलयको महाशून्यसम्म एउटै महासत्य प्रतिध्वनित भइरहन्छ कि मननको त्यो पराकाष्ठा, जसले मानवीय अस्तित्वलाई संकुचित सीमाबाट मुक्त गराई विराटतातर्फ उन्मुख गराउँछ, “मननात त्रायत इति मन्त्रः”। यो रहस्यमयी गुफामा गुनगुनाइने अक्षरहरूको संकलन मात्र नभएर संकल्पको त्यो प्रचण्ड ज्वाला थियो, जसले बुद्धलाई बोधित्वको शिखरमा पुर्‍यायो, रामकृष्ण परमहंसलाई महाभावको समाधिमा विलीन गरायो, रमण महर्षिलाई आत्मसाक्षात्कारको मौनतामा डुबायो र ओशोको कण्ठबाट उत्सवको महासंगीत बनेर बग्यो तर यो आध्यात्मिक आकाशका नक्षत्रहरूको मात्र पेवा थिएन, किनकि जब संकल्प अभेद्य बन्दछ, तब विज्ञान, कला र रणभूमि पनि साधनास्थलमा परिणत हुन्छन्।

न्युटनले जब अन्धकार कोठामा प्रकाशको रहस्य केलाइरहेका थिए वा अल्बर्ट आइन्स्टाइनले समय र अन्तरिक्षको सापेक्षता कोर्दा, उनीहरूको मस्तिष्कको भित्री तहमा प्रकृतिको नियम बुझ्ने अनन्त भोक गणितीय समीकरणहरू सँगै मन्त्रका ऋचाहरू जस्तै एकाकार भइरहेको थियो। रंगशालाको खचाखच भीड र रगतको गन्ध आउने चक्रव्यूहभित्र पनि त्यही मानसिक मन्त्र क्रियाशील थियो, जहाँ ब्रुस लीको शरीरका चालमा ‘शून्य र गति’ को कम्पन हुन्थ्यो भने माइक टाइसनको मुड्कीमा लुकेको शक्ति विपक्षीको आँखामा आँखा जुधाएर विजयलाई कैद गर्ने एउटा अविचलित र बलियो संकल्पको मन्त्र थियो। उनीहरू सबै आ-आफ्नो क्षेत्रका साधक थिए, जसको मनमा संकल्पको मन्त्र अहोरात्र बजिरहन्थ्यो। यसैबीच युग सन्धिले छलाङ्ग हान्न खोज्दै गर्दा जब अनुपमले ‘फोर्थ वे’ लाई फैलाएर भौतिक विज्ञानको अविष्कार समेत अध्यात्ममा जोड्दै तान्त्रिक श्रद्धा तिर पनि कोेरलेर तन्काईदिए अनि श्री विद्याको मन्त्र हरेक चक्रमा कम्पन गर्दै तरंगित हुन थाल्यो।

विराट ब्रह्माण्डको यात्रामा निस्किएको ‘भोएजर यान’ ले फर्किएर मतिर हेर्दा कस्तो छुद्र नगन्य कणका रूपमा देख्दै होला तर म आँफुलाई भने जीवनका अनगिन्ती, जटिल र निस्सार लाग्ने कर्महरूको जञ्जालमा फसिरहेको भयानक प्राणी सम्झिँदा आफ्नो जीवनलाई अज्ञात गर्त तिर हुत्याइहालुँ लाग्दै थियो तर कसैको अचानकको आगमनले मभित्र पनि एउटा अचम्मको रूपान्तरण सुरु हुन्छ। म आफ्ना दैनिक कर्महरूलाई केवल जीविकोपार्जनको माध्यम नठानी प्रत्येक कार्यप्रति सासलाई मन्त्र सँग जोडेर एउटा श्रद्धा बनाउन थालेँ जसले गर्दा मेरो कर्म नै मेरो मन्त्र बन्न पुग्दछ। जब कर्मको थकाई र संसारको कोलाहलले मेरो आत्मालाई थिच्न खोज्छ, तब मेरो अन्तस्करणमा समस्त मन्त्रहरूको जननी, एकाक्षर ब्रह्म र सृष्टिको मूल स्पन्दन “ॐ” गुञ्जायमान हुन थाल्छ, जसको प्रणव स्वरूपले शून्य र अनन्तलाई एकैसाथ जोडिदिन्छ। यही आदिध्वनिमा एकाकार हुँदै मेरो चेतनाको गहिराईबाट ब्रह्माण्डीय ऊर्जाकी महास्रोत, आदिशक्ति दुर्गाप्रतिको अनन्य आत्मसमर्पणको करुण ध्वनि “ॐ” सँगै  जोडिएर प्रस्फुटित हुन्छ। कर्मप्रति  ‘संकल्प’ जरुरी र महाशक्तिप्रतिको ‘श्रद्धा’ जरुरी जब एकै ठाउँमा मिसिन्छन्, तब मेरो जीवनको कुरुक्षेत्रमा बुद्धको शान्ति, न्युटनको खोजी, ब्रुस लीको एकाग्रता र माँ दुर्गाको अमोघ शक्ति समेटिँदै, कैलास मानसरोवरको पत्थर खल्तीमा बोकी बाल्यकालमा बाँसका लौरालाई खुसिको सम्पत्ति मानेको सम्झनामा नागबेली लौरोले चपौलीका कान्ला कुन्ली टेक्दै थचक्क पँलेटी कस्न पुग्छु अनि मन्त्र अन्त कतै नभएर समर्पणको उच्चतम् प्रतिध्वनि मै हो झैँ बोध हुन बल्ल थाल्छ।