आजकल ममा तिमी भेटिने चर्याको भाव खनियाखर्कबाट मडारिँदै अँघालिने बाक्लिँदै आएको कुहिरो झैँ आभास हुन्छ । किन किन ममा तिम्रो संगतीका आर्द्रता विस्तारै घनिभूत हुँदैछन् । एफोर्टले भ्याएसम्म सेल्फरिमेम्बरिङ्गको विविधतामा तिम्रै अनेक ढंगहरुलाई हृदय र बिबेक भरि अब्जर्भेसन भइरहन थाल्या जस्तो छ । मनका तरङ्ग मात्रले होस् या अक्षरहरुका अनेक अटेसमटेसियाईँले होस् जुन रस भरेपनि तिम्रैतिर लक्षित सबै कविताहरु कोरिने गरेकाछन् । नपत्याए उसको जुँगा सहित उसले एक्सपियरेन्स र अब्जर्भेसन गरिरहने विभिन्न ब्रह्माण्डिय नलेज अथवा परमात्मा अनुभवको हृदयले मलाई छोइरहने प्रेमिल स्पदनलाई छामिहेर, उसका अनेक ज्ञान सिक्न एवं जिन्दगीलाई उपयुक्त कलाले जिउने सिक्न यसै देशका मात्रै त के यस धर्तिमा आम मान्छेले सबैभन्दा उत्तम ठानेको धर्तिदेशहरु समेत त्यागेर उसकै अनुशासन, आदेश, नियम, गुरुत्वलाई ससम्मान पुज्दै “हस्, हुन्छ, ल” का भाकाहरुमा उहि तिमी परमात्मालाई पाउने अभिलाषाका तिब्र प्यासी साथीहरुलाई जिब्रैले चाखिहेर, अनेक छन्दमा पुन्जुहरुका मुखडा एवं क्रिडाहरुमा खेलिहेर, गाढा रक्तमालाका परिधिलाई बुट्टयाएको रंगलाई निधारमा दलिहेर, गितारका सुरतालले मेरा नयन रसाइरहेका तरङ्गहरु सुनिहेर, गोरखनाथ र कालीको उर्जाले संरक्षित लयबद्ध मेरो देशलाई बुझिहेर, कसैलाई केहि सहयोग, सेवा गर्दा पाउनेको खुसी सन्तुष्टिमा उसका रसाएका हृदयमा छामिहेर, खरायोलाई केटाकेटीले दुबो खोज्दै र गाँजर टुक्र्याउँदै मुखैमा खुवाउँदा खरायोले दिइरहेको अशब्दी “धन्यवाद” देख्ने हृदयहरुलाई बुझिहेर, भजन किर्तन गित कविता गुनगुनाउँदा “प्रेम र अहोभाव” ले छचल्किएर नुनिलो झारिदिने रसिला आँखाहरुलाई सोधीहेर, घरि यसो गर्ने घरि उसो गर्ने मेरा छोराछोरीका अबोध बालक्रिडामा च्याहिहेर, मप्रतिको अन्जान कियरिङ्गको मेरी उनिको तिर्सनालाई निहालिहेर, मैले निभाएका जिम्मेवारीहरुमा मेरा हाकिमले हौसला दिइरहेको आभासलाई मूल्यांकन गरिहेर, बिभिन्न सेवाको अपेक्षा गरी धाएका ग्राहकहरुको सन्तुष्टिका सासमा नजिकिइहेर, के ती सबैमा झल्किरहने, बहिरहने, जमिरहने उहि एउटै तिमी नै होइनौ र ? मेरा हरेक बिवेक र भावनामा बिराजमान उहि एउटै तिमी नै होइनौ र ? जतापनि उसैलाई देख्छु, उसैलाई छुन्छु, उसैलाई सुन्छु, चाखिरहन्छु अनि सुँघिरहन्छु भन्थे रे प्रल्हादले सानैमा, त्यो घटना साच्चै साँच्चै भो क्यारै, थ्यो क्यारै लाग्न थालेको छ आजकल यो पाको उमेरमा बल्लतल्ल केही न केही मलाई पनि ।
एकाबिहानै सानो कदको तन तनक्क तन्क्याएर भर्खरै खुइल्याएका तालुजन्य टाउकोको बीचमा बचाएर राख्न खोजेका तिलचामले टुप्पी दायाँ हातले सुम्सुम्याउँदै अनि कतै घुम्न जाउँ जाउँ लागेका पैतालाका काउकुतीहरुलाई बायाँ हातले सुम्सुम्याउँदै र छोराछोरीहरुको स्कुलको जाडो विदालाई समेत इंकित गर्दै आफ्नो हृदयको नैसर्गिक स्वतन्त्रतालाई तिमीले नै मेरा लागि बुनिदिएको उहि मेरी उनिसँग बिन्ती तेर्स्याएँ । अचानक ठूलै बज्रपातै परे झैं मेरा कुराले उ अनायास झस्किई, मलाई पनि झुक्किएर साँच्चै ठूलै अपराधै पो गरेँछु कि झैं पनि लाग्यो शुरुमा त तर तिमीले नै बुनिदिएका अनि उनि मार्फतै जन्मिएका मेरा छोराछोरीहरुको बालापनका हठ, विन्ती र मायालुपनले होला विस्तारै उनले ती खहरे भावनाका भेललाई तराईका फराकिला भागमा जसैगरी सुस्तरी बग्न दिईन् । म त खुबै खुसीएँ, लाग्थ्यो मैले आत्मै छाम्न भ्याएँ, परमात्मै पुग्न भ्याएँ । हतपत् हौसिएर अरुदिन भन्दा अलिक चाँडै हस्याङ्गफस्याङ्ग मै कपडा लगाएर अफिस दौडिएँ, बाटामा अरुदिन देखिने छेउछाउका बुट्यानहरुको हावाको तालमा नाचिने नृत्य नभएजस्तै भएछ, अजपा जाप सहितको डिभाइडेड एटेन्सन् त के एकोहोरो ब्रिदिङ्ग कै ध्यान पनि बारम्बार बिर्सिएर उदिमै मच्चिएछ, उता पुगेर थाहा भयो अफिस छिर्न पाससहितको आफ्नो आइकार्ड बोक्नै भुलेँछु । एउटा रिक्वेस्ट निवेदन दिएर नयाँ पास लिई अफिस पुग्ने वित्तिकै हाकिमलाई आफ्नो एउटा घरायसी समस्या पर्यो भन्दै केहि दिनको विदाका लागि बाहाना गर्दै अनुरोध गरेँ । विदा अधिकार होइन, सुविधा मात्र हो, अधिकारीको स्वविवेक र अवस्थाको गाम्भिर्यता एवं औचित्यतालाई हेरेर मात्र निर्णय गरिनेछ भनेर लेखेको कर्मचारी विनियमावलीको दफा मतिर पानै पल्टाएरै तेर्साए । उहाँलाई र मलाई दुबैलाई थाहा भएकै कुरालाई उहाँले पहिलो पटक सिकाउँदै झैं गर्दै मेरो विदा अस्विकृत गर्न खोजेपनि पनि मलाई आफ्नो काम जसरी पनि बनाउनु थियो त्यसैले उहाँसँग तर्कले जुध्न तिर भन्दा विन्तीको सुत्रतिर लागेँ, बरु उहाँका सत्चरित्र, बानी ब्यहोराको एकछिन खुलेरै अनेक शब्दहरुले झकिझकाउ पारिदिएँ । सायद फोर्थ वे ले भनेको त्यहि भएर हो कि आम मान्छेको म्याक्यानिकल अहमताले बेहोसीमा उसलाई उसकै बारेमा सुन्न पाएको सिँघारपटारले प्रफुल्लित हुन्छ र यहाँ पनि त्यहि सुत्र खुब काम गर्यो यसपाली ।
तिम्रै हृदयका ओतप्रोतले हुनु पर्छ मेरो बसोबास रहेको भिडको घनत्वभन्दा भौतिक दूरि अलि पर तिमीले प्रशस्तै फुर्सद निकालेर बुट्टा भरेको शान्त, स्वच्छ, निर्दाेषताले भरपुर पाखिलो धर्ति, सुकोमल पुन्जुहरु, मन्त्रमुग्ध चिरबिरहरु, अनि रंगीबिरंगी बोटबिरुवाहरुले सजाएर यो हृदयलाई झपक्कै पार्दै उ मार्फत तिमीले गर्विलो स्थान रोजेछौ, भरिलो ठाउँ खोजेछौ। किन किन हरेकपटकको मेरो भ्रमणमा झन् उपयुक्त झन् योग्य ठाउँ लागिरहन्छ, अनि उसमै झल्किरहने तिम्रो यो रोजाई ।
तिम्रो यो सनराइज रुपलाई मेरै बसोबासकै ठाउँबाट कहिल्यै नदेख्ने, नभेट्ने जस्तो अनुभव भएरै त होला बाहिर चिसो लाग्ने भौगोलिक बातावरण भएको स्थान भनेर पात्रोहरुमा लेखिएको भएपनि भित्र मृदुल न्यानोपन निरन्तर आभास भइरहेको खुला आकास मूनि खुला ओतबाट तिमी कतिखेर आउँछौ भन्ने तिम्रो प्रतिक्षाका तड्पन भनुँ या तिब्र प्यास भनुँ या तिमीलाई यो सनराइजमा हेर्ने राग भनुँ यो पाली अलि छुट्टै अनुभुति भइराछ मलाई ।