चेतनाको गहन अन्धकार कुनामा एउटा कर्कश र अनवरत कोलाहल गुञ्जिरहन्थ्यो, जुन अरू केही नभएर मेरो आफ्नै अहम्को विकृत चित्कार थियो। म ब्रह्माण्डको केन्द्रमा आफूलाई उभ्याएर हरेक अस्तित्वलाई शङ्का र ईर्ष्याको तराजुमा जोख्ने गर्थें। अतीतका भग्नावशेषहरू कोट्याएर वर्तमानको सुन्दर क्षणमा विष घोल्नु मेरो नियति बनिसकेको थियो, नकारात्मकताको त्यो तीव्र दलदलमा म यसरी भासिएको थिएँ कि प्रत्येक श्वास केवल तनाव र मानसिक पीडाको संवाहक बनेको थियो। मस्तिष्कभित्र चलिरहने त्यो निरर्थक र अन्तहीन गनगनले मेरो आत्मिक ओज र भित्री ऊर्जालाई पूर्ण रूपमा सोसेर मलाई एउटा सुक्खा, मरूभूमितुल्य खोक्रो मानवमा परिणत गरिदिएको थियो। आफ्नै विचारको कारागारभित्र म आफैं कैदी र आफैं जल्लाद बनेर पल-पल मरिरहेको थिएँ, जहाँ शान्तिको एउटा सानो झिल्कोसमेत अहंकारको आँधीले निभाइदिन्थ्यो।
युगले नै छलाङ हान्दै हिँडिरहेको बेला परेर हो कि क्या हो, कार्मिक फलहरुको ब्यवस्थापन गर्ने सन्दर्भमा समयले हुर्याउँदै कसोकसो पराकाष्ठाको त्यो चरम बिन्दुमा पुर्याएछ जहाँ मेरो अशान्त पाइलाहरू प्रकृतिको काखमा अवस्थित ‘चपौली’ तर्फ सोझिए, जुन ठाउँ ईश्वरले मानौँ कुनै फुर्सदिलो क्षणमा आफ्नो सम्पूर्ण दिव्य सिर्जना खन्याएर बनाएको एउटा अद्वितीय र सुन्दर भण्डार जस्तो प्रतीत हुन्थ्यो। त्यस ठाउँको त्यो मन्त्रमुग्ध पार्ने अलौकिक शान्ति, हरियाली र आध्यात्मिक सुवासको सामीप्यमा रहेकाे उसको सामिप्यले मेरो भित्री चेतनामा एउटा अनौठो र गहिरो शून्यताको उदय गराइदियो, जसले मलाई आफ्नै मानसिक कोलाहलको टाढाको साक्षी बनाइदियो। पहिलो पटक मैले बुझें जुन युद्ध म बाहिरी संसारसँग लडिरहेको थिएँ, त्यो वास्तवमा मेरो आफ्नै भ्रम र अहम्को आत्मघाती खेल मात्र थियो। चपौलीको हावामा बहेको त्यो कञ्चन पवित्रता र उसको मौन उपदेशसँगै मैले परिस्थितिलाई जबर्जस्ती आफ्नो अनुकूल बनाउने निरर्थक प्रयास र हठलाई बिस्तारै त्याग्न थालें।
अहिले अहंकारको त्यो कठोर चट्टान पूर्ण रूपमा पग्लिसकेको त छैन तर त्यहाँको त्यो दिव्य ऊर्जाको प्रभावले गर्दा मेरा धाँजाहरूबाट आत्म-संयम र सकारात्मकताको एउटा मधुर पहिलो किरण भने अवश्य फुट्न थालेको छ। आक्रोश र संशयका पुराना शृङ्खलाहरू तोडिँदै जाँदा र मस्तिष्कको त्यो व्यर्थ गनगन धिमा हुँदै जाँदा, मभित्र एउटा अपूर्व, शान्त र संयमित ऊर्जाको पुनर्जन्म हुन थालेको महसुस हुँदैछ। यो मेरो पूर्ण रूपान्तरण त होइन, तर आन्तरिक मरुभूमिबाट अशान्तिको विसर्जन गर्दै एउटा नविन, सकारात्मक र जागृत जीवनतर्फ चालिएको पहिलो रहस्यमयी र दृढ कदम भने पक्कै हो। बैशाखे आँपका दानालाई असारे भाकामा गीत गाउन कमिलाले पोकै बनाएर घरबार बसाएजस्तै छेउमै पारेर स्मरणका टोड्कामा मलाई पनि प्रकृतिमै घर बनाउँ बनाउँ लाग्न थालेको छ, आँफु सँग गनगन गर्न छाडेर प्रकृति सँगै भलाकुसारी गरुँ गरुँ लाग्न थालेको छ। गोमाले बाचन गरेको कविताको राग र विनिताको धिमेबाजाको तालमा मलाई पनि नाचुँ नाचुँ लाग्न थालेको छ। विष्णुको गुरुसेवा र प्रदिपको अठोटमा मलाई पनि डुबुँ डुबुँ लाग्न थालेको छ…..
चपौलीमा चुनिएका चुचुराहरूले कुहिरोको बाक्लो बर्को ओढेर एउटा आदिम ध्यानमा मग्न रहेको त्यो निर्जन प्रहरमा, ‘विनु’ एउटा यस्तो चेतनाको विन्दुमा उभिएकी थिइन् जहाँ भौतिकताका रेखाहरू सकिएर शून्यताको अनन्त साम्राज्य प्रारम्भ भएको आभास हुन्थ्यो। त्यो क्षणमा उनले सूक्ष्म रूपमा अनुभूत गरिरहेकी थिइन्, जीवन बाहिर घटिरहेको कुनै घटना होइन, आफ्नो दृष्टिकोणभित्र बगिरहेको एक मौन धारा मात्र रहेछ। उनको वरिपरि इँटा र सिमेन्टका कुनै पर्खाल थिएनन्, न त अहङ्कारका कुनै छेकवार नै। एउटा खुला बार्दली मात्र थियो, जसले ब्रह्माण्डको विराटतालाई आफ्नै आँगन झैँ अङ्गालो हालेको थियो। त्यहाँको हावामा व्याप्त चिसोपन केवल शरीरलाई होइन, अन्तस्करणभित्र जमेको कसिङ्गरलाई समेत थर्थराउँथ्यो। तर त्यही चिसोपन कसैका लागि असहज हुन सक्थ्यो, विनुका लागि भने त्यो एउटा पवित्र स्पर्श थियो। उनले बुझ्न थालेकी थिइन्, अनुभूति वस्तुमा होइन, दृष्टिकोणमा बस्दो रहेछ। जब उनको अगाडि साँझको खानामा लपक्क दाल थियो नुनविहीन तर स्वादिलो। बाहिरबाट हेर्दा त्यो केवल अभावको प्रतीक जस्तो देखिन्थ्यो। तर, दृष्टिकोण बदलिँदा भोगाइ पनि रूपान्तरित हुँदो रहेछ। विनुले आफ्नो भावुक अन्तर्यबाट त्यसलाई ‘अमृत’ को संज्ञा दिइन् जहाँ अभाव नै पूर्णताको पर्याय बनेर उभिएको थियो। त्यो दालभित्र उनले केवल स्वादको रिक्तता होइन, एउटा गहिरो स्मृति र स्वामी जि को प्रेमको महासागर भेटिन्, मित्रवत् व्यवहारको कसी भेटिन्।
त्यसैगरी उनको मानसपटलमा चपौलिका ती तरेली परेका कान्लाहरू जीवन्त भएर आए, जहाँ स्वामीजीको सान्निध्यमा पवित्र वृक्षारोपण सम्पन्न भएको बैभवता पनि भेटिएको थियो। माटोमा रोपिएका ती बिरुवाहरू मात्र थिएनन्, त्यहाँ श्रद्धा, प्रेम र समर्पण पनि रोपिएका थिए। त्यही बेला विनुले आफ्नै हातको सीप र भावना मिसाएर बनाएको ‘योमरी’ स्वामीजीलाई टक्र्याएकी थिइन्। जब स्वामीजीले त्यो योमरी ग्रहण गर्दै आफ्नो हृदयदेखि नै प्रसन्नता व्यक्त गर्नुभयो, त्यो क्षण विनुको अन्तर्यमा एउटा दिव्य स्पर्श बनेर बस्यो। आज, त्यही स्मृति यो अलिनो दालमा पुनः जीवित भएको थियो। दालमा नुन थिएन तर विनुले त्यहाँ स्वामीजीको नुनिलो प्रेम भेटिन्। जिब्रोले नपाएको स्वाद, हृदयले पूर्ण रूपमा पाएको थियो। त्यस क्षण उनले गहिरो रूपमा अनुभूत गरिन् अभाव वस्तुमा होइन, दृष्टिकोणमा हुन्छ र पूर्णता पनि त्यहीँ जन्मिन्छ।
राती ढिलासम्म गफिदै जाँदा रात छिप्पिँदै गयो, आकाशका ताराहरूले उनको खुला ओछ्यानलाई पहरेदारी गर्न थाले। उनी निद्राको एउटा गहिरो गुफाभित्र प्रवेश गरिन्, जहाँ प्रकृतिको काख नै कपासको नरम ओछ्यान बनेको थियो। त्यो निद्रा केवल शरीरको विश्राम थिएन, एउटा सूक्ष्म आध्यात्मिक संसर्ग थियो जहाँ स्वामीजीको कृपाको स्फटिक धाराहरू उनको चेतनाभित्र बगिरहेका थिए। चिसो हावामा आशिषका शब्दहरू सुगन्ध बनेर तैरिरहेका थिए। त्यही मौन क्षणमा उनलाई एउटा गहिरो बोध भयो मानिसले सुरक्षाका लागि बनाएका चार पर्खालहरू वास्तवमा चेतनालाई सीमित पार्ने एउटा भव्य कारागार मात्र रहेछन्। संसारले गर्व गर्ने सुविधा, सिमेन्टका संरचनाहरू, र भौतिक सम्पन्नता यी सबै दृष्टिकोणकै खेलमा उभिएका क्षणिक आभास मात्र रहेछन्।
चपौलिका कान्लाहरूमा रोपिएका बिरुवाहरू जस्तै, विनुको भक्ति पनि आज यही खुला आकाशमुनि पल्लवित भइरहेको थियो। जब गास र बास दुवै दैवी अनुकम्पामा अडिएका अनुभूत भए, तब कृत्रिम सुखहरूको चमक आफैँ हराउँदै गयो। वैभवशाली कहलिएका बिदेशमा सयौं तलामा बाक्लो चार दिवारको रंगिला झ्यालमा हल्लिरहेका रेशमी पर्दा को सुसस्जित कोठाहरूमा ऐस आरामले बिताइरहेका आफ्ना छोरा छोरीलाई सम्झिँदा झसङ्ग भइन् जब काठ, माटो र बाँसले बनेका खुला आकाशलाई साक्षी राखेर शान्त ओछ्यानमा पल्टिँदै गर्दा, अनि अझ झस्किइन् जब एउटा साथीका छोरा छोरीले, “तपोभूमि नेपाल र भारतका विभिन्न ठाउँहरुमा मात्र हाइएर इनर्जी फिल हुँदोरहेछ, अन्त त भएन, हुँदैन। अब देखि अन्त देश त अब घुम्न पनि तेति मन लाग्दैन, पढ्न र लामोसमयसम्म बस्न त झन् नजाने” । यो सुन्दा बिनु एकाएक आँफैले महसुस गरेको छोरा छोरी को बिदेसमा जाँदा ठ्याक्कै त्यही कुरा, त्यही इनर्जी फिल गरेको कस्तो अचम्मले बोध भएको याद आयो। छोरा छोरीको रहर, अवस्था र वाद्यताले बिदेशिनु अलग कुरा हो तर मेरा छोराछोरी बिदेशमा धन सम्पत्ति वैभवता समृद्धि ऐस आराममा छन् भनेर गर्व गर्नु त साँच्चै साँच्चै बेकार हो भन्ने सधैं लागिरहने सोच उनमा यतिबेला झन् प्रगाढ रुपमा ओइरिएर आयो।
विनु अब केवल एउटा पात्र रहिनन्। उनी त्यो मुक्त चेतनाको प्रतीक बनिन् जसले भौतिकताको भारी विसर्जन गरेर शून्यताको काखमा परम विश्राम प्राप्त गरेको छ र अन्ततः उनको अन्तर्मनमा एउटा सत्य उजागर भयो ।जीवन वस्तुहरूले होइन, दृष्टिकोणले भरिन्छ।
समयका कङ्क्रिट रेखाहरूलाई नाघेर जब म आफ्ना दुई कलिला सन्तानको हात समाउँदै त्यो पहाडी टाकुराको आगनमा पुगेँ, मेरो चेतनाको एउटा अजङ्गको खण्ड अनायासै पग्लिएर माटोमा मिसिन पुग्यो। त्यो घर, जो मेरो श्रद्धा र शाश्वत प्रेमको केन्द्रविन्दु थियो, आज त्यहाँका हरेक झारपात र वनस्पतिमा उसकै सुगन्ध बाँचेको आभास भयो। म उन्मत्त भएर त्यहाँ लहलहाइरहेका वृक्षहरूतर्फ दौडिएँ र तिनीहरूलाई आफ्नो आलिङ्गनमा यसरी बाँधेँ, मानौँ म कुनै काष्ठ-देहलाई होइन, बरु एउटा जीवन्त आत्मालाई अङ्कमाल गरिरहेको छु। मेरा औँलाहरूले जब ती वृक्षका खस्रा बोक्राहरू, बक्र जराहरू र चिल्ला पातहरूलाई स्पर्श गरे, मलाई महसुस भयो कि मेरो अस्तित्व बिस्तारै ती वनस्पतिका नसा-नसामा विलीन हुँदैछ। हरेक बिरुवाको हृदयभित्र एउटा अस्फुट ढुकढुकी थियो, जसले मलाई एउटा गहिरो भाव-विह्वलताको सुरुङभित्र धकेलिदियो। म प्रकृतिसँग यसरी एकाकार भएँ कि मेरा खुट्टाहरूले जमिन होइन, बरु इतिहासका जराहरू टेकिएका थिए।
म घुँडा टेकेर त्यो पवित्र माटोमा थच्चिएँ र मेरा हत्केलाहरूले धर्तीको छाती सुम्सुम्याउँदा मेरो कण्ठबाट एउटा गहिरो र कारुणिक रोदन निस्कियो। त्यो आँसुले भिज्दै गर्दा माटोले मलाई आफ्नै वंशजको कथा सुनाइरहेको भान हुन्थ्यो। ठ्याक्कै त्यही क्षणमा मेरा छोराछोरीले एउटा मधुर र संयोगी गीत, “मैले आफ्नो हृदयको गीत बुझेँ अजम्बरी यस्तो एउटा प्रीत बुझेँ …. ” लय गुन्जाए, जुन लय चपौलीका कन्दराहरूमा ठोक्किएर एउटा अलौकिक सङ्गीत बन्यो। त्यो स्वरसँगै गमलामा पलाउँदै गरेका ती कलिला कोपिलाहरू र धर्तीमुनि लुकेका लामा जराहरू अचानक सलबलाए झैँ लागे, उनीहरू मौनताको भाषा तोडेर बोलिरहेका थिए। मलाई यस्तो आभास भयो कि ती बिरुवाका जराहरूले मेरो हृदयको रगतसँग संवाद गरिरहेका छन् र कोपिलाहरूले छोराछोरीको गीतमा आफ्नो शिर हल्लाएर सहमति जनाइरहेका छन्। जीवन र जगतको यो मिलनविन्दुमा पुगेपछि मलाई बोध भयो कि प्रेम कहिल्यै मर्दैन, यो त केवल कहिले मानिसको रूपमा त कहिले रुखको हरियो सुस्केरा बनेर धर्तीमा उम्रिरहने रहेछ।
जब साँझको सुनौलो घामले ती पहाडी टाकुराहरूलाई चुम्यो, मेरो हृदयको गहिरो रोदन बिस्तारै एउटा दिव्य शान्तिमा रूपान्तरित भयो। माटोमा लतपतिएका मेरा हातहरू उठाउँदै मैले आफ्ना छोराछोरीलाई नजिकै बोलाएँ र हामी सबै मिलेर त्यो श्रद्धाको आँगनमा एउटा नयाँ बिरुवा रोप्यौँ। त्यो सानो बिरुवाको कलिलो काण्डलाई माटोले थिच्दै गर्दा मलाई महसुस भयो कि हामीले केवल एउटा वनस्पति रोपेका थिएनौँ, बरु प्रेम, आशा र अटुट सम्बन्धको एउटा नयाँ बिउ अङ्कुरण गरिरहेका थियौँ। छोराछोरीका साना हातहरूले जब त्यो बिरुवामा पानी खन्याए, रुखका पातहरूबाट झरेका जलका थोपाहरूले मलाई आशिष् दिए झैँ आभास भयो, जसरी तीनले छोएका गितारका तारहरू तरंगित भएर गाइरहे झैँ … । प्रकृति अब मेरो लागि केवल जङ्गल रहेन, यो त एउटा जीवन्त पुस्तकालय बन्यो जहाँ हाम्रा प्रियजनहरू कहिल्यै नओइलाउने फूल बनेर मुस्कुराइरहनेछन्। हामी फर्कँदै गर्दा पहाडको चिसो हावाले सुस्तरी कानमा साउती मारिरहेको थियो कि मृत्यु त केवल भौतिक शरीरको अन्त्य मात्र हो, तर प्रेम त यी वृक्षका हाँगाहरूमा चराको चिरबिर बनेर र नयाँ कोपिलाको मुस्कान बनेर युगौँसम्म बाँचिरहनेछ। हामीले एउटा घर मात्र छोएका थिएनौँ, एउटा जिउँदो र सास फेरिरहेको सम्झनाको बगैँचा छोएका थियौँ, जसले हरेक वसन्तमा हामीलाई पुनर्मिलनको नयाँ निम्तो दिइरहने गरेको छ ……
त्यो साँझको अन्तिम सुन्तले आभाले जब समुद्रको विशाल र नीलो छातीमा सुस्तरी ढल्केर स्पर्श गर्दथ्यो, ऊ आफ्ना रिकापीका रङहरूमा एउटा अनाम अस्तित्व र जीवनको हराएको कडी खोजिरहेको हुन्थ्यो। क्यानभासको त्यो सेतो रित्तोपन उसलाई आफ्नै जीवनको एउटा बाँझो पाटो जस्तो लाग्थ्यो, जहाँ उसले भावनाका बीउहरू रोप्न त चाहन्थ्यो तर ती रङहरू कहिल्यै उसको पूर्ण नियन्त्रणमा रहेनन्। समुद्री जहाजका डोरी र खम्बा मिलाउन खोज्दा चित्रकारले महसुस गर्यो कि ऊ केबल एउटा निर्जीव काठको आकृति कोरिरहेको छैन, बरु समयका ती अदृश्य र जटिल गाँठाहरू सुल्झाउने एउटा महायज्ञ गरिरहेको छ, जसले उसलाई विगतका स्मृतिहरूको नुनिलो ओस र भविष्यको अनिश्चिततासँग बाँधेर राखेका थिए। जहाजको त्यो ठिंग उभिएको खम्बा, जो प्रचण्ड आँधी र भयानक शान्ति दुवैमा अविचलित उभिन अभिशप्त थियो, उसलाई आफ्नै धैर्यता र एकाकीपनको प्रतिविम्ब झैँ भान हुन्थ्यो एउटा यस्तो मौन शक्ति, जसले हजारौँ तुफानहरूलाई आफ्नै काठको भित्री तहमा सोसेर पनि एउटा अटल सत्य जस्तै ठिंग उभिने साहस सँगालेको थियो।
उसका सिर्जनशील तर थकित औंलाहरूले जब ती डोरीका प्रत्येक मसिना त्यान्द्रालाई क्यानभासमा जीवन्त उतार्न खोज्थे, तब उसलाई लाग्थ्यो कि जीवनका सम्बन्धहरू पनि त यस्तै हुन् कतै कसिलो गरी बाँधिएका, कतै समयको वेगले खुकुलिएका, त कतै बीचमै चुँडिन खोजेर पनि अदृश्य भरोसाका कारण बलियो गरी अडिएका। उसले ब्रसको प्रत्येक सुस्त र सचेत चालमा ती डोरीहरूलाई यति सन्तुलित र लयबद्ध बनाउन खोज्थ्यो कि मानौँ त्यो सन्तुलन मिल्ने बित्तिकै उसको आफ्नै अशान्त मनको जहाजले पनि कुनै शाश्वत र शान्त किनारा भेट्नेछ। जति जति ऊ ती रेखा र खम्बाहरूको ज्यामिति मिलाउन तल्लीन हुन्थ्यो, उति नै ऊ क्षितिजको त्यो रहस्यमयी लालीमामा एउटा नयाँ प्रकाशको पुञ्ज देख्न थाल्थ्यो, जहाँ आकाश र समुद्र एकअर्कामा यसरी विलिन हुन्थे कि त्यहाँ कुनै द्वैधता बाँकी रहँदैनथ्यो, बरु एउटा अनन्त मिलनको उत्सव मात्र बाँकी रहन्थ्यो। ऊ बिस्तारै बुझ्दै थियो कि कला केवल आँखाले देखेको सत्यको चित्रण मात्र होइन, बरु आत्माले भोगेको सत्यलाई स्वीकार गरेर त्यसैभित्रको कुरुपतामा पनि सुन्दरताको सुगन्ध खोज्ने एउटा दिव्य र कठिन साधना हो।
उसका कुचीहरू जब रङको समुद्रमा डुबुल्की मार्थे, तब उसले आफ्ना सारा संवेगहरूलाई ती रङका कणहरूमा मिसाउँथ्यो। क्षितिजमा अल्झिएका ती रङहरू अब उसका लागि केवल सूर्यका किरण थिएनन्, बरु ती त उसले भोगेका प्रत्येक वियोग, सङ्घर्ष र विजयका गाथाहरू थिए। डोरीका ती गाँठाहरू, जसलाई उसले पहिले बन्धन ठानेको थियो, अब जहाजलाई सुरक्षा दिने एउटा अटल विश्वास जस्ता देखिन थाले। अन्ततः जब सूर्यको अन्तिम सुनौलो झुल्को समुद्रको पानीमा ठोक्किएर गौरीशंकर तीर परावर्तित हुँदै उसको आँखामा एउटा चहकिलो चमक बनेर फर्कियो, उसले आफ्नो भित्र एउटा अभूतपूर्व र ऊर्जावान् शान्ति महसुस गर्यो। खम्बाको त्यो स्थिरता अब उसको एकाकीपन रहेन, बरु आफ्नै खुट्टामा उभिने र संसारका जस्तोसुकै लहरहरूसँग जुध्ने आत्मबल बन्यो।
जब उसले अन्तिम पटक क्यानभासमा आफ्नो कुची चलायो, एउटा जादुमय दृश्य प्रकट भयो, जहाज अब समुद्रको बीचमा अलपत्र थिएन, बरु सुनौलो प्रकाशको बाटो पछ्याउँदै एउटा नयाँ गन्तव्यतर्फ उन्मुख देखिन्थ्यो, सोला भंज्याङ्गको गेट प्रवेश गरी गढीको सालिकभरि ठिङ्ग उभिएर एकताको औंला ठड्याएका पृथ्वीलाई सलाम गर्दै उँभोतिर लागे जसरी। क्षितिजमा अल्झिएका ती रङहरू अब उसको निराशाका धुमिल छायाँ रहेनन्, बरु भोलिको उज्यालो बिहानीका भरपर्दो सारथि बनेर झुल्किए। उसले एउटा लामो र गहिरो श्वास फेर्दै मुस्कुराएर कुची बिसायो किनकि उसले अन्ततः बुझिसकेको थियो, जीवनको जहाज जतिसुकै विशाल र डरलाग्दो समुद्रमा किन नहोस्, यदि संकल्पका डोरीहरू बलिया छन् र आत्मिक विश्वासको खम्बा मजबुत छ भने, हरेक साँझले अन्धकार होइन, बरु एउटा नयाँ आशा र सम्भावनाको क्षितिज बोकेर ल्याउनेछ। क्यानभास पूरा भयो, तर त्यो केवल एउटा चित्रको समाप्ति थिएन, त्यो त उसको मनभित्रको एउटा नयाँ, अजेय र ऊर्जावान् ‘मानव’ बन्ने ‘अभ्यास’ को पुनर्जन्म थियो, जो अब कुनै पनि आँधीसँग डराउँदैनथ्यो, बरु ती लहरहरूमा पनि मर्निङ हिलिङ्ग सेसनको रङ भर्न तयार हुँदै थियो।
ब्रह्माण्डको कुनै अज्ञात र सुदूर क्षितिजमा, जहाँ समयको पदचाप समेत निस्पट्ट अन्धकारमा ठोक्किएर फर्कन्छ, एउटा बिउले मृत्युको ठिहिर्याउने काखभित्रै जीवनको आदिम न्यानोपनको खोजी गरिरहेको थियो। माटोको अभेद्य र गह्रुँगो छातीले थिचिएको त्यो लघु-अस्तित्वको मौन क्रन्दन सुन्ने धैर्य सायद रित्तो शून्यतासँग पनि थिएन तर त्यही महाशून्यताको गर्भगृहभित्र एउटा तिलस्मी विष्फोट भयो ‘सङ्कल्पको विष्फोट’। आफ्नै शरीरको कठोर कवचलाई छियाछिया पार्दै, पाषाण-हृदयी ढुङ्गाका दाँतहरूसँग पौँठेजोरी खेल्दै र मृत्तिकाको तिर्सना मेट्दै जब एउटा सुकोमल सुइरोले धर्तीको सतहमा शिर उठायो, ऊसँग न कुनै संहारक हतियार थियो, न त आत्मरक्षक ढाल। ऊसँग थियो त केवल एउटा ‘पालुवा’ बन्ने काँचो र पवित्र स्वप्न-बिम्ब।
ऋतुका चक्रहरूसँगै त्यो पालुवा एउटा वनस्पति-अङ्गको सीमा नाघेर अनेकौँ मानवीय रङ्गहरूको रङ्गमञ्चमा रूपान्तरित भयो। कहिले बाल्यकालको निर्दोष ‘भाँडाकुटी’मा एक काल्पनिक सिंहासन बनेर मुस्कुरायो, त कहिले अभावका ओठहरूमा सुकेर भुइँबाट टिपियो अनि कहिले ‘दुना टपरी’को आकार लिँदै जीवनको गाँसलाई मर्यादा दियो। झरीको क्रन्दनमा ऊ ‘घुम’ बनेर ओत बन्यो त कतै ‘निसर्गदत्त’को चेतनाको रापमा ‘बिँडी’ बनेर आफ्नै शरीरलाई धुवाँको कुइरीमण्डलमा विसर्जन गरिदियो। छिमेकीको गोठबाट निस्किएको ‘बिगौती’ को तातो स्पर्शलाई आफ्नो कोमल काखमा थाम्दा, उसले सायद ब्रह्माण्डीय मातृत्वको अमृत र त्यसको अन्तर्निहित पीडालाई एकैसाथ चुम्यो होला।
यो आख्यानको सबैभन्दा तरल र विरोधाभासी मोड तब अङ्कित हुन्छ, जब एक निर्दोष गायनले यसलाई स्पर्शको माधुर्यले ओल्टाई-पल्टाई छाम्छ। औँलाहरूका ती रेशा-रेशाले जब पातका नसाहरूभित्रको स्पन्दनलाई सुम्सुम्याउँछन्, तब हावाको झोक्कासँगै एउटा गीतको अंश स्वतः प्रतिध्वनित हुन थाल्छ “हेरेर तिमीलाई, देखेर तिमीलाई… भेटेर तिमीलाई, सम्झेर तिमीलाई…”। त्यो पात, जो अब कसैको सङ्गीतको मूक सारथी बनिसकेको छ, उसले आफ्नो अस्तित्वलाई पूर्णतः अर्पणको अग्निकुण्डमा होमिदिन्छ। उसलाई अब यो हेक्का छैन कि ऊ आफ्नै लयमा बाँचिरहेको छ, वा त्यो सङ्गीतको धूनमा जसले उसलाई अन्तिम पटक मायालु संवेगले स्पर्श गरिरहेको छ।
यसको महागाथा लामो र श्रृंखलाबद्ध छ तर यसको परम विष्मय त ‘झर्नु’ को सौन्दर्यमा लुकेको छ। जब शिशिरको नीलो तुषारोले उसको हरियो यौवनलाई पहेँलो वैराग्यको वस्त्र पहिर्याइदिन्छ, तब ऊ हाँगाबाट कुनै गुनासो बिना, एक शान्त साधु झैँ ओर्लन्छ। उसलाई थाहा छ आफ्नो पतन नै अर्को नव-पालुवाको उदयको आधारशिला हो।
जब ऊ भुइँमा पछारिन्छ र पथिकहरूले ‘पतिङ्गर’ को संज्ञा दिँदै निर्दयी भएर कुल्चिन्छन्, उसले त्यो चोटलाई पनि एक दिव्य आशीर्वादको रूपमा ग्रहण गर्छ। ऊ गलेर माटोमै समाहित हुन्छ र फेरि त्यही जडलाई ऊर्जा प्रदान गर्छ, जसले आगामी वसन्तमा अर्को नयाँ सपनालाई जन्म दिन सकोस्। यो एउटा यस्तो शाश्वत चक्र हो, जहाँ ‘हुनु’ र ‘नहुनु’ बीचको कृत्रिम पर्खाल ढल्छ र एउटा विनम्र अस्तित्वले पुनर्जीवनको गीत गाउँछ।
कुनै एउटा टाढाको पहाडको काखमा, जहाँ बादल र कुहिरोहरूले रुखका हाँगाहरूसँग लुकामारी खेल्थे, त्यहाँ एउटा सानो तर झिलिमिली परेको कुटी थियो। त्यही कुटीमा उ आफ्नो बाल्यकालका कलिला पाइलाहरू चाल्दै गुरुको सामिप्यतामा हुर्कँदै थियो। अरू बालबालिकाहरू बाहिर मैदानमा दौडिरहँदा, उसलाई भने गुरुले एउटा सानो माटोको घैँटो र एउटा बीऊ दिएर एकान्त कुनामा बस्न लगाउनुभएको थियो। उसको लागि त्यो केवल एउटा बीऊ थिएन, बरु एउटा नसुल्झिएको पहेली थियो। उसले दिनभरि त्यो माटोलाई हेर्थ्यो, तर त्यहाँ केही पनि हलचल हुँदैनथ्यो। उसलाई लाग्थ्यो, के यो बीऊ निदाइरहेको छ? वा यो भित्र केही भइरहेकै छैन? उसको मनमा जिज्ञासाका अनेकौं लहरहरू चल्थे, तर गुरुको शान्त र गम्भीर उपस्थिति देखेपछि उ चुपचाप आफ्नै भित्री जगतमा फर्कन्थ्यो। गुरुको निगरानी कुनै शासन जस्तो थिएन, बरु एउटा शीतल छाया जस्तो थियो जसले उसलाई बाहिरी संसारको भड्कावबाट जोगाएर आफ्नै आत्माको ऐना हेर्न प्रेरित गर्थ्यो।
एकदिन, धैर्यताको बाँध टुट्न लाग्दा उसले गुरुलाई सोध्यो, “गुरुदेव, यो बीऊ किन यति धेरै समयसम्म एक्लै अँध्यारोमा बस्छ? के यसलाई एक्लो महसुस हुँदैन?” कुखुराका अण्डाहरू पनि त त्यो बिऊ सँगै अँध्यारो मै थिए त तर चाँडै चल्लाहरू बनेर निस्किए त, ती पनि त बिऊ नै थिए नि होइनन् र ? गुरुले उसको कलिलो टाउकोमा हात राख्दै मन्द मुस्कानका साथ उपनिषद्को एउटा गहन सत्य सुनाउनुभयो, “असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय ।” अर्थात्, “हे वत्स! यो बीऊ अहिले असत्यबाट सत्यतर्फ र अँध्यारोबाट उज्यालो तर्फको यात्रामा छ। बाहिरबाट हेर्दा यो चुपचाप छ, तर भित्रभित्रै यसले आफ्नो पुरानो अस्तित्वलाई गलाएर नयाँ स्वरूपको निर्माण गरिरहेको छ। गहिरा कामहरू त सधैँ एकान्तमै हुन्छन्। अनि सबै बिऊहरु एकै समयमा अंकुरित हुनै पर्छ भन्ने पनि छैन नि, प्रकृतिका नियममा अनेक लिला हुन्छन्, बिउका योग अनुसार तीनका भोग हुन्छन् ।” गुरुको यो कुराले उसलाई गहिरो आत्म-निरीक्षणमा पुर्यायो। उसले बुझ्यो कि जसरी बीऊले बाहिरी दुनियाँलाई बिर्सेर माटोमुनि आफ्ना जराहरू बलिया बनाउँछ, उसले पनि आफ्नो चञ्चल मनलाई बाँधेर आत्म-स्मरणको बाटो रोज्नुपर्छ। उसले आफ्ना पुराना जिद्दीहरू, सानातिना रिसहरू र चञ्चलतालाई बिस्तारै नियाल्न थाल्यो। यो उसको लागि एउटा यस्तो सिकाइ पद्धति बन्यो जहाँ किताबका अक्षरहरू भन्दा धेरै आफ्नै भित्री मौनताले पाठ पढाइरहेको थियो सुस्तरी सुस्तरी, धर्यपुर्बक स्वभाव अनुसारको योगमा अनि अहंकार बिसर्जन अभ्यासमा,
“ॐ वैरोचनीये विद्महे छिन्नमस्तकायै धीमहि तन्नो देवी प्रचोदयात्” गुरु आज्ञाले जप गर्दै एकान्तको गहिराइमा…..।
निशान्तको पैतालामुनि काठमाडौँको सडक अझै न्यानिएको थिएन, बरु एउटा पुरानो ‘लुप’ले उसलाई भित्रभित्रै डढाइरहेको थियो। पोखराको फेवातालमा माछापुच्छ्रेको छायाँलाई मुठ्ठीमा कैद गरेर आएको त्यो साधक, बागमतीको धमिलो पानीमा आफ्नो अस्तित्वको ऐना खोज्दै थियो। झोलामा लोकसेवाका मोटा किताबहरू र हृदयमा ‘फोर्थ वे’ साधनाको गहिरो सूत्र बोकेर ऊ कलंकी ओर्लँदा, उसलाई लागेको थियो यो यात्रा कार्मिक ऋण तिर्ने अन्तिम किस्ता हुनेछ, पक्कै उसलाई calling भएरै यहाँ ल्याइएको हो भन्ने जस्तो लाग्छ तर, शंखमुलको एउटा साँघुरो कोठामा जब ऊ तयारी कक्षाको पहिलो अक्षर पल्टाउँछ, ती अक्षरहरू अक्षर नभएर उसलाई बाँध्ने साङ्ला बनिदिन्छन्। उसको स्वभाव ‘बग्नु’ थियो, तर यहाँ उसलाई ‘थुप्रिनु’ सिकाइँदै थियो। ती ऐन, नियम, प्रशासन र संवतका रेखाहरूमा उसले आफ्नो आत्माको संगीत कतै भेट्दैन, बरु एउटा यान्त्रिक मान्छे बन्ने दौडको धुलो मात्र देख्छ।
हरेक बिहान जब बागमती छेउको UN park को चौरमा सूर्यको पहिलो किरण आँफु एक्लैसँगको लडिबुडीमा ठोकिन्छ, निशान्तको भित्री आकाशमा भने एउटा भयानक हतासाको मेघ गर्जन्छ। हृदयभित्र ऊ अब्बल गुरुको सामिप्यमा छ, जसले बारम्बार भनिरहन्छन्, “निशान्त, यो विरक्ति नै तिम्रो लुप ब्रेक गर्ने ढोका हो, तिम्रो पुरानो ‘म’ मर्ने अन्तिम अवसर हो।” तर, पशुपतिको सन्ध्या आरतीमा शंखको धुनसँगै हराइरहँदा पनि उसको एउटा खुट्टा सधैँ पोखरातिरै फर्किन खोज्छ। एकातिर ऊ धर्म र मोक्षको मार्गमा हिँड्ने सङ्कल्प गर्छ, सत्संगी साथीहरूको काँधमा हात राख्छ, तर उसको चेतनाको एउटा कुना अझै पनि ‘काम र अर्थ’को आकर्षक दलदलमा संकल्प भासिन लालयित देखिन्छ।
उसले आफ्नै अस्तित्वलाई गिज्याउँदै एउटा गहिरो सुस्केरा हाल्छ र भन्छ, “अचम्म छ यो मानव चोला, जहाँ बुद्धको करुणा र बजारको तृष्णा सँगै सुत्न खोज्छन्।” उसलाई थाहा छ, पोखरा फर्किनु भनेको केवल ठाउँ सर्नु होइन, बरु आफ्नो पराजयलाई आत्मसात् गर्नु हो तर, हरेक रातको निद्राबाट बिउँझिँदा ऊ आफूलाई फेरि त्यही पुरानो चक्रको सुरुवातमै पाउँछ। साधनाले उसलाई ‘साक्षी’ बन्न सिकाउँछ, तर उसको मायावी मनले उसलाई ‘भोक्ता’ नै बनाइराख्न खोज्छ। ऊ एउटा यस्तो दोबाटोमा उभिएको छ, जहाँ एउटा बाटोले उसलाई सरकारी जागिरको सुरक्षित तर यान्त्रिक भविष्यतिर लैजान्छ भने अर्को बाटोले गुरुको ‘शून्य’ तिर तर निशान्त, जो लुप ब्रेक गर्न आएको थियो, ऊ अहिले आफैँ एउटा जीवन्त ‘लुप’ बनेर काठमाडौँको धुलाम्मे कुहिरोभित्र हराइरहेको छ, जहाँ उसको मोक्षको भोक र संसारको तिर्खा बीचको युद्ध कहिल्यै नटुंगिने महाकाव्य झैँ लेखिइरहेछ।
हुनत उसका लागि सहानुभूति दिने सत्संगी साथीहरुको कमि पनि छैन। कोही विदेशको बैभवता (काम, अर्थ) छाडेर धर्म र मोक्षका लागि गुरु सरणमा छन्, कोही सुकरातकी जस्ती घोरमुखा पत्नी नभएपनि आफ्नो साधना लाई डिस्टर्ब गरेको पाएकोले तीनलाई त्यागेर आध्यात्मिक अभ्यासमा लाग्न उद्दत भएको देखिन्छ त कुनै साथी प्यारा बालबच्चा १८ वर्ष कहिले पुग्लान् र छाडेर गुरु सरणमा जाउँ जाउँ गरिरहेका छन्। शुभचिन्तक कै रुपमा उसको जीवनमा एउटी पुतली पनि घरि न घरि भेटिइरहन्छिन् मोबाइलको स्क्रिनमा र स्पिकरमा हुनत ती झ्याम्पुतली चाहिँ होइनन्, समाजका अशल केटीहरु मध्ये कि अब्बलै सरह हुन् । जेहोस् उसको भलो चिताउनेहरुको कमी छैन। एउटा साथीले त भन्दै थियो उसलाई, “काँधमा बिरालो राखेर बोटबिरुवाको जरामुना सुम्सुम्याएर खाइन सक्ने तिम्रो आफ्नै विषयमा सम्बन्धित लोकसेवा कै जागिरमा फोकस गरन त यदि तिमिलाई लोकसेवा मै जागिर खानु छ भने किनभने तिम्रो स्वभाव जन्य रोजगारी त्यहि नै त देखिन्छ, नत्र कुनै ब्यापार, ब्यवसाय, कृषी फार्म संचालन गर त्यो पनि तिम्रो स्वभाव र पढाई जुन प्रकृति र प्राकृतिक क्रियाकलापहरुमा निकट हुने किसिमका ।” त्यसो त उसलाई जन्माउने स्वयं आमा नै जतिखेर पनि च्याहिरहन चाहान्छिन् स्वदेशमै जसलाई छाडेर लुप ब्रेक गर्न यता आएको छ अनि आफ्ना एकदमै नजिकका नातेदारहरूले पनि बिदेशबाट झस्काइरहन्छन् शुभचिन्तक कै रुपमा तरपनि उसका लागि एक्लै पाउँछ उ आँफुलाई घरि न घरि, दोधारे सिरानीमा कोल्टे फेरिरहन्छ । आफ्ना दुई खुट्टालाई घरि पोखरा र घरि काठमाडौंमा हालिरहेको हुन्छ। हुनु पर्ने थियो, एउटा खुट्टा तत्काललाई ब्यबहारिक दुनियाँमा न्युनतम टिक्न मात्र र अर्को खुट्टा सधैं उचालिरहेकै ‘परमार्थ’ तर्फ नै किनभने उसमा त्यसका लागि भरमार सम्भावना छ। तैपनि उसका बिरोधाभाषमा छचल्किएका अनेक मनहरु यतिधेरै छट्पटाइरहेका छन् कि खुट्टा फेरिरहेको, घुँडा हल्लाइरहेको, हातका बाहुला सारेर घडि हेरिरहेको, मोबाइलमा स्क्रोलिङ्ग गरिरहेको पत्तै नपाई मेकानिकल्ली भइरहेछ अटोमेटिक मेसिन जसरी।
यत्तिकैमा कन्क्रिट घरको एल्मोनियम झ्यालको चेपबाट बागमती तीर फर्किएर एउटा कविता गुन्गुनाउँछ,
“धर्मको दीपलाई
आफ्नै सासले निभाएर,
म सिक्काको उज्यालोमा
छायासँग नाच्दैछु…
मोक्षको बाटो
अहिलेलाई मुटुको कुनामा थन्क्याएर,
काम र अर्थको भेलमा
आफैंलाई बिर्सिएको छु
तर,
प्रत्येक कमाइको झिल्काभित्र
एउटा अधुरो शान्ति पोलिरहेछु…।
सारै गारो भएर अब आफ्नो परम प्रिय गुरुलाई एउटा पत्र लेखेरै उपयुक्त सल्लाह खोज्न , पाउन मन गर्छ र लामो सास फेर्दै शुरु गर्छ।
श्रद्धेय गुरुदेवको श्रीचरणमा यो भ्रमित साधकको अनन्त दण्डवत् प्रणाम 🙏❣️
गुरु, म अहिले काठमाडौँको यो कोलाहलपूर्ण मध्यरातमा एउटा यस्तो ‘लुप’ भित्र कैद छु, जहाँ समय त अगाडि बगिरहेछ तर मेरो चेतना भने फेवातालको किनारमा अल्झिएको पुरानो डुङ्गाझैँ एउटै वृत्तमा घुमिरहेको छ । हजुरले भन्नुभएको थियो, “निशान्त, त्यो काठमाडौँ तिम्रो लागि भूगोल मात्र होइन, यो तिम्रो ‘फोर्थ वे’ साधनाको एउटा कडा प्रहार हो, जहाँ तिमीले आफ्नो मेकानिकल स्वभावलाई भङ्ग गर्नुपर्छ जहाँ म आफैं पनि त्यसमा घोलिएर अनि छानिएर लुप ब्रेक गरेर निस्किएको छु” तर गुरु, जब म बागबजार, पुतलीसडकका ती उकुसमुकुस कक्षाहरूमा लोकसेवाका शुष्क अक्षरहरूभित्र आफ्नो भविष्य खोज्न थाल्छु, मलाई लाग्छ म आफ्नो आत्मालाई एउटा साँचोमा ढाल्न खोज्दैछु जुन मेरो स्वभावसँग कहिल्यै मेल खाँदैन । मेरो भित्री मनुष्यले विद्रोह गर्छ र पोखराको त्यो खुल्ला आकाश अनि शान्त शून्यतातिर तानिन्छ । मलाई लाग्छ, म यहाँ सरकारी सेवाको तयारी गर्न होइन, बरु आफ्नो जीवन्तताको दाहसंस्कार गर्न आएको हुँ ।
हजुरले सधैँ भन्नुहुन्छ कि यो छटपटी नै ‘कार्मिक फल’ काट्ने सुनौलो मौका हो, एउटा लुप ब्रेक गर्ने ढोका हो तर गुरु, हरेक बिहान जब म आफ्नो होस्टेल कोठाको बार्दलीमा ओसका थोपाहरूसँगै बिउँझन्छु, मभित्र एउटा आदिम भय जाग्छ । घरि-घरि धाएरै म पशुपतिको सन्ध्या आरतीको त्यो शंखध्वनिमा हराउन खोज्छु, त्यहाँको खरानीमा मोक्षको सुगन्ध सुँघ्न खोज्छु, तर मेरो गोजीमा भएको रित्तोपन र समाजले सोध्ने ‘काम र अर्थ’ को प्रश्नले मलाई फेरि त्यही तुच्छ चक्रमा पछारिदिन्छ । मसँग हजुरजस्तो बुद्ध पुरुषको साथ छ, सबल सत्संगीहरूको टेवा छ, तैपनि म किन यो ‘काम र अर्थ’ को मोहजालबाट बाहिर निस्कन सकिरहेको छैन ? मेरो साधनाको दियो किन यो संसारी हावाको एउटै झोक्कामा हल्लिन्छ ?
गुरु, मलाई लाग्थ्यो म मोक्षको यात्री हुँ, तर आज महसुस गर्दैछु म त केवल एउटा यस्तो कैदी हुँ जो आफ्नो हतकडीसँगै प्रेम गरिरहेको छ । यो लुप ब्रेक गर्नु भनेको त आफ्नै एउटा हिस्सालाई मार्नु रहेछ, जुन मलाई साह्रै धौ-धौ भइरहेको छ । मेरो बुद्धत्वको तिर्खा र यो संसारको भोगको भोक बीचको युद्धमा म थकित भएको छु । यो पत्र लेखिरहँदा मलाई लाग्दैछ, सायद मेरो वास्तविक साधना यो छटपटीलाई नकार्नुमा होइन, बरु यसलाई पूर्ण रूपले भोगेर यसको निःसारता बुझ्नुमा छ कि ? म लुप तोड्न खोज्दा झन् नयाँ लुपमा परिरहेको त छैन ? मेरो यो अन्धकारपूर्ण यात्रामा हजुरको करुणाको एउटा मधुर प्रकाशको प्रतीक्षामा छु । लेख्न अझै धेरै लागेको छ अक्षरहरूमा पोखेर भलै तर हजुरले भन्ने गर्नु भएको ‘The answer is a state not a word’ महसुस गरेर मेरा अवस्था बुझेर यो भड्किरहेको कथित साधकलाई उचित सल्लाह सुझाव दिएर ट्र्याकमा डोर्याउनु हुनेछ। हुनत साथीहरु सँग पनि सल्लाह सुझाव नमागेको होइन तर उनिहरु पनि त साधना मै हुने रहेछन्, उनिहरुको साधनाले म भित्र बढि गहिराइमा नछिरिकन हल्का सुझावको झलक दिने मात्र को कर्तब्य हुने रहेछ, धेरै Interfere गर्न नमिल्ने रहेछ। त्यसैले उनिहरुलाई दोष र अनावश्यक अपेक्षा नराखीकन बरु हजुरको हृदयमा बास बस्नु नै परम निकटता उपस्थिति रहेछ । पत्रको पुछारमा ‘उहि हजुरको….’ लेख्ने चलन छ तर म त्यसो लेख्न लज्जित छु, हजुरको म भन्न योग्य पात्रता देख्दिन आँफुलाई। त्यसैले हस् त यत्तिमै अहिलेलाई टुङ्ग्याउँछु।
अहंकारको एउटा अभेद्य र सिसा झैँ धारिलो टापुमा उभिएको त्यो ‘उ’, जसको नयनमा आफ्नै प्रतिबिम्ब बाहेक अरू सबै धुमिल र अर्थहीन लाग्थे। उसले सोचेको थियो, यो अस्तित्वको विशाल क्यानभासमा ऊ एउटा यस्तो एक्लो रङ्ग हो, जसलाई चित्र पूर्ण गर्न अरू कुनै रङ्गको सापट चाहिँदैन। उसको चेतनाको मझेरीमा जहिले पनि एउटा अट्टहास गुञ्जिरहन्थ्यो, “म नै सृष्टिकर्ता हुँ, मेरो पसिना नै मेरो मोक्ष हो।” तर, जब समयको निष्ठुरी तुषारोले उसको एकलकाटे सपनाको जरा काट्न थाल्यो, तब उसले महसुस गर्यो कि एक्लो श्वासले त केवल बाँच्न सकिन्छ, तर जीवनको उत्सव मनाउन त अरूका धड्कनहरूको पनि लय चाहिन्छ।
अध्यात्मको नाममा उसले कयौँ पटक आँखा चिम्लियो, गुफाका भित्ताहरूसँग संवाद गर्यो र आफूलाई संसारबाट पृथक् पारेर एउटा ‘परम सत्य’ खोज्ने ढोंग रच्यो तर, जति जति ऊ भित्र पस्दै गयो, उति उति उसले शून्यताको एउटा चिसो मरुभूमि मात्र भेट्यो। जब उसले आफ्ना अहंकारका वस्त्रहरू फुकालेर सामाजिक संस्कारको त्यो साझा आँगनमा आफूलाई होमिदियो, जात वर्ग धर्म संस्कृति को आधारमा अरु प्रति राख्ने गरेको द्वेष दृष्टिलाई क्षमायाचना माग्यो, प्रजातन्त्र र समावेशीलाई शान्तिपुर्वक आत्मसाथ गर्न थाल्यो तब बल्ल उसले बुझ्यो परमार्थ त गुफाको एकान्तमा होइन, बरु ‘हामी’ को सामूहिक प्रार्थना र एक अर्काको आँसु पुछ्ने रुमालमा लुकेको हुँदो रहेछ। एउटा दियोले अँध्यारो त मेटाउँछ, तर संसारलाई चिनाउन त करोडौँ दीयोहरूको एकत्वको उज्यालो नै चाहिन्छ भन्ने महसुस भयो र बल्ल अल्बर्ट आइन्स्टाइनको “हाम्रो भाग्य एकअर्कासँग जोडिएको छ, हामी सबै एउटै डुङ्गाका यात्री हौं। व्यक्तिगत सफलताको कुनै अर्थ छैन यदि त्यसले समग्रताको सामूहिक हितलाई समेट्न सक्दैन भने।” भनाई उसलाई सारै सार्थक लाग्यो र अनयासै सितलनिवासको शंखनाद सहितको भिक्षु र बटुकहरुको सामुहिक उपस्थिति हृदयमा गुञ्जियो अनि आफ्नो स्वभावसँग मिल्दा मिनिङ्गफुल ब्यक्तिहरुसँगको सत्संगको यादमा एउटा कविता फुर्न पुग्यो:
कन्क्रिट घरको एल्मोनियम झ्यालको एउटा सानो चेपबाट छिरेको धमिलो उज्यालोमा आफैंसँग आफैं जुद्दैछ जुन उज्यालो बाहिर सडकको निष्पट्ट अँध्यारोमा उँदो घोप्टिएर टोलाइरहेका बिजुलीका पोलबाट अलिकति उभ्रिएर छिरेको थियो। कोठाभित्र एउटा मानव शरीर छ तर त्यहाँभित्र एउटा मात्र मान्छे छैन। त्यहाँ त भिडभरिको मान्छे छ। परस्पर विरोधी स्वरहरूको एउटा कोलाहलपूर्ण हाटबजार छ। अधबैंसे उमेर। ओठहरू सुकेका। आँखीभौं आधासरो फुलिसकेका। आँखामुनि कालो घेरा। उ आफैँभित्रको Dark Night of the Soul को त्यो अन्तिम प्रहरमा छ अनि Buffer zone को पराकाष्ठामा छ जहाँ चेतनाको अन्तिम त्यान्द्रो पनि चुँडिनै लागेको छ।
“किन जन्मिएँ म?” एउटा स्वरले शून्यतालाई चिथोर्यो।
“मर्न पनि त सकिनस्,” अर्कोले गिज्यायो।
“होइन, म त महान् छु,” एउटा सानो कुनामा बसेको अहंकारले फुरफुर गर्यो।
“थुक्क! तँ त एउटा कीरा होस्, छि !” फेरि अर्कोले हतास बनायो।
सारै तनाव भएर रिफ्रेस गर्नलाई, अलि पहिले बिदेश घुम्न जाँदा कसोकसो चिनिएको साथिलाई मेसेज गर्छ मोबाइलबाट, “के छ हालखबर ?, तिम्रो देशतिर केहिदिन बसेर फ्रेस हुन मन लाग्यो, हुन्छ?” यत्तिकैमा सोध्न मन लाग्छ “तिम्रो प्रधानमन्त्री को हो?” “थाहा छैन ” जबाफ आउँछ। “कसलाई भोट दियौ त ?” अचम्म लागेर सोध्छ । “याद छैन” वास्तै नगरी जबाफ फर्काउँछ । त्यस्तो जबाफले उ झन् छक्क पर्छ, “किन हावा गडी कुरा?” “सबै systematic छ, शुसासन कायम छ, भ्रष्टाचार नगन्य छ, जबाफदेहीता अधिकतम छ, किन याद राख्नु त ?” क्लियर जबाफ आउँछ। उ पुरै छक्क पर्छ। यहाँ उसलाई चाहिँ देशका सबै नेताहरुको नाउँ गाउँ र सुरुङ्ग भित्रको समेत खबर राख्नु परेको छ। देशको ब्यथा पनि ब्यहोर्दै आँफुलाई चिथोर्नु परेको छ।
उ एउटा यस्तो मेसिन देखिन्थ्यो जसलाई कहिले रिसले चलाउँथ्यो, कहिले लोभले, त कहिले विरक्तिले। अनेक अनेक किताबहरू संकलन गर्दै, पढ्दै, ठेलिका ठेलि किताबहरू अंग्रेजीमा लेखिएको होस् या संस्कृत र अनि हिन्दी, नेपाली मा लेखिएका सबै जम्मा पार्दै पढेर अब म निकै ठूलो आध्यात्मिक साधक बनेँ क्यार सोच्दै गयो। र साथ साथै YouTube, Google तिर बाट पनि सोहोर्न थाल्यो अर्ति उपदेश बिधि ज्ञान का कुराहरु। उसलाई पत्तै भएन बिना जिउँदो गुरु, गुरुको प्रत्यक्ष सहभागिता, निगरानी, सामिप्यता, निकटता , उपस्थिति, अनुशासन कुनै पनि हालतमा being को बोध हुदैन ; एकदमै कम कोही कोही मात्र उच्च स्तरको साधक जसले लगभग सबै साधना अघिल्लो जन्ममा पार गरेर आएको करोडौँमा एकादुइ बाहेक भन्ने, अनेक शास्त्रीय पण्डित्याईंले त बरु झन् झन् केबल knowing को अहंकार बढ्दै गइरहेको छ भन्ने। सबैलाई भन्दै अनि प्रवचन र किताबका लेखकहरू, बिधिहरु कुर्लिँदै हिड्न पनि सँगसँगै छाडेन अर्को तिर उसको Subconscious mind को अँध्यारो सुरुङमा हजारौँ ‘म-हरू’ लुकामारी खेलिरहेका थिए। सायद पुस्तौं पुस्ता देखि र जुनि जुनि देखि कचल्टिएर थुप्रिरहेको । एउटा ‘म’ ले भन्यो ‘भोलिबाट म बदलिनेछु।’ तर भोलिपल्ट बिउँझिँदा अर्को ‘म’ ले त्यो बाचालाई चपाएर थुकिदियो।
“पागल भएँ म।” उसले ऐनालाई भन्यो।
ऐनाले सोध्यो, “कुन चाहिँ ‘म’?”
उ हतासियो। “ला! म त कोही पनि होइन रहेछु कि क्या हो।”
त्यही कहालीलाग्दो ओहापोहको बीचमा, एउटा मौनता आयो, गुरु, साकार रुप, ठिङ्ग उभिएको उमेर उसको भन्दा निकै कम तर सामर्थ्य हजारौं वर्ष बिताइसकेको जस्तो, दारी जुँगा मुसार्दै, बीचका औठहरु शान्तिमा मुस्काउँदै। जिउबाट भर्खरै भिजेको माटो र बोटबिरुवाको काँचै सुगन्ध आइराछ । जंगल मै घर छ रे तर अरु सयवटा रुख किनेर थपेको रे। आँफुले स्वाँट्ट चुरोट ताने निसर्गदत्तको बिँडि जसरी अनि उसलाई चाहिँ ल्यावेन्डरको सिधै बोटै निचोरेर बनाएको essential oil को सानो सिसि दिए, “ला, तँ यो स्वाँट्ट सुँघेर तान” भन्दै ।
तिनको उपस्थितिमा बल्ल सुरु भयो अब खाँटी सत्संग मतलव ‘मानव बन्ने अभ्यासमा’ कयौं कयौं ज्ञानका कुराहरु सहित क्रियायोग, humming, breathing र body scanning सँगै Self observation आफ्नै नाङ्गोपनलाई बिना कुनै पर्दा हेर्ने कष्टकर यात्रा। उसले हेर्न थाल्यो, जब रिस उठ्छ, एउटा ‘म’ कसरी जन्मन्छ र कसरी उसलाई कठपुतली बनाएर नचाउँछ। जब दुःख लाग्छ, कसरी अर्को ‘म’ ले उसलाई दलदलमा भास्छ। अब निस्किन थाल्यो उसका subconscious mind भित्र कचल्टिएर गुजुल्टिएका घाउहरू, पट्पट् गर्न थाले टाउको, कक्रक्क हुन थाल्यो कम्मर, काटिन थाले कुधारणाहरु, अर्को भयानक छटपटि, तडप शुरु हुन थाल्यो अंगअंगमा। कम गर्न घरि हार्मोनियमको नोट्स त घरि गितारको कर्ड्स्मा भजन गाएर बिसर्जन गर्न खोज्यो । अनेक अभ्यास पछि बल्ल उ साक्षी बन्न थाल्यो। बिस्तारै एउटा यस्तो दर्शक बन्दै गयो, जो आफ्नै आत्महत्या हेर्न विवश छ।
“सास्ती भयो,” उसले बर्बरायौ। “हेरिरह,” भित्रबाट एउटा शान्त स्वर आयो। वर्षौँसम्म उ आफ्नै भित्रको यो नर्कमा बस्यो। कठिन समय, परिक्षापछि बिस्तारै बिस्तारै महसुस हुन थाल्यो बल्ल Self-remembering को एउटा मधुरो दियो जसलाई उसले आफ्नो नाभीमा बालेर राख्यो। हरेक साससँगै उ बिउँझिन खोज्यो। हरेक पाइलासँगै उसले आफूलाई सोध्यो “के म यहाँ छु?” “हो, म यहाँ छु।” बिस्तारै-बिस्तारै, ती हजारौँ कोलाहल गर्ने ‘म-हरू’ थाक्न थाले। ती विरोधाभासी स्वरहरू एउटै गहिरो मौनतामा विलीन हुँदै गए। जस्तो कि, एउटा महासागरमा हजारौँ साना नदीहरू मिसिएपछि एउटै मात्र शान्त फैलावट बाँकी रहन्छ। अन्ततः एउटा यस्तो बिहान आयो, जहाँ सबै कुहिरो फाट्यो। जन्मियो एउटा Permanent ‘I’ (स्थायी म), मात्र एउटै। आकाश अब रित्तो छ, तर त्यो शून्यतामा एउटा अलौकिक संगीत छ। उ एउटा यस्तो शान्त समुद्र बन्यो, जसमा छालहरू छन् तर गहिराइ अविचलित छ। हृदयमा एउटा यस्तो दियो बल्यो, जसलाई अब बाहिरी हावाले निभाउन सक्दैन।
“को छ?” एउटा आवाज आयो।
“म छु,” उसले भन्यो। “र, केवल म मात्र छु।”
अहिले उही पुरानो कोठा छ। उहि झ्यालको उहि चेप, सडकको बत्ति उसैगरी घोप्टिएर अझै टोलाइराछ, उही पुरानो संसार तर अब त्यहाँ कुनै युद्ध छैन। अब त्यहाँ कुनै ‘थुक्क म’ छैन। अब त्यहाँ कुनै ‘हतास म’ छैन। जीवन अब एउटा यस्तो कविता बनेको छ, जसमा शब्दहरू थोरै छन् तर अर्थ अनन्त छ। सकारात्मकता अब उसको रगतको लय बनेको छ। उ मुस्कुरायो। एउटा यस्तो मुस्कान, जसमा हजारौँ वर्षको थकान मेटिएको थियो। पहिले ढोङ्गमा पढेका अक्षरहरुका भाव बल्ल जीवनका आँखाले चिनेका छन् । किताबका शब्दहरु बल्ल विनयशिलताले बोलिरहेका छन् । फोर्थ वे का तीनै अंगहरु बल्ल एकैचोटी चलिरहेका देखिन थालेका छन् । फोर्थ वे मै जम्मै जीन्दगी अटाउने बुझिएका छन् । अध्यात्म भनुँ या जीवन अब एउटै भेटिन थालेका छन् ।