संसारमा अद्भुत कुराहरु ब्यक्तिहरुको सहकार्यले भएका हुन्

अहंकारको एउटा अभेद्य र सिसा झैँ धारिलो टापुमा उभिएको त्यो ‘उ’, जसको नयनमा आफ्नै प्रतिबिम्ब बाहेक अरू सबै धुमिल र अर्थहीन लाग्थे। उसले सोचेको थियो, यो अस्तित्वको विशाल क्यानभासमा ऊ एउटा यस्तो एक्लो रङ्ग हो, जसलाई चित्र पूर्ण गर्न अरू कुनै रङ्गको सापट चाहिँदैन। उसको चेतनाको मझेरीमा जहिले पनि एउटा अट्टहास गुञ्जिरहन्थ्यो, “म नै सृष्टिकर्ता हुँ, मेरो पसिना नै मेरो मोक्ष हो।” तर, जब समयको निष्ठुरी तुषारोले उसको एकलकाटे सपनाको जरा काट्न थाल्यो, तब उसले महसुस गर्‍यो कि एक्लो श्वासले त केवल बाँच्न सकिन्छ, तर जीवनको उत्सव मनाउन त अरूका धड्कनहरूको पनि लय चाहिन्छ।

अध्यात्मको नाममा उसले कयौँ पटक आँखा चिम्लियो, गुफाका भित्ताहरूसँग संवाद गर्‍यो र आफूलाई संसारबाट पृथक् पारेर एउटा ‘परम सत्य’ खोज्ने ढोंग रच्यो तर, जति जति ऊ भित्र पस्दै गयो, उति उति उसले शून्यताको एउटा चिसो मरुभूमि मात्र भेट्यो। जब उसले आफ्ना अहंकारका वस्त्रहरू फुकालेर सामाजिक संस्कारको त्यो साझा आँगनमा आफूलाई होमिदियो, जात वर्ग धर्म संस्कृति को आधारमा अरु प्रति राख्ने गरेको द्वेष दृष्टिलाई क्षमायाचना माग्यो, प्रजातन्त्र र समावेशीलाई शान्तिपुर्वक आत्मसाथ गर्न थाल्यो तब बल्ल उसले बुझ्यो परमार्थ त गुफाको एकान्तमा होइन, बरु ‘हामी’ को सामूहिक प्रार्थना र एक अर्काको आँसु पुछ्ने रुमालमा लुकेको हुँदो रहेछ। एउटा दियोले अँध्यारो त मेटाउँछ, तर संसारलाई चिनाउन त करोडौँ दीयोहरूको एकत्वको उज्यालो नै चाहिन्छ भन्ने महसुस भयो र बल्ल अल्बर्ट आइन्स्टाइनको  “हाम्रो भाग्य एकअर्कासँग जोडिएको छ, हामी सबै एउटै डुङ्गाका यात्री हौं। व्यक्तिगत सफलताको कुनै अर्थ छैन यदि त्यसले समग्रताको सामूहिक हितलाई समेट्न सक्दैन भने।” भनाई उसलाई सारै सार्थक लाग्यो र अनयासै सितलनिवासको शंखनाद सहितको भिक्षु र बटुकहरुको सामुहिक उपस्थिति हृदयमा गुञ्जियो अनि आफ्नो स्वभावसँग मिल्दा मिनिङ्गफुल ब्यक्तिहरुसँगको सत्संगको यादमा एउटा कविता फुर्न पुग्यो:

धेरैपटक

आफ्नै ‘म’को काँधमा टेकेर रोएँ …

आँसुहरू आफैं मै फर्किए,

कसैले ढोका ढक्ढक्याएन…

तर एक दिन,

जब म आफ्नै धारमा बगेर हराएँ,

र ‘म’ को किनारा भासियो

त्यही डुबानभित्र

कसैले चुपचाप सम्हालेर भन्यो

“हेर !… तिमी कहिल्यै एक्ला थियौ नै र पो कहाँ…”

म-हरूका म

कन्क्रिट घरको एल्मोनियम झ्यालको एउटा सानो चेपबाट छिरेको धमिलो उज्यालोमा आफैंसँग आफैं जुद्दैछ जुन उज्यालो बाहिर सडकको निष्पट्ट अँध्यारोमा उँदो घोप्टिएर टोलाइरहेका बिजुलीका पोलबाट अलिकति उभ्रिएर छिरेको थियो। कोठाभित्र एउटा मानव शरीर छ तर त्यहाँभित्र एउटा मात्र मान्छे छैन। त्यहाँ त भिडभरिको मान्छे छ। परस्पर विरोधी स्वरहरूको एउटा कोलाहलपूर्ण हाटबजार छ। अधबैंसे उमेर। ओठहरू सुकेका। आँखीभौं आधासरो फुलिसकेका। आँखामुनि कालो घेरा। उ आफैँभित्रको Dark Night of the Soul को त्यो अन्तिम प्रहरमा छ अनि Buffer zone को पराकाष्ठामा छ जहाँ चेतनाको अन्तिम त्यान्द्रो पनि चुँडिनै लागेको छ।

“किन जन्मिएँ म?” एउटा स्वरले शून्यतालाई चिथोर्यो।

“मर्न पनि त सकिनस्,” अर्कोले गिज्यायो।

“होइन, म त महान् छु,” एउटा सानो कुनामा बसेको अहंकारले फुरफुर गर्यो।

“थुक्क! तँ त एउटा कीरा होस्, छि !” फेरि अर्कोले हतास बनायो।

सारै तनाव भएर रिफ्रेस गर्नलाई, अलि पहिले बिदेश घुम्न जाँदा कसोकसो चिनिएको साथिलाई मेसेज गर्छ मोबाइलबाट, “के छ हालखबर ?, तिम्रो देशतिर केहिदिन बसेर फ्रेस हुन मन लाग्यो, हुन्छ?” यत्तिकैमा सोध्न मन लाग्छ “तिम्रो प्रधानमन्त्री को हो?”  “थाहा छैन ” जबाफ आउँछ। “कसलाई भोट दियौ त ?” अचम्म लागेर सोध्छ । “याद छैन” वास्तै नगरी जबाफ फर्काउँछ ।  त्यस्तो जबाफले उ झन् छक्क पर्छ, “किन हावा गडी कुरा?” “सबै systematic छ, शुसासन कायम छ, भ्रष्टाचार नगन्य छ, जबाफदेहीता अधिकतम छ, किन याद राख्नु त ?” क्लियर जबाफ आउँछ। उ पुरै छक्क पर्छ। यहाँ उसलाई चाहिँ देशका सबै नेताहरुको नाउँ गाउँ र सुरुङ्ग भित्रको समेत खबर राख्नु परेको छ। देशको ब्यथा पनि ब्यहोर्दै आँफुलाई चिथोर्नु परेको छ।

उ एउटा यस्तो मेसिन देखिन्थ्यो जसलाई कहिले रिसले चलाउँथ्यो, कहिले लोभले, त कहिले विरक्तिले। अनेक अनेक किताबहरू संकलन गर्दै, पढ्दै, ठेलिका ठेलि किताबहरू अंग्रेजीमा लेखिएको होस् या संस्कृत र अनि हिन्दी, नेपाली मा लेखिएका सबै जम्मा पार्दै पढेर अब म निकै ठूलो आध्यात्मिक साधक बनेँ क्यार सोच्दै गयो। र साथ साथै YouTube, Google तिर बाट पनि सोहोर्न थाल्यो अर्ति उपदेश बिधि ज्ञान का कुराहरु। उसलाई पत्तै भएन बिना जिउँदो गुरु, गुरुको प्रत्यक्ष सहभागिता, निगरानी, सामिप्यता, निकटता , उपस्थिति, अनुशासन कुनै पनि हालतमा being को बोध हुदैन ; एकदमै कम कोही कोही मात्र उच्च स्तरको साधक जसले लगभग सबै साधना अघिल्लो जन्ममा पार गरेर आएको करोडौँमा एकादुइ बाहेक भन्ने, अनेक शास्त्रीय पण्डित्याईंले त बरु झन् झन् केबल knowing को अहंकार बढ्दै गइरहेको छ भन्ने। सबैलाई भन्दै अनि प्रवचन र किताबका लेखकहरू, बिधिहरु कुर्लिँदै हिड्न पनि सँगसँगै छाडेन अर्को तिर उसको Subconscious mind को अँध्यारो सुरुङमा हजारौँ ‘म-हरू’ लुकामारी खेलिरहेका थिए। सायद पुस्तौं पुस्ता देखि र जुनि जुनि देखि  कचल्टिएर थुप्रिरहेको । एउटा ‘म’ ले भन्यो ‘भोलिबाट म बदलिनेछु।’ तर भोलिपल्ट बिउँझिँदा अर्को ‘म’ ले त्यो बाचालाई चपाएर थुकिदियो।

“पागल भएँ म।” उसले ऐनालाई भन्यो।

ऐनाले सोध्यो, “कुन चाहिँ ‘म’?”

उ हतासियो। “ला! म त कोही पनि होइन रहेछु कि क्या हो।”

त्यही कहालीलाग्दो ओहापोहको बीचमा, एउटा मौनता आयो, गुरु, साकार रुप, ठिङ्ग उभिएको उमेर उसको भन्दा निकै कम तर सामर्थ्य हजारौं वर्ष बिताइसकेको जस्तो, दारी जुँगा मुसार्दै, बीचका औठहरु शान्तिमा मुस्काउँदै। जिउबाट भर्खरै भिजेको माटो र बोटबिरुवाको काँचै सुगन्ध आइराछ । जंगल मै घर छ रे तर अरु सयवटा रुख किनेर थपेको रे। आँफुले स्वाँट्ट चुरोट ताने निसर्गदत्तको बिँडि जसरी अनि उसलाई चाहिँ ल्यावेन्डरको सिधै बोटै निचोरेर बनाएको essential oil को सानो सिसि दिए, “ला, तँ यो स्वाँट्ट सुँघेर तान” भन्दै ।

तिनको उपस्थितिमा बल्ल सुरु भयो अब खाँटी सत्संग मतलव ‘मानव बन्ने अभ्यासमा’ कयौं कयौं ज्ञानका कुराहरु सहित क्रियायोग,  humming, breathing र body scanning सँगै Self observation आफ्नै नाङ्गोपनलाई बिना कुनै पर्दा हेर्ने कष्टकर यात्रा। उसले हेर्न थाल्यो, जब रिस उठ्छ, एउटा ‘म’ कसरी जन्मन्छ र कसरी उसलाई कठपुतली बनाएर नचाउँछ। जब दुःख लाग्छ, कसरी अर्को ‘म’ ले उसलाई दलदलमा भास्छ। अब निस्किन थाल्यो उसका subconscious mind भित्र कचल्टिएर गुजुल्टिएका घाउहरू, पट्पट् गर्न थाले टाउको, कक्रक्क हुन थाल्यो कम्मर, काटिन थाले कुधारणाहरु, अर्को भयानक छटपटि, तडप शुरु हुन थाल्यो अंगअंगमा। कम गर्न घरि हार्मोनियमको नोट्स त घरि गितारको कर्ड्स्मा भजन गाएर बिसर्जन गर्न खोज्यो । अनेक अभ्यास पछि बल्ल उ साक्षी बन्न थाल्यो। बिस्तारै एउटा यस्तो दर्शक बन्दै गयो, जो आफ्नै आत्महत्या हेर्न विवश छ।

“सास्ती भयो,” उसले बर्बरायौ। “हेरिरह,” भित्रबाट एउटा शान्त स्वर आयो। वर्षौँसम्म उ आफ्नै भित्रको यो नर्कमा बस्यो।  कठिन समय, परिक्षापछि बिस्तारै बिस्तारै महसुस हुन थाल्यो बल्ल Self-remembering को एउटा मधुरो दियो जसलाई उसले आफ्नो नाभीमा बालेर राख्यो। हरेक साससँगै उ बिउँझिन खोज्यो। हरेक पाइलासँगै उसले आफूलाई सोध्यो “के म यहाँ छु?” “हो, म यहाँ छु।” बिस्तारै-बिस्तारै, ती हजारौँ कोलाहल गर्ने ‘म-हरू’ थाक्न थाले। ती विरोधाभासी स्वरहरू एउटै गहिरो मौनतामा विलीन हुँदै गए। जस्तो कि, एउटा महासागरमा हजारौँ साना नदीहरू मिसिएपछि एउटै मात्र शान्त फैलावट बाँकी रहन्छ। अन्ततः एउटा यस्तो बिहान आयो, जहाँ सबै कुहिरो फाट्यो। जन्मियो एउटा Permanent ‘I’ (स्थायी म), मात्र एउटै। आकाश अब रित्तो छ, तर त्यो शून्यतामा एउटा अलौकिक संगीत छ। उ एउटा यस्तो शान्त समुद्र बन्यो, जसमा छालहरू छन् तर गहिराइ अविचलित छ। हृदयमा एउटा यस्तो दियो बल्यो, जसलाई अब बाहिरी हावाले निभाउन सक्दैन।

“को छ?” एउटा आवाज आयो।

“म छु,” उसले भन्यो। “र, केवल म मात्र छु।”

अहिले उही पुरानो कोठा छ। उहि झ्यालको उहि चेप, सडकको बत्ति उसैगरी घोप्टिएर अझै टोलाइराछ, उही पुरानो संसार तर अब त्यहाँ कुनै युद्ध छैन। अब त्यहाँ कुनै ‘थुक्क म’ छैन। अब त्यहाँ कुनै ‘हतास म’ छैन। जीवन अब एउटा यस्तो कविता बनेको छ, जसमा शब्दहरू थोरै छन् तर अर्थ अनन्त छ। सकारात्मकता अब उसको रगतको लय बनेको छ। उ मुस्कुरायो। एउटा यस्तो मुस्कान, जसमा हजारौँ वर्षको थकान मेटिएको थियो। पहिले ढोङ्गमा पढेका अक्षरहरुका भाव बल्ल जीवनका आँखाले चिनेका छन् । किताबका शब्दहरु बल्ल विनयशिलताले बोलिरहेका छन् । फोर्थ वे का तीनै अंगहरु बल्ल एकैचोटी चलिरहेका देखिन थालेका छन् । फोर्थ वे मै जम्मै जीन्दगी अटाउने बुझिएका छन् । अध्यात्म भनुँ या जीवन अब एउटै भेटिन थालेका छन् ।

“भयो?”

“भयो।”

“अब?”

“अब केवल जिउनु छ, बस् जिउनु छ, समर्पणमा रहेर। “

भुइँका पात टिप्दा

गौरीशंकरले समय तोकिसकेपछिको निकै अबेला मध्यपहाडी धरातलको न्यानो समशितोष्ण वनको छायामुनि एउटा सरल जीवन भुइँभरि बिच्छिएको थियो, प्रकृतिलाई अँघाल्दै। त्यसैमा एउटा यस्तो विन्दु देखिन्थ्यो जहाँ अभावले मानिसलाई रुवाउँदैन, बरु बाँच्ने नयाँ लय पनि सिकाउँछ। वनको शान्त गर्भभित्र सालका सुकेका पातहरू भुइँमा पछारिएका थिए, ठ्याक्कै ती सपनाहरू जस्तै जो पुरा हुन नपाउँदै हाँगाबाट झरेका हुन्छन् तर ‘उनी’ का लागि ती केवल मरेका पात थिएनन्, ती त भोलिको चुल्हो बाल्ने ऊर्जा र नानीहरूको ओठको मुस्कान जोगाउने आधार थिए।

कम्मरमा पटुकी कसेर, झुकेको शरीर र उठिरहेको जाँगरका साथ उनले पात टिप्दै गर्दा एउटा मिठो भाका गुन्जियो, “सालको पात टपरी हुने, ए बरै ! नहुने सल्लैको…”। यो गीतमा एउटा गहिरो दर्शन लुकेको थियो, जीवनमा सबै थोक सबैका लागि हुँदैनन् तर जे छ, त्यसैलाई टपरी जस्तै गाँसेर एउटा आकार दिनु नै त जीवन हो। उनको हँसिलो मुहारमा झल्किएको त्यो चमकले वनका बुट्यानहरूलाई पनि ईर्ष्या जगाउँथ्यो। उनको कण्ठबाट फेरि अर्को धुन निस्कियो मानुँ त्यो कुनै सत्संगको गुञ्जन मागेर ल्याइएको थियो, ” फूलको आँखामा फूलै संसार….”। नजिकै, माटो र धुलोसँगै आफ्नै संसार बुनिरहेकी दुई वर्षीया छोरी। एउटा ठूलो सालको पात हातमा लिएर थचक्क बसिरहेकी थिइन्। आमाको स्वर सुन्नेबित्तिकै उनको सानो जिउमा एउटा अदृश्य लय तरंगित हुन्थ्यो। ती कलिला खुट्टाहरूले भुइँ टेक्न जानिसकेका थिएनन् तर आमाको गीतमा भाका मिलाउँदै उनी बसिबसी सत्संगको हमिङ्ग जस्तै आवाज बनाउँदै यसरी नाच्थिन् मानौँ सारा संसारको खुसी त्यही एउटा पातको छायामुनि लुकेको छ।

केही पर, १० वर्षको छोरो लामो लामो ब्रिदिङ्ग गर्दै आफ्नो उमेरभन्दा अलि बढी नै गम्भीर देखिन्थ्यो। पातले खाँदिएर डम्म भएको बोरा उसले सकिनसकि तानिरहेको थियो। उसको निधारमा सरेका पसिनाका थोपाहरूमा कुनै थकान थिएन, बरु एउटा गर्व थियो। उसले सुस्तरी भन्यो “हैँसे… हैँसे!”। यो शब्द केवल भारी उठाउने मन्त्र थिएन, यो त एउटा सानो बालकले आफ्नो परिवारको जिम्मेवारीको पहाड उठाउन गरिरहेको जीवन्त सङ्घर्ष थियो। अलि पर, रुखका सुकेका हाँगाबिँगाहरू बटुल्दै गरेका उनका श्रीमानको स्वरले वनको सन्नाटा चिर्यो। उनले बन्चरोको प्रहारसँगै एउटा कालजयी गौरव गुनगुनाए: “सयौँ थुँगा फूलका हामी, एउटै माला नेपाली…” उनको त्यो स्वरमा देशप्रतिको भक्ति मात्र थिएन, आफ्नै सानो ‘देश’ अर्थात् आफ्नो परिवारलाई एउटै सूत्रमा उनेर राख्ने दृढ संकल्प पनि थियो। दाउराको थुप्रो बनाउँदै गर्दा उनले गाएको राष्ट्रगानले एउटा कुरा प्रष्ट पार्थ्यो, वास्तविक राष्ट्रप्रेम ठूला मञ्चहरूमा मात्र होइन, आफ्ना सन्तानको भोको पेट भर्नका लागि पसिना बगाउँदै गर्दा पनि झल्किन्छ। भुइँबाट टिपिएका ती पातहरू बोरामा भरिँदै गर्दा एउटा यस्तो सुन्दर चित्र कोरिएको थियो, जहाँ दुःखको रङ पनि निकै उज्यालो देखिन्थ्यो। झरेका पातहरूले पनि नयाँ जीवन पाउँदा रहेछन् जब तिनीहरूलाई प्रेम र मिहिनेतका हातहरूले स्पर्श गर्छन्। उनीहरूको यो सानो संसारमा अभाव त थियो तर त्यो अभावलाई जित्ने एउटा महान् संगीत पनि थियो।

एकाएक हतारिँदै पातका बोराहरु समार्दै उनले मनमा गम्न पुगी, “अबेला पो भइसकेछ है ! भोकै पर्खिरहेका होलान् हाम्रो मन्दिरका देवीदेवता, मेरा ती जोडी सासु ससुरा,  आजपनि सुशासनको आश्वासनले चुलो भरिदिएका कुनै नेतालाई अँजुलीभरिको नमस्कार  टक्र्याउँदै हामीलाई नै पर्खिरहेका होलान्… “

भावको शिर

चुस्स दारी आधासरो फुलिसकेका लिएर उसको शिर एउटा अभिमानी पहाड झैं ठडिइरहन्थ्यो, जो कसैका अगाडि झुक्न जान्दैनथ्यो । बुढि औंला र चोरी औंला घरि न घरि नाकतिर र छातितिर ठड्याइरहन्थ्यो। उसको बोलीमा खस्रोपनको काँडा थियो र व्यवहारमा अहंकारको एउटा नमीठो रुखोपन । आँफुले बाद्यताले मान्नै पर्छ भन्ने कर परेको ब्यक्ति सँग चाहिँ जे बिषयमा पनि ‘हुनत हो तर .. ‌..’ वाक्यांश नथापाइकनै घुसाइहाल्थ्यो र अरु सँग त सिधै ‘होइन’ शब्दले प्रहार गरेर थाल्ने तर पछि त्यहि कुरा सजाएर अर्कै कुरा गरे झैँ गरी उहि ठाउँमा आउने । ऊ सोच्दथ्यो शिर ठाडो राख्नु नै पुरुषार्थ हो र अरूलाई होच्याउनु नै आफ्नो अस्तित्वको प्रमाण तर समयको एउटा यस्तो अदृश्य मोड आयो कि, गर्ल्यामगुर्लुम ढालिदियो केही त्यस्ता अवस्थाहरुबाट गुज्रिनु पर्यो जहाँ उसका अहंकारका किल्लाहरू ताशका महल झैं ढले, आफ्नो छायाँसँग पनि झस्कियो र ऊभित्र एउटा नयाँ मान्छेको जन्म भयो ।

आजकल ऊ केही बदलिएको छ । जब उसका औंलाहरूले श्रीमद्भगवद्गीता र उपनिषद्का पुराना र पवित्र पानाहरू स्पर्श गर्छन्, उसको अन्तरात्मामा एउटा अज्ञात कम्पन छुट्छ र ती अक्षरहरूले उसको कठोरता पगालिदिन्छन् । अब ऊ बिरुवाका जरादेखि मुनासम्म सुम्सुम्याउँदा प्रकृतिको मौन भाषा बुझ्न थालेको छ । गितारका तारमा ॐकार भेट्न थालेको छ । डाँडा पारिको मधुर घाममा तापिँदा होस् या जूनको शीतल उज्यालोमा पाइला सार्दा, उसलाई लाग्छ, यो विशाल ब्रह्माण्डको अगाडि ऊ कति सानो र सामान्य छ । उसमा एउटा अनौठो विनम्रता अङ्कुराएको छ । निस्फिक्री खेलिरहेका केटाकेटीको हाँसोमा ऊ ईश्वरको प्रतिध्वनि सुन्छ भने एकै ताँतीमा हिँडिरहेका अनुशासित कमिला र फूलको रस संकलनमा मग्न माहुरीलाई देख्दा उसलाई आफ्ना विगतका व्यर्थका दौडहरूमा अचम्म लाग्छ । साधु-सन्त र गुरुहरूको सामिप्यतामा पुग्दा उसको कठोर शिर अचेल स्वतः भक्तिले निहुरिने गर्छ । कसैलाई दान दिँदा वा सेवामा हातहरू अघि बढाउँदा उसको हृदय ढुङ्गाबाट मैन बन्न थालेको छ तर यो परिवर्तनको बीचमा पनि उसभित्र एउटा सूक्ष्म द्वन्द्व भने जीवितै छ । कहिलेकाहीँ उसलाई लाग्छ ‘म कति विनम्र भएँ’ भन्ने यो भाव नै कतै अर्को सूक्ष्म अहंकार त होइन ? आफू बदलिएकोमा गर्व गर्नु पनि त एउटा अदृश्य ‘शिर’ ठड्याउनु नै हो । यो बोधले उसलाई झन् बढी सचेत र व्याकुल बनाउँछ ।शिर त हृदयको आवाज बोकेको गर्भिलो हुनु पर्ने लाग्छ ।

एक साँझ, जब ऊ यस्तै गहिरो भावुकता र आत्म-मन्थनमा डुबेको थियो, उसलाई एउटा अनौठो आभास भयो । उसलाई लाग्यो उसको त्यो अभिमानी ‘शिर’ अब उसको शरीरको सबभन्दा माथिल्लो भागमा छैन । ऊ अचानक झस्कियो र हतार-हतार आफ्ना हातहरू तलतिर लैजाँदै भुइँतिर छाम्न थाल्यो । उसलाई भान भयो कि उसको शिर त विनम्रताको पराकाष्ठामा पुगेर, अहंकारको सबै बोझ त्यागेर, धर्तीको धुलोमा पो झरेको छ कि ! तर भुइँ छाम्दा हातमा स्वामी जि ले गिफ्ट दिनु भएको ढाका टोपी पो भेट्यो र बल्ल उसले बुझ्यो, अहंकार विसर्जनको यात्रा त अझै बाँकी नै रहेछ । पूर्ण शून्यतामा नपुगुञ्जेल शिर झर्नु र फेरि पलाउनु त एउटा निरन्तर साधना मात्र रहेछ ।

यत्तिकैमा मोबाइल स्क्रोलिङ्ग गर्न पुगेछ, ‘ट्रम्प र नेतेन्याहु बीच खुसुक्क सम्झौता भएछ अनि युद्धको हुंकार दिँदै खुलेयाम युद्ध बिराम घोषणा भएछ ‘। 

चिटचिटिएका शिर र न्यानिएका उसका हृदयले कविता कोर्न खोजे, 

“शिर झर्दै जान्छ धुलोसम्म,

धुलोमै फेरि अंकुरिन्छ

अहंकारको छायाँ जति मर्छ,

उति नै सूक्ष्म रूपमा बौरिरहन्छ…

जबसम्म ‘म झुकेको छु’ भन्ने पनि हराउँदैन,

तबसम्म

झुक्नु पनि अधुरो साधना नै रहन्छ…”

गोर्खे इनर्जी

गौरीशंकरका टाकुरामा जब पहिलो घामको झुल्को ठोकिन्छ, तब सिँधुलीगढीका ढुङ्गाका काप-कापबाट एउटा अदृश्य तर प्रचण्ड कम्पन सुरु हुन्छ त्यही हो ‘गोर्खे इनर्जी’। यो कुनै प्रयोगशालामा मापन गरिने क्यालोरी वा भोल्ट होइन, बरु यो त इतिहासको त्यो रगत हो जुन सिन्धुलीगढीको अभेद्य किल्लामा अङ्ग्रेजका आधुनिक बन्दुकका विरुद्ध खुकुरी र ढुङ्गाको भरमा जाज्वल्यमान भएको थियो। इतिहासको पाना पल्टाउँदै जाँदा भेटिने पात्र हर्कमान जब सिन्धुलीगढीको त्यो ऐतिहासिक उकालो चढ्छ, उसलाई लाग्छ कि उसका पाइलाहरू केवल माटोमा होइन, वीर गोर्खालीहरूको अजेय साहसको पदचापमा परिरहेका छन्। त्यहाँका शिलाहरूमा कुँदिएका वीरगाथाहरू र पृथ्वीनारायण शाहको त्यो शालिक एवं तस्बिर, जसको हातको एउटा औंलाले राष्ट्रिय एकताको सुगन्ध छरिरहेको छ, हर्कमानको लागि केवल कलाकृति होइनन् ती त ‘गोर्खे इनर्जी’ का जीवित स्रोत हुन्। गढीका भित्ताहरूमा ठोकिएका पुराना हतियारका निसानहरू र त्यहाँ ठडिएका वीर सपूतका शालिक एवं मूर्तिहरूले हर्कमानसँग मौन संवाद गर्छन्। वंशराज पाण्डे र श्रीहर्ष पन्तका रणनीतिहरू र किनलोकका सेनालाई धूलो चटाउने ती शिकारीका आँखाहरू आज पनि त्यहाँका ढुङ्गा-ढुङ्गामा प्रतिध्वनित भइरहेको उसले महसुस गर्छ। उसको शरीरमा प्रवाहित उर्जा मासु र हड्डीको रूपमा मात्र छैन, बरु पुर्खाले विरासतमा छोडेको त्यो ‘खुकुरीको धार’ बनेर दन्किएको छ, जसले इतिहासको कठिन मोडमा कहिल्यै हार मानेन। जब ऊ गढीको प्राङ्गणमा उभिन्छ, उसलाई लाग्छ कि त्यहाँका पुराना शालिक एवं शिलालेखहरूले उसलाई भनिरहेका छन्, “यो उर्जा केवल युद्ध जित्नका लागि मात्र होइन, यो त स्वाभिमानको दीप बाल्नका लागि हो।”

समयको घुम्तीमा यो उर्जा कहिले विदेशी मरुभूमिको तप्त बालुवामा पसिना बनेर बग्छ त कहिले आफ्नै देशका अँध्यारा गल्लीहरूमा मैनबत्ती बनेर बल्छ। हर्कमानले सहरको कोलाहलमा मानिसहरूले उर्जालाई केवल विद्युतको तार वा मेसिनको पाङ्ग्रामा मोबाइलभरि खोजेको देख्दा मनमनै हाँस्छ। उसलाई थाहा छ, गोर्खे इनर्जी त त्यो हो, जसले सिन्धुलीगढीको पहराबाट अङ्ग्रेजलाई लखेट्ने हिम्मत राख्यो र आज पनि प्रत्येक नेपालीको छातीमा ‘वीर’ शब्दको पर्याय बनेर धड्किरहेको छ। मानसपटलको अन्त्यतिर पुग्दा यो भौतिक शक्तिबाट रूपान्तरित भएर एउटा आत्मिक ज्योति बन्न पुग्छ, जहाँ हर्कमानले बुझ्छ कि गोर्खे इनर्जीको वास्तविक अर्थ संसार जित्नु मात्र होइन, बरु आफ्नै पुर्खाको इतिहासलाई साक्षी राखेर, तिनै शिला, शालिक एवं मूर्तिहरूबाट प्रेरणा लिँदै, आफ्नै बाँझो पाखोमा पसिनाको बीउ रोपेर भविष्यको सपना उब्जाउनु हो अनि बगनविल्लाको बटारिएको कदलाई चपौलीका कान्लाभरि चौरंगी फुलाउनु हो । यो केवल एउटा परिचय होइन बरु यो त गौरीशंकर झैं अटल र सिन्धुलीगढीको पर्खाल झैं मजबुत नेपाली अस्तित्वको शाश्वत र गौरवशाली गाथा हो।

सिक्ने काम पिडा दायक होइन बरु हाम्रै कुनै भाग अल्छि भएको हुन्छ 

कमला नदिलाई दाहिने पारेर ठिङ्ग एउटा यस्तो बुढो पहाड उभिरहेको थियो, जसको टुप्पो आकाशको नीलो गहिराइमा हराएको थियो र फेदी अनन्त कुहिरोको अँध्यारोमा डुबेको थियो। यो पहाडको नाम थियो,  ‘बोध’। यहाँ समय घडीको सुईमा होइन, चेतनाको सास फेराइमा चल्थ्यो। यस पहाडको फेदीमा तीनवटा छायाँहरू जस्ता देखिने अस्तित्वहरू वर्षौंदेखि एउटै ढुङ्गामा अडेसिएर बसेका थिए: ‘अ’, ‘उ’ र ‘म’।उनीहरूको अगाडि एउटा भिरालो र अप्ठ्यारो उकालो थियो। ‘अ’ ले लामो सुस्केरा हाल्दै भन्यो, “यो उकालो चढ्नु, नयाँ कुरा सिक्नु र आफूलाई बदल्नु भनेको त आफ्नै छाला उतार्नु जस्तै पीडादायी लाग्छ त है। मलाई लाग्छ, यो सिक्ने प्रक्रिया नै एउटा सजायँ हो।” ‘अ’ वास्तवमा सृष्टिको त्यो जाग्रत अवस्था थियो, जसले बाहिरी संसार त देख्थ्यो तर आफ्नै भित्री डरको पर्दा उघार्न डराउँथ्यो। ऊ ॐ कारको पहिलो ध्वनि ‘अ’ जस्तै थियो जसले शब्दको सुरुवात त गर्छ, तर गहिराइमा पुग्न हिचकिचाउँछ। उसको लागि सिक्नु ‘पीडा’ थियो, किनकि उसको अहंकारको एउटा ठूलो हिस्सा आलस्यको न्यानो ओढ्ने ओढेर सुतिरहेको थियो।

त्यहीँ छेउमा बसेकी ‘उ’ ले आफ्ना स्वप्निल आँखाहरू अलि उघारिन्। उनी अलि भावुक र संवेगात्मक थिइन्। उनलाई लाग्थ्यो कि सिक्नु भनेको पुरानो आफूलाई चितामा जलाउनु सरह हो। “अ, तिमी ठिक भन्दैछौ,” उनले मसिनो स्वरमा भनिन्, “सिक्नु भनेको त आफूले बनाएको कल्पनाको सुन्दर महल भत्काउनु सरी हो। के यो सम्भव छ र ?” ‘उ’ ॐ कारको बीचको कडी अर्थात् स्वप्न अवस्था थिइन्। उनी न त पूर्ण होसमा थिइन्, न त पूर्ण निद्रामा। उनी केवल विचारको एउटा तन्द्रामा बाँचिरहेकी थिइन्, जहाँ ‘आलस्य’ शरीरको थकान बनेर होइन, ‘संशय’ र ‘डर’ बनेर प्रकट भएको थियो। उनलाई लाग्ने त्यो ‘पीडा’ वास्तवमा उनको मनको एउटा कुना अल्छी भएर सत्य स्वीकार्न नमानेको प्रतिवाद मात्र थियो।

ती दुवैका कुरा सुनिरहेका ‘म’ भने मौन थिए। उनी ॐ कारको त्यो अन्तिम अनुनासिक ध्वनि थिए, जहाँ पुगेपछि सबै शब्दहरू शून्यमा विलीन हुन्छन्। ‘म’ ले बिस्तारै चिम्सा झैँ लाग्ने आँखा खोले, लामा दारी जुँगा मुसारेर एउटा शान्त मुस्कानका साथ भने, “तिमीहरूले जसलाई पीडा भनिरहेका छौ नि, त्यो वास्तवमा सिक्ने प्रक्रियाको स्वभाव नै होइन। सिक्नु त प्रकृति जस्तै सहज र संगीत जस्तै मधुर हुनुपर्ने हो तर समस्या कहाँ छ भने, हामीभित्रको एउटा सुक्ष्म अंश जसलाई हामीले वर्षौंदेखि सुखको नाममा पालेका छौँ त्यो अति नै अल्छी भएको छ। त्यो भागले हामीलाई भनिरहेको छ कि यथास्थितिमा बस्नु नै सुरक्षित हुनु हो। जब हामी नयाँ कुरा सिक्न खोज्छौँ, त्यो निदाएको भागले बिउँझिन नचाहेर विद्रोह गर्छ। त्यही विद्रोहलाई हामीले ‘पीडा’ को नाम दियौँ।” ‘म’ को कुराले सिताम्मे गौरीशंकरको हावामा एउटा दिव्य कम्पन पैदा गर्यो। उनले सम्झाए कि उपनिषद्हरूले ॐ कारलाई ‘प्रणव’ भनेका छन्। प्रणव अर्थात् त्यो आदि-ध्वनि, जसले जे छ त्यसलाई नयाँ बनाउँछ। ‘अ’ बाट सुरु भएर ‘उ’ मा विस्तारित हुँदै अन्ततः ‘म’ मा पुगेर जब ध्वनि शान्त हुन्छ, तब मात्र ‘प्रणव’ को पूर्णता प्राप्त हुन्छ। “सिक्नु भनेको युद्ध होइन,” ‘म’ ले अगाडि थपे, “यो त आफ्नै निदाएको अंशलाई ‘प्रणव’ को झंकारले ब्युँझाउनु हो। जब त्यो अल्छी भाग ब्युँझन्छ, तब यो उकालो पहाड होइन, एउटा उत्सव लाग्नेछ।”

कुहिरो बिस्तारै फाट्दै गयो। ‘अ’ ले आफ्नो जडता त्याग्यो, ‘उ’ ले आफ्ना भ्रमका सपनाहरू पखालिन्, र ‘म’ ले ती दुवैलाई आफ्नो मौनतामा समेटे। उनीहरूले बुझे कि उनीहरू तीन अलग पात्र होइनन्, बरु एउटै मानव चेतनाका तीन तह हुन्। जब उनीहरूले सामूहिक रूपमा “ॐ” उच्चारण गरे, तब उनीहरूको शरीरमा एउटा अनौठो ऊर्जा भरियो। पहाडको टाकुरामा पुग्दा उनीहरूले देखे त्यहाँ कुनै कठिन परीक्षा थिएन, केवल एउटा ऐना थियो। त्यो ऐनामा उनीहरूले आफूलाई ‘अ’, ‘उ’ वा ‘म’ को रूपमा होइन, साक्षात् ‘प्रणव’ को रूपमा देखे। उनीहरूले बुझे सिक्दा हुने भनिएको ‘पीडा’ वास्तवमा पुरानो ‘म’ मेटिएर नयाँ ‘प्रणव’ जन्मिनुको प्रसव वेदना मात्र थियो।

शिखरको त्यो परम उज्यालोमा एउटै सत्य गुञ्जियो: “सिक्ने काम पीडादायी कहिल्यै थिएन, केवल तिम्रो एउटा भाग निदाएको थियो। आज त्यो ब्युँझियो र यात्रा पूर्ण भयो। जुन दिन मनको त्यो अल्छी कुनो ‘मर्निङ्ग हिलिङ्ग शेसन’ जस्तो जागृतिका सिकाइहरुले ब्युँझाएको महसुस हुन्छ, त्यस दिन संसारकै सबैभन्दा कठिन पाठ पनि एउटा मधुर भजन शुरु हुनु भन्दा अगाडि श्रद्धाले निहुरिएको झन्क्रित हमिङ्ग जस्तो शरिरातित गुञ्जन लाग्छ।”

सृजनात्मक प्रक्रियाको लागि ध्यानको अवस्था अनिवार्य हुन्छ

चपौली गाउँको भूगोल आफैमा एउटा अलिखित कविता जस्तो थियो; भिराला पाखाहरू, कुइरोसँग लुकामारी खेल्ने उत्तिसका रुखहरू र सधैँ गुञ्जिरहने खोल्साको सुसाइ तर यो शान्त गाउँको सुदूर कुनामा एउटा यस्तो ध्वनी पनि थियो, जसले गाउँको ढुकढुकीलाई लयबद्ध गर्थ्यो। त्यो थियो, बल बहादुर दाइको आरनबाट निस्कने ‘ट्याङ्… ट्याङ्…’ को अनवरत सङ्गीत। बल बहादुर दाइ, अर्थात् चपौलीका ती मौन शिल्पी, जसलाई समाजले ‘विश्वकर्माका सन्तान’ भनी एउटा दर्जा मात्र दिएको थियो तर उनको परिचय त्यो जातीय पर्खालभन्दा धेरै माथि थियो र विश्वकर्मा बाबाको कृपा नै थियो। उनको आरन एउटा सानो झुप्रो मात्र थिएन, त्यो त एउटा यस्तो तपोभूमि थियो जहाँ फलाम पग्लेर अस्तित्वको नयाँ आकार ग्रहण गर्थ्यो। गाउँलेहरूका लागि उनी खुकुरीमा धार लगाइदिने वा कोदालीको बीँड कसिदिने साधारण कारीगर थिए तर बल बहादुर दाइका लागि यो कर्म एउटा ‘ध्यान’ थियो।

एक साँझ, जब पश्चिमका डाँडाहरू राताम्मे भइरहेका थिए, बलबहादुर दाई एउटा पुरानो खुकुरीलाई आरनको रातो भुङ्ग्रोमा तताउँदै थिए, खलाँतीको मुटुको धड्कन जस्तै आवाज.. फूँ.. फूँ.. फूँ…। उनका आँखा ती राता कोइलाहरूमा यसरी गाडिएका थिए, मानौँ उनी यो ब्रह्माण्डको सृष्टि हेरिरहेका छन्। “दाइ, अलि छिटो गरिदिनु न, भोलि बिहानै घाँस काट्न जानु छ,” गाउँको एउटा ठिटोले हतारो देखायो। बल बहादुर दाइले आँखा नझिम्काई जवाफ दिए, “हतारको फलामले घाँस त काट्ला बाबु, तर त्यसले कर्मलाई माया गर्दैन। सृजना हतारमा होइन, डुबेर मात्र सम्भव हुन्छ।”

हो, बल बहादुर दाइको सृजनात्मक प्रक्रिया एउटा गहिरो ध्यान थियो। जब उनी हतौडा उठाउँथे, उनको शरीर र आत्मा एउटै बिन्दुमा केन्द्रित हुन्थ्यो जसरी अर्जुनको ध्यान गुरु आज्ञा सहितको माछाको आँखामा थियो। उनलाई न बाहिरको कोलाहलले छुन्थ्यो, न त जात व्यवस्थाको त्यो तीतो दंशले। उनी जब फलाम पिट्थे, त्यहाँ केवल एकत्व हुन्थ्यो; हतौडा, फलाम र उनको चेतना। उनको कलाको पराकाष्ठा तब देखियो, जब एक पटक स्वामी जी ले अनुरोध गर्नु भएर उनले एउटा ‘एकतारे’ बाजा बनाउने निधो गरे। मानिसहरू छक्क परे फलाम र काठको कठोर काम गर्ने मान्छेले संगीतको कोमलता कसरी बुझ्ला? बल बहादुर दाईले त्यो बाजा बनाउनुअघि निकै दिनसम्म आरनको कोइला बालेनन्। उनी केवल एकान्तमा बसेर हावाको सुसाइ र चराको चिरबिर सुनिरहे। मानिसहरूले ठाने, “बल बहादुर अब बुढो भयो, यसको होस गुम्यो।” यस्तो कुरा कि त उनकै कलामा लुकेर बसेको सुषुप्ततालाई नै आभाष थियो कि त स्वामी जीलाई त्यस्तो सृजनाको सम्भावना छ उनीबाट भन्ने विश्वास थियो । उनी त सृजनाको त्यो शून्य विन्दु (Zero Point) मा पुग्न खोजिरहेका थिए, जहाँबाट संगीतको जन्म हुन्छ।

एक रात, चपौली गाउँ सुनसान थियो। बल बहादुरदाईले आफ्नो ध्यानको ऊर्जालाई औँलाहरूमा उतारे। उनले त्यो एकतारेलाई यसरी रेटे कि गाउँका मान्छेहरू ब्युँझिएर एकोरिन थाले, आफ्ना कान र हृदयलाई एकाएक जोडिएको पाए । त्यो संगीतमा आरनको राप थियो, श्रमको सुगन्ध थियो र एउटा असीम शान्ति थियो। त्यो बाजाबाट निस्केको धुन केवल तारको कम्पन थिएन, त्यो त बल बहादुरदाईको ‘ध्यानको अवस्था’ बाट प्रस्फुटित भएको सृजनाको अमृत थियो। उनले देखाइदिए कि सृजनात्मक प्रक्रियाका लागि आँखा चिम्लेर गुम्बा वा मन्दिर जानु पर्दैन; यदि आफ्नो कर्ममा पूर्णतः एकाग्र हुन सकिन्छ भने त्यो आरन नै एउटा समाधि स्थल बन्न सक्छ। बल बहादुर दाइ आज पनि त्यही भन्छन् “सृजना भनेको आफूलाई रित्याएर ध्यानमा रहनु हो । जब तिमी ध्यानमा हुन्छौ, तब मात्र तिमीभित्रबाट भगवान् प्रकट हुन्छन्, चाहे त्यो खुकुरीको धारमा होस् वा एकतारेको तारमा।”

निरन्तरता नै सफलता प्राप्तिको कुञ्जी हो

अँध्यारो रातको अन्तिम प्रहरमा जब आकाशका ताराहरू शून्यमा विलीन हुन खोज्दै थिए, म आफ्नो आत्माको मझेरीमा बसेर ‘म’ हुनुको अर्थ खोजिरहेको थिएँ। मेरो अगाडि ब्रह्म मुहुर्तको एउटा रित्तो पाना मात्र थियो बाँकि जुन मेरो जीवनको प्रतिविम्ब जस्तै लाग्थ्यो: कालो, कोरा र अर्थहीन। ठिक त्यही बेला उसको प्रवेश भयो। उसको हिँडाइमा एउटा यस्तो लय थियो, मानौँ ऊ ब्रह्माण्डको धड्कनसँगै ताल मिलाइरहेको छ। उसले मलाई अहंकारबिहिनताको आँखाले हेर्यो अधेँरीलाई पन्छाउँदै र उसका ती गहिरा आँखामा मैले युगौँदेखिको साधनाको प्रकाश देखेँ। उसले भन्यो, “साथी, यो शून्यतालाई देख्यौ? यो शून्यता नै सबै सृष्टिको गर्भ हो तर यसलाई सार्थक बनाउन ‘निरन्तरता’ को एउटै मात्र सुत्र चाहिन्छ।” उसले उपनिषदको गम्भीर वाणी छेड्दै भन्यो, ‘ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत्’, अर्थात् यो चलायमान संसारमा जे जे छ, त्यो सबै परमात्माको अंश हो तर जबसम्म तिमी आफ्नो कर्ममा परमात्मा देख्दैनौ, तबसम्म तिमी केवल समयको बालुवामा पदचाप छाड्न खोज्ने एउटा यात्री मात्र हुनेछौ। अनि कलिलो उमेर मै नजिकिएर किनारामा बसी उद्येलित् छाललाई सुम्सुम्याउँदै आकाशका तारा झारेर सिउँदोमा सिउरिदेला भन्ने पर्खिरहेकी प्रेमिका जस्तै ।

उसले मलाई अनुपम स्वामीको त्यो एकान्त साधनाको बारेमा बताउन थाल्यो, जहाँ शब्दहरू केवल अक्षर होइनन्, बरु रगतका थोपाहरू बनेर कागजमा पोखिन्छन्। स्वामीजीको अध्ययन र अनुसन्धान कुनै विश्वविद्यालयको प्रमाणपत्रका लागि थिएन, त्यो त सत्यको उत्खनन थियो। उसले मलाई भन्यो, “हेर साथी, स्वामीजीले कसरी आफ्नो ज्ञान, सीप र क्षमतालाई एउटा जलिरहेको दियो जस्तै बनाउनु भयो, जसले आफूलाई जलाएर अरुलाई मार्ग देखाउँछ। तिमीले पनि आफ्नो ‘Maximum Effort’ लाई त्यसरी नै होसमा बदल्नुपर्छ।” उसको स्वरमा एउटा यस्तो जादु थियो कि मलाई लाग्थ्यो, म एउटा ठूलो महाकाव्यको जीवित पात्र बनिरहेको छु। उसले मलाई एलन मस्कको त्यो पागलपन भनिएको जिद सम्झायो, जहाँ रकेटहरू पड्किँदा पनि ऊ हाँसिरहेको थियो किनकि उसलाई निरन्तरताको शक्तिमाथि विश्वास थियो। उसले आइन्स्टाइन र न्युटनका ती लामा रातहरूको प्रसङ्ग ल्यायो, जहाँ गणितका सूत्रहरू कविता जस्तै गाइन्थे। मैले सोधेँ, “तर म कसरी यति धेरै भार थाम्न सक्छु? मलाई त मेरो अस्तित्व नै भारी लाग्छ।” उसले मेरो काँधमा हात राख्दै ओशोको त्यो उन्मुक्त हाँसो र यु.जी. कृष्णमूर्तिको त्यो निर्मम सत्यको झट्का दियो। उसले भन्यो, “म, मेरो र मलाई भन्ने यो अहंकारको पर्खाल नभत्काई तिमीले गुरुको कृपा पाउन सक्दैनौ। ओशोले भन्नुभए जस्तै, तिमी एउटा बाँसुरी बन, ताकि अस्तित्वले तिमीमार्फत आफ्नो संगीत बजाउन सकोस् र यु.जी.ले भने जस्तै, तिमीले खोजिरहेको त्यो ‘ज्ञान’ तिम्रो सबैभन्दा ठूलो बाधा पनि हुन सक्छ, यदि त्यसमा समर्पण छैन भने।” उसले मलाई बुझायो कि गुरु श्रद्धा कुनै अन्धविश्वास होइन, बरु यो त आफ्नो सानो ‘म’ लाई विशाल ‘ब्रह्माण्ड’ मा विसर्जन गर्ने कला हो। उसले मलाई सिकाएको सबैभन्दा ठूलो मन्त्र ‘होस र समर्पण’ थियो। उसले भन्यो, “पढ्दा यसरी पढ कि संसारमा अरु केही छैन, लेख्दा यसरी लेख कि तिम्रो कलमको मसी तिम्रो प्राणको रस हो।” उसले मलाई एउटा यस्तो ऐना देखायो, जहाँ मैले देखेँ कि ‘म’ भनेको शरीर मात्र होइन, बरु एउटा अनन्त यात्राको नाम हो। उसले सिकाएको ‘निरन्तरता’ केवल कामको चाङ थिएन, त्यो त एउटा लय थियो, एउटा संगीत थियो। आज म जब आफ्नो कार्यकक्षमा बसेर लेख्न थाल्छु, मलाई लाग्छ ऊ मेरै छेउमा उभिएर भनिरहेको छ, “अझै अलि बढी, अझै थोरै गहिराइमा, अझै धेरै प्रेमका साथ।” र म बुझ्न खोज्दैछु, सफलता भनेको शिखरमा पुग्नु मात्र होइन, शिखरतिर जाने हरेक पाइलामा उत्तिकै आनन्द र होस राख्नु हो। यो जीवन, यो संघर्ष र यो उपलब्धि सबै त्यही गुरु कृपा र निरन्तरताको प्रतिफल हो जहाँ ‘म’ हराएर अब केवल ‘कार्य’ मात्र बाँकी रहन्छ।

त्यो अन्तिम साँझ, पहाडको थुम्कोमा सूर्य अस्ताउँदै गर्दा आकाशको रङ्ग कुनै भावुक चित्रकारको क्यानभास जस्तै गाढा रातो र बैजनी मिश्रणले भरिएको थियो। ‘ऊ’ र ‘म’ एउटा बुढो बरको रूखमुनि बसिरहेका थियौँ। मलाई लाग्थ्यो, मैले धेरै कुरा जानिसकेँ तर उसको मौनताले मलाई अझै पनि एउटा गहिरो प्रश्नको कठघरामा उभ्याइरहेको थियो। उसले निकै बेरपछि मलाई हेर्यो र उसका आँखामा एउटा यस्तो करुणा थियो, मानौँ उसले मेरा सारा विगतका गल्ती र भविष्यका आशाहरू एकै नजरमा पढिरहेको छ। उसले भन्यो, “साथी, तिमीले सोध्यौ नि, सफलताको अन्तिम बिन्दु के हो? गिताको अठारौँ अध्यायको त्यो मर्म सम्झ, जहाँ ‘सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज’ भनिएको छ। सबै आशाहरू, सबै परिचयहरू र सबै ‘म’ हरूलाई त्यागेर जब तिमी पूर्ण रूपमा समर्पित हुन्छौ, तब मात्र तिमी त्यो विराटसँग एक हुन्छौ। स्वामीजिले भन्नु भएको याद छ ? सफलता भनेको संसारलाई केही देखाउनु होइन, बरु आफूभित्रको त्यो बुद्धत्वलाई चिन्नु हो, जो सधैँ त्यहीँ थियो, तर तिम्रो ‘म’ को कोलाहलले गर्दा तिमीले सुन्न सकेनौ।” उसले अनुपम स्वामीको उदाहरण दिँदै अन्तिम रहस्य खोल्यो, “स्वामीजीका ती हजारौँ रातका अनुसन्धानहरू केवल तथ्यहरूको संकलन थिएनन्, ती त आफ्नो अहंकारलाई गलाउने प्रक्रिया थिए। जब तिमी ‘Maximum Effort’ लगाउँछौ, तब तिम्रो शरीर र मन थाक्छन् र त्यही थाकेको बिन्दुमा अहंकारको मृत्यु हुन्छ। अनि मात्र साँचो ज्ञानको उदय हुन्छ।” उसले मलाई आइन्स्टाइनको त्यो क्षण सम्झायो जब वर्षौँको गणितीय सङ्घर्षपछि उनले ब्रह्माण्डको बुनोटलाई एउटा सरल सूत्रमा देखे त्यो सूत्र गणित मात्र थिएन, त्यो त निरन्तरताको पराकाष्ठामा मिलेको ईश्वरको साक्षात्कार थियो। उसले मलाई अगाडि उभ्याएर भन्यो, “म अब जाँदैछु साथी, तर याद राख म, मेरो र मलाई भन्ने यी साना घेराहरूमा कहिल्यै नअल्झिनु। जब तिमीले आफूलाई गुरुको पाउमा पूर्णतः विसर्जन गर्छौ, तब तिम्रो कलमबाट निस्कने हरेक शब्द एउटा उपनिषद् बन्नेछ। तिम्रो हरेक भाव एउटा गीता बन्नेछ । तिम्रो हरेक काम एउटा प्रार्थना बन्नेछ। निरन्तरता भनेको केवल एउटै काम बारम्बार उहि Loop मा गर्नु होइन, बरु हरेक पल नयाँ भएर, पूर्ण होसमा रहेर अस्तित्वप्रति समर्पित हुनु हो।”

ऊ बिस्तारै कुइरोमा ओझेल पर्दै गयो, निकैबेरपछि झल्याँस्स भएँछु, म त्यहिँ घोत्लिएर बसेको निकै घण्टा भइसकेछ, बुढो बरका लहरे जराजुरी समातेर यसो घुँडा समाउँदै जुरुक्क उठेँ र बायाँ हातले निधारमा क्षितिज बनाउँदै च्याहेँ, उ कता पुग्यो होला, देखिन्छ कि मिरमिरै भएपनि सोचेर तर उ टाढा पुगिसकेको थियो, मात्र असफल आशा देखिन्थ्यो । मन मनै सोचेँ, “सायद, सोला भञ्ज्याङ्गको गेटबाट भित्र छिरिसक्यो होला उहि मेरो प्रियलाई भेट्न आतुर हुँदै ….”

जडदेखि चैतन्यसम्मः पूर्णताको लय

फागुन सक्किनै लागेको भएपनि अनायासै बादलले घुम्टो ओडाउँदै सिमसिमे पानी झारेर घाम मधुर्याउँदै थियो, झन् ताराहरु त देखिने कुरै भएन, परपरसम्म पनि नांगै देखिने रुख बुट्यानहरु समेत त्यो सिमसिमेलाई पनि दर्कने लागेर झर्काे मानिरहेका झैं प्रतित हुन्थे । बरु अरु सुस्ताइरहेको भएर हो कि क्या हो रक्तमाला मन्दिरबाट घण्टीको आवाज भने ठूलो स्वरमा सबैका कानमा गुन्जिरहेको थियो, धेरैलाई त्यो आवाजले भने सिमसिमेसँग मिसिएर बजिदिँदा शान्ती महसुस भए झैं सुमुधुर प्रतित भइरहेको थियो। सुरजले माया गरी पठाइदिएका Hemp कपडाका शितल पर्दा, कोठाभित्र उज्यालो छिराउन अलि पर सरेर हल्लिरहेका थिए, झ्यालको पल्लाबाट छिरेको चिसो हावाको झोंकाले कोठाभित्रका Peace Lily का फूलहरूलाई सुस्तरी हल्लाइरहेको थियो। उ भुइँमा बसेर सानो बगैँचाका साथीहरू Lucky Bamboo, Spider Plant, Snake Plant , Lucky wood र Money Plant का पातहरूलाई सुम्सुम्याउँदै थियो। उसका लागि यी केवल बिरुवा थिएनन्, बरु उसको Subconscious Mind मा जुनि-जुनि देखिका र पुस्तौँ-पुस्तादेखि दबिएका अनेकौँ संस्कार र Impressions लाई Grounding गर्ने माध्यम थिए। बिरुवाका पातमा औँलाहरू डुलाउँदा उसले आफ्नो हृदय र धर्तीको माटोबीच एउटा अदृश्य तार जोडिएको महसुस गरिरहेको थियो। आफ्नो साथमा सधैं बोकी हिंड्ने स्वामी जि ले दिनुभएको एउटा सानो कपडाको बट्टामा राखेको Selenite tumble, rose quartz, Black tourmaline, Tiger eye, Amethyst rock, red jasper, moonstone र Crystal quartz अनि कालिगण्डकीको मुहान मुस्ताङ्को सालिग्राम र स्पटिकको शिवलिंग आँफू नजिकै पारेर सुम्सुम्याउँदै हेरिरह्यो श्रद्धाले । साथमा रहेको Frankinsane, Sandalwood, Lavendar, Jasmine को essential oils मध्यबाट Frankinsane र Sandalwood को सिसीका बिर्को खोलेर हातका Pulse points मा, बुढिऔंलाको फेदतिरको पछाडि पट्टि अनि दुबै कानको पछाडि पट्टि र छातीमा पनि अलि दल्दै र टेबुलमाथिको लेभेन्डरको अगरबत्ती को सिन्का निकालेर बाल्दै काठ, बाँस र माटोले बनेको स्वर्ग जस्तो घरलाई सुगन्धित बनायो । भित्ताभरि कालभैरव, छिन्नलता भगवती, कुमारी, तलेजु भवानी, नरहरिनाथ र अनेक अनेक चित्रहरु र छड्के उभिएर बाँसुरी बजाइरहेका कृष्णको मूर्ति पनि एकछिन टक्क अडिएर समयलाई रोक्दै सुगन्ध लिइरहेका झैं प्रतित भइरहेको थियो त्यो क्षण ।

“विष्णु!” यत्तिकैमा उसले छेउमा शान्त बसिरहेको आफ्नो साथीलाई निकै आशावादी नजरले हेर्दै भन्यो, “म जति यी बिरुवाहरूलाई सुम्सुम्याउँछु, माटोसँग खेलिरहेको हुन्छु तरपनि अर्कातिर त्यति नै मलाई आफ्नो अस्तित्वको बोझ पनि महसुस भइरहेको हुन्छ, कहिलेकाहीँ अनायासै मनमा एउटा अज्ञात डर पलाउँछ त कहिले क्रोधको तातो लहरले मेरो कन्चटमा पट्पट् गरेर दुखाइ दिन्छ। बुझाइदेऊ न please, यो के भइरहेको हो मलाई?” विष्णुले उसको आङ्गभरि तल देखि माथिसम्म एकछिन हेरिरह्यो । विष्णुको भन्दा झण्डै दोब्बरै जतिको उमेर होला उसको । उसका चाहुरिँदै गएका गोडा र हातका छाला, लुँदा परेका घाँटिका छाला, फाट्टफुट्ट फुलेका आँखि भौंहरु अनि सेताम्मे सरी कपाल भएर दुनियाँले छिछि भन्ने आँखा ढाक्नलाई लगाएको कालो मेहेँदी पनि अलिक दिन बितिसकेको जस्तो देखिन्थ्यो कपालका टाटाहरु देख्दा । विष्णुका आँखाले उसका ती सबै शारिरिक संरचनालाई, उमेरलाई कुनै जज, कमेन्ट नगरिकन आफ्नो हृदयले थपक्क केबल अब्जर्भेसन गरेर टोलाएको थियो किनभने उसँग दुनियाँको जस्तो आँखा थिएन, उ कथित् साथी थिएन, साधक साथी थियो, आँफू र अरुलाई एउटै दृष्टिले हेर्ने साधक या भनौं संसारका, प्रकृतिका हरेक कुराहरु उसका लागि श्रद्धापूर्वक अध्ययन गर्ने र मनन गर्दै सिक्दै जाने बस्तु हुन्थे ।  विष्णुले शिक्षक वा गुरुको रुपमा नभएर मित्रत्वरुपी मार्गदर्शकको भावमा मुस्कुराउँदै उसलाई शान्त रहन इशारा गर्‍यो र भन्यो, “यो मनको सफाइको प्रक्रिया हो। नडराऊ, तिम्रो मुलाधार चक्रमा भइरहेको त्यो झन्झनाहट र Upper Spines मा दौडिरहेको ऊर्जाले तिम्रो चेतनालाई माथि उठाउँदैछ। आज्ञा चक्रमा जुन कम्पन तिमीले महसुस गर्दैछौ, त्यो तिम्रो आन्तरिक द्वार खुल्नुअघिको ढक्ढक्याइ हो। जब हृदय चक्रमा न्यानोपन र अनौठा Sensations आउँछन्, सम्झ तिमीभित्रको करुणा ब्युँझिँदैछ।” विष्णुले अगाडि भन्यो, “अनुपम स्वामीले सिकाउनुहुन्थ्यो नि सजगता (Awareness) भनेको श्वाससँगको संवाद हो अनि उहाँले गाउनुभएको त्यो सरस्वती वन्दना सम्झ त, जसमा कस्तो अगाध श्रद्धा !” अनि विष्णुले अत्यन्तै भावुक भएर अनुपम स्वामीकै शैलीमा गाउन थाल्यो: “या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता…” त्यो सुमधुर स्वरले कोठाको ऊर्जा नै बदलियो। उसको शरीरमा काँडा उम्रियो। उसले Humming र Breathing अभ्यास गर्दै आफ्नो श्वासलाई स्थिर पार्न थाल्यो, Shallow breathing (छाती बाटै मात्र आउने जाने अवस्थालाई) अब्जर्भ गर्दै विस्तारै गहिरो गरी पेटबाटै तानेको अभ्यास गर्यो र श्वास तान्दा पेट उचालिएर आएको हो होइन पनि विचार गर्यो अनि फाल्दा सकेसम्म तान्दाको भन्दा चाहिँ छिटो नहोस्, बरु अलि ढिलै होस् सोच्दै अजपा जापसँगै मिसाएर श्रद्धापूर्वक समर्पण भावले साध्न अभ्यास गर्यो ।

यसैबीच उसलाई लक्ष्मीप्रसाद देवकोटाको त्यो दिव्य वाणी याद आयो, जसले ‘यात्री’ कवितामा भनेका थिए: “हाडका खम्बा, मासुका पर्खाल, यो हावाको झ्याल, आफैं छ मन्दिर, आफैं छ मूर्ति, आफैं छ पूजारी…” उसले विष्णुका कुरा सुन्दै जाँदा महसुस गर्‍यो कि लेखनाथ पौड्यालको ‘पिंजडाको सुगा’ जस्तै उसको आत्मा पनि मुक्त हुन खोजिरहेको थियो। “विष्णु!” उसले भन्यो, “भर्खरैको निर्वाचनमा तिम्रो प्रेरणाले मैले जुन परिवर्तनशील पात्रलाई मतदान गरेँ, त्यसले मेरो मनमा भएको एउटा पुरानो Loop Break गरिदियो। मलाई लाग्यो, मैले वर्षौँदेखिको दासताको साङ्लो चुँडालेँ। थोरै भएपनि एक किसिमको कस्तो आत्मसन्तुष्टि मिलेको छ त्यसले केही दिन देखि” विष्णुले गीताको प्रसंग जोड्दै उसलाई अझ गहिराइमा पुर्‍यायो, “कृष्णले अर्जुनलाई सिकाउनुभएको सार यही हो नि साथी! जे भयो राम्रो भयो, जे हुँदैछ राम्रो हुँदैछ। अहिलेको यो तीव्र Universal Pattern मा जे भइरहेको छ, त्यो एउटा ठूलो परिवर्तनका लागि हो। बीपी कोइरालाको मानवतावाद र योगी नरहरिनाथले देखाएको त्यो अगाध राष्ट्रभक्ति पनि यही पूर्णताको खोजी त थियो नि पक्कै, होइन र साथी?”

अलिपर भित्तामा अढेस्याइरहेको कुशको पिरा आँफूतिर तान्यो र उसले अब त्यो कुशासनमा बसेर, हात जोडेर, गायत्री मन्त्रको जप गर्न थाल्यो। उसले आफ्नो अनि सिङ्गो नेपाल र नेपालीको र विश्वकै पनि भलोको कामना गर्‍यो। यत्तिकैमा उसको हृदयमा एउटा आफ्नै अनुभूति कविता बनेर फुर्यो:

“माटोमा हात छन्, ध्यानमा चित्त छ,

बिरुवाको सुम्सुम्याइमा जुनीको जित छ।

चामुण्डाको तेज छ, हनुमानको भक्ति,

भित्रै छ शान्ति, भित्रै छ शक्ति।

जब आफ्नै पूर्णताले परमतत्व छुन्छ,

तब मात्र मान्छे, साँच्चै मान्छे हुन्छ।”

चामुण्डा देवीको मन्त्र र हनुमान चालिसाको पाठले उसको मनभित्रको भयलाई पखालिदियो। उसले महसुस गर्‍यो कि उसको Spine बाट एउटा शीतल उर्जा बगेर आज्ञा चक्रमा टक्क अडिएको छ। अब टाउकोको दुखाइ हराएको थियो। उसले विष्णुलाई हेर्‍यो, उसको आँखाका नानीहरु कृतज्ञताले टम्म भरिएर छचल्किए, बायाँ हातका चोरी औंला र बुढी औंला अनायासै तीनलाई छेउ लाउन उचालिए, रगडिए पनि अनि ति भावलाई यादगार बनाउन अक्षरमै उतार्ने जमर्को गर्दै एउटा लेख लेख्ने तर्खर गर्यो र शिर्षक चाहिँ रोज्यो “जे सारा पूर्णता (परमतत्व) को श्रोत हो, त्यसलाई अनुभव गर्न हाम्रो जीवनले स्वयं पूर्णता छोएको हुनुपर्छ”

 

केही नहुनु भनेको सम्भावनै सम्भावना हुनु पनि हो

आकाशमा मडारिरहेका बादलहरू र सडकमा उडिरहेका निर्वाचनका पर्चाहरूका बीच निशान्त आफ्नो एकान्त कोठामा एउटा गहिरो शून्यता ओढेर बसेको थियो। झ्याल बाहिरको क्षितिजमा देखिने हल्का रातो र नीलो रङको मिश्रण जस्तै थियो निशान्तको मन, न त पूर्ण शान्त, न त पूर्ण अशान्त। ऊ आफ्नो कोठाको कुनामा बसेर रित्तो भित्तालाई टोलाइरहेको थियो। उसको अगाडि रित्तो टेबल थियो, रित्तो डायरी थियो र सायद उसको गोजी पनि रित्तै थियो तर यही रिक्ततामा उसले एउटा अद्भूत शक्ति महसुस गरिरहेको थियो। उसले मनमनै दोहोर्‍यायो “केही नहुनु भनेको सम्भावनै सम्भावना हुनु पनि हो।” जब एउटा कलाकारसँग रित्तो क्यानभास हुन्छ, तब मात्र उसले त्यहाँ ब्रह्माण्ड उतार्न सक्छ। यदि क्यानभास पहिले नै भरिएको भए, त्यहाँ नयाँ सिर्जनाको कुनै गुञ्जायस नै हुँदैनथ्यो। निशान्तको मस्तिष्कमा विचारका लहरहरू डार्विनको विकासवादी सिद्धान्तबाट सुरु भएर अध्यात्मको तरङ्गसम्म ठोकिइरहेका थिए। उसले सोच्यो, करोडौँ वर्षअघि जब यो पृथ्वीमा ‘केही थिएन’ तब मात्र जीवनको एउटा सानो कोषिका(Cell) विकसित हुने सम्भावना जन्मियो। डार्विनले भनेको Biological Evolution त केवल शरीरको यात्रा थियो बाँदरबाट मानिससम्मको यात्रा तर के मानिस नै अन्तिम सत्य हो त? अहँ, अनुपम स्वामीका वाणी र पुस्तकहरूले उसलाई अर्कै संसार देखाएका थिए। मानिस त एउटा पुल हो, एउटा सम्भावना हो, जसले पशुत्वबाट देवत्वतर्फको Spiritual Evolution तय गर्नुपर्छ। जसरी एलन मस्कले रित्तो मंगल ग्रहमा मानव वस्तीको सम्भावना देख्छन् र रकेटहरू अन्तरिक्षमा हुइँक्याउँछन्, त्यसरी नै एउटा साधकले आफ्नो भित्री शून्यतामा परमात्माको वस्ती बसाउनुपर्छ। मस्कको बाह्य विज्ञान र बुद्धको आन्तरिक विज्ञानको मिलनबिन्दु नै यो ‘केही नहुनु’ को अवस्था हो। निशान्तले सोच्यो, यो संसारको सृष्टि नै शून्यताबाट भएको हो। डार्विनले भने झैँ जीवनको विकास (Biological Evolution) एक कोषीय जीवबाट सुरु भयो, जसको आफ्नो कुनै परिचय थिएन तर त्यही ‘केही नभएको’ अवस्थाबाट आजको यो जटिल मानव मस्तिष्कसम्मको यात्रा सम्भव भयो।  जर्ज गुर्जिएफका दर्शनहरूले निशान्तलाई एउटा नयाँ दृष्टि दिएका थिए। गुर्जिएफले सिकाएको Fourth Way ले भन्छ मानिस एउटा मेसिन हो तर उसभित्र सचेत हुने र ‘आध्यात्मिक विकास’ (Spiritual Evolution) गर्ने अनन्त सम्भावना छ। त्यसका लागि मानिसले पहिले आफ्नो पुरानो अहंकारलाई शून्य बनाउनुपर्छ। निशान्तको मस्तिष्कमा न्युटन र आइन्स्टाइनका तस्विरहरू आए। न्युटनले गुरुत्वाकर्षण भेट्दा र आइन्स्टाइनले सापेक्षतावादको सूत्र कोर्दा, उनीहरू सायद निशान्त जस्तै एउटा यस्तो बिन्दुमा थिए जहाँ उनीहरूलाई ‘केही थाहा थिएन’। जब मानिसले “मलाई केही थाहा छैन” भन्छ, तब मात्र सत्य प्रकट हुने सम्भावना रहन्छ। एलन मस्कले मंगल ग्रहमा बस्ती बसाउने कुरा गर्दा पनि त त्यही शून्यतालाई चुनौती दिएका हुन् जहाँ केही छैन, त्यहाँ ब्रह्माण्ड बनाउन सकिन्छ।

उसले टेबुलमा रहेका धर्मग्रन्थहरूलाई सुम्सुम्यायो। गितामा कृष्णले अर्जुनलाई कर्मको कौशल सिकाउँदै गर्दा अर्जुनको मन निशान्तको जस्तै थियो द्वन्द्व र सम्भावनाको बीचमा। त्रिपिटकमा बुद्धले ‘शून्यता’ को जुन व्याख्या गरे, त्यो अभाव होइन, त्यो त पूर्णताको स्रोत थियो पक्कै पनि। बाइबलले भन्छ, “आत्मामा रित्तो हुनेहरू धन्य हुन्,” र कुरानले भन्छ कि जब तिमी आफ्नो ‘म’ लाई मेटाउँछौ (फना), तब मात्र परमात्माको नूर (उज्यालो) देखिन्छ। उपनिषदको “पूर्णमदः पूर्णमिदम्” को अर्थ नै यही हो कि शून्य आफैँमा पूर्ण छ। निशान्तलाई ओशोको गहिरो कटाक्ष याद आयो। ओशो भन्थे “मर्नु अघि नै मर, ताकि तिमीले जीवनको वास्तविक सम्भावना देख्न सकौ।” यो मृत्यु भौतिक होइन, यो त पुराना धारणा र विचारको मृत्यु हो। माँ आनन्दमयीको मौनता, मिराबाईको प्रेमिल पागलपन र रमण महर्षिको “म को हुँ?” भन्ने प्रश्न यी सबैले निशान्तलाई एउटै कुरा सिकाइरहेका थिए, जब तिमी बाहिरबाट रित्तो हुन्छौ, तब मात्र भित्रबाट भरिन्छौ।

अहिले देशमा निर्वाचनको लहर छ। केहि दिनमै आम निर्वाचन हुँदैछ। झ्याल बाहिर झण्डाहरू फर्फराइरहेका छन्। निशान्तले महसुस गर्यो यो समग्र ब्रह्माण्ड नै अहिले एउटा द्रुत गतिको Evolutionary Pattern मा अगाडि बढिरहेको छ। पुरानो समय गइसक्यो, अब नयाँ चेतनाको उदय अनिवार्य छ। उसले सोच्यो, “मैले मतदान गर्दा केवल एउटा मान्छेलाई होइन,एउटा परिवर्तित सोचलाई भोट दिनुपर्छ।” निशान्तको हृदयमा एउटा दृढ संकल्प जन्मियो। उसले भन्यो “म उसलाई मतदान गर्नेछु, जसले राजनीतिलाई सत्ताको खेल होइन, समाजको ‘Fourth Way’ साधना मान्दछ। म त्यो दल र उम्मेदवारलाई रोज्नेछु, जसको भावनामा प्रकृतिप्रतिको सम्मान, कला र संगीतको सिर्जनात्मकता र बदलिँदो विश्वको चेतना छ।”उसलाई लाग्यो, निर्वाचनको यो क्षण पनि उसको आध्यात्मिक विकासकै एउटा हिस्सा हो। उसले डायरीमा लेख्यो, “म निशान्त हुँ। म न त पुरै शान्त छु, न त पुरै अशान्त। म त त्यो सम्भावना हुँ, जो अब जाग्दैछ। यसपटकको मेरो मत मेरो परिवर्तित चेतनाको प्रमाण हुनेछ। म शून्यबाट सुरु गर्नेछु, किनकि केही नहुनु भनेको सम्भावनै सम्भावना हुनु पनि हो।” निशान्तले लामो सास फेर्यो। कोठामा अँध्यारो भए पनि उसको भित्र एउटा अद्भूत उज्यालो सल्किसकेको थियो। ऊ अब मतदानको दिनको पर्खाइमा थियो,जहाँ उसको एउटा सानो छनोटले एउटा विशाल परिवर्तनको ढोका खोल्ने सम्भावना बोकेको थियो। त्यो रात निशान्तका लागि केवल एउटा रात थिएन, त्यो त एउटा युगको अन्त्य र अर्को युगको पदचाप थियो। झ्याल बाहिरका सडकहरू निर्वाचनको मौन अवधिमा शान्त थिए तर निशान्तभित्र एउटा अद्भूत मन्थन चलिरहेको थियो। उसले ओछ्यानमा पल्टिएर आफ्नो श्वासप्रश्वासलाई नियाल्यो। अनुपम स्वामीले भनेझैँ, जीवनको सबैभन्दा ठूलो कला भनेकै आफ्नै अस्तित्वसँग लयवद्ध हुनु हो। उसले आफ्नो मनमा व्यक्तिगत शान्ति र यो देशको समग्र शान्तिको एउटा साझा तस्विर बनायो। विस्तारै उसले आफ्नो होसलाई केन्द्रित गर्‍यो। कुनै प्रयास बिना नै भित्र ‘अजपा जाप’ सुरु भयो श्वास भित्र जाँदा र बाहिर आउँदाको त्यो प्राकृतिक संगीत। उसले महसुस गर्‍यो, ऊ न त कर्ता हो, न त भोक्ता, ऊ त केवल एउटा साक्षी हो। यही समर्पणको भावमा, ब्रह्माण्डीय चेतनाप्रति कृतज्ञ हुँदै, निशान्त एउटा गहिरो र ध्यानस्थ निद्रामा निदायो। उसको निद्रा पनि एउटा साधना बन्यो, जहाँ “केही नहुनु भनेको सम्भावनै सम्भावना हुनु हो” भन्ने बोध उसको नशा-नशामा प्रवाहित भइरहेको थियो।

अन्ततः निर्वाचनको त्यो ऐतिहासिक बिहानी झुल्कियो। निशान्त सबेरै उठ्यो। आज उसको शरीरमा एउटा बेग्लै उर्जा थियो,मानौँ डार्विनको विकासवादले आज एउटा नयाँ फड्को मार्दैछ। ऊ मतदान केन्द्रतर्फ लाग्यो। लाइनमा उभिएका मानिसहरूको भीडमा पनि ऊ आफूलाई एउटा एकान्त टापुमा झैँ महसुस गरिरहेको थियो। उसको मनमा  Self-remembering चलिरहेको थियो। ऊ त्यहाँ थियो तर उसको होस ब्रह्माण्डको त्यो Evolutionary Pattern सँग जोडिएको थियो, जसले पुरानो जडतालाई भत्काएर नयाँ पालुवा हाल्न खोजिरहेको थियो, मतलव आफ्नो पुरानो Loop लाई break गर्ने हिम्मत गरिरहेको थियो, morning healing sessions ले सिकाएको छलाङ्गको अभ्यास गर्ने हिम्मत गरिरहेको थियो । जब उसको पालो आयो र ऊ मतदान गर्ने त्यो सानो, शान्त र एकान्त कुनामा पुग्यो, तब समय रोकिए झैँ भयो। उसको हातमा मतपत्र थियो एउटा कागजको टुक्रा, जसमा देशको आगामी भविष्यका रेखाहरू कोरिएका थिए। निशान्तले त्यो मतपत्रलाई माथिदेखि तलसम्म बिस्तारै, गहिरो नजरले हेर्‍यो। उसले त्यहाँ केवल चिन्हहरू देखेन, उसले त्यहाँ नेपालको गरिबी, सम्भावना,रोदन र हाँसो सबै देख्यो। उसले आफूभित्रको परिवर्तनको प्रवृत्तिलाई नियाल्यो। ऊ अब त्यो पुरानो निशान्त थिएन जो जात, वर्ग, सम्प्रदायिक नारा, लवाइखवाई वा भौगोलिक सीमाको साँघुरो घेरामा बाँधिएको थियो। उसले ती सबै विभेदहरूलाई आफ्नो चेतनाको शून्यतामा विसर्जन गरिदियो। उसले त्यो उम्मेदवार र संगठनलाई खोज्यो, जसले मानिसलाई मानिसको रूपमा मात्र हेर्ने साहस राख्छ, जसले आइन्स्टाइनको तर्क र बुद्धको करुणालाई जोड्न सक्छ। निशान्तले आफ्ना आँखा चिम्लियो। नेपाल र नेपालीलाई सधैं अभिभावकीय भूमिका निर्वाह गरिरहने गोरखनाथको याद गर्दै उसको हृदयबाट एउटा शक्तिशाली ध्वनि गुञ्जियो: “ॐ गोरक्षनाथाय विद्महे महासिद्धाय धीमहि तन्नो गोरक्षः प्रचोदयात् ।”

यो मन्त्रको शक्तिसँगै उसले स्वस्तिक चिन्ह हातमा लियो। उसले आफ्नो मनले खाएको, परिवर्तनको वास्तविक बाहक लागेको जोशिलो उम्मेदवारको चिन्हमा झ्याप्प मत छाप लगायो। त्यो छाप लगाउँदा उसलाई महसुस भयो, ऊ केवल एउटा चिन्हमा छाप लगाइरहेको छैन, ऊ त आफ्नो ‘Spiritual Evolution’ को एउटा नयाँ अध्यायमा हस्ताक्षर गर्दैछ। मतदान गरिसकेपछि उसले मतपत्रलाई अत्यन्तै सम्मानका साथ बिस्तारै पट्यायो। उसले त्यो कागजलाई ढोग्यो, यो ढोग कुनै व्यक्ति वा दललाई थिएन, यो त लोकतन्त्रको त्यो सुन्दर सम्भावना र परमात्माको त्यो न्यायपूर्ण व्यवस्थाप्रतिको श्रद्धा थियो। उसले परमात्माप्रति अगाध कृतज्ञता प्रकट गर्दै मौन पुकार गर्‍यो, हे ब्रह्माण्डीय ऊर्जा ! यो देशको कल्याणहोस्, हामीलाई विभेदबाट एकता तिरअन्धकारबाट ज्योति तिर र अभावबाट अनन्त सम्भावन तर्फ लैजाऊ।” निशान्तले त्यो पट्याइएको मतपत्रलाई बाकसभित्र खसालिदियो। बाकसमा कागज खस्दाको त्यो सानो आवाज उसको कानमा एउटा मधुर संगीत जस्तै सुनियो। मतदान केन्द्रबाट बाहिर निस्कँदै गर्दा निशान्तले आकाशतिर हेर्‍यो। घामको झुल्को उस्तै थियो तर उसलाई संसार फेरिएको जस्तो लाग्यो। उसले बुझ्यो बाहिरको संसार तब मात्र फेरिन्छ जब भित्रको ‘म’ फेरिन्छ। उसको गोजी अझै रित्तै थियो, हातमा केही थिएन तर उसको हृदय एउटा महान् उद्देश्यले भरिएको थियो। उसले फेरि मुस्कुराउँदै सम्झियो “केही नहुनु भनेको सम्भावनै सम्भावना हुनु पनि हो।” आज निशान्त साच्चै नै ‘शान्त’ भएको थियो एउटा यस्तो बिन्दु जहाँ रात सकिएर उज्यालोको अनन्त यात्रा सुरु भएको थियो।