रक्षा बन्दन

….. त्यो अलि पातला कलिला नाडी जहाँ रगतका मसिना नीलिकाहरू छालाको पातलो पत्रमुनि लुकेर मधुरो गरी धड्किरहेका छन्, ठ्याक्कै त्यहीँ एउटा पुरानो सम्बन्धको मौनता पग्लिरहेको छ। बाहिर भदौको सिमसिमे पानी परेर आकाश धुम्मिएको बेला भरे पुर्णाकार चन्द्र टल्किने पर्खाइमा बिहानै एउटा घरको लिस्नु छेउ बसेर भर्खरै पुरोहितले मन्त्रेर हातमा बाँधिदिएको त्यो रातो र पहेँलो धागोलाई हेर्दा लाग्छ, यो फगत कपडाको त्यान्द्रो मात्र कहाँ हो र! यसलाई मान्छेहरू रक्षाबन्धन भन्छन्, कोही डोरो भन्छन् तर यो त इतिहास र मानव मनको निकै मिहिन र घुमाउरो बन्धन हो। मनलाई धेरै ठूलो संसारतिर डुलाउनु नै छैन, बस यही कोठाको एउटा सानो काठे झ्याल, बाहिर देखिने तुलसीको मोठ र नाडीको साघुरो परिधिभित्र मात्रै रुमल्लिँदा पनि यो डोरोले हजारौँ वर्ष पुरानो कथाको गन्ध बोकेर आएको महसुस हुन्छ। धेरै पहिले जब देवता र दानवहरूको युद्धमा देवराज इन्द्र पराजित हुन लागेका थिए, तब उनकी पत्नी शचीले तपस्याको बलले मन्त्रिएको एउटा धागो इन्द्रको दायाँ नाडीमा बाँधिदिएकी थिइन्, जसले उनलाई पराजयबाट बचायो र युद्ध जितायो। इतिहासको यो घुम्ती यतिमा मात्र रोकिँदैन, जब पातालका राजा बलिका अगाडि भगवान् विष्णु स्वयं द्वारपाल बनेर बस्नुपर्‍यो, तब लक्ष्मीले साधारण महिलाको रूप धारण गरी बलिको नाडीमा यही डोरो बाँधेर दाजुको नाता गाँसिन् र उपहारस्वरूप आफ्ना पतिलाई फिर्ता मागिन्। मृत्युका देवता यमराजलाई समेत उनकी बहिनी यमुनाले यसैगरी डोरो बाँधेर स्नेहको बन्धनमा बाँधेकी थिइन्। 

यी सबै पौराणिक किंवदन्तीहरू आज यो गोबरले लिपेको भुइँको सामान्य सुकुलमा आएर एउटा पातलो दायाँ नाडीमा अडिएका छन्। दाहिने हात आफैँमा कर्म र शक्तिको प्रतीक हो र जब कसैले त्यो नाडीमा धागोको गाँठो पार्छ, उसले आफ्नो सम्पूर्ण विश्वास र रक्षाको भार अर्काको धड्कनसँग जोडिदिन्छ। पुरोहितले “येन बद्धो बली राजा…” भन्दै राजा बलिलाई बाँधेको मन्त्र उच्चारण गरिरहँदा र दिदीले आफ्ना चिसोले कक्रिएका औँलाहरूले भाइको नाडीमा गाँठो पार्दा, त्यो गाँठोले स्वतन्त्रता खोस्दैन, बरु यो भिडभाडयुक्त संसारमा “म एक्लो छैन” भन्ने एउटा सानो ओत दिन्छ। बाहिर पानी दर्किँदै जाँदा अस्ति उता भोटेकोशी उत्ताउलिएको सम्झेर यता लुरेको पनि नाडीको धागो भिज्छ र भिज्दा धागो अझ कसिन्छ, जसरी जीवनको अभाव र कठिनाइले सम्बन्धहरूलाई अझ मजबुत बनाउँछ। अनि लुरेले मुना सँग निधाउरो अनुहारले सोध्छ,”दिदी! मैले जस्तै उ पर हिलाम्मे देखिएका तिर्शिुली बगरका हरुले पनि यो डोरो लाउन भ्याका भए है?” यो वाक्यले मुनाको एकाएक नयन रसाउँछ, उ डोरो बान्दा बान्दै रोक्किन्छे र बाउलाले पुछ्दै, भर्खरै झरेका कान छेउका केश उतै सिहुरिन्छे र भन्छे, “हिजो साँझ उनीहरूको आत्म शान्ति को लागि हामीले बत्ति बालेको थियौं नि, हो तेसैले तीनका आत्मा रक्षा गरेर स्वर्ग लान्छ नि तिनलाई”। यो कुनै ठूलो महलको तडकभडक सम्वाद थिएन जसले आफन्तहरु को को परे परेनन् भन्दै नामलिष्ट च्याउनेहरु मात्र जस्ताको, बरु थियो एउटा सानो क्षेत्रमा सिमित रहेर दुईवटा आत्माले एउटै डोरोको त्यान्द्रो समातेर आँफु र साराको कल्याण सोच्ने धुन्चेको एउटा जोगिएको सानो थुम्को को कथा, एउटा सरल, भुइँस्तरको तर निकै गहिरो र आत्मिक मानवीय सत्यको।

Unknown's avatar

Author: मानव अभ्यास

🙏❣️🌹🎶✍️

Leave a comment