कलाकारहरूले जनचेतना जगाउने र प्रेरणा दिने रहेछन्। स्वभावजन्य काम गर्नु नै कलाकार हुनु हो। त्यस अर्थमा जब हामी हाम्रो स्वभावजन्य काम गर्छौं, तब हामी कलाकारिता नै गरिरहेका हुन्छौं। ओस्कार वाइल्डको एउटा भनाइ छ, “आलोचकले जनतालाई शिक्षित बनाउनुपर्छ; कलाकारले आलोचकलाई शिक्षित बनाउनुपर्छ।” कलाकारहरूले नै समाजलाई मार्ग निर्देशित गर्ने रहेछन्।
नेपालमा कलाकारिताको उदय हुँदैछ। कति मान्छे विदेशको सुरक्षा र सुविधा छोडेर आएर गाउँघरको प्राकृतिक जीवन बाँच्न प्रेरणा दिइरहेका छन्, कोही दुर्गम ठाउँहरूमा गएर विभिन्न नाटकहरू गर्दै जनचेतना जगाइरहेका छन् भने कोही आफ्नो कला र सीपलाई व्यवसायको माध्यमबाट नेपालमा पनि केही गर्न सकिन्छ भनेर हौसला दिइरहेका छन्। जुन तरिकाले अहिले नेपालमा कलाकारहरू वा स्वभावजन्य काम गर्ने मान्छेहरू बढिरहेका छन्, यसले नेपालको भविष्य उज्ज्वल हुनेछ भनेर संकेत गरिरहेको छ।
