कमिलामा अनुशासन देख्दा…

शरद ऋतुको त्यो पारिलो र कोमल घाममा एउटा अलौकिक सुगन्ध चलिरहेकै थियो जसले भर्खरै आँगनमा दशैंको मगमगाउँदो प्यारो आभास छरेर अलि अगाडि बढ्दै थियो, दैलोको तुलसीको मठ र त्यसैको आडमा रहेको एउटा गमला आफ्नै सानो ब्रह्माण्ड बोकेर शान्त ठडिइरहेको थियो तर यसै बिच प्रकृतिलाई अचानक फेरि जल प्रवाहको तृष्णा जागेछ क्यारे, बंगालको खाडीका अदृश्य वायुका तरंगहरूमा एउटा फरक र गहिरो चाप सल्कियो। नेपालको जलवायु मापन विभागका यन्त्रहरूले त्यो आकाशको गोप्य संकेत पहिल्याए र सर्वसाधारणलाई २/३ दिनको यो अकस्मात आउने वर्षाको चक्रव्यूहबाट सुरक्षित रहन सार्वजनिक उर्दी जारी गरिदिए। यो खबर मानिसका घरहरूमा मात्र पुगेन, हावाको चिसो स्पर्शसँगै तुलसीको मठ नजिकैको गमलालाई आफ्नो प्राणप्रिय घर बनाएर बसेका ती साना कमिलाका झुण्डहरूमा पनि एकाएक पराकम्पन झैं फैलियो। आफ्ना मसिना फुल र जाडोका सामग्री बोकेर उनीहरू सुरुमा त छाँगाबाट खसे झैं अत्तालिँदै बाहिरतिर दौडिन थाले, मानौं उनीहरूको सानो संसारमा महाप्रलय आउँदैछ। तर ठीक त्यही संकटको दोबाटोमा, सायद तिनका कोही दूरदर्शी राजा वा नाइके होलान्, जसले यो उथलपुथललाई नियाले र आफ्ना सहयात्रीहरूलाई नआत्तिन, संयमको त्यान्द्रो समातेर दृढ रहन एउटा मौन तर शक्तिशाली आह्वान गरे। विपत्ति आउनु अगावै मन हार्नु पराजय हो भन्दै, अनुशासनको घेराभित्र बाँधिएर, संकल्पवान भई आइपर्ने हरेक आपतविपतमा एकजुट भएर योजनाबद्ध रूपमा लामबद्ध हुन तिनले एकमत बनाए क्यार, अनि त तुरुन्तै सारा साम्राज्य समालियो। 

अघिसम्मको त्यो अन्योल र भागदौड एकाएक एकताबद्ध लाममा बदलियो। नभन्दै आकाशबाट पानीका ठूला-ठूला थोपाहरू बर्सिरहे, माटोको गमला भिजिरह्यो, अनि हरियो बिरुवा त्यो शीतल जलमा आनन्दले नुहाइरह्यो। बाहिर प्रकृतिको आफ्नै ताण्डव चलिरहँदा, कमिलाका ती अनुशासित झुण्डहरू भने आफ्नै घरको सुरक्षित ओतभित्र, एकअर्काको काँधमा भरोसा राख्दै, रत्तिभर नआत्तिईकन ओतिइरहे र मानव जातिलाई मौन भाषामा सिकाइरहे कि संकट जतिसुकै ठूलो किन नहोस्, यदि अनुशासन र एकताको भित्री ओत छ भने बाहिरको कुनै पनि आँधीले जीवनको जग हल्लाउन सक्दैन।

Unknown's avatar

Author: मानव अभ्यास

🙏❣️🌹🎶✍️

Leave a Reply