म ज्ञानी होइन

म ज्ञानी होइन,

म त जीवनको खुला पानामा,

हरेक पल नयाँ पाठ सिक्दै गरेको,

एउटा पाठक  हुँ,

बेहोसी भित्र होश खोज्दै

रुमलिरहेको म एक जिज्ञासु हुँ,

यसैले,

म ज्ञानी होइन!

मलाई केहि थाहा छैन ,

भन्ने थाहा छ मलाई,

न त आफैलाई मुट्ठीमा कैद गरेकी छु,

न त मुट्ठी खोलेर आजाद गरेकी छु,

आफैँभित्रको अज्ञानता नियाल्दै,

पल-पलमा आफैलाई हेर्दै छु,

यसैले,

म ज्ञानी होइन!

जुन दिन मैले ‘म अज्ञानी’ भन्ने थाहा पाए,

त्यसै दिन ज्ञानले  ढोका थपथपायो,

जुन दिन ‘म’ को अहङ्कार मुस्कुरायो,

त्यसै दिन अस्तित्वको बोध जुर्मुरायो

यसैले,

म ज्ञानी होइन!

वरिपरि छरिएका ज्ञानीका भीडमा,

ज्ञान भन्दा परको शब्द खोज्दै छु,

त्यही शब्दको मौनता भित्र,

अज्ञानताको मिठास चाख्दै छु,

यसैले,

म ज्ञानी होइन!

किनकि, ज्ञानले अहङ्कार बढाउँछ भने

अज्ञानी हुनु मै बाच्नु छ,

अज्ञानले विनम्रता, प्रेम र शान्ति जगाउँछ भने,

अझ अज्ञानको परिधि बढाउनु छ,

यसैले,

म ज्ञानी होइन!

अत:,

मलाई ज्ञानी बन्नु छैन,

ज्ञानीहरुको मपाइमा रम्नु छैन,

जे छु, त्यसलाई पूर्ण “आदेश”मा छु,

यही क्षण जीवन स्वयंमा छु,

यसैले,

म ज्ञानी होइन!

Unknown's avatar

Author: Rama Dulal

Trust in Yourself. Never lose yourself. Truth is one. Always think Positive then Life is wonderful, Pretty & joyful!! Now I am searching myself, looking at myself & listening to myself!!

Leave a Reply