प्रेमको दमन 

केही समयअघिको कुरा हो। गाउँका १२–१३ वर्षका ससाना भाइहरू हातमा मोबाइल लिएर गेम खेल्न मेरो घरआउने गर्थे। उनीहरू बेलुकापख प्रायः सधैँजसो मेरो घरमा आएर रमाइलो गर्थे। स्कुलमा भएका गतिविधिदेखिलिएर कसले के गर्‍यो, कसले के भन्यो, कार्टुन र भर्खरै आएका नयाँ–नयाँ गेमहरूसम्मका अनेकौँ विषयमाउनीहरू चर्चा गर्थे। उनीहरूका कुरा सुन्दा कहिलेकाहीँ त मलाई यिनीहरूले यी सबै विषयमा पीएचडी नै गरेकाहुन् कि जस्तो लाग्थ्यो। म परैबाट उनीहरूका कुराहरू सुनिरहन्थेँ।

वास्तवमा, उनीहरू आफ्नो बालापनको भरपूर आनन्द लिइरहेका थिए। उनीहरूको काँधमा कुनै जिम्मेवारीथिएन। परिवार र समाजका अपेक्षाहरूले उनीहरूको बालमनलाई थिचिसकेका थिएनन्। सोचमा सरलताथियो, व्यवहारमा अबोधपन थियो र सानासाना कुराबाटै खुसी हुने स्वाभाविक क्षमता थियो। उनीहरू कहिलेशनिबार आउला र दिनभरि दाइको घरमा गएर गेम खेल्न पाइएला भनेर पर्खिरहेका हुन्थे।

एक दिन दिउँसो स्कुल छुटेपछि ती भाइहरू फेरि गेम खेल्न मेरो घरमा आए। उनीहरू फटाफट मोबाइल निकालेरFree Fire खेल्न थाले। खेल्ने क्रममा आपसमा ठट्टा गर्दै रमाइरहेका थिए। त्यही बेला कक्षा दुईमा पढ्ने एउटासानो भाइले कक्षा तीनमा पढ्ने आफूभन्दा अलि ठूलो भाइलाई हाँस्दै भन्यो, “ओइ, तँ त अस्मितालाई मनपराउँछस् अरे है! तेरो त अस्मितासँग लभ परेको छ रे, होइन?”

सानो भाइले उच्चारण गरेको त्यो Love शब्द ठूलो भाइको कानमा पर्नासाथ ऊ एकाएक झस्कियो। केहीक्षणअघिसम्म हाँसिरहेको उसको अनुहारको भाव बदलियो। अनुहार रातोपिरो भयो र ऊ रिसले मुर्मुरिन थाल्यो।सानो भाइको नजिक गएर उसलाई च्याप्प समात्दै भन्यो, “ के भनिस् अरे ?    ! म कसलाई लभ गर्छु अरे?” यति भन्दै उसले सानो भाइलाई घोप्टो पारेर पिट्न थाल्यो।

म परैबाट उनीहरूको गतिविधि नियालिरहेको थिएँ र सबै कुरा सुनिरहेको थिएँ। तर जब ठूलो भाइले सानोभाइलाई बेसरी पिट्न थाल्यो, तब म हतारहतार उनीहरूलाई छुट्याउन गएँ। ठूलो भाइको हात समातेर उसलाईआफूसँगै ल्याएँ र शान्त पार्दै सोधेँ, “के भयो र भाइ? किन एक्कासि उसलाई त्यसरी पिटेको?”

उसले न्याउरो मुख लगाउँदै आक्रोशित स्वरमा भन्यो, “म कसैलाई पनि लभ गर्दिनँ!”

 “अर्कालाई लभ नगरी लभ गर्छस् भनेर किन भन्नु त? 

   उसको कुरा सुनेर म तीनछक परेँ। एउटा सानो बालकले कसैलाई मन पराएको आरोप लाग्दा त्यसलाई यतिठूलो अपराधका रूपमा किन लिइरहेको थियो? उसको अनुहारमा देखिएको आक्रोश र असहजताले मलाईयस्तो महसुस गरायो, मानौँ कसैलाई माया गर्नु र मन पराउनु कुनै ठूलो पाप हो, जसको खुलासा हुनु भनेकोआफूले अक्षम्य गल्ती गरेको प्रमाणित हुनु हो।

मैले दुवै जनालाई नजिकै बोलाएँ र मायालु स्वरमा सम्झाउँदै भनेँ, “हेर भाइहरू, प्रेम गर्नु त राम्रो कुरा हो नि! प्रेमगर्नुमा नराम्रो के छ र? म त स्कुलमा सबैलाई लभ गर्छु। मेरा पनि कति धेरै केटी साथीहरू छन्। उनीहरूले पनिमलाई लभ गर्छन्, म पनि उनीहरूलाई लभ गर्छु। हामीले मान्छेलाई मात्र होइन, तिमीहरूले देखिरहेका यीरुखहरूलाई पनि प्रेम गर्नुपर्छ। यी जनावरहरूलाई पनि प्रेम गर्नुपर्छ। प्रकृतिका हरेक जीवप्रति माया र करुणाराख्नुपर्छ। दिलदेखि सबैलाई ‘I love you’ भन्न सक्नुपर्छ। त्यसैले अब आइन्दा कसैले तिमीहरूले कसैलाईलभ गर्छौ भन्यो भने नरिसाउनु है, बरु खुसी हुनु।”

यति भनेर मैले उनीहरूलाई पकाएको खाजा थोरैथोरै दिएँ, सम्झाएँ र घर पठाएँ।

तर त्यो दिनको घटनाले मलाई कैयौँ दिनसम्म सोच र चिन्तनमा डुबाइरह्यो। बाहिरबाट हेर्दा त्यो सामान्यबालसुलभ झगडा मात्रै थियो, तर मेरो दृष्टिमा त्यसले हाम्रो समाजको एउटा गहिरो प्रतिबिम्ब छोडेको थियो।त्यो कलिलो भाइलाई दोष दिने ठाउँ मैले कतै देखिनँ, किनकि उसको व्यवहारभित्र हाम्रो परिवार, सामाजिकसंस्कार र सामूहिक चेतनाको प्रभाव स्पष्ट देखिरहेको थिएँ।

बालमस्तिष्क भनेको सफ्टवेयर इन्स्टल गरिँदै गरेको एउटा कच्चा कम्प्युटरजस्तै हो। त्यसमा कस्तो सफ्टवेयरइन्स्टल गरिन्छ, कस्ता निर्देशनहरू दिइन्छन् र कस्तो वातावरणमा हुर्काइन्छ भन्ने कुराले त्यसको कार्यप्रणालीनिर्धारण गर्छ। बालकले जीवनको सुरुवाती चरणमा परिवार र समाजबाट जे देख्छ, जे सुन्छ र जे सिक्छ, बिस्तारै त्यही नै उसको सोच र व्यवहारको हिस्सा बन्दै जान्छ।

यदि बालकलाई सानैदेखि प्रेम, करुणा, मैत्रीभाव र अरूको अस्तित्वको सम्मान गर्न सिकाइयो भने ऊसंवेदनशील र प्रेमपूर्ण मानिस बन्न सक्छ। तर उसलाई अरूलाई घृणा गर्न, सधैँ अरूभन्दा अगाडि रहन, अरूलाई जित्न र आफ्ना स्वाभाविक भावनाहरू दबाउन सिकाइयो भने उसले पनि त्यही मानसिकता आत्मसात्गर्दै जान्छ।

अब प्रश्न उठ्छ—बालकको मस्तिष्कमा यी निर्देशनहरू भरिदिने परिवार र समाजको चेतनाको स्तर कस्तो छ?

यदि स्वयं जीवनलाई बुझ्ने प्रयास नगरेका, आफ्नै डर र पूर्वाग्रहमा जकडिएका अभिभावकहरू बालककाप्रोग्रामर बने भने उनीहरूले उसलाई कस्तो जीवनदृष्टि दिन सक्छन्? आफ्ना मान्यता र संस्कारमाथि प्रश्नउठाउन नसक्ने आमाबुबाले सन्तानलाई पनि त्यही पुरानो मानसिकताको बोझ बोकाइरहेका हुन सक्छन्।परिणामस्वरूप, बालक आफ्ना स्वाभाविक भावनालाई समेत अपराध ठानेर हुर्किन सक्छ। उसको जीवन ह्याङभएको कम्प्युटरजस्तै बन्न सक्छ, 

जुन समाजमा प्रेम गर्नु, कसैलाई मन पराउनु वा दुई युवा–युवती एकअर्कासँग बसेर मिठामिठा कुरा गर्नु पाप होभनेर सिकाइन्छ, त्यहाँ हुर्किएको बालकले प्रेमलाई कसरी बुझ्न सकोस्? उसले आफ्ना भावनालाई स्वाभाविकरूपमा स्वीकार गर्न नै पाएन भने अरूको भावनाको सम्मान गर्न कसरी सिक्छ?

हाम्रो समाजको विडम्बना के छ भने यहाँ काटमारलाई स्वीकार गरिन्छ, झगडालाई सामान्य मानिन्छ र अरूलाईदुःख दिइरहेको दृश्यलाई समेत कहिलेकाहीँ रमिताका रूपमा हेरिन्छ। मानिसहरू अरूको पीडालाईचटकजस्तै हेरेर रमाउन सक्छन्। तर जब दुई प्रेमिल मनहरू सँगै बसेर आत्मीयतापूर्वक कुरा गर्छन् रएकअर्काप्रति माया व्यक्त गर्छन्, तब त्यही समाजलाई असह्य हुन्छ। न परिवारले सहज रूपमा स्वीकार गर्नसक्छ, न समाजले।

किन यस्तो हुन्छ? किन दुई व्यक्तिबीचको प्रेमभन्दा उनीहरूको सम्बन्धलाई लिएर फैलिने हल्ला बढी प्रियहुन्छ? किन अरूलाई चोट पुर्‍याउने व्यवहारभन्दा प्रेमको अभिव्यक्तिलाई बढी शङ्काको दृष्टिले हेरिन्छ? 

निस्सन्देह, प्रेमका नाममा कसैलाई नियन्त्रण गर्नु, जबर्जस्ती गर्नु, छल गर्नु वा उसको स्वतन्त्रता र सीमाकोउल्लङ्घन गर्नु गलत हो। प्रेममा पारस्परिक सम्मान, सहमति र जिम्मेवारी आवश्यक हुन्छ। तर प्रेमका नाममाहुने गलत व्यवहारलाई देखाएर प्रेमकै स्वाभाविक भावनालाई निषेध गर्नु कस्तो बुद्धिमानी हो? गलतव्यवहारलाई सच्याउनुपर्ने ठाउँमा प्रेमलाई नै अपराधी बनाउनु कस्तो सामाजिक चेतना हो?

मलाई लाग्छ, हाम्रो समाजमा पाखण्डको बिगबिगी हुनुका अनेकौँ कारणमध्ये प्रेमको दमन पनि एउटामहत्त्वपूर्ण कारण हो। जब मानिसलाई आफ्नो स्वाभाविक भावना स्वीकार गर्न दिइँदैन र समाजले तोकेकोकृत्रिम आवरणभित्र मात्र बाँच्न बाध्य बनाइन्छ, तब ऊ बाहिर एउटा रूप देखाउन र भित्र अर्कै जीवन बाँच्न बाध्यहुन सक्छ। उसले वास्तविक भावनाभन्दा सामाजिक प्रतिष्ठालाई महत्त्व दिन थाल्छ, सत्यभन्दादेखावटीपनलाई रोज्छ र आफू वास्तवमा जे हो, त्यही रूपमा बाँच्न डराउँछ।

प्रेम व्यक्तिको नैसर्गिक अधिकार हो। प्रेम मानवीय स्वभाव हो, चेतनाको सुन्दर अभिव्यक्ति हो। जसरीशरीरलाई जीवित रहन भोजन चाहिन्छ, त्यसरी नै मानिसको भावनात्मक जीवनलाई आत्मीयता, स्नेह, करुणार प्रेमको आवश्यकता पर्छ  ओशो रजनिस भन्ने गर्थे।  “ शरीरको भोजन खाना भएजस्तै आत्माको भोजन प्रेमहो। प्रेमले मानिसलाई मानिससँग जोड्छ, प्रकृतिसँग जोड्छ र जीवनप्रति आत्मीय बनाउँछ।

त्यसैले, हे बच्चा जन्माउन हतार गर्ने आमाबुबा हो  पहिला आफू जन्म | आफ्नो चेतना स्तर बढाउ, आफ्नासन्तानलाई प्रेम सिकाउनुअघि आफूले प्रेमलाई कति बुझेका छौँ भनेर एकपटक आफैँलाई प्रश्न गरौँ।

आफ्ना सन्तानलाई सानैदेखि “कसैलाई प्रेम गरिस् भने खुट्टा भाँचिदिन्छु” भनेर डर नदेखाऔँ। उनीहरूलेकसैलाई मन पराएको थाहा पाउँदा अपमानित नगरौँ। बरु प्रेम के हो, सम्मान के हो, सहमति के हो र अरूकोस्वतन्त्रतालाई कसरी सम्मान गर्नुपर्छ भन्ने कुरा सिकाऔँ। उनीहरूलाई आफ्ना भावना खुलेर व्यक्त गर्न सक्नेवातावरण दिऔँ, ताकि उनीहरू डर  होइन, समझदारी र जिम्मेवारीमा हुर्किन सकून्।

आफूभित्र प्रेमको चेतना नै जागृत नभई अरूलाई प्रेम सिकाउन सकिँदैन। आफूले जीवनलाई बुझ्ने प्रयास नैनगरी बच्चालाई जीवनको अर्थ बुझाउन सकिँदैन। त्यसैले बच्चा जन्माउनुअघि आफैँलाई बुझ्ने प्रयास गरौँ।आफ्ना डर, पूर्वाग्रह र अन्धविश्वासलाई चिनौँ। पुस्तौँदेखि बोकेर आएका सबै मान्यता सत्य नै हुन्छन् भन्ने छैन।कतिपय मान्यताले मानिसलाई स्वतन्त्र बनाउनुको सट्टा उसको चेतनालाई साँघुरो बनाइरहेका हुन सक्छन्।

यति लेखिरहँदा मलाई सन्त कवि कबीरको एउटा प्रसिद्ध दोहा याद आउँछ—

“पोथी पढि पढि जग मुवा, पण्डित भया न कोय।
ढाई आखर प्रेम का, पढे सो पण्डित होय॥”

अर्थात्, संसारमा मानिसहरूले अनेकौँ पुस्तक पढे, शास्त्र अध्ययन गरे र ज्ञानका असङ्ख्य कुरा सिके। तरपुस्तक पढ्दैमा मात्रै कोही साँचो ज्ञानी बन्न सक्दैन। जसले प्रेमका ती अढाई अक्षरको वास्तविक अर्थ बुझ्नसक्यो र त्यसलाई आफ्नो जीवनमा उतार्न सक्यो, वास्तवमा त्यही नै साँचो ज्ञानी हो।

हामी विज्ञान पढ्न सक्छौँ, दर्शन बुझ्न सक्छौँ, धर्मशास्त्र कण्ठ गर्न सक्छौँ र संसारका अनेकौँ रहस्य पत्तालगाउन सक्छौँ। तर यति सबै गरेपछि पनि यदि हामीले प्रेम गर्न जानेनौँ,  करुणा महसुस गर्न सकेनौँ भने हाम्रोज्ञानको पूर्णता कहाँ रहन्छ?

आखिर जीवनको सार के हो? के जीवन केवल जन्मनु, पढ्नु, कमाउनु, प्रतिस्पर्धा गर्नु, अरूलाई जित्नु र एकदिन संसारबाट बिदा हुनु मात्रै हो? कि जीवनको गहिराइमा यी सबैभन्दा पर एउटा यस्तो अनुभूति पनि छ, जसलेमानिसलाई आफूभित्र र बाहिरको संसारसँग जोड्छ? मेरो बुझाइमा, त्यो अनुभूति प्रेम हो। प्रेमले जीवनलाईअर्थ दिन्छ र प्रेमले नै हामीलाई आफ्नो साँघुरो स्वार्थभन्दा माथि उठेर संसारलाई हेर्न सिकाउँछ।

जीवन प्रेम हो, र प्रेम नै परमात्माको अनुभूतितर्फ लैजाने एउटा सुन्दर बाटो हो। त्यसैले प्रेमबाट नभागौँ—निर्धक्क प्रेम गरौँ।

नमन

✍️ शिशिर निराकार  

One thought on “प्रेमको दमन ”

Leave a Reply