भाइटीका

बिहानको कलिलो घाम झ्यालको फ्याँकबाट छिरेर सिरकको डल्लोमा अल्छी मानिरहेको मलाई कुतकुती लाउन थाल्यो। अनि अचानक दिदीको स्वर चर्को गन्गन बनेर मेरो कानमा ठोक्कियो, “ओइ! यति ढिलासम्म सुत्छस्? आज त भाइटिका, बिर्सिइस्? आँफु चैं भाइ भनेर उति टाढाबाट आको, यसलाई त वास्तै छैन, राती ढिलो सम्म तास खेलेर बसो क्यारे….!”

त्यो स्वरमा प्रश्न थिएन, एउटा जीवनभरको अभ्यास थियो। तर आज त्यो स्वरमा बेग्लै न्यानो थियो किनकि आज दिदी आफ्नो टाढाको घरबाट माइती घरमा आएकी थिइन् सप्तरंगी लगाइदिन, भाइको निधारमा आफ्नो हातको स्पर्श दिन, अनि फेरि आफ्नो घर फर्किन। उनको आगमनमा त्यो दूरी थियो जुन माइतीसँगको सम्बन्धमा सधैं हुन्छ – नजिकको दूरी, जो टाढा भएर पनि टाढा हुँदैन। कसैका दाजुभाइ नहोलान्, कसैका दिदीबहिनी नहोलान् तर आत्मिय सम्बन्ध भइरहन्छ, भएनैसरी, नछोइए पनि जोडिएसरी, अनि कहिले काँही रगतकै सम्बन्ध नभएपनि कसैसँग कसैको त गाढा हुन्छ जन्मौं जन्म देखिको सरी, सच्चा गुरु – शिष्य सम्बन्ध सरी दुरिबिहिन भएर। “आँफु चैं भाइ भनेर उति टाढाबाट आको, यसलाई त वास्तै छैन”, यो वाक्यमा दिदीको मनको त्यो गाँठो थियो जुन हरेक छोरी र माइतीबीचको सम्बन्धमा हुन्छ: प्रतीक्षाको गाँठो, जो मायाले बाँधिएको हुन्छ तर कहिल्यै कसिँदैन, बरु आज त्यो गाँठो झन् बलियो र आत्मीय बनेको थियो।

उनी मलाई उठाउनु अघि नै भान्सा, दलिन, आगन बढारिसकेकी थिइन् तर आज त्यो कुचो चलाइमा बेग्लै भाव थियो, आफ्नै घरको कर्तव्य होइन, माइतीघरको ममता थियो। गाईलाई पानी दिएर, कुँडो बसाइसकेकी थिइन् गोठमा अनि आगन वरपरका फुल, सागसब्जीका बोटलाई पानी पियाइदिएर ढुक्कसँग जसरी भाइटीकाको दिन दाजुभाइको निधारमा सप्तरंगी टाँसिन्छ।

उता आमा चाहिँ आफ्नो पुजाआजा सकेर ढिकी नजिकै खोस्टाको न्यानो पिरामा बसेकी थिइन् कलिला घामतिर फर्किएर बत्ति कात्दै, एउटा सानो सिर्कनो दाहिने पट्टी राखेर। भर्खरै जन्मिएको पाठो जिस्किएर लपेटिन खोज्दा घरि घरि त्यसका टाउकामा नदुख्ने गरी ट्वाक ट्वाक पार्दै। आमाको हातको त्यो हल्का प्रहारमा कति माया थियो! त्यो ट्वाक ट्वाक आवाजमा एउटा लोकगीतको लय थियो, जुन आमाले जीवनभर गाइरहेकी थिइन्, नयाँ जीवनलाई बाँच्न सिकाउने लय, कठोरता सहने लय, माया गर्ने लय। आज त्यो लयमा एउटा नयाँ खुसी मिसिएको थियो, छोरी आएकी छे, टाढाबाट, भाइको निधारमा सप्तरंगी लगाउन।

अल्छिलाई लात हान्दै सिरकलाई सुमसुम्याउन छाडेर म जुरुक्कै उठें। दिदीको गन्गन अझै कानमा गुञ्जिरहेको थियो। आमाको ट्वाक ट्वाक अझै आगनमा प्रतिध्वनित हुँदै थियो। भाइटीकाको सप्तरंगी पर्खिरहेको थियो, अनि माटाको प्यालामा घिउको सुगन्धबीच कपासको दियो चम्किरहेको थियो, ‘तमसोमा ज्योतिर्गमय’ को मधुर उज्यालो छर्दै।

उज्वललाई सम्झिएँ

आज बिहानीको कलिलो घामसँगै सहरका गल्लीहरू एउटा भिन्नै रङमा ब्यूँझिएका छन्। हरेक चोक र मोडहरूमा निष्ठाका मौन पहरेदारहरू गलामा रंगीचंगी फूलका गह्रौँ मालाको साख बोकेर गर्विलो चालमा हिँडिरहेका देखिन्छन्। आज यिनलाई कसैले पनि हकारेका देखिँदैनन्, मिठो माया पाएको आभासमा निर्धक्क डुलिरहेका छन् । 

वर्षमा एकदिन आउने यो चाडको दृश्यले आज केवल एउटा परम्पराको कथा मात्र भनिरहेको छैन मलाई, बरु मेरो मानसपटलमा स्मृतिहरूको एउटा यस्तो झ्याल खोलिदिएको छ, जहाँबाट इतिहासको एउटा ऊर्जाशील अध्याय प्रष्ट देखिन्छ। मन एकाएक निकै वर्ष पुरानो एउटा तस्बिरमा पुगेर टक्क अडिन्छ। त्यो तस्बिर सात समुद्र पारिको लोभलाग्दो चमकधमक र विदेशको सुखसयललाई सहजै त्यागेर स्वदेश फर्किएको एउटा तन्नेरीको हो। जसको आँखामा सपना त थिए तर ती सपनाहरू व्यक्तिगत स्वार्थका साँघुरा घेराभन्दा निकै माथि थिए। मानव जीवनको वास्तविक उद्देश्य र अस्तित्वको खोजीमा भौंतारिएको त्यो मन कहिलेकाहीँ चरम वैराग्यमा डुब्थ्यो। ऊ सोच्थ्यो कि त जोगी बनेर हिमालका कन्दरा, शान्त जंगल र तीर्थस्थलहरूमा आफैंलाई विलय गराइदिऊँ, कि त यो मातृभूमिको धमिलिएको तस्विर सफा गर्ने एउटा संवाहक बनूँ। त्यो बेला देशको राजनीतिक मियोमा सधैं वृद्ध सोच र पुरातन प्रवृत्तिको एकाधिकार थियो। राजनीति भनेको युवाहरूको सरोकारकै विषय होइन जस्तो गरी तन्नेरी पुस्ता उदासीन थियो तर त्यो रैथाने ठिटोले बुझ्यो कि सुशासन, भ्रष्टाचारको अन्त्य र जनताका भुइँतहका वास्तविक समस्याहरूको स्थायी समाधान तबसम्म सम्भव छैन, जबसम्म युवाहरू आफैं नीति निर्माणको मूलधारमा होमिएर हस्तक्षेप गर्दैनन्। देशलाई अब भाषण होइन, एउटा इमान्दार सुरुवातको जरुरी छ भन्ने कुराको महसुस उसले गहिरो गरी गर्‍यो। त्यही हुटहुटी बोकेर कुकुर तिहारको दिन बसन्तपुरको ऐतिहासिक प्रांगणमा केही थान निश्चल आँखाहरू जम्मा भए। त्यो एउटा सानो समूह थियो तर तिनीहरूसँग परिवर्तनको ठूलो आँधी थियो। आउँदै गरेको निर्वाचनको मैदानमा उत्रिनका लागि उनीहरूले कुनै तडकभडकपूर्ण चिह्न खोजेनन्, बरु मानव समाजमा परापूर्वकालदेखि निष्ठा र बफादारिताको पर्याय मानिएको त्यही ‘कुकुर’ स्वरूपलाई आफ्नो संगठनको प्रतीक रोजे र चुनाव चिन्ह दर्ता गराए। त्यो अनौठो र साहसी विद्रोहको नेतृत्व गर्ने शालीन नायक थिए, तत्कालीन युवा नेता उज्वल थापा। शिरमा भादगाउँले टोपी र नेपालको झण्डा मूनि शान्त उभिरहेको मिजासिलो, विनित स्वभावका ठिटो । त्यस अवसरलाई नजिकबाट निहाल्न मेरा इच्छालु मन त्यस दिन तिनितिर लम्कियो। तीनका निश्चल नयन र रसिला ओठमा अडिरहेको हल्का मुस्कान र आँटले भरिएको कोमल हत्केलाले मेरो हात एकाएक अगाडि बढेर छोइदिँदा मेरा मुटु भेट्दै शरिरका सबै सररर भिजाइदियो । आज उज्वल भौतिक रूपमा हामीमाझ नभए पनि, मानसपटलमा भने जिउँदो छ, उसले बसन्तपुरको त्यो माटोमा रोपेको विचारको सानो बीउ आज हराएको छैन। समयको गतिसँगै त्यो बीउ आज एउटा विशाल, हरियो र चारैतिर हाँगाबिँगा झांगिएको बलियो वृक्ष बनिसकेको छ। राष्ट्रिय राजनीतिको मरुभूमिमा आज जुन सुशासनको नयाँ पालुवा र युवाहरूको दरिलो हस्तक्षेप देखिँदैछ, त्यो वास्तवमा त्यही वृक्षको छहारी हो। उज्वल नाम मात्र थिएनन्, उनी त नेपाली राजनीतिको आकाशमा निष्ठाको उज्यालो छर्ने एउटा दियो थिए, जसको प्रकाश आज पनि अनगिन्ती तन्नेरीहरूका पाइलाहरूमा मार्गदर्शक बनेर बलिरहेको छ।