✍️…मेरो जापान डायरीबाट।
७ नोभेम्बर २०२१ (वि.सं. २०७८ भाइटीकाको दिन)
२/४ मनका कुरा:
हामी नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आ-आफ्नो तरिकाले मनाउँदै गर्दा कतिपय व्यक्तिहरूले “यो हाम्रो चाड होइन, यो चाड हिन्दुहरूको मात्रै हो” भन्दै विरोध गरेको पनि देखियो। अन्य धर्मावलम्बीहरूले पनि सप्तरङ्गी टीका र सयपत्री फूलको माला लगाएर विधिपूर्वक हर्षोल्लासका साथ मनाएको पनि देखियो। आखिर यो विरोधाभास हुनुको कारण के हो?
पहिलो कुरा हामीले के बुझौँ भने चाडपर्व भनेको के हो? किन मनाइन्छ? हाम्रो जीवनमा यसको महत्व के छ?
हाम्रो नेपाली समाजमा हरेक जातिका आ-आफ्नै भाषा, संस्कार, मूल्य-मान्यता, परम्परा, संस्कृति, चाडपर्व र धर्म हुन्छन्। कोही हिन्दु, कोही बौद्ध, कोही क्रिस्चियन, कोही बोन, कोही किरात इत्यादि। कसैको प्रमुख चाड दशैँ-तिहार होला, कसैको ल्होसार, कसैको छठ, कसैको उभौली-उधौली, कसैको क्रिसमस, कसैको ईद इत्यादि।
ऐतिहासिक पाटो र महत्व आफ्नो ठाउँमा छ। अहिले वर्तमान समयमा यी चाडपर्वहरूले हाम्रो जीवनमा कस्तो भूमिका खेल्दछन्? हाम्रो जीवनमा कस्तो अर्थ राख्दछन्? एक हिन्दु परिवारले दशैँ/तिहार मनाउँदै गर्दा अर्को ‘क, ख, ग’ धर्मका परिवारले त्यसको विरोध गर्ने? एउटा गुरुङ परिवारले ल्होसार मनाउँदै गर्दा ‘क, ख, घ’ धर्मका व्यक्तिले विरोध गर्ने? अथवा ईद, छठ, क्रिसमस, माघे सङ्क्रान्ति मनाउँदै गर्दा अन्य समुदायका व्यक्तिले त्यसको विरोध गर्ने?
अहिलेको समयमा आफ्नो इच्छाविपरीत न त राज्यले न कसैले “यो धर्म मान, यो चाड मना, यो देवी, देउता, भगवान्, बुद्ध, जिसस, अल्लाहको पूजा गर” भन्ने जबर्जस्ती आदेश नै दिएको छ। हामी आफ्नो मूल्य-मान्यता, आदर्श, विश्वास र आस्थामा स्वतन्त्र छौँ। हामीलाई देशको संविधानले पनि यो नैसर्गिक अधिकार दिएको छ। हाम्रो देश धार्मिक सहिष्णुता भएको देश हो। हामी सबै नेपालीहरू सदियौँदेखि मिलिजुली बस्दै आएका छौँ। इतिहासको कालखण्डमा तत्कालीन शासकवर्गहरूको आदेशबमोजिम जबर्जस्ती कुनै एउटा धर्म लादिएको, आफ्नो संस्कारविपरीत आफूले अभ्यास नगर्ने चाडपर्वहरू मनाउन बाध्य पारिएको ऐतिहासिक घटनाक्रमलाई पनि नकार्न सकिन्न। तर अहिलेको परिप्रेक्ष्यमा हामी स्वतन्त्र छौँ र यो हाम्रो नैसर्गिक अधिकार हो।
मेरो विचारमा हामी जुनसुकै जात, समुदाय, वर्ग, मूल्य-मान्यता वा धर्ममा आस्था राखे तापनि हामी एउटै कुरा चाहन्छौँ। त्यो हो— खुसी। यी चाडपर्वहरू नै वास्तवमा हाम्रा खुसीका स्रोतहरू हुन्, माध्यमहरू हुन्। यी चाडपर्वहरूले व्यक्ति, परिवार र समुदायबिच माया, सद्भाव, अपनत्व, भाइचारा र खुसी साटासाट गर्ने अवसर जुराउँछन्। हिन्दु धर्मावलम्बीहरूका लागि दशैँ-तिहार, बौद्ध धर्मावलम्बीहरूका लागि वैशाख पूर्णिमा, मुस्लिम धर्मावलम्बीहरूका लागि ईद, क्रिस्चियन धर्मावलम्बीहरूका लागि क्रिसमस जस्ता चाडपर्वले व्यक्ति-व्यक्ति, परिवार र समुदायबिच उत्साह, उमङ्ग र खुसी ल्याउँछन्। त्यस्तै गुरुङहरूले मनाउने ल्होसारको हामी गुरुङ समुदायका लागि विशेष महत्व रहन्छ। मगर समुदायका लागि माघे सङ्क्रान्ति, थारू समुदाय तथा मधेसी समुदायका लागि छठ इत्यादि। हाम्रो देशमा हामी जुनसुकै धर्ममा आस्था राखे पनि, जुन समुदायका भए पनि, जुनसुकै मूल्य-मान्यतालाई आत्मसात् गरे पनि हामीबिच सधैँ एक-आपसमा धार्मिक, सामाजिक तथा हरेक पक्षबाट सहिष्णुता, सद्भाव, भाइचारा तथा आत्मीय सम्बन्ध रहिआएको छ। यसको ज्वलन्त उदाहरणका रूपमा हाम्रै गुरुङ समुदायले ल्होसार, वैशाख पूर्णिमा लगायत दशैँ तथा तिहार पनि उत्तिकै हर्षोल्लासका साथ मनाएकै छन्। म गुरुङ जाति, बौद्ध धर्मावलम्बी र वंशज नेपाली हुँ। म बुद्ध शिक्षालाई आत्मसात् गर्छु, ल्होसार र वैशाख पूर्णिमा मनाउँछु। मेरा हिन्दु साथीभाइहरूलाई दशैँ-तिहारमा शुभकामना दिन्छु। क्रिस्चियन मित्रहरूको क्रिसमस कार्यक्रममा पनि जान्छु, मेरो छिमेकी दमाईको भोज पनि खान्छु, मेरो बाल्यकालको क्रिस्चियन मित्रको देहान्त हुँदा म बेस्सरी रोएँ, मुस्लिम साथीको ईद पर्वको निमन्त्रणामा सँगै खुसी मनाउँछु। यसबाट मैंने सुन्दर मानवीय पक्षको अनुभूति पाउँछु।
यहाँ यो होइन कि एउटा जाति, समुदाय, समाज तथा धर्म मान्ने व्यक्तिले अर्को जाति, समुदाय, समाज तथा धर्ममा आस्था राख्नेसँग घुलमिल हुन, चाडपर्व मनाउन, सुख-दुःख र साथ-सहयोग आदानप्रदान गर्नु आफ्नो मूल्य-मान्यता विपरीतको कार्य हो वा अपराध हो। यी सबै मूल्य-मान्यताहरू सद्भाव, भाइचारा, मानव कल्याणका लागि, मानव हितका लागि र मानव खुसीका लागि हुन्। समयसापेक्ष केही कुसंस्कार, कमी-कमजोरी र अन्धविश्वास जस्ता पक्षहरू बिस्तारै हट्दै जान्छन्। यसमा कसैको दुई मत नहोला।
सबैको जय होस्।
🙏🙏🙏
✍️… Jeevan Gurung

