तिमीसँगको बिहानी

हरिया पहाडका विशाल छातीहरूले रातभरि ओढेको कुहिरोको सेतो पछ्यौरी बिस्तारै समार्दै गर्दा म तिम्रो त्यो  रैथाने गाउँको शरद आँगनमा आइपुगेको थिएँ। प्रकृति आफैँले आफ्नो एकाग्रतामा लिपेर उठाएको जस्तो देखिने काठ, बाँस र माटोको त्यो दिब्य घर केवल एउटा संरचना मात्र थिएन, बरु हाम्रा मौन आकाङ्क्षाहरूले छहारी पाएको एउटा पवित्र मन्दिर जस्तो लाग्थ्यो। वरिपरि हरिया पहाडहरू एकअर्काको काँधमा काँध मिलाएर यसरी उभिएका थिए, मानौं तिनले युगौँदेखि हाम्रै प्रतीक्षा गरिरहेका हुन्। पहाडी कान्लाहरू जताततै प्राकृतिक सिँढीझैँ उक्लिएका थिए, जहाँ बारीका पाटाभरि थरीथरीका रङ्गीचङ्गी फूलहरूले बैँस ओकलेर सुवासको एउटा छुट्टै साम्राज्य खडा गरिरहेका थिए। 

त्यो क्षितिजबाट भर्खरै ओर्लिएको बिहानीको पहिलो किरण यति कलिलो र मिठो स्वादको थियो कि, त्यसले गाउँका पाखापखेरालाई मात्र होइन, मेरो भित्री चेतनालाई समेत एउटा गहिरो र न्यानो स्पर्श दिइरहेको थियो। झ्यालको काठको चौकोसबाट भित्र चिहाउँदा तिम्रो ओछ्यानसम्मै तन्किएर लत्तिएका हरिया बिरुवाका लहराहरू रातभरि तिम्रा सपनाहरूलाई प्रेमपूर्वक पहरा दिइरहेका झैं थिए। त्यो पारिलो घामको पहिलो सियो जब माटोको भित्तामा ठोक्किएर मेरो हृदयको सबैभन्दा एकान्त र गहिरो कुनासम्म तन्कियो, तब मैले स्पष्ट रूपमा महसुस गरेँ, ती लहराहरू जस्तै मेरो सम्पूर्ण अस्तित्व र आत्मामा पनि तिम्रो निष्छल प्रेम लत्तिएर बेरिएको रहेछ। अझ जब तिम्रो इच्छामा ‘अल्फा म्यान’ ले त्यहि किरणको उपस्थितिमा बजाएको “यो नेपाली शिर उचाली संसारमा लम्कन्छ…” धुनले त झन् तिम्रै हृदयको कण्ठ जोडिएर राष्ट्रप्रेम उद्घोष गरिरहेको झैं भयो। यो कुनै साधारण प्रकाशको आभास मात्र थिएन, यो त तिम्रो सामीप्यताको न्यानोपनमा बिउँझिएको मेरो जिन्दगीकै सबैभन्दा सुन्दर, घुमाउरो र काव्यात्मक बिहानी थियो, जहाँ प्रत्येक श्वासमा प्रकृतिको सुगन्ध, माटोको स्पर्श र तिम्रो प्रेम एकाकार भइरहेका थिए।

Unknown's avatar

Author: मानव अभ्यास

🙏❣️🌹🎶✍️

Leave a Reply