मनसुनले आफ्नो जलमग्न यात्रा सकाएर भर्खरै निलो अनन्ततिर पाइला सारेको थियो र धेरै दिनपछि आकाशको कञ्चन मुहार उघ्रिएको थियो, जहाँ सेता र भुवादार बादलका केही फुर्काफुर्किहरू मात्र यताउति तैरिरहेका देखिन्थे। हिजोअस्तिको त्यो पोल्ने घाम अब एकाएक बदलिएर एउटा अबोध शिशुको स्पर्शजस्तै कलिलो र न्यानो हुन थालेको थियो। ठिक यही समयमा, समय र दुरीको पर्खाल भत्काउँदै एउटा शाश्वत कम्पन फैलियो र उनले सप्रेम बोलाएका शब्दहरू हावामा तैरिए, “साथीहरू! सेलिब्रेसन गर्न आऊ।” ती शब्दहरू केवल अक्षरहरू थिएनन्, ती त भित्री हृदयलाई ब्युँझाउने एउटा दिव्य आह्वान जस्ता थिए, जसलाई सुन्नासाथ मेरो अन्तर्मनमा एउटा अवर्णनीय उमंगको लहर दौडियो र उनीप्रति अगाध श्रद्धाले मेरो शिर स्वतः झुकेर आयो। सुन्ने वित्तिकै साथीहरु जाने क्रम शुरु भइसकेछ, मेरा पनि पैताला चिलाउन थालिसकेछ, हृदय पुलकित भइसकेछ। उत्सवको यो अदृश्य प्रवेश भइरहँदा, छोरा स्कुलबाट आएर सिधै आँगनको एउटा कुनामा पुग्यो र भुइँको माटो कोट्याउँदै आफ्ना ससाना औंलाहरूमा माटोका कणहरूलाई खेलाउन थाल्यो। प्रकृतिसँगको त्यो अबोध सामीप्यता देखेर मैले बिस्तारै भनें, “बाबु, एकपटक सुँघ त यसलाई।” उसले आफ्नो सानो नाक माटोको नजिकै पुर्याएर गहिरो श्वास तान्यो र उसका आँखाहरू चमक्क चम्किए, मुहारमा उनले सुँघाएका एसेन्शियल ओइल भेटिए जस्तै गरी। जब मैंले सोधें, “कस्तो सुगन्ध आयो त बाबु?”, उसले कुनै संकोचबिना बडो तृप्ति मान्दै भन्यो, “यो त दशैंको जस्तै रहेछ बाबा!” अनि लगत्तै उसको बालसुलभ मनबाट फुत्तै एउटा उत्कण्ठा बाहिर निस्कियो, “हामी उता कहिले जाने? उता गएर त म निकै दिन पो बस्छु!” त्यो ‘उता’ केवल कुनै भौतिक भूगोल मात्र थिएन, त्यो त उही दिव्य निमन्त्रणाको केन्द्रबिन्दु थियो जहाँ आत्माले वास्तविक विश्राम पाउँथ्यो।
भोलिपल्ट बिहानै, प्रकृतिको नयाँ ऊर्जासँगै नुहाइधुवाइ गरेर हामी बाउ, छोरा र छोरी पवित्र भावका साथ पूजा मन्दिरमा लामबद्ध भई बस्यौं। मन्दिरको मधुर दियोको उज्यालोमा मैले आँखा चिम्लेर गम्भीर र आद्र स्वरमा श्लोकको हरफ सुरु गरें, “या देवी सर्वभूतेषु… रूपेण संस्थिता…” र मेरो ध्वनि हावामा सेलाउन नपाउँदै ती दुई बाल-आवाजहरूले असीम निष्कपटताका साथ पछ्याए, “नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।” वातावरण एकाएक आध्यात्मिक तरंगले भरियो, अनि उनीहरूले आफ्ना कलिला स्वरहरूलाई तन्काउँदै अगाडि बढे, “रूपं देहि जयं देहि यशो देहि” र मैले “द्विषो जहि” थपिरहेँ । बाह्य र आन्तरिक विकारहरूलाई भस्म गर्ने त्यो पुकार चलिरहेकै बेला, अचानक समय र दुरीको सीमा नाघ्दै उताबाट ‘हिलिङ्ग सेसन’ सुरु भयो, जहाँ उनकै चिरपरिचित र शान्त आवाजले देवीको सुरक्षा कवच बनेर हामीलाई चारैतिरबाट घेरिदियो र मन्त्र गुञ्जियो, “यद्गुह्यं परमं लोके सर्वरक्षाकरं नृणाम्….”। त्यो ध्वनिले हाम्रो अस्तित्वलाई एउटा अभेद्य किल्ला जस्तै सुरक्षित बनाइदियो। म भने बाहिरी संसारबाट पूर्णतः विरक्त हुँदै आफ्नै ब्रिदिङ्ग प्याटर्नमा सम्पूर्ण भावहरूलाई केन्द्रित गरिरहेको थिएँ र श्वासप्रश्वासको प्रत्येक गतिमा मानसिक नाम जपलाई मिसाउँदै लगेँ, जब श्वास भित्र तानिन्थ्यो, पूरकको त्यो क्षणमा मनमा केवल ‘माँ’ को स्पन्दन हुन्थ्यो, र जब श्वास बाहिर छोडिन्थ्यो, रेचकको त्यो खालीपनमा मनले ‘दुर्गे’ पुकार्थ्यो। यस प्रक्रियामा मेरा तीनटै सेन्टर (फिजिकल, इन्टेलेक्च्युअल र इमोश्नल) श्रद्धाका साथ ध्यानमा छ छैनन्, अब्जर्भ गर्दैरहेँ । यो अनवरत चक्रमा रहँदा रहँदै, मलाई आभास भयो कि दशैंको वास्तविक सुगन्ध त बाहिरी माटोमा मात्र होइन, उनैको बोलावट अनि आफ्नै प्रत्येक श्वासको गहिराइमा लुकेको त्यो दिव्य आनन्द पो रहेछ।

