बिहानको कलिलो घाम झ्यालको फ्याँकबाट छिरेर सिरकको डल्लोमा अल्छी मानिरहेको मलाई कुतकुती लाउन थाल्यो। अनि अचानक दिदीको स्वर चर्को गन्गन बनेर मेरो कानमा ठोक्कियो, “ओइ! यति ढिलासम्म सुत्छस्? आज त भाइटिका, बिर्सिइस्? आँफु चैं भाइ भनेर उति टाढाबाट आको, यसलाई त वास्तै छैन, राती ढिलो सम्म तास खेलेर बसो क्यारे….!”
त्यो स्वरमा प्रश्न थिएन, एउटा जीवनभरको अभ्यास थियो। तर आज त्यो स्वरमा बेग्लै न्यानो थियो किनकि आज दिदी आफ्नो टाढाको घरबाट माइती घरमा आएकी थिइन् सप्तरंगी लगाइदिन, भाइको निधारमा आफ्नो हातको स्पर्श दिन, अनि फेरि आफ्नो घर फर्किन। उनको आगमनमा त्यो दूरी थियो जुन माइतीसँगको सम्बन्धमा सधैं हुन्छ – नजिकको दूरी, जो टाढा भएर पनि टाढा हुँदैन। कसैका दाजुभाइ नहोलान्, कसैका दिदीबहिनी नहोलान् तर आत्मिय सम्बन्ध भइरहन्छ, भएनैसरी, नछोइए पनि जोडिएसरी, अनि कहिले काँही रगतकै सम्बन्ध नभएपनि कसैसँग कसैको त गाढा हुन्छ जन्मौं जन्म देखिको सरी, सच्चा गुरु – शिष्य सम्बन्ध सरी दुरिबिहिन भएर। “आँफु चैं भाइ भनेर उति टाढाबाट आको, यसलाई त वास्तै छैन”, यो वाक्यमा दिदीको मनको त्यो गाँठो थियो जुन हरेक छोरी र माइतीबीचको सम्बन्धमा हुन्छ: प्रतीक्षाको गाँठो, जो मायाले बाँधिएको हुन्छ तर कहिल्यै कसिँदैन, बरु आज त्यो गाँठो झन् बलियो र आत्मीय बनेको थियो।
उनी मलाई उठाउनु अघि नै भान्सा, दलिन, आगन बढारिसकेकी थिइन् तर आज त्यो कुचो चलाइमा बेग्लै भाव थियो, आफ्नै घरको कर्तव्य होइन, माइतीघरको ममता थियो। गाईलाई पानी दिएर, कुँडो बसाइसकेकी थिइन् गोठमा अनि आगन वरपरका फुल, सागसब्जीका बोटलाई पानी पियाइदिएर ढुक्कसँग जसरी भाइटीकाको दिन दाजुभाइको निधारमा सप्तरंगी टाँसिन्छ।
उता आमा चाहिँ आफ्नो पुजाआजा सकेर ढिकी नजिकै खोस्टाको न्यानो पिरामा बसेकी थिइन् कलिला घामतिर फर्किएर बत्ति कात्दै, एउटा सानो सिर्कनो दाहिने पट्टी राखेर। भर्खरै जन्मिएको पाठो जिस्किएर लपेटिन खोज्दा घरि घरि त्यसका टाउकामा नदुख्ने गरी ट्वाक ट्वाक पार्दै। आमाको हातको त्यो हल्का प्रहारमा कति माया थियो! त्यो ट्वाक ट्वाक आवाजमा एउटा लोकगीतको लय थियो, जुन आमाले जीवनभर गाइरहेकी थिइन्, नयाँ जीवनलाई बाँच्न सिकाउने लय, कठोरता सहने लय, माया गर्ने लय। आज त्यो लयमा एउटा नयाँ खुसी मिसिएको थियो, छोरी आएकी छे, टाढाबाट, भाइको निधारमा सप्तरंगी लगाउन।
अल्छिलाई लात हान्दै सिरकलाई सुमसुम्याउन छाडेर म जुरुक्कै उठें। दिदीको गन्गन अझै कानमा गुञ्जिरहेको थियो। आमाको ट्वाक ट्वाक अझै आगनमा प्रतिध्वनित हुँदै थियो। भाइटीकाको सप्तरंगी पर्खिरहेको थियो, अनि माटाको प्यालामा घिउको सुगन्धबीच कपासको दियो चम्किरहेको थियो, ‘तमसोमा ज्योतिर्गमय’ को मधुर उज्यालो छर्दै।

