साधना अगाडि बढ्दै जाँदा हाम्रो संकल्प र इच्छा शक्ति पनि बढ्दै जानु पर्ने रहेछ। चाहे त्यो ब्यवहारिक जीवनमा होस् या पारमार्थिक जीवनमा, त्यसमा सफल हुनको लाई योद्धा स्पिरिट अनिवार्य हुनु पर्ने रहेछ। योद्धा स्पिरिट अर्थात् एउटा सच्चा सिपाहीमा हुने गुणहरू। जस्तै हिम्मत र आत्म विश्वास कि जस्तो सुकै परिस्थितिमा पनि सफल हुन सक्छु भन्ने। र आफ्नो काम प्रतिको निष्ठा वा समर्पण, जीवनको सबै भन्दा महत्व पूर्ण कुरा बनाउने। र निरन्तर मेहनत गर्ने क्षमता, आफ्नो लक्ष्यमा असाधारण तरिकाले मेहनत गर्दै पुग्ने कोसिस।
Author: satishtandon120
प्रकृतिको सङ्गत
हामी प्राय जसो अप्राकृतिक सिमेन्टले बनेका घरभित्र, कम्प्युटरको अगाडि, वा सहरको कोलाहलमा बसेर काम गर्छौँ। यस्तो वातावरणमा काम गर्दा सामान्यतः काम गरेपछि थकान वा तनाव महसुस गर्छौँ। तर प्रकृतिको नजिक रहेर फूलबारी वा बारीमा माटो समाउँदै काम गर्दा थकान र तनाव उल्टो कम गरेर, ऊर्जाले भर्ने रहेछ। त्यसकारण प्रकृतिको सङ्गत गर्दै काम गर्न पाउनु सौभाग्यको कुरा रहेछ र यसले सिर्जना र उत्पादनमा त मद्दत गर्छ नै, सँगसँगै शारिरिक, मानसिक, भावनात्मक र आत्मिक दृष्टिकोणले पनि स्वास्थ्यकर हुने रहेछ।
आफ्नो आफ्नो जीवन भोगाइ
हामी मानिसहरूमा धेरै समानता भए तापनि, हामी सबैको आफ्नो आफ्नो जीवन बुझाइ र भोगाइ छ। मनन गर्ने हो भने यो विषय रहस्यमयी छ, हामी सबै मानिसको रूपमा समान भए तापनि, हामी सबैको आफ्नो आफ्नो संसार किन छ? किन सबैको जीवनमा समान अनुपातमा सुख र दुःख देखिँदैन? किन जीवन दृष्टि र भोगाइमा यति धेरै विविधता देखिन्छ? जीवनको सम्पूर्ण रहस्य बुझ्न त मुस्किल नै छ तर यति निष्कर्ष निकाल्न पक्कै सकिन्छ कि हामी सबै आफ्नो आफ्नो भाग्य वा भनौँ कर्म अनुसारको जीवन बाँचिरहेका छौँ। यति निष्कर्षमा पुगेपछि, स्वाभाविक रूपमा अर्को तार्किक प्रश्न उठ्छ कि किन सबैको जीवन दृष्टि र भोगाइ फरक फरक छ? के कारणले हाम्रो भाग्यको निर्माण गर्छ?
पढ्ने र पढाउने प्रक्रिया रोचक हुनु पर्ने रहेछ
हुर्किँदै गर्दा मलाई पढ्ने प्रक्रिया निकै अल्छी लाग्दो र बाध्यताले गर्नु पर्ने कुरा जस्तो लाग्थ्यो। तर परिवार र समाजले पढ्नु नै बाल्यावस्थाको सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्नुहुन्थ्यो। त्यसकारण रुचि नहुँदा नहुँदै पढ्नुको कुनै विकल्प थिएन। अहिले आएर बुझ्दैछु, औपचारिक शिक्षाप्रति रुचि नहुनुका विभिन्न कारणहरू रहेछन्।
प्राथमिक रूपमा त शिक्षकले किन पढाउने र विद्यार्थीले किन पढ्ने भन्ने सही तरिकाले बुझ्नु पर्ने रहेछ।शिक्षकले आफ्नो जीविकोपार्जन गर्न मात्र नभएर, पढाउने प्रक्रियामै आफू र विद्यार्थी दुवैलाई कसरी रोचक र आनन्दित बनाउन सकिन्छ भनेर सोच्नुपर्ने रहेछ। त्यसैगरी विद्यार्थीले पनि भविष्यमा राम्रो हुन्छ भन्ने कारणले मात्र होइन कि पढ्ने प्रक्रिया नै कसरी रोचक र आनन्ददायी बनाउने भनेर सोच्नुपर्ने रहेछ।
सङ्कल्प, ऊर्जा, लय र समूह
हिजो हामीले नर्सरीबाट ल्याएर, एक सयभन्दा बढी फलफूल र फूलका बिरुवाहरू रोप्यौं। अनूपमले बारम्बार भन्ने गर्छन्, बिरुवा रोप्नु छ भने सही समय अहिल्यै हो। धेरै भन्दा धेरै बिरुवा रोप्ने उद्देश्यका साथ हिजो हामीले बिरुवाहरू लिएर आयौं। बिरुवासँगै मानवजी, नुवेश, भावना र विनिता जीको पनि आगमन भयो।
उद्देश्य थियो भएजतिका सबै बिरुवाहरू रोप्ने। मनले नकार गरिरहेको थियो र सम्भव होला त भन्नेमा विश्वास गर्न गाह्रो लागिरहेको थियो। गर्दै जाँदा एक किसिमको ऊर्जा र लयमा स्थापित भयौं, र समूहको शक्तिले गर्दा उद्देश्य पूरा गर्न सक्यौं। यस वृहत् वृक्षारोपण कार्यक्रमको मुख्य सिकाइ यही नै रह्यो। सङ्कल्प, ऊर्जा, लय र समूह छ भने कठिन लागेको काम पनि पूरा गर्न सकिने रहेछ।
कलाकारिताको उदय
कलाकारहरूले जनचेतना जगाउने र प्रेरणा दिने रहेछन्। स्वभावजन्य काम गर्नु नै कलाकार हुनु हो। त्यस अर्थमा जब हामी हाम्रो स्वभावजन्य काम गर्छौं, तब हामी कलाकारिता नै गरिरहेका हुन्छौं। ओस्कार वाइल्डको एउटा भनाइ छ, “आलोचकले जनतालाई शिक्षित बनाउनुपर्छ; कलाकारले आलोचकलाई शिक्षित बनाउनुपर्छ।” कलाकारहरूले नै समाजलाई मार्ग निर्देशित गर्ने रहेछन्।
नेपालमा कलाकारिताको उदय हुँदैछ। कति मान्छे विदेशको सुरक्षा र सुविधा छोडेर आएर गाउँघरको प्राकृतिक जीवन बाँच्न प्रेरणा दिइरहेका छन्, कोही दुर्गम ठाउँहरूमा गएर विभिन्न नाटकहरू गर्दै जनचेतना जगाइरहेका छन् भने कोही आफ्नो कला र सीपलाई व्यवसायको माध्यमबाट नेपालमा पनि केही गर्न सकिन्छ भनेर हौसला दिइरहेका छन्। जुन तरिकाले अहिले नेपालमा कलाकारहरू वा स्वभावजन्य काम गर्ने मान्छेहरू बढिरहेका छन्, यसले नेपालको भविष्य उज्ज्वल हुनेछ भनेर संकेत गरिरहेको छ।
धारणा
धारणाहरूले नै हाम्रो जीवन दृष्टि र अनुभव निर्धारण गर्ने रहेछन्। हामीले जस्तो खालको धारणा बनाउँछौँ, हाम्रो जीवन पनि त्यस्तै खालको हुने रहेछ। धेरै समस्या हामीलाई धारणा समय र ठाउँ अनुकूल नभएर पनि हुन्छ। कुनै समय वा ठाउँमा बनेका वा ठीक लागेका धारणा अहिले यहाँ गलत र काम नलाग्ने हुन सक्छन्। आफ्नो धारणाहरूलाई निरीक्षण र परिमार्जित गर्दै लानु नै साधना रहेछ। मेरो धारणा र बुझाइ अनुकूल अर्को व्यक्तिको धारणा भएन भन्दैमा अर्को व्यक्ति गलत भन्ने हुँदैन। मलाई गलत लागेको धारणा अर्को व्यक्तिलाई सही लाग्न सक्छ, मलाई सही लागेको धारणा अर्को व्यक्तिलाई गलत लाग्न सक्छ। त्यसकारण हामी सबैको बुझाइ र धारणा अनुसार फरक-फरक सत्यहरू हुन्छन्।
समग्र जीवन हाम्रो बुझाइ र धारणा भन्दा सधैँ पर हुन्छ
विभिन्न कारणले जीवनमा हामी सिक्न बन्द गर्ने सम्भावना हुने रहेछ। साधनाको यात्रामा कहिले मलाई सबै थाहा भइसकेको छ वा मैले मोक्ष प्राप्त गरिसकें भन्ने भ्रम हुन सक्ने रहेछ, कहिले आफू भन्दा सानो मान्छे वा अरुसँग अहङ्कारले गर्दा, वा औपचारिक शिक्षा सकिए पछि हामी त सधैँको विद्यार्थी हौँ भन्ने पनि बिर्सिन सकिने सम्भावना हुने रहेछ।
सिक्ने उमेर कहिले पनि सकिँदैन रहेछ। र ज्ञान र चेतनाको विकासको लागि सधैँ सिक्ने भावमा रहनु अत्यावश्यक हुने रहेछ। जो मान्छे सिक्न तयार छ र त्यो दिशामा अनुशासित भएर लागि रहन तयार छ, त्यो मान्छे नै सफल हुने रहेछ।
अबको नेपाल
हामी नेपाली लामो समयदेखि कुशासनको शिकारले समृद्धिबाट वञ्चित भयौँ। जेन जी (Gen Z) आन्दोलनको त्याग र निर्वाचनको परिणामले सुशासनको आस हामी बीच पलाएको छ। आधारभूत रूपमा हामी रोजगारीको सिर्जना, समृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्यको कामना गर्छौँ। यी आधारभूत आवश्यकताको परिपूर्तिसँगै हामी कस्तो खालको नेपालको परिकल्पना गर्छौँ भनेर पनि सोच्न सचेत नागरिकले आवश्यक छ। अबको नेपाल कस्तो होस् भन्ने चाहन्छौँ हामी?
यस विषयमा हामी सबैको आफ्नो-आफ्नो धारणा र कल्पना होला। समय निरन्तर अगाडि बढ्दै छ र समयले नेपाललाई आकार दिँदै छ। मलाई लाग्छ यो आकार दिने क्रममा, केवल पुराना मूल्य, मान्यता र संस्कृति मात्र अँगालेर पनि भएन, र केवल नयाँ र विकसित देशका मूल्य, मान्यता र संस्कृति मात्र अँगालेर पनि भएन। त्यसकारण राम्रा र समय सान्दर्भिक हुने पुराना र अँगाल्न लायकका नयाँ मूल्य मान्यताहरूको सन्तुलनमा आधारित रहेर एउटा सुन्दर, सुखी, शान्त र समृद्ध नेपालको परिकल्पना गर्दा सम्यक समाजको निर्माण हुन्छ होला।
व्यर्थतामा सार्थकता
मुख्यतया व्यर्थता र सार्थकता धारणाका कुरा हुन्। कुनै कुरा कसैलाई व्यर्थ लाग्ला तर त्यही कुरा कसैलाई सार्थक पनि लाग्न सक्छ। हाम्रो जीवन सार्थकताको खोज हो, र त्यही खोजले हामीलाई अगाडि बढ्ने प्रेरणा दिन्छ।
सार्थकताको यो खोजमा व्यर्थताको पनि सामना गर्नु पर्छ, किनभने सार्थकतालाई हामी कुनै एउटा पुग्नु पर्ने, भविष्यको गन्तव्यको रूपमा लिन्छौँ। त्यसकारण जबसम्म सार्थकतामा पुगिँदैन तब सम्म त व्यर्थता नै भयो र त्यसले हामीलाई पूर्ण सन्तुष्टि दिँदैन। तर यदि हामीले जे कुरालाई व्यर्थता भनेका छौँ त्यसभित्र लुकेको सार्थकता समाउन थाल्यौँ भने, व्यर्थता भन्ने बिस्तारै हाम्रो जीवनबाट हराउँदै जान्छ र जीवन नै सार्थकताको श्रृंखला हुन सक्छ।
