मिलीटरी माइन्डसेट

विगत केही दिनदेखि मिलिटरीको ट्रेनिङ र जीवनको बारेमा म युट्युबमा पोडकास्टहरू हेरीरहेको छु। ती भिडियोहरू हेर्दा आफ्नो पनि अभ्यासमा प्रेरणा मिल्ने रहेछ भन्ने आभास भयो। हाम्रो जीवनमा विभिन्न किसिमका उद्देश्यहरू हुने गर्छन्। र त्यो उद्देश्यमा पुग्न सधैं सजिलो हुँदैन, विभिन्न कुराहरूको जोडले मात्र उद्देश्यमा पुग्न सकिन्छ। र त्यसमध्ये कमाण्डो माइन्डसेटबाट मैले सिकेको सबैभन्दा महत्त्वपूर्ण कुराहरू लगनशीलता, निरन्तरता र आफ्नो सिद्धान्तप्रति कटिबद्धता हुन्। यी भिडियोहरू हेरेपछि यस्तो लाग्ने रहेछ कि जीवनमा कमाण्डो माइन्डसेट भयो भने केही पनि असम्भव छैन।

प्रकृति र पुरुष

सनातन धर्ममा दुई प्रकारका धारहरू देख्न पाइन्छ। एउटा पुरुषवादी धार र अर्को प्रकृतिवादी धार। वा भनौँ सूर्यवंशी परम्परा र चन्द्रवंशी परम्परा। र युग वा समयको चक्रमा कहिले सूर्यवंशी परम्परा हाबी हुन्छ त कहिले चन्द्रवंशी परम्परा। सूर्यवंशी परम्पराको गुण हुन्छ अनुशासन, धर्म अथवा कर्तव्य पालना, मान-सम्मान, सत्य। चन्द्रवंशी परम्पराको गुण हुन्छ सौन्दर्यता, सृजनात्मकता, स्वतन्त्रता। दुवै सभ्यताका दर्शनको राम्रा नराम्रा आयामहरू छन्। एउटा मात्र परम्परा आफैँमा अपूर्ण जस्तो लाग्छ। यी दुईमध्ये एक धारवादी हुनुभन्दा शायद यी दुवै परम्पराको सुन्दर समायोजनले नै पूर्ण व्यावहारिक र पारमार्थिक सत्यको दर्शन सिर्जना गर्न सक्छ जस्तो लाग्छ।

योद्धा स्पिरिट

साधना अगाडि बढ्दै जाँदा हाम्रो संकल्प र इच्छा शक्ति पनि बढ्दै जानु पर्ने रहेछ। चाहे त्यो ब्यवहारिक जीवनमा होस् या पारमार्थिक जीवनमा, त्यसमा सफल हुनको लाई योद्धा स्पिरिट अनिवार्य हुनु पर्ने रहेछ। योद्धा स्पिरिट अर्थात् एउटा सच्चा सिपाहीमा हुने गुणहरू। जस्तै हिम्मत र आत्म विश्वास कि जस्तो सुकै परिस्थितिमा पनि सफल हुन सक्छु भन्ने। र आफ्नो काम प्रतिको निष्ठा वा समर्पण, जीवनको सबै भन्दा महत्व पूर्ण कुरा बनाउने। र निरन्तर मेहनत गर्ने क्षमता, आफ्नो लक्ष्यमा असाधारण तरिकाले मेहनत गर्दै पुग्ने कोसिस।

प्रकृतिको सङ्गत

हामी प्राय जसो अप्राकृतिक सिमेन्टले बनेका घरभित्र, कम्प्युटरको अगाडि, वा सहरको कोलाहलमा बसेर काम गर्छौँ। यस्तो वातावरणमा काम गर्दा सामान्यतः काम गरेपछि थकान वा तनाव महसुस गर्छौँ। तर प्रकृतिको नजिक रहेर फूलबारी वा बारीमा माटो समाउँदै काम गर्दा थकान र तनाव उल्टो कम गरेर, ऊर्जाले भर्ने रहेछ। त्यसकारण प्रकृतिको सङ्गत गर्दै काम गर्न पाउनु सौभाग्यको कुरा रहेछ र यसले सिर्जना र उत्पादनमा त मद्दत गर्छ नै, सँगसँगै शारिरिक, मानसिक, भावनात्मक र आत्मिक दृष्टिकोणले पनि स्वास्थ्यकर हुने रहेछ।

आफ्नो आफ्नो जीवन भोगाइ

हामी मानिसहरूमा धेरै समानता भए तापनि, हामी सबैको आफ्नो आफ्नो जीवन बुझाइ र भोगाइ छ। मनन गर्ने हो भने यो विषय रहस्यमयी छ, हामी सबै मानिसको रूपमा समान भए तापनि, हामी सबैको आफ्नो आफ्नो संसार किन छ? किन सबैको जीवनमा समान अनुपातमा सुख र दुःख देखिँदैन? किन जीवन दृष्टि र भोगाइमा यति धेरै विविधता देखिन्छ? जीवनको सम्पूर्ण रहस्य बुझ्न त मुस्किल नै छ तर यति निष्कर्ष निकाल्न पक्कै सकिन्छ कि हामी सबै आफ्नो आफ्नो भाग्य वा भनौँ कर्म अनुसारको जीवन बाँचिरहेका छौँ। यति निष्कर्षमा पुगेपछि, स्वाभाविक रूपमा अर्को तार्किक प्रश्न उठ्छ कि किन सबैको जीवन दृष्टि र भोगाइ फरक फरक छ? के कारणले हाम्रो भाग्यको निर्माण गर्छ?

पढ्ने र पढाउने प्रक्रिया रोचक हुनु पर्ने रहेछ

हुर्किँदै गर्दा मलाई पढ्ने प्रक्रिया निकै अल्छी लाग्दो र बाध्यताले गर्नु पर्ने कुरा जस्तो लाग्थ्यो। तर परिवार र समाजले पढ्नु नै बाल्यावस्थाको सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्नुहुन्थ्यो। त्यसकारण रुचि नहुँदा नहुँदै पढ्नुको कुनै विकल्प थिएन। अहिले आएर बुझ्दैछु, औपचारिक शिक्षाप्रति रुचि नहुनुका विभिन्न कारणहरू रहेछन्।

प्राथमिक रूपमा त शिक्षकले किन पढाउने र विद्यार्थीले किन पढ्ने भन्ने सही तरिकाले बुझ्नु पर्ने  रहेछ।शिक्षकले आफ्नो जीविकोपार्जन गर्न मात्र नभएर, पढाउने प्रक्रियामै आफू र विद्यार्थी दुवैलाई कसरी रोचक र आनन्दित बनाउन सकिन्छ भनेर सोच्नुपर्ने रहेछ। त्यसैगरी विद्यार्थीले पनि भविष्यमा राम्रो हुन्छ भन्ने कारणले मात्र होइन कि पढ्ने प्रक्रिया नै कसरी रोचक र आनन्ददायी बनाउने भनेर सोच्नुपर्ने रहेछ।

सङ्कल्प, ऊर्जा, लय र समूह 

हिजो हामीले नर्सरीबाट ल्याएर, एक सयभन्दा बढी फलफूल र फूलका बिरुवाहरू रोप्यौं। अनूपमले बारम्बार भन्ने गर्छन्, बिरुवा रोप्नु छ भने सही समय अहिल्यै हो। धेरै भन्दा धेरै बिरुवा रोप्ने उद्देश्यका साथ हिजो हामीले बिरुवाहरू लिएर आयौं। बिरुवासँगै मानवजी, नुवेश, भावना र विनिता जीको पनि आगमन भयो। 

उद्देश्य थियो भएजतिका सबै बिरुवाहरू रोप्ने। मनले नकार गरिरहेको थियो र सम्भव होला त भन्नेमा विश्वास गर्न गाह्रो लागिरहेको थियो। गर्दै जाँदा एक किसिमको ऊर्जा र लयमा स्थापित भयौं, र समूहको शक्तिले गर्दा उद्देश्य पूरा गर्न सक्यौं। यस वृहत् वृक्षारोपण कार्यक्रमको मुख्य सिकाइ यही नै रह्यो। सङ्कल्प, ऊर्जा, लय र समूह छ भने कठिन लागेको काम पनि पूरा गर्न सकिने रहेछ।

कलाकारिताको उदय 

कलाकारहरूले जनचेतना जगाउने र प्रेरणा दिने रहेछन्। स्वभावजन्य काम गर्नु नै कलाकार हुनु हो। त्यस अर्थमा जब हामी हाम्रो स्वभावजन्य काम गर्छौं, तब हामी कलाकारिता नै गरिरहेका हुन्छौं। ओस्कार वाइल्डको एउटा भनाइ छ, “आलोचकले जनतालाई शिक्षित बनाउनुपर्छ; कलाकारले आलोचकलाई शिक्षित बनाउनुपर्छ।” कलाकारहरूले नै समाजलाई मार्ग निर्देशित गर्ने रहेछन्। 

नेपालमा कलाकारिताको उदय हुँदैछ। कति मान्छे विदेशको सुरक्षा र सुविधा छोडेर आएर गाउँघरको प्राकृतिक जीवन बाँच्न प्रेरणा दिइरहेका छन्, कोही दुर्गम ठाउँहरूमा गएर विभिन्न नाटकहरू गर्दै जनचेतना जगाइरहेका छन् भने कोही आफ्नो कला र सीपलाई व्यवसायको माध्यमबाट नेपालमा पनि केही गर्न सकिन्छ भनेर हौसला दिइरहेका छन्। जुन तरिकाले अहिले नेपालमा कलाकारहरू वा स्वभावजन्य काम गर्ने मान्छेहरू बढिरहेका छन्, यसले नेपालको भविष्य उज्ज्वल हुनेछ भनेर संकेत गरिरहेको छ। 

धारणा

धारणाहरूले नै हाम्रो जीवन दृष्टि र अनुभव निर्धारण गर्ने रहेछन्। हामीले जस्तो खालको धारणा बनाउँछौँ, हाम्रो जीवन पनि त्यस्तै खालको हुने रहेछ। धेरै समस्या हामीलाई धारणा समय र ठाउँ अनुकूल नभएर पनि हुन्छ। कुनै समय वा ठाउँमा बनेका वा ठीक लागेका धारणा अहिले यहाँ गलत र काम नलाग्ने हुन सक्छन्। आफ्नो धारणाहरूलाई निरीक्षण र परिमार्जित गर्दै लानु नै साधना रहेछ। मेरो धारणा र बुझाइ अनुकूल अर्को व्यक्तिको धारणा भएन भन्दैमा अर्को व्यक्ति गलत भन्ने हुँदैन। मलाई गलत लागेको धारणा अर्को व्यक्तिलाई सही लाग्न सक्छ, मलाई सही लागेको धारणा अर्को व्यक्तिलाई गलत लाग्न सक्छ। त्यसकारण हामी सबैको बुझाइ र धारणा अनुसार फरक-फरक  सत्यहरू हुन्छन्।

समग्र जीवन हाम्रो बुझाइ र धारणा भन्दा सधैँ पर हुन्छ

विभिन्न कारणले जीवनमा हामी सिक्न बन्द गर्ने सम्भावना हुने रहेछ। साधनाको यात्रामा कहिले मलाई सबै थाहा भइसकेको छ वा मैले मोक्ष प्राप्त गरिसकें भन्ने भ्रम हुन सक्ने रहेछ, कहिले आफू भन्दा सानो मान्छे वा अरुसँग अहङ्कारले गर्दा, वा औपचारिक शिक्षा सकिए पछि हामी त सधैँको विद्यार्थी हौँ भन्ने पनि बिर्सिन सकिने सम्भावना हुने रहेछ। 

सिक्ने उमेर कहिले पनि सकिँदैन रहेछ। र ज्ञान र चेतनाको विकासको लागि सधैँ सिक्ने भावमा रहनु अत्यावश्यक हुने रहेछ। जो मान्छे सिक्न तयार छ र त्यो दिशामा अनुशासित भएर लागि रहन तयार छ, त्यो मान्छे नै सफल हुने रहेछ।