ज्ञान र भक्ति एक अर्काका परिपूरक 

कुनै पनि प्रभाव लिँदा, त्यो विषय प्रतिको ज्ञानले भक्ति भाव सिर्जना गर्ने रहेछ, र त्यो विषय प्रतिको रुचि, आस्था र सकारात्मक भावले त्यो विषयको ज्ञान बढाउन पनि मद्दत गर्ने रहेछ। त्यसकारण कुनै पनि प्रभावलाई गहिराइमा लिनको लागि त्यो विषयको ज्ञान र भक्ति भाव, दुवैले महत्त्वपूर्ण भूमिका खेल्ने रहेछ।

संसारमा समस्या देखिन्छ, किनभने हामीमा समस्या लुकेको छ

अनुपमले भन्ने गरेको वाक्य याद आउँछ “हाम्रो समस्या कुशासनको समस्या हो”। हामी नेपाली लामो समयदेखि कुशासन भोग्दै आइरहेका छौं। हामीलाई व्यवहारिक जीवनका विभिन्न आयामहरुमादुःख र समस्या भोग्दै आउनु परेको छ। मानसिक जीवनमा पनि त्यसको प्रभाव परेर आम मानिसको जीवनमा निराशा र नकारात्मकता प्रष्ट देख्न सकिन्छ। त्यसले हाम्रो जीवनमा सिर्जना गरेको अस्तव्यस्तता र समस्या हामी, समाज, संसार र भविष्यमा आरोपित गर्ने रहेछौं। 

त्यसकारण बाहिरी परिस्थिति अनुकूल नहुँदा नहुँदै पनि आफूमा सकारात्मकताको विकास गरेर, संसारलाई हेर्ने दृष्टि सोही अनुसारको बनाउनु आवश्यक रहेछ ।

सास

एउटा रहस्यमयी कुरा जसमा हाम्रो सारा अस्तित्व टिकेको छ। जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा नै त्यही हो, तर पनि विरलै त्यसमा ध्यान पुग्छ र विरलै त्यसप्रति अहोभाव महसुस हुन्छ। 

जीवनको चाबी सास सँग छ नै, हाम्रो मानसिक र भावनात्मक अवस्थाको चाबी पनि सास सँग नै छ। विचार र भाव अनुसार हाम्रो सासको प्रकृति फरक-फरक हुन्छ, जस्तै रिस, डर र प्रेममा यी तीन अवस्थामा सासको प्रकृति फरक-फरक हुन्छ। यदि विभिन्न अवस्थाहरूमा सासप्रति ध्यान पुर्‍याउन सक्यौँ भने, बेहोसीमा हुने प्रतिक्रियाहरूमा नियन्त्रण पाउन सकिने रहेछ र सासको प्रकृति परिवर्तन गरेर मानसिक र भावनात्मक अवस्थाप्रति पकड पनि पाउन सकिने रहेछ। 

हाम्रो समग्र जीवनको रहस्य नै सासमा लुकेको रहेछ, त्यसकारण सासप्रति ध्यान पुर्‍याउँदा व्यावहारिक जीवनमा मात्र होइन परमार्थको यात्रामा पनि प्रगति गर्न सकिने रहेछ। 

Win-Win

यो संसारमा हामी सबै काम गरी रहेका छौं। सनातन धर्ममा प्रयोग हुने एउटा अभीब्यक्ति हो “यो संसार परमात्माको लीला हो”। बिरुवा र कीराहरू देखि लिएर हामी सबै मानिसले केही न केही कर्म गरी नै रहेका छौं। 

लीलाको यो विराट आयोजनमा हामी कुन भावको साथ कर्म गरी रहेका छौं ? कर्म हामी आफ्नो भलो मात्र सोचेर गरी रहेका छौं कि आफू भन्दा बढी अरूलाई पनि भलो होस् भनेर गरी रहेका छौं ? 

हामीले गर्ने कर्मको असर हामीमा मात्र त अवश्य पर्दैन। जब केही न केही कर्म गर्नु नै पर्ने छ, तब किन आफ्नो मात्र विन (win) अरूको लस (loss) होस् भन्ने कामना गर्ने, विन-विन (win-win) कै कामना गर्दा सकारात्मक भावनाको पनि सिर्जना भयो, अरूको भलो होस् मेरो नहोस् भन्ने त कामना गर्नु परेन,किनकी त्यो गर्दा फेरि आफू प्रति नकारात्मक भइरहेका हुन्छौं। 

थाहा पाएर वा नपाएर, होसमा वा बेहोसीमा गरिने यी कर्मको भावको गुणवत्ता सायद निकै महत्वपूर्ण छ ? सामान्यतया भनिने “असल मान्छे बन्नु पर्छ” देखि लिएर, विभिन्न धर्म सम्प्रदायहरूले दिने आचरण र नियम पनि यही हाम्रो कर्म प्रतिको भावको गुणवत्ता बढाएर, यो मानव जीवनलाई सार्थक बनाउन हो की ?

जति गहन, त्यति सरल

केही दिन भयो, हामीलाई हाम्रो गाउँको दाइले खेतीपातीमा सहयोग गर्दै हुनुहुन्छ। उहाँको नाम हो विजय। हामी बस्ने ठाउँको प्रायजसो संरचना उहाँकै कलाकारिताको देन हो। उहाँसँग विद्यालयको ज्ञान धेरै नहोला, तर सिर्जना र व्यवहारिकताको ज्ञान अथाह छ। 

केही दिन अगाडि बारीमा काम गर्ने क्रममा उहाँको विचारले म मा उच्च भावको सिर्जना गर्‍यो। उहाँ भन्दै हुनुहुन्थ्यो- माटो र पानी जीवन हो। अनि मैले सोधेँ, हावा ? उहाँले भन्नुभयो, त्यो त प्राण भइहाल्यो नि, अझ महत्त्वपूर्ण।

पहिलो विचार आयो-हाम्रो अस्थित्व पनि त माटो, पानी र प्राण हो।अनि मेरो मनमा कुनै समय ओशोको साहित्य पढेको याद आयो, जहाँ ओशो भन्दै हुनुहुन्थ्यो— हावा बिना मान्छे सबैभन्दा कम समय बाँच्न सक्छ; खाना र पानी बिना त्यो भन्दा अलि लामो समय। 

सुन्दा सरल लागे पनि उहाँले गहन विषयलाई व्यक्त गर्नुभयो। सामान्यतया मानिसको दृष्टि यस्तो विषयमा पुगेको पनि हुँदैन। औपचारिक शिक्षाको कमी भए पनि उहाँको चेतनाको स्तर अरू गाउँलेको तुलनामा निकै उच्च भएको भान भयो र सिक्नको लागि कुनै पनि बेला, कोहीसँग पनि सिक्न सकिन्छ भन्ने कुरा अनुभव भयो।

Trauma Vs Trauma

मनोविज्ञानमा भनिन्छ, सात वर्षको उमेरदेखि नै व्यक्तिको व्यक्तित्वको विकास हुन थाल्छ। समय, परिस्थिति, सङ्गत र शिक्षा अनुसार हामी सबैको आफ्नो छुट्टै व्यक्तित्व निर्माण हुन्छ। व्यक्तित्व निर्माणको यही क्रममा हाम्रा अनुभव र बुझाइका आधारमा चित्तमा विभिन्न आघात (Trauma) हरू लाग्छन्। कतिपय मान्यता अनुसार यी आघातहरू वंशानुगत पनि हुन सक्छन्। 

ती आघातहरूसँग हाम्रो एक किसिमको तादात्म्यता बन्दै जान्छ र ती नै हाम्रो व्यक्तित्वका अभिन्न अङ्ग बनेर जीवनमा प्रस्फुटन भइरहन्छन्। 

त्यसैले, धेरैजसो अवस्थामा हाम्रा सम्बन्धहरू व्यक्ति-व्यक्ति बीचको भन्दा पनि, हामीभित्र रहेका आघातहरू बीचको संवाद जस्तो बन्न पुग्छन्।

म नेपाल किन फर्के ?

मलाई शहर भन्दा गाउॅ नै प्रिय लाग्छ। नेपाली गाउॅको प्राकृतिक वातावरण, अर्गानिक खाना र मानिसहरु प्रिय लाग्छ।आफ्नो आफ्नो रुचि र स्वभाव को कूरा हो, ठुलो शहरको जीवनशैली र वातावरण मलाई असहज लाग्छ।आजभोलिको धार अनुकूल म पनि संसार कै विकसित देशको शहरमा जीवन बिताई रहेको हुन सक्थे, तर मलाई नेपाली गाउॅ को स्वस्थ, शांत र आनन्दित जीवनशैली नै प्रिय लाग्छ।

~ सतीस टण्डन

क्रियाहरु मा होश

आज म भियतनामी बौद्ध गुरू थिच न्यात हान को भनाई पढ़दै थिए। ज़ेन बौद्ध धर्ममा चिया पिउने जस्तो सानो क्रियालाई पनि कसरी ध्यान र श्रद्धा पूर्वक, वर्तमानमा रहेर गर्न सकिन्छ भन्ने सिकाइन्छ। हाम्रो दैनिक जीवन यस्तै साना क्रियाहरू मिलेर नै बनेको छ।

भनाइ यस्तो थियो “आफ्नो चिया बिस्तारै र श्रद्धापूर्वक पिउनुहोस्, मानौ की यो चिया पिउनू नै संपूर्ण कुरा हो – बिस्तारै, हतार नगरी; वास्तविक क्षणमा जिउनुहोस्”। हामीले गर्ने क्रियाहरू धेरै जसो हतार र बेहोशीमा हुन्छन्। हाम्रो उद्देश्य भनेको त्यो गर्ने प्रक्रिया भित्रको आनन्द खोज्नेभन्दा पनि, त्यो सकिएपछि हुने सन्तुष्टिमा हुन्छ।

यदि हामीले यी साना कुराहरू गर्दा होश, भाव र आनंद जोड्न सक्यौं भने, वर्तमानको जीवन्त क्षण भित्रको शान्ति र आनन्द को अझ नजिक पुग्न सक्छौं।

सर्जक राष्ट्रिय गहना हुन

आज म आइरिस कवि ओस्कर वाइल्ड को भनाई पढ्दै थिए। भनाई यस्तो थियो “ कलाकारले समीक्षक लाई सिक्क्षित गर्ने हो र समीक्षकले जनता लाई “।

सामान्यतया हामीलाई लाग्छ देश विकास गर्न मुख्य भूमिका राजनीतिज्ञको हुन्छ, तर खासमा सर्जकहरूको हुन्छ। सर्जक हरूले जुन स्तर वा प्रकृतिको गीत-संगीत, सिनेमा वा कुनै पनि किसिमको कला र साहित्यको सिर्जना गर्छन्, त्यही अनुरूप नै जनताको चेतनाको विकास हुँदै जान्छ। कुनै पनि महान सभ्यताको इतिहास हेर्नुहोस्, ती सभ्यतालाई महान बनाउन त्यहाँका सर्जकहरूको मुख्य भूमिका हुन्छ। विभिन्न किसिमका सिर्जनाले जनमानसको मन, भावना र चेतनालाई आकार दिन मद्दत गर्छ। जस्तो सिर्जनाको छाप मानिसहरूमा पर्दै जान्छ, समाज पनि त्यही अनुरूप परिवर्तन हुँदै जान्छ। त्यसकारण सर्जकहरू राष्ट्रिय गहना हुन् र राजनीतिक व्यवस्थाले उनीहरूलाई सहयोग र प्रोत्साहन दिइरहनु पर्छ।

~ सतीस टण्डन

नेपालमा सकारात्मक सोचको खाचो

नेपाली जनसमुदाय माझ नकारात्मकता बढ़दै गएको देख्न सकिन्छ। हुनत यो समस्या संसार भरी नै छ, तर बिशेष गरी नेपालमा यो समस्या आजभोली ब्यापक छ। राजनैतिक ब्यवस्था र प्रशासनिक तंत्र लाई यसको मूल कारक मान्न सकिन्छ। युवाहरु बिदेश पलायन हुने क्रम पनी तिब्र छ।सामाजिक संजाल का कमेंट सेक्शनहरुमा युवा देखी ब्रिद्द सम्ममा नीराशा देख्न सकिन्छ।

के यो नेपालको बर्तमान स्थिति को पूर्ण चित्रण हो त ? मलाई लाग्छ होइन।जति धेरै समस्या त्यति धेरै समाधान र बिकाशका मौका हरु पनी हुँन्छन। कम नै दृष्टिमा परेपनि बिदेश गएर पढेर वा केही सिकेर नेपालमै केही गर्छु भन्ने जमात पनी बढ़दैछ।ब्यापार गर्न सफलता को दर कम होला तर त्यो दिनप्रति दिन सुधारून्मुक छ।नयाँ सृजनशील पद्दति अनुसरण गरेका ब्यापार फस्टाएका उदाहरणहरु पनि देख्न पाइन्छ।

आजभोलि का युवा पुस्ताहरु पश्चात्य मूलुकका युवा भन्दा केही कम छैनन।युवा पुस्ताका धेरै साथिहरु तमाम नीराशा का बाबजूद पनि सकारात्मक ऊर्जाको साथ अगाड़ी बढ़ी रहेको देख्दा, नेपाल भौतिक बिकाशको बाटोमा अगाड़ी बढ़ीरहेको छ भन्ने कुरामा ढुक्क लाग्छ।

~ सतीस टण्डन