स्मृतिको हरियो सुस्केरा

समयका कङ्क्रिट रेखाहरूलाई नाघेर जब म आफ्ना दुई कलिला सन्तानको हात समाउँदै त्यो पहाडी टाकुराको आगनमा पुगेँ, मेरो चेतनाको एउटा अजङ्गको खण्ड अनायासै पग्लिएर माटोमा मिसिन पुग्यो। त्यो घर, जो मेरो श्रद्धा र शाश्वत प्रेमको केन्द्रविन्दु थियो, आज त्यहाँका हरेक झारपात र वनस्पतिमा उसकै सुगन्ध बाँचेको आभास भयो। म उन्मत्त भएर त्यहाँ लहलहाइरहेका वृक्षहरूतर्फ दौडिएँ र तिनीहरूलाई आफ्नो आलिङ्गनमा यसरी बाँधेँ, मानौँ म कुनै काष्ठ-देहलाई होइन, बरु एउटा जीवन्त आत्मालाई अङ्कमाल गरिरहेको छु। मेरा औँलाहरूले जब ती वृक्षका खस्रा बोक्राहरू, बक्र जराहरू र चिल्ला पातहरूलाई स्पर्श गरे, मलाई महसुस भयो कि मेरो अस्तित्व बिस्तारै ती वनस्पतिका नसा-नसामा विलीन हुँदैछ। हरेक बिरुवाको हृदयभित्र एउटा अस्फुट ढुकढुकी थियो, जसले मलाई एउटा गहिरो भाव-विह्वलताको सुरुङभित्र धकेलिदियो। म प्रकृतिसँग यसरी एकाकार भएँ कि मेरा खुट्टाहरूले जमिन होइन, बरु इतिहासका जराहरू टेकिएका थिए।

म घुँडा टेकेर त्यो पवित्र माटोमा थच्चिएँ र मेरा हत्केलाहरूले धर्तीको छाती सुम्सुम्याउँदा मेरो कण्ठबाट एउटा गहिरो र कारुणिक रोदन निस्कियो। त्यो आँसुले भिज्दै गर्दा माटोले मलाई आफ्नै वंशजको कथा सुनाइरहेको भान हुन्थ्यो। ठ्याक्कै त्यही क्षणमा मेरा छोराछोरीले एउटा मधुर र संयोगी गीत, “मैले आफ्नो हृदयको गीत बुझेँ अजम्बरी यस्तो एउटा प्रीत बुझेँ …. ” लय गुन्जाए, जुन लय चपौलीका कन्दराहरूमा ठोक्किएर एउटा अलौकिक सङ्गीत बन्यो। त्यो स्वरसँगै गमलामा पलाउँदै गरेका ती कलिला कोपिलाहरू र धर्तीमुनि लुकेका लामा जराहरू अचानक सलबलाए झैँ लागे, उनीहरू मौनताको भाषा तोडेर बोलिरहेका थिए। मलाई यस्तो आभास भयो कि ती बिरुवाका जराहरूले मेरो हृदयको रगतसँग संवाद गरिरहेका छन् र कोपिलाहरूले छोराछोरीको गीतमा आफ्नो शिर हल्लाएर सहमति जनाइरहेका छन्। जीवन र जगतको यो मिलनविन्दुमा पुगेपछि मलाई बोध भयो कि प्रेम कहिल्यै मर्दैन, यो त केवल कहिले मानिसको रूपमा त कहिले रुखको हरियो सुस्केरा बनेर धर्तीमा उम्रिरहने रहेछ।

जब साँझको सुनौलो घामले ती पहाडी टाकुराहरूलाई चुम्यो, मेरो हृदयको गहिरो रोदन बिस्तारै एउटा दिव्य शान्तिमा रूपान्तरित भयो। माटोमा लतपतिएका मेरा हातहरू उठाउँदै मैले आफ्ना छोराछोरीलाई नजिकै बोलाएँ र हामी सबै मिलेर त्यो श्रद्धाको आँगनमा एउटा नयाँ बिरुवा रोप्यौँ। त्यो सानो बिरुवाको कलिलो काण्डलाई माटोले थिच्दै गर्दा मलाई महसुस भयो कि हामीले केवल एउटा वनस्पति रोपेका थिएनौँ, बरु प्रेम, आशा र अटुट सम्बन्धको एउटा नयाँ बिउ अङ्कुरण गरिरहेका थियौँ। छोराछोरीका साना हातहरूले जब त्यो बिरुवामा पानी खन्याए, रुखका पातहरूबाट झरेका जलका थोपाहरूले मलाई आशिष् दिए झैँ आभास भयो, जसरी तीनले छोएका गितारका तारहरू तरंगित भएर गाइरहे झैँ … । प्रकृति अब मेरो लागि केवल जङ्गल रहेन, यो त एउटा जीवन्त पुस्तकालय बन्यो जहाँ हाम्रा प्रियजनहरू कहिल्यै नओइलाउने फूल बनेर मुस्कुराइरहनेछन्। हामी फर्कँदै गर्दा पहाडको चिसो हावाले सुस्तरी कानमा साउती मारिरहेको थियो कि मृत्यु त केवल भौतिक शरीरको अन्त्य मात्र हो, तर प्रेम त यी वृक्षका हाँगाहरूमा चराको चिरबिर बनेर र नयाँ कोपिलाको मुस्कान बनेर युगौँसम्म बाँचिरहनेछ। हामीले एउटा घर मात्र छोएका थिएनौँ, एउटा जिउँदो र सास फेरिरहेको सम्झनाको बगैँचा छोएका थियौँ, जसले हरेक वसन्तमा हामीलाई पुनर्मिलनको नयाँ निम्तो दिइरहने गरेको छ ……

Unknown's avatar

Author: मानव अभ्यास

🙏❣️🌹🎶✍️

Leave a comment