म सानै थिए । मेरो साथिहरुले गुलेली चलाएको देख्दा मालाई पनि गुलेलीको रहर लाग्यो । रबरलाई तानेर ढुङ्गा उछिट्याउदा , हातले पुर्याउन नसक्ने ठाँउमा अति बेगले पुग्थ्ने यसको बिशेषता थियो । मैले पैसा जम्मा गरेर एउटा गुलेली किने । साथीहरू निशाना लगाउन खप्पिस थिए । उनीहरूको प्राय गफ “मैले यतिवटा चरा मारेको छु , यो यो चरा खाएको छु “भन्ने वरपर नै हुने गर्थ्यो । मैले भने न कुनै चरा मारेको थिए न खाएको नै थिए । त्यसैले म उनीहरुले यस्तो कुरा गर्दा प्राय चुप लागेर बस्थे । मनमनै एउटा चरा जसरी नि मार्छु भनेर सोच्थे तर म निसाना लगाउनमा कच्चा थिए । प्रय निसाना लगाई खेलमा उनिहरुले नै जित्ने गर्थे । त्यसैले म प्राय एक्लै निसाना लगाउने अभ्यास गर्थे । कहिले कुनै ठडिएको बाँसलाई हान्थे , कहिले कुनै पातलाई हान्थे । घरहरु धेरै भएको हुनाले होस् भने पुर्याउनु पर्थ्यो । नत्र सिसामा लाग्न सक्थ्यो । निसाना बाहेक म चरालाई पनि पहान्ने गर्थे तर लाग्दै लाग्दैन थियो । हजुरामाले मैले गुलेलीले चरा मार्ने प्रयास गरेको देख्दा भन्नू हुन्थ्यो , ” मार्ने नियतले हान्दा , चरा भाग्यो भने पनि पाप…मारेकै बराबर लाग्छ ” । यो वचन मेरो मस्तिष्कमा घुमी नै रह्यो तर चरा मार्ने कोशिस भने रोक्किएन । मेरो घरको अगाडि धेरै भंगेराहरु आउने गर्थे । तारमा बस्न उनीहरु मन पराउथे । म छतबाट उनिहरुलाई हान्ने प्रयास गर्थे । गुलेलीको प्रहार हुने बित्तिकै उनीहरु उढ्थे
र फेरि त्यही आउथे । मलाई उनिहरुले जिस्काए जस्तो लाग्थ्यो । आफैसँग रिसाउदै , अब त लगाउछु-लगाउछु भनेर हन्ने कोसिस गर्थे । यो क्रम निकै लामो समय चल्यो । प्राय म गुलेली चलाउदा आमाले भनेको कुरा पनि सम्झिन्थे तर त्यसले खासै मलाई बिचलित बनाएको थिएन । एक दिन भने , एक जोडी भङ्गेरा फेरि त्यहि तारमा बसे । त्यो एउटा भाले र अर्को पोथी थियो । कलो रंग देखिने भाले हुन्थ्यो भने पोथि फुस्रो फुस्रो हुन्थ्यो । भङ्गेराहरुलाई हेर्दा हेर्दै उनिहरुलाई म चिन्न थाली सकेको थिए । मैले गुलेली तन्काए र ढुङ्गा छाडीदिए । भालेको टाउकोमा लागेछ । पहिलो पटक चरालाई लाग्यो । म छतबाट तल झरे । भङ्गेराको अन्तिम ढुकढुकी चलिरहेको थियो । मैले जमिनबाट उठाए । पखेटाहरु नरम थिए । त्यसको आँखाले मलाई नै हेरिरहेको थियो । मेरै हातमा त्यसले अन्तिम सास छाडिदियो । मेरो हातमा थोरै रगत पनि लागेछ । म त्यो भङ्गेरा खाने त सोच्न पनि सकिन । मलाई चरा मर्नु थियो मारे अब त्यो भङ्गेरा के गर्ने । मेरो हातमा नै त्यो भङ्गेरा चिसो र कडा हुँदै गयो । मैले किन मारे भनेर मलाई पछुतो लाग्दै थियो । मेरो आँखा भरी आँसु जम्यो । मैले त्यसलाई श्रद्धा पुर्वक खाल्डो खनेर गाडिदिए । त्यसपछि मैले फेरि अर्को चरा मार्ने सोच्न पनि सकिन। केही छण पछि त्यहि पोथि आयो र त्यहि तारमा बस्यो । चिरबिर चिरबिर गर्दैथियो । मलाई त्यसले भाले खोज्दै छ जस्तो लाग्दै थियो । म धेरै दिन निरास भए । कुनै पोथी एक्लै त्यो तारमा बस्दा , त्यहि पोथी हो कि जस्तो लाग्थ्यो । त्यस दिन देखि मैले अहिले सम्म चरा मारेको छैन ।
