अग्रगामी छलाङ्ग

हामीले हाम्रो जिबनलाई राम्रोसँग हेर्ने हो भने त्यो एकै किसिमको भईरहेको हुन सक्छ । सधै एकै किसिमको गित सुनिरहेका हुन सक्छौ , एउटै काम , खान एउटै सबै कुरा एउटै गरिरहेका हुन सक्छौ । हामी त्यसलाई देखि रहेका पनि नहुन सक्छौ । यसरी एउटै चक्करमा फनफनी घुमी रहेका हुन सक्छौ । त्यहाँ प्रगतीको सम्भावना नै हुदैन । विकासको सम्भावना नै हुदैन । त्यो त एउटा अन्त्य नै नहुने चक्र जस्तो हुन जान्छ । 

अब यो चक्र कसरी पार गर्न सकिन्छ भन्ने कुरा गरौ । 

आफ्नो बानीहरुको अध्ययन गर्नु पर्छ । कस्ता बानी राख्ने र कस्ता बानी फाल्ने भन्ने बिषयलाई मनन गरेर स्पष्ट हुनु पर्दो रहेछ । अनि मुख्य कुरा चाहिँ  थप मेहेनत चाहिने रहेछ । भन्नाले , यदि म कुनै अफिसमा काम गर्छु तर मलाई चित्रकार बन्न मन छ भने , अफिसको थकान भए पनि मेरो अफिस पछि थप मेहेनत गर्ने बानी छ भने मैले अग्रगामी छलाङ लिन सक्छु । नत्र अफिस जाने आउने सुत्ने उठ्ने र फेरि अफिस जाने नै चक्र चल्छ । यसको मतलब थप मेहेनतले नै अग्रगामी छलाङ दिन्छ । यो प्राय जुन कुरामा पनि लागू हुन्छ । हिजो भन्दा आज थप मेहेनत गर्दै जानू पर्ने रहेछ । यसरी मेहेनत गर्दै जादा आफ्नो थप विकास हुँदै जादो रहेछ ।

जाम

जितको लागि आज एकदमै महत्वपूर्ण दिन हो । उ सबेरै उठेर लामो समाय लगाएर तयार भएर अफिसको लागि करीब एक घण्टा अघि नै घरबाट निस्कियो । उसले नजिकै ट्याक्सी देखेर उसले त्यहि ट्याक्सीमा जाने निर्णय गर्यो । ट्याक्सीको मीठो गितले उसलाई शान्त बनाईरहेको थियो । त्यतिकैमा फोनको घन्टि बज्यो,” हलो… म निस्किसके अब एक घण्टामा आई पुग्छु…हुन्छ…” यति भनेर उसले फोन राखि दियो । गाडी कति खेर रोक्किएछ , उसलाई पत्तै भएन ! अगाडि लामो जाम रहेछ ।

ड्राइभर दाइले भन्नू भयो,”काठमाडौको बाटो त्यहि पनि अफिस टाईम अब त लामो समय लाग्ला जस्तो छ ” । जित , एक चोटि हात घुमाएर घडी हेर्छ । समय त अझै छ । उ ट्याक्सीको गित सुन्न थाल्छ । लगभग एक घण्टा पछि जाम खुल्यो । हिडे पछि उसलाई केही आराम भयो । केही समय पछि फेरि अर्को जाम देखियो । अब उसलाई तनाब हुन थाल्यो । दाइ , अर्को बाटो छैन । मलाई अफिस अली छिटै जानू पर्ने छ । ड्राइभर दाइले एउटा गल्लीबाट गाडीलाई हाल्नु भयो । धन्न त्यहा भने बाटो जाम थिएन । अब भने जितलाई अलिकति राहात भयो । केही बेर पछि फेरि गल्लीमा पनि जाम देखियो । त्यहाँ पनि लगभग आधा घण्टाको पर्खाइ पछि , ड्राइभर दाइ बाहिर गएर बुझ्दा बाटो बनाउने प्रकृयाले बाटो बन्द भएको जानकारी ल्याउनु भयो । अब ट्याक्सी न अघाडी बढ्न सक्छ न पछाडि जान सक्छ । उसले ट्याक्सीलाई पैसा दिएर रोड सम्म पैदल नै जाने निर्णय गर्यो । हतारहतार उ हिड्दै गयो । हतारमा एक छिन पछि उसले थाहा पायो कि उसको फाईल ट्याक्सीमा नै छोडिएछ । फेरि फर्किएर फाईल लिएर , उ हतार हतार मात्र हैन अब त उ दौडिन नै थाल्यो । स्या स्या गर्दै उ रोडमा पुग्यो । फोन हेर्दा धेरै चोटि कल आईसकेको रहेछ । साथै केही म्यासेज पनि रहेछ ।उसलाई कल व्याक गर्न पनि अफ्ट्यारो लाग्यो । मिटिङ सुरु भएको लगभग बीस मिनेट भईसकेको थाहा पाएर उसको होस उढ्यो । सुट फोहोर होला भन्ने पनि उसलाई अब मतलब भएन । उसले पठाउ बाईकमा नै अफिस जाने निर्णय गर्यो । केही समय बकाई चल्यो र फेरि रोक्कियो । फेरि अर्को जाम रहेछ । बाईक चालक भाईले भन्यो , दाइ जाम त लामो छ जस्तो छ लगभग आधा घण्टा त लाग्छ होला ! जित बाईकबाट ओर्लीयो र त्यो भाईलाई पैसा दियो । जितको हस्याङ्-फस्याङ अब शान्त भयो । उ नजिकैको होटलमा छिर्यो । एउटा चिया र चुरोट अर्डर गर्यो । बिस्तारै त्यसको मजा लियो । उसले मिटिङ सक्कि सकेको खबर पढेर फोन स्विच अफ गरिदियो । चिया र चुरोट पछि नजिकै पशुपतिनाथको मन्दिर हेर्दै , उ केहि बेर टोलाएर बस्यो र उ त्यतै तिर घुम्न निस्कियो ।

स्कुल

एक दिन सरोजलाई आमाले खाना ख्वाउन खोज्दा उसले खान मानीरहेको थिएन । आमाले नजीकैको स्कुलको होस्टेलबाट ठूलो स्वरमा बच्चा रोएको आवाज सुन्दै भन्न थाल्छिन् , ” कति कुट्दो रहेछ , राम राम ” ।  केही समय त्यो आवाजले ध्यान ताने पछि फेरि उनी छोरालाई पुनः ख्वाउन खोज्छिन् तर सरोज भने अझै खान मान्दैन । आमाले जसरी नि ख्वाउनै पर्यो भन्ने सोचेर होला , उनले , खाना खाएन भने म तिमीलाई  त्यहि होस्टेलमा हाली दिन्छु , अनि त्यसरी नै तिमीलाई पिट्छन् भनेर भन्छिन् । त्यसपछि छोराले डराई डराई खान थाल्छ । प्राय जसो सधै त्यो होस्टेलबाट रोएको बच्चाको आवाज आइरहन्थ्यो । सरोजलाई भने त्यो होस्टलको आवाज देखि सारै डर लाग्थ्यो । आमाले पनि छोरालाई कसरी तह लगाउने भन्ने थाहा पाई सकेकी थिईन् । उनले छोराले चकचक गर्दा होस या धेरै बेर खेलेर बस्दा होस् , उनी छोरालाई यसो गरे म होस्टल हाली दिन्छु भन्थिन् । यो सिलसिला लामो समय सम्म चल्यो । सरोज बिस्तारै ठूलो हुँदै थियो । अब उसलाई स्कुल हाल्ने कुरा भयो तर सरोज भने स्कुल मरिकाटे जान मान्दैन थियो । पहिलो दिन स्कुल लान नै रुवनबासी भयो । सरोज प्राय सधै स्कुल नजान , म बिरामी छु भन्ने गर्थ्यो । आमाले पनि त्यो बच्चाको झुठ सजीलै थाहा पाउथिन् र जबरजस्ती स्कुल लैजान्थिन् । सरोजको केही लागेन अब सरोजले स्कुल जाने समय कोठाको ढोका बन्द गरेर बस्न थाल्यो । यो तरीका पनि धेरै दिन टिकेन । अब सरोजलाई स्कुल जसरी पनि लैजान थालीयो । कहिले काहीँ यो दिन्छु त्यो दिन्छु भन्दै फकाएर भने कहिले पिट्दै लान थालीयो । यो बच्चा स्कुल जाने नामले नै किन डराउछ , स्कुलमा पो पिट्छन् कि भन्ने लागेर आमा स्कुलमा बुझ्न पनि जान्छिन् । त्यहाँ सबै ठिक भएको र कसैले पनि नपिटेको भन्ने कुरा आमाले थाहा पाउछिन् । यो केटो किन स्कुल जान मान्दैन भनेर परीवारको चिन्ता बढ्दै गएको थियो । यस्तै यस्तैमा सरोज बिस्तारै ठूलो हुँदै गयो । उसलाई त्यो होस्टेल भित्र के हुँदो रहेछ भन्ने उत्सुकता लागि नै रहेको थियो । किन यहाँबाट रोएको आवाज आईरहन्छ भनेर एकदिन उ त्यहाँ हेर्नू पर्यो भन्ने निर्णय गर्छ । एकदिन होस्टलबाट फेरि एउटा बच्चा रोएको आवाज आउछ । यसपाली सरोज होस्टलको भित्ता सकिनसकि चढ्छ र लुकेर हेर्छ । त्यहाँ एउटा बच्चा मलाई चकलेट चाहियो भन्दै भुइँमा लडीबुडी गर्दै डाको छोडेर रोइ-रहेको देख्छ र त्यहाँको शिक्षकहरुले फकाउदै गरेको देख्छ । उ अचम्ममा पर्छ । 

यहाँ त पिट्छन् भनेर भन्थे तर बास्तविकता त अर्कै रहेछ भन्ने  , उसले बुझ्छ । उ घर फर्किन्छ । भोलि पल्ट स्कुल जाने समय हुदाँ आमा फेरि फकाउन जाँदै हुन्छिन् तर सरोज त स्कुलको कपडा लगाएर स्कुल जान तयार भएको देख्दा सबैलाई अचम्म लाग्छ । त्यो दिन देखि सरोज सधै झगडा नगरी स्कुल जान थाल्छ । उसको परिवारले भने यो के जादु भयो भन्ने अझै बुझ्न सकेका छैनन् ।

लेखन

लेखन जुन बिषयमा पनि हुन सक्छ । जस्तो पनि हुन सक्छ । किताब पानाहरुको संग्रह मात्र हैन । यो कसैको कल्पना र अनुभवको संग्रह हो । आफ्नो अनुभव वा कल्पनालाई जति वास्तविक बनाउन सकियो । त्यो लेख त्यति नै जिउदो हुन्छ ।  किताब भित्र संसार हुन्छ । यो सामान्य कुरा हैन । जति जति हामी अक्षरसँग बहन्छौ त्यति नै हामी त्यो संसारमा प्रवेश गर्दै जान्छौ । पढुन्जेल त वास्तविक संसार पनि भुलीन्छ । 

लेखनमा समयलाई पनि संग्रहित गर्न सक्ने क्षमता हुन्छ । भाषाको उत्पत्ति हुनु भन्दा पहिला पनि समयलाई संग्रहित गर्न विभिन्न कलाहरुको आविष्कार भएको हामीलाई थाहा छ तर सबै भन्दा प्रभावकारी भने अहिले सम्म पनि लेखन नै सावित भएको हामी अनुभव गर्न सक्छौ । लेखनले आफु र जगतलाई अझ गहिराईमा बुझ्न मद्दत पुर्याउछ । यो एउटा उखान सँग मिल्दो जुल्दो लाग्छ ” लहरो तन्दा पहरो गर्जिन्छ । ” भन्नूको अर्थ लेख्न बस्दा , सुरुमा त केही छैन , के लेख्ने जस्तो लाग्न सक्छ तर लेख्दै जादा एउटा घटना वा कुराले धेरै कुरालाई कोट्याईदिन्छ । एउटा कुराले अर्को तान्छ , अर्कोले फेरि अर्को । यो कोट्याउदै जाने क्रममा , खोतल्दै जाने क्रममा ,आफू भित्र दविएको भव्य सभ्यता नै प्रकट भईदिन्छ।

अनि आश्चर्य लाग्नु स्वभाविक हुन जान्छ । किनकि त्यो सोचेर वा बोलेर सायदै देख्न सकिन्छ । यस्तैे यस्तै कुरालाई मनन गर्दै , आज भोलि म पनि लेख्ने प्रयास गर्दै छु ।

यो धेरै वर्ष पुराको कुरा हो । एक दिन गुरुले शिष्यलाई हिरा खोजेर ल्याउ भन्नु हुन्छ तर शिष्यलाई हिरा कस्तो हुन्छ भन्ने थाहा हुदैन ।उसले गुरुलाई हिरा कस्तो हुन्छ भनेर सोध्छ ।गुरुले ढुङ्गाहरुमा सबैभन्दा चम्किलो ढुङ्गा नै हिरा हो भन्नुहुन्छ । उ हिरा खोज्न निस्किन्छ ।खोज्ने क्रममा केलाई आधार मानेर चम्किलो ढुङ्गा खोज्ने भन्नेमा उ अलमल्लीन्छ । उसले धेरै चम्किला ढुङ्गाहरु जम्मा गरेर ल्याउछ । गुरुलाई देखाउछ तर कुनै पनि हिरा हैन भनेर भनिसके पछि उ फेरि खोज्न निस्किन्छ ।यस पटक उसले आफुसँग भएको सबैभन्दा चम्किलो ढुङ्गालाई आधार मानेर अर्को त्यो भन्दा चम्किलो ढुङ्गा ल्याउने योजना बनाउछ । फेरि त्यो भन्दा चम्किलो ढुङ्गाहरु गुरु सामु देखाउछ तर त्यो पनि हिरा हैन भनेर गुरुले भन्नू हुन्छ । यसरी लामो समय बित्दै जान्छ । उसले फेरि आफुसँग भएको सबै भन्दा चम्किलो ढुङ्गा बोकेर हिड्छ । अब खोज पनि जटिल हुँदै जान्छ । अब त्यो भन्दा चम्किलो ढुङ्गा प्राप्त गर्न मुस्किल हुँदै जान्छ । एकदिन उसले नदि किनारमा अहिले सम्मकै चम्किलो ढुङ्गा फेला पार्छ । त्यो गुरु सामु लैजान्छ , यस पटक गुरुले यहीँ हो हिरा भन्नू हुन्छ ।उसले यो खोजमा हिरा मात्र हैन , धेरै कुरा प्राप्त गर्छ । थाहा भएको मान्छेले ” यो त्यो हैन ” भनिदिनु नै ठूलो ज्ञान रहेछ भन्ने मनन गर्छ र उ अब आफू भित्रको हिरा खोज्ने अन्तर यात्रामा निस्किन्छ ।

प्रकाश

बुबा र छोरा घर नजिकैको जङ्गलमा घुमिरहेका हुन्छन् । त्यहाँ थरीथरीका चराहरु रुख-रुखमा बसेर आ-आफ्नो गित गाइ रहेका हुन्छन् । छोरालाई सबै कुरा अनौठो लाग्छ । एउटा कुरा त्यस्तै अनौठो के लाग्छ भने नजिकैको गुफा भित्रबाट एउटा रुख बाहिर निस्किरहेको छ । त्यो रुख गुफा भित्रै चाहि किन नबसेको होला भनेर बुबालाई सोध्छ । सानो छोराको यस्तो प्रश्न सुनेर दंग पर्दै उनी उत्तर दिन्छन् , ” गुफा भित्र अँध्यारो छ । अध्यारोमा रुख बाच्न सक्दैन , त्यसैले उ प्रकाश खोज्दै बाहिर निस्किएको हो ।प्रकाशलाई हेर्दै हिड्दा बाटो आफै बन्दै जान्छ । “
छोराले तत्काल प्रतिउत्तर दिन्छ, ” म पनि यदि कुनै अध्यारोमा फसि हाले भने प्रकाशलाई हेर्दै हिड्नेछु । अनि बाटो त आफै बन्दै जान्छ । “

जीवन मङ्गल

मङ्गल आज कतै निस्किन लागेछ । उ राती लगाएको कपडा नै लगाएर निस्किन्छ ।  चिया खाने ठाउँमा एक छिन चिया खाएर बस्छ । त्यहाँ उसको साथी जीवन आउँछ । उनिहरु आफ्नो जीवनको विषयमा कुरा गर्दै हुन्छन् । मुख्यतया कुरा नकारात्मकतामा आधारीत हुन्छ । मङ्गल भने अलिअलि सकारात्मक कुरा ल्याउने विचार गर्छ तर जीवन भने रोकिन नै चाहादैन। जीवनले भए भरको दु:ख , पीडा र आफ्नो सम्पुर्ण कुण्ठा त्यहीँ निकाल्छ । मङ्गलले त्यहाँ चिया मात्र खाएन । उसले जीवनको दु:ख र कुण्ठाको स्वाद पनि आफ्नो जिब्रोमा लिएर , त्यहाँबाट हिड्छ । हिड्ने क्रममा उ जे जे देख्छ , त्यसमा नकारात्मक हुन थाल्छ । उसलाई ,  कसैले राम्रो कुरा गरेको सुन्दा पनि उसलाई नै व्यङ्ग्य गरेको जस्तो लाग्न थाल्छ । उसमा नजानीदो रिस उत्पन्न हुन थाल्छ ।  घरमा पुगेर उसले चुरोट सल्काएर घाम तापी रहेको बेला , उसको श्रीमतीले खाना खान बोलाउदा , उसले आफ्नो श्रीमतीलाई सम्पुर्ण रिस निकाल्छ र उ त्यहि घाम तापेर बस्छ । एक छिन पछि उसको छोरी बाबा मलाई होमओर्क सिकाइदिनु न भन्दै आँउदा । उसले त्यहाँ चाहिँ आफ्नो रिसलाई पोखिन दिदैन र भन्छ के छ नानी होमओक ! छोरीले भन्छे जीवन भनेको के हो बाबा ? मङ्गलले उसको साथीलाई सम्झिन्छ । उसले जीवन दुःख हो । यहाँ दुःख नै दुःख छ भन्नै लागि रहेको हुन्छ । उ एकछिन रोक्किन्छ । उसले आफ्नो जिब्रोमा उहीँ जीवनले दिएको स्वाद सम्झिन्छ । अहो…यो त उसले दिएको स्वाद पो हो त । यो जीवन कसरी भयो । यहाँ खुसी हुने लाखौं कारणहरु छन् , मुस्कान ल्याउने लाखौं उपाय छन् , म पनि सन्तुष्ट नै छु , अहिले त सबै ठिक नै छ भने म किन जीवन दुःख हो भन्दै छु । यस्ता कुरामा उसले मनन गर्छ र उसले तत्काल गएर आफ्नो श्रीमतीसँग माफी माग्छ र उसको छोरीलाई पनि होमवर्क सिकाइदिन्छ । यसरी त्यस दिन उसले सकारात्मकतालाई आफ्नो स्वाद बनाउछ ।

पच

म पहिलो पटक हनुमान चालिसा सुन्दा भएको अनुभव सम्झन्छु । म त्यो समय सायद दस एघार बर्षको हाराहारीमा थिए । म सम्झन्छु मलाई एक जना साथीले आफुलाई कण्ठ भए जति सुनाएको थियो । शब्दहरु अस्पस्ट र क्रम नमिलेको भए पनि त्यो सुन्दा मेरो शरिर भरी झङ्कारको प्रवाह भयो । त्यो मेरो सायद याद भए अनुसार पहिलो झन्कार थियो । लय र शब्द पनि सरल भएको हुनाले अलि-अलि त एक चोटि सुन्दै कण्ठ भएछ । धेरै नबुझे पनि हनुमानको कथा हो भन्ने त मैले थाहा पाए । त्यो भन्दा अगाडि मैले रामायण टेलिभिजनमा हेरि सकेको थिए । त्यसैले मैले त्यो केहि केही त बुझे । यद्यपि  हनुमान चालिसा मैले त्यो भन्दा  अगाडि कहिल्यै सुनेको थिईन । मलाई हनुमान चालिसा यति मन पर्यो कि मैले उसलाई त्यो किताब मागे सार्छु र फिर्ता गरीदिन्छु भन्ने मनसायले तर अल्छीपनाले त्यो सार्न भने सारिन बरु किताब नै पच हानिदिए । कण्ठ पनि आधाउधी गरे । त्यस पछि त्यो लामो समय थन्किएर बस्यो । त्यो किताब म सँग केही बर्ष अगाडि सम्म पनि थियो । सायद यो नै हो मैले सुरुमा कसैको केही पच हानेको कुरा , त्यो किताबबाट त कण्ठ गरिएन तर अहिले भने सुन्दा सुन्दै लगभग सबै कण्ठ भएछ । अहिले त्यो सम्झिएर रमाईलो लाग्यो ।

मान्छे समुन्द्र बोकेर हिड्दैछ

अस्तित्व नै समुन्द्र हो , जसलाई हामी बोकेर हिडिरहेका छौ । धेरै दार्शनिकहरुले भनेका छन् ,” यो संसार देखिने भन्दा नदेखिने कुराले बढी  चलि रहेको छ ।” हामी पनि देखिने भन्दा नदेखिने कुरा नै बढि बोकेर हिडिरहेका हुन्छौं भन्ने अनुमान गर्न सक्छौ । उदाहरणको लागि विचार भन्न सकिन्छ । यो बाहेकका अरु पनि थुप्रै कुरा होलान, जसलाई हामी बोकेर हिड्दैछौ र त्यो देखिदैन । त्यसको बाह्रेमा मलाई ज्ञात छैन । विचार पनि देखेकै हो भन्ने कुरामा पनि शंका उत्पन्न हुनु स्वभाविक नै हो । आँखा बन्द हुदा पनि विचार आएको थाहा हुन्छ । त्यो केले थाहा पायो । यस बिषयमा अध्यात्म जगतमा पनि धेरै चर्चा चल्दै आएको हामी देख्न सक्छौ । “आफ्नो अस्तित्वको बार्हेमा जान्नु नै हाम्रो मुल धर्म हो ” भन्ने पनि हामी सुन्दै आएका छौ । म पनि यहि बुझ्ने प्रयास गर्दै छु । आजभोलि देखिने भन्दा पनि नदेखिन म आफैलाई बुझ्ने प्रयास गर्दैछु ।

यात्रा

एकदिन गुरु र शिष्य तिर्थ यात्रमा निस्किएका थिए । हिन्दै जाने क्रममा , उनिहरुले एउटा ढुङ्गै ढुङ्गाले बनेको पहाड पार गर्नु पर्ने थियो । पहाड साच्चै ठूलो र भिरालो थियो साथै साघुरो बाटो भएको । जति माथि गयो, त्यति नै खतरा बढ्दै जान्थ्यो । एउटा सानो भुल र ज्यानै जाने खतरा थियो । जति जति उनिहरु माथि जाँदै थिए । त्यति नै शिष्यको खुट्टा डरले गर्दा अगाडि नै बढेन । उसले आफू भन्दा अगाडि हिडिरहनु भएको आफ्नो गुरुलाई हेर्दा , उहाँमा उसले एक धर्को पनि डर देख्दैन । त्यसैले उसले गुरुलाई सोध्छ , ” तपाईलाई डर लागेको छैन । ” अनि गुरुले उत्तर दिनु हुन्छ ,” जे छुटि सक्यो, त्यसलाई हेर्ने हैन । जे अगाडि छ, त्यसलाई हेर । पछाडि मात्र छ डर लाग्दो भिर, अगाडि हेर त यहाँ बाटो मात्र छ ।”
यसरी गुरुको कुरा सुने पछि शिष्यले पछाडि भिरलाई नहेरी अगाडि बाटो मात्र हेर्दै अघि बढ्यो । यसर हिन्दा उसको डर पनि हराउदै गयो र केही दिनको यात्रा पछि उनिहरुको तिर्थयात्रा पनि सम्पन्न भयो ।