पाटी

म र मेरो बुढा एउटा मन्दिरको पाटीमा बस्ने गर्थ्यौं । म चौध बर्षको हुँदा उ सँगै भागेर आएको गाउँबाट । बुढा कहिले काहीँ ज्याला मजदुरी गर्ने गर्थ्यो तर सबै पैसा नशामा नै उडाउने गर्थ्यो । उसले मात्र नशा गर्ने हैन म पनि गर्ने गर्थे । हामी प्राय औषधिजन्य नशा प्रयोग गर्ने गर्थ्यौ । कहिले काहीँ पैसा नहुँदा भने डेनड्राईड फुक्ने गर्थ्यौ । खै उसले कहाँबाट सिकेछ , उसले खाएको देखेरै मैले पनि खान सिके । उसले पनि मलाई कहिल्यै प्रतिकार गरेन । यहि कारणले हामीसँग पैसा बच्दै बच्दैन थियो । कहिले काहीँ उसले जिद्दी गर्दा म माग्न पनि जान्थे । माग्ने काम मलाई त्यति ठिक लाग्दैन थियो । उसलाई कसैले पत्याउदैनन् , माग्दा गाली गर्छन् भनेर मग्न सधै मलाई पठाउने गर्थ्यो । मान्छेहरुले मलाई भने पत्याउथे । सायद मेरो बढिरहेको पेट देखेर पनि होला । कोहि कोहि मलाई सोध्ने गर्थे , ” तिम्रो बुढा छ कि छैन भनेर ” । मैले “छैन” भन्ने इशारा दिन्थे । किनकि त्यो भने पछि अल्लि धेरै पैसा पाईन्छ भन्ने आशा लाग्थ्यो । एक दिन त्यसै गरि माग्ने क्रममा एक जना दाईले हजार रुपैयाँ दिनु भयो । मलाई बिश्वास नै लागेन । त्यो भन्दा अघि मलाई कसैले पनि त्यति धेरै पैसा दिएको थिएन । त्यो दाईले मेरो पेट तिर हेर्दै , फलफुल किनेर खानु भन्नू भयो । मैले हुन्छ भने । त्यो दाइ त्यहाँबाट हिडि हाल्नु भयो । म पाटीमा गए र बुढालाई भने । बुढाले पैसा लियो उसलाई कुरामा भने खासै चासो भएन र हिडि हाल्यो । गएको एक घण्टामा बुढा आयो । उसले मेरो लागि एक पत्ता हरिया चक्कि ल्याइदिएछ । मैले त्यो दिन अली धेरै चक्कि खाए । नसा मै भए पनि त्यो दिन म त्यहि दाईलाई सम्झिरहेको थिए । एकछिन पछि त्यहि दाइको आवाज सुने । तिमी यहि बस्छौ हो ?? सोध्नु भयो । मैले “हो” भने । म नशामा भएको मेरो हरेक अंगले बताईरहेको थियो । उहाँले नदेख्ने त कुरै भएन । उहाँले भन्नू भयो , ” बहिनी यस्तो बेला नशा गर्नु हुदैन बच्चालाई असर गर्छ । अझ तिमी त सानै छौ । ” म केही बोलीन तर मैले मनमनै निर्णय गरे की म भोलिबाट नशा गर्दिन । बुढा भने त्यो रात आएन । बिहानै त्यो दाइ भने आउनु भएछ । एउटा बाक्लो ब्ल्याङ्केट र फलफुल ल्याईदिनु भएको रहेछ । ” किन यस्तो गर्नु भएको दाइ “, मैले सोधे । मलाई तिमी मेरो आफ्नै बहिनी जस्तो लागेर । यो सुने पछि मेरो आँखा भरी आँसु आएको थियो । उहाँ दैनिक जस्तो आउन थाल्नु भयो । हामी कुरा पनि गर्न थाल्यौं । उहाँ खाली हात भने कहिल्यै आउनु हुन्न थियो । कहिले मेरा लागि कपडा , कहिले बिस्कुट , कहिले हर्लिक्स…… । मैले बिस्तारै नशा पनि छोड्दै गईरहेको थिए । बुढा घर नआएको थुप्रै भएको थियो तर त्यो दाईले गर्दा म खुसी थिए । मलाई साच्चै बहिनी जस्तै मान्नु भएकोले । मैले मेरो प्रेमको कथा पनि सुनाए । कसरी हामी काठमाडौं सम्म आयौं भनेर । मलाई दाइले प्राय सधै पैसा दिनु हुन्थ्यो र भन्नू हुन्थ्यो , ” पौष्टिक कुरा खानु , तिमीले जे खान्छौ त्यो बच्चाले पनि खान्छ ” । मलाई त्यो समय पछि नै हो , बाँच्नु पर्छ जस्तो लाग्न थालेको । किनकि धेरै पछि मैले कसैबाट यति धेरै माया पाएकी थिए । सायद यति धेरै माया त मेरा बुबाले पनि गरेका थिएनन् । एक दिन दाइले मलाई बुढा गएको त धेरै दिन भयो त बहिनी , बुढाको चिन्ता लाग्दैन ? भन्नू भयो । उ कहिले दुई महिनामा पनि आउदैन । उसको त भर नै छैन । दाइले त्यस पछि मलाई खै किन हो , अंगालो हाल्नु भयो । मलाई पनि अफ्ट्यारो लागेन ।
केहि दिन पछि केही मान्छेहरु आएर मलाई कतै लैजान लागे । म जान मानी रहेकी थिइन । उनीहरूले भने , उनिहरु अनाथ आश्रमबाट आएका हुन् र मलाई केही गर्दैनन् रे । मलाई भने डर लाग्दै थियो । म कसरी जान सक्थे । बुढाको माया भन्दा पनि त्यो दाइ आउनु हुन्छ । म यहाँ भइन भने उहाँलाई चिन्ता होला भन्ने पनि लाग्दै थियो । उनिहरुले म जान नमान्दा पनि जबर्जस्ती लगे । मलाई त्यो पाटी पनि घर जस्तै लाग्थ्यो । म रुन बाहेक केही पनि गर्न सकिन । म अनाथ आश्रममा पुगे । त्यहाँ पुगे पछि भने म छक्कै परे । बुढा त त्यहिँ रहेछ । मेरो मन अल्ली शान्त भयो । एक महिना कहाँ हराएछ भनेको यहाँ पो रहेछ । मलाई अझ अचम्म लाग्यो जब मैले त्यो दाइलाई पनि त्यहि आश्रममा देखे । उहाँको नै रहेछ , आश्रम । जब म यहाँ आए मेरो जीवन नै परिवर्तन भयो । यहाँ हामीलाई उहाँहरुले पढाउनु हुन्थ्यो , गित गाउन सिकाउनु हुन्थ्यो र मैले लेख्न सिकेकी पनि यहि हो । मैले दाइको कुराहरु सुन्दा थाहा पाए उहाँ पनि सडकबाट यहाँ सम्म पुग्नु भएको रहेछ । आज मेरो बुढा शिक्षक भएको छ । साना साना बच्चाहरुलाई पढाउछ । छोरी दस बर्ष कि पुगी र म भने आजभोलि लेख्ने प्रयास गर्दै छु र यहीँ काम पनि गर्न थालेकी छु ।

कथाको जादु

एक दिन मलाई बच्चाहरुले कथा सुनाउनु न भन्दै आग्रह गरे । मैले पहिला पनि धेरै कथाहरु सुनाई सकेको थिए । यस पटक भने मैले नसुनाएको कथा सम्झन मुस्किल भयो । मैले तत्काल एउटा काल्पनिक कथा फुराउदै कथा भन्न सुरु गरे । 

         एक दिन आकाशबाट एउटा अण्डा खस्यो । त्यो अण्डा केही बच्चाहरुले देखे । त्यहाँ गएर हेर्दा त्यो अण्डाबाट एउटा एलीयन निस्कियो । जो पृथ्वीको बच्चाहरु जस्तै देखिन्थ्यो । ती बच्चाहरु हल्का डराए । किनकि उनिहरुले अहिले सम्म त्यस्तो दृष्य कहिल्यै देखेका थिएनन् । साना बच्चाहरु खासै नडराउने स्वभाव भएको हुनाले र आफ्नै उमेरको बच्चा जस्तै देखेपछि उनिहरु त्यो एलीयनसँग कुरा गर्न थाले । त्यो एलीयन पनि राम्रो रहेछ र पृथ्वीको बारेमा पनि राम्रो अध्ययन गरेर आएको रहेछ । कसरी बोल्छन् , के के खान्छन् , कस्तो हुन्छन् सबै थाहा रहेछ । धेरै बेरको कुराकानी पछि , त्यो एलीयनले ती बच्चाहरुलाई आज राति मेरो घरमा घुम्न जाने हो भनेर भन्छ । एउटा बच्चाले राति हामीलाई निस्किन दिनु हुदैन भनेर भन्छ । एलीयनले म यहि अण्डामा उडेर आउछु अनि तिमीहरु हामफाल्नु । त्यहाँ तिमीहरु पसि हाल्छौ भनेर भन्छ । उनिहरुलाई कसरी हाम फाल्ने भनेर पनि एक एक गरेर सिकाउछ । सबैजना एक छिन त्यो अण्डा भित्र पसे । बच्चाहरु त चकित नै परे । त्यहाँ भित्र त ठूलो ठाउँ रहेछ । साथै त्यहाँ त्यो अण्डा चलाउन धेरै बटनहरु रहेछन् । उनिहरु त्यहाँबाट निस्किए पछि , कोही आएको थाहा पाएर एलीयन अण्डा भित्र पसेर त्यहाँबाट बेपत्ता हुन्छ । बच्चाहरुलाई भने यो सपना हो कि विपना छुट्याउन गार्‍हो हुन्छ । त्यहाँ एकजनाले यहाँ के खसेछ भनेर सोध्छन् । उनिहरुलाई एलीयनले मेरो बारेमा नभन्नु भनेको हुदाँ उनीहरूले ” खै हामीलाई त थाहा छैन भन्छन्” । रात पर्छ र सबैजना एलीयनको पर्खाइमा आ-आफ्नो घरको झ्यालमा बसीरहेका हुन्छन् । एलीयन आउँछ र सबैलाई लान्छ । एलीयनले आफ्नो ग्रहमा लान्छ । त्यहाँ ती बच्चाहरुलाई धेरै जादुहरु सिकाउछ । आफ्नो सबै गाउँ घुमाउछ र फेरि पुनः घरमा फिर्ता ल्याई दिन्छ ।  उनिहरु त्यहाँ एक हप्ता बस्छन् तर धर्तीमा भने त्यो रात पनि कटेको हुदैन रहेछ । सबैलाई बिदा मागेर एलीयन आफ्नो घरमा जान्छ । उनिहरु भने भोलि पल्ट स्कुलमा जान्छन् । सबै साथीहरुलाई सुनाउछन् तर कसैले उनिहरुको कुरा पत्याउदैनन् । उनीहरूले सिकेको केही जादु देखाई दिन्छन् र यो कसरी यिनीहरूलाई आयो भनेर सबै बच्चाहरु अचम्ममा पर्छन् । 

               ती बच्चाहरु बिस्तारै ठुला हुन्छन् । उनिहरुलाई त्यो एलीयन हामीले साच्चै भेटेका नै हौ भनेर पनि अन्योल हुन थालेको थियो । एकदिन त्यतिकैमा त्यो अण्डा फेरि आउँछ र सबै बच्चाहरुसँग फेरि भेट्छ ।

    यसरी मैले एउटा कथा बच्चाहरुलाई सुनाए । उनीहरूलाई त्यो कथा सारै मन परेछ । उनिहरुको आँखामा सुन्दै गर्दा छुट्टै चमक देखिन्थ्यो । कथा सुनाउने क्रममा उनिहरु दुई भित्ता माथि उफ्रौला जस्तो गर्दै थिए । सायद अनिहरु आफै ती एलीयनसँग घुम्न गएको कल्पना गर्दै थिए होला। खासै त केही थिएन जस्तो लाग्छ त्यो कथामा तर पछि सम्म पनि मलाई अस्तिनको कथा सुनाउनु न त्यो पछि के भयो भनेर भन्ने गर्थे ।

स्कुल बस

एक दिनको कुरा हो । स्कुलमा परीक्षा चलिरहेको थियो । म त्यो बेला कक्षा एकमा पढ्थे । परिक्ष छिटै सक्किएको हुनाले हामी खेल्न थाल्यौ । लगभग एक घण्टा पछि भने एक जना साथीले म पनि तिमी बस्ने ठाउँ तिरै बस्छु । म कत्ति पटक हिन्दै पनि गएको छु भनेर भन्यो । मलाई पनि जान मन लाग्यो । अझ उसको यात्राको वर्णन सुनेर मलाई झनै रोमाञ्चित बनाएको थियो । हामीले निर्णय गर्यौ जाने भन्ने । म जानू पर्ने बसमा थियो तर सबैजनाको परिक्षा नसकि गाडी जाने कुरै भएन । मलाई भने सबै जना गएको देखेर जान मन लाग्यो । हामी जान थाल्यौ । जाँदा हामीले महाङ्कालको पार्कमा चिप्लेटि पनि खेल्यौ । बौद्ध निस्किने बाटो छ भन्दै साथीले गल्ली तिर लादै थियो तर उ नै रनभुल्ल भइरहेको रहेछ । मलाई भने डर लाग्दै थियो । कतै हराइने त हैन । अनि हामीले बाटो सोध्यौ र जसो तसो बौद्धबाट भने निस्किएर मुल सडकमा पुग्यौ । हामी बाटोको किनारै किनार हिन्दै थियौ । साथीले नजिकैको साईकलमा बेच्न राखेको दुई कोसा केरा र केही अंगुरका दाना खुसुक्क ब्यागमा हालेर ल्याएछ । हामीले त्यो खायौ । बसबाट त त्यो सधै देखिरहेकै ठाउँ थियो तर हिन्दै जाँदा भने मलाई सारै रामाईलो र नयाँ लाग्दै थियो । हामी जोरपाटी तिर पुग्दा भने स्कुलको बस आईरहेको देख्यौं । मेरो साथीले मलाई लुक भनेर भन्यो । हामी लुक्यौ । उसले मलाई भनेको थियो । उसले यसरी थुप्रै पटक यात्रा गरि सकेको छ रे , अनि उ अहिले सम्म फसेको छैन रे । यो कुराले मलाई थप हौसला दिएको थियो । यात्राले म एकदमै थाकेको थिए । हामी जोरपाटिबाट अल्ली माथि लागे पछि छुट्टियौ । म जसो तसो घर पुगे । घर पुग्दा त मैले संसारै जितेर आए जस्तो लाग्दै थियो तर घरमा त रुवाबासी भईरहेको रहेछ । मलाई त कसैले थाहा पाउदैनन् जस्तो लाग्दै थियो तर यो त उल्टो भएछ । म त कत्रो पौरख गरेर आए भनेर खुसी थिए । स्कुलमा त काण्ड नै भएछ । गाडी हिड्ने बेला म कतै नभेट्टिएको हुनाले , मेरो दिदीहरु रुन थाल्नु भएछ । मेरो साथीको भने कोहि त्यो स्कुलमा नपढ्ने रहेछन् । त्यसैले उ हिन्दै जाँदा पनि कसैले थाहा नपाउने रहेछन् । मेरो भने दिदीहरु त्यहीँ पढ्नु हुन्थ्यो । मैले त्यो बिचार नै गरीन । स्कुलले पुलिसलाई जानकारी गराएछ । म घर पुगे पछि स्कुलमा फोन गरीदिनु भयो । धन्न घरमा भने सम्झाउनु मात्र भयो तर भोलि स्कुल जाँदा भने पाईप खानु परेको थियो । यो कुरा सेलाए पछि , म अल्ली ठूलो भए पछि भने घरमा कोहि आँउदा यो सानै उमेरमा यत्रो हिडेर आएको थियो भनेर गफ गर्दा , मलाई खुसी लाग्थ्यो ।

अग्रगामी छलाङ्ग

हामीले हाम्रो जिबनलाई राम्रोसँग हेर्ने हो भने त्यो एकै किसिमको भईरहेको हुन सक्छ । सधै एकै किसिमको गित सुनिरहेका हुन सक्छौ , एउटै काम , खान एउटै सबै कुरा एउटै गरिरहेका हुन सक्छौ । हामी त्यसलाई देखि रहेका पनि नहुन सक्छौ । यसरी एउटै चक्करमा फनफनी घुमी रहेका हुन सक्छौ । त्यहाँ प्रगतीको सम्भावना नै हुदैन । विकासको सम्भावना नै हुदैन । त्यो त एउटा अन्त्य नै नहुने चक्र जस्तो हुन जान्छ । 

अब यो चक्र कसरी पार गर्न सकिन्छ भन्ने कुरा गरौ । 

आफ्नो बानीहरुको अध्ययन गर्नु पर्छ । कस्ता बानी राख्ने र कस्ता बानी फाल्ने भन्ने बिषयलाई मनन गरेर स्पष्ट हुनु पर्दो रहेछ । अनि मुख्य कुरा चाहिँ  थप मेहेनत चाहिने रहेछ । भन्नाले , यदि म कुनै अफिसमा काम गर्छु तर मलाई चित्रकार बन्न मन छ भने , अफिसको थकान भए पनि मेरो अफिस पछि थप मेहेनत गर्ने बानी छ भने मैले अग्रगामी छलाङ लिन सक्छु । नत्र अफिस जाने आउने सुत्ने उठ्ने र फेरि अफिस जाने नै चक्र चल्छ । यसको मतलब थप मेहेनतले नै अग्रगामी छलाङ दिन्छ । यो प्राय जुन कुरामा पनि लागू हुन्छ । हिजो भन्दा आज थप मेहेनत गर्दै जानू पर्ने रहेछ । यसरी मेहेनत गर्दै जादा आफ्नो थप विकास हुँदै जादो रहेछ ।

जाम

जितको लागि आज एकदमै महत्वपूर्ण दिन हो । उ सबेरै उठेर लामो समाय लगाएर तयार भएर अफिसको लागि करीब एक घण्टा अघि नै घरबाट निस्कियो । उसले नजिकै ट्याक्सी देखेर उसले त्यहि ट्याक्सीमा जाने निर्णय गर्यो । ट्याक्सीको मीठो गितले उसलाई शान्त बनाईरहेको थियो । त्यतिकैमा फोनको घन्टि बज्यो,” हलो… म निस्किसके अब एक घण्टामा आई पुग्छु…हुन्छ…” यति भनेर उसले फोन राखि दियो । गाडी कति खेर रोक्किएछ , उसलाई पत्तै भएन ! अगाडि लामो जाम रहेछ ।

ड्राइभर दाइले भन्नू भयो,”काठमाडौको बाटो त्यहि पनि अफिस टाईम अब त लामो समय लाग्ला जस्तो छ ” । जित , एक चोटि हात घुमाएर घडी हेर्छ । समय त अझै छ । उ ट्याक्सीको गित सुन्न थाल्छ । लगभग एक घण्टा पछि जाम खुल्यो । हिडे पछि उसलाई केही आराम भयो । केही समय पछि फेरि अर्को जाम देखियो । अब उसलाई तनाब हुन थाल्यो । दाइ , अर्को बाटो छैन । मलाई अफिस अली छिटै जानू पर्ने छ । ड्राइभर दाइले एउटा गल्लीबाट गाडीलाई हाल्नु भयो । धन्न त्यहा भने बाटो जाम थिएन । अब भने जितलाई अलिकति राहात भयो । केही बेर पछि फेरि गल्लीमा पनि जाम देखियो । त्यहाँ पनि लगभग आधा घण्टाको पर्खाइ पछि , ड्राइभर दाइ बाहिर गएर बुझ्दा बाटो बनाउने प्रकृयाले बाटो बन्द भएको जानकारी ल्याउनु भयो । अब ट्याक्सी न अघाडी बढ्न सक्छ न पछाडि जान सक्छ । उसले ट्याक्सीलाई पैसा दिएर रोड सम्म पैदल नै जाने निर्णय गर्यो । हतारहतार उ हिड्दै गयो । हतारमा एक छिन पछि उसले थाहा पायो कि उसको फाईल ट्याक्सीमा नै छोडिएछ । फेरि फर्किएर फाईल लिएर , उ हतार हतार मात्र हैन अब त उ दौडिन नै थाल्यो । स्या स्या गर्दै उ रोडमा पुग्यो । फोन हेर्दा धेरै चोटि कल आईसकेको रहेछ । साथै केही म्यासेज पनि रहेछ ।उसलाई कल व्याक गर्न पनि अफ्ट्यारो लाग्यो । मिटिङ सुरु भएको लगभग बीस मिनेट भईसकेको थाहा पाएर उसको होस उढ्यो । सुट फोहोर होला भन्ने पनि उसलाई अब मतलब भएन । उसले पठाउ बाईकमा नै अफिस जाने निर्णय गर्यो । केही समय बकाई चल्यो र फेरि रोक्कियो । फेरि अर्को जाम रहेछ । बाईक चालक भाईले भन्यो , दाइ जाम त लामो छ जस्तो छ लगभग आधा घण्टा त लाग्छ होला ! जित बाईकबाट ओर्लीयो र त्यो भाईलाई पैसा दियो । जितको हस्याङ्-फस्याङ अब शान्त भयो । उ नजिकैको होटलमा छिर्यो । एउटा चिया र चुरोट अर्डर गर्यो । बिस्तारै त्यसको मजा लियो । उसले मिटिङ सक्कि सकेको खबर पढेर फोन स्विच अफ गरिदियो । चिया र चुरोट पछि नजिकै पशुपतिनाथको मन्दिर हेर्दै , उ केहि बेर टोलाएर बस्यो र उ त्यतै तिर घुम्न निस्कियो ।

स्कुल

एक दिन सरोजलाई आमाले खाना ख्वाउन खोज्दा उसले खान मानीरहेको थिएन । आमाले नजीकैको स्कुलको होस्टेलबाट ठूलो स्वरमा बच्चा रोएको आवाज सुन्दै भन्न थाल्छिन् , ” कति कुट्दो रहेछ , राम राम ” ।  केही समय त्यो आवाजले ध्यान ताने पछि फेरि उनी छोरालाई पुनः ख्वाउन खोज्छिन् तर सरोज भने अझै खान मान्दैन । आमाले जसरी नि ख्वाउनै पर्यो भन्ने सोचेर होला , उनले , खाना खाएन भने म तिमीलाई  त्यहि होस्टेलमा हाली दिन्छु , अनि त्यसरी नै तिमीलाई पिट्छन् भनेर भन्छिन् । त्यसपछि छोराले डराई डराई खान थाल्छ । प्राय जसो सधै त्यो होस्टेलबाट रोएको बच्चाको आवाज आइरहन्थ्यो । सरोजलाई भने त्यो होस्टलको आवाज देखि सारै डर लाग्थ्यो । आमाले पनि छोरालाई कसरी तह लगाउने भन्ने थाहा पाई सकेकी थिईन् । उनले छोराले चकचक गर्दा होस या धेरै बेर खेलेर बस्दा होस् , उनी छोरालाई यसो गरे म होस्टल हाली दिन्छु भन्थिन् । यो सिलसिला लामो समय सम्म चल्यो । सरोज बिस्तारै ठूलो हुँदै थियो । अब उसलाई स्कुल हाल्ने कुरा भयो तर सरोज भने स्कुल मरिकाटे जान मान्दैन थियो । पहिलो दिन स्कुल लान नै रुवनबासी भयो । सरोज प्राय सधै स्कुल नजान , म बिरामी छु भन्ने गर्थ्यो । आमाले पनि त्यो बच्चाको झुठ सजीलै थाहा पाउथिन् र जबरजस्ती स्कुल लैजान्थिन् । सरोजको केही लागेन अब सरोजले स्कुल जाने समय कोठाको ढोका बन्द गरेर बस्न थाल्यो । यो तरीका पनि धेरै दिन टिकेन । अब सरोजलाई स्कुल जसरी पनि लैजान थालीयो । कहिले काहीँ यो दिन्छु त्यो दिन्छु भन्दै फकाएर भने कहिले पिट्दै लान थालीयो । यो बच्चा स्कुल जाने नामले नै किन डराउछ , स्कुलमा पो पिट्छन् कि भन्ने लागेर आमा स्कुलमा बुझ्न पनि जान्छिन् । त्यहाँ सबै ठिक भएको र कसैले पनि नपिटेको भन्ने कुरा आमाले थाहा पाउछिन् । यो केटो किन स्कुल जान मान्दैन भनेर परीवारको चिन्ता बढ्दै गएको थियो । यस्तै यस्तैमा सरोज बिस्तारै ठूलो हुँदै गयो । उसलाई त्यो होस्टेल भित्र के हुँदो रहेछ भन्ने उत्सुकता लागि नै रहेको थियो । किन यहाँबाट रोएको आवाज आईरहन्छ भनेर एकदिन उ त्यहाँ हेर्नू पर्यो भन्ने निर्णय गर्छ । एकदिन होस्टलबाट फेरि एउटा बच्चा रोएको आवाज आउछ । यसपाली सरोज होस्टलको भित्ता सकिनसकि चढ्छ र लुकेर हेर्छ । त्यहाँ एउटा बच्चा मलाई चकलेट चाहियो भन्दै भुइँमा लडीबुडी गर्दै डाको छोडेर रोइ-रहेको देख्छ र त्यहाँको शिक्षकहरुले फकाउदै गरेको देख्छ । उ अचम्ममा पर्छ । 

यहाँ त पिट्छन् भनेर भन्थे तर बास्तविकता त अर्कै रहेछ भन्ने  , उसले बुझ्छ । उ घर फर्किन्छ । भोलि पल्ट स्कुल जाने समय हुदाँ आमा फेरि फकाउन जाँदै हुन्छिन् तर सरोज त स्कुलको कपडा लगाएर स्कुल जान तयार भएको देख्दा सबैलाई अचम्म लाग्छ । त्यो दिन देखि सरोज सधै झगडा नगरी स्कुल जान थाल्छ । उसको परिवारले भने यो के जादु भयो भन्ने अझै बुझ्न सकेका छैनन् ।

लेखन

लेखन जुन बिषयमा पनि हुन सक्छ । जस्तो पनि हुन सक्छ । किताब पानाहरुको संग्रह मात्र हैन । यो कसैको कल्पना र अनुभवको संग्रह हो । आफ्नो अनुभव वा कल्पनालाई जति वास्तविक बनाउन सकियो । त्यो लेख त्यति नै जिउदो हुन्छ ।  किताब भित्र संसार हुन्छ । यो सामान्य कुरा हैन । जति जति हामी अक्षरसँग बहन्छौ त्यति नै हामी त्यो संसारमा प्रवेश गर्दै जान्छौ । पढुन्जेल त वास्तविक संसार पनि भुलीन्छ । 

लेखनमा समयलाई पनि संग्रहित गर्न सक्ने क्षमता हुन्छ । भाषाको उत्पत्ति हुनु भन्दा पहिला पनि समयलाई संग्रहित गर्न विभिन्न कलाहरुको आविष्कार भएको हामीलाई थाहा छ तर सबै भन्दा प्रभावकारी भने अहिले सम्म पनि लेखन नै सावित भएको हामी अनुभव गर्न सक्छौ । लेखनले आफु र जगतलाई अझ गहिराईमा बुझ्न मद्दत पुर्याउछ । यो एउटा उखान सँग मिल्दो जुल्दो लाग्छ ” लहरो तन्दा पहरो गर्जिन्छ । ” भन्नूको अर्थ लेख्न बस्दा , सुरुमा त केही छैन , के लेख्ने जस्तो लाग्न सक्छ तर लेख्दै जादा एउटा घटना वा कुराले धेरै कुरालाई कोट्याईदिन्छ । एउटा कुराले अर्को तान्छ , अर्कोले फेरि अर्को । यो कोट्याउदै जाने क्रममा , खोतल्दै जाने क्रममा ,आफू भित्र दविएको भव्य सभ्यता नै प्रकट भईदिन्छ।

अनि आश्चर्य लाग्नु स्वभाविक हुन जान्छ । किनकि त्यो सोचेर वा बोलेर सायदै देख्न सकिन्छ । यस्तैे यस्तै कुरालाई मनन गर्दै , आज भोलि म पनि लेख्ने प्रयास गर्दै छु ।

यो धेरै वर्ष पुराको कुरा हो । एक दिन गुरुले शिष्यलाई हिरा खोजेर ल्याउ भन्नु हुन्छ तर शिष्यलाई हिरा कस्तो हुन्छ भन्ने थाहा हुदैन ।उसले गुरुलाई हिरा कस्तो हुन्छ भनेर सोध्छ ।गुरुले ढुङ्गाहरुमा सबैभन्दा चम्किलो ढुङ्गा नै हिरा हो भन्नुहुन्छ । उ हिरा खोज्न निस्किन्छ ।खोज्ने क्रममा केलाई आधार मानेर चम्किलो ढुङ्गा खोज्ने भन्नेमा उ अलमल्लीन्छ । उसले धेरै चम्किला ढुङ्गाहरु जम्मा गरेर ल्याउछ । गुरुलाई देखाउछ तर कुनै पनि हिरा हैन भनेर भनिसके पछि उ फेरि खोज्न निस्किन्छ ।यस पटक उसले आफुसँग भएको सबैभन्दा चम्किलो ढुङ्गालाई आधार मानेर अर्को त्यो भन्दा चम्किलो ढुङ्गा ल्याउने योजना बनाउछ । फेरि त्यो भन्दा चम्किलो ढुङ्गाहरु गुरु सामु देखाउछ तर त्यो पनि हिरा हैन भनेर गुरुले भन्नू हुन्छ । यसरी लामो समय बित्दै जान्छ । उसले फेरि आफुसँग भएको सबै भन्दा चम्किलो ढुङ्गा बोकेर हिड्छ । अब खोज पनि जटिल हुँदै जान्छ । अब त्यो भन्दा चम्किलो ढुङ्गा प्राप्त गर्न मुस्किल हुँदै जान्छ । एकदिन उसले नदि किनारमा अहिले सम्मकै चम्किलो ढुङ्गा फेला पार्छ । त्यो गुरु सामु लैजान्छ , यस पटक गुरुले यहीँ हो हिरा भन्नू हुन्छ ।उसले यो खोजमा हिरा मात्र हैन , धेरै कुरा प्राप्त गर्छ । थाहा भएको मान्छेले ” यो त्यो हैन ” भनिदिनु नै ठूलो ज्ञान रहेछ भन्ने मनन गर्छ र उ अब आफू भित्रको हिरा खोज्ने अन्तर यात्रामा निस्किन्छ ।

प्रकाश

बुबा र छोरा घर नजिकैको जङ्गलमा घुमिरहेका हुन्छन् । त्यहाँ थरीथरीका चराहरु रुख-रुखमा बसेर आ-आफ्नो गित गाइ रहेका हुन्छन् । छोरालाई सबै कुरा अनौठो लाग्छ । एउटा कुरा त्यस्तै अनौठो के लाग्छ भने नजिकैको गुफा भित्रबाट एउटा रुख बाहिर निस्किरहेको छ । त्यो रुख गुफा भित्रै चाहि किन नबसेको होला भनेर बुबालाई सोध्छ । सानो छोराको यस्तो प्रश्न सुनेर दंग पर्दै उनी उत्तर दिन्छन् , ” गुफा भित्र अँध्यारो छ । अध्यारोमा रुख बाच्न सक्दैन , त्यसैले उ प्रकाश खोज्दै बाहिर निस्किएको हो ।प्रकाशलाई हेर्दै हिड्दा बाटो आफै बन्दै जान्छ । “
छोराले तत्काल प्रतिउत्तर दिन्छ, ” म पनि यदि कुनै अध्यारोमा फसि हाले भने प्रकाशलाई हेर्दै हिड्नेछु । अनि बाटो त आफै बन्दै जान्छ । “

जीवन मङ्गल

मङ्गल आज कतै निस्किन लागेछ । उ राती लगाएको कपडा नै लगाएर निस्किन्छ ।  चिया खाने ठाउँमा एक छिन चिया खाएर बस्छ । त्यहाँ उसको साथी जीवन आउँछ । उनिहरु आफ्नो जीवनको विषयमा कुरा गर्दै हुन्छन् । मुख्यतया कुरा नकारात्मकतामा आधारीत हुन्छ । मङ्गल भने अलिअलि सकारात्मक कुरा ल्याउने विचार गर्छ तर जीवन भने रोकिन नै चाहादैन। जीवनले भए भरको दु:ख , पीडा र आफ्नो सम्पुर्ण कुण्ठा त्यहीँ निकाल्छ । मङ्गलले त्यहाँ चिया मात्र खाएन । उसले जीवनको दु:ख र कुण्ठाको स्वाद पनि आफ्नो जिब्रोमा लिएर , त्यहाँबाट हिड्छ । हिड्ने क्रममा उ जे जे देख्छ , त्यसमा नकारात्मक हुन थाल्छ । उसलाई ,  कसैले राम्रो कुरा गरेको सुन्दा पनि उसलाई नै व्यङ्ग्य गरेको जस्तो लाग्न थाल्छ । उसमा नजानीदो रिस उत्पन्न हुन थाल्छ ।  घरमा पुगेर उसले चुरोट सल्काएर घाम तापी रहेको बेला , उसको श्रीमतीले खाना खान बोलाउदा , उसले आफ्नो श्रीमतीलाई सम्पुर्ण रिस निकाल्छ र उ त्यहि घाम तापेर बस्छ । एक छिन पछि उसको छोरी बाबा मलाई होमओर्क सिकाइदिनु न भन्दै आँउदा । उसले त्यहाँ चाहिँ आफ्नो रिसलाई पोखिन दिदैन र भन्छ के छ नानी होमओक ! छोरीले भन्छे जीवन भनेको के हो बाबा ? मङ्गलले उसको साथीलाई सम्झिन्छ । उसले जीवन दुःख हो । यहाँ दुःख नै दुःख छ भन्नै लागि रहेको हुन्छ । उ एकछिन रोक्किन्छ । उसले आफ्नो जिब्रोमा उहीँ जीवनले दिएको स्वाद सम्झिन्छ । अहो…यो त उसले दिएको स्वाद पो हो त । यो जीवन कसरी भयो । यहाँ खुसी हुने लाखौं कारणहरु छन् , मुस्कान ल्याउने लाखौं उपाय छन् , म पनि सन्तुष्ट नै छु , अहिले त सबै ठिक नै छ भने म किन जीवन दुःख हो भन्दै छु । यस्ता कुरामा उसले मनन गर्छ र उसले तत्काल गएर आफ्नो श्रीमतीसँग माफी माग्छ र उसको छोरीलाई पनि होमवर्क सिकाइदिन्छ । यसरी त्यस दिन उसले सकारात्मकतालाई आफ्नो स्वाद बनाउछ ।