प्रकाश

बुबा र छोरा घर नजिकैको जङ्गलमा घुमिरहेका हुन्छन् । त्यहाँ थरीथरीका चराहरु रुख-रुखमा बसेर आ-आफ्नो गित गाइ रहेका हुन्छन् । छोरालाई सबै कुरा अनौठो लाग्छ । एउटा कुरा त्यस्तै अनौठो के लाग्छ भने नजिकैको गुफा भित्रबाट एउटा रुख बाहिर निस्किरहेको छ । त्यो रुख गुफा भित्रै चाहि किन नबसेको होला भनेर बुबालाई सोध्छ । सानो छोराको यस्तो प्रश्न सुनेर दंग पर्दै उनी उत्तर दिन्छन् , ” गुफा भित्र अँध्यारो छ । अध्यारोमा रुख बाच्न सक्दैन , त्यसैले उ प्रकाश खोज्दै बाहिर निस्किएको हो ।प्रकाशलाई हेर्दै हिड्दा बाटो आफै बन्दै जान्छ । “
छोराले तत्काल प्रतिउत्तर दिन्छ, ” म पनि यदि कुनै अध्यारोमा फसि हाले भने प्रकाशलाई हेर्दै हिड्नेछु । अनि बाटो त आफै बन्दै जान्छ । “

जीवन मङ्गल

मङ्गल आज कतै निस्किन लागेछ । उ राती लगाएको कपडा नै लगाएर निस्किन्छ ।  चिया खाने ठाउँमा एक छिन चिया खाएर बस्छ । त्यहाँ उसको साथी जीवन आउँछ । उनिहरु आफ्नो जीवनको विषयमा कुरा गर्दै हुन्छन् । मुख्यतया कुरा नकारात्मकतामा आधारीत हुन्छ । मङ्गल भने अलिअलि सकारात्मक कुरा ल्याउने विचार गर्छ तर जीवन भने रोकिन नै चाहादैन। जीवनले भए भरको दु:ख , पीडा र आफ्नो सम्पुर्ण कुण्ठा त्यहीँ निकाल्छ । मङ्गलले त्यहाँ चिया मात्र खाएन । उसले जीवनको दु:ख र कुण्ठाको स्वाद पनि आफ्नो जिब्रोमा लिएर , त्यहाँबाट हिड्छ । हिड्ने क्रममा उ जे जे देख्छ , त्यसमा नकारात्मक हुन थाल्छ । उसलाई ,  कसैले राम्रो कुरा गरेको सुन्दा पनि उसलाई नै व्यङ्ग्य गरेको जस्तो लाग्न थाल्छ । उसमा नजानीदो रिस उत्पन्न हुन थाल्छ ।  घरमा पुगेर उसले चुरोट सल्काएर घाम तापी रहेको बेला , उसको श्रीमतीले खाना खान बोलाउदा , उसले आफ्नो श्रीमतीलाई सम्पुर्ण रिस निकाल्छ र उ त्यहि घाम तापेर बस्छ । एक छिन पछि उसको छोरी बाबा मलाई होमओर्क सिकाइदिनु न भन्दै आँउदा । उसले त्यहाँ चाहिँ आफ्नो रिसलाई पोखिन दिदैन र भन्छ के छ नानी होमओक ! छोरीले भन्छे जीवन भनेको के हो बाबा ? मङ्गलले उसको साथीलाई सम्झिन्छ । उसले जीवन दुःख हो । यहाँ दुःख नै दुःख छ भन्नै लागि रहेको हुन्छ । उ एकछिन रोक्किन्छ । उसले आफ्नो जिब्रोमा उहीँ जीवनले दिएको स्वाद सम्झिन्छ । अहो…यो त उसले दिएको स्वाद पो हो त । यो जीवन कसरी भयो । यहाँ खुसी हुने लाखौं कारणहरु छन् , मुस्कान ल्याउने लाखौं उपाय छन् , म पनि सन्तुष्ट नै छु , अहिले त सबै ठिक नै छ भने म किन जीवन दुःख हो भन्दै छु । यस्ता कुरामा उसले मनन गर्छ र उसले तत्काल गएर आफ्नो श्रीमतीसँग माफी माग्छ र उसको छोरीलाई पनि होमवर्क सिकाइदिन्छ । यसरी त्यस दिन उसले सकारात्मकतालाई आफ्नो स्वाद बनाउछ ।

पच

म पहिलो पटक हनुमान चालिसा सुन्दा भएको अनुभव सम्झन्छु । म त्यो समय सायद दस एघार बर्षको हाराहारीमा थिए । म सम्झन्छु मलाई एक जना साथीले आफुलाई कण्ठ भए जति सुनाएको थियो । शब्दहरु अस्पस्ट र क्रम नमिलेको भए पनि त्यो सुन्दा मेरो शरिर भरी झङ्कारको प्रवाह भयो । त्यो मेरो सायद याद भए अनुसार पहिलो झन्कार थियो । लय र शब्द पनि सरल भएको हुनाले अलि-अलि त एक चोटि सुन्दै कण्ठ भएछ । धेरै नबुझे पनि हनुमानको कथा हो भन्ने त मैले थाहा पाए । त्यो भन्दा अगाडि मैले रामायण टेलिभिजनमा हेरि सकेको थिए । त्यसैले मैले त्यो केहि केही त बुझे । यद्यपि  हनुमान चालिसा मैले त्यो भन्दा  अगाडि कहिल्यै सुनेको थिईन । मलाई हनुमान चालिसा यति मन पर्यो कि मैले उसलाई त्यो किताब मागे सार्छु र फिर्ता गरीदिन्छु भन्ने मनसायले तर अल्छीपनाले त्यो सार्न भने सारिन बरु किताब नै पच हानिदिए । कण्ठ पनि आधाउधी गरे । त्यस पछि त्यो लामो समय थन्किएर बस्यो । त्यो किताब म सँग केही बर्ष अगाडि सम्म पनि थियो । सायद यो नै हो मैले सुरुमा कसैको केही पच हानेको कुरा , त्यो किताबबाट त कण्ठ गरिएन तर अहिले भने सुन्दा सुन्दै लगभग सबै कण्ठ भएछ । अहिले त्यो सम्झिएर रमाईलो लाग्यो ।

मान्छे समुन्द्र बोकेर हिड्दैछ

अस्तित्व नै समुन्द्र हो , जसलाई हामी बोकेर हिडिरहेका छौ । धेरै दार्शनिकहरुले भनेका छन् ,” यो संसार देखिने भन्दा नदेखिने कुराले बढी  चलि रहेको छ ।” हामी पनि देखिने भन्दा नदेखिने कुरा नै बढि बोकेर हिडिरहेका हुन्छौं भन्ने अनुमान गर्न सक्छौ । उदाहरणको लागि विचार भन्न सकिन्छ । यो बाहेकका अरु पनि थुप्रै कुरा होलान, जसलाई हामी बोकेर हिड्दैछौ र त्यो देखिदैन । त्यसको बाह्रेमा मलाई ज्ञात छैन । विचार पनि देखेकै हो भन्ने कुरामा पनि शंका उत्पन्न हुनु स्वभाविक नै हो । आँखा बन्द हुदा पनि विचार आएको थाहा हुन्छ । त्यो केले थाहा पायो । यस बिषयमा अध्यात्म जगतमा पनि धेरै चर्चा चल्दै आएको हामी देख्न सक्छौ । “आफ्नो अस्तित्वको बार्हेमा जान्नु नै हाम्रो मुल धर्म हो ” भन्ने पनि हामी सुन्दै आएका छौ । म पनि यहि बुझ्ने प्रयास गर्दै छु । आजभोलि देखिने भन्दा पनि नदेखिन म आफैलाई बुझ्ने प्रयास गर्दैछु ।

यात्रा

एकदिन गुरु र शिष्य तिर्थ यात्रमा निस्किएका थिए । हिन्दै जाने क्रममा , उनिहरुले एउटा ढुङ्गै ढुङ्गाले बनेको पहाड पार गर्नु पर्ने थियो । पहाड साच्चै ठूलो र भिरालो थियो साथै साघुरो बाटो भएको । जति माथि गयो, त्यति नै खतरा बढ्दै जान्थ्यो । एउटा सानो भुल र ज्यानै जाने खतरा थियो । जति जति उनिहरु माथि जाँदै थिए । त्यति नै शिष्यको खुट्टा डरले गर्दा अगाडि नै बढेन । उसले आफू भन्दा अगाडि हिडिरहनु भएको आफ्नो गुरुलाई हेर्दा , उहाँमा उसले एक धर्को पनि डर देख्दैन । त्यसैले उसले गुरुलाई सोध्छ , ” तपाईलाई डर लागेको छैन । ” अनि गुरुले उत्तर दिनु हुन्छ ,” जे छुटि सक्यो, त्यसलाई हेर्ने हैन । जे अगाडि छ, त्यसलाई हेर । पछाडि मात्र छ डर लाग्दो भिर, अगाडि हेर त यहाँ बाटो मात्र छ ।”
यसरी गुरुको कुरा सुने पछि शिष्यले पछाडि भिरलाई नहेरी अगाडि बाटो मात्र हेर्दै अघि बढ्यो । यसर हिन्दा उसको डर पनि हराउदै गयो र केही दिनको यात्रा पछि उनिहरुको तिर्थयात्रा पनि सम्पन्न भयो ।

तिमी

तिमी इश्वरको दृष्टि हौ

सुन्दर त्यो सृष्टि हौ

तिमी राग हौ

गितहरुको माग हौ

रंगको प्रवाह हौ

तिमी चिसोमा त्यो आगो हौ

त्यो आगोको प्रकाश हौ

तिमी छरीएको तारा जस्तै

देखिए पनि एक हौ

कविता बन्यो होला !

कविता कसरी बन्यो होला?- विचार

खेल्न थाल्यो….

जब पृथ्वी बन्यो

तारा, नक्षत्र बन्यो

आकाश लगायत पाँच तत्व पनि….

त्यसै दिन असंख्य विम्बहरु पनि बने

ती विम्बले समाउन खोवेको एक मात्र -श्रोत

त्यहि एकलाई कसैले औल्याउने प्रयास गर्दा

कविता बन्यो होला……