एक दिन मलाई बच्चाहरुले कथा सुनाउनु न भन्दै आग्रह गरे । मैले पहिला पनि धेरै कथाहरु सुनाई सकेको थिए । यस पटक भने मैले नसुनाएको कथा सम्झन मुस्किल भयो । मैले तत्काल एउटा काल्पनिक कथा फुराउदै कथा भन्न सुरु गरे ।
एक दिन आकाशबाट एउटा अण्डा खस्यो । त्यो अण्डा केही बच्चाहरुले देखे । त्यहाँ गएर हेर्दा त्यो अण्डाबाट एउटा एलीयन निस्कियो । जो पृथ्वीको बच्चाहरु जस्तै देखिन्थ्यो । ती बच्चाहरु हल्का डराए । किनकि उनिहरुले अहिले सम्म त्यस्तो दृष्य कहिल्यै देखेका थिएनन् । साना बच्चाहरु खासै नडराउने स्वभाव भएको हुनाले र आफ्नै उमेरको बच्चा जस्तै देखेपछि उनिहरु त्यो एलीयनसँग कुरा गर्न थाले । त्यो एलीयन पनि राम्रो रहेछ र पृथ्वीको बारेमा पनि राम्रो अध्ययन गरेर आएको रहेछ । कसरी बोल्छन् , के के खान्छन् , कस्तो हुन्छन् सबै थाहा रहेछ । धेरै बेरको कुराकानी पछि , त्यो एलीयनले ती बच्चाहरुलाई आज राति मेरो घरमा घुम्न जाने हो भनेर भन्छ । एउटा बच्चाले राति हामीलाई निस्किन दिनु हुदैन भनेर भन्छ । एलीयनले म यहि अण्डामा उडेर आउछु अनि तिमीहरु हामफाल्नु । त्यहाँ तिमीहरु पसि हाल्छौ भनेर भन्छ । उनिहरुलाई कसरी हाम फाल्ने भनेर पनि एक एक गरेर सिकाउछ । सबैजना एक छिन त्यो अण्डा भित्र पसे । बच्चाहरु त चकित नै परे । त्यहाँ भित्र त ठूलो ठाउँ रहेछ । साथै त्यहाँ त्यो अण्डा चलाउन धेरै बटनहरु रहेछन् । उनिहरु त्यहाँबाट निस्किए पछि , कोही आएको थाहा पाएर एलीयन अण्डा भित्र पसेर त्यहाँबाट बेपत्ता हुन्छ । बच्चाहरुलाई भने यो सपना हो कि विपना छुट्याउन गार्हो हुन्छ । त्यहाँ एकजनाले यहाँ के खसेछ भनेर सोध्छन् । उनिहरुलाई एलीयनले मेरो बारेमा नभन्नु भनेको हुदाँ उनीहरूले ” खै हामीलाई त थाहा छैन भन्छन्” । रात पर्छ र सबैजना एलीयनको पर्खाइमा आ-आफ्नो घरको झ्यालमा बसीरहेका हुन्छन् । एलीयन आउँछ र सबैलाई लान्छ । एलीयनले आफ्नो ग्रहमा लान्छ । त्यहाँ ती बच्चाहरुलाई धेरै जादुहरु सिकाउछ । आफ्नो सबै गाउँ घुमाउछ र फेरि पुनः घरमा फिर्ता ल्याई दिन्छ । उनिहरु त्यहाँ एक हप्ता बस्छन् तर धर्तीमा भने त्यो रात पनि कटेको हुदैन रहेछ । सबैलाई बिदा मागेर एलीयन आफ्नो घरमा जान्छ । उनिहरु भने भोलि पल्ट स्कुलमा जान्छन् । सबै साथीहरुलाई सुनाउछन् तर कसैले उनिहरुको कुरा पत्याउदैनन् । उनीहरूले सिकेको केही जादु देखाई दिन्छन् र यो कसरी यिनीहरूलाई आयो भनेर सबै बच्चाहरु अचम्ममा पर्छन् ।
ती बच्चाहरु बिस्तारै ठुला हुन्छन् । उनिहरुलाई त्यो एलीयन हामीले साच्चै भेटेका नै हौ भनेर पनि अन्योल हुन थालेको थियो । एकदिन त्यतिकैमा त्यो अण्डा फेरि आउँछ र सबै बच्चाहरुसँग फेरि भेट्छ ।
यसरी मैले एउटा कथा बच्चाहरुलाई सुनाए । उनीहरूलाई त्यो कथा सारै मन परेछ । उनिहरुको आँखामा सुन्दै गर्दा छुट्टै चमक देखिन्थ्यो । कथा सुनाउने क्रममा उनिहरु दुई भित्ता माथि उफ्रौला जस्तो गर्दै थिए । सायद अनिहरु आफै ती एलीयनसँग घुम्न गएको कल्पना गर्दै थिए होला। खासै त केही थिएन जस्तो लाग्छ त्यो कथामा तर पछि सम्म पनि मलाई अस्तिनको कथा सुनाउनु न त्यो पछि के भयो भनेर भन्ने गर्थे ।
