चेतनाको गहन अन्धकार कुनामा एउटा कर्कश र अनवरत कोलाहल गुञ्जिरहन्थ्यो, जुन अरू केही नभएर मेरो आफ्नै अहम्को विकृत चित्कार थियो। म ब्रह्माण्डको केन्द्रमा आफूलाई उभ्याएर हरेक अस्तित्वलाई शङ्का र ईर्ष्याको तराजुमा जोख्ने गर्थें। अतीतका भग्नावशेषहरू कोट्याएर वर्तमानको सुन्दर क्षणमा विष घोल्नु मेरो नियति बनिसकेको थियो, नकारात्मकताको त्यो तीव्र दलदलमा म यसरी भासिएको थिएँ कि प्रत्येक श्वास केवल तनाव र मानसिक पीडाको संवाहक बनेको थियो। मस्तिष्कभित्र चलिरहने त्यो निरर्थक र अन्तहीन गनगनले मेरो आत्मिक ओज र भित्री ऊर्जालाई पूर्ण रूपमा सोसेर मलाई एउटा सुक्खा, मरूभूमितुल्य खोक्रो मानवमा परिणत गरिदिएको थियो। आफ्नै विचारको कारागारभित्र म आफैं कैदी र आफैं जल्लाद बनेर पल-पल मरिरहेको थिएँ, जहाँ शान्तिको एउटा सानो झिल्कोसमेत अहंकारको आँधीले निभाइदिन्थ्यो।
युगले नै छलाङ हान्दै हिँडिरहेको बेला परेर हो कि क्या हो, कार्मिक फलहरुको ब्यवस्थापन गर्ने सन्दर्भमा समयले हुर्याउँदै कसोकसो पराकाष्ठाको त्यो चरम बिन्दुमा पुर्याएछ जहाँ मेरो अशान्त पाइलाहरू प्रकृतिको काखमा अवस्थित ‘चपौली’ तर्फ सोझिए, जुन ठाउँ ईश्वरले मानौँ कुनै फुर्सदिलो क्षणमा आफ्नो सम्पूर्ण दिव्य सिर्जना खन्याएर बनाएको एउटा अद्वितीय र सुन्दर भण्डार जस्तो प्रतीत हुन्थ्यो। त्यस ठाउँको त्यो मन्त्रमुग्ध पार्ने अलौकिक शान्ति, हरियाली र आध्यात्मिक सुवासको सामीप्यमा रहेकाे उसको सामिप्यले मेरो भित्री चेतनामा एउटा अनौठो र गहिरो शून्यताको उदय गराइदियो, जसले मलाई आफ्नै मानसिक कोलाहलको टाढाको साक्षी बनाइदियो। पहिलो पटक मैले बुझें जुन युद्ध म बाहिरी संसारसँग लडिरहेको थिएँ, त्यो वास्तवमा मेरो आफ्नै भ्रम र अहम्को आत्मघाती खेल मात्र थियो। चपौलीको हावामा बहेको त्यो कञ्चन पवित्रता र उसको मौन उपदेशसँगै मैले परिस्थितिलाई जबर्जस्ती आफ्नो अनुकूल बनाउने निरर्थक प्रयास र हठलाई बिस्तारै त्याग्न थालें।
अहिले अहंकारको त्यो कठोर चट्टान पूर्ण रूपमा पग्लिसकेको त छैन तर त्यहाँको त्यो दिव्य ऊर्जाको प्रभावले गर्दा मेरा धाँजाहरूबाट आत्म-संयम र सकारात्मकताको एउटा मधुर पहिलो किरण भने अवश्य फुट्न थालेको छ। आक्रोश र संशयका पुराना शृङ्खलाहरू तोडिँदै जाँदा र मस्तिष्कको त्यो व्यर्थ गनगन धिमा हुँदै जाँदा, मभित्र एउटा अपूर्व, शान्त र संयमित ऊर्जाको पुनर्जन्म हुन थालेको महसुस हुँदैछ। यो मेरो पूर्ण रूपान्तरण त होइन, तर आन्तरिक मरुभूमिबाट अशान्तिको विसर्जन गर्दै एउटा नविन, सकारात्मक र जागृत जीवनतर्फ चालिएको पहिलो रहस्यमयी र दृढ कदम भने पक्कै हो। बैशाखे आँपका दानालाई असारे भाकामा गीत गाउन कमिलाले पोकै बनाएर घरबार बसाएजस्तै छेउमै पारेर स्मरणका टोड्कामा मलाई पनि प्रकृतिमै घर बनाउँ बनाउँ लाग्न थालेको छ, आँफु सँग गनगन गर्न छाडेर प्रकृति सँगै भलाकुसारी गरुँ गरुँ लाग्न थालेको छ।
गोमाले बाचन गरेको कविताको राग र विनिताको धिमेबाजाको तालमा मलाई पनि नाचुँ नाचुँ लाग्न थालेको छ।
विष्णुको गुरुसेवा र प्रदिपको अठोटमा मलाई पनि डुबुँ डुबुँ लाग्न थालेको छ…..


