एक दिनको कुरा हो । स्कुलमा परीक्षा चलिरहेको थियो । म त्यो बेला कक्षा एकमा पढ्थे । परिक्ष छिटै सक्किएको हुनाले हामी खेल्न थाल्यौ । लगभग एक घण्टा पछि भने एक जना साथीले म पनि तिमी बस्ने ठाउँ तिरै बस्छु । म कत्ति पटक हिन्दै पनि गएको छु भनेर भन्यो । मलाई पनि जान मन लाग्यो । अझ उसको यात्राको वर्णन सुनेर मलाई झनै रोमाञ्चित बनाएको थियो । हामीले निर्णय गर्यौ जाने भन्ने । म जानू पर्ने बसमा थियो तर सबैजनाको परिक्षा नसकि गाडी जाने कुरै भएन । मलाई भने सबै जना गएको देखेर जान मन लाग्यो । हामी जान थाल्यौ । जाँदा हामीले महाङ्कालको पार्कमा चिप्लेटि पनि खेल्यौ । बौद्ध निस्किने बाटो छ भन्दै साथीले गल्ली तिर लादै थियो तर उ नै रनभुल्ल भइरहेको रहेछ । मलाई भने डर लाग्दै थियो । कतै हराइने त हैन । अनि हामीले बाटो सोध्यौ र जसो तसो बौद्धबाट भने निस्किएर मुल सडकमा पुग्यौ । हामी बाटोको किनारै किनार हिन्दै थियौ । साथीले नजिकैको साईकलमा बेच्न राखेको दुई कोसा केरा र केही अंगुरका दाना खुसुक्क ब्यागमा हालेर ल्याएछ । हामीले त्यो खायौ । बसबाट त त्यो सधै देखिरहेकै ठाउँ थियो तर हिन्दै जाँदा भने मलाई सारै रामाईलो र नयाँ लाग्दै थियो । हामी जोरपाटी तिर पुग्दा भने स्कुलको बस आईरहेको देख्यौं । मेरो साथीले मलाई लुक भनेर भन्यो । हामी लुक्यौ । उसले मलाई भनेको थियो । उसले यसरी थुप्रै पटक यात्रा गरि सकेको छ रे , अनि उ अहिले सम्म फसेको छैन रे । यो कुराले मलाई थप हौसला दिएको थियो । यात्राले म एकदमै थाकेको थिए । हामी जोरपाटिबाट अल्ली माथि लागे पछि छुट्टियौ । म जसो तसो घर पुगे । घर पुग्दा त मैले संसारै जितेर आए जस्तो लाग्दै थियो तर घरमा त रुवाबासी भईरहेको रहेछ । मलाई त कसैले थाहा पाउदैनन् जस्तो लाग्दै थियो तर यो त उल्टो भएछ । म त कत्रो पौरख गरेर आए भनेर खुसी थिए । स्कुलमा त काण्ड नै भएछ । गाडी हिड्ने बेला म कतै नभेट्टिएको हुनाले , मेरो दिदीहरु रुन थाल्नु भएछ । मेरो साथीको भने कोहि त्यो स्कुलमा नपढ्ने रहेछन् । त्यसैले उ हिन्दै जाँदा पनि कसैले थाहा नपाउने रहेछन् । मेरो भने दिदीहरु त्यहीँ पढ्नु हुन्थ्यो । मैले त्यो बिचार नै गरीन । स्कुलले पुलिसलाई जानकारी गराएछ । म घर पुगे पछि स्कुलमा फोन गरीदिनु भयो । धन्न घरमा भने सम्झाउनु मात्र भयो तर भोलि स्कुल जाँदा भने पाईप खानु परेको थियो । यो कुरा सेलाए पछि , म अल्ली ठूलो भए पछि भने घरमा कोहि आँउदा यो सानै उमेरमा यत्रो हिडेर आएको थियो भनेर गफ गर्दा , मलाई खुसी लाग्थ्यो ।
