अधिकताको प्यास, परमात्माको आश

ओहो…!  त्यो ठिंग उभिएको नृशंस पहाड ! त्यो पहाडको टाकुरामा ठिङ्ग उभिएर मैले आफ्नो खल्तीको रित्तोपन मात्रै नापिनँ, बरु एउटा विकराल र आदिम अहंकारको बीजारोपण पनि गरेँ। धत्तेरिका ! अभावले मेरो पेटभन्दा पहिले मेरो दृष्टि चेतलाई नै कति छिटो विकृत बनाइदिएछ। मैले मान्छेमा ‘धडकन’ देख्न छाडेँ, केवल ‘अवसर’ को नग्न रूप मात्रै देख्न थालेँ। आफन्त ? छि: ! जसको छातीमा टेकेर म माथि उक्लिन खोज्दै थिएँ, तिनीहरूलाई मैले ‘आत्मीयता’ को जलप होइन, केवल एउटा निर्जीव आरोहणको खुड्किलो मात्रै सम्झिएँ।

अनि काठमाडौँ… ओहो ! त्यो कंक्रिटको कोलाहलभित्र म बिस्तारै एउटा संवेदनाहीन र धातुमय यन्त्रमा रूपान्तरित हुँदै गएँ। अरूको पसिनाका थोपाहरूमा मेरो साम्राज्यको जग हालियो। अरूको भूमिको चीत्कारमा मेरो वैभवको अट्टालिका ठडियो। बाहिरबाट हेर्दा त्यो वैभव कस्तो स्वर्णिम थियो, तर भित्रभित्रै त्यो कस्तो सडान्धमय र कुहिएको थियो ! धत्तेरिका ! जति-जति मैले बाहिर ‘अधिकता’ का लेयरहरू थप्दै गएँ, उति-उति मभित्रको ‘मनुष्य’ एउटा अदृश्य क्षयरोगले खिइँदै गयो। जति धेरै सञ्चय गरेँ, उति धेरै रित्तिएँ। अन्ततः हात लाग्यो एउटा विराट महाशून्य।

त्यो चिसो पुलको डिल… मुनि अन्धकारको साम्राज्य बोकेर सुसाइरहेको त्यो सेती नदी… र मेरो शारीरिक अस्तित्वको अन्तिम विसर्जनका लागि तयार भएको त्यो आत्महत्याको क्षण !

तर… ओहो ! त्यही महाविनाशको संघारमा अचानक ‘मोर्निङ्ग हिलिङ्ग सेसन’ को हिलिङ्गले मेरो अन्तर्मनको कुनाबाट एउटा अलौकिक र निशब्द कम्पन उठ्यो। आहा…! त्यो कम्पनले मेरो चेतनालाई एउटा अनौठो ऐना देखाइदियो। मैले बल्ल बुझेँ म त वस्तुको होइन, अनन्तको भोको रहेछु। म पदार्थमा होइन, परमात्मामै तृषित रहेछु। धत्तेरिका ! म त एउटा यस्तो कस्तुरी मृग पो रहेछु जसले आफ्नै नाभीभित्र ब्रह्माण्डीय सुगन्ध लुकाएर, मरुभूमिको तप्त बालुवामा ‘मृगतृष्णा’ को पछि कुद्दै आफ्नो खुट्टा र रगत लत्पत्याएको थियो। हो, ठीक त्यही क्षण… मेरो त्यो असीमित ‘अधिकताको प्यास’ बिस्तारै गलेर, पग्लिएर एउटा परम ‘परमात्माको आश’ मा रूपान्तरित भयो।

हिजोसम्म जुन ऊर्जा ‘लोभ’ बनेर बाहिर भौतारिएको थियो, आज त्यही ऊर्जा ‘मौन’ बनेर भित्र छिर्न बल्लतल्ल शुरु भएको छ। अहो ! यो कस्तो दिव्य रूपान्तरण ! 🤔

Unknown's avatar

Author: मानव अभ्यास

🙏❣️🌹🎶✍️

Leave a comment