कोठाको साँझ, भान्सामा चिया उम्लिँदै छ, घरि-घरि होस छ, घरि-घरि बेहोस। बैठकमा टिभीको स्क्रिन कालो छ अहिले तर मन भित्र भोलिको विश्वकपको रौनक छाइसकेको छ, हरियो मैदान, प्रशस्त प्रकाश, हजारौं दर्शकको कोलाहल। भर्खरै चिया त बनाएँ अलि ढिलै सम्म उम्लिएछ, सुरुप्प आवाज थाहै पाइन, मन त त्यहाँ छैन। मन त कल्पनाको संसारमा हराइसकेको छ, भोलिको खेलको पूर्वाभ्यास, खेलाडीसँगै मेरो मनोवृत्तिको पनि। “अर्जेन्टिनाले जितोस्,” म भन्छु आफैंलाई, “मेस्सीले ह्याट्रिक गरोस्।” अनि फेरि सोच्छु, “तर फ्रान्स पनि त बलियो छ, एम्बाप्पेले गोल नगरे हुन्थ्यो नि।” यी द्वन्द्वहरू पक्ष र विपक्ष, जीत र हार, अधिक र न्यून, मेरो मानसपटलमा रङ्गीन नाटक बनिरहेका छन्। म आफैंलाई प्रश्न गर्छु: “यो किन हुँदैछ? म किन कुनै एक पक्षको पक्षधर बनिरहेको छु? के यो मेरो अहंकारको अभिव्यक्ति हो?”
रात बित्छ, कल्पनाका पर्दाहरू झर्छन्। भोलिपल्ट, मध्येरात, अलार्म बज्यो छोराको घडीमा अनि मेरो मोबाइलमा पनि। “बाबा! उठिस्यो, गेम हेर्न जाउँ” छोरो को शरिर मनसँगै एकै झट्कामा उठ्यो, मलाई कर पर्यो, आँखा टट्टाइराछन् तर मभित्र पनि त संग्राम छ। बाहिर झरि मडारिएको छ, टिभि स्क्रिन कालोबाटो रंगिन बन्न थाल्यो, खेल सुरु भएको छ। सिटी बज्छ। स्क्रिनमा २२ जना खेलाडी घामका किरणझैं चम्किलो जर्सीमा दौडिरहेका छन्। बायाँ, दायाँ, अगाडि, पछाडि। मेरो आँखा तिनीहरूलाई पछ्याउँछन्, तर मेरो ध्यान दुईतिर बाँडिएको छ, एउटा बाहिरको खेलमा, अर्को भित्रको संसारमा। गोल! पहिलो गोल। मेरो मनमा उत्साहको लहर तर त्यो पलमा म आफैंलाई हेर्छु। मेरो मुटुको धड्कन, मेरो अनुहारको मुस्कान, मेरो हातको ताली। “यो त मेरो अहंकार हो,” म सोच्छु, “जसले जीतलाई आत्मसात गर्न खोजिरहेको छ।” विपक्षीले गोल फर्कायो। मेरो अनुहारमा निराशा छाउँछ। म त्यस निराशालाई पनि हेर्छु कसरी यसले मेरो चेतनालाई ढाकिरहेको छ, कसरी यसले मलाई ‘हार’ सँग परिचित गराइरहेको छ। मैले महसुस गर्छु यी उतारचढावहरू, यी भावनाका लहरहरू, यी सबै मेरो मनको निर्माण मात्र हुन्।
खेल अघि बढ्छ। म आफ्नो ध्यान दोब्बर बनाउँछु, डिभाइडेड एटेन्सन्, डबल एरोड, बाहिरको गतिशीलता र भित्रको साक्षीत्व। जब मेस्सीले बल नियन्त्रण गर्छन्, म आफ्नो उत्साह हेर्छु, जब एम्बाप्पेले ड्रिबल गर्छन्, म आफ्नो चिन्ता हेर्छु। म ती सबै भावनाहरूलाई साक्षी बन्छु न त तिनीमा डुब्छु, न तिनीबाट भाग्छु।चौथौं गोल। पाँचौं। खेलको उत्कर्ष। तर मेरो साधना भनेको खेल होइन, खेल त माध्यम मात्र हो रहेछ, बल्ल पत्तो पाउँदैछु। मेरो साधना त यो हो: कसरी मेरो ‘पक्ष’ र ‘विपक्ष’ को धारणा, मेरो ‘जीत’ र ‘हार’ को आकांक्षा, मेरो अहंकारको यो सम्पूर्ण नाटक , यी सबै मेरो साक्षीत्वको आगोमा जल्दैछन्। खेलको अन्त्य। नतिजा जे भए पनि, म आज त्यति प्रभावित छैन। किनभने मैले एउटा ठूलो खेल जितिसकेको छु, आफ्नै मनको खेल। जब म समभावमा पुग्छु, जब ‘पक्ष’ र ‘विपक्ष’ बीचको भेद मेटिन्छ, तब मैले साधना गरेको महसुस गर्छु। टिभी बन्द गर्छु। मनभित्र चित्त बनाउँछु अब फाइनल खेल नहेरुँ कि, किन हेर्नु, के का लागि, कसको पक्षमा…? कोठाको अँध्यारो फेरि मौन हुन्छ। बाहिर झिसमिसे शुरु हुन्छ तर अब ढुक्कले ढिलो सम्म सुत्ने सोच बनेको छ ….।


