सृष्टिको आदि बिन्दुदेखि प्रलयको महाशून्यसम्म एउटै महासत्य प्रतिध्वनित भइरहन्छ कि मननको त्यो पराकाष्ठा, जसले मानवीय अस्तित्वलाई संकुचित सीमाबाट मुक्त गराई विराटतातर्फ उन्मुख गराउँछ, “मननात त्रायत इति मन्त्रः”। यो रहस्यमयी गुफामा गुनगुनाइने अक्षरहरूको संकलन मात्र नभएर संकल्पको त्यो प्रचण्ड ज्वाला थियो, जसले बुद्धलाई बोधित्वको शिखरमा पुर्यायो, रामकृष्ण परमहंसलाई महाभावको समाधिमा विलीन गरायो, रमण महर्षिलाई आत्मसाक्षात्कारको मौनतामा डुबायो र ओशोको कण्ठबाट उत्सवको महासंगीत बनेर बग्यो तर यो आध्यात्मिक आकाशका नक्षत्रहरूको मात्र पेवा थिएन, किनकि जब संकल्प अभेद्य बन्दछ, तब विज्ञान, कला र रणभूमि पनि साधनास्थलमा परिणत हुन्छन्।
न्युटनले जब अन्धकार कोठामा प्रकाशको रहस्य केलाइरहेका थिए वा अल्बर्ट आइन्स्टाइनले समय र अन्तरिक्षको सापेक्षता कोर्दा, उनीहरूको मस्तिष्कको भित्री तहमा प्रकृतिको नियम बुझ्ने अनन्त भोक गणितीय समीकरणहरू सँगै मन्त्रका ऋचाहरू जस्तै एकाकार भइरहेको थियो। रंगशालाको खचाखच भीड र रगतको गन्ध आउने चक्रव्यूहभित्र पनि त्यही मानसिक मन्त्र क्रियाशील थियो, जहाँ ब्रुस लीको शरीरका चालमा ‘शून्य र गति’ को कम्पन हुन्थ्यो भने माइक टाइसनको मुड्कीमा लुकेको शक्ति विपक्षीको आँखामा आँखा जुधाएर विजयलाई कैद गर्ने एउटा अविचलित र बलियो संकल्पको मन्त्र थियो। उनीहरू सबै आ-आफ्नो क्षेत्रका साधक थिए, जसको मनमा संकल्पको मन्त्र अहोरात्र बजिरहन्थ्यो। यसैबीच युग सन्धिले छलाङ्ग हान्न खोज्दै गर्दा जब अनुपमले ‘फोर्थ वे’ लाई फैलाएर भौतिक विज्ञानको अविष्कार समेत अध्यात्ममा जोड्दै तान्त्रिक श्रद्धा तिर पनि कोेरलेर तन्काईदिए अनि श्री विद्याको मन्त्र हरेक चक्रमा कम्पन गर्दै तरंगित हुन थाल्यो।
विराट ब्रह्माण्डको यात्रामा निस्किएको ‘भोएजर वान’ ले फर्किएर मतिर हेर्दा कस्तो छुद्र नगन्य कणका रूपमा देख्दै होला तर म आँफुलाई भने जीवनका अनगिन्ती, जटिल र निस्सार लाग्ने कर्महरूको जञ्जालमा फसिरहेको भयानक प्राणी सम्झिँदा आफ्नो जीवनलाई अज्ञात गर्त तिर हुत्याइहालुँ लाग्दै थियो तर कसैको अचानकको आगमनले मभित्र पनि एउटा अचम्मको रूपान्तरण सुरु हुन्छ। म आफ्ना दैनिक कर्महरूलाई केवल जीविकोपार्जनको माध्यम नठानी प्रत्येक कार्यप्रति सासलाई मन्त्र सँग जोडेर एउटा श्रद्धा बनाउन थालेँ जसले गर्दा मेरो कर्म नै मेरो मन्त्र बन्न पुग्दछ। जब कर्मको थकाई र संसारको कोलाहलले मेरो आत्मालाई थिच्न खोज्छ, तब मेरो अन्तस्करणमा समस्त मन्त्रहरूको जननी, एकाक्षर ब्रह्म र सृष्टिको मूल स्पन्दन “ॐ” गुञ्जायमान हुन थाल्छ, जसको प्रणव स्वरूपले शून्य र अनन्तलाई एकैसाथ जोडिदिन्छ। यही आदिध्वनिमा एकाकार हुँदै मेरो चेतनाको गहिराईबाट ब्रह्माण्डीय ऊर्जाकी महास्रोत, आदिशक्ति दुर्गाप्रतिको अनन्य आत्मसमर्पणको करुण ध्वनि “ॐ” सँगै जोडिएर प्रस्फुटित हुन्छ। कर्मप्रति ‘संकल्प’ जरुरी र महाशक्तिप्रतिको ‘श्रद्धा’ जरुरी जब एकै ठाउँमा मिसिन्छन्, तब मेरो जीवनको कुरुक्षेत्रमा बुद्धको शान्ति, न्युटनको खोजी, ब्रुस लीको एकाग्रता र माँ दुर्गाको अमोघ शक्ति समेटिँदै, कैलास मानसरोवरको पत्थर खल्तीमा बोकी बाल्यकालमा बाँसका लौरालाई खुसिको सम्पत्ति मानेको सम्झनामा नागबेली लौरोले चपौलीका कान्ला कुन्ली टेक्दै थचक्क पँलेटी कस्न पुग्छु अनि मन्त्र अन्त कतै नभएर समर्पणको उच्चतम् प्रतिध्वनि मै हो झैँ बोध हुन बल्ल थाल्छ।


