मानसको जीवन लामो समय अन्धकारमय थियो, तर्कका प्रश्न प्रचुर तर उत्तर दिने हृदय शून्य। ज्ञानको घमण्ड थियो, शान्ति थिएन तर जब गुरुप्रतिको निष्कलुष श्रद्धाको पहिलो किरण उनको अन्तरमा पस्यो, अहङ्कारको हिउँ पग्लन थाल्यो। त्यो पग्लाइमा कोलाहल थिएन, केवल एउटा रहस्यमयी मुस्कान थियो, “अब फर्कने बेला भयो।”
श्रद्धाले हृदयका ढोका बलले होइन, प्रेमले ढकढक्यायो। हृदय खुल्दा गुरुका वचन शब्द नभई दिव्य ज्योति बने र तिनले मानसका पीडाहरू पखाल्न थाले। ऊ नयाँ सिकिरहेको थिएन, बरु जन्मौँदेखि बिर्सिएको आफ्नै सत्य सम्झिरहेको थियो।
ज्ञान जति फैलियो, ‘म’ को छाया त्यति हरायो। फलेको वृक्ष झुकेजस्तै ऊ विनयले भरियो त्यो नम्रता बिना प्रदर्शन, आफ्नो अज्ञान र संसारप्रति गहिरो करुणाले युक्त थियो।
अन्ततः विनयले उनलाई रित्तो, निर्मल पात्र बनायो। ‘म’ हराएको ठाउँमा सत्य अवतरित भयो शास्त्रका रहस्य, जीवनका अर्थ, चेतनाका स्पन्दन सहजै त्यस पात्रमा ओर्लिए। ऊ मुस्कुरायो त्यो आत्माको मुस्कान जसमा ड्रागनफ्रुटको बिहानी रंगमा घामका कान्तिले रातभरिका शितालु रुझानलाई करुणा, रहस्य र समर्पणको आनन्दले न्यानो पार्दै गरे जसरी …. अनि स्वास-प्रस्वासमै भाव मिलाएर मानसिक मन्त्र जप मै डुबिरहे जसरी।


