मानिसको जीवनमा गुरुको आगमन केवल ज्ञान प्राप्त गर्नका लागि मात्र हुँदैन। गुरुको वास्तविक अर्थ आफूभित्र लुकेको चेतना, सत्य र सम्भावनालाई चिन्ने बाटो देखाउने मार्गदर्शक हो। आध्यात्मिक यात्रामा गुरु भेटिनु एउटा सुरुवात हो, तर गुरुले देखाएको बाटोमा निरन्तर हिँड्नु नै वास्तविक साधना हो। यस यात्रामा हरेक व्यक्ति एउटै अवस्थामा हुँदैन। कसैले जिज्ञासाबाट यात्रा सुरु गर्छ, कसैले अभ्यासमा प्रवेश गर्छ, कसैले अनुभवबाट समर्पण सिक्छ र कोही प्रेम र भक्तिको गहिराइमा पुग्छ।
आध्यात्मिक यात्राको पहिलो चरण विद्यार्थीको हो। विद्यार्थी प्रायः जिज्ञासाले गुरु वा सत्सङ्गको नजिक आउँछ। उसलाई जान्न मन लाग्छ यहाँ के भइरहेको छ, ध्यान के हो, आत्मा के हो, जीवनको सत्य के हो? कहिलेकाहीँ ऊ साथी वा परिवारको साथमा पनि आउन सक्छ। उसमा अझै गहिरो साधनाको प्यास नहुन सक्छ। उसले धेरै कुरा सुन्छ, सम्झन्छ र ज्ञान सङ्कलन गर्छ। यसबाट उसको बौद्धिक संसार विस्तार हुन्छ, तर केवल सुन्नु र जानकारी जम्मा गर्नुले जीवन रूपान्तरण हुँदैन। ज्ञानले बाटो देखाउन सक्छ, तर बाटोमा हिँड्न भने आफैँले पर्छ।
जब जिज्ञासा केवल सुन्ने अवस्थामा नरही गरेर हेर्ने चाहना बन्छ, तब मानिस दोस्रो चरण अर्थात् “साधक” बन्छ। साधकलाई अब ध्यानका कुरा सुनेर मात्र सन्तुष्टि हुँदैन। ऊ आफैँ ध्यानमा बस्न चाहन्छ, श्वासलाई हेर्न चाहन्छ, आफ्ना विचार र भावनालाई बुझ्न चाहन्छ र आफ्नो जीवनमा त्यसको प्रभाव अनुभव गर्न चाहन्छ। यहीँबाट आध्यात्मिक ज्ञान व्यवहारमा प्रवेश गर्न थाल्छ।
साधना सजिलो छैन। सुन्नु सजिलो छ, तर अभ्यास गर्नु कठिन छ। किताब पढेर पौडी सिक्न सकिँदैन; पानीमा पस्नुपर्छ। त्यसैगरी ध्यानका बारेमा सयौँ कुरा जान्नु र वास्तवमा ध्यानमा बस्नु फरक कुरा हो। निरन्तर अभ्यास, धैर्य, अनुशासन र गहिरो लगन आवश्यक हुन्छ। कहिलेकाहीँ साधनामा केवल ‘धुवाँ’ जस्तो अनुभव हुन्छ, तर त्यस धुवाँभित्र आगोको सम्भावना लुकेको हुन्छ। अझ गहिरो प्रयास र निरन्तरताले मात्र त्यो आगो प्रज्वलित हुन्छ।
साधनाको बाटोमा अगाडि बढ्दै जाँदा मानिस “शिष्य”को अवस्थामा प्रवेश गर्छ। शिष्य हुनु केवल कसैलाई गुरु भनेर स्वीकार गर्नु होइन। वास्तविक शिष्यले आफ्नै अनुभवबाट गुरुका शिक्षाको अर्थ बुझ्न थाल्छ। उसले सुनेको कुरा अन्धरूपमा स्वीकार गर्दैन, बरु साधना, अनुभव र आत्मनिरीक्षणबाट त्यसलाई जाँच्दै जान्छ। जब सत्यको स्वाद आफ्नै अनुभवमा आउँछ, तब गुरु र शिष्यबीचको सम्बन्ध पनि गहिरिँदै जान्छ।
शिष्यको जीवनमा समर्पणको भाव जन्मिन्छ। पहिले ऊ अनेक प्रश्न, द्विविधा र भौँतारिने अवस्थाबाट गुज्रिरहेको हुन सक्छ। तर साधना गहिरिँदै जाँदा जीवनमा स्थिरता आउँछ। ऊ बाहिरी संसारमा उत्तर खोजिरहनुभन्दा आफ्नै चेतनाभित्र हेर्न सिक्छ। गुरुको शिक्षाले उसको जीवनमा एउटा दिशा दिन थाल्छ।
तर गहिरो साधनासँगै परीक्षा पनि आउँछन्। मानिसभित्र वर्षौँदेखि जम्मा भएका अहंकार, डर, लोभ, मोह, असुरक्षा र पुराना संस्कारहरू सजिलै हट्दैनन्। तिनलाई हेर्न र पगाल्न साहस चाहिन्छ। ढुङ्गाभित्र मूर्ति लुकेको हुन्छ, तर मूर्तिलाई बाहिर ल्याउन अनावश्यक भागहरू छैनीले हटाउनुपर्छ। त्यसैगरी साधनाले पनि हामीभित्रको वास्तविक स्वरूपलाई उजागर गर्न अनावश्यक आवरणहरू हटाउँदै जान्छ।
यस यात्राको चौथो र सबैभन्दा गहिरो चरण “भक्ति”को हो। शिष्यमा अझै एउटा सूक्ष्म ‘म’ रहन सक्छ-“मैले समर्पण गरेँ”, “मेरो साधना”, “मेरो गुरु” भन्ने भाव। तर भक्तिको अवस्थामा यो ‘म’ पनि बिस्तारै पग्लिँदै जान्छ। त्यहाँ समर्पण प्रयासजस्तो हुँदैन, प्रेम स्वाभाविक बन्छ।
भक्तिमा गुरु र शिष्यबीचको दूरी बाहिरी रूपमा रहे पनि भित्री रूपमा प्रेम र चेतनाको एकत्वको अनुभव हुन सक्छ। यहाँ गुरु कुनै व्यक्तिपूजाको विषय मात्र होइन,गुरुबाट प्राप्त सत्य, प्रेम, अनुशासन र चेतनाको प्रकाश जीवनको हिस्सा बन्न थाल्छ।
यसरी आध्यात्मिक यात्रालाई चार चरणमा बुझ्न सकिन्छ-विद्यार्थी, साधक, शिष्य र भक्त। विद्यार्थी सुन्छ, साधक प्रयोग गर्छ, शिष्य अनुभवबाट समर्पित हुन्छ र भक्त प्रेममा आफूलाई विसर्जित गर्न सिक्छ।
तर यी चार तह अरू मानिसलाई ठूलो–सानो ठहर गर्नका लागि होइनन्। सबैभन्दा महत्त्वपूर्ण कुरा आफूलाई हेर्नु हो कि म अहिले कहाँ छु? म केवल आध्यात्मिक कुरा सुन्दैछु कि अभ्यास पनि गर्दैछु? मेरो ज्ञान जीवनमा परिवर्तन भइरहेको छ कि छैन? मेरो ध्यानले मेरो व्यवहार, सम्बन्ध र दृष्टिकोणलाई अझ शान्त, करुणामय र सचेत बनाइरहेको छ कि छैन?
गुरु खोज्नु मात्र पर्याप्त छैन। गुरुको शिक्षा जीवनमा उतार्नु आवश्यक छ। ध्यानको कुरा गर्नु मात्र होइन, ध्यानलाई जीवनको गुण बनाउनु आवश्यक छ। प्रेमको कुरा गर्नु मात्र होइन, सम्बन्धमा प्रेम प्रकट गर्नुपर्छ। सत्यको चर्चा गर्नु मात्र होइन, आफ्नै कमजोरी र भ्रमलाई इमानदारीपूर्वक हेर्न सक्नुपर्छ।
गुरु–शिष्यको यात्रा बाहिरबाट सुरु भएर भित्रतिर जाने यात्रा हो। सुरुमा हामी गुरुको वचन सुन्छौँ, त्यसपछि त्यसलाई अभ्यास गर्छौँ, अनुभव गर्छौँ र त्यो शिक्षा हाम्रो आफ्नै जीवनको चेतना बन्न थाल्छ।
जिज्ञासाबाट यात्रा सुरु हुन्छ, अभ्यासले बाटो खोल्छ,अनुभवले विश्वास जगाउँछ,समर्पणले अहंकार पगाल्छ,र प्रेमले यात्रालाई पूर्ण बनाउँछ।
त्यसैले साँचो गुरुको खोजसँगै साँचो शिष्य बन्ने तयारी पनि आवश्यक छ। किनकि गुरुले बाटो देखाउन सक्नुहुन्छ, तर त्यो बाटोमा हिँड्ने पाइला आफ्नै हुनुपर्छ।
गुरु प्रकाश देखाउनुहुन्छ, साधना त्यो प्रकाशतर्फको यात्रा हो,र त्यही प्रकाशआफ्नै अन्तरात्मामा उज्यालो भएर बल्न थाल्छ। अस्तु
