विशाल ब्रह्माण्डको अनन्त शून्यता र महाव्याप्तिको गर्भभित्र एउटा अभौतिक ‘प्रेम मन्दिर’ देदीप्यमान थियो। यो मन्दिर न त इँटा, सिमेन्ट र ढुङ्गाको जड संरचना न त हाड, छाला, मासु र मपनको आकारमा थियो, थियो त बरु विशुद्ध चेतनाको ऊर्ध्वगामी पराकम्प, दिव्य अश्रुजल र अलौकिक भाव-विग्रहले निर्मित एक जीवन्त सत्ता। यसको गर्भगृहको ढोकामा उभिएका साधकहरू लौकिक जगत्का क्षुद्र बन्धन, सामाजिक प्रतिष्ठा र बौद्धिक अहंकारका जीर्ण वस्त्रहरू त्यागेर अनन्य पराभक्तिको रसरङ्गमा आत्मविसर्जन गर्न आतुर देखिन्थे। त्यहाँ समयको गति स्तब्ध थियो, भूत र भविष्यको सीमारेखा मेटिएर वर्तमानको एउटै महाभाव जीवित थियो, जहाँ इतिहासका परम प्रेमी र भक्तहरूको साधना-सुवास समूच्चो वायुमण्डलमा तैरिरहेको थियो। मन्दिरको प्रवेशद्वार नै अहंकारको चिहान थियो, जहाँ पाइला टेक्नका लागि ‘म’ र ‘मेरो’ भन्ने द्वैत चेतनाको पूर्ण आहुति दिनु अनिवार्य सर्त मानिन्थ्यो। यस दिव्य मन्दिरको भित्री चोक र भावको वीथिकामा विचरण गर्दा चराचर जगत्लाई विस्मित पार्ने विभिन्न कालखण्डका महासाधकहरूको पदचाप स्पष्ट अनुभूत हुन्थ्यो। मन्दिरको एक कुनामा मेवाडकी वैराग्यमयी राजकुमारी मीरा बाईको विरह-राग गुञ्जिरहेको थियो, जसको साधना लोक-लाजको प्राचीर भत्काउने एक अनन्य आध्यात्मिक विप्लव थियो। उनले विषको प्यालालाई समेत आफ्नो मदनमोहनको प्रसादी ठानेर अमृतमा रूपान्तरण गरिदिएकी थिइन् र उनको एकतारेबाट निस्केको प्रत्येक कम्पनले सिकाउँथ्यो कि प्रेम जब पराकाष्ठामा पुग्छ, तब संसारका समस्त लौकिक अवरोधहरू कपुर झैं बिलाएर जान्छन्। त्यहीँ नजिकै देवर्षि नारदको ‘परम प्रेम रूपा’ भक्ति-सूत्रको प्रतिध्वनि गुञ्जायमान थियो, जसको महती वीणाको तार-तारबाट निस्केको स्वरले लौकिक रागलाई वैराग्यमा र वैराग्यलाई महाभावको ब्रह्माण्डीय स्पन्दनमा रूपान्तरण गर्दै समस्त सृष्टिलाई नारायण-प्रेमको एउटै सुत्रमा आवद्ध गरिरहेको थियो।मन्दिरको मूल आधार र जगमा महाबीर हनुमानको अखण्ड दास्य-समर्पण विराजमान थियो, जहाँ सेवक र सेव्यबीचको भेद सदाका लागि मेटिएको थियो। आफ्नो छाती चिरेर सीतारामको दर्शन गराउने उनको त्यो वज्रजस्तै दृढ साधनाले प्रमाण दिन्थ्यो कि चरम आत्मसमर्पणमा भक्तको आफ्नो कुनै पृथक अस्तित्व बाँकी रहँदैन। ठीक त्यसकै परिधिमा मरुभूमिकृत प्राङ्गणको तप्त बालुवामा लैला र मजनुको प्रेमाग्नि दन्किरहेको देखिन्थ्यो, जसको प्रेम वासनाको हिलोबाट सुरु भएर अलौकिकताको त्यो शिखरमा पुगेको थियो जहाँ मजनुले लैलाको विरहमा भौंतारिँदा भौंतारिँदै अन्ततः आफैंलाई लैला महसुस गर्न थालेका थिए, जुन द्वैतबाट अद्वैततर्फको कठिन आध्यात्मिक यात्राको अनुपम प्रतीक थियो।मन्दिरको गर्भगृहको झन् नजिक पुग्दा आधुनिक कालका रसिक शिरोमणि हित प्रेमानन्द जी महाराजको दिव्य वाणीको सुवासले वातावरणलाई अझ बढी आह्लादित बनाउँथ्यो। राधा-कृष्णको निकुञ्ज-लीला र सहचरी-भावको रसोपासनामा डुबेका उनको साधनाले स्पष्ट पार्थ्यो कि प्रेम कुनै तर्क, नियम वा शास्त्रको परिधिमा बाँधिने वस्तु होइन। यो त निरन्तर अश्रुपात, नाम-सङ्कीर्तन र पलपलको व्याकुलताको त्यो अगाध महासागर हो जहाँ पुगेपछि मानव बुद्धि नतमस्तक हुन्छ र केवल विशुद्ध भाव मात्र जीवित रहन्छ। त्यही भाव-तरङ्गको समानान्तर डबलीमा सूफी सन्त जलालुद्दीन रुमी ‘शमा’ र ‘परवाना’ को अभेद दर्शनमा आधारित भएर ‘समा’ नृत्यमा फन्को मारिरहेका देखिन्थे र उनको बाँसुरीको हरेक श्वासले प्रेमी र परमात्मा दुई नभएर एकै हुन् भन्ने अद्वैत सत्यको शङ्खघोष गरिरहेको थियो।
यी सबै महातम्यहरु गुरुबाट सुन्ने गरेको उसको हृदय भने उर्द्वगामी उर्जा हुन शब्द बिहिन अवस्थाले गुरुको घुँडामूनितिर अधोगामी चरणतर्फ अश्रुसँगै झर्दैछ। त्यही चरणमै दुर्गा माताको वैष्णो देवी समेतको स्वरूप इनहेल ‘माँ’ एक्जेल ‘दुर्गे’ चलिरहन्छ अनि महाकाली, महालक्ष्मी र महासरस्वती एकिकृत रुपमा भेटिरहन्छ।



