लुकेका अहंकार

(मञ्चको पृष्ठभूमिमा मधुरो, नीलो प्रकाश छ, दर्शकदिर्घामा ‘मर्निङ्ग हिलिङ्ग सेसन’ का प्रायः सबैजसो सहयात्रीहरु उपस्थित छन्, पार्श्वमा कार्ल जंग र रुमीका किताब खप्ट्याएर उनका गहिरा दृष्टी र कोमल हृदयले मञ्चपट्टि च्याहिरहेका छन्। एउटा कुनामा ध्यानमग्न मुद्रामा मानव बसिरहेको छ। पृष्ठभूमिमा घडीको टिक-टिक आवाज र मेसिन चलेको जस्तो यन्त्रमानवको ध्वनि गुञ्जिरहेछ। बिस्तारै घडीको आवाज हराउँछ र एउटा लामो श्वासको आवाजसँगै मञ्चको मध्यभागमा पहेंलो चेतनाको प्रकाश फैलिन्छ। मानव बिस्तारै ध्यानबाट आँखा खोल्छ तर उसको अनुहारमा कुनै ‘ज्ञानी’ को चमक छैन बरु एउटा गहिरो अलमल र आत्मग्लानी देखिन्छ। ऊ खाँबो समाएर बिस्तारै उठ्छ, खस्न लागेको चश्मा समाल्छ र उत्तरार्द्ध रुपी आफ्ना कामिरहेका हातहरू हेर्दै, दर्शकदीर्घाको अगाडि आएर मधुरो स्वरमा बोल्न थाल्छ।)

मानव: (लामो सुस्केरा हाल्दै र टाउको कन्याउँदै) ओहो! म त कति ठूलो भ्रममा बाँचेको रहेछु! वर्षौंसम्म एउटा मेसिनझैँ आफूलाई सफल र सभ्य नागरिक सम्झेर हिँड्ने म त वास्तवमा अहंकारको एउटा सानो पुतली मात्र पो रहेछु! छ्या! संसारमा जान्ने र बुझ्ने कुरा त कति हो कति रहेछन्, म भने केही नबुझीकन आफ्नै घमण्डको वस्त्र पहिरिएर हिँडिरहेको रहेछु! तर आज… अचम्म! आज जब यो साधना र अभ्यासको सानो झिल्को मभित्र बल्यो, तब मलाई म कति अज्ञानी रहेछु भन्ने कुरा अलिअलि देख्न थालेको हो कि जस्तो महसुस भइरहेछ। मैले त अहिलेसम्म केही जानेकै रहेनछु! सफा ऐनामा दाग देखिएझैँ, मैले पहिलोपटक आफ्नै भित्री अँध्यारो गल्लीहरूमा लुकेका अहंकारका साना-साना रूपहरू भर्खर चिन्न थालेको छु। 

(मञ्चमा बिस्तारै यताउता टोलाउँदै, लज्जित भावमा) म कति अलमलमा परेको छु भने, जसलाई मैले सधैँ मेरो सामान्य बोली र व्यवहार मानिरहेको थिएँ, त्यहाँ त अहंकार कति सुक्ष्म रूपले लुकेर बसेको रहेछ! घरमा परिवारसँग ब्यवहार गर्दा, समाजमा बस्दा, जागिरमा हाकिम, सहकर्मी र ग्राहकसँग नम्र बन्दा अनि यहाँसम्म कि गुरुको सामीप्यमा जाँदा पनि मभित्र एउटा अदृश्य ‘म’ लुकेको लाग्दै छ। सबै कुरा कता-कता छरपष्ट देखिन थालेका छन्। अरू त के कुरा, आफूलाई गतिलो लेखक सम्झिएर लेखिएका पुराना लेखहरू आज पल्टाएर हेर्दा मलाई आफ्नै शब्दहरूसँग कता-कता डर लागिरहेछ, किनकि त्यहाँ प्रयोग गरिएका ती जटिल शब्दहरू र वाक्यहरूमा म कति जान्ने छु भनेर देखाउने अहंकार पो लुकेको थियो कि जस्तो महसुस भइरहेछ! हरे! म त कति सानो मान्छे, ज्ञानको यो महासागरमा मैले त अझै केही बुझ्न सकेकै छैन! 

(आफ्नो छातीमा हात राख्दै, भावुक हुँदै) सबैभन्दा उदेकलाग्दो कुरा त के भने, मेरो यो अहंकारले साधना र अध्यात्मको वस्त्र पहिरिएर मलाई कति अलमलाइरहेको रहेछ! ऐया! ….. म वर्तमानको यो पलमा शान्त भएर टिक्नै सक्दिनँ, बरु आँखा चिम्लेर साधनाको नाममा भविष्यका अनेकौँ कल्पनाहरूमा डुब्न थाल्छु, जसको म जस्तो सानो साधकलाई कुनै आवश्यकता नै छैन। कहिलेकाहीँ त झन् म अरूका अगाडि ‘म त केही जान्दिनँ’ भन्दै नम्रताको नाटक पो गरिरहेको हुन्थेँ, ताकि सुन्ने मान्छेले मेरो तारिफ गरोस्! हे राम! म त कतिसम्म कमजोर रहेछु! नम्रताभित्र पनि त्यत्रो अहम् लुकाएर बसेको रहेछु! बाटोमा भेटिने मानिसहरूलाई उनीहरूको समस्या वा साधनाको विषयमा कलात्मक बोलीद्वारा अर्ति-उपदेश दिँदै गुरुझैँ बन्न खोज्ने मेरो जुन बानी थियो, त्यो कुनै करुणा नभएर अरूलाई अज्ञानी देखाउँदै आफ्नो अहंकारलाई सन्तुष्ट पार्ने एउटा नराम्रो प्रयास मात्र पो थियो कि जस्तो लाग्दै छ। (भुइँमा बस्छ, आँखाहरू रसाएका छन् तर अनुहारमा कताकता एउटा समर्पणको भाव टुसाएझैं छ) ओहो! ,……. हे दुर्गे!अन्ततः आफ्नै यी सारा कमजोरीहरूलाई भर्खरभर्खर थोरै नियाल्न थालेपछि, मलाई कता-कता यो कुरा महसुस हुन थालेको छ कि सम्पूर्ण धार्मिक तथा आध्यात्मिक साधनाको सार त आफूलाई ‘ज्ञानी’ बनाउनु वा अहंकारलाई सजाउनु होइन रहेछ, बरु म त केही पनि होइन रहेछु भन्ने कुरा पत्ता लगाएर त्यसलाई शून्यमा विसर्जन गर्नु मात्र पो रहेछ… केवल विसर्जन गर्नु रहेछ। …… ओहो! यो ओकलिरहेको आवाज, शब्द,  भाव पनि कतै अहंकारकै कुनै रुप त होइन! अहंकार बिहिन त निशब्द मौनमा पो हुन्छ होइन र !

(मञ्चको प्रकाश बिस्तारै निभ्दै जान्छ। पृष्ठभूमिमा एउटा गहिरो, शान्त र सुमधुर बाँसुरीको धुन गुञ्जिन थाल्छ। नाटक समाप्त हुन्छ।)

Unknown's avatar

Author: मानव अभ्यास

🙏❣️🌹🎶✍️

Leave a comment