रत्नप्रसाद बाजेको गोजी र मेरो बाल मस्तिष्क

म सानो छँदा निकै चकचके थिएँ। बाल्यकालमा विभिन्न बाल सुलभ क्रियाकलाप गर्नु र चकचक गर्नु स्वाभाविक नै हो, जुन कुरा मलाई अहिले आएर मात्र महसुस हुन्छ। तर, मेरो त्यो चकचकेपनको एउटै अचुक औषधि हुनुहुन्थ्यो— रत्नप्रसाद बाजे।

उहाँ गोरो वर्ण र अग्लो कद भएको एक वृद्ध हुनुहुन्थ्यो। उहाँको पहिरन सधैँ उस्तै हुन्थ्यो; तल कछाड, भित्र सेतो स्यान्डो गन्जी र बाहिरपट्टि ठुलठुला धोक्रे गोजी भएको ज्वारीकोट। टाउकोमा कच्याककुचुक परेको नेपाली टोपी त उहाँको कहिल्यै छुट्दैनथ्यो।

मलाई उहाँको त्यही धोक्रे गोजीको असाध्यै डर लाग्थ्यो। जब म पढ्न अल्छी गर्थेँ वा कुनै चकचक गर्थेँ, तब मलाई ‘रत्न बाको गोजी’ को डर देखाइन्थ्यो। विशेष गरी मेरा दिदीहरूले “ल है, चकचक गरिस् भने रत्न बाले त्यो ठुलो धोक्रे गोजीमा हालेर लैजानुहुन्छ” भनेर तर्साउनुहुन्थ्यो। “रत्न बा आउनुभयो” भन्ने सुनेपछि मेरो सातो जान्थ्यो। गोजीमा हालेर कता लैजाने हुन् भन्ने बाल सुलभ त्रासले गर्दा मन नलागे पनि अह्राएको काम गर्न म बाध्य हुन्थेँ। म दस वर्षको हुँदासम्म यो डर मेरो मनको गहिराइमा जरो गाडेर बसेको थियो।

एक दिन रत्न बा बित्नुभयो। उहाँको निधनमा गाउँघर र परिवारका सबै दुःखी भए। तर, त्यो भीडमा म मात्र यस्तो थिएँ, जो भित्रभित्रै खुसी भइरहेको थियो। ‘अब त रत्न बा आउन सक्नुहुन्न, उहाँले गोजीमा हालेर लैजाने डर पनि सकियो’ भन्ने बाल मस्तिष्कको बुझाइ थियो त्यो। तर, मेरो त्यो खुसी धेरै दिन टिकेन। केही दिनपछि दिदीहरूले “अब त रत्न बाको भूत आउँछ” भनेर मेरो डरलाई झन् बढाइदिनुभयो। भूत भन्ने बित्तिकै म झन् त्रसित भएँ। समयसँगै म ठुलो हुँदै गएँ र बिस्तारै त्यो भूतको डर पनि मस्तिष्कको कुनै कुनामा बिलाउँदै गयो।

अहिले जब म ती दिनहरू सम्झिन्छु, रत्न बाको अनुहार मेरो आँखामा झलझली आउँछ। खैनी खाएर काला-पहेँला भएका दाँत देखाएर हाँस्दा ती अग्ला बूढा मानिस साँच्चै सुन्दर देखिनुहुन्थ्यो। आज लाग्छ, यदि कतै रत्न बालाई भेट्न पाएको भए मज्जाले कुरा गर्थेँ र सोध्थेँ— “बा, के तपाईँ साँच्चै बच्चा बोक्ने मान्छे हुनुहुन्थ्यो र?”

कता-कता लाग्छ, बाले पनि मेरो त्यो डरलाई अज्ञानमै भए पनि साथ दिनुभयो होला ! नत्र उहाँले पनि त्यो त्रासको पर्खाल भत्काएर, “आइज नाति, म तँलाई बोक्छु” वा “तँलाई यो किन्दिन्छु” भनेर आत्मीयता जगाउनुभएको भए, सायद मैले उति बेलै त्यो डरलाई जित्न सक्थेँ होला। तर बाल मनस्थितिमा जबरजस्ती घुसाइदिएको त्यो डरले गर्दा न उहाँले कहिल्यै खुलेर आफ्नो माया दर्साउन सक्नुभयो, न त मैले नै बाल्यकालमा उहाँलाई एउटा असल र मायालु मान्छेको रूपमा बुझ्न सकेँ।

आज फर्केर हेर्दा लाग्छ, बा आफैँमा त्यस्ता खराब वा डरलाग्दा मान्छे पक्कै हुनुहुन्नथ्यो। मेरो बाल मस्तिष्कमा उहाँको छवि एउटा ‘बच्चा गोजीमा हालेर लैजाने’ क्रूर मानिसको रूपमा जबरजस्ती कोरिएको मात्र थियो। डर, रिस, लोभ, मोह, माया र करुणा— यी सायद मानिस जन्मँदै लिएर आउने प्राकृतिक भावहरू होलान्। तर हामीले के सिक्छौँ र कुन भावले जरा गाड्छ भन्ने कुरा बाल्यकालमा आफूभन्दा अग्रजहरूले कुन भावनालाई बढी उक्साउँछन्, त्यसमै भर पर्ने रहेछ।

मलाई बेलैमा माया र करुणा सिकाइएको भए, मेरो सिक्न चाहने उत्सुकतालाई बुझेर सोहीअनुरूपको व्यवहार गरिएको भए, सायद मलाई रत्न बाको गोजीको त्यो कालो त्रासले कहिल्यै छुने थिएन होला। एउटा बच्चाले अग्रजहरूबाट जे सुन्छ, त्यही कुरालाई निरपेक्ष सत्य मान्दो रहेछ। म आफैँले पनि उति बेला आफ्नो बाल सुलभ डरकै कारण रत्न बाभित्रको मायालु मान्छेलाई चिन्न सकिनँ, जुन कुरा आज मलाई मेरो आफ्नै आत्म आलोचनाको पाटो जस्तो लाग्छ।

यो घटनाले मलाई एउटा गहिरो जीवनोपयोगी ज्ञान दिएको छ— बालबालिकालाई डर देखाएर होइन, माया र करुणाले हुर्काउनुपर्छ। अरूले राखिदिएको त्रासको जगमा हुर्किएको मनोविज्ञानले मानिसलाई जीवनभर कतै न कतै पिरोलिरहन्छ। यही सिकाइका कारण म मेरा सन्तानलाई यस्ता भ्रामक त्रासहरूबाट सधैँ टाढा राख्न चाहन्छु र उनीहरूको बाल मस्तिष्कमा करुणाको मात्र बीजारोपण गर्न चाहन्छु।

जे भयो, त्यो समय र समाजको हुर्काइको उपज थियो। तर आज, समयको यो मोडमा उभिएर हेर्दा, रत्न बाप्रति मेरो मनमा अगाध करुणा र सम्मान छ। बा, तपाईँ जहाँ हुनुहुन्छ, सधैँ खुसी र शान्त रहनुहोस् भन्ने हृदयदेखि कामना गर्छु !

~ अनिल भट्टराई

Unknown's avatar

Author: diyalomasik

Diyalo Masik is for you. Tales, voices and views of the spaces, gaps, and all those which we often skip in our everyday hustles.

Leave a comment