महाकल्पको बाँसुरी

महाशून्यको निःशब्द नाभिमा जहाँ कालचक्र आफैँ निदाएको थियो , त्यहाँ एक अदृश्य दिव्यसभा सम्पन्न भयो। परमात्माले आगामी महाकल्पको सृष्टि-सूत्राधार चयन गर्दै थिए। महाकालको डमरुले ब्रह्माण्डको अन्तिम ढुकढुकी पगाल्दै थियो। पञ्चतत्त्व लीन भइसकेका थिए। यो महाकल्पको महाविश्राम थियो। सृष्टिकर्ता र संहारकर्ता दुवै शून्यको एउटै विन्दुमा एकाकार थिए। त्यस करुण-मधुर महाभैरवी रागको बीचमा, महाशून्यको छातीमा एउटा मात्र कम्पन जीवन्त थियो, त्यो थियो आदिम र सनातन ‘दासभाव’ को अश्रु-तरङ्ग। जहाँ भक्तले आफ्नो ‘म’ कहिल्यै कल्पेको थिएन, त्यहाँ आज ‘म’ विसर्जनको सुवासले समष्टि नै सुगन्धित थियो। परमात्माको महाकरुणा एउटा नौलो निर्णयमा रूपान्तरित हुँदै थियो।

शून्यबाट महावाणी गुञ्जियो:

“हे निष्काम चेतना! तिम्रो भक्ति नै अबको महाकल्प सृष्टिको बीजाक्षर बन्नेछ।”

परमात्माले नयाँ सृष्टि, आकाश र समयको जिम्मा अञ्जनीपुत्र लाई सुम्पिदिए। जसले कहिल्यै स्वामित्वको रहर गरेन, आज उनी नै सम्पूर्ण ब्रह्माण्डका एकल संवाहक बन्नु नियतिको सबैभन्दा सुन्दर न्याय थियो। हनुमानको हृदयमा यो जिम्मेवारी अहंकार बनेर आएन। उनका दुई थोपा आँसुले महाशून्यको क्यानभासमा भावुक चित्र कोरिदियो। स्वामित्व त उनलाई गह्रौँ पो भएको थियो, उनलाई त केवल सेवाको सामीप्य मात्र प्रिय थियो। हत्केलामा नव-सृष्टिको बीज नियाल्दै त्यहाँ न ब्रह्माको अहंकार थियो, न संहारको भय। त्यहाँ त केवल परमप्रभुको स्मृति र भक्तिको एकाधिकार थियो।

—~~~~~~~~~

यता भने उसले सधैं निहुरिरहने सुन्दर हनुमान मूर्ति पूजाकोठाबाट निकाल्यो। सिँदुरको टिका लगाइसकेर, चमेलीका फूल सिउरीभ्याएर, मेरो हत्केलाभरि ढाकाटोपीमा गुट्मुट्याएर थमाइदियो।

मूर्तिभरि दलिएका सिँदुर देखेर मनमा एउटै प्रश्न उब्जियो:

‘सिँदुरको टिका लगाउँदा रामको दिर्घायु हुन्छ भन्ने जब सीताको मुखारविन्दबाट सुन्न पाए, जिउभरिनै दल्दा झन् कति दिर्घायु हुन्छ होला सोचेर हनुमानले कति दले होलान् भन्दा पनि कसरी कुन भावमा दले होलान् ? ‘

……

त्यही प्रश्नको मौन उत्तर झैँ भान हुने कतै टाढा महाकल्पको बाँसुरी बजिरह्यो … 🎶…

Unknown's avatar

Author: मानव अभ्यास

🙏❣️🌹🎶✍️

Leave a comment