जब तर्कका प्रकाण्ड महारथिहरूले पृथ्वीलाई आफ्नो अकाट्य प्रमाणको सञ्जालले ढाक्दै लगे, तब ब्रह्माण्ड एउटा गणितीय निर्ममतामा परिणत भयो। अनौठो विरोधाभास त तब जन्मियो, जब बौद्धिक मानसले प्रेम जस्तो अमूर्त संवेगलाई पनि सिद्धान्त र समीकरणका बजारिया तराजुमा जोख्न थाल्यो भने अर्कोतर्फ, ब्रह्माण्डलाई पग्लिएर अङ्गाल्नुपर्ने भावुक मानस कठोर हिसाब-किताब, अन्वेषण र द्वन्द्वका भिडन्तहरूमा होमियो। यो उल्टो ध्रुवीकरणले अस्तित्वको शाश्वत व्यवस्थालाई भयानक असन्तुलनको डिलमा पुर्याइदियो, जहाँ श्रद्धा, भक्ति र समर्पण जस्ता दिव्य भावहरू केवल रकम, चन्दन, माला, अक्षता र वस्त्र जस्ता बाह्य लवाइ-खवाइको सामाजिक तर्कमा संकुचित भएर सबै कुरा अव्यवस्थित, शुष्क र निर्जिव बन्दै गयो।
यसैक्रममा चेतनाले महाकल्पको गतिमा एकाएक निकै ठूलो फट्को मारेपछि, मरुभूमिकृत चेतनाको यो सङ्कटकालमा भावको दुनियाँमा डुबिरहेको चपौलीको शून्यताबाट ‘मोर्निङ्ग हिलिङ्ग सेसन’ को धुनमा ‘श्री विद्या’ रुपी एउटा शाश्वत प्रकाश अङ्कुराउन थाल्यो, जहाँ संसारले पवनपुत्र हनुमानको दैहिक पराक्रम मात्र देखिरहेको बेला अचानक मानिसको भित्री चक्षुले उनको श्रीरामप्रतिको त्यो अगाध श्रद्धा, निष्कम्प भक्ति र पूर्ण समर्पणको “भाव” अनुभूत गर्यो। अकस्मात्, अक्षर र शास्त्रका लामा ठेलीहरू भन्दा पहिले गुरुप्रतिको आदिम विश्वास भेटिन थाल्यो अनि मस्तिष्कको अहंकारी पर्दा च्यातिएपछि यो अनन्त सृष्टि र यसका सूक्ष्म गतिहरू मेरो क्षुद्र ‘म’ ले होइन, बरु मभन्दा धेरै माथि रहेको कुनै महा-बिराट, अचिन्त्य शक्तिले सञ्चालन गरिरहेको रहेछ भन्ने दिव्य आभास हुन थाल्यो। यो बोध हुनासाथ मानिसको अहंकार पूरै गल्यो र कृतज्ञताको बाढी आएसँगै ऊ केवल धन्यवादको महाभावमा लीन भएर निष्काम कर्म र क्षमा भावमा रूपान्तरित हुँदै, आफ्नो ज्ञानलाई एकदमै तुच्छ महसुस गरी आफ्ना समस्त क्रियाकलापलाई परमतत्वकै चरणमा अर्पण गरेर होसपूर्वक आफ्नै श्वासको तानमा फर्कियो।
अन्ततः ऊ अचल एकाग्रताका साथ अस्तित्वको शाश्वत लयमा समाहित हुँदै, “पूरकमा ॐ, रेचकमा दुं दुर्गायै नम:” को श्वास-प्रश्वासमा पूणर्तः समर्पित हुन थाल्यो, जहाँ तर्कको शुष्क दुनियाँ सदाका लागि समाप्त भएर भावको अनन्त दुनियाँ सुरु भयो… 🙏❣️


