Blog

दृष्टिकोणको विविधता

चेतनाको धुमिल बरण्डामा उभिएर जब म आफ्नै विगतको बहीखाता पल्टाउँछु, तब फाँटबारीका अङ्कहरू मात्र होइन, तिनका पछाडि लुकेका मानव अनुहारहरू पनि एउटा अनौठो बिम्ब बनेर मानसपटलमा बौरिन आइपुग्छन्। मेरो प्रशासनिक कार्यकाल वास्तवमा एउटा यस्तो जटिल चक्रव्यूह थियो, जहाँ नियमका निर्जीव अक्षरहरू परम शासक थिए र मानवीय संवेदनाहरू केवल बन्धक जस्तै बनिरहन्थे। त्यो विलासी तर संकुचित कार्यकक्षभित्र हरेक दिन ‘सही’ र ‘गलत’ को एउटा अदृश्य महाभारत निरन्तर चलिरहन्थ्यो। लेखाको त्यो चिसो स्टीलको दराज र ढड्डाका पहेंला पानाहरूमा केवल सुख्खा अङ्कहरू मात्र कोरिएका थिएनन्, बरु कसैको जीवनको जीवन्त हिसाब-किताब लुकेको थियो। एकदिन कार्यालय सहयोगी रामबहादुरले प्राविधिक कारणले बिलको म्याद नाघेको भन्दै भुक्तानी रोकिँदा मलिन र विवश अनुहार लगाएर फाइल मेरो टेबलमा राख्यो। उसलाई हेरिरहँदा मेरो अन्तरमनमा एउटा तीव्र मनोसंवाद चल्यो, ‘के यो नियमको कठोरता नै मेरो असली कर्तव्य हो? कि यो नियमको पर्दापछाडि म एउटा लाचार र विवेकहीन कठपुतली मात्र हुँ?’ म जसलाई ‘प्रशासनिक अनुशासन’ भनिरहेको छु, ‘के त्यो कसैको चुल्हो निभ्ने कारुणिक कारण त बनिरहेको छैन?’ ठीक त्यति नै बेला, हाकिम साहबको कार्यकक्षबाट एउटा कडा र निरंकुश आदेश गुञ्जियो कि नियमभन्दा बाहिर गएर एउटा कौडी पनि भुक्तानी हुनुहुँदैन र यहाँ जसरी पनि थिति बसाल्नु पर्छ। हाकिमको नजरमा त्यो व्यवस्थाको ‘थिति’ थियो, मेरो नजरमा त्यो कर्तव्य र करुणाबीचको ‘सन्तुलनको सकस’ थियो, अनि रामबहादुरको नजरमा त्यो एउटा ‘निर्दयता’ थियो। एउटै टेबुल र एउटै फाइलमा दृष्टिकोणका कति धेरै विरोधाभासी तहहरू समाहित थिए। एकाएक क्याम्पस पढ्दा किताबमा भेटिएका ‘युनिभर्सल थेउरी, अन्कन्डिश्नल अप्रोच, कन्डिश्नल अप्रोच, कन्टिन्जेन्सी थेउरी’ वाक्यांशहरु याद आयो।

यो द्वन्द्व देख्दा मलाई श्रीमद्भगवद्गीताको एउटा श्लोकको स्मरण हुन्छ, ‘ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते’ अर्थात् मानिसले जुन कुराको बढी चिन्तन गर्छ, उसमा त्यही कुराप्रतिको आसक्ति र दृष्टिकोण निर्माण हुन्छ। हाकिमको आसक्ति नियममा थियो, मेरो कर्तव्यमा र रामबहादुरको जीविकामा। उपनिषद्को एउटा प्रसिद्ध कथाको पनि याद आयो जसमा हात्ती छाम्न गएका अन्धाहरूले कसैले पुच्छर छामेर हात्तीलाई डोरी त कसैले खुट्टा छामेर खम्बा भने जस्तै हामी सबै सत्यको एउटा सानो अंश समातेर त्यसैलाई पूर्ण सत्य मान्ने अहङ्कार गरिरहेका हुन्थ्यौं।

त्यस्तै अवस्था ग्राहक सेवाको त्यो व्यस्त काउन्टरमा हुन्थ्यो, जहाँ आक्रोश र अपेक्षाका ज्वारभाटाहरू हरेक मिनेट ठोक्किन्थे। एकदिन एउटा पीडित सेवाग्राहीले चरम आक्रोशित हुँदै आफ्नो फाइल मेरो अगाडि पछार्यो। त्यो कोलाहलमा सहकर्मी साथीहरूले मुखामुख गरे, जसमा कोही मलाई सहानुभूति दिँदै थिए त कोही मेरो कार्यक्षमतामाथि मौन प्रश्न उठाइरहेका थिए। म फेरि आफ्नै अन्तस्करणको गहिराइमा डुबेर मनोसंवाद गर्न थालें, ‘यी आगो ओकलिरहेका मानिसहरूले मलाई देखिरहेका छन् कि यो कुर्सीको अदृश्य अहंकारलाई?’ उनीहरूको आक्रोश व्यक्तिगत रूपमा मेरो ढिलासुस्तीप्रति हो कि यो जटिल राज्य व्यवस्थाको ढुलमुले प्रक्रियाप्रति? म यहाँ एउटा स्वतन्त्र व्यक्ति मात्र हुँ कि सिंगो संयन्त्रको एउटा अमूर्त प्रतिनिधि मात्र? योगवासिष्ठमा भनिएको छ ‘यथा चित्तं तथा जगत्’ अर्थात् हाम्रो चित्त जस्तो छ, यो संसार पनि हामीलाई त्यस्तै देखिन्छ। त्यो सेवाग्राहीको प्रताडित चित्तले मभित्र एउटा शोषक देखिरहेको थियो। मैले आफ्नो पदीय अहम् त्यागेर कुर्सीबाट उठें र उसलाई सान्त्वना दिँदै एक गिलास पानी अघि सारेँ, जसले उसको भित्री आक्रोशलाई पानीको घुट्कोसँगै बिस्तारै पगालिदियो अनि लामो सास तानेर खुई गर्यो। यो देख्दा ‘मोर्निङ् हिलिङ्ग सेसन’ मा गराइने तत्काल रिलिफ हुइने उपायको याद आयो। मेरो लागि जुन अनिवार्य ‘कार्यविधि’ थियो, ग्राहकलाई त्यो एउटा अनावश्यक ‘सास्ती’ मात्र थियो।

यस्तै दिनचर्या बित्दै जाँदा एकदिन कार्यकालको अन्तिम दिन आइपुग्यो, जब म आफ्नो कार्यकक्षको साँचो अर्को अधिकारीलाई बुझाउँदै थिएँ, मैले गहिरो गरी बुझें कि सत्य कुनै एउटा बिन्दुमा कहिल्यै पनि स्थिर हुँदैन किनभने ती सतही सत्य मात्र प्रतित् थिए सायद, परमसत्यमा गणना हुँदैनथिए पक्कै। हाकिमको आदेशको त्यो ‘प्रशासकीय उचाइ’, सहकर्मीहरूको त्यो ‘व्यावसायिक तटस्थता’, कार्यालय सहयोगीको ‘बाध्यताको धरातल’, र सेवाग्राहीको ‘अपेक्षाको कारुणिक गहिराई’ यी सबै आ-आफ्नो परिधिभित्र पूर्ण रूपमा सही थिए। साँचो बुझाउँदै गर्दा मेरो मनले अन्तिम पटक आफैंसँग संवाद गर्‍यो, म आज यो जिम्मेवारीबाट मुक्त त भएँ, तर के म आफ्नो ठाउँमा साँच्चै सही थिएँ? सायद म मात्र होइन, यहाँ कोही पनि गलत थिएन। हामी त केवल फरक-फरक कोणबाट एउटै सत्यको भिन्न-भिन्न रूप देखिरहेका अलमलिएका यात्री मात्र थियौं। फेरि मलाई ‘मोर्निङ्ग हिलिङ्ग सेसन’ का दुई वाक्यांश याद आयो, ‘ कन्सस् एफोर्ट र कन्सस् हार्मोनी’। त्यो रित्तो कोठाको भित्तामा झुण्डिएको घडी अझै टिक-टिक गर्दै चलिरहँदा सबैका लागि समयको त्यो प्रवाह एउटै थियो तर त्यसको गति र अर्थ भने सबैका लागि विल्कुलै फरक र विशिष्ट थियो।

गुलेली

म सानै थिए । मेरो साथिहरुले गुलेली चलाएको देख्दा मालाई पनि गुलेलीको रहर लाग्यो । रबरलाई तानेर ढुङ्गा उछिट्याउदा , हातले पुर्‍याउन नसक्ने ठाँउमा अति बेगले पुग्थ्ने यसको बिशेषता थियो । मैले पैसा जम्मा गरेर एउटा गुलेली किने । साथीहरू निशाना लगाउन खप्पिस थिए । उनीहरूको प्राय गफ “मैले यतिवटा चरा मारेको छु , यो यो चरा खाएको छु “भन्ने वरपर नै हुने गर्थ्यो । मैले भने न कुनै चरा मारेको थिए न खाएको नै थिए । त्यसैले म उनीहरुले यस्तो कुरा गर्दा प्राय चुप लागेर बस्थे । मनमनै एउटा चरा जसरी नि मार्छु भनेर सोच्थे तर म निसाना लगाउनमा कच्चा थिए । प्रय निसाना लगाई खेलमा उनिहरुले नै जित्ने गर्थे । त्यसैले म प्राय एक्लै निसाना लगाउने अभ्यास गर्थे । कहिले कुनै ठडिएको बाँसलाई हान्थे , कहिले कुनै पातलाई हान्थे । घरहरु धेरै भएको हुनाले होस् भने पुर्‍याउनु पर्थ्यो । नत्र सिसामा लाग्न सक्थ्यो । निसाना बाहेक म चरालाई पनि पहान्ने गर्थे तर लाग्दै लाग्दैन थियो । हजुरामाले मैले गुलेलीले चरा मार्ने प्रयास गरेको देख्दा भन्नू हुन्थ्यो , ” मार्ने नियतले हान्दा , चरा भाग्यो भने पनि पाप…मारेकै बराबर लाग्छ ” । यो वचन मेरो मस्तिष्कमा घुमी नै रह्यो तर चरा मार्ने कोशिस भने रोक्किएन । मेरो घरको अगाडि धेरै भंगेराहरु आउने गर्थे । तारमा बस्न उनीहरु मन पराउथे । म छतबाट उनिहरुलाई हान्ने प्रयास गर्थे । गुलेलीको प्रहार हुने बित्तिकै उनीहरु उढ्थे

 र फेरि त्यही आउथे । मलाई उनिहरुले जिस्काए जस्तो लाग्थ्यो । आफैसँग रिसाउदै , अब त लगाउछु-लगाउछु भनेर हन्ने कोसिस गर्थे । यो क्रम निकै लामो समय चल्यो । प्राय म गुलेली चलाउदा आमाले भनेको कुरा पनि सम्झिन्थे तर त्यसले खासै मलाई बिचलित बनाएको थिएन । एक दिन भने , एक जोडी भङ्गेरा फेरि त्यहि तारमा बसे । त्यो एउटा भाले र अर्को पोथी थियो । कलो रंग देखिने भाले हुन्थ्यो भने पोथि फुस्रो फुस्रो हुन्थ्यो । भङ्गेराहरुलाई हेर्दा हेर्दै उनिहरुलाई म चिन्न थाली सकेको थिए । मैले गुलेली तन्काए र ढुङ्गा छाडीदिए । भालेको टाउकोमा लागेछ । पहिलो पटक चरालाई लाग्यो । म छतबाट तल झरे । भङ्गेराको अन्तिम ढुकढुकी चलिरहेको थियो । मैले जमिनबाट उठाए । पखेटाहरु नरम थिए । त्यसको आँखाले मलाई नै हेरिरहेको थियो । मेरै हातमा त्यसले अन्तिम सास छाडिदियो । मेरो हातमा थोरै रगत पनि लागेछ । म त्यो भङ्गेरा खाने त सोच्न पनि सकिन । मलाई चरा मर्नु थियो मारे अब त्यो भङ्गेरा के गर्ने । मेरो हातमा नै त्यो भङ्गेरा चिसो र कडा हुँदै गयो । मैले किन मारे भनेर मलाई पछुतो लाग्दै थियो । मेरो आँखा भरी आँसु जम्यो । मैले त्यसलाई श्रद्धा पुर्वक खाल्डो खनेर गाडिदिए । त्यसपछि मैले फेरि अर्को चरा मार्ने सोच्न पनि सकिन। केही छण पछि त्यहि पोथि आयो र त्यहि तारमा बस्यो । चिरबिर चिरबिर गर्दैथियो । मलाई त्यसले भाले खोज्दै छ जस्तो लाग्दै थियो । म धेरै दिन निरास भए । कुनै पोथी एक्लै त्यो तारमा बस्दा , त्यहि पोथी हो कि जस्तो लाग्थ्यो ।  त्यस दिन देखि मैले अहिले सम्म चरा मारेको छैन ।

आफैंलाई भेट्ने यात्रा हो- ध्यान!!

  प्रत्येक बिहानीले जीवनलाई नयाँ गोरेटोतर्फ डोर्‍याइरहेको छ। बिहानको शान्त वातावरणमा शब्दका तरङ्ग (Vibration) महसुस गर्नु, अनि दिनको कुनै एकान्त क्षणमा तिनै भावहरूलाई फेरि सम्झँदै मनभित्र र कागजमा उतार्नु,यो बिस्तारै मेरो आत्मिक दैनिकी बनेको छ। यस अभ्यासमा एउटा अद्भुत मिठास छ, एउटा मौन आनन्द छ, जसले मनलाई हलुका बनाउँछ र आत्मालाई गहिरो स्पर्श गर्छ। यस्तो लाग्छ, प्रत्येक बिहानसँगै जीवनले नयाँ- नयाँ अर्थ पाइरहेछ ।

ध्यान कुनै मेमोरीजन्य अभ्यास होइन। यो सम्झेर दोहोर्‍याउने प्रक्रिया मात्र होइन, न त सहानुभूतिको आवरण ओढेर बस्ने प्रयास नै हो। यदि हामी ध्यानलाई “म गर्छु” भन्ने अहंकारसँग जोड्छौं भने, त्यो केवल मनको सूक्ष्म खेल बन्छ। साँचो ध्यान त त्यहाँ सुरु हुन्छ, जहाँ “म” हराउन थाल्छ र केवल मौन अनुभूति बाँकी रहन्छ। ध्यान भनेको आफैंसँग निस्वार्थ रूपमा बस्नु हो,जहाँ कुनै अभिनय हुँदैन, कुनै प्रमाण दिनु पर्दैन।

यसको लागि जीवनमा सहनशीलता बढाउनु अत्यन्त आवश्यक छ। हरेक अनुभवलाई स्वीकार्दै, बिस्तारै–बिस्तारै अहंकारलाई पगाल्दै जानुपर्छ। उच्च चेतनाको यात्रा कुनै एकैपटकको कुनै चमत्कार होइन; यो त निरन्तर सजगता, धैर्य र आत्मस्वीकारको यात्रा हो। जति अहंकार घट्दै जान्छ, त्यति नै भित्रको शान्ति प्रकट हुन थाल्छ।

हामीले यात्रा शरीरबाट होइन, हिलिङ स्पिरिट (Healing Spirit)बाट सुरु गर्नुपर्छ। जब आत्मा शान्त र सन्तुलित हुन्छ, शरीर आफैं उज्यालो अनुभव गर्न थाल्छ। यही कारणले भगवान बुद्धले भन्नुभएको थियो—“आफूलाई हेर।”
आफूलाई हेर्न सक्नु नै सबैभन्दा ठूलो साधना हो। संसारलाई बुझ्नुभन्दा पहिले आफूलाई बुझ्न सक्नु नै चेतनाको ढोका खोल्नु हो।

“अझै अझै चाहियो” भन्ने भावना मानव स्वभावको एउटा सूक्ष्म तह हो। स्वभावमा बाँच्ने मानिसले बिस्तारै बुझ्न थाल्छ कि साँचो आनन्द बाहिरको संग्रहमा होइन, भित्रको सन्तोषमा लुकेको हुन्छ। स्वभावको मान्छे बन्नु भनेको नक्कलीपन र देखावटीपनबाट मुक्त हुनु हो। यही स्वतन्त्रताले जीवनलाई सहज र सुन्दर बनाउँछ।

ध्यानी व्यक्तिमा विवेक हुन्छ। ऊ प्रतिक्रियामा होइन, सजगतामा बाँच्छ। उसलाई बाहिरी नियमभन्दा भित्री चेतनाले मार्गदर्शन गर्छ। आध्यात्मिक अभ्यास विकल्परहित हुन्छ,यसमा “यदि” र “तर” हुँदैन। जब साधना साँचो हुन्छ, त्यसको सकारात्मक स्पन्दन वातावरणभरि फैलिन्छ। एक व्यक्तिको शान्त चेतनाले वरिपरिको संसारलाई समेत स्पर्श गर्न सक्छ।

भक्ति योगले भन्छ-परमात्मालाई निरन्तर सम्झिरहनु। तर प्रायः हामी आफ्नै विचारहरूको भीडमा हराइरहेका हुन्छौं। मन बाहिरतिर दौडिरहन्छ, त्यसैले आत्माको मौन आवाज सुन्न सकिँदैन। जब हामी भित्र फर्किन थाल्छौं, तब थाहा हुन्छ-प्रार्थना शब्दमा होइन, अनुभूतिमा जीवित हुन्छ।

आफ्नो अनुभवमा “मोर नलेज(More Knowledge)” हुनु जरुरी छ। अरूले भनेको सत्य होइन, आफूले महसुस गरेको सत्य नै वास्तविक ज्ञान हो। जीवनमा प्रायः त्यही घट्छ, जुन हामीले कल्पना नै गरेका हुँदैनौं। त्यसैले वर्तमानमा रहन सिक्नुपर्छ, किनकि वर्तमान क्षणमा नै पवित्र ऊर्जा बस्छ। जब हामी पूर्ण रूपमा वर्तमानमा हुन्छौं, साधारण क्षणहरू पनि दिव्य अनुभव बन्न थाल्छन्।

सकारात्मकता केवल सोच होइन, यो त निरन्तर अभ्यास हो। आफैंलाई बारम्बार उज्यालोतर्फ फर्काइरहनु हो। अझै भित्र जानु, अझै शान्त हुनु, अझै सजग हुनु-यही नै ध्यानको सार हो। ध्यान भनेको संसारबाट भाग्नु होइन, यो त जीवनको प्रत्येक क्षणमा पूर्ण रूपमा उपस्थित हुनु हो। जहाँ विचारहरू शान्त हुन्छन्, त्यहाँ आत्माको मधुर स्वर सुन्न थालिन्छ।

अन्ततः, जीवन कुनै अन्तिम गन्तव्य होइन। यो त एक निरन्तर बहने यात्रा हो। प्रत्येक बिहानले हामीलाई नयाँ गोरेटो देखाउँछ, प्रत्येक सजग श्वासले हामीलाई आफैंसँग नजिक ल्याउँछ, र प्रत्येक मौन क्षणले भित्र लुकेको दिव्यता सम्झाइरहन्छ।सायद यही नै जीवनको सबैभन्दा सुन्दर रहस्य हो-आफैंलाई भेट्ने यात्रा।

अज्ञातको अनन्त यात्रा

मेरो वरिपरि भन्दा निकै फराकिलो झैँ लाग्ने चपौली आकाशको नीलिमा जस्तै अगाध थियो उनको मौनता र भनाइ। उनले मलाई बारम्बार एउटै सत्यको क्षितिजतिर डोर्‍याइरहन्थे, जसको गहिराइ बुझ्न मेरो अल्पज्ञानी मस्तिष्कलाई कति समय लाग्यो कति। ऊ भन्थे, “केही कुरा यस्ता हुन्छन्, जो हामीलाई थाहा छैन भन्ने समेत हामीलाई बोध हुँदैन। त्यसैले, अहम्‌को पर्दालाई च्यातेर सधैँ सिकिरहनू।”

उनले सिकाएका पाटाहरू कुनै विद्यालयका पाठ्यक्रम थिएनन्, ती त जीवन जिउने अलिखित रागहरू थिए। उनले मलाई कति पटक भने होलान् आफ्नो स्वर जस्तै सुक्खा वा कर्कश किन नहोस्, हृदयको कम्पनलाई गितारका तारहरूमा मिसाएर गाउन सिक्नू। माटोको सुगन्धसँग एकाकार हुन सिकाउँदै उनी भन्थे, “हातहरूलाई हिलोमा मुछ्नू, बिरुवाहरू रोप्नू र आफू वरिपरि हरियालीको एउटा सानो ब्रह्माण्ड सिर्जना गर्नू।” त्यस्तै उनका आँखाहरू जहिले पनि पुस्तकका पानाहरू पल्टाइरहन प्रेरित गर्थे। तीर्थस्थलहरूको यात्रामा निस्कँदा, ढुङ्गाका मूर्तिहरूमा मात्र होइन, त्यहाँको हावा, भक्तहरूको आँसु र प्राचीन मन्दिरका भित्ताहरूबाट समेत ज्ञानको कण बटुल्न उनले नै सिकाएका थिए। उनको सबैभन्दा ठूलो मन्त्र थियो, आफूभित्रको जे कुरा देख्दा सुन्दा पनि कमेन्ट गर्ने, जज गर्ने वक्तारुपी हतारोलाई मारेर एउटा धर्यवान ‘उत्कृष्ट श्रोता’ बन्नू। जब तिमी प्रकृतिको र अरूको मौनता सुन्न थाल्छौ, तब मात्र तिम्रो भित्री अहंकारको विसर्जन हुन थाल्छ र साधनाको वास्तविक अंकुरण हुन्छ।

सांसारिक जीवनको यो निसासिँदो र कसिलो समयको चक्रव्यूह जहाँ श्वास फेर्न पनि समयको अनुमति चाहिन्छ। यस्तै एउटा व्यस्त दैनिकीको कठोर परिधिबाट मैले केही पलहरू चोरी गरेँ। यो चोरी अर्काको कुनै  सामान थिएन, सायद आफ्नै अस्तित्वको खोजीका लागि थियो, थोरै समय चोर्ने हिम्मत थियो। अनि एकाएक म दौडिएँ कोशीको गर्जन र आध्यात्मिक शान्तिको सङ्गमस्थल बराहक्षेत्रतिर, जहाँ वराह भगवान्‌को काखमा मैले एउटा अनौठो शून्यता भेटेँ। कोशीका ढुंगा माथि पलेँटी कसेर, “ॐ हूँ वराहाय नमः” जप्दै समयलाई हराउन थालेँ। त्यसपछि मेरो पाइला अघि बढ्यो, सप्तरीको छिन्नमस्ता भगवती माताको मन्दिरतर्फ। माताको त्यो उग्र र करुणामयी स्वरूपको अगाडि शिर झुकाउँदै उनमा समर्पण हुने सबै भन्दा सौम्य मन्त्र, “ॐ छिन्नमस्तायै नम:” जप्दा  मेरो अहं, जगत्‌को भस्म जस्तै हावामा अलिअलि उडे जस्तो भयो । त्यो शक्तिपीठको आँगनमा उभिरहँदा मलाई अचानक उनका तिनै शब्दहरूको स्मरण भयो। मैले बुझेँ म जे जान्दछु, त्यो त केवल समुद्रको एक थोपा मात्र हो तर जे मलाई थाहा छैन र मलाई थाहा छैन भन्ने कुरा समेत मलाई थाहा थिएन, त्यो विराट् सत्यको साक्षात्कार त अझै बाँकी नै छ त्यसैले अहंकार विसर्जनको त्यो पहिलो खुड्किलोमा उभिएर मैले गितारका तारहरूसँगै मनकै तारमा एउटा नयाँ धुन गुञ्जाउँदै मनन गरेँ “झुकिरहुँ झुकिरहुँ झुकिरहुँ अनि सिकिरहुँ सिकिरहुँ सिकिरहुँ…. 🎸”

योद्धा स्पिरिट

साधना अगाडि बढ्दै जाँदा हाम्रो संकल्प र इच्छा शक्ति पनि बढ्दै जानु पर्ने रहेछ। चाहे त्यो ब्यवहारिक जीवनमा होस् या पारमार्थिक जीवनमा, त्यसमा सफल हुनको लाई योद्धा स्पिरिट अनिवार्य हुनु पर्ने रहेछ। योद्धा स्पिरिट अर्थात् एउटा सच्चा सिपाहीमा हुने गुणहरू। जस्तै हिम्मत र आत्म विश्वास कि जस्तो सुकै परिस्थितिमा पनि सफल हुन सक्छु भन्ने। र आफ्नो काम प्रतिको निष्ठा वा समर्पण, जीवनको सबै भन्दा महत्व पूर्ण कुरा बनाउने। र निरन्तर मेहनत गर्ने क्षमता, आफ्नो लक्ष्यमा असाधारण तरिकाले मेहनत गर्दै पुग्ने कोसिस।

प्रकृतिको सङ्गत

हामी प्राय जसो अप्राकृतिक सिमेन्टले बनेका घरभित्र, कम्प्युटरको अगाडि, वा सहरको कोलाहलमा बसेर काम गर्छौँ। यस्तो वातावरणमा काम गर्दा सामान्यतः काम गरेपछि थकान वा तनाव महसुस गर्छौँ। तर प्रकृतिको नजिक रहेर फूलबारी वा बारीमा माटो समाउँदै काम गर्दा थकान र तनाव उल्टो कम गरेर, ऊर्जाले भर्ने रहेछ। त्यसकारण प्रकृतिको सङ्गत गर्दै काम गर्न पाउनु सौभाग्यको कुरा रहेछ र यसले सिर्जना र उत्पादनमा त मद्दत गर्छ नै, सँगसँगै शारिरिक, मानसिक, भावनात्मक र आत्मिक दृष्टिकोणले पनि स्वास्थ्यकर हुने रहेछ।

साधना सिद्धान्त: संसारकै गर्भभित्र

“आच्छु! कस्तो जाडो, छि:” 

ओडारभित्र चिसो निकै बढेको थियो। ऊ ढुङ्गाको भित्तामा अडेस लागेर बस्यो।

“किन यस्तो सुनसान लागिरहेको छ?” “म साँच्चै एक्लो भएको हुँ? संसारको कोलाहल सँग बिरक्त भएर आएको हुइँन र ?”

टाढाबाट स्याल कराएको आवाज आयो। उसले आँखा चिम्लियो।

“यो थकान शरीरको मात्र होइन…” “भित्र केही चुँडिएको छ…”

धेरै दिनदेखि ऊ ठीकसँग निदाएको थिएन । मानिसहरूको भीडबिहिनतामा पनि ऊ आँफैसँग पनि अपरिचित जस्तै महसुस गर्थ्यो।

“किन सबै कुरा अभिनयजस्तो लाग्छ?” “किन सम्बन्धहरूमा पनि कृत्रिम गन्ध आउँछ?”

ऊ उठेर ओडारको मुखसम्म गयो। बाहिर अँध्यारो जंगल स्थिर थियो। मनभित्र भने धमिलो, तर मिथ्या जस्तो। त्यसो त साधुसन्तले भनेको अर्थमा पनि होइन, फगत अन्योलमा जस्तो।

“भागेर ठीक गरें त?” “कि झन् हराएँ?”

हावाले रूखहरू हल्लाइरहेको थियो। ओडारभित्र पातहरूको सुसाहट पस्यो।

“म मौन खोज्दै आएको थिएँ…” “तर भित्र त अझ ठूलो आवाज रहेछ…”

उसलाई अचानक पुराना अनुहारहरू सम्झना आए, घर… बालबच्चा… जिम्मेवारी…

“किन यी सम्झनाहरूले पछ्याइरहेका छन्?” “किन छोड्दासमेत छुटेनन्?”

उसले निधार समात्यो। मन झन् अशान्त हुँदै गइरहेको थियो।

“शरीर मात्र यहाँ आएको रहेछ…” “चित्त त अझै त्यहीँ छ…”

ओडारको अँध्यारोमा ऊ लामो समय निस्पट्ट बसिरह्यो। त्यसैबेला कुनै पुरानो पढाइ उसको स्मृतिमा चम्कियो। ‘फोर्थ वे’ को हरफ चपौलीको सन्ध्यामा, काठको बार्दलीमा अडेसिएर बिरालोको घुर्घुर् सुन्दै गरेको। अनि ‘साथी !’ भन्दै गुरुले औंल्याइरहेको…. “मानिस निद्रामै बाँच्छ, यदि कन्सस् एफोर्ट लाएन भने निद्रा मै मर्छ…”

“यहाँ भाग्नु अघि, के म पनि निद्रामै थिएँ, बुझिन त गुरुका औंला ? ”

उसले गहिरो सास फेर्‍यो।

“आत्म-स्मरण…” “सायद कुरा यही रहेछ…”

ऊ बिस्तारै आफूलाई नियाल्न थाल्यो। श्वास… विचार… डर… इच्छा…

“म भागिरहेको थिएँ…” “तर कसबाट?”

केहीबेरपछि उसको अनुहार अलि शान्त देखिन थाल्यो।

“ओडार समाधान होइन रहेछ…” “यदि मन नै अशान्त छ भने…”

उसलाई अचानक कृष्णको स्मरण भयो। कुरुक्षेत्रको बीचमा उभिएको कृष्ण।

“युद्धमै योग…?” “कोलाहलमै जागरण…?”

ऊ हल्का मुस्कुरायो।

“त्यसैले पलायन होइन…” “जागरूकता पो चाहिने रहेछ…”

बिहान हुन लागेको थियो। ओडारबाहिरको आकाश फुस्रो हुँदै गइरहेको थियो।

“संसार बाधा होइन…” “साधनाको क्षेत्र पो रहेछ…”

ऊ उठ्यो। धूलो टक्टक्यायो।

“अब फर्किनुपर्छ…” “तर पहिलेको मानिस भएर होइन…”

ओडारबाट बाहिर निस्कँदा उसको पाइला पहिलेभन्दा स्थिर थियो।

“घर उही हुनेछ…” “मानिस उही हुनेछन्…”

“तर अब…” “म बेहोस भएर बाँच्ने छैन…”

ऊ बाटोमा बिस्तारै हिँड्न थाल्यो। उदाउँदै गरेको घाम रूखका पातमा चम्किन थालेको थियो।

“हरेक कर्म…” “अब साधना हुनेछ…”

“हरेक श्वास…” “स्मरण…”

“निर्वाण…” “सायद संसारकै गर्भ भित्रै लुकेको रहेछ…”

प्रेम र कृतज्ञताको यात्रा हो-जीवन

मानव जीवनको सबैभन्दा सुन्दर सुवास प्रेम हो। प्रेमले हृदयलाई कोमल बनाउँछ, आत्मालाई उज्यालोले भरिदिन्छ र जीवनलाई अर्थपूर्ण बनाइदिन्छ। जब मानिस प्रेममा बाँच्न सिक्छ, तब उसले संसारलाई नयाँ आँखाले हेर्न थाल्छ। फूलको मुस्कान, चराको मधुर गीत, नदीको निरन्तर बहाव र चन्द्रमाको शीतलता यी सबै कुरा उसलाई दिव्य स्पर्श जस्तो अनुभूति हुन थाल्छ। प्रेम विस्तार हुँदै जाँदा अन्ततः त्यो कृतज्ञताको पवित्र प्रकाशमा रूपान्तरण हुन्छ।

भगवद्गीतामा श्रीकृष्ण ले प्रेमलाई केवल भावना होइन, आत्माको अवस्था मान्नुभएको छ।उहाँको शिक्षाअनुसार साँचो प्रेम स्वार्थरहित, करुणामय र समर्पित हुन्छ:

“पत्रं पुष्पं फलं तोयं
यो मे भक्त्या प्रयच्छति ।
तदहं भक्त्युपहृतम्
अश्नामि प्रयतात्मनः ॥”

(भगवद्गीता ९।२६)

अर्थात्—
“कसैले प्रेम र भक्तिभावले एउटा पात, फूल, फल वा थोरै पानी पनि अर्पण गर्छ भने, म त्यसलाई प्रेमपूर्वक स्वीकार गर्छु।”

यसले के देखाउँछ भने भगवानलाई वस्तुको ठूलो मूल्य होइन, हृदयको निर्मल प्रेम प्रिय हुन्छ। वास्तवमा प्रेम नै कृतज्ञताको पहिलो पाइला हो। जब हामी सम्पूर्ण अस्तित्वसँग प्रेम गर्न थाल्छौं, तब जीवनको प्रत्येक क्षण वरदान जस्तो लाग्न थाल्छ। हामी अनुभव गर्छौं कि बिना कुनै योग्यताका पनि अस्तित्वले हामीलाई यति धेरै सौन्दर्य, प्रेम र आनन्द प्रदान गरेको छ। यही अनुभूतिबाट गहिरो कृतज्ञता जन्मिन्छ।

कृतज्ञता भनेको केवल “धन्यवाद” भन्नु मात्र होइन; यो त आत्माको मौन प्रार्थना हो। जब मानिस कृतज्ञ हुन्छ, उसले आफ्नो अहंकारलाई बिस्तारै पगाल्न थाल्छ। अहंकार सधैं आफूलाई ठूलो देखाउन खोज्छ, तर कृतज्ञताले झुक्न सिकाउँछ। प्रेममा केही क्षणका लागि अहंकार हराउँछ भने कृतज्ञतामा त्यो पूर्ण रूपमा विलीन हुन्छ।

जीवनमा दुःख र अशान्तिको मुख्य कारण पनि यही “म” र “मेरो” को बन्धन हो। जब मानिस अहंकारमा बाँधिन्छ, ऊ भित्रबाट भारी हुन थाल्छ। तर जब ऊ प्रेम र कृतज्ञतामा बाँच्न सिक्छ, तब भित्र आनन्दको निर्मल झरना बग्न थाल्छ। उसले अनुभव गर्न थाल्छ कि साँचो सुख बाहिर होइन, आफ्नै चेतनाको गहिराइमा लुकेको छ।

त्यसैले जीवनको वास्तविक यात्रा प्रेमबाट सुरु हुन्छ र कृतज्ञतामा पूर्ण हुन्छ। प्रेमले हृदय खोल्छ, कृतज्ञताले आत्मालाई मुक्त गर्छ। जब यी दुई गुण जीवनमा फूलझैँ फक्रिन्छन्, तब मानिस केवल बाँच्दैन,ऊ दिव्य आनन्दमा रूपान्तरण हुन्छ।

हाम्रो सम्पूर्ण जीवन प्रेमको यात्रा हो। प्रेमबाटै हृदयमा कृतज्ञताको फूल फुल्छ, र कृतज्ञताबाट आत्मा प्रकाशमय बन्छ।

“असतो मा सद्गमय,
तमसो मा ज्योतिर्गमय,
मृत्योर्मा अमृतं गमय!!”

कति सून्दर पात हरू

त्यही बाटो छेउ मै मङ्ग छरिएका थिए पारिजात,

त्यही कसैको आँगन मै हाँसेका थिए गुलाब,

त्यही कुनै कुनामा फैलिएको थियो बेगम्बेली,

त्यही पारि  वनमा डुल्दै थिए सुनाखरी।

तर म कहाँ थिएँ ?

आँखा मेरा कहाँ थिए ?

कहाँ थियो नाक मेरो ?

खुल्दै छन् भर्खर आँखाहरू,

सुँङ्दै छन् बल्ल नाकहरू।

फेरि सुटुक्क भन्यो कसैले—

“छोड फूलहरू,

हेर त कति सून्दर पात हरू 

~ Ajay Poudel

कति सून्दर पात हरू

त्यही बाटो छेउ मै मङ्ग छरिएका थिए पारिजात,

त्यही कसैको आँगन मै हाँसेका थिए गुलाब,

त्यही कुनै कुनामा फैलिएको थियो बेगम्बेली,

त्यही पारि  वनमा डुल्दै थिए सुनाखरी।

तर म कहाँ थिएँ ?

आँखा मेरा कहाँ थिए ?

कहाँ थियो नाक मेरो ?

खुल्दै छन् भर्खर आँखाहरू,

सुँङ्दै छन् बल्ल नाकहरू।

फेरि सुटुक्क भन्यो कसैले—

“छोड फूलहरू,

हेर त कति सून्दर पात हरू 

~ Ajay Poudel