Blog

जेन-जी (Gen Z) र जेन -अल्फा (Gen A) संगको लयबद्धता

जेन-जी (Gen Z) भन्नाले Generation Z जनाउँछ, जुन अहिलेको युवापुस्ताको एक समाजशास्त्रीय वर्ग हो। Gen Z भन्नाले सामान्यतया सन् 1997 देखि 2012 को बीचमा जन्मिएकाहरूलाई भनिन्छ। यो पुस्ता मिलेनियल्स (Gen Y) पछि आउने पुस्ता हो। त्यसैगरी Gen A भन्नाले सन् 2013 देखि पछाडि  जन्मिएकाहरूलाई चिनिन्छ । आजकलका किशोर, स्कुल, कलेज पढ्दै गरेका वा हालसालै जागिरमा लागेका युवा धेरैजसो Gen Z मा पर्छन्। त्यसैगरी Gen A मा भर्खरै जन्मिएका देखि स्कुल पढिरहेका पुस्ता पर्दछन् ।

Gen Z र  Gen A को विशेषता के हो?

१. Digital natives – जन्मेदेखि नै इन्टरनेट, स्मार्टफोन, र सोसल मिडियामा हुर्किएका।

२. सोच र अभिव्यक्तिमा स्वतन्त्र – आफूलाई व्यक्त गर्न स्वतन्त्रता खोज्ने।

३. Diversity र inclusion प्रति संवेदनशील।

४. Mental health र self-awareness मा ध्यान दिने।

५. Trends बदल्ने शक्ति- फेसन, संगीत, भाषाशैली, meme, slang आदिमा नयाँपन ल्याउने।

नेपाली सन्दर्भमा पनि अहिलेका टिकटक, इन्स्टाग्राम, युट्युब चलाउने अधिकांश Gen Z र  Gen A हुन्।उनीहरूको भाषा, सोच, अभिव्यक्ति, र संस्कृति अलि फरक देखिन्छ, जसलाई कतिपयले ‘नयाँ पुस्ता’ भन्न रुचाउँछन्। विशेषतः जब हामी “Gen Z” जस्तो प्रविधिमैत्री, तीव्रगतिको पुस्तालाई आध्यात्मिक अभ्यास, साधना, र Awareness (सजगता) सँग दुई दृष्टिकोणमा तुलना गर्न सक्छौं ।

१) Gen Z को वर्तमान अवस्था- चुनौती र परिवर्तनको संघारमा

सकारात्मक पक्ष:

> Awareness को भोक छ: धेरै Gen Z युवा mental health, self-care, healing, energy, vibes, mindfulness, meditation, yoga आदि शब्दसँग परिचित छन्।

> Inner freedom खोज्ने प्रयास: उनीहरू परम्परागत धार्मिक ढाँचाभन्दा “अनुभवमा आधारित आध्यात्मिकता” खोज्छन्।

> Global exposure बाट आध्यात्मिक गुरू, podcasts, सत्संग आदि सुनेर आत्म-चिन्तनतर्फ आकर्षित भइरहेका छन्।

चुनौतीहरू:

> Distraction को बाढी: डिजिटल संसारको तिव्रता (TikTok, Instagram, Youtube, endless scrolling) ले तात्त्विक एकाग्रता हराइरहेको छ।

> Instant gratification मा बाँधिएको मन: ध्यान वा साधनामा समय दिने धैर्यता थोरै देखिन्छ।

Over-stimulation ले subtle spiritual signals नदेखिने बनाउँछ।

 २) Gen Z मा आध्यात्मिक सम्भावना- एक उज्यालो बीउ भेटिन्छ ।

 किन सम्भावना छ ?

> Questioning Nature : उनीहरू “किन?”, “को?”, “के सत्य हो?” भन्ने गहिरा प्रश्न गर्न सक्छन्। यही प्रश्न नै आध्यात्मिक यात्रा सुरु गर्ने ढोका हो।

>Authenticity खोज्ने हिम्मत – झूटा आडम्बर वा ढोंग उनीहरूले तुरुन्त चिन्छन्। उनीहरू “अनुभूत सत्य” खोज्छन्।

>Global गुरुहरूको सहज पहुँचबाट लाखौं Gen Z प्रभावित छन्।

>Awareness को भाषा परिवर्तन हुँदैछ – “Spirituality” अब पुरानो पुराण होइन, “Conscious Living” को शैली बन्दैछ।

>Gen Z एक यस्तो पुस्ता हो जो छिटो हराउँछ तर छिटो जाग्न पनि सक्छ।

उनीहरूलाई यदि सही ढंगले सजगता, प्रेम, ध्यान, र अहंकारविहीन मार्ग सिकाइयो भने, उनीहरू संसारमा एक नयाँ चेतनाको लहर ल्याउन सक्छन्।

Gen Z र  Gen A लाई आध्यात्मिकता तर्फ ल्याउनु भनेको – उनीहरूको हृदयसम्म पुग्नु, तिनको स्वतन्त्र चेतनामा प्रेमको बिउ रोप्नु हो। जबर्दस्ती होइन, प्रेरणा। उपदेश होइन, उपस्थिति मात्र।

यहाँ माता-पिता वा अविभावक वा मार्गदर्शकहरू (Silent generation, Baby Boomers, Gen X, Gen Y) ले Gen Z  र Gen A लाई सहज रूपमा आध्यात्मिकता (सजगता, प्रेम, सत्यता) तर्फ ल्याउन सक्ने ७ चरणका उपायहरु प्रस्तुत गर्न कोसिस गरिएको छ ।

१)  स्वयम् आध्यात्मिक हुनु – देखाउने होइन, हुने > “Be the light, not the preacher.”

यी पुस्ता साँचो अनुभव खोज्छन्, अभिनय होइन। यदि अभिभावक वा मार्गदर्शक स्वयम् साधना, आत्म-सजगता, प्रेम, मौनको अभ्यासमा छन् भने त्यो सुवास स्वयं ती युवाहरूमा बग्न थाल्छ। तपाईं ध्यान गरिरहनु भएको दृश्यले नै उनीहरूमा चासो जगाउँछ। तपाईंले नचिच्याई क्षमा गर्नु, करुणा देखाउनु, प्रेमले प्रतिक्रिया गर्नु, त्यो नै उनीहरूको पहिलो सत्संग हो।

२)  उपदेश नदिई संवाद गर्नु

यी पुस्तालाई “यो गर, त्यो नगर” भन्दा “तिमी के महसुस गर्छौ?” भनेर सोध्दा उनीहरू खोलिन्छन्।

प्रश्नहरू सोध्नुहोस् – “जीवनमा तिमी के खोज्दै छौ?” उनीहरूको उत्तरलाई निर्णय नगरी सुन्नुहोस्।

कहिलेकाहीँ हाम्रो अनुभव साटौं, तर उपदेशजस्तो नभई साथी सरह। 

३)  आकर्षक तरिकाले आध्यात्मिक अभ्यासको ढोका खोल्नु

यी पुस्ता तीव्र, संवेदनशील र रचनात्मक छन्। ध्यान वा साधनालाई पनि Boring routine हैन, Joyful inner adventure को रूपमा देखाउनु पर्छ।

उदाहरणहरू:

> केही मिनेटको Mindful music सुनाउनु, आँफुले मन पराएको कुनै गीत गाउने र उनीहरूलाई पनि गाउन उत्प्रेरित गर्ने।

> आँफुले केही चित्र कोरेर कस्तो लाग्यो भनेर सोध्ने र तिमीलाई पनि बनाउन मन लाग्छ ? भनेर सोध्ने

>विभिन्न Musical Instruments देखाएर मलाई यो मन पर्छ, बजाउँछु है, अनि तिमीलाई चाहिँ के बजाउन मन पर्छ भनेर सोध्ने र उसको रुचीको Instrument ल्याइदिने र उसले बजाएकोमा प्रशंसा गर्ने ।

>बिरालो, कुकुर जस्तो Pet जनावरहरु, चराचुरुङ्गीहरुसँग नजिकिन सिकाऔं, खेल्न सिकाउने ।

> बोटविरुवा, चराचुरुङ्गी, जनावरहरुलाई पानी दिन, खानेकुरा दिन सिकाउने ।

>मागी हिड्ने, दुख पाइरहेको देखिएका, आवश्यक परेको देखिएकाहरुलाई दान सहयोग गर्न उत्प्रेरित गर्ने । >श्वास-प्रश्वासको awareness खेल – “अब १० श्वास गन्ने…।” भनेर 

>“जाऔँ, प्रकृतिसँग खेलौं र मौनमा बसौँ।” भन्ने ।

> साथी, सहकर्मीहरुसँग प्रतिष्पर्धि नबनी सहअस्तित्वको ब्यबहार गर्ने तर्फ सिकाउने ।

४)  उनीहरूको भाषा र माध्यममा आध्यात्मिकता ल्याउनु

यी पुस्तालाई TikTok, YouTube, Facebook, Instagram, Reels मन पर्छ भने, त्यही मार्फत आध्यात्मिक गुरूहरूको छोटा क्लिप्स, प्रेरणादायक podcast हरू शेयर गर्न सकिन्छ तर जबर्जस्ती होइन, “मलाई यो मन पर्यो, तिमीलाई कस्तो लाग्यो? भनेर

५)  उनको पीडा र द्वन्द्व बुझ्नु – बिना डर, बिना नियन्त्रण

यी पुस्ता धेरैजसो anxiety, self-doubt, loneliness, peer pressure भित्र अल्झिरहेका हुन्छन्।

उनीहरूको पीडालाई “यो त केही होइन” नठानौँ बरु त्यो पीडाको भित्र शान्तिको बीउ लुकेको छ।

उनीहरूलाई सम्झाउन सकिन्छ:”हर असहज अनुभव एउटा ढोका हो, जहाँबाट तिमी आफूसम्म पुग्न सक्छौ।”

६)  तपाईंको मौन, नम्रता, र श्रद्धा नै उनको शिक्षा हो । कहिलेकाहीँ बोल्नुभन्दा मौन बसेर सँगै ध्यान गर्नु ।

उनीहरू रिसाउँदा पनि करुणा देखाउनु, आफू गल्ती गर्दा स्वीकार गर्नु, यस्ता कार्यहरूले उनीहरूलाई सिकाउँछन्, कसरी आध्यात्मिक बनिन्छ। उपस्थिति नै शिक्षा हो।

७)  आशा नछोड्ने, प्रेमपूर्ण धैर्यता ।

यी पुस्ता तुरुन्त परिवर्तन गर्दैनन् तर जब परिवर्तन हुन्छ, त्यो गहिरो र स्थायी हुन्छ।

– कहिलेकाहीँ उनीहरू विरोध गर्नेछन्

– कहिलेकाहीँ रमाउनेछन्, फेरि बिर्सनेछन्

– तर तपाईंको शान्त उपस्थितिको किरण उनीहरूको चेतनामा गहिरो असर छोडिरहेको हुन्छ

> “A seed of love planted in silence grows beneath the soil of time.”

 निष्कर्षमा:

Gen Z  र Gen A लाई आध्यात्मिकता सिकाउने हुटहुटी बोकेर जबर्जस्तिको लदाईमा उनिहरुको निजत्व , स्वतन्त्रता माथि हमला गर्ने होइन, बरु हाम्रो हरेक क्रियाकलापमा उनिहरुले आध्यात्मिकता जोडिएर उपलब्धीपूर्ण भइरहेको स्पष्ट देखुन्, जिन्दगीमा लयबद्धता महसुस गरुन् , उनिहरुलाई साँच्चै साँच्चै अनुभुती हुन थालोस् कि जीवन उत्कृष्ठ बनाउन हरपल, हरेक क्रियाकलापमा आध्यात्मिक अभ्यास जरुरी रहेछ, पारमार्थिक सत्यसँग जोडिएर अगाडि बढ्नु पर्ने अत्यावश्यक रहेछ भन्ने अनि उनीहरूलाई उनिहरुकै रुचिले आकर्षित हुँदै आध्यात्मिक उपस्थितिमा बस्न दिऔं। उनीहरूमा चेतना छ, भित्र आगो छ, बस् प्रेमपूर्वक, धैर्यपूर्वक, मौनपूर्वक त्यस आगोमा फूलहरू फुल्न दिनुपर्छ।

प्रतिबिम्बको फेवा

फेवा ! …

तिमी आज जल हौ कि आँखाको प्राचीन स्वप्न?

सुनौलो छालमा थरथराउँदै

कुन छाया झरेको हो,

संसार बिर्सन खोज्दा सम्झना भएर?

सूर्य त डुबेको मात्र होइन,

शायद उ

सम्झनाहरूको थानमा विलिन भएको छ

त्यो अव्यक्त प्रण भएर,

जहाँ कुनै दिन प्रेमले भाषा गुमाउँछ

र मौन कविता बनिन्छ।

यी वरिपरि पहाडहरू

साक्षी मात्र होइनन्,

गवाही हुन् एउटा नबोलेको समर्पणको

जहाँ उकालोहरू

कहिल्यै नबुझेका अध्याय हुन्

र ओरालोहरू

संयमले उनेका प्रतीक्षा।

फेवा !

तिमी जल मात्र हैन,

एक अस्तित्व हौ

जहाँ प्रत्येक छाल

कसैको विस्मृत चेतनालाई चलाउँछ

र प्रत्येक चमक

कसैको मौन प्रार्थनालाई टल्काउँछ।

साँझको सुनौलो दीप,

तिमी त केवल प्रकाश होइनौ

एउटा गहिरो संवाद हौ,

जल र आकाशबीचको पुरानो गोप्य सन्धि,

जहाँ सूर्य हरेक साँझ

मृत्युको अभिनय गरेर

पुनर्जन्मको कथा लेख्छ।

त्यो सूर्य किरण,

जो तिमीमा झरेको छ

त्यो म होइन र?

मेरो अधुरो उत्तर,

तिमीले पढ्न नसकेको चिठी

वा त्यो गीत

जसको धुन हराउँदा पनि

अन्तिम हरफ बाँचिरहन्छ ?

फेवातालको अनुहार

नदी होइन आज,

यो त एउटा दीप हो

जलमा निभ्न नमान्ने।

जुनकिरी झैँ पिंजडामा कैद नभई

साक्षात् अस्तित्व बनेको।

गोधुलीको रङ्ग

यो रङ्ग होइन,

एक अन्तर्वार्ताको जामुन रस हो,

जहाँ सूर्य र जलले

एक अर्कालाई नाम बिना चिनेका छन्।

सोध न फेवा !

म किन हेरिरहेछु तिमीलाई यति लामो?

शायद

तिमी मेरो भित्रको प्रतिबिम्ब हौ

र म…

अझै पनि तिमीलाई आफ्नै आँखाले देख्न सिक्दैछु।

किनकि तिमी…

साँच्चै तिमी हौ त्यो मौन प्रतिक्षा ।

जसले मेरो अन्तरतमको व्रत लिएको छ,

अनि म…

तिमीभित्र

आफ्नै हराएको सूर्य खोजिरहेछु।

मेरी छोरीलाई नयाँ एकता बनाउँदैछु


एउटा नदी जस्तो बगेको हुँ
तर अहिले बाँध होइन,
पुल बनाउँदैछु
जुन पुलमा
उसका पाइलाहरूले
कुनै भेद नगरी
सारा पृथ्वी चुम्न सकून।


मेरो कविता होइन,
कविता भित्रको मौन भावना हो
म उसलाई अक्षर होइन
अर्थ सिकाउँदैछु,
जसले युद्ध होइन,
संवाद जन्माउँछ।

उसको आँखामा
म आकाश छरिरहेको छु
तर तारा होइन,
चेतनाका बिन्दुहरू
जसले सीमाहीन उज्यालो देख्न सकून।


नारी हो
तर म उसलाई ‘नारी’ बनाइरहेको छैन,
म उसलाई ‘पूर्ण’ बनाउँदैछु,
जहाँ कुनै विशेषण आवश्यक छैन।

उसको बोलीमा
गजलको लय होस्,
उसको हिँडाइमा
कविता बगोस,
तर म चाहन्छु
उसको स्पर्शमा दर्शन होस्,
र हृदयमा क्रान्ति।

म उसलाई
पाठ्यपुस्तक होइन,
पीडाको ऐतिहासिक सन्देश दिइरहेको छु
ताकि ऊ
विगतका आँसुहरूलाई
भविष्यका दीपमा परिवर्तन गर्न सकोस्।


मेरो रक्त होइन
मेरो पुनर्जन्म हो।

मात्र सन्तान होइन
सपना हो,
जसले मेरो अधूरो आकाश
पूरा गरिरहेकी छ।

म उसलाई
एक धर्म बनाउँदैछु
प्रेमको।
एक राष्ट्र बनाउँदैछु
करुणाको।
एक आन्दोलन बनाउँदैछु
मानवताको।

हो
म मेरी छोरीलाई नयाँ एकता बनाउँदैछु,
जहाँ सबै टुक्रा, सबै पीडा, सबै भेदहरू
ऊसँगै
एक स्वर, एक रंग, एक मन बनुन्।
जसले सबै तोडिएका टुक्राहरूलाई
फेरि एक बनाउँछ
जसले मलाई भित्र एक
बन्न सिकाउँदैछ
हो म मेरी छोरीलाई त्यही नयाँ
“एकता” बनाउँदैछु…❣️

बिर्सिन गारो भो, साथी!

बिर्सिन खोज्दा, मनले बनायो एक चित्र
न ओठले बोलेको, न आँखाले देखिएको,
तर आत्माले खिचेको त्यो रंगीन फेहरिस्त,
जहाँ तिमी थियौ, एक धून जस्तो,
गुनगुनिए पनि, नथाकिने आफ्नो पन जस्तो।
बिर्सिन गारो भो साथी!

फूल हराएको छैन, तर
त्यो एउटै गन्ध कताकता हरायो।
रात आउँछ, तर
तिम्रो सपना नै आउँदैन…
आकाश निलो नै छ,
तर तिमी सँगै हेरिएको त्यो बादल अब छेलिएको छ ।
बिर्सिन गारो भो साथी!

हावा चलिरहेछ अझै पनि
तर तिमीले छोडेको सासको लय छैन।
छायाँ आइरहेछन् मेरै पछि
तर तिमीले फर्किएको त्यो अन्तिम नजर… त्यो छैन।
बिर्सिन गारो भो साथी!

तिमी नाम होइनौ,
तिमी त एउटा ‘मौनता’ हौ
म भित्रको, म बाहिरको।
तिमी सम्झना होइनौ,
तिमी त एउटा ‘स्मृति-पूर्व आवाज’ हौ
जसलाई न सुन्न सकिन्छ, न भुल्न
मात्र ईन्द्रिय बिहिन लम्किएर महसुस गर्न।
बिर्सिन गारो भो साथी!

समय अगाडि बढ्छ,
तर तिमी, तिमी त ‘अघिल्लो क्षण’मा जिउँदै छौ,
शरीरले हैन, श्वासले
भावनाले हैन, आत्माले
तृष्णाले हैन, अन्कन्डिस्नल प्रेमले ।
बिर्सिन गारो भो साथी!

म झुक्न तयार छु, साथी!

सहरको एकान्त छेउ, पुरानो अशोक रुखमुनि दुई छायाँहरू प्रायः चुपचाप भेटिन्थे। तिनीहरू न प्रेमी थिए, न साधारण मित्र। उनीहरू सम्बन्धको त्यो तहमा थिए जहाँ शब्दहरू बोझिलो लाग्थे र मौनता नै सबैभन्दा साँचो संवाद थियो।
हुँदाखेरि पनि गन्थनमा उनिहरुका कुरा हुन्नथे
खोइ कुन्नि अर्कै तेस्रो छायाँको
जसले ती छायाँलाई भेटाइदिएको थियो
अन्कण्डिस्नल प्रेम भेटिने गरी
आँफुलाई नै मेटिने गरी
परमसत्य खोजिने गरी …

“धन्दा नमान साथी! म छु नि,” पहिलो छायाँले भन्यो, स्वर नभएको स्वरमा।

दोस्रो छायाँ चुपचाप मुस्कायो जसरी सुनको पत्रमा बिहानको उज्यालो मुस्काउँछ।
…. ….

तिनीहरूको सम्बन्ध कुनै कथा होइन, एक यात्रा थियो। न कुनै आरम्भ, न अन्त्य। एक समर्पण, जसमा एउटा आत्माले आफैलाई बिसाउने ठाउँ खोजेको थियो—अर्को आत्माको मौन स्वीकारमा।

कहिलेकाहीँ ती दुई छायाँ छुट्टिन्थे, तर सधैँ एउटै समयपछाडि फर्किन्थे—त्यही रुखमुनि, त्यही मौनको घेरामा।

“किन फर्किन्छौ बारम्बार?” एकदिन एक छायाँले सोध्यो।

“किनभने म झुक्न सक्छु नि,” उत्तर आयो, जस्तै गहिरो नदीको भित्री बहाव, जसलाई बाहिर शान्त देखिन्छ तर भित्र बलवान् बगिरहेछ…

तिम्रा पदचाप

तिम्रा सुस्तरी पदचापहरू,
शून्यमा बगेका लहर झैँ,
मनको अड्को झ्याल खोल्दै
तिमीलाई सुन्छु, देख्दिनँ…

पाखुरोमा झरेका मधुर साँझहरू,
जुनमा हराएका कागजका चिठीहरू,
हावा भित्र मिसिएका स्पर्शका सन्देशहरू
सबै तिम्रा पाइला बनेर आउँछन्
सुस्तरी सुस्तरी…
महसुस हुन्छ जताततै,
छाम्न लम्किन्छन् इन्द्रियहरू
तर भेट्दैनन्….

तेल दियोमा थपिरहेछु!!

जिन्दगी संसारी भइ  बाँचिरहेथ्यो,

चुपचाप-चुपचाप बगीरहेथ्यो,

मधुरो बत्तीको धुमीलता मै,

जीवन आफैँमा सुस्ताइरहेथ्यो!!

तर,

क्षितिजको लालीमामा हेर्दा-हेर्दै,

त्यही लालीमा दिलमा सजाउन पुगेछु,

उज्यालो पाउने आसमा आज,

तेल दियोमा थपिरहेछु!!

 

बेदनाको अनिभुती के हो..?

मृग मरीचिकामा बाचिरहेछु,

मधुरो बत्ती उज्यालो बनाउन,

तेल दियोमा थपीरहेछु!!

 

अवलोकन भित्र अवलोकन गर्दै,

आवाज तिम्रो सुनिरहन्छु,

 आवाज सङ्गै बग्ने तरङ्गहरुले

आफै भित्र हराइ पो दिन्छु!!

 

शुन्यताको अनुभुती कहाँ खोजु ?,

सम्बेदनाहरु सल्बलाई दिन्छन,

सम्बेदनाभित्र स्थिरताको

झिल्को सानो धिप-धिप गर्छन!!

 

भाव भइ छिपेका दर्दहरुसँग,  

गीत तिम्रो गुनगुनाइ रहन्छु,

भावको बिस्तारै नै चेतना हो भने,

तेल दियोमा थपिरेहेछु!!

श्रद्धा सहितको ज्ञान

ज्ञान!
तिमी उज्यालो किरण हौ,
अज्ञानको अँध्यारोलाई चिर्दै
सत्यको आँगनमा प्रवेश गराउने दीपशिखा हौ ।

तर श्रद्धा बिना तिमी अधुरो देखिन्छौ,
किनभने नतमस्तक नभएसम्म
बुद्धिले सत्य चिन्दैन,
शब्दले जीवन चलाउँदैन
शब्दमा भाव जोडिनै पर्छ
भावले श्रद्धा बनाउनै पर्छ।

श्रद्धा बिना ज्ञान रुखो रूख जस्तो,
फल नलाग्ने,
जसको हाँगाहरू घमण्डले भरिए पनि
जीवनलाई शीतलता दिन सक्दैन
हृदयलाई सौन्दर्यले रंग्याउन सक्दैन ।

जब श्रद्धा ज्ञानसँग मिल्छ,
त्यसको सुगन्ध आत्मामा बस्छ,
अहंकारको पर्दा च्यातिन्छ,
र हृदय स्वयं ब्रह्मको दर्पण बन्छ।

हे श्रद्धा!
तिमी ज्ञानको प्राण हौ,
जसले विज्ञानलाई साधन,
र आध्यात्मलाई साध्य बनाउँछ।

साँचो ज्ञान त त्यही हो,
जहाँ श्रद्धामा त्यो झुकेको छ,
शास्त्र र गुरु सहितमा डुबेको छ
र आत्मा परम सत्यतिर लम्केको छ
अनि अन्कण्डिस्नल लभमा फक्रेको छ ।

होस सम्हाल् नेपाली

कता जाँदै छ मेरो देश

बाँकी रहला कि,नरहला केही शेष।

खोई कसलाई पो,दिनु र आखिरमा दोष

बेला हो सम्हाल्नु पर्ने सबैले होश।

कोही भन्दछन् राजा आऊ

कोही भन्दछन् गणतन्त्र बचाऊ।

अहिले सबले जसको विरोध गर्छन्

चुनाव आए उसैलाई भोट दिन्छन्।

सबलाई चाहिने आखिरमा सत्ता हो

मात्र खाने तलब र भत्ता हो।

पार्टीका कार्यकर्ता मात्र जनता हुन् रे

अरू बाँकी सब किरा फट्याङ्ग्रा हुन् रे।

कसैलाई छैन देशको माया

गाभिन बेर नलाग्ला,दायाँ र बायाँ।

खोई कहिले जाग्ने हो हामी नेपाली

तराई, पहाड, हिमाली।

देश डुब्छ नत्र भने।

भ्रष्ट नेता लाई दण्डित गरेनौँ भने॥

भ्रष्ट नेता लाई दण्डित गरेनौँ भने॥

हामी  सबै  आप्रबासी

आप्रबासी  बने बा,पाहाड बाट  तराई  झरेर।

साईला  काका  आप्रबासी, गांउ बाट सहर पसेर॥

बास्तबमा मानब जाती,सबै नै आप्रबासी

कुन दुनिया बाट झरीकन, भयौं धर्तिबासी

सुख खोज्न मान्छेहरु ,नयां ठाउं जान्छन।

के चाहिं सुख पाइन्छ होला, भनिकन ठान्छन॥

मानिस नया ठाउं नया,सबै कुरा गार्हो।

पैसा कमाई खुसी किन्न,झनै पर्छ सार्हो॥

हामी भयौं आप्रबासी,देश छोडी बिदेशतिर आयौं।

घोत्लिएर सोच्छु कैले, आप्रबासी बनि आखिर के पो पायौं॥

आफ्ना कोही हुन्नन याहां,कस्को भर पर्नु॥

ज्यानको बाजी , लगाइकन सघंर्ष छ गर्नु।

ज्यानको बाजी , लगाइकन सघंर्ष छ गर्नु।