Blog

आफ्नो ध्यानमा नियन्त्रण हुनु नै सफलताको मुख्य सूत्र हो

जीवनको सबैभन्दा बास्तविक गहिरो खोज बाहिर होइन, भित्र पट्टि शान्तस्थल तिर हुनु पर्ने रहेछ, जहाँ च्याउँदा हृदयले विवेकको मित्रत्व भेटिने सम्भावना बोक्ने रहेछ जुन आत्मिक ध्यानले निर्देशित गर्दै सुमार्ग तर्फ डोहोर्याउँछ जस्तो लाग्छ। जसलाई सफलता भनिन्छ, त्यसको बाटो कुनै बाहिरी सीढीमा होइन, भित्री चेतनाको मौन यात्रामा खुल्दोरहेछ। यस्तो लाग्छ कि जब ध्यान भित्र फर्किन्छ, जीवन बाहिर स्वतः मिल्न थाल्छ र जब ध्यान बाहिर भड्किन्छ, जीवन अलमलिन थाल्छ।

गीता पढ्दा यस्तो अनुभूति हुन्छ, श्रीकृष्ण अर्जुनसँग युद्धको कुरा गरिरहेका छैनन्, उनी त भित्रको युद्धलाई शान्त पार्ने कला फुसफुसाइ रहेकाछन् । गीता भन्छ, “उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत्” आफूलाई आफैंले उचाल, आफैंले गिराउन नदेऊ। यो वाक्यले यस्तो सङ्केत दिन्छ, उन्नति र पतन दुवैको चाबी बाहिर होइन, आँफूभित्रै छ। फेरि अर्को ठाउँमा कृष्ण भन्छन्, “मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः” मन नै बन्धन पनि हो, मुक्ति पनि हो। मतलव मन नै ढोका हो, कुन दिशातिर खोल्ने भन्ने कुरा ध्यानले तय गर्छ।

कहिलेकाहीँ घरबाट अफिसतिर हिँड्दा, कुनै अदृश्य घडीले गति बढाइदिएको जस्तो हुन्छ । हस्याङ्ग फस्याङ्ग कोट, पाईन्ट, जुत्ता सबै यान्त्रिक तालमा मिल्दै जान्छन् । हाजिरी, हाकिम, फाईलका पानाहरु, ग्राहकहरु, बाटो पार गर्ने दूरिहरु, यी सबै एकपछि अर्काे दृश्य झैं मनको पर्दामा सरिरहेका हुन्छन् थाहै नपाई । बाईकको स्टाटरमा बेहोसीमै औंला थिचिन्छ, ध्वाँईँयँ … आवाजसँगै शरिर अघि बढ्छ तर एकाएक चेतना भने पछि नै छुटे झैं लाग्छ जब अलि पर पुगेर, पर्खालबाट च्याउँदै गरेको एउटा सानो बिरालो पुच्छर लुकाउँदै बाटुलो अनुहार टिलिल्ल टल्किएका नयनले हृदय मै कोट्याइदिन्छ र सँगैको एक झुप्पामा बगनबेलीका गुलाबी गुच्छा फुल, ‘चुमी हेर त!’ भने झैं गरी लत्रिएर बाटोतिर झुकेको भेटिन्छ । झल्याँस्स भएर महसुस हुन्छ कुनै मेसिनजस्तो हुँइँकिएको रहेँछु र जीवन भने सौन्दर्यको अविर्भावले शान्त रुपमा मुस्कुराइरहेकै रहेछ । अनि लाग्छ होसमा आउन कि हृदयात्मक आयामले प्रेम भाव च्वास्स छुनै पर्ने रहेछ कि त बेदनाले घोच्नै पर्ने रहेछ या त Maximum Effort लाएर आँफूलाई इन्टेशनल्ली होसमा ल्याउनै पर्ने रहेछ नत्र अनुपम स्वामी किन एकाबिहानै देखि रातबिरात पनि कुर्लिएर सिकाइरहन्छन् त!

उपनिषदहरू पढ्दा यस्तो लाग्छ, ती कुनै पुस्तक होइनन्, ती त मौनसँग गरिएको संवाद जस्ता हुन्। कठोपनिषदमा भनिएको छ, “उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत” उठ, जाग, र श्रेष्ठ जनबाट सत्यलाई बुझ। यो वाक्यले यस्तो अनुभूति गराउँछ, कसैले बाहिरबाट बोलाइरहेको छैन, भित्रै कतै निदाएको चेतना विस्तारै जाग्दैछ। फेरि अर्को श्लोक भन्छ, “यदा सर्वे प्रमुच्यन्ते कामा येस्य हृदि श्रिताः, अथ मर्त्योमृतो भवत्यत्र ब्रह्म समश्नुते” जब हृदयमा बस्ने सबै कामनाहरू फुक्छन्, तब यहीँ अमरत्वको स्वाद भेटिन्छ। मतलव मुक्ति कुनै टाढाको गन्तव्य होइन, ध्यान शुद्ध हुँदा यहीँ फुल्ने फूल रहेछ। बुद्ध धर्मको त्रिपिटकमा पनि यही मौन संकेत भेटिन्छ। धम्मपद भन्छ, “चित्तं दन्तं सुखावहं” संयमित मन नै सुखको वहनकर्ता हो। अनि फेरि भन्छ, “मनपूर्वङ्गमा धम्मा मनसेट्ठा मनोमया” सबै कर्म मनबाट अघि बढ्छन्, मनले नै सबै बनाउँछ। यी वाक्यहरूले यस्तो देखाउँछन् कि संसार बदल्ने उपाय बाहिर खोज्न होइन, आफ्नै मनको दिशालाई शान्त पार्न फुसफुसाइँदैछ ।

Van Gogh का चित्रहरू हेर्दा यस्तो लाग्छ, उनले रंगले होइन, ध्यानले चित्र कोरेका हुन्। उनका शब्दहरू सम्झिँदा, “I put my heart and soul into my work, and I have lost my mind in the process.” यस्तो सुनिन्छ हृदय र आत्मा काममा राख्दा ‘म’ हरायो। यसले यस्तो अनुभूति गराउँछ कि जहाँ ‘म’ हराउँछ, त्यहाँ कला जन्मिन्छ, जहाँ कला जन्मिन्छ, त्यहाँ ध्यान मौन रूपमा बगिरहन्छ। कुमार गन्धर्वको गायन सम्झिँदा यस्तो लाग्छ, त्यो स्वर होइन, चेतनाको स्पन्दन हो। उनका भावसँग मेल खाने वाक्य जस्तै लाग्छ, “संगीत मेरो साधना हो, म गायन गर्दिन, म आफूलाई गायनमा अर्पण गर्छु।” यसले यस्तो सङ्केत दिन्छ कि त्यो गायन होइन, त्यो त ध्यानको प्रवाह हो, जसमा गायक स्वयं हराएर सुर मात्र बाँकी रहन्छ। एलन मस्कको भनाइ पनि यही भावसँग गाँसिएको जस्तो लाग्छ, “When something is important enough, you do it even if the odds are not in your favor.” अर्थात् कुनै कुरा पर्याप्त महत्त्वपूर्ण भयो भने, अनुकूल परिस्थिति नहुँदा पनि त्यो गरिन्छ। यो केवल साहसको कुरा होइन, यो ध्यानको गहिरो निष्ठाको कुरा हो, जहाँ लक्ष्यभन्दा ठूलो चेतना हुन्छ।

गुर्जिएफ भन्छन्, “Man lives his life in sleep, and in sleep he dies.” अर्थात् मानिस निद्रामै जीवन बिताउँछ, र निद्रामै मर्छ। यसले यस्तो बुझाउँछ कि ध्यान बिना जीवन एक किसिमको सपना रहेछ। P.D. Ouspensky भन्छन्, “Self-remembering is the beginning of awakening.” अर्थात् आत्मस्मरण नै जागरणको सुरुवात हो। यसले यस्तो देखाउँछ कि ध्यानको पहिलो स्पर्श नै आफूलाई सम्झनु हो। ओशो भन्छन्, “Meditation is not a method, it is a state of consciousness.” अर्थात् ध्यान कुनै विधि होइन, यो चेतनाको अवस्था हो। ध्यान कुनै क्रिया होइन, ध्यान त एक मौन उपस्थिति हो, जसमा मानिस गर्छ भन्दा बढी हुन्छ। नेपालका योगी परम्पराका स्वरहरू सुन्दा पनि यही अनुभूति हुन्छ। गोरखनाथको भाव यस्तो सुनिन्छ, “घरमै बसेर योग गर्न सकिन्छ, जंगल भाग्नु पर्दैन।” नरहरिनाथको उपदेश यस्तो झल्किन्छ, “धर्म बाहिरको कर्म होइन, भित्रको चेतनाको अवस्था हो।” यी वाक्यहरूले यस्तो महसुस गराउँछन् कि ध्यान संसारबाट अलग हुनु होइन, संसारसँग अझ गहिरो रूपमा जोडिनु हो।

अनुपम स्वामी भन्छन्, “The answer is a state, not a word.” अर्थात् उत्तर कुनै शब्द होइन, बरु एउटा अवस्था हो। यसले यस्तो देखाउँछ कि साँचो उत्तर किताबमा होइन, चेतनामा बगिरहन्छ। उनी फेरि भन्छन्, “Self-remembering is the doorway to all higher states.” अर्थात् आत्मस्मरण नै सबै उच्च अवस्थाहरूको ढोका हो। अनि अर्को ठाउँमा भन्छन्, “When concepts drop, clarity remains.” अर्थात् अवधारणा झर्दा, स्पष्टता बाँकी रहन्छ। यी वाक्यहरूले यस्तो बुझाउँछन् कि ध्यान अवधारणाबाट अनुभूतितर्फ बग्ने नदी हो।

यसरी हेर्दा, गीता, उपनिषद, त्रिपिटक, बुद्ध, गोरखनाथ, ओशो, गुर्जिएफ, Ouspensky, अनुपम स्वामी, Van Gogh, कुमार गन्धर्व, एलन मस्क सबैले फरक शब्द, फरक माध्यम र फरक संस्कृतिमा एउटै मौन सत्यलाई स्पर्श गरिरहेका छन् जस्तो लाग्छ। त्यो सत्य यस्तो छ – ध्यान जहाँ स्थिर हुन्छ, त्यहाँ जीवन आफैँ सन्तुलित हुन थाल्छ। ध्यान ठीक भयो भने सोच नरम हुन्छ, भावना शुद्ध हुन्छ, सम्बन्ध गहिरो हुन्छ। जब ध्यान स्थिर हुन्छ, तब केवल मानिससँग मात्र होइन, बोटबिरुवा, पशुपंक्षी, नदी, पहाड, आकाश र सम्पूर्ण प्रकृतिसँग पनि हृदयको नदेखिने, नबोलिने तर निरन्तर महसुस भइरहने सम्बन्ध जोडिन्छ। त्यो सम्बन्ध शब्दमा भन्न सकिँदैन, तर मौनमा बाँचिरहन्छ। अन्ततः, यस्तो अनुभूति हुन्छ सफलता कुनै बाहिरी जित होइन, भित्रको जागरण रहेछ। ध्यान जहाँ प्रेममा रूपान्तरण हुन्छ, त्यहाँ जीवन पनि प्रेममै रूपान्तरण हुन्छ। आफ्नो ध्यानमा नियन्त्रण हुनु नै जीवनको सबैभन्दा मौन, सबैभन्दा गहिरो, सबैभन्दा सुन्दर सफलता हो ।

एउटा साथीले चित्र कोरेर पठाइरहने गरेको, अर्काे साथीले मादलकै तालमा गुरु र इश्वर प्रति भावविह्वल भएर कविता बाचन गरेको, अर्काे साथीले म त घोटिइराछु साथी भन्दै देवीको तश्विरमा झुकिरहेको फोटो पठाइरहेको, विभिन्न बोटविरुवामा पानी पटाउँदै गरेको, अर्काे साथीले गितारको तरङ्गमा हमिङ्गको स्वाद भेट्टाएको कुरा गर्दा अनि एउटा साथी विदेशको सयौं तल्लाको झ्यालबाट रेशमी पर्दा सारेर कता होला आकाश र कता होला धर्ती खोज्दै गुरुश्रद्धाले ओतप्रोत भई कतै धर्तीमा झरी, मैले आज त थुचुक्क माटोमा बसेर आकाश तिर फर्किएर स्वामी जी सम्झेर लामो सास फेर्दै हेरिरहेँ भनी कविताकै भावमा बोलेको सम्झिँदा अनि भर्खरै कार्यस्थलमा एउटा ग्राहकले हतारिँदै डिमान्ड गरेको सेवा, सूचना, जानकारी दिन प्रयासरत मेरा हस्तरुपी Physical Mind, अनेक प्रक्रियाको बारेमा कोरलिँदै गरेका बिचाररुपी Intellectual Mind र तीनका हृदयलाई छुन सकेका भावयुक्त Emotional Mind लाई एकैचोटी क्याच भएर म त दंग पर्दै एकाएक गीत गाउन थालेँछु, “म त लालीगुराँश भएँछु, वनै भरि फुलिदिन्छु, मनै भरि फुलिदिन्छु ….”

(“Notes from Morning Healing sessions, अनुपम” को हरफलाई हृदयले निहाल्दा)

सस्तो लोकप्रियताबाट जोगिनुहोस्

आजको समय लोकप्रियताको समय जस्तै नै प्रायः देखिएको छ । सामाजिक सञ्जाल, भिडभाड, ताली, लाइक, कमेन्ट, यी सबैले मानिसलाई छिट्टै लोकप्रिय देखिने बनाइदिन्छन् तर प्रश्न उठ्छ, के देखिनु नै सफल हुनु हो त ? के सस्तो रुपमा लोकप्रिय हुनु नै, मानिनु नै सार्थक जीवन हो त ?

मानव जीवनको यात्रा केवल देखिनु, चिनिनु र प्रशंसा पाउनुमा मात्रै पक्कै पनि सीमित छैन। जीवनको वास्तविक सार त बोध, करुणा, सत्य र आत्मिक शुद्धतामा निहित हुनु पर्दछ भन्ने लाग्दछ तर आजको युगमा मानिस सजिलै सस्तो लोकप्रियताको आकर्षणमा फसिरहेको देखिन्छ। बाहिरी चमक, ताली, प्रशंसा, पद र प्रतिष्ठालाई नै सफलता ठान्ने प्रवृत्ति बढ्दो छ तर यस्ता उपलब्धिहरू क्षणिक हुँदा रहेछन्, स्थायी शान्ति दिन सक्दैनन्।

दुर्गम पहाडमा जन्मिएर आमाको पिठ्युँ पछाडि सानो डोकोमा बोकिएर बाउ, दाजु, भाउजु, दिदीहरुको पछि लाग्दै सानैमा तराईको गाउँमा झरेर हुर्किएको एक मानव रुपी बालकको जीवन अलि सानै छँदा फराकिलो धुलाम्य आँगनमा नांगा शरिरका रालसिगानले लत्पतिँदै जाँगरिला कोमल हातले झिक्रो समाएर स्वतन्त्रताका चिन्हहरु कोर्न भ्याए पनि छिट्टै त्यो स्वतन्त्रतामा हनन् हुन थाल्छ र अलि बढेको कहल्याइएर बाल्यकाल देखि नै प्रतिस्पर्धाले घेरिएको हुन्छ। स्कुल जीवनदेखि राम्रो अंक, राम्रो स्थान र राम्रो पहिचान प्राप्त गर्नुपर्ने दबाब थोपरिन थाल्यो। बाहिरबाट हेर्दा त्यो सफलता जस्तो देखिन्थ्यो, तर भित्रभित्रै तनाव, तुलना र असन्तोष बढ्दै गएको थियो। विस्तारै उच्च शिक्षा हाशिल गर्न शहर पस्नै पर्छ भन्ने टिनेज जस्तो उर्वर समयमै देखासेखी र दबाबले नै तुल्याइयो। यहाँ पनि जीवनको ध्येय पढाइ, जागिर, विवाह, पद, प्रतिष्ठा र सामाजिक मान सम्मानमै केन्द्रित रह्यो। जीवन बाँच्नभन्दा देखिनतर्फ बढी उन्मुख भयो। यसरी नै अनजानमा सस्तो लोकप्रियताको भीडमा जन्मजात स्वतन्त्रता आर्जन गर्दै चेतना विस्तारको नैसर्गिक अधिकार बोकी ल्याएको र त्यस बिरुद्ध गर्भमा रहँदा होस् या धर्तिमा प्रवेश गर्दा होस् कसैसँग कुनै सम्झौता, तमसुक नगरेको भएपनि अप्रत्यक्ष रुपमा Pure नेक्टरको घोलमा Slow पोईजन घोलेरै मिसाइयो । हुनत त्यसो हुनुमा अज्ञानता, अनभिज्ञता नै कारक थियो पक्कै पनि किनभने लगभग समग्र समाजले नै खाएको जे थियो त्यहि त मिसाएको थियो होला । विस्तारै विस्तारै उमेर त बढेकै भान हुँदै थियो जसको सूचक समयले कोरिदिएको जुँगा, दारी, कपाल र छालाहरु सहितको कदले देखाइरहेका थिए तरपनि ती भित्र गुजुल्टिएर रुमलिएको अर्काे Unhealed बच्चा घरि चिच्चाउँथ्यो त घरि पिर्साेलिन्थ्यो र असरल्ल यत्रतत्र छरपष्ट छरिन्थ्यो ।

तर समयसँगै एउटा गहिरो प्रश्न मनमा उठ्न थाल्यो, “के म साँच्चै बाँचिरहेको छु, कि केवल देखिन खोजिरहेको छु ?” यही प्रश्नले जीवनलाई नयाँ दिशातर्फ मोड्न थाल्यो। बाहिरी उपलब्धिभन्दा भित्री शान्ति, मानव रुपी कुनै नाम भन्दा मानव बन्ने अभ्यास र अहंकार बढ्ने प्रशंसा भन्दा परम सत्यको खोज महत्वपूर्ण हो कि भन्ने दृष्टि ठहरिन थाल्यो।

वैज्ञानिक दृष्टान्तले पनि यही सत्य पुष्टि गर्छ। प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका थिए, “Try not to become a man of success, but rather try to become a man of value.” अर्थात् सफल व्यक्ति बन्नुभन्दा मूल्यवान व्यक्ति बन्नु ठूलो कुरा हो। ग्रेगर मेन्डल जीवनभर प्रायः अपरिचित रहे, तर आज उनी आनुवंशिकीका पिता मानिन्छन्। यदि उनले तत्काल लोकप्रियताको खोज गरेका भए, सम्भवतः मानव सभ्यताले यस्तो महान ज्ञान प्राप्त गर्ने थिएन। यसले स्पष्ट देखाउँछ कि लोकप्रियता होइन, मूल्य सृजना नै साँचो सफलता हो।

कला र साहित्यको इतिहास पनि सस्तो लोकप्रियताको भ्रमलाई तोड्ने उदाहरणहरूले भरिएको छ। भान गोग जीवनभर उपेक्षित र अप्रसिद्ध रहे, तर आज उनका चित्र संसारकै अमूल्य कृति मानिन्छन्। रवीन्द्रनाथ टैगोर, लक्ष्मी प्रसाद देवकोटा, कुमार गन्धर्व जस्ता स्रष्टाहरूले भीडको स्वादअनुसार होइन, हृदयको आवाजअनुसार सिर्जना गरे। सस्तो लोकप्रियताको खोजमा सिर्जना गरिएको कला क्षणिक हुन्छ तर आत्माबाट निस्किएको सिर्जना युगौंसम्म जीवित रहन्छ। साँचो संगीत त्यो हो, जसले कान मात्र होइन, हृदय छुन्छ; मनोरञ्जन मात्र होइन, चेतना जागृत गर्छ। जसरी संगीतमा सस्तो तालीभन्दा शुद्ध सुर मूल्यवान हुन्छ, त्यसरी नै जीवनमा सस्तो प्रशंसाभन्दा साँचो साधना मूल्यवान हुन्छ।

राजनीति र समाज सेवाको क्षेत्रमा पनि लोकप्रियताभन्दा मूल्यलाई प्राथमिकता दिने व्यक्तिहरू नै इतिहासमा अमर भएका छन्। महात्मा गान्धी, नेल्सन मण्डेला, अब्राहम लिंकनजस्ता महान व्यक्तित्वहरूले पद, सत्ता वा प्रशंसाभन्दा सत्य, न्याय र मानवताको मार्ग रोजे। गान्धीजीले भनेका थिए, “In a gentle way, you can shake the world.” सस्तो लोकप्रियताको खोजमा लाग्ने धेरै नेता क्षणिक रूपमा चम्किए, तर इतिहासले उनीहरूलाई बिर्सियो। मूल्यका लागि जिउनेहरू भने मानव चेतनामा सदैव जीवित रहन्छन्।

आध्यात्मिक परम्परामा त सस्तो लोकप्रियताको पूर्ण अस्वीकार गरिएको छ। उपनिषदमा भनिएको छ, “नायमात्मा प्रवचनेन लभ्यः…” अर्थात् आत्मा धेरै बोलाइ, प्रचार वा प्रदर्शनबाट होइन, आन्तरिक शुद्धता र साधनाबाट प्राप्त हुन्छ। भगवान बुद्ध, रामकृष्ण परमहंस, रमण महर्षिजस्ता सन्तहरूले प्रचार होइन, प्रकाश फैलाए। उनीहरूको मौन नै संसारका लागि सबैभन्दा ठूलो उपदेश बन्यो।

श्रीमद्भगवद्गीतामा भगवान कृष्ण भन्छन्, “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।” यस श्लोकले सस्तो लोकप्रियताको जरा नै काटिदिन्छ। फलको लोभ नै मानिसलाई प्रदर्शन, तुलना र प्रतिस्पर्धामा फसाउँछ। तर कर्तव्यमा समर्पित हुँदा फल आफैं आउँछ। फलको पछि दौडिँदा आत्मा हराउँछ, तर कर्ममा स्थित हुँदा आत्मा प्रकट हुन्छ।

व्यक्तिगत जीवनमा पनि यही सत्य क्रमशः स्पष्ट हुँदै गयो। दुर्गम पहाडबाट तराई, तराईबाट काठमाडौंसम्मको यात्रा केवल भौगोलिक मात्र थिएन; यो चेतनाको यात्रा पनि थियो। बाल्यकालमा अंक र स्थानको दौड, युवावस्थामा पढाइ, जागिर, विवाह, पद र प्रतिष्ठाको खोज, यी सबैले जीवनलाई बहिरमुखी बनाएको थियो। तर जीवनले कृपा गरेर एउटा मोड दियो: विशुद्ध आध्यात्मिक अभ्यास र साधनाको पद्दति र एक योग्य मार्गदर्शक गुरु प्राप्त भए। त्यहीँबाट जीवनको वास्तविक अर्थ बुझ्न थालियो, जिउनु भनेको देखिनु होइन, जिउनु भनेको बोधमा बाँच्नु हो। जीवनमा यस्ता अवसरहरू आए केहिकेहि भएपनि जहाँ थोरै सम्झौता गरेमा प्रशंसा, पद, नाम, सुविधा सहजै मिल्थ्यो होला तर अन्तरात्माले भन्नथाल्यो, “सत्यसँग सम्झौता नगर्नु, चाहे संसारले तिमीलाई बुझोस् वा नबुझोस्।”

अब प्रयास यही छ, व्यवहारिक सत्य र पारमार्थिक सत्यलाई मिलाउँदै, संसारमा रहँदै संसारभन्दा माथि रहने अभ्यास गर्न। नाम बनाउने भन्दा मानव बन्ने अभ्यासलाई प्राथमिकता दिन। लोकप्रिय बन्नेभन्दा पवित्र बन्ने बाटो रोज्न। सस्तो लोकप्रियताको खतरा स्पष्ट छ। यसले अहंकार बढाउँछ, तुलना बढाउँछ, अस्थिरता बढाउँछ र आत्मालाई कमजोर बनाउँछ। विपरीत रूपमा, साँचो साधनाले नम्रता बढाउँछ, स्थिरता बढाउँछ, करुणा बढाउँछ र चेतनालाई शुद्ध बनाउँछ।

अन्ततः निष्कर्ष यही देखियो कि आज सस्तो लोकप्रियतामा देखिनु सजिलो छ, तर मानव बन्नु कठिन छ। आज नाम बनाउन सजिलो छ, तर निर्मल हृदय बनाउनु कठिन छ। त्यसैले जीवनको लक्ष्य सस्तो लोकप्रियता होइन, साँचो पवित्रता हुनुपर्छ। भीड होइन, चेतनाको बाटो रोज्नुपर्छ। प्रशंसा होइन, परम सत्यको सान्निध्य खोज्नुपर्छ। जसरी दीपकले तालीको अपेक्षा नगरी अन्धकार हटाउँछ, त्यसरी नै मानव बन्ने अभ्यासमा मौन रूपमा उज्यालो फैलाउने प्रयास नै साँचो सफलता हो भन्ने विस्वास लाग्न थालेको छ ।

(“Notes from Morning Healing Sessions by अनुपम” बाट ‘सफलता’ विषय अन्तर्गत को एक हरफलाई हृदयले नियाल्दा)

सफलता : बाहिरको खेलदेखि भित्रको जागरणसम्म

सानो छँदा मेरो जीवनको परिभाषा निकै सरल थियो, “जित्नु”। फुटबल खेल्दा विपक्षीलाई जित्नु, धेरै गोल हान्नु, उनीहरूलाई गोल हान्न नदिनु। कक्षामा अरूभन्दा बढी marks ल्याउनु, राम्रो position लिनु। ठूलो भएपछि धेरै पैसा कमाउनु, राम्रो post को जागिर खानु, समाजमा मान-सम्मान पाउनु, राम्री केटीसँग बिहे गर्नु, एक एक वटा राम्रा र स्वस्थ छोरा र छोरी जन्माउनु , बिना कडा परिश्रम नै सुख सयल, विलाशी जीवन विताउन पाउनु यिनै थिए मेरा बाल्यकालदेखि युवावस्थासम्मका सपनाहरू। त्यो बेला मलाई लाग्थ्यो सफलता भनेको अरूभन्दा अगाडि हुनु हो। माथि पुग्नु हो। थप पाउनु हो। तर समयले मलाई थोरै थोरै त्यही बाटो हुँदै हिंडाउँदै लग्यो, र अन्ततः त्यही बाटोले मलाई थकाइमा पुर्‍यायो। जित्दै जित्दै, कमाउँदै कमाउँदै, म भित्र कतै हार्दै गइरहेको रहेछु, आफ्नै शान्ति, आफ्नै सन्तुलन, आफ्नै सरलता।

उपनिषद भन्छ, “असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय।” (असत्यबाट सत्यतर्फ, अन्धकारबाट प्रकाशतर्फ, मृत्युबाट अमरत्वतर्फ लैजाऊ।) त्यो बेला मलाई लाग्थ्यो, यो मन्त्र कुनै धर्मग्रन्थको काल्पनिक कविता मात्र हो तर आज बुझ्दैछु, यो त जीवनको नै दिशासूचक रहेछ। जब सही आध्यात्मिक अभ्यास, साधना पद्धति र गुरु भेटिए र अलि अलि आफ्नै मन, आफ्नै चेतना र जगतलाई हेर्ने दृष्टिकोण बदलिन थाल्यो, त्यसपछि मात्र थाहा हुन थाल्यो । म जसलाई सफलता ठान्दै आएको थिएँ, त्यो त समय र स्थानमा सीमित, क्षयमा जाने वस्तु मात्र रहेछ।

गीता भन्छ, “न कर्मणामनारम्भान्नैष्कर्म्यं पुरुषोश्नुते।” (कर्म नगरेर मानिस सिद्धिमा पुग्दैन।) र यही गीता फेरि भन्छ, “योगः कर्मसु कौशलम्।” (योग भनेको कर्ममा कुशलता हो।) यहाँको कुशलता बाहिरको मात्र होइन भित्रको जागरणसँग जोडिएको कुशलता हो। विस्तारै विस्तारै, थोरै थोरै केहि न केहि भएपनि बुझ्न थालेँ, ध्यानमा नियन्त्रण हुनु नै सफलताको मुख्य सूत्र रहेछ। ध्यानले कार्यकुशलता दिन्छ, कार्यकुशलताले जीवनलाई सन्तुलन दिन्छ र सन्तुलनले मनलाई शान्ति दिन्छ।

म पहिले सुख खोज्थें, सुख सुविधा, सुख सामग्री, सुख प्रशंसा। तर समयसँगै बुझ्दै गएँ, सुखभन्दा सन्तुष्टि ठूलो रहेछ। सुख क्षण हो, सन्तुष्टि अवस्था हो। संयम, नियम र अनुशासनलाई मैले पहिले बाध्यता ठानेको थिएँ तर आज बुझ्दैछु, यिनैले ऊर्जालाई उर्ध्वगामी बनाउँछन्। उपनिषद भन्छ, “ऊर्ध्वमूलमधःशाखमश्वत्थं प्राहुरव्ययम्।” (यो संसारलाई उल्टो रुखजस्तो भनिएको छ – जरा माथि, हाँगा तल।) ऊर्जालाई तल होइन, माथि फर्काउनु नै आध्यात्मिक विज्ञान हो। वैज्ञानिक दृष्टिले हेर्दा पनि यही कुरा देखिन्छ।थोमस अल्वा एडिसनले हजारौँ पटक असफल हुँदा पनि हार मानेनन्। उनले भने “I have not failed. I’ve just found 10,000 ways that won’t work.” उनको सफलता कुनै एक दिनको उपलब्धि होइन, निरन्तर ध्यान, प्रयास र धैर्यको परिणाम थियो। न्युटनले रूखबाट झरेको स्याउलाई केवल फलको रूपमा हेरेनन्, त्यसमा ब्रह्माण्डको नियम देखे। आइन्स्टाइनले समय र स्थानलाई घडी र मापनको सीमाबाट मुक्त गरेर चेतनाको नयाँ आयाम खोले। एलन मस्कले आज पनि असम्भव देखिने सपना देखेर मानव चेतनालाई अन्तरिक्षसम्म विस्तार गर्दैछन्। यी सबैको जीवनमा एउटै साझा तत्व देखिन्छ: गहिरो ध्यान, निरन्तरता, र सृजनात्मक अवस्था।सृजनात्मक प्रक्रियाको लागि ध्यानको अवस्था अनिवार्य हुन्छ। जहाँ मन शान्त हुन्छ, त्यहाँ विचार गहिरो हुन्छ र त्यहाँबाट नयाँ अवस्था जन्मिन्छ। सिक्ने काम कहिलेकाहीँ पीडादायक लाग्छ। तर त्यो पीडादायक होइन बरु हाम्रो कुनै भाग अल्छी भएको हो। सन्त कबीरले भनेझैँ, “धीरे धीरे रे मना, धीरे सब कुछ होय।” धैर्य नै शिक्षाको गर्भ हो। असारमा वर्षा जस्तै, अद्भुत कुराहरू व्यक्तिहरूको सहकार्यले सृजना भएका हुन्। तर ती वर्षाहरूको बीउ पहिले बादलभित्र, पहिले आकाशभित्र, पहिले मौनभित्र तयार हुन्छन्। गहिरा कामहरू एकान्तमा हुन्छन्। जस्तो कि बीऊ एकान्तमा अंकुरित हुन्छ, जरा हाल्छ, शिर उठाउँछ, चुपचाप, कसैलाई नदेखाई।

सन्त रमण महर्षि भन्थे, मौन नै सर्वोच्च उपदेश हो। कहिलेकाहीँ केही नहुनु भनेको खाली हुनु होइन बरु त्यो सम्भावनै सम्भावना हुनु पनि हो।

उपनिषद भन्छ, “पूर्णमदः पूर्णमिदं।” (त्यो पनि पूर्ण, यो पनि पूर्ण।) खालीपनभित्र नै पूर्णताको बीज लुकेको हुन्छ।

अन्ततः जीवनले मलाई यो बिन्दुमा ल्यायो, जहाँ म भन्न सक्छु – सफलता भनेको बाहिरको जित होइन, भित्रको जागरण हो। सफलता भनेको धन, पद, सम्मान, सुविधा होइन, सफलता भनेको चेतनाको विस्तार र unconditional love हो। जब प्रेम शर्तविहीन हुन्छ, त्यसमा कुनै अपेक्षा हुँदैन, कुनै डर हुँदैन, कुनै लोभ हुँदैन, त्यो प्रेम नै मुक्तिको सुगन्ध हो। आज म फर्केर हेर्दा आफ्नो बाल्यकालको फुटबल, कक्षाको प्रतिस्पर्धा, जागिर, पद, सम्मान, परिवार यी सबैलाई नकार्दिनँ। यी सबै जीवनका पाठ थिए तर अब बुझ्दैछु, यी सबै पाठको सार यही थियो कि म बाहिर खोज्दै आएको कुरा भित्र नै रहेछ र यही बोध नै मेरो जीवनको साँचो सफलताको दृष्टि बनेको छ।

(Notes from Morning Healing Sessions by अनुपम, पल्टाएर मनन गर्दा)  

सा रे ग म

यदि हजुरले फूल को कोमलता लाई प्रशंसा गर्नुहुन्छ भने, शीत का थोपा हरु देख्दा हृदय भिज्ने शितलता को अनुभुति हुन्छ भने, सिमल का भुवा उडेको देख्दा आफ्नो आत्मा को हलुकापन महसुस गर्नु हुन्छ भने, र बगैंचा मा रोपेको बिरुवा मा नयाँ पात पलाएको देख्दा मुस्कुराउनुहुन्छ भने, आउनुहोस् यो क्षण को आनन्द सङै लिऔ, अहोभाव को चर्चा गरौं ।

के तपाई लाई संगीत ले आफ्नै गहिराई मा पुर्याएको अनुभव छ ? छ भने त झन मज्जा आउने भो । मानौँ झरी पछि को एउटा शीतल साँझ छ।आकाश मा, पुरै जून फक्रिएको पुर्णिमा छ ।पारिजात को महक बोकेको मन्द बतास हजुर को वरिपरि छ । दुर कतै बाट बाँसुरी र सितार को मोहक ध्वनी गुन्जयमान हुँदै तपाई सम्म आयो र तपाई ले त्यसलाई सुन्नु भयो । यसरी सुन्नु भयो कि, डुब्नु भयो । अब के महसुस हुन्छ?

जे महसुस हुन्छ त्यो शब्द मा बयान गर्न सकिने पक्कै हुँदैन । शब्द भन्दा बियोन्ड हुन्छ किनकी शब्द एउटा माध्यम हो तर केही यस्तो अनौठो अनुभुती भयो जसलाई अभिब्यक्त गर्ने भाषा को पहुँच हामी सङ छैन । यस्तो क्षण मा केबल मुस्कुराउनु, कृतज्ञता ले भरिनु वा अश्र ले चछु भिजाउनु त हुन्छ होला होइन त ?

हजारौं बर्ष अगाडि मानिस ले आफ्नो वरिपरि बतास को सुसेली, खोला को कलकल र चराको चिरबिर सुनेर आफुले पनि गुनगुनाउने पर्यत्न गर्यो तब अनेक तर्किब गर्दै थपडी हान्दै, ढुङ्गा हरु ठोकाउदै उसले संगीत भेटायो । महसुस गर्यो र यति मै सिमित हुन चाहेन । संगीत सिक्ने, ताल र सुर अभ्यास गर्ने, बाजा बनाउने र बजाउने दुबै काम मानिस ले गुफा मा रहदा देखि नै सुरु गरेको हो । जंगली जनावर को भय, निर्जन बन को एकान्तता भित्र को अन्धकार गुफा मा रहदा, उसको मन मस्तिष्क मा शान्ति र आनन्द को दियो बालिदिने साधन का रुप मा मानिस ले संगीत लाई गहन प्रेम ले अङालेको पाइन्छ ।

एउटा जमाना थियो “एकादेश को कथा” जस्तो । क्यासेट मा गित सुन्ने चलन थियो तिनताका । मन परेको गित सुन्न एफ एम मा फोन गरेर अनुरोध गर्नु पर्थ्यो । ४ मिनेट को एउटा गित एफ एम मा सुन्दा, ४ करोड वा सो सरह को आनन्द को आस्वादन गर्थे त्यति बेला का सबै ले । पछि स्मार्ट फोन आए पछि स्थिति नै अर्को भयो ।अहिले हजारौं पर्ने जे बि एल स्पिकर मा सुन्दा पनि त्यही इक्विभ्यालेन्ट को आनन्द हुँदैन।त्यति बेला को मिठो स्पन्दन अहिले पनि हृदय मै निहित छ कतै कुना मा । त्यसैले म बेला बेला रेट्रो म्युजिक सुन्न रुचाउँछु । जहाँ स्पनदन छ त्यहाँ छ जीवन र जहाँ जीवन छ त्यहाँ छ संगीत ।

बैज्ञानिक हरु भन्छन् हाम्रो शरीर का हरेक कोषिका हरु भाइब्रेट गरिरहेका हुन्छन् । जुन दिन यो भाइब्रेसन बन्द हुन्छ त्यस दिन मानिस परलोक को यात्रा तय गर्छ ।जीवन को प्रमाण यहि स्पन्दन हो । संगीत पनि त्यस्तै स्पन्दन हो । मधुर स्पन्दन । त्यसैले संगीत सुन्दा ज्यादा जिवन्त महसुस हुन्छ ।

निस्चित आबृती को ध्वनि को निश्चित प्रकार को असर मानव शरीर माथी परेको पाइएको छ । जस्तै कि निद्रा नलागेको बेला ४३२ हर्ज को ध्वनी को श्रवण ले निद्रा लाग्छ भने बेचैनी को क्षण हरु मा ५२८ हर्ज को ध्वनी सुन्नाले राहत मिल्छ । यो आबृती श्रवण ले हाम्रो कोष मा जम्मा भएर बसेको ट्रमाहरु पनि हिल हुने बिज्ञ हरुले दाबी गर्छन । भविष्य द्रस्टा ” एड्गार काएसी” ले भनेर गए ” साउन्ड विल बि द मेडिसिन फर फ्युचर” । भविष्य को औषधि ध्वनी हुनेछ । यसै अनुरुप, विभिन्न मेडिकल फिल्ड मा ध्वनी कै प्रयोग ले उपचार पनि भैरहेकै रहेछ ।” एन्थोनी होल्यान्ड” नाम गरेका एक बैज्ञानिक ले क्यान्सर सेल्स हरु मार्न पनि उचित फ्रिक्वेन्सी को प्रयोग गरिएको छ भन्ने बताएको मैले फेला पारे ।

सर्जरी गर्दा समेत बिरामी को चित्त लाई राहत मिलोस भन्ने हिसाब ले म्युजिक सुनाइदो रहेछ ।अब एउटा मीठो गित को बारेमा चर्चा गरौं न ।

~कहीं दूर सितारों पे

चँदा के इशारों पे

पलने को तेरे जो 

परियों ने झुलाया रे..
निंदिया रे

जुगनू पंछी, प्यारे प्यारे

तेरे सपने बुने
नींद भरे 

इन आँखों से तेरी चुपके से 

कहते रहें
सो जा रे

सो जा रे

सपनों में खो जा रे 

निंदिया रे ।।।

हौले-हौले रातों को, चुपके से आजा रे

निंदिया रे, निंदिया रे, 

अँखियों में समा जा रे 

यो गित पाकिस्तानी गायक “काभिस” को हो।बच्चा बेला, रोएको बेला आमा ले गित सुनाउनुहुन्थ्यो। झुला मा राखेर सुस्तरी सुस्तरी हल्लाउनुहुन्थ्यो ताकी निदाउन सकियोस र त्यही अनुभुती को लोभ मा आजकाल म निन्दिया रे सुन्दै निदाउने गर्छु ।

” पुर्णिमा को रात मा जब कुनै घना जङ्गल को एउटा स्वस्थ रुख को गाढा हरियो पात मा चाँदनी किरण हरु पोखिन्छन् तब एउटा मधुर स्वर उत्पन्न हुन्छ ।”

~गुल्जार 

मेरो मुल्यांकन मा यो ध्वनी अडिबल त हुदैन तर महसुस चै २००% हुन्छ । कवि हृदय को कोमल ब्यक्ति ले पक्कै ग्रहण गर्न सक्छ त्यो ध्वनी जसको उपज उ गित कविता लेख्छ र पोख्छ आफुलाइ पाना मा उतारिदिन्छ ।

जहाँ पुग्दा मलाई आफ्नै केन्द्र को अनुभुती हुन्छ

आफै सम्म पुगेको महसुस हुन्छ

त्यो यात्रा संगीत हो

संगीत को बाटो हुँदै म

प्रेम गर्ने हरु को हृदय सम्म पुग्छु

ईस्वर को मन्दिर सम्म

र आफै सम्म पुग्छु ।

सप्त स्वर ( सा, रे, ग, म, प, ध, नि) लाई प्राकृतिक ध्वनी सङ तुलना गरेर यसरी हेर्न सकिने रहेछ ।

सा आयो संस्कृत शब्द “षडज” बाट । यो मुल स्वर हो । यसको ध्वनी अनुपात मा परिवर्तन हुँदा बाकी स्वर जन्मिने रहेछ ।

रे= रिसभ, कुनै एउटा गाई आफ्नो बाच्छो सङ बिछोडिदा उसको रोदनको फ्रिक्वेन्सी लाई मानक को रुप मा लिइदो रहेछ ।

त्यसै गरि ग स्वर, बाख्रा को निश्चिति आबृती को ध्वनी लाई मानक को रुप मा लिन सकिने रहेछ ।

तमाम रुप मा 

म =मध्यम, हरिन को आवाज

प= पंचम, कोयल को आवाज

ध= धैवद, घोडा को आवाज

नि= निषाद, हात्तीको आवाज 

“पिपल हु इन्ट्रड्युस यु टु न्यु म्युजिक आर इम्पोर्टेन्ट” 

मेरा केही साथी हरु छन् जो मलाई कपास जस्ता नरम गित हरु सङ परिचीत गराइदिन्छन् जसको श्रवणले मेरो आत्मा, आकाश को अनन्तता मा तैरिन पुग्छ । तसर्थ दिज पिपल आर इम्पाेर्टेन्ट । मन परेको गित सेयर गर्नु ईस्वर को प्रसाद बाँड्नु जत्तिकै पवित्र हो किनकी संगीत ईस्वर कै प्रसाद हो ।

मिलेको ध्वनीको लयबद्द बहाब लाई संगीत भनिन्छ । संगीत को स्वभाव बग्नु भएकैले त उस्ताद हरु को गित सुन्दा र उनिहरु को पर्फर्मेन्स हेर्दा पुरै हाउभाउ मै बहाब देख्न सकिन्छ।नुस्रत फते अलि खान र केन्द्रिक लामार्क को पर्फर्मेन्स हेर्दा यो कुरा प्रष्ट हुन्छ ।

“कति खाली च्याउछ्यौ सधै भित्र बाट 

कहिले काहीं त झ्यालमा उदाइदेउ न बिन्ती 

सधैं सपनामा त सधै आइराख्यौ

कुनै दिन त बिपनामै आइदेउ न बिन्ती

सधै देख्छु गम्भीर, जहिले पनि गुमसुम

कहिलेकाहीँ त हल्का मुस्काइदेउ न बिन्ती

कुरा गर्दागर्दै यो रात बित्न लाग्यो

फुकेर त्यो दियो निभाइदेउ न बिन्ती 

~काली प्रसाद रिजाल

यस्तो प्रेम सायदै कसैले गरेको होस जसले आफ्नो प्रेमि का निम्ति गित नगुनगुनाएको होस।ग्रेग गन्जलेज को एपोकालेप्स सुन्नु भएको छैन भने आज सुन्नु है त। 

“I’m jealous of the feeling you’re going to have when you hear it for the first time.”

अमेरिकी ब्यान्ड सिगरेट आफ्ट सेक्स का लिड गिटारिस्ट अनि भोकलिस्ट ग्रेग गन्जलेज ले हालसालै को नयाँ इन्टर्भ्यु मा ए आर रेहमन सङ कोल्याब गर्न चाहेको बताए।If they ever collab, it’ll be orgasmic, no doubt.

ध्वनी को उत्पती बारे हाम्रो सनातन संस्कृति मा बडो रोचक कहानी छ एउटा । सुन्नु भएकै होला पक्कै ।ब्रह्म देव ले जब सृष्टि को रचना गर्नु भयो तब कतै पनि वाक शक्ति थिएन रे यस अर्थ मा ब्रह्माण्ड पुरै मौन । न त खोला सङ कलकल थियो न त बतास सङ सिरसिर । एउटा लय, ऋदम र हार्मनी मिसिङ थ्यो रे यत्रतत्र । 

त्यो मौनता लाई तोड्दै लयबद्दता प्रदान गर्न र सम्पुर्ण जगत लाई लय मा लिएर आउन का निम्ति ब्रह्म देव ले सरस्वती को रचना गर्नु भयो रे  । देवि सरस्वती बिणा धारण गरेर, श्वेत बस्त्र मा ज्ञान को चमक ले धपक्क बल्दै प्रकट हुनु भयो र ४ वटा तार भएको बिना लाई तरङ्गित पार्दै मधुर लययुक्त ध्वनि उत्पादन गरे पश्चात सारा ब्रह्माण्डमा एउटा लय को आबिर्भाब भयो भन्ने कुरा गरिएको छ । सरस्वती देवि को संगीत ले नदिहरु मा कलकल आवाज उत्पन्न भयो, वायु मा पनि मीठो संगीत उत्पन्न भयो र पंछी हरु मा सुवाणी जाग्रित भयो । 

सनातन संस्कृतिमा त ध्वनी लाई ब्रह्म नै भनिएको छ । ईस्वर नै महसुस गराउन सक्ने, शरीर छेडेर हृदय अनि हृदय लाई पनि पार गरेर आत्मा सम्म पुगेर ब्यक्ति को सम्पुर्ण बिइङ लाई नै तरङ्गित गराइदिने ध्वनी पक्कै ब्रह्म नै हुने ल्याकत राख्छ ।फूल फक्राउन सक्ने धुन ले हृदय पनि पक्कै फक्राउन सक्छ । त्यसैले संगीत बिशेष लाग्छ ।

~प्रदिप तिमिल्सिना

Letter to Monsieur Meursault

By Wreecha Gautam

Dear Monsieur,
I hate you. Not because I truly hate you, but because you wished to be hated. I can’t afford myself to disappoint you in your final moment. Perhaps I am wrong. You never seemed disappointed or broken, even in the storms and harsh winds. You flowed and loved. You noticed sounds and lived them. You saw things and hear them. For you, everything was true and nothing was true.

That is why I hate you, Meursault. And exactly, why I love you too. I felt the bugs crawling across your skin in prison, smelled the staleness of urine, heard the footsteps of fear echoing in the dark halls. I felt everything with you. Yet you carried it with utter dignity. I failed to express but did you feel my feelings? I doubt. May be it meant nothing to you.

You were cold, yet interesting. You spoke without words. Even in darkness, you thought free, lived free. But tell me, Meursault; does everyone live free? Think free? What was the need to make me naked with silence? Provoke me with thoughts? Again, it must have meant nothing to you.

Tell me, What is sin and what is virtue? When you fired at the Arab, blinded by the burning sun, were you conscious of the act? Was it choice, or chance? If it was badly needed; then how Meursault, you become a sinner? Oh holy god, don’t we all do what we think is needed?

If indifference to all faiths is not a kind of faith itself, what is it then? Is unconsciousness not itself a sin?

Come closer. Hold me. You shattered my heart into a thousand pieces; now fix it. I will embrace you, or hate you more. It means nothing. For both of us, now.
If you ask me, Meursault, I could give you a thousand reasons to live; or a thousand reasons to die.
Yesterday I dreamt of a big tree heavy with leaves, fruits and flowers. I saw fruits growing, flowers blooming and leaves falling together all at once. I saw you and me falling too, leaving together.
Meursault,
one day all the leaves should leave!!
one day all the leaves should leave!!

ईश्वर को भाषा

“म्याथम्याटिक्स इज दि ल्याङ्वेज अफ गड”ईस्वर को भाषा गणित हो त्यसैले उ आकार, अंक र सुत्र मा बोल्छ । भौतिक शास्त्रि हरु यहि भन्छन् । बारी को कान्ला मा उम्रिएको निगुरो देखि, एक गर्विणी को कोख मा हुर्किरहेको भ्रुण, हाम्रो डि. एन. ए मलेक्युल अनि आकाश का तारा देखि ग्यालेक्सी सम्म सबै एउटै गणितिय सुत्र … Continue reading “ईश्वर को भाषा”

घर्ती मा एउटा फूल टिप्दा त्यसको असर सुदुर को तारा सम्म पर्छ 

“म्याथम्याटिक्स इज दि ल्याङ्वेज अफ गड”
ईस्वर को भाषा गणित हो त्यसैले उ आकार, अंक र सुत्र मा बोल्छ । भौतिक शास्त्रि हरु यहि भन्छन् । बारी को कान्ला मा उम्रिएको निगुरो देखि, एक गर्विणी को कोख मा हुर्किरहेको भ्रुण, हाम्रो डि. एन. ए मलेक्युल अनि आकाश का तारा देखि ग्यालेक्सी सम्म सबै एउटै गणितिय सुत्र को जग मा बनेका छन् जसलाई गोल्डन रेसियो भनिएको छ ।

सम्पुर्ण ब्रह्माण्ड नियम हरु मानेर चलेको छ । तिनै नियम हरु बुझ्न गरिएको प्रयास र ति नियम हरु को गणितीय अभिव्यक्ति नै भौतिक बिज्ञान हो। मेरा निम्ति यस शास्त्र को सौन्दर्य र ओज यो कुरा मा निहित छ कि यसका गणितीय सुत्र हरु मलाई कविता जस्ता, मन्त्र जस्ता, छन्द का अंश जस्ता लाग्छन अनि भौतिक शास्त्रि हरु ऋषि, कवि वा सो सरह ।

जसरी कविहरु ले यस जगत को सौन्दर्य लाई शब्द, बिम्ब आदि मार्फत ब्यक्त गर्छन् त्यसैगरी भौतिक शास्त्रि हरुले गणित का माध्यम बाट ब्यक्त गर्छन् । क्वान्टम फिजिक्स का पाएनिएर मध्य का एक “पल ड्राक” को म्याजिकल इक्वेसन अफ एन्टिम्याटर पढेको दिन मलाई भोक, प्यास केही लागेन । अर्ग्याजम नै फिल भयो । ज्ञान ले दिएको चरम सुख ।  अनि मनले एउटै वाक्य दोहोर्याइरह्यो
” If I were a physicist I would be him”. आइन्स्टाइन को थेवरी अफ रिलेटिभिटि र हैजन्बर्ग को वेभ इक्वेसन मा आधारित रहेर उनले ड्राक इक्वेसन सन्सार लाई दिए । ” घर्ती मा एउटा फूल टिप्दा त्यसको असर सुदुर को तारा सम्म पर्छ ।” गुरुत्वआकर्षण को असर सम्झाउन उनी यसो भन्ने गर्थे ।

संगीत होस्,  कला होस या बिज्ञान, जुनै क्षेत्र को साधना गरेपनि त्यसको अतिरेक, त्यसको परम लाई नै ईस्वरको रुप मा पर्सिभ गर्ने रहेछ मान्छेले । यसका विभिन्न प्रमाण हरु छन् । जस्तै कि , पल ड्राक का लागि ईस्वर एक बिशिस्ट गणितीज्ञ हुन् भने सन्त कविर का लागी कपडा बुन्ने मान्छे । कुनै चित्रकार का लागी ईस्वर पनि चित्रकार नै हुन सक्छन् । भान्सा मा प्रेमालिन हुँदै मीस्ठान्न पाक्वान बनाउन लगनशील ग्रिहिणी का लागि ईस्वर एक सर्वोत्कृष्ट भान्से हुन सक्छन् । ईस्वर बुझ्नु छ भने पहिला कला बुझ्नुपर्छ रे । कला को बाटो हुँदै ईस्वर को घर को चौखट सम्म पुग्न सकिन्छ भन्ने कुरा मा शंका छैन । कतै सुनेको ” कवि ती प्राणी हुन जो ईस्वर सङ सम्बाद गर्छन् “

महाकवी देवकोटा ले भन्ने गर्नुहुन्थ्यो “म बास्ना लाई स्वाद लिन्छु र आकाश भन्दा पातला कुरा हरुलाई छुन्छु। जसको अस्तित्व लोक मान्दैन, जसको आकार सन्सार जान्दैन” 
हामीहरु ले देखेको, भोगेको जगत भन्दा पर गएर त्यहाँ को सम्भावना हरु को बारेमा कुरा गर्नुभएको छ उहाँले ।

ईश्वर लाई रिझाउननु छ भने पनि कला को साहरा लिनुपर्छ । कला त्यो सेतु हो जसले भक्त को हृदय लाई ईस्वर सङ जोड्छ । यो कुरा लाई प्रमाण का रुप मा पेस गर्न म एउटा कथा सुनाउछु ।

वेदज्ञाता, प्रचण्ड विद्वान, ज्योतिष, आचार्य, संगीतिज्ञ “रावण” ले अहंकार मा आएर एकपटक कैलाश पर्वत लाई नै उठाएर लंका लैजान खोज्छ । महादेव र पार्वती लाई जानू थिएन लंका । तसर्थ शिव ले आफ्नो चरण को बुढी औला ले कैलाश पर्वत लाई दबाउनुहुन्छ र रावण को हातको एउटा औँला पर्वत मुनि च्यापिन पुग्छ । फलस्वरूप रावण लाई यति प्रखर पीडा को अनुभुती हुन्छ कि उ बेदना मा चिच्याउन थाल्छ । लाख कोसिस का बाबजुद पनि उसले आफ्नो औला निकाल्न नसकेपछि महदेव लाई रिझाउन अन द स्पट एउटा कविता को रचना गर्छ । नगरोस पनि कसरी । रावण को बिद्वता अलौकिक थियो । उ ऋषि बिश्रवा को पुत्र अनि ब्रह्मदेव को पनाति थियो । ब्रह्मदेव को बंशज भएकाले बिद्वता उसको डि.एन.ए मै थियो । त्यस बखत रावण ले रचना गरेको कविता नै ” शिव तान्डव स्तोत्रं” हो ।
यो स्तोत्र मा यति सौन्दर्य र ओज रहेछ कि यसको श्रवण ले स्वयं देवादिदेव महादेव गदगद हुँदै रावण लाई पीडा मुक्त गर्दै सात वटा आशिर्वाद समेत दिएका थिए ।

यो स्तोत्रं को अर्थ जुन दिन बुझे त्यही दिन शिव को उद्वारता, पराक्रम र माधुर्यता ले नतमस्तक बन्न पुगे । त्यहि स्तोत्रं को एउटा स्लोक यसप्रकार छ ।
“कराल भालपट्टिका धगद्धगद्धगज्ज्वल
द्धनंजया धरिकृतप्रचण्ड पंचसायके।
धराधरेंद्रनंदिनी कुचाग्रचित्रपत्तक,
प्रकल्पनैकशिल्पिनी त्रिलोचने रतिर्मम ।। “

अर्थात – मेरो प्रेम यस्तो भगवान शिव मा हो जसको तीन वटा नेत्र छन् । जसले शक्तिशाली कामदेव लाई अग्निमा अर्पित गरिदिए र जसको निधारको सतह धगद- धगद को ध्वनीले जलिरहेको छ । उनी एक मात्र यस्तो कला को स्वामी हुन् जो आफ्नो नृत्यले यस धर्तीको बक्षस्थलमा सजावटी रेखा कोरिदिए । भक्ति को सौन्दर्य को बोध भयो शिव तान्डव पढेर । रावण लाई विशेष धन्यवाद ।

संगीत मा खोज्छु
कविता मा खोज्छु
तिम्रो अस्तित्व म 
सबथोक मा खोज्छु ।
भक्ती मा खोज्छु
ज्ञान मा खोज्छु
तिम्रो उपस्थिति म
मेरो जीवन मा खोज्छु ।।

तोतेबोली मै ईस्वर सङ संवाद गर्न का खातिर उसको भाषा बुझ्ने कोसिस गर्दैछु त्यसैले जीवन, कला को महिमा ले आभिष्ट भएको छ भन्ने सम्म को कथा यस आर्टिकल बाट ।

अभ्यासमा पूर्णता भेटिन्छ नै – जीवन

अनुभवको एक किताब हो-जीवन

बाँचिएका दिनका कथा हो-जीवन

कहिले आँशु, कहिले हाँसो,

सबैको मिठो सङ्गालो हो-जीवन!१!

समयको निरन्तर बहाव हो-जीवन

युवामा बगेको छरितो धार हो- जीवन,

जब  बग्दछ बिस्तारै शान्त ढंगले,

गहिराइको अद्भुत  सार हो- जीवन!२!

कहिले  सम्झनाको घाम हुन्छ-जीवन

कहिले फक्रिएको फूल हुन्छ- जीवन,

जताततै लहराएका लताका लतिफा झैँ,

पुनः बालापनको झल्को दिन्छ- जीवन!३!

जब थाकेका पाईलाहरू भन्छन्

“साँच्चै, जीवन रमाइलो हो! त ?”

र अन्त्यमा सम्झिन्छन् सबै:

“आनन्दको मात्र एक खेल हो -जीवन!४!

सधैं केही बाँकी रहन्छ नै भने ,

साधनाको निरन्तर यात्रा हो- जीवन,

जति बुझे पनि अलिक अपूरो,

तर अभ्यासमा  पूर्णता भेटिन्छ नै – जीवन!५!

 

मेरो सानो बगैंचा (Nuvesh HereNow)

मलाई बगैंचामा खेल्न, हेरिरहन, बिरुवालाई पानी हाल्न, गोडमेल गर्न एकदम रमाइलो लाग्छ। हाम्रो घरको कम्पाउन्ड भित्रै  सानो बगैंचा छ। त्यहाँ थुप्रै किसिमका फूल, साग, तरकारी र अनेक जरिबुटी जन्य बोटबिरुवाहरु छन्। बिहानै जब म ब्यूँझन्छु, सबैभन्दा पहिले म बगैंचामा जान्छु।

गुलाव, हिविस्कस्, पारिजात लगायतका अनेक फूलहरू मुस्कुराइरहेका हुन्छन्। म तिनीहरूलाई “शुभ प्रभात !” भन्छु। 

बगैंचामा फर्सीको मुन्टा यताउता फैलिरहेका छन्। सिमीका लहरा थाङ्ग्रा चढ्दै छन्। हामीले लगाएको ठडियाको साग हरियो र ताजै देखिन्छ। घ्यूकुमारीको बिरुवामा पानी झर्दा त्यसका पात टल्किन्छन्। त्यहाँ बुद्धचित्त र रुद्राक्षका बोट पनि छन्। ती बोटहरू मलाई केही गम्भीर र ध्यानमग्नजस्ता लाग्छन् । तीनले “ आऊ ! शान्त रहु, छेउमै बस।” भनिरहेका जस्तो लाग्छ।

बोझोको बिरुवा सुँघ्दा नाकै सुगन्धित हुन्छ। उखुको बोटमा छोएर हेर्दा लाग्छ, भित्र मिठास लुकेको छ। म ती सबै बिरुवाहरूलाई पानी हाल्दछु र माया गर्छु।

बाबाले भनेजस्तै, ती बोटबिरुवाहरुका लागि हामी अर्गानिक मल प्रयोग गर्छौं । त्यसैले बिरुवाहरू खुसी देखिन्छन्।

मलाई लाग्छ, मेरो सानो बगैंचा पनि मसँग कुरा गर्छ। जब म माया गर्छु, उसले हरियाली फिँजाएर जवाफ दिन्छ। यही बगैंचाले मलाई सिकाएको छ, माया गर, आउने गर, अनि प्रकृतिसँग साथी बन।

ब्रह्मको अद्वैत अनुभूति हु- “म”!!!

साधना एक माध्यम हो,

तर,

साध्य हु “म”!!!  -,

अनन्तमा फैलियेको

आकाश हौ तिमी

तीमी र मभित्रै एउटै

तत्वमसी हु-“म”!!!

हर रुपमा

एक स्पन्दन हु- “म”,

मौनका गुन्जहरुमा

“स्व: हम” हु- “म”!!!

द्वैतका भावहरुमा

समभाव “प्रज्ञा” हु-“म” -,

नाम रुपको ज्ञानमा

अनित्य बोध” हु- “म”!!!

चेतनाको फैलावटमा

आनन्दको झरना हु “म”,

मौनको गहिराइमा

स्वयमको अनुभुती हु “म”!!!

प्रज्ञाको ज्वालामा,

अहमको खरानी हु “म”,!!!

लयबद्दताका तरङ्गहरुमा,

सङ्कल्पको अभ्यास हु “म”!!!

“अहम् ब्रह्मास्मि”

संस्कृतको वाक्य होइन “म”,

आत्मा र ब्रह्मको

अद्वैत अनुभूति हु “म”!!!

विराट कोहलीको सफलताको रहस्य (Nuvesh HereNow)

(संकल्प, अनुशासन, मेहनत, श्रद्धा, समर्पण र अध्यात्मको प्रेरणादायी कथा)

‘विराट कोहली’ आजको दिनमा क्रिकेटप्रेमी हरुको मन जित्ने नाम हो। उनी विश्वका एकजना चर्चित र सफल क्रिकेट खेलाडी हुन्। तर उनको सफलताको गहिरो रहस्य केवल अभ्यास र बल होइन, ईश्वरप्रतिको श्रद्धा, विश्वास, र आध्यात्मिक मार्गप्रति समर्पण पनि हो।

विराटको जन्म भारतको दिल्लीमा भयो। सानै उमेरदेखि उनलाई क्रिकेट अत्यन्त मनपर्थ्यो। उनी बिहान सबेरै उठ्थे, विद्यालय जान्थे, अनि थकाइ नमानिकन क्रिकेटमा कडा अभ्यास गर्थे। बाल्यकालदेखि नै उनी अनुशासनमा रमाउँथे र हृदयदेखि नै खेल्थे।

उनी धेरै वर्षदेखि RCB (Royal Challengers Bangalore) टोलीमा खेल्दै आएका छन्। विराटको महत्वपूर्ण साहसमा, सन् २०२५ मा RCB ले अन्ततः IPL Champion Trophy जित्यो। यो विजय केवल खेलको नतिजा होइन, मनको श्रद्धा र समर्पणको फल पनि थियो।

विराट कोहली ईश्वरमा गहिरो श्रद्धा राख्ने व्यक्ति हुन्। उनी मात्र शरीरले खेल्दैनन्, मन र आत्माले खेल्छन्। उनी बारम्बार  एक आध्यात्मिक गुरू हित प्रेमानन्द महाराजजी कहाँ पुगेर आशीर्वाद लिन्छन्, प्रेम, संयम र ध्यानको शिक्षा ग्रहण गर्छन्।

उनी भन्छन्,

“मैले भगवान र गुरुप्रति समर्पण गरेर खेलेको हुँ। मेरो खेल मात्र होइन, मेरो आत्मा पनि मैदानमा हुन्छ। मेरो सफलता म आफूले होइन, परमात्माको कृपा र गुरुप्रेरणाबाट पाएको हुँ।”

हामीले पनि विराटबाट धेरै कुरा सिक्न सक्छौं:

अनुशासित भएर परिश्रम गरौँ,

मनमा श्रद्धा र विश्वास राखौँ,

गुरु र ईश्वर प्रति समर्पण गरौँ,

अनि प्रेम, संयम र साहसका साथ हरेक काम गरौँ।

विराट कोहली केवल बलियो खेलाडी होइनन्, उनी एक श्रद्धालु आत्मा हुन्। उनी खेलको माध्यमबाट धर्म, प्रेम, र परमात्मासँगको सम्बन्धलाई जीवित राख्न सफल भएका छन्। हामीले पनि जीवनका सबै कामहरू अनुशासित भएर, संकल्प लिएर, प्रेमपूर्वक र समर्पणपूर्वक गरेमा, ईश्वरको कृपा हामीमाथि अवश्य हुनेछ।