
Beelzebub’s Tales to His Grandson
सन् १९५० मा प्रकाशित
बिल्जिबबले उसको नातीलाई सुनाएका कहानीहरु नामक पुस्तक
रुसी रहस्यद्रष्टा जर्ज गुर्जियफको अल एण्ड एभ्रिथिंग सिरिजको पहिलो खण्ड हो. यो पुस्तकलाई,
‘ मानव जीवनको निष्पक्ष र वस्तुगत समालोचना’ भनेर पनि भनिन्छ. यसको दोश्रो खण्ड –मिटिङ्ग्स विथ रिमार्केबल मेन शीर्षकमा सन् १९६३ मा र तेश्रो खण्ड- लाइफ इज रियल ओन्ली देन व्हेन आइ एम शीर्षकमा सन् १९७४ मा प्रकाशीत भएको थियो.
धेरै मेहनत र समय लगाएर मात्र यसलाई पढ्न सकीयोस्, धेरै ध्यान दिएर मात्र यसका कुरा बुझीयोस् भन्ने मनसायले गुर्जियफले यो पुस्तक लेखेका थिए. गुर्जियफ आफैंले यसको पुष्टी गर्दै भनेका थिए रे, “खनेर निकाल्न सक्ने कुकुरले पनि निकै गहिरो खनोस्, हड्डी मैले यती गहिरो गाडेको छु.” उनका अनुसार पुस्तकको पहिलो खण्डको उदेश्य पाठकलाइ संसारका बारेमा उसले बनाएका धारणाहरुलाई प्रश्न गर्न सिकाउनु हो. यो पुस्तक मार्टिन स्मिथको –हालसम्म लेखिएका सबैभन्दा प्रभावशाली १०० पुस्तकको सूचीमा समाविष्ट छ. पाश्चात्य र पूर्वीय दर्शनको प्रभावकारी संगम भएका कारण पुस्तकलाई सूचीमा राखिएको कुरा बताइएको छ.
फोर्थ वे नामक एक अनौठो आध्यात्मिक दर्शनका लागी जर्ज गुर्जीयफ प्रख्यात छन्. सन् १९२४ मा एउटा कार दुर्घटनामा परेपछी आफ्नो दर्शन लिपिवद्ध गर्ने ठाने गुर्जियफले.
थुप्रैपल्ट परिमार्जन गरेपछी पहिलो खण्ड तैयार भयो.भनिन्छ, उनी आफ्ना विद्यार्थीहरुलाइ आफुले लेखेको सुनाउँथे. कसैले केही बुझ्यो त्यहाँबाट भने बुझेको भाग फेरी लेखेर त्यसलाई नबुझिने बनाउँथे.
साइ-फाई जस्तो फर्म्याटमा छ यो पुस्तक जसमा बील्जिबब नामक कुनै अर्कै ग्रहको प्राणी ‘कार्नक’ नामक अन्तरिक्षयानमा सवार भएर आफ्नो ग्रह काराटास तर्फ जाँदैछ. साथमा छ उसको नाती हासेन. यात्रामा समय काट्न हजुरबुवा नातीलाई आफुले देखेका र भोगेका किस्साहरु सुनाउँछ. यी किस्साहरुका पात्र पृथ्वी नामक ग्रहमा बस्ने तीन खण्डे बुद्धी भएका ‘मान्छे’ नामक प्राणी छन्.
बील्जिबब आफ्नो नातीलाई मान्छेको इतिहास, चालचलन र मनोविज्ञानको बारेमा बताउँछ. साथै ब्रम्हाण्डको संचालन कसरी भएको छ भन्ने बारेका रहस्यवादी सिद्धान्तहरु पनि उ उजागर गर्दै जान्छ. पुस्तकमा गुर्जियफ आफैंले आविष्कार गरेका थुप्रै शब्द प्रयोग भएका छन् जसको अर्थ अनुमान मात्र लगाउन सकिन्छ कतिपय ठाउँहरुमा. जस्तै, त्रियमाजीकाम्नो शब्दको अर्थ -ल अफ थ्री, हेप्टापारापर्सीनोख शब्दको अर्थ –ल अफ सेभेन आदि.
पुस्तक चाखलाग्दो र रसिलो शैलीमा नभएर पढ्न अप्ठ्यारो हुने शैलीमा लेखिएको छ. जानाजान लामालामा पट्यारलाग्दा वाक्यहरु प्रयोग गरिएका छन्. केही ठाउँमा प्रयोग भएका शब्दको अर्थ अन्तै कतै खुलाइएको छ ताकी पाठकले दोहोर्याएर, तेहेर्याएर लेखिएका कुरा छिचोल्न परोस्. गुर्जियफका अनुसार श्रम नगरी पाएको ज्ञानको मान्छेले कदर गर्दैन.
भनिन्छ, भूमिका र पुस्तकको पहिलो पाठ- विचारको जागरण गुर्जियफ आफैंले तीस पल्ट सम्पादन गरेका थिए
To be contd…












