सायद अनेक जन्म जन्मेँ हुँला, अनेक अनेक कर्म गरेँ हुँला, समयको यो अनन्त आकाशमा कति पटक बादल बनेर मडारिएँ र कति पटक पानी बनेर वर्षिएँ हुँला, त्यसको कुनै हिसाब छैन, सायद बेहोसीमै मेटिए होलान्। कहिलेकाहीँ लाग्छ, ती अनगिन्ती भेषहरू र ती कर्मका थुप्राहरू कतै न कतै केवल यो चेतनाको कसिलो माटोलाई अलिकति खुकुलो बनाउन सिक्ने अभ्यास त थिएनन्? कति धेरै कुरा, कति अनन्त शृङ्खलाहरू त अझै सिक्न बाँकी नै पो रहेछ जस्तो लाग्ने यो मन, कहिलेकाहीँ आफ्नै छाया देखि तर्सिएझैँ एउटा अनौठो भुमरीमा परेर बसे झैं हुन्छ किन? प्रश्न उब्जिन्छ, जबाफ खोज्छु, घोत्लिन्छु … आँखा चिम्रा पारेर, चश्मा कहिले टाँसेर त कहिले सारेरै अनि घरि-घरि आँखा माडेरै पनि।
जब कहिलेकाहीँ कतै केही अलिकति जानेँ कि, कुनै सत्य थोरै बुझेँ कि जस्तो महसुस हुन थाल्छ, तब भित्रैबाट एउटा मसिनो तर तीखो संशयले मनलाई बारम्बार झस्काइदिन्छ। कतै यो ‘मैले बुझेँ’ वा ‘मैले केही थाहा पाएँ’ भन्ने सोच पनि त्यही पुरानो, सुकिलो रूप बदलेर आएको सूक्ष्म अहंकारकै एउटा नयाँ प्रपञ्च त होइन? कतै ज्ञानकै अर्को एउटा सुकिलो भारी त मेरो पिठ्युँमा थपिएको छैन? अथवा यो हृदयको नीरव गहिराइबाट उब्जिएको कुनै वास्तविक अहोभाव हो? यो कुराको त्यान्द्रो ठम्याउन नसकेर मन एउटा मधुरो कुहिरोभित्र अलमलिइरहन्छ कहिलेकाहीँ त अचम्मले। तर, जब ती पावन श्रोत, अर्थात् शास्त्र र गुरुप्रति श्रद्धा अलिकति बढ्न थालेको लाग्छ र नतमस्तक भएर नुहिरहन, झुकिरहन मन लाग्छ, तब मात्र बल्ल यो मानव चोला पाएको, यो धर्तीमा श्वास फेरेको वास्तविक अर्थ र कारण कताकता झुल्किए जस्तो आभास हुन्छ। त्यो निश्छल श्रद्धाको शीतल छहारीमा बस्दा मात्रै, आफ्नै भित्र लुकेर बसेका ती मसिना अहंकारहरूलाई कुनै लडाइँ नगरी बिसर्जन गर्ने एउटा सानो गोरेटो फेला परे जस्तो लाग्छ। … लाग्छ, श्रद्धा आफैँमा एउटा यस्तो नदी रहेछ जसले जान्ने हुनुको दम्भलाई बिस्तारै बगाएर लैजाँदो रहेछ। त्यो समर्पणको भावमा पग्लिँदै जाँदा मात्रै, बल्ल आफ्नो साँचो, सरल र कृत्रिमताविहीन स्वभाव पहिल्याउने कुनै मधुरो मेसो पाउन थालेँ कि जस्तो महसुस हुन्छ। अनि मात्रै आफ्नो वरपरको वातावरण (Surroundings) सँग एउटा निःशब्द सामञ्जस्यता (Harmony) मा बाँच्न, हावासँगै हल्लिने पात जस्तै सहज हुन, आफ्नो विवेकले हरेक व्यवहारलाई पवित्र, करुणामयी र निष्काम बनाउन अनि कसैप्रति कुनै अभिलाषा नराखी केवल एउटा सेवात्मक भावमा पग्लिँदै जान सिक्ने क्रम सुरु भए जस्तो बल्ल-बल्ल कताकता लाग्न थालेको छ।
यसो एउटा सुन्दर फूल औंलाहरूले चेपेर हेरिरहन्छु, ‘मर्निङ हिलिङ्ग सेसन’ बाट उसका वाणी सम्झिन्छु, हृदयका कम्पन् महसुस गर्छु, अनि लाग्छ, यो अनन्त पाठशालामा ‘केही नजान्नु’ भाव नै सबैभन्दा ठूलो राहत रहेछ अनि ‘सिकिरहन खोज्नु’ र ‘झुक्न थाल्नु’, यो मेसो नै कति अद्भुत रहेछ!


