संगत

संगत मार्गचित्र झै

सिसाकलम तिखारेर

कागजका पानामा कोर्नु पर्दैन,

संगत कोरिएका रेखाहरूलाई

इरेजरले मेटाउँदै

सच्याउनु पनि पर्दैन!

संगत आफैँ एउटा मार्गचित्र हो,

जहाँ हरेक क्षणले

रेखा कोर्दै जान्छन्,

द्वन्द्वहरू पखाल्दै जान्छन्,

नकारात्मकता बगाउँदै जान्छन्,

र भित्र लुकेका सिर्जनाहरू

बिस्तारै देखाउँदै जान्छन्।

संगत-

लेख्न सिकाउँछ,

पढ्न सिकाउँछ,

चित्र कोर्न सिकाउँछ,

अनि कहिलेकाहीँ

एकान्तमा चुपचाप

रुन पनि सिकाउँछ।

संगतले निखार्दछ,

संगतले पखाल्दछ,

संगतले ब्युँझाउँछ,

अनि

निदाउन पनि सिकाउँदछ।

संगतमा सुनिने सत-आवाज

तरङ्गझैँ मनमा झङ्कारिन्छ,

जब बुझिन्छ

कतै गहिराइमा

च्वास्स झस्काउँछ।

संगत-

कहिले धैर्य,

कहिले अधैर्य,

कहिले मौन,

कहिले मधुर स्वर बनेर

पलपलमा सम्झाउँछ!

संगत तिम्रो हो,

संगत मेरो हो,

संगत हामी सबैको हो।

किनकि

संगत बाहिर होइन

संगत त यही छ,

जो हामीभित्र

चुपचाप जागिरहेछ।

Unknown's avatar

Author: Rama Dulal

Trust in Yourself. Never lose yourself. Truth is one. Always think Positive then Life is wonderful, Pretty & joyful!! Now I am searching myself, looking at myself & listening to myself!!

Leave a comment