केही दिनदेखि आकाशले आफूभित्र थुपारेका बादलु पोकाहरु बिस्तारै पोखिरहेको थियो । झ्यालको सिसामा टाँसिएका पानीका थोपाहरू कतिबेला तल झर्थे, कतिबेला एकअर्कालाई भेट्दै ठूलो हुँदै जान्थे, अनि फेरि कुनै अनजान यात्रामा निस्किन्थे । बाहिरको बाटो चिसो थियो, बोटबिरुवाका पातहरू नुहाएझैँ चम्किएका थिए, फूलका ओठमा अडिएका थोपाहरू कुनै अधुरो मुस्कानजस्ता देखिन्थे र झ्यालका कापबाट छिरेको चिसो हावासँगै माटो र भिजेका पात एवं फूलको सुगन्ध कोठाभित्र आइरहेको थियो ।
तर यही झरीलाई हेर्दाहेर्दै मन कताकता भारी पनि हुन्थ्यो । देशका विभिन्न ठाउँमा यही अविरल पानीले बाटो भत्काएको, सडक बिगारेको, घर खेतबारीमा क्षति पुर्याएको समाचार सम्झँदा झरी केवल झरी रहँदैनथ्यो, त्यो कसैको चिन्ता, कसैको बाध्यता र कसैको भिजेको रात बनेर मनभित्र पस्दथ्यो । आकाश तिर बादलहरू भने आफ्नै धुनमा दौडिरहेका थिए, मानौँ आकाशलाई पनि थाहा थिएन कि उसको आँसु कतै सुखद संगीत बनेको छ भने कतै दुःखको खबर । त्यसैबेला सम्झना उता अलि परतिर मोडियो, उहाँहरूलाई कस्तो होला ? त्यहाँ पनि यस्तै झरी परिरहेको होला कि ? खाने बस्ने कुरामा केही अप्ठ्यारो त भएको छैन होला ? मनले प्रश्नहरू धेरै गर्यो तर उत्तर दिन झरीबाहेक कोही थिएन । यत्तिकैमा अचानक मनभित्र एउटा पुरानो धुनजस्तै नविन के. भट्टराईको गीतको शब्द गुन्गुनिएर च्याउँदै बाहिरिन खोजे “ए झरि नझरि देउ यसरी…” । गीतको त्यो सानो टुक्रासँगै झ्यालबाहिरको झरी पनि मानौँ केही क्षण रोकिएर मेरो मन सुन्न थाल्यो कि जस्तो लाग्यो। तर झरी कहाँ रोकिन्थ्यो र ! गति मात्र हल्का सुस्त बनाएर अबिरलै चलिरह्यो । सायद उसको काम नै यही हो, कहिले बाटो भत्काउनु, कहिले माटो भिजाउनु, कहिले आँखामा चिन्ता ल्याउनु र कहिले त्यही चिन्ताको बीचबाट हरियो जीवन उम्रन दिनु । पातबाट खसेको एउटा थोपा झ्यालको चौकोसमा आएर रोकियो । मैले त्यसलाई केहीबेर हेरिरहेँ । लाग्यो, संसारमा सबै पानी आँसु हुँदैन, केही पानीले आँसु पखाल्छ पनि । बाहिर झरी परिरह्यो, भित्र सम्झना भिजिरह्यो अनि मनले चुपचाप एउटा प्रार्थना गर्यो, यो पानी जहाँ पीडा बनेर पुगेको छ, त्यहाँ छिट्टै उज्यालो बनोस् जहाँ माटो सुकिरहेको छ, त्यहाँ जीवन बनोस् र चपौलितिर यो झरी झ्यालबाहिरको सुन्दर दृश्य मात्र बनिरहोस्।

