नभनिएको…

… अनि उसले केही बोलेन, किनकि मबाट कुनै जवाफै निस्केन। सायद हृदयले नै महसुस गर्यो। शब्दहरू कहिलेकाहीँ ओठसम्म आइपुग्दा पनि बाटो बिराउँछन्, अनि मौनता नै सबैभन्दा ठूलो भाषा बन्छ। त्यसपछि समय रोकिएजस्तो लाग्यो। हावाले पनि सुस्ताएर कानमा केही गुनगुनाएजस्तो तर बुझिनँ। उसको आँखामा एक प्रकारको नदी बगिरहेको थियो जुन कहिल्यै किनारा भेट्दैन। मैले त्यो नदीमा डुबुल्की मार्न खोजें, तर मेरो प्रतिबिम्ब पनि हराएर गयो। कता गयो, थाहा भएन। कसैले सोधेन। कसैले भेटेन। अनि मैले केही बुझ्दै गएँ  जस्तो लाग्यो, केही कुरा भनिन्छ तर सुनिँदैन। केही कुरा सुनिन्छ तर बुझिँदैन। अनि केही कुरा बुझिन्छ तर भन्न सकिँदैन। हामी त्यही तेस्रो कुरामा अड्किएका थियौँ। ऊ बोल्न सक्ने थियो तर बोलेन। म बुझ्न सक्ने नै थिएँ तर बुझिनँ। बीचमा एउटा सानो, अदृश्य, निकै गहिरो खाल्डो थियो जहाँ हाम्रा सबै शब्द खसेर बिलाए।

रात झमक्कै पर्यो।  कफी चिसो भयो। मैले सोधें, “अझै केही ?” ऊ मुस्कुरायो, त्यो मुस्कानमा एउटा पूरै उपन्यास लुकेको थियो तर मैले पाना पल्टाउने आँट गरिनँ किनकि कतिपय कथाको अन्त्य पढ्नुभन्दा, त्यसलाई अधुरै छोड्नु राम्रो हुन्छ, कौतुहलता बनिरहन्छ। अनि त्यो रात, हामी दुईजना एउटै कोठामा, एउटै मौनतामा तर दुई फरक संसारमा सुत्यौँ। बिहान उठ्दा ऊ थिएन। केवल एउटा हल्का सुगन्ध बाँकी थियो जुन हावामै मिसिएर गयो। मैले झ्यालबाट बाहिर हेरें। बाहिर वर्षा भइरहेको थियो। अनि मैले महसुस गरें, त्यो वर्षा पनि उसैको जवाफ थियो। ढिलो आयो तर आयो। भिजायो तर बुझायो, रसुवामा झैं आएन, सिँधुलीमा झैं आयो। अनि म हाँसें, एक्लै, आफैसँग किनकि अब मलाई थाहा भयो, केही प्रश्नको उत्तर शब्दमा हुँदैन, मौनतामा हुन्छ। अनि केही मान्छे बोल्दैनन् किनकि तिनको मौनता नै तिनको सबैभन्दा ठूलो कविता हुन्छ, रुमीको कवितामा अनुपमले आफूलाई भेटेजस्तै।अनुवाद शब्दसिमामा अड्किँदैन, भावको यात्रा गर्छ। अनि त्यो यात्रा कहिल्यै टुङ्गिँदैन, उकालीमा पनि गहिराइ भेट्छ, सम्म परेको । ओरालीमा पनि चौतारो भेट्छ, हृदयका कुना छोएको, जहाँ पुग्छ, त्यहीँ बस्छ।

Unknown's avatar

Author: मानव अभ्यास

🙏❣️🌹🎶✍️

Leave a comment