कुहिरोभित्रको जून

तल,
धरतीले ओढेको छ
कुहिरोको सेतो घुम्टो,
माथि,
जूनले पोखेको छ,
चेतनाको चम्किलो उज्यालो।
शीतका थोपाहरु
पातमा टाँसिएका छन्,
मानौँ रातले
आफ्ना मिठा सपनाहरू
मोती झैँ चम्काएका हुन्।
हावा बिस्तारै चल्छ,
रुखका पातहरू सुसाउँछन्,
दूर कतै रात-पन्छी गाउँछ,
र लाग्छ,
निदाएको धर्तीको छातीभित्र
चेतनाको तरङ्ग फैलिरहेका छन्
कुहिरो बाक्लिँदै जान्छ,
बाटो हराउँदै जान्छ,
त्यही जूनलाई हेरेर
मनले सोध्छ-
“अँध्यारो यति गहन हुँदा पनि
उज्यालो किन हार्दैन ?”
सायद,
उज्यालोको धर्म नै
प्रकाश दिनु हो।
जीवन पनि त
यही रातजस्तै रहेछ
कहिले कुहिरोले छोपिन्छ,
कहिले थोपा झैँ टल्पलिन्छ।,
तर
मनको कुनै कुनामा
एउटा सानो जून जन्मिन्छ,
आशाको,
विश्वासको,
र फेरि उठ्ने साहसको,
त्यसैले यी रातहरू
शान्त हुन सिकाउँछन,
मौनलाई सुन्न सिकाउँछन,
अँध्यारो आए
आफ्नो उज्यालो ननिभाऊ,
दुःख आए
आफ्नो मुस्कान नहराऊ,
र चेतनालाई
शब्दको भीडमा होइन,
मौनको गहिराइमा फैलाउ।
किनकि
जूनलाई चम्किन
अरुको उज्यालो चाहिँदैन,
आफूभित्रको गहिरो अँध्यारोमै
प्रकाश भेट्छ,
रात जति गहिरो भए पनि,
जून चम्किरहन्छ!!

Unknown's avatar

Author: Rama Dulal

Trust in Yourself. Never lose yourself. Truth is one. Always think Positive then Life is wonderful, Pretty & joyful!! Now I am searching myself, looking at myself & listening to myself!!

Leave a comment